काठमाडौँ, २ साउन । भूमि सुधारमन्त्री रामकुमार सुब्बाले दुई वर्षभित्रमा सुकुम्बासी समस्या समाधान हुने बताउनुभएको छ ।
आज कमैया महिला जागरण समाज नेपालद्वारा यहाँ आयोजित ‘१७आँै मुक्ति दिवस र हाम्रो अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री सुब्बाले दुई वर्षभित्र सुकुम्बासी समस्या समाधान गरेर कोही पनि नेपाली सुकुम्बासीका नाममा अपमानित भएर बस्नु नपर्ने बताउनुभयो ।
उहाँले सुकुम्बासीलाई समस्या समाधान गर्न मन्त्रालयले आफ्नो कार्ययोजनामा प्रस्ताव गरिसकेको र यसै आवमा छवटा जिल्लालाई दासत्वमुक्त घोषणा गर्न थालेको जानकारी गराउनुभयो ।
मन्त्री सुब्बाले चाँडै नै सरकारी जग्गामा अतिक्रमण गरेर बसोबास गरेकालाई झाडु लगाएर हटाई ती जग्गालाई व्यवस्थित गर्ने बताउँदै मुक्त कमैया जस्तै महिला कमैयालाई पनि परिचयपत्रको व्यवस्थापन गरिनेछ भन्नुभयो ।
बर्दियाका सांसद सञ्जय गौतमले वर्षांैदेखिको मुक्त कमैयाका समस्या अझै त्यतिकै रहेकाले टुङ्याउनुपर्नेमा जोड दिनुभयो ।
बाँकेका सांसद देवराज भारले सकारात्मक विभेदको नीति ल्याई महिला कमैयालाई पनि परिचयपत्र दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद गोपाल दहितले विनियोजित बजेटमा भएको कार्यक्रम कार्यान्वयन नहुँदा मुक्त कमैयाका समस्या अझै रहेको बताउनुभयो ।
अर्का सांसद गङ्गा चौधरीले मुक्त कमैयाको समस्या समाधानकासाथै स्वास्थ्य र शिक्षाको पनि ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीले अझै पनि नेपाल दासत्वबाट मुक्त नभएको भन्दै कमैया महिलाले राज्यको संरक्षणबाट वञ्चित हुन परेको छ भन्नुभयो ।
मुक्त कमैया समाजका उपाध्यक्ष जगन्नाथ डगौराले अझै पनि चार हजार ९५० कमैयाले परिचयपत्र नपाएको गुनासो गर्नुभयो । उहाँका अनुसार विसं २०५७ मा ३२ हजार ५०९ कमैया रहेकामा २७ हजार ५७० मात्र कमैया पुनःस्थापना भएको छ । छसय २८ जना कैलाली र बर्दियाका कमैयाले परिचयपत्र पाए पनि सरकारले पुनःस्थापना गर्न नसकेको सो अवसरमा जानकारी दिइयो । रासस
No related posts.
No comments:
Post a Comment