Wednesday, August 31, 2016

मानव बेचबिखनमा ७० वर्षीय वृद्ध कारागारमा

गुल्मी, १६ भदौ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अँर्घाखाँचीले गत छ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका लागि कैद सजाय सुनाएकोे थियो ।

अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो । पक्राउ परेका विकलाई कैद भुक्तानीका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको छ । रासस

सोताङमा डिजिटल भिडियो एक्स–रे सेवा

सोलुखुम्बु, १६ भदौ । गाउँमा नै डिजिटल भिडियो एक्स–रे सेवा पाएपछि सोलुखुम्बुको अत्यन्तै दुर्गम क्षेत्रका स्थानीयवासीलाई सहज भएको छ ।

सोताङबाट पहिलोपटक एक्स–रे सेवा पाएपछि सोताङ–४ सोलुखुम्बुकी अनिता राईले निकै सहज भएको बताउनुभयो । “सधैँ सदरमुकाम जानुपथ्र्याे तर यसपालि मेरो समस्या सोताङमै समाधान भएको छ ।” राईका अनुसार गाउमै सेवा पाएपछि नजिक भएकाले छिटो, सस्तो र सहज भएको छ ।

खोटाङ जिल्लाको एँैसेलुखर्कबाट विक्रम विक पनि सेवा लिन प्राथमिक उपचार केन्द्र सोताङमा आउनुभएको छ । उहाँका अनुसार आफ्नो जिल्लाको सदरमुकाम दिक्तेल पुग्न पूरै एकदिन खर्चनु पर्ने भएकाले सोताङमा सेवा लिन आएको बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङका अनुसार सांसद कोषको सहयोगमा जिल्लाको विकट तथा सदरमुकामदेखि टाढाको गाविस सोताङमा पहिलोपटक डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो ।

त्यस्तै, छातीमा समस्या भएपछि उपचारका लागि सदरमुकाम हिँड्नुभएका छेस्कामका दिलबहादुर राईले पनि सोताङमै सेवा लिनुभएको बताउनुभयो । सोताङबाटै सेवा सुरु भएको रहेछ । नजिक भएको र अब सदरमुकाम धाउनु नपरेकाले सहज भएको बताउनुभयो ।

जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद बल बहादुर केसीको सांसद विकास कोषको रु नौ लाख ५७ हजार र स्थानीयवासीको रु एक लाख १७ हजार लगानीमा एक्स–रे सेवा सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका सिनियर अहेव श्रीध्वज राईले बताउनुभयो ।

उहाँका अनुसार सोताङमा सेवा सुरु भएपछि जिल्लाको विकट क्षेत्रका छेस्काम, गुदेल, बुङ, सोताङ, पावै, देउसा, वाकु, लोखिम गरी आठ गाविस र छिमेकी जिल्लाका स्थानीयवासीलाई सहज भएको छ । रासस

बेचबिखनका लागि लैजाँदा १०३ चेलीको उद्धार

चितवन, १६ भदौ । विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एकबर्षमा १०३ जना महिलाको उद्धार भएको छ ।

माइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो । विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा जाँच गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा उनीहरुलाई पत्ता लगाएर घर फर्काइएको हो । तर यसरी उनीहरुलाई घर फर्काइए पनि पीडक भने सजिलै उम्कने गरेको दवाडीले जानकारी दिनुभयो ।

यसरी उद्धार गरिएकामा १० देखि १६ वर्ष उमेरका ५२, १७ देखि २० वर्ष उमेरका २३ तथा २१ देखि ३५ वर्षका २८ जना रहेका छन् ।

यस्तै, माइती नेपालले २९ वटा घरेलु हिंसाका घटनामा आफूहरुले काम गरेको जनाएको छ । उद्धार गरिएका चेलीले समेत स्पष्ट कुरा नभनिदिने, भनिहालेमा पनि कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुने, अभिभावक संवेदनशील नहुनेलगायत समस्याका कारण उनीहरु सजिलै उम्कने गरेको दुखेसो माइती नेपाल चितवनको छ । १०३ जना उद्धार गर्दा जम्मा चारजना मात्रै कारबाहीको दायरामा पुग्नुले पनि यसलाई पुष्टि गरेको छ ।

पछिल्लो समयमा अधिकांश चेली भूकम्पप्रभावित जिल्लाबाट आउने गरेको र भूकम्पले बुबाआमा गुमाएका, घर भत्किएका र पीडित बनेका धेरै रहेको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा, धादिङ, लमजुङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई चितवन हुँदै भारत लैजाने गरेको पाइएको छ । “विभिन्न जिल्लाबाट चितवनमा ल्याएर राख्ने, अनि अनुकूल भएपछि भारत लैजाने गरेको पाइयो”, खनालले भन्नुभयो, “चितवनलाई तस्करले ट्रान्जिट प्वाइन्ट बनाएका रहेछन्, यसतर्फ सबै निकायको ध्यान जानुपर्छ ।”

सूचनाकर्ता एलिसा श्रेष्ठ चेलीको गतिविधि मूल्याङ्कन गर्ने, गाडीमा अनुगमन गर्ने गरेकाले सोही क्षेत्रबाट बढी चेलीको उद्धार गरेको जानकारी दिनुभयो । उनीहरुले राम्ररी कुरा नगर्दा हाउभाउको आधारमै चेलीको गतिविधि थाहा हुने गरेको उहाँले बताउनुभयो । रासस

सुकुम्वासीलाई उचित व्यवस्थापन गर्न आग्रह

गोरखा, १६ भदौ । गोरखाको पालुङटार नगरपालिकास्थित च्याङ्ली खोलाघाट बस्ती, ल्हो गाविस तथा गोरखा नगरपालिकाको शक्तिचोकदेखि गोरखा क्याम्पस जानेबाटो आसपासका सुकुम्वासीलाई सरकारले जग्गा उपलब्ध गराएर जग्गाधनी पुर्जा दिनुपर्ने नेकपा (क्रान्तिकारी माओवादी), गोरखाले माग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई बुधबार ज्ञापनपत्र बुझाउँदै माओवादीले सुकम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने, रोजगारीको व्यवस्था मिलाउनुपर्ने, सुकुम्वासीका बच्चालाई निःशुल्क शिक्षा दिनुपर्ने, औषधि तथा उपचारमा छुटको व्यवस्था गर्नुपर्ने र परिचयपत्रको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको हो ।

माओवादी जिल्ला कार्यालय सदस्य कृष्ण कट्टेलले सप्रजिअ शर्मालाई दशबुँदे मागसहित ज्ञापनपत्र बुझाउनुभएको हो । रासस

तेह्र हजारको खातामा पहिलो किस्ता

नुवाकोट, १६ भदौ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता अहिले नुवाकोटमा धमाधम वितरण भइरहेको छ ।
जिल्लाका भूकम्पपीडित १३ हजार ३०१ जनाको खातामा पहिलो किस्ता बापत रु ५० हजारका दरले जम्मा रु ६६ करोड ५० लाख ५० हजार निकासा भएको हो ।

गाविस र नगरपालिकामा भूकम्पपीडितले अनुदान सम्झौता गरेअनुसार बैंकबाट रकम वितरण भइरहेको हो । गत आर्थिक वर्षमा थोरै मात्र रकम वितरण भएको तर चालु आर्थिक वर्षको डेढ महिनामा ६६ करोड रुपैयाँभन्दा बढी रकम पीडितको खातामा जम्मा भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।

सरकारी निकायबाहेक विभिन्न गैरसरकारी संस्थामार्फत पनि भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार अहिलेसम्म ९४७ जना भूकम्पपीडितलाई गैरसरकारी संस्थाले चार करोड ७८ लाख ७५ हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।

सरकारले लाभग्राहीको सूचीमा नाम प्रकाशित गरेका ६५ हजार ७५९ पीडितमध्ये ५० हजार ६१२ जनासँग अनुदान सम्झौता भइसकेको छ । नुवाकोटमा भूकम्पपीडितका नौ हजार ५५० वटा गुनासो दर्ता भएका छन् । रासस

कैलालीमा स्थानीय निकायको सङ्ख्या बढाउन माग

धनगढी, १६ भदौ । कैलाली जिल्लामा स्थानीय तहको पुनःसंरचनाका क्रममा प्रस्ताव गरिएको स्थानीय तहको सङ्ख्या कम भएकाले सङ्ख्या बढाउन सरोकारवालाले जोड दिएका छन् ।

बुधबार यहाँ आयोजित जिल्लास्तरीय कार्यशाला गोष्ठीमा सहभागीले थोरै सङ्ख्यामा स्थानीय निकायको पुनःसंरचना गर्दा जनताले हाल पाइरहेको सेवासुविधा लिन कठिनाइ हुने भएकाले हाल प्रस्तावित सङ्ख्या बढाउनुपर्ने सुझाव दिनुभयो ।

हतारहतारमा पुनःसंरचनाको काम गर्दा त्यसबाट जनताबीच नै द्वन्द्व सिर्जना हुने भन्दै सहभागीले गहन अध्ययन छलफल गरी सहमति जुटाएर मात्र जिल्लाको भूगोल, जनसङ्ख्या एवम् वस्तुस्थितिसँग मेल खानेगरी नयाँ खाका बनाउनसमेत सुझाव दिनुभयो ।

कार्यक्रममा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका तर्फबाट जिविसका अधिकृत योगेन्द्र ओझाले जिल्लामा चारवटा गाउँपालिका, पाँच नगर क्षेत्र र एक उपमहानगरपालिकाको सीमाङ्कन तथा तिनको केन्द्र निर्धारणसम्बन्धी प्रस्ताव पेस गरेकामा प्रस्तावित खाकाप्रति सहभागीले असहमति जनाएका थिए ।

कार्यक्रममा जिल्ला प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी केशवप्रशाद बिमलीले प्रस्तावित स्थानीय तहको खाका अन्तिम नभएको स्पष्ट पार्दै गोष्ठीमा आएका सुझावलाई समेटेर प्रतिवेदन पेस गरिने जानकारी दिनुभयो ।

प्रस्तावित खाकाप्रति सहभागीले असहमति जनाएपछि स्थानीय विकास अधिकारी बिमलीले जिल्लामा हाल प्रस्ताव गरिएका दशवटा स्थानीय निकायको सङ्ख्या बढाएर स्थानीय निकायको पुनःसंरचना गर्ने जिम्मेवारी पाएको सिमाना निर्धारण आयोगसमक्ष प्रतिवेदन बुझाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

विभिन्न कार्यक्रमसहित आज मोति जयन्ती मनाइँदै

काठमाडौ, १५ भदौ । राष्ट्रिय विभूति, नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको १५० औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र््याउनुभएको थियो । रासस

आज बाबुको मुख हेर्ने पर्व मनाइँदै

gokarnaकाठमाडौँ, १६ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन÷तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ ।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

कुशे औँसी
भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पाप मुक्त भइन्छ भन्ने मान्यता छ ।

बजार अनुगमन

anugamanआपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनको क्रममा रु एक करोडभन्दा माथिको लगानी गरी व्यवसाय दर्ता गर्दा रु तीन लाखको मात्र पुँजी देखाएको पाइएपछि गत शुक्रबार सिलबन्दी गरीएको बानेश्वर शान्तिनगरस्थित पसल तोकिएअनुसार व्यवसाय दर्ता प्रकृया पुरा गरेपछि बुधबार विभागकै कर्मचारीको सक्रियतामा सिल तोडीएको छ । तस्बिर : शर्मिला पाठक, रासस

अदिति भइन् मिस टिन कलेज

miss-teen1मिस टिन कलेज २०१६ की विजेता अदिति तुलाधरलाई बुधबार ताज लगाईदिँदै पूर्व मिस टिन कलेज विजेता कुसुम थापामगर । तस्बिर : प्रदीपराज वन्त, रासस

नाडाको ११ औँ अटो सो

nadaकाठमाडौँको भृकुटीमण्डपमा अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)द्वारा सञ्चालित ११औँ अटो सोको प्रदर्शनीमा राखिएका सवारी साधनमा प्रयोग हुने सामग्रीको अवलोकन गर्दै ग्राहक । तस्बिर : रोशन सापकोटा, रासस

राखेपको वार्षिकोत्सवमा कर्मचारी र पत्रकार सम्मानित

काठमाडौँ, १५ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५३औँ वार्षिकोत्सवका अवसरमा छ कर्मचारी तथा त्यत्ति नै सङ्ख्यामा विभिन्न सञ्चारमाध्यमका खेल पत्रकारलाई सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, राखेप सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गर्नुभयो । प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कटवाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित हुनुभयो । कटवालले रु २५ हजार, थापाले रु १५ हजार तथा घिमिरेले रु १० हजारसहित सम्मानपत्र प्राप्त गर्नुभयो ।

प्राविधिकको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका भलिबल सहायक प्रशिक्षक जगदीशप्रसाद भट्ट, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट बाँके जिल्ला खेलकुद विकास समितिका जुडो प्रशिक्षक दलबहादुर गुरुङ तथा परिषद् सेवा पुरस्कारबाट उदयपुर जिल्ला खेलकुद विकास समितिकी कबड्डी सहायक प्रशिक्षक पार्वती राई पुरस्कृत हुनुभयो । उहाँहरुले पनि प्रशासनसरह नै पुरस्कार र सम्मानपत्र प्राप्त गर्नुभयो ।

त्यस्तै सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण दैनिकका रोशनकुमार सिंह (राउत), नयाँ पत्रिका दैनिकका श्रीलोचन राजोपाध्याय, कान्तिपुर दैनिकका विनोद पाण्डे, द हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्तसिंह क्षेत्री, नागरिक दैनिकका प्रकाश तिमल्सिना तथा कान्तिपुर टेलिभिजनका प्रदीप लेखी रहेका छन् ।

सोही अवसरमा परिषद्मा २५ वर्ष सेवा पूरा गरेका ११ कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो । त्यस्तै २० वर्ष सेवा अवधि पार गरेका १३६ जनालाई परिषद् सेवा पदकबाट विभूषित गरियो ।

कार्यक्रममा मन्त्री श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताउँदै काम गर्ने कर्मचारीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने नीतिलाई सँगसँगै लिएर अगाडि बढ्ने बताउनुभयो ।

वार्षिकोत्सवकै अवसरमा ७५ जिल्ला तथा पाँच विकास क्षेत्रका खेलकुद कार्यालयमा विविध कार्यक्रम भएका थिए । रासस

खेलाडी बेपत्ता प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौँ, १५ भदौ । मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मङ्गलबार छानबिन समिति गठन गरेको छ ।

उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुदप्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी सङ्घलगायतले छानबिनको माग गरेका थिए ।

राखेपले आफ्ना सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।

समितिका सदस्यमा राखेपअन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानुन शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई सात बुँदामा केन्द्रित रहेर सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

समितिलाई सो कार्यमा कस्को संलग्नता रहेको छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिई किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानबिन गर्न भनिएको छ ।

त्यस्तै आइसिसीको निर्देशनअनुसार राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटामार्फत खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो । रासस

सोमालियाली होटेलमा आक्रमण १५ को मृत्यु

मोगादिसु १५ भदौ । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक प्रख्यात होटेलको बाहिरी इलाकामा जिहादी समूहले गराएको कारबम विस्फोटमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी स्रोतले बुधबार बिहान सो जानकारी दिएको छ । विस्फोट गराइएको उक्त इलाका राष्ट्रपति भवनको पनि नजिकै रहेको बताइएको छ ।

यस आक्रमणमा परी १५ व्यक्तिको मृत्युहुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रमुख बिसार गेदीले बताउनुभएको छ । मङ्गलबार भएको यस आक्रमणमा मारिएका सर्वसाधारण र सुरक्षा अधिकारी रहेका छन् ।

सो आक्रमणको समयमा त्यहाँ रहेका पत्रकार घाइते भएका बताइएको छ । सुरुमा यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य २८ घाइते भएका बताइएको थियो ।

यो होटेल सोमालीयाली सरकारी कार्यलय, राष्ट्रपति भवन र अन्य मन्त्री निवासको नजिकै पर्ने बताइएको छ । अल कायदासँग आवद्ध साबाब जिहादी समूहले यस आक्रमणको जिम्मा लिएका छन् ।

यस होटेलमा वरिष्ठ सरकारी अधिकारीहरु, व्यापारी, कुटनितिज्ञजस्ता उच्चस्तरीय अधिकारीको आगमन हुने गरेको बताइएको छ ।

यस अघि यसैबर्षको फेब्रुअरी र गत वर्षको जनवरीमा पनि यस होटेलमा आक्रमण भएको थियो । रासस÷एएफपी

उत्तरी जापानमा ‘लायनरक’ तूफानबाट दशको मृत्यु

टोक्यो, १५ भदौ । जापानको उत्तर र उत्तरपूर्वी क्षेत्रमा मङ्गलबार बिहानदेखि आएको ‘लायनरक’ नामक तूफानको कारण १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका छन् ।

स्थानीय सञ्चारमाध्यमले बुधबार सो जानकारी दिएका बताइएको छ । ती सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै सबैलाई सुरक्षित र सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।

नौ व्यक्तिको शव इवेटे प्रान्तको एक नर्सिङ्ग होमनजिकै फेला परेको स्थानीय प्रहरीस्रोतले जानकारी दिएको छ । सो प्रान्तको कुजी सहरमा एक महिलाको शव फेला परेको छ ।

यस तूफानको कारण सुदूरउत्तर होक्काइदो प्रान्तमा तीन व्यक्ति वेपत्ता भएका छन् । सोही तूफानले होक्काइदो प्रान्तको टोहोकु क्षेत्रमा चार लाख व्यक्तिलाई खतरा पु¥याएको भन्दै उद्वारगरी अन्यत्रै सारिएको बताइएको छ । रासस÷सिन्ह्वा

क्यानडा एआइआइबीको सदस्य बन्ने

बेइजिङ, १५ भदौ । क्यानडाले पनि चीनको अग्रसरतामा स्थापना हुन लागेको बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) को सदस्यताका लागि आवेदन गर्ने भएको छ ।

क्यानडाले सो बैंकको सदस्यताको लागि आवेदन गर्न लागेको कुरा क्यानडाली विदेशमन्त्रालयले जनाएको छ ।

क्यानडाली अर्थमन्त्री बिल मोर्नले उक्त देशले चिनियाँ अग्रसरता र लगानीको बैंक एआइआइबीको सदस्यताका लागि आवेदन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

उहाँले यस विषयमा निर्णय भइसकेकोले अब आवेदनको प्रक्रियामा जाने धारणा राख्नुभयो । यो सदस्यता आफ्नो देशका लागि एक अवसर पनि हो भन्नुभयो ।

हालैका दिनमा यस बैंकका बारेमा विश्वव्यापी रुपमा विभिन्न प्रतिक्रियाहरु आउने गरेका छन् । कतिपयले यसलाई विश्वबैंकको एक प्रतिद्वन्दी बैंकका रुपमा पनि लिने गरेका छन् ।

यस्तै फिलिपिन्समा मुख्यालय रहेको एसियाली बैंकको अर्काे प्रतिश्पर्धीका रुपमा पनि विश्वका केही अर्थशास्त्रीहरुले लिने गरेका छन् ।

उक्त बैंकले यसै वर्षको सुरुवातदेखि नै आफ्नो कार्यारम्भ गरेको छ । सो बैंकमा सदस्यताका लागि चीनले विश्वका सबै देशलाई आग्रह गरेको छ ।

उक्त बैंकका अध्यक्ष जिन लिछुङले क्यानडाले यो निर्णय गर्नुले उक्त बैंकले आफ्नो कार्य सुरु गरेको केही समयमा नै प्रगति गरेको भनेर बुझ्न सकिने जानकारी पनि दिनुभयो । रासस÷सिन्ह्वा

मोर्चा परिवर्तन भए पनि ‘मिसन’ उही : महासचिव पोखरेल

सिन्धुलीमाढी, १५ भदौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताउनुभयो ।

उहाँले एमालेले बोेकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै भएकाले ती मुद्दालाई जनताका बीचमा जागरणका रुपमा लैजान पार्टी परिचालित हुने पनि उल्लेख गर्नुभयो ।

एमालेका सचिव गोकर्ण विष्टले ओली नेतृत्वको सरकारले गरेका लोकप्रिय कामको जगमा पार्टी प्रतिपक्षमा रहँदा एकतावद्ध भई आगामी प्रतिस्पर्धामा श्रेष्ठ हुने गरी अगाडि बढ्ने जनाउनुभयो ।

अर्का सचिव योगेश भट्टराईले संविधान बमोजिम स्थानीय तह र अन्य तहको निर्वाचन समयमा गर्न सरकारसँग माग गर्दै निर्वाचन नगर्ने र अनावश्यक विषयमा संविधान संशोधन गराउन खोजेर मुुलुकलाई अधोगतिमा धकेल्ने प्रयास चिनुपर्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले प्रेस चौतारी नेपालले व्यावसायिक र वैचारिक रुपमा आफूलाई थप सशक्त बनाउन बैठकको सफल होस् भनी कामना गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको वृद्धि भएको न्यूनतम पारिश्रमिक लागू गराउन दबाब सिर्जना गर्ने बताउनुभयो । एमाले केन्द्रीय सदस्य कमलजङ्ग राई, एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, सांसद् गणेश पहाडीलगायतले बैठकको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार कुन्दन अर्यालले ‘लोकतान्त्रिक संस्कृति निर्माणमा मिडियाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले व्यावसायिक रुपमा दक्ष र वैचारिक रुपमा प्रस्ट पत्रकारको संस्थाका रुपमा सङ्गठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गत जेठ ६ देखि ८ सम्म काठमाडौँमा सम्पन्न आठौं अधिवेशनबाट चयन भएको चौतारीको नयाँ नेतृत्वको दोस्रो पूर्ण बैठकले तीन वर्षको कार्यकालका लागि कार्ययोजना, कार्य विभाजनलगायतका कार्यसूचीमा छलफल गर्नेछ । रासस

स्थानीय निकायको चुनाव हुन नसक्ने : कमल थापा

सप्तरी, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाउनुभयो ।

उहाँले आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मङ्सिरमा तीन ÷तीनवटा चुनाव हुन गाहे हुने भन्दै राजनीतिक अन्योलतालाई अन्त्य गरी तत्काल स्थानीय निकाय चुनावको मिति तोक्न सरकारलाई आग्रह गर्नुभयो ।

नेता थापाले वर्तमान सरकारले भारत भ्रमण गर्नुभन्दा अगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली जनतालाई आँखामा छारो हाल्नु वाहेक केहि नभएको आरोप लगाउनुभयो ।

उहाँले संविधान संशोधनलगायत अन्य मुद्दा आन्तरिक मामिला भएकाले यसलाई सबै दल मिलेर टुग्याउनुपर्नेमा जोडदिदैं उहाँले भन्नुभयो, हिन्दू धर्म संरक्षण र सम्वद्र्धनका लागि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो ।
रासस

समाजसेवी महावीर पुनलाई आर्थिक सहयोग

भक्तपुर, १५ भदौ । एभरेष्ट इङ्गलिस स्कुल मिवाछें भक्तपुरले समाजसेवी महावीर पुनलाई रु तीन लाख ३३ हजार ३३३ सहयोग गरेको छ ।

विज्ञान र प्रविधिको विकास मार्फत नेपाललाई आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा लागेका पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई स्कुलको तर्फबाट रु एक लाख ११ हजार १११, एभरेस्ट जन्मदिन कोषबाट रु एक लाख ११ हजार १११ र विद्यालयका अभिभावक, शुभचिन्तक एवम् अन्यबाट सङ्कलन गरिएको रु एक लाख ११ हजार १११ गरी रु तीन लाख ३३ हजार ३३३ पुनलाई आज हस्तान्तरण गरिएको हो ।

एभरेस्ट जन्मदिन कोषका सद्भावनादूत एवम् राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले पुनलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

म्यागासासे पुरस्कारबाट पुरस्कृत केन्द्रका संस्थापक पुनले विज्ञान प्रविधिको अनुसन्धान र विकासमार्फत नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन केन्द्रले अभियान थालेको बताउँदै अबको ४० वर्षमा देशलाई सम्पन्न बनाउन सबै विद्यार्थी तथा शुभचिन्तकको सहयोगको अपेक्षा गर्नुभयो ।
रासस

भारतको सिमलामा ६ नेपालीको मृत्यु

रोल्पा, १५ भदौ । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्षका छोरा कर्णबहादुर पुनमगर रहेको बताइएको छ ।

सो परिवार भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै १५ वर्ष पहिलेदेखि आलुखेती गर्दै आएको छिमेकी वीरबहादुर घर्तीले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय रोल्पाले यसबारेमा आफूहरुलाई केही जानकारी नआएको बताएको छ ।

आर्थिक अभावका कारण धेरै रोल्पाली भारतको हिमाञ्चलमा जीविपार्जनका लागि जाने गर्दछन् । रासस

जापानद्वारा पौने दुई अर्ब बढी अनुदान सहयोग

काठमाडौँ, १५ भदौ । जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई रु एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले रु एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ ।

त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले रु ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ । उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा राजदूत ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने सचिव रेग्मीले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति जापानले गरेको योगदानप्रति आभार प्रकट गर्नुभयो । रासस

वैज्ञानिक मापदण्डको स्थानीय तहको संरचना

काठमाडौँ, १५ भदौ । व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान आग्रह गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने स्थानीय तहको संरचनालाई छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै, स्थानीय तहको निर्वाचनको लागि आवश्यक पर्ने कानुनको तत्काल मस्यौदा गरी संसदमा पेश गर्न समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देश गरेको छ ।

बैठकले स्थानीय विकासका सन्दर्भमा समितिले हालसम्म दिएका निर्देशनको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको भन्दै स्थानीय निकायका कामलाई अझ बढी प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउनेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी नियमावली नहँुदा विकास कार्यक्रमको सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो नियमावली तयार गर्न पनि मन्त्रालयलाई आग्रह गरेको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएकोमा हितराज पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

बाबुको मुख हेर्ने औँसीमा गोकर्णेश्वर उत्तरगयाको महत्व

गोकर्णेश्वर (काठमाडौँ), १५ भदौ । बाबुको मुख हेर्ने औशीका दिन दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्ने स्थलकारुपमा परिचित काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगयाको महत्व बढदै गएको छ ।

भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गरे घर, मामाघर र ससुराली तर्फका सात पुस्ता पितृ मोक्ष हुने भन्ने धार्मिक विश्वास छ । यही विश्वासले वर्षेनि भाद्रकृष्ण औँसीको दिन हिन्दू तथा बौद्ध धर्मावलम्बीको यहाँ भीड लाग्ने गर्दछ ।

सत्ययुगमा ब्रह्माले तपस्या गरी गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा पितृलाई तर्पण, सिदा र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासले यस दिनमा मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्ट बताउनुहुन्छ ।

हिन्दूमात्र होइन बौद्धमार्गी पनि एक वर्षभित्र पिता दिवङ्गत भएका पिताको संझनामा यहाँ श्राद्ध र पूजा गरी भोज खाने प्रचलन रहेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा बताउनुहुन्छ ।
“यस दिन पूजा पाठ र गोकर्णर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत पिताको स्वरुपको दर्शन पाइने विश्वास छ । ”–उहाँले भन्नुभयो ।

बौद्ध धर्मावलम्बीले गोकर्णेश्वर महादेवलाई बौद्धका १२ तीर्थमध्ये बोधिसत्व तीर्थका रुपमा पितृ उद्धारका लागि १००८ दीप प्रज्ज्वलन गर्छन् ।

भगवान् विष्णुको दायाँ पाउ रहेको गोकर्णेश्वर क्षेत्र पितृ उद्धारका दृष्टिले महत्वपूर्ण भए पनि सरकारले ध्यान नदिँदा ओझेलमा परेको यहाँको विकास तथा प्रचार–प्रसारमा सक्रीय प्रा डा ऋषिराम पोख्रेल बताउनुहुन्छ ।

“भारतमा भगवान् विष्णुको बायाँ पाउ छ, जसलाई प्रचारप्रसार गरी भारतीयले उत्तरगया उतैपर्छ भनी भ्रम छरेका छन्, तर हामी भने भएको कुरा पनि प्रचारमा पनि ल्याउन नसक्दा नबोल्नेको चामल पनि नबिक्ने’ अवस्थामा पुगेका छौँ”–उहाँले भन्नुभयो ।

यस स्थानमा भगवान् विष्णुले असुर नाम गरेका राक्षसलाई खुटृाले किचेर मारेको संझनामा अहिले यहाँ विष्णुपादुका बनाइएको छ । विष्णुपादुकामा श्राद्ध गरे पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । भगवान विष्णुको दायाँ पाउ रहेको स्थानमा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले विसं १९११ मा आमा रक्षाकुमारीको नाममा गदाधर नारायणको मन्दिर निर्माण गरिदिएपछि यो स्थल केही व्यवस्थित भएको थियो ।

जङ्गबहादुरपछि आजसम्म पनि सरकारको ध्यान यसतर्फ नजाँदा यो क्षेत्र अझै ओझेलमा परेको स्थानीयवासी त्रिलोचन पौडेलको गुनासो छ । मणिचूड, शिवपुरी, नागार्जुन, चन्द्रागिरी, फुलचोकी, चाँगु र नगरकोट गरी सातवटा पर्वतले घेरिएकोस्थल उत्तरगया भनी हिन्दू ग्रन्थमा वर्णन छ । त्यो पवित्र उत्तरगया तीर्थ गोकर्णेश्वर नै हो भन्नेमा द्विविधा नरहेको गोकर्णेश्वरका विषयमा खोज गरिरहनुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ बताउनुहुन्छ ।

“गोकर्णेश्वरको धार्मिक ऐतिहासिक पौराणिक र पुरातात्विक महत्वलाई प्रचारप्रसार गर्नसके विश्वका धार्मिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउनेछन्, गोकर्णेश्वरको महत्व पशुपतिनाथसँग पनि जोडिएको छ, पशुपतिमा श्रीयन्त्रको पूजा हुन्छ, गोकर्णेश्वरमा बालयन्त्रको, बालयन्त्रको पूजा नगरी श्रीयन्त्रको पूजा गर्दा फल पाइँदँैन भन्ने शास्त्रीय मान्यता छ”–उहाँले भन्नुभयो ।

भारतको दक्षिणगया र भरतखण्डको उत्तरतर्फ रहेको सात पर्वतले घेरिएको नेपालको राजधानी काठमाडौँमा रहेको गया उत्तरगया भएको प्रमाणित भए पनि सरकारको बेवास्ताका कारण विश्वका धार्मिक पर्यटकको आँखामा यो स्थल ओझेलमा परेको अनुसन्धानदाता ‘वेदमणि’ बताउनुहुन्छ ।

गोकर्णेश्वर मन्दिरको अहिलेको स्वरुप लिच्छविकाल अगाडिनै निर्माण भएको विश्वास गरिन्छ । प्यागोडाशैलीको तीन तले यो मन्दिरको संरचनाका कारण मानदेवको समयअघि नै मन्दिर निर्माण भइसकेको मानिन्छ तर अहिलेसम्म प्रामाणिक तथ्य फेला नपरेको पुरातत्व विभागका अधिकृत भीष्म बास्कोटा बताउनुहुन्छ ।
स्वयम्भू पुराणमा गोकर्ण, पशुपति, चोभार र कटुवालदह गरी चार ठाउँमा मञ्जुश्रीले खड्गले काटी उपत्यकामा बस्ती बसाएको उल्लेख छ । हिन्दूग्रन्थमा भने यी चार स्थानमा भगवान् श्रीकृष्णले जादुमय खड्गले काटेपछि काठमाडौँ उपत्यकाको बस्ती विकास भएको वर्णन छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले यहाँ शान्ति स्मारककारुपमा निर्माण गरिरहेको छ भने राष्ट्रिय सहिद तथा शान्ति स्मारकले पनि धार्मिक क्षेत्रका रुपमा गोकर्णेश्वर उत्तरगया पितृृतीर्थलाई विकसित गर्नका लागि आफ्नो गुरुयोजनामा समावेश गरी कार्य अगाडि बढाएको स्मारकका अध्यक्ष सुदर्शन सिग्देल बताउनुहुन्छ ।

“स्मारकले गोकर्णेश्वर मन्दिरको क्षेत्रलाई धार्मिक भनी १५ रोपनी जमिन छुट्याएको छ, मन्दिरमाथि बस्ती रहेको सात रोपनी र सहयोगी उच्चमाविको २४ रोपनी क्षेत्रफलमा पनि गुरुयोजना पारी मन्दिरक्षेत्रको विकास एवम् प्रचारप्रसार गर्न सकिने हुँदा यहाँ गोकर्णेश्वर पितृतीर्थधाम बनाउने अभियानमा सहयोग जुटाउँदै छौँ”–उहाँले भन्नुभयो ।

रामायणलगायत ग्रन्थमा रावणले गोकर्णेश्वरमा तपस्या एवम् यज्ञ गरी यज्ञडोलस्थान बनेको उल्लेख छ । भाषा वंशावलीमा गोकर्णमै मानदेवले मानगृह निर्माण गरेको वर्णन छ । गोकर्णेश्वरको बालुवा गाउँमा अंशुबर्माको शासनकाल सम्वत् ५३६ मा राखिएको अभिलेख पाइएको विभागले जनाएको छ । जसमा ‘श्रीराजबिहार, अहिन्दूकोट’ शब्द उल्लेख गरिएको विभागका अधिकृत बास्कोटाको भनाइ छ ।

किराँत कालको राजधानी गोकर्णमा रहेकामा राजपुतले आक्रमण गरेपछि शङ्खमूलमा सारिएको ऐतिहासिक ग्रन्थमा उल्लेख छ । गोकर्ण क्षेत्रमा विभिन्न सम्प्रदायका ६० भन्दा बढी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवम् धार्मिक कलाकृति रहेका र तिनले बनारसकै झझल्को दिने शोधकर्ता बास्कोटाको भनाइ छ । बागमती, सूर्यमती र चन्द्रमती तीन नदीले यस क्षेत्रलाई गाईको कानको आकार बनाएकाले यस क्षेत्रको नाम गोकर्ण राखिएको हो ।

मध्यकालको १६ औँ शताब्दीदेखि गोकर्णे औँसी मनाउन थालिएको हो । गोकर्णेश्वरमा भाद्रकृष्ण औँसी, पौषकृष्ण औँसी र सोह्रश्राद्धमा समेत मेला लाग्ने गर्दछ । हिउँदमा गोकर्णेश्वर मन्दिरमा खित्रो चढाइ हिमालय पर्वतमा पठाउने प्रचलन अहिलेपनि छ । पूर्णप्रसाद मिश्र/रासस

‘आप्रवासी कामदार’ सम्बन्धी सार्क घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार

काठमाडौँ, १५ भदौ । पाकिस्तानमा हुन गइरहेको १९औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा प्रस्तुत हुने ‘आप्रवासी कामदार’ सम्बन्धी घोषणापत्रको प्रारम्भिक मस्यौदा (जिरो ड्राफ्ट) तयार भएको छ ।

सार्क राष्ट्रबाट रोजगारीका लागि बिदेसिने कामदारको समान न्यूनतम ज्याला, समान कामको लागि समान ज्याला, कामदारको हकहितका लागि सामूहिक प्रतिबद्धता र कामदार लिने गन्तव्य मुलुकसँग सार्क आबद्ध राष्ट्रको सामूहिक सौदाबाजी गर्ने उद्देश्यसहित घोषणापत्र जारी गर्न लागिएको हो ।

२०७१ मङ्सिर २१ र २२ गते काठमाडौँमा सम्पन्न अठारौँ सार्क सम्मेलनले पारित गरेको ३६ बुँदामध्ये २१ नम्बर बुँदामा सार्क राष्ट्रबाट रोजगारीका लागि जाने आप्रवासी कामदारको सेवा, सुरक्षालगायतका विषयमा सदस्य राष्ट्र सामूहिक रुपमा कार्य गर्ने उल्लेख थियो ।

सोही बुँदालाई मूर्तरुप दिन गत वैशाख २१ र २२ गते काठमाडौँमा सार्क राष्ट्रका श्रम तथा रोजगार मन्त्रालय हेर्ने उच्च सरकारी अधिकारीको बैठकले सोसम्बन्धी कार्ययोजना पारित गरेको थियो ।

कार्ययोजनाअनुरुप बैठकले आगामी सार्क सम्मेलनका लागि मस्यौदा तयार पार्ने जिम्मा सार्क सचिवालय र नेपाल सरकारलाई दिएकोमा सोसम्बन्धी प्रारम्भिक मस्यौदा तयार गर्न लागिएको हो । सोहि अनुरुप सार्क सचिवालय, श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र विज्ञ सम्मिलित टोलीले प्रारम्भिक मस्यौदा तयार पारेको हो ।

मस्यौदालार्ई श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमा र परराष्ट्र मन्त्रालयले काठमाडौँमै कार्यालय रहेको सार्क सचिवालयमा पठाउने जनाएको छ ।

सचिवालयले सार्क आबद्ध आठवटै मुलुकमा सहमतिका लागि मस्यौदा पठाउनेछ । ती मुलुकबाट मस्यौदामा सहमति वा परिमार्जनको लागि प्राप्त विवरणको आधारमा सचिवालयले मस्यौदालाई घोषणापत्रको रुपमा आगामी सार्क सम्मेलनमा प्रस्तुत गर्नेछ ।

प्रारम्भिक मस्यौदाका विषयमा श्रम मन्त्रालयले आज सरोकारवाला निकायबाट राय, सुझाव समेटेको छ । प्राप्त राय, सुझावका आधारमा यसलाई थप परिस्कृत गर्दै सचिवालयमा पठाइने मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले जानकारी दिनुभयो ।

बेरोजगारीका कारण विदेसिएका कामदार सुरक्षाको विषय सार्क स्थापनाको भएको ३१ वर्षपछि प्रवेश पाएको छ, यो नै ठूलो उपलब्धि भएको र यसलाई आगामी सम्मेलनबाट पारित गर्न सके कामदारको पक्षमा ऐतिहासिक काम हुने उहाँको भनाइ छ ।

प्रस्तावना, सिद्धान्त, निगरानी संयन्त्र गठनलगायका बुँदा खाकामा समावेश छ । सार्क सबैभन्दा बढी कामदार पठाउने क्षेत्रमा पर्छ ।

मस्यौदाको प्रस्तावनामा कामदारको सेवा, सुरक्षा, मानवअधिकार, श्रम अधिकारलगायतका विषयमा साझा सहमति कायम गरेर मिलेर काम गर्ने उल्लेख छ ।

त्यसैगरी कामदारको सीप अभिवृद्धि, सार्कको आर्थिक सम्ृद्धिका लागि पहल गर्ने, आप्रवासको कारण पहिल्याएर त्यसलाई न्यूनीकरण गर्न पहल गर्ने, सामूहिक सहयोगको माध्यम अपनाउने, रोजगारीको नाममा भइरहेको मानव तस्करी रोक्ने मस्यौदामा उल्लेख छ ।

कार्ययोजनामा सार्कबाट बिदेसिने कामदारको समान सीप अभिवृद्धि क्षमता विकास गर्ने, अभिमुखीकरणको एउटै पाठ्यक्रम विकास गर्ने, कामदारको न्यूनतम ज्याला तय गर्ने, गन्तव्य मुलुकसँग सार्क राष्ट्रले सामूहिक रुपमा सौदाबाजी गर्ने, सूचना आदनाप्रदानका लागि संयन्त्र निर्माण गर्नेलगायतका विषय समावेश गरिएको छ ।

कामदार पठाउने प्रक्रिया स्वच्छ र नैतिक सीमामा बाँध्न निर्देशिका बनाउने र कार्यान्वयन भए नभएको निरन्तर अनुमगन गर्ने, कामदारले पठाएको विप्रेषण उचित काममा प्रयोगका लागि सदस्य राष्ट्रले राष्ट्रिय कार्ययोजना बनाउने, सामूहिक आर्थिक हितका लागि प्रयास गर्ने, विपे्रषण पठाउँदा लाग्ने कर घटाउन पहल गर्ने तथा कामदारको सुरक्षा, मासिक तलबको नियमितता र जीवनस्तर विकासका लागि कानुनी सुनिश्चितताका लागि पहल गर्ने मस्यौदामा उल्लेख छ ।

कामदार गएको मुलुकमा युद्ध वा सङ्कट उत्पन्न भए कामदारको उद्धारका लागि संयुक्तरुपमा काम गर्ने विषय समेत प्रस्तावित छ ।

सबै सदस्य राष्ट्रमा मस्यौदाको विषयमा साझा सहमति बन्न सकेमात्रै यो विषयले आगामी सम्मेलनमा प्रवेश पाउने र पारित हुने सम्भावना रहेकाले यसमा सबै राष्ट्रको भावना समेटिने प्रयास गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राघुराज काफ्लेले बताउनुभयो ।

सार्क सचिवालयकी निर्देशक रीता धितालले परराष्ट्र मन्त्रालयबाट मस्यौदा प्राप्त हुने बित्तिकै आठवटै मुलुकमा मस्यौदालाई पठाइने जानकारी दिँदै आगामी सम्मेलनबाट मस्यौदा पारित हुने विश्वास व्यक्त गर्नुभयो । १९औँ सार्क सम्मेलन आगामी कात्तिक ४ र ५ गते पाकिस्तानको इस्लामावादमा हुँदैछ । किरण भट्टराई/रासस

जायज माग संवाद र सहमतिबाट सम्बोधन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको अन्तर्वस्तुसँग जोडेर आएका असन्तुष्टि तथा आन्दोलनमा उठेका जायज मागलाई वार्ता र संवादबाट राजनीतिक सहमतिका आधारमा सम्बोधन गरिने बताउनुभएको छ ।
संविधान दिवस मूलसमारोह समितिद्वारा आज गृहमन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधन मार्फत राष्ट्रलाई अझ एकताबद्ध गर्ने, संविधानको स्वीकार्यतालाई अझ व्यापक र फराकिलो पार्ने र निरन्तर गतिमा अगाडि बढ्ने प्रक्रिया चलिरहेको छ ।”

ऐतिहासिक शान्ति प्रक्रियासँग जोडिएर संविधानसभाबाट संविधान घोषणा गर्ने जिम्मेवारी पूरा गरेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – “अरु देशको तुलनामा संविधानमा हाम्रो मौलिकता पक्कै पनि झल्किएको छ । त्यसलाई परिमार्जन गर्दै लैजाने सङ्कल्प गरेका छौं ।”

जनताको चाहना र आकाङ्क्षा अनुरुप संविधान संशोधन र परिमार्जन गरेर लैजान सकिन्छ भनेर किटान गरेअनुरुप एक वर्षको अवधिमा दुई पटक संशोधन गरेको घटनाले पुष्टि गरेको बताउँदै उहाँले भन्नुभयो – “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता बाहेक अन्य सबै विषय आवश्यकतानुसार परिवर्तन हुन सक्दछन् ।”

“संविधानसभाबाट संविधान घोषणा गर्ने प्रक्रियामा संसारको अनुभवबाट के देखाएको छ भने शतप्रतिशत सहमति र समझदारी हँुदैन, केही सम्झौता, केही समझदारी र केही असन्तुष्टि रहिरहँदो रहेछ” – प्रधानमन्त्री दाहालले भन्नुभयो ।

धेरै लामो सङ्घर्ष र नेपाली जनताको बलिदानपछि मात्रै संविधानसभाबाट संविधान घोषणा हुन सकेको हँुदा संविधान दिवस मनाउन पाउनु सबै नेपालीका लागि गर्वको विषय हो भन्दै उहाँले भन्नुभयो – “नेपाली जनताको सार्वभौमसत्तालाई व्यवहारिक रुपमा स्थापित गर्ने सन्दर्भमा यो घोषणा आफैंमा ऐतिहासिक घोषणा हो ।”

जनताको सहभागिता र बहसको दृष्टिकोणबाट संविधान दिवस परम्परा भन्दा अलि फरक ढङ्गबाट मनाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको जीवनमा यो परिवर्तनले उज्यालो ल्याउँदैछ भन्ने सन्देश प्रवाह गर्न आवश्यक विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – “हामी सबै एक भएर राष्ट्रलाई अघि बढाउने जनचाहनाअनुसार नयाँ वातावरण बनाउने ढङ्गबाट संविधान दिवस मनाइने छ ।”

सो अवसरमा उहाँले संविधानसभाबाट नेपाली जनताको चाहना र भावना अनुरुप संविधान जारी गर्ने ऐतिहासिक कर्म पूरा गर्ने पहिलो र दोस्रो संविधानसभाका सदस्यको योगदानको कदर गर्न कुनै प्रमाणपत्र वा तक्माको व्यवस्था मिलाउने पनि प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा ऊर्जामन्त्री जनार्दन शर्मा, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललगायतले राजनीतिक परिवर्तनको आन्दोलनमा विशिष्ट योगदान पु¥याउने योद्धालाई सम्मान गर्न तथा सातवटै प्रदेशमा आयोजना हुने संविधान दिवस समारोहमा मन्त्रिपरिषद्का सदस्यको सहभागिताको सुनिश्चितताको व्यवस्था गर्न सुझाव दिनुभएको थियो ।

बैठकमा गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगोले संविधान दिवससम्बन्धी कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत सरकारका उच्च पदस्थ अधिकृतहरु सहभागी हुनुहुन्थ्यो । रासस

प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षाेल्लासका साथ मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको मूल समारोह समितिको बैठकले नेपालको संविधान जारी गरेको दिन असोज ३ गते विभिन्न कार्यक्रमका गरी स्वदेश र विदेशमा समेत राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न तीनवटा उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।

संविधान दिवस मूल समारोह समितिमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, उपसभामुख, पूर्व सभामुख, राज्यमन्त्री सदस्य रहनुभएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, सर्वाेच्च अदालतका न्यायाधीश, सांसद, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, राजनीतिक दलका प्रमुख, संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल सरकारका सचिवलगायतका महानुभाव मूल समारोह समितिमा सदस्य हुनुहुन्छ ।

सूचना तथा सञ्चारमन्त्री संयोजक रहनुभएको २२ सदस्यीय प्रचारप्रचार उपसमिति, काठमाडाँै महानगरपालिकाका प्रमुखको संयोजक रहनुभएको आठ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्थापन र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १५ सदस्यीय ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थान समन्वय उपसमिति गठन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा असोज ३ गते बिहान ८ बजे संविधान दिवसको मूल कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने छ ।

उक्त समारोहमा मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती, प्रहरी, जङ्गी, तथा सङ्घसंस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, मजदुर, किसान, सामाजिक सङ्घसंस्थासँग आबद्ध पदाधिकारी, नागरिक समाज र उद्योगी व्यवसायीका साथै सर्वसाधारणको समेत उपस्थिति रहनेछ ।

संविधान दिवसको उपलक्ष्यमा असोज २ गते मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् ब्यानर सजाई शृङ्गार र सफाइ गर्ने कार्यक्रम बनाइएको छ ।

संविधान दिवस राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रिय पत्रपत्रिकामा संविधान विशेषाङ्क र स्मारिका प्रकाशन गर्ने तथा नेपाल टेलिभिजन र रेडियो नेपाललगायतका सञ्चारमाध्यमबाट संविधानका महत्वका बारेमा परिसंवाद कार्यक्रम चलाउने बैठकले निर्णय गरेको छ ।

असोज ३ गते मुख्य समारोहका अतिरिक्त सूर्याेदयका साथ नेपाली सेनाद्वारा विगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको सम्मानका लागि चिरशान्तिको राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जलि प्रकट गर्दै धार्मिक पूजापाठ गर्ने कार्यक्रम बनाइएको छ ।

संविधान दिवस मनाउने सिलसिलामा आगामी असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोक दोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ ।

उपत्यका बाहिरका जिल्लामा सदरमुकाममा जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा तथा स्थानीय निकायमा सम्बन्धित निकायको प्रमुखको अध्यक्षतामा तीन दिनसम्म संविधान दिवससम्बन्धी प्रभातफेरी, प्रवचन, साहित्य गोष्ठी, संवार्ता, खेलकुलजस्ता विविध कार्यक्रम र साँझ दीपावली गर्ने व्यवस्था मिलाइएको छ । रासस

Tuesday, August 30, 2016

यातना र अपमानजनक व्यवहार नियन्त्रणसम्बन्धी विधेयकमाथि छलफल

काठमाडौँ, १४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकबाट ‘यातना तथा निर्मम अमानवीय वा अमपानजनक व्यवहार नियन्त्रण विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री निधिले लोकतान्त्रिक र सभ्य समाजका लागि यस्ता कानुन बन्नुपर्छ भन्ने उद्देश्य राखेर सो विधेयक ल्याएको बताउनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चूडामणि जङ्गलीले नेपालका करिब ६० लाख जनता (दलित) अपमानजक व्यवहार सहन बाध्य भएको र यातनाको घटनापछि कुनै क्षतिपूर्ति दिलाउने काम नभएको बताउनुभयो ।

सांसद् उदय नेपाली श्रेष्ठले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिवद्धतालाई ध्यानमा राखेर मानवअधिकारको भावना र मर्मअनुसार विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेम सुवालले सम्पत्तिको रवाफ देखाएर पनि मानिसलाई प्रभाव पार्ने तथा यातना दिने प्रवृत्ति अन्त्य गर्ने व्यवस्था विधेयकमा हुनुपर्ने बताउनुभयो ।

सांसद डा सुवोधकुमार पोखरेलले मानवअधिकारका अन्तर्राष्ट्रिय अनुबन्धलाई पालना गर्दै विधेयक आएको भन्दै प्रशंसा गर्नुभयो । रासस

एक्काइस जलविद्युत् आयोजनाको सम्झौता खारेज

काठमाडौँ, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ ।

विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ । तर चित्तबुझ्दो कारण पेस नगरेको तथा निर्माण सुरु नगरेको पाइएपछि २१ आयोजनाको सम्झौता खारेज गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

सम्झौता खारेज गरेका आयोजनामा ४६५ किलोवाटदेखि १८.५० मेगावाट क्षमतासम्मका छन् । खारेजीमा परेका आयोजनाको कुल जडित क्षमता १२९ मेगावाट रहेको छ । समयमा लगानी जुटाउन नसकेको, विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) खारेज भएको र सम्झौताअनुसार काम नभएको भन्दै प्राधिकरणले पिपिए खारेज गरेको हो । पिपिए खारेजीपछि यी आयोजनाको भविष्य अनिश्चित भएको छ ।

प्रवद्र्धकले प्राधिकरणसँग सम्झौता गर्दा कम्तीमा एक वर्ष र बढीमा दुई वर्षभित्र लगानी जुटाएर निर्माण सुरु गर्ने र तोकिएको समयमा विद्युत् उत्पादन गर्ने उल्लेख गरेको हुन्छ । सम्झौता खारेज भएका आयोजनामा १८ मेगावाट क्षमताको माथिल्लो सोलु, १८ मेगावाट क्षमताको तल्लो बलेफी, माथिल्लो मोदी १४, लाङ्टाङ १०, मादी पहिलो १०, तल्लो न्यादी ४.५, मध्य तादी ५.५, तल्लो सुनकोसी दोस्रो ९.९ र मिदिम ३.४ मेगावाट रहेका छन् ।

प्राधिकरणको ढिलाइका कारण आयोजनाको काम अघि बढाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा केही आयोजनाको खारेज भएको सम्झौता मन्त्रिपरिषद्ले ब्यूँताएपछि सम्झौता कायम रहेको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रले काम गरिरहेका कुल ४३ आयोजना सम्झौता भएर अगाडि बढेका छन् । ती आयोजनाको क्षमता ७७८ मेगावाट रहेको छ । तीमध्ये केही आयोजनाको वित्तीय सम्झौता भइसकेको छ भने केहीले वित्तीय जोहो गरिरहेका छन् ।

हाल कुल ९२ वटा आयोजना निर्माणका क्रममा रहेका छन् । ती आयोजनाको क्षमता एक हजार ७२६ मेगावाट रहेको छ । त्यसमा माथिल्लो तामाकोसी, माथिल्लो त्रिशूली थ्री ‘ए’ लगायतका आयोजना रहेका छन् ।

ऊर्जामन्त्री जनार्दन शर्माले सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनालाई तत्काल निर्माण सुरु गर्न दिनुभएको निर्देशनअनुसार नै प्रवद्र्धकलाई ध्यानाकर्षण गराइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले निर्माणका क्रममा रहेका आयोजनालाई तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न निर्माणाधीन आयोजनालाई तत्काल अगाडि बढाउनु आवश्यक रहेको भन्दै सहजीकरण गर्नुपर्ने प्रवद्र्धकहरुको माग रहेको छ ।

सरकारले गत फागुन ६ गते जारी गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजनामा निर्माणका क्रममा रहेको आयोजनालाई शीघ्र सम्पन्न गर्न सहजीकरण गर्ने उल्लेख छ । प्राधिकरण आफैँले निर्माण गरिरहेका आयोजनालाई तोकिएको समयमा पूरा गर्न आवश्यक पहल गरेको छ । प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’, ३२ मेगावाट क्षमताको चमेलिया र १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजना निर्माण गरिरहेको छ ।

यस्तै ३२ मेगावाटबाट क्षमता बढाएर ४० पु¥याइएको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार छनोटको प्रक्रिया सुरु भएको छ । भारतीय ठेकेदारसँग भएको सम्झौता तोडेर नयाँ ठेकेदार छनोट गर्ने र आयोजना तत्काल सुरु गर्ने प्राधिरकणको योजना रहेको बताइएको छ । रमेश लम्साल/रासस

वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित बनाउने कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई आज निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलका क्रममा प्रधानमन्त्रीले नेपालीले दुःख पाउने, उनीहरुको जीवन रक्षा नहुने र ठगीमा पर्ने अवस्थाको अन्त्यका लागि प्रभावकारी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो । मलेसिया र खाडीका विभिन्न देशमा सयौँ नेपाली कारागारमा रहेका, तीमध्ये केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको तथा केही कामदार ‘ब्लड मनी’ तिर्न नसक्दा आजीवन काराबास बस्न बाध्य भएको जनाउँदै प्रधानमन्त्रीले उनीहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा समेत तत्काल पहल गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो – “खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानका लागि पहल गर्न यसअघि नै मैले सम्बन्धित मन्त्रालयलाई भनेको छु । अब वैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ, त्यसमा परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउनुस् । सो कार्यक्रम पूर्ण रुपमा लागू गरिन्छ ।”

सरकारले आफ्नातर्फबाट गर्ने काम पूर्ण लगनशीलताका साथ गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै पनि कारणले नेपाली समस्या छन् भने त्यहाँ आवश्यक सहयोग पु¥याउनु सरकारको दायित्व हो भन्नुभयो । नेपालीलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन सरकारले विशेष ध्यान दिएको र केही महत्वपूर्ण कार्ययोजना ल्याउने समेत प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले विशेष गरी खाडी क्षेत्रमा कार्यरत नेपालीले भोग्नुपरेको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको जानकारी दिनुभयो । कारागारमा परेका, उद्धारगृहमा रहेका र ठूलो दुर्घटनामा परी अस्पतालमा उपचाररत कामदारलाई गरिने उद्धार, अवैध रुपमा कामदारको स्वदेश फिर्ती तथा प्रक्रियाका सम्बन्धमा समेत आफूहरुले प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँको भनाइ छ ।

यस्तै नेपाली कामदार बढी रहेका मुलुकमा रहेका नेपाली राजदूतावासको क्रियाशीलता बढाउनुपर्ने, उनीहरुलाई साधन स्रोतसम्पन्न बनाउनुपर्ने र श्रम सहचारीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित थियो ।

घरेलु कामदारका रुपमा विश्वका विभिन्न मुलुकमा रहेका महिला कामदारको सुरक्षा, उचित पारिश्रमिक, घाइतेको उपचार, भाषा लगायत समस्याका कारण खेप्नुपरेको समस्या समाधान गर्न अपनाइने विधि तथा कार्ययोजना पेस भएको र त्यसलाई थप समृद्ध पारिने सहसचिव अधिकारीले जानकारी दिनुभयो ।

छलफलमा नेपाली कामदार स्वदेशमा नै ठगिएको, रोजगारदाता मुलुकमा पुग्दा पुनः अर्को ठगीमा परेको, सम्झौता भएअनुसारको काममा नलगाइएको र गुनासो सुनुवाइ गर्ने निकायले समेत सुनुवाइ नगरेको सन्दर्भमा आगामी दिनमा यस्ता समस्या नआउने गरी काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले रोजगारीका खोजीमा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको समस्याबारे मन्त्रालयले सूक्ष्म रुपमा नै अध्ययन गरिरहेको जानकारी प्रधानमन्त्रीलाई गराइएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो – “प्रचारमा आए जस्तो भयावह अवस्था कुनै पनि मुलुकमा छैन तर पनि समस्या पर्नेबित्तिकै नेपाली दूतावास र सम्बन्धित सरोकार भएका पक्षलाई मन्त्रालयले ‘हाइ अलर्ट’मा राखेको छ ।”

स्वदेशमा नै हुने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागलाई पनि क्रियाशील बनाउने विषयमा मन्त्रालयले पहल गरेको जानकारी आफूले प्रधानमन्त्रीलाई गराएको सचिव लम्सालले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले खाडीमा रहेका कामदारको अवस्था, समस्यामा परेका कामदारलाई उद्धार गर्ने विधि तथा के कति नागरिक विदेशका कारागारमा छन् र उनीहरुलाई कसरी स्वदेश ल्याउन सकिन्छ भन्नेबारेमा छलफल केन्द्रित रहेको बताउनुभयो ।

छलफलमा उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा, श्रममन्त्री सूर्यमान गुरुङ, मुख्य सचिव डा सोमलाल सुवेदी र सम्बन्धित मन्त्रालयका सचिव तथा उच्च अधिकारीको सहभागिता थियो । रासस

कुन्दुज जिल्ला फिर्ता लिन द्विपक्षीय भिडन्त

कुन्दुज, १४ भदौ । अफगानिस्तानको एक उत्तरी जिल्ला तालिवानले कब्जामा लिएपछि त्यसलाई फिर्ता गर्न सरकारी सेना र तालिबानबीच भिडन्त भएको समाचार छ ।

अफगानिस्तानमा करिब डेढ दशकदेखि हत्या हिंसा मच्चाइरहेका विद्रोही तालिवानहरुले अफगानिस्तानको उत्तरतर्फको खान अबाद जिल्ला गतहप्ता कब्जामा लिएका थिए ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज प्रान्तको खान अबाद जिल्लालाई गएको शनिबार कब्जा गरेका बताइएको छ । त्यसअघि सो जिल्लामा तालिवान र सेनाबीच भिडन्त भएको थियो ।

शनिबार दर्जनौँको सङ्ख्यामा रहेका तालिवानहरुले कब्जा जमाएका थिए । उनीहरुले बजार इलाकालाई कब्जामा लिएर आफ्नो नियन्त्रणमा रहेको घोषणा पनि गरेका थिए ।

त्यस यता सेनाले उक्त कब्जाबाट फुत्काउन गरेको प्रयास सफल हुन सकिरहेको छैन । सरकारी सेनाले पनि उनीहरुलाई लखेट्ने प्रयास गरेको बताएको छ ।

उक्त जिल्ला प्रान्तीय सदरमुकाम कुन्दुज सहरबाट २५ किलोमीटर पूर्वमा पर्दछ । तखार र कुन्दुज प्रान्तलाई जोड्ने यो प्रमुख सहर हो ।

उक्त जिल्ला कब्जागर्ने रणनीतिस्वरुप उनीहरुले बिगत लामो समयदेखि सुरक्षा निकायसँग भिडन्त गर्दै आएका थिए । सो भिडन्तका क्रममा यसअघि पनि कैयौँको ज्यान गएको छ । रासस÷सिन्ह्वा

जी–२० सम्मेलनले चीन र युरोपलाई धेरै फाइदा

ब्रसेल्स, १४ भदौ । चीनमा आगामी साता हुन लागेको जी–२० को सम्मेलनले विशेषगरी आयोजक राष्ट्र चीन र युरोपेली युनियनलाई धेरै फाइदा पुग्ने बताइएको छ ।

चीन र युरोपेली बजार विस्तारका साथै यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र त्यसले लगानीका थप मार्गहरुको पनि पहिचान गर्ने जनाइएको छ ।

युरोपेली अर्थविज्ञहरुले पछिल्लो समयमा मन्दीको सामना गरिरहेको युरोपेली बजारका लागि चीनले आयोजना गरेको यस सम्मेलनले आर्थिक बृद्धिका लागि फाइदा पुग्ने बताएका छन् ।

उनीहरुले यस बैठकले आगामी दिनमा अािर्थक बृद्धिका साथ युरोपली र चिनियाँ क्षेत्रमा थप सम्भावनाहरु खोज्नसक्ने दाबी पनि गरेका छन् ।

यस सम्मेलनको आयोजना चीनले गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजले जनाएका हुन् ।

उक्त इन्स्टिच्युटका विज्ञहरुले यस सम्मेलनले आर्थिक लगानीका क्षेत्रमा चीन र युरोपमा थप सम्भावना खोज्नुका साथै जी–२० मा संलग्न विश्वका देशको आर्थिक विकास र समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए ।

जी–२० को सम्मेलन यही सेप्टेम्बर ४ देखि ५ सम्म चीनमा आयोजना गरिएको छ । यस सङ्गठनमा विश्वका आर्थिक एवम् औद्योगिक देशको सहभागिता छ ।

चीनले सन् २००८ पछि विशेषगरी युरोपेली क्षेत्रमा सुरु भएको आर्थिक मन्दीको निराकरणका लागि विगतमा पनि चीनले खेलेको विशेष भूमिकाका कारण विश्व अर्थतन्त्रको अवस्थामा सुधार आएको उनीहरुको भनाई छ ।

विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको समस्या समाधानमा चीनले रचनात्मक भूमिका निर्वाह गरेको उनीहरुको भनाई छ ।

विश्वका २० वटा यी आर्थिक सम्पन्न र औद्योगिक देशको सहभागिता रहेको यस सम्मेलनले विश्वको अर्थतन्त्रको विकास, लगानीका लागि मैत्रीपूर्ण वातावरणको निर्माणका साथै आर्थिक बृद्धिका क्षेत्रमा आवश्यक पहल गर्ने बताइएको छ । रासस÷सिन्ह्वा

पुटिन ओबामा भेट्नसक्ने

मस्को, १४ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै सप्ताहन्तमा चीनमा भेटवार्ता हुनसक्ने सम्भावना रहेको बताइएको छ ।

उहाँहरु जि २० को सम्मेलनमा सहभागिताका लागि चीन आउदै हुनुहुन्छ । यसै सप्ताहन्तमा हुने सो सम्मेलनमा उहाँहरुबीच भेटवार्ता हुनसक्ने रुसी समाचार समिति, इतार तासलाई उद्धृतगर्दै चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सहायक सल्लाहकार बेन रोडेन्सले सोमबार जनाएअनुसार उहाँहरुबीच भेटघाट हुनसक्ने र केही मुद्दामा छलफल पनि हुनसक्ने छ ।

जी–२० को सम्मेलन यही सेप्टेम्बर ४ देखि ५ सम्म चीनमा आयोजना गरिएको छ । यस सङ्गठनमा विश्वका आर्थिक एवम् औद्योगिक देशको सहभागिता छ ।

सो सम्मेलनमा विश्वका प्रमुख अर्थतन्त्रहरुका राज्य वा सरकार प्रमुखहरुको सहभागिता रहने बताइएको छ । रासस÷सिन्ह्वा

बङ्गलादेशका एक नेतालाई दिइएको मृत्युदण्डको सजाय सदर

ढाका, १४ भदौ । बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वाेच्च अदालतमा अपिल गरेका थिए ।

उनले गरेको सो अपिलको सुनुवाइपछि सर्वाेच्च अदालतका प्रधानन्यायाधीशको मुख्य इजलासले उनको अपिल बदर गरेको हो ।

उनलाई सन् २०१४ मा नै मृत्युदण्डको सजाय सुनाइएको थियो । पछि उनले सो निर्णयका बिरुद्धमा अपिल गरेका थिए ।

उनलाई मृत्युदण्ड दिने भएपछि यहाँको ठूलो इस्लामिक दल जमात इ इस्लामी दलमा ठूलो तरङ्ग पैदा भएको छ । ६३ वर्षीय यी नेता उक्त दलका एकजना प्रमुख लगानीकर्ता हुन् ।

उनका वकिल गाजी एम एच तमिमले उक्त अपिलका विरुद्धमा अदालतले फैसला सुनाएको जानकारी मङ्गलबार सम्वाददाताहरुलाई दिएका छन् ।

बङ्गलादेशका प्रधानन्यायाधीशले आफ्नो फैसलामा भन्नुभएको छ– तमिमका तर्फबाट गरिएको अपिल अस्वीकार गरिएको छ ।

अब ती इस्लामिक दलका नेता अलिलाई मृत्युदण्डको कारबाहीका लागि बाटो खुला भएको छ । तर पनि उनले अझै पनि बङ्गलादेशका राष्ट्रपति समक्ष आममाफीका लागि पनि अपिल गर्नेछन् ।

तर आम नागरिकका अनुसार बङ्गलादेशका राष्ट्रपतिले उनलाई आममाफी नदिन पनि सक्छन् । बङ्गलादेश स्वतन्त्र हुने समयमा सन् १९७१ मा भएको युद्धअपराधको विषयलाई लिएर यतिखेर यहाँ दोषीमाथि कारबाही सुरु भएको छ ।

सो समयमा भएको युद्धअपराधको छानबीन गरी दोषीमाथि कारबाही गर्ने उद्देश्यले सन् २०१० मा बङ्गलादेशमा युद्धअपराधको विषयमा हेर्ने विशेष अदालतको स्थापना भएको थियो ।

सो अदालतको सिफारिशमा हालसम्म यहाँका दर्जनौँ नेतालाई फासीका सजाय सुनाइसकिएको छ ।

यसअघि पनि सन् २०१३ मा सो दलका र अरु विपक्षी नेताहरुगरी पाँच जना वरिष्ठ नेतालाई नै मृत्युदण्ड दिइसकिएको छ । रासस÷एएफपी

काठमाडौँ–नागढुङ्गा सडक विस्तारमा ढिलाइ नगर्न सांसदको आग्रह

काठमाडौँ, १४ भदौ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा विभिन्न दलका सांसदहरूले काठमाडौँ–नागढुङ्गा सडक विस्तारको क्रम लम्बिएको, सबै भूकम्पपीडितले अझै राहत नपाएको, स्थानीय निकायको पुनःसंरचनाका विषयमा सहमति जुटाउने प्रयास नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले) का युवराज ज्ञवालीले काठमाडौँ–नागढुङ्गा सडकको अव्यवस्थापनका कारण यात्रु घन्टाँै जाममा पर्ने गरेको र पर्यटकसामु नेपालीले लाज मान्नुपर्ने अवस्था आएको दुःःखेसो गर्नुभयो ।

नेपाली काँग्रेसका चन्द्र भण्डारीले तराई र पहाडमा समयमा सिँचाइको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का हरिबोल गजुरेलले सुकुम्वासी प्रमाणीकरणको काममा ढिलाइ भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरीले मन्त्रिपरिषद्मा थारु, महिला र सबै जातिको समावेशिता नभएको गुनासो गर्नुभयो ।

यसैगरी, सांसदहरु परशुराम तामाङ, नरसिंह चौधरी, अइन्द्रसुन्दर नेम्वाङ, गोपाल दहित, प्रेम सुवाल, कमलप्रसाद पङ्गेनी, आनन्दप्रसाद पौडेल, भेषकुमारी राउत, रामअयोधीप्रसाद बालाराईले मन्तव्य राख्नुभएको थियो । रासस

जिविसमा नियम मिचेर नियुक्ति !

म्याग्दी, १४ भदौ । जिविसको कार्यालय म्याग्दीले प्रक्रिया पूरा नगरी कर्मचारी भर्ना गरेको छ ।

स्थानीय स्वायत्त शासन नियमावली, २०५६ विपरीत खुल्ला प्रतिस्पर्धा नगराई कर्मचारी नियुक्त गरिएको हो । जिविसमा रिक्त स्थायी दरबन्दी सहायक पाँचौँ तह (नासु) स्तरको प्रशासन÷पञ्जीकरण र आन्तरिक लेखा परीक्षण शाखा हेर्ने गरी बेनी नगरपालिका–५ की सुनिता शर्मालाई यही भदौ १० गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ ।

यसैगरी कम्प्युटर अपरेटरमा दरबाङ–९ की दिलमाया बिटालुलाई भदौ १ गतेदेखि कार्यान्वयन हुने गरी नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धाका माध्यमबाट खास अवधिका लागि करारमा नियुक्त गर्न सकिने नियमावलीको दफा २१७ मा भएको व्यवस्थालाई जिविसले उल्लङ्घन गरेको हो ।

जिविसको प्रशासन÷पञ्जीकरण र आन्तरिक लेखा परीक्षण शाखामा कार्यरत सहायक पाँचौँ तहस्तरका कर्मचारी तुलबहादुर बानियाँले उमेर हदका कारण गत साउन २८ गते अवकाश लिएपछि उक्त पद रिक्त भएको थियो । यस्तै हरि गौतम डिभी परेर अमेरिका गएपछि करिब आठ वर्षदेखि कम्प्युटर अपरेटर पनि रिक्त थियो ।

स्थानीय स्वायत्त शासन नियमावलीमा एक वर्षसम्म रिक्त पदमा स्थायी पदपूर्ति हुन नसकेमा उक्त पद स्वतः खारेज हुने उल्लेख छ । नियमावलीअनुसार खारेज भइसकेको उक्त पदमा जिविसले विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)मा कार्यरत बिटालुलाई नियुक्त गरेको छ ।

उहाँको असोज मसान्तसम्म ड्रिलिपमा करार सेवा अवधि बाँकी छ । सेवा अवधि बाँकी रहँदै अर्को पदमा नियुक्त गर्न नपाइने व्यवस्था छ । चोरबाटोबाट कर्मचारी भर्ना गर्नु स्थानीय स्वायत्त शासन नियमावलीको उल्लङ्घन भएको जिविसका कर्मचारीले बताएका छन् । नियमावलीको दफा २१५ बमोजिम गठन भएको पदपूर्ति समितिको सिफारिसमा स्थायी पदमा खुला प्रतियोगिताद्वारा खास अवधिका लागि करार वा अस्थायी नियुक्त गर्न सकिने व्यवस्था छ ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले पदपूर्ति समितिका संयोजक विदेशमा रहेकाले तत्कालै स्थायी नियुक्त गर्न सक्ने अवस्था नभएको र कर्मचारी अभावमा कार्यालयको सेवा प्रवाह प्रभावित हुने अवस्था आएपछि सेवा करार निर्देशिका, २०५९ अनुसार योग्यता पुगेका कर्मचारीलाई नियुक्त गरिएको प्रतिक्रिया दिनुभयो ।

नियुक्त कर्मचारीले हाजिर भई जिम्मेवारी सम्हालिसकेका छन् । जिल्लास्थित राजनीतिक दलले प्रक्रिया पूरा नगरी कर्मचारी भर्ना गर्दा विकृति मौलाउने भएकाले नियुक्तको बदर गर्न माग गरेका छन् । रासस

सुख्खा बन्दरगाहको काम अगाडि बढ्छ : मन्त्री लेखक

भीमदत्तनगर, १४ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनीमा प्रस्ताव गरिएको सुख्खा बन्दरगाहको योजनालाई अगाडि बढाइने बताउनुभएको छ ।

आज कञ्चनपुरको दोधारा चादँनीस्थित शारदा सरस्वती उमाविको चारकोठे विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री लेखकले सुख्खा बन्दरगाहको कामलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको योजना तयार भइरहेको जानकारी गराउँदै दोधारा चादँनीको जोगबुढा नदीमा पनि पुल निर्माण गरेर भारतीय सीमावर्ती बजारसम्म आवागमनलाई सहज बनाउने बताउनुभयो ।

दोधारा चादँनीको सडक, पुल र शिक्षामा देखिएको समस्या समाधानका लागि लागिपर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

सांसद विकास कोषको रु सात लाख ५० हजार र अन्य गरी रु नौ लाखको लगानीमा निर्माण गरिएको भवन उद्घाटनपछि उहाँले दोधारा चादँनीकै पशुपति निमाविको भवन पनि उद्घाटन गर्नुभएको थियो । रासस

‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्छु : खेलकुदमन्त्री

काठमाडौँ, १४ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताउनुभएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो – “अब नेपाली खेलकुदलाई नीति विधिमार्फत सुधार गर्नेछौँ, ताकि तपाइँमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना आओस् ।”

यसैबीच यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने १० खेलाडीसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ जसमा पाँच पाँच पुरुष तथा महिला छन् । पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् ।

त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २ गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको टोली पनि बुधबार नै त्यसतर्फ जाँदैछ जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नुहुनेछ । छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नुहुनेछ ।

पदाधिकारीको जम्बो टोली

‘पारा ओलम्पिक’मा नेपालका जम्मा दुई खेलाडीले भाग लिँदैछन् तर त्यहाँ १६ जनाको जम्बो टोली जाँदैछ । त्यस्तै ‘चेस ओलम्पियाड’मा १० खेलाडी र दुई कप्तानले सहभागिता जनाउनु हुनेछ तर त्यहाँ पनि १९ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ । यसरी खेलाडीभन्दा धेरै कामविहीन पदाधिकारी जाने प्रथाले नेपाली खेलकुद क्षेत्र आर्थिक रुपमा झन धराशायी बन्ने जानकार बताउँछन् । रासस

संविधान संशोधन र स्थानीय निकाय पुनःसंरचनाका विषयमा छलफल

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद, संविधान संशोधन तथा मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले प्रधानमन्त्रीसँग संविधान संशोधन र मधेसकेन्द्रित दलको माग सम्बोधन लगायत विषयमा कुराकानी भएको जानकारी दिनुभयो । रासस

मदिराजन्य पदार्थ उनन्तीस देशबाट आयात

काठमाडौँ, १४ भदौ । आव २०७२÷७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष रु २५ अर्बको चामल आयात भएको बताउनुहुन्छ । मदिराजन्य पदार्थ रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

चामलभन्दा मदिराजन्य पदार्थ रु छ अर्ब ६९ करोड १५ लाख अर्थात् ३६ दशमलव शून्य ५४ प्रतिशतले मात्र कम हो । वैदेशिक रोजगारबाट फर्किएका नेपालीले उपहार साथमा ल्याएको एक लिटर मदिराजन्य पदार्थको समेत गणना गर्ने हो भने चामल र रक्सीको आयात बराबरी हुन आउँछ ।

विश्वका ८० भन्दा बढी देशमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ४० लाखभन्दा बढी छ । रोजगारबाट फर्किआउँदा एक लिटर मदिराजन्य पदार्थको भन्सार नलिएको राजु हुमागार्इंले बताउनुभयो । आव २०७२÷७३ मा कुल एक करोड २४ लाख २० हजार ८०५ लिटर मदिराजन्य पदार्थ आयात भएको छ । लिटरलाई आधार मान्दा सबभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ, खाद्यान्नमा प्रयोग हुने तेलपछि मदिराजन्य पदार्थ तेस्रो हो ।

भन्सार विभाग, त्रिपुरेश्वरले आव २०७२÷७३ मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २९ देशबाट तयारी मदिराजन्य पदार्थ आयात भएको उल्लेख छ । आयात भएको उक्त पेय पदार्थमा बियर, वाइन, ह्विस्की, रम, जिन र भोड्का हुन् ।

सबैभन्दा धेरै भारतबाट एक करोड सात लाख ३५ हजार ७९९ लिटर र सबैभन्दा थोरै १२ लिटर रुसबाट आयात भएको छ । यस्तै बेलायतबाट चार लाख ३९ हजार ८८० लिटर, अस्ट्रेलियाबाट दुई लाख ९९ हजार १३०, स्पेनबाट दुई लाख ७६ हजार ११९ र फ्रान्सबाट दुई लाख ५८ हजार ९७ लिटर आयात भएको छ ।

यसैगरी अमेरिकाबाट ५५ हजार ५४३ लिटर, इटलीबाट ५१ हजार ८०१, चिलीबाट ४७ हजार ९७०, दक्षिण कोरियाबाट ४१ हजार ७५८, स्विडेनबाट ३८ हजार ४८८, चीनबाट ३७ हजार १७९, सिङ्गापुर २९ हजार ४४५, बेल्जियम २३ हजार ६५२, पोल्यान्ड २० हजार ८३, मेक्सिको १५ हजार ७५३, प्रोचुगल १३ हजार १४९, नेदरल्यान्ड १२ हजार ११ र आयरल्यान्डबाट ११ हजार ५५४ लिटर आयात भएको छ ।

त्यसैगरी अर्जेन्टिनाबाट छ हजार २०८ लिटर, जर्मनीबाट दुई हजार ७७२, स्विजरल्यान्डबाट एक हजार ३८२, साउदी अरबबाट एक हजार २०, जापानबाट ९६९, क्यूवाबाट १८०, न्यूजिल्यान्डबाट १०४, गणतन्त्र कोरियाबाट ९२, ब्राजिलबाट ४२ र फिलिपिन्सबाट १३ लिटर मदिराजन्य पदार्थ आयात भएको छ ।

अधिकांश स्थानबाट आयात भएको मदिराजन्य पदार्थमा वाइनको मात्रा बढी छ । नेपालमा आयातित वाइन अङ्गुरबाट निर्मित देखिन्छ । जसमा रक्सीको मात्रा १२ देखि १७ प्रतिशतसम्म छ । वाइनको आयातलाई प्रतिस्थापन गर्न स्वदेशमा स्तरीय वाइन कारखाना निर्माण हुन सक्नु हो भन्नुहुन्छ ‘एक गाउँ एक उत्पादन केन्द्र’का संयोजक दिलसुन्दर श्रेष्ठ । व्यावसायिक रुपमा जुम्लाको स्याउ, मकवानपुरको किबी, चितवनको केराबाट वाइन उत्पादन गर्न सकिन्छ तर त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

नेपालमा चाडपर्वमा अनिवार्य रक्सी पिउने सोचका कारणले मदिराजन्य पदार्थको आयात बढेको अनुमान गर्न सकिन्छ । दसैँ, तिहार, छट, इद, लोसारलगायतका विभिन्न भोजमा रक्सी पिउने संस्कृति मौलाउँदै गएको पाइन्छ । मेडिकल डाक्टर रक्सीलाई औषधिका रुपमा सेवन गर्दा मात्र स्वास्थ्यलाई फाइदा पुग्ने बताउँछन् । डा प्रकाशराज रेग्मी निरोगी व्यक्तिले औषधिका रुपमा बियर ६० मिलीलिटर, वाइन ३० मिलीलिटर र ह्विस्की १० मिलीलिटर फलफूलसँग खाँदा शरीरलाई बेफाइदा नहुने बताउनुहुन्छ ।

दूरदराजका गाउँमा खाद्यान्न पाउन गाह्रो भए पनि रक्सी सजिलै पाइने कात्तिकेदेउराली, काभ्रेका प्रदीप चौलागार्इं बताउनुहुन्छ । ग्रामीण पसलमा घरेलु रक्सी जताततै बिक्री गर्न राखेको पाइन्छ । राजाराम कार्की/रासस

तल्लोस्वराडको दुःख : चितुवाको त्रासले घरभित्रै दिसापिशाब

बैतडी, १४ भदौ । बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो ।
राज्य पक्षबाट समेत हेपिएको भनेर भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा ५ वर्ष यता चितुवाले २१ जनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले भयले घरभित्रै दिसापिसाब गर्ने गरेका हुन् ।

एकपछि अर्काे गर्दै चितुवाले बालबालिका र महिलामाथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो । गतवर्ष वैशाख ६ गते आँगनमा खेलिरहेका बेला आफ्नै आँखा अगाडि चितुवाले आक्रमण गरी ७ वर्षिय नाति शिवराज साउदको ज्यान लिएको घटना सम्झँदै उदयदेव–४ का कृष्ण साउदले रासससँग भन्नुभयो – “नातिलाई आक्रमण गरेको त्यो क्षणको स्मरण ताजै छ ।”

गएको वर्ष शिवराज मारिनु अघि चितुवा तल्लोस्वराडमा मानव वस्तीतिर देखिएको थिएन भने स्थानीय बासिन्दा समेत त्रासवाट मुक्त भइसकेका थिए । तर केही दिन अघि साँझ उदयदेव मकैल ब्याल्धमका हीरा चन्दकी ७ वर्षिया छोरी चञ्चला चन्दलाई आँगनमा खेलिरहेका बेला एक्कासी आएको नरभक्षी चितुवाले आक्रमण गरेपछि स्थानिय बासिन्दा त्रसित बनेका छन् । उनको शरीर घरभन्दा करिव ७०० मिटर टाढा खोलामा मृत अवस्थामा फेला परेको थियो ।

“दिउँसो तथा रातिको समयमा हँसिया, खुकुरी लगायतका सामग्री बोकेर मात्रै घरबाट निस्किने गरेका छौं,” उदयदेव ४ का शिवराज साउद भन्नुभयो – “महिलाहरु घाँसदाउरा गर्न तथा खरफागला गर्न जाँदा समेत समूहमा जाने गरेका छन् । ”

बालबालिकालाई विद्यालय पठाउँदा समेत पाको मान्छेसँगै जानुपर्ने अवस्था छ ।
तल्लोस्वराडकै विशालपुर ७ का जनक भट्टका भतिजा ७ वर्षिय नवीन भट्टको पनि ४ वर्ष पहिला चितुवाकै आक्रमणबाट ज्यान गएको थियो । एकपछि अर्को गर्दै लगातार चितुवाले आक्रमण गर्न थालेपछि वस्तीमै भय व्याप्त हुन पुगेको छ ।

महाकाली ६ का मोहन बहादुर चन्द भने वन विभागले चितुवा मार्न स्थानीय बासिन्दालाई अनुमति नदिँदा यस्तो घटना दोहोरिँदै आएको बताउनुभयो ।

उदयदेवका स्थानीय बासिन्दा वीरेन्द्र महताले राज्यले जहिले पनि तल्लोस्वराड भनेर हेप्ने गरेकाले समस्या विकराल बन्दै गएको बताउनुभयो । “केन्द्रबाट सुदूरपश्चिम भनेर हेपियो, सुदूरपश्चिमका सदरमुकाम तथा सुगम ठाउँका जनताले सधैं तल्लोस्वराड भनेर हेपेकाले समस्या थपिँदै गएको हो,” उहाँले भन्नुभयो – “यो समस्या समाधान गर्न अब राज्य तयार हुनुपर्छ ।”

घरभित्रै पसेर आक्रमण चितुवाले गरेपछि स्थानीय बासिन्दा बढी त्रसित भएका हुन् । “घरआँगनै असुरक्षित भएपछि ढुक्क भएर विद्यालय पठाउन सक्ने अवस्था छैन,” चन्दले भन्नुभयो – “बालबालिकामाथि आँखै अगाडि आक्रमण हुँदै आएको छ ।”

प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले यो घटना दुःखदायी भएकाले यसको लागि छिट्टै पहल थालिने बताउनुभयो । उहाँले भन्नुभयो –“पीडित पक्षलाई तत्काल राहत वितरण गर्छौं र त्यसपछि चितुवा नियन्त्रणको अभियान थाल्छौं ।”

तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २१ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । चितुवाले विशेष गरी साँझतिर बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेका छन् ।

विस २०६८ सालदेखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ ।

जिल्ला वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार चितुवाले तल्लोस्वराडमा २०६८ मा ४ जना, २०६९ मा ११ जना, २०७० मा ३ जना र २०७१, २०७२ र २०७३ मा १÷१ जनाको ज्यान लिएका थिए ।

मृत्यु हुनेमध्येमा विशालपुर गाविसका ९, पञ्चेश्वर र आमचौरा गाविसका ३÷३ , उदयदेव गाविसका ३ जना र कुलाउ, गिरेगाडा र शर्माली गाविसका ११ जना रहेको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले राससलाई जानकारी दिनुभयो । मृत्यु हुने १८ जना १५ वर्षमुनिका बालबालिका छन्् ।

जिल्ला वन कार्यालय कै तथ्याङक अनुसार थप ५ जना चितुवाको आक्रमणबाट घाइते भएका छन । घाइते हुनेमा गुजर ४ का १८ वर्षिय वासुदेव पन्त, रेडिदेवल ५ की लीला भण्डारी, उदयदेव ७ की कमला महता, उदयदेव ५ की ललिता साउद र महाकाली गाविसका सचिन साउद रहेका छन् ।

स्थानीय बासिन्दाले पटकपटक चितुवा नियन्त्रणको माग गर्दै आएका छन् । विसं २०६९ असोजयता वन कार्यालयले पटकपटक हिंस्रक चितुवा नियन्त्रणमा लिने प्रयास गरे पनि असफल हँुदै आएको छ ।

यसअघि, जिल्ला प्रशासन कार्यालय बैतडीले चितुवाले महिनैपिच्छे ज्यान लिएपछि २०६९ सालमा चितुवा मार्न नेपाली सेना र प्रहरी परिचालन गरेको थियो ।

अनुसन्धान गर्न आएको चितवन राष्ट्रिय निकुञ्जका विशेषज्ञ टोलीले आहारको कमी, घरआँगनमा राति उज्यालो नहुनु जस्ता कारण चितुवाले मानव सिकार गर्न थालेको औंल्याएको थियो ।

जिल्ला वन कार्यालयले गतवर्षदेखि कैलाश पवित्र भूपरिधि संरक्षण र विकास कार्यक्रमको सहयोगमा जिल्ला वन कार्यालयले चितुवाका लागि आवश्यक पर्ने बासस्थानको संरक्षण, चितुवाले खाने वन्यजन्तुको अवैध शिकारमा रोक, वासस्थानको खण्डीकरणमा रोकलगायत चितुवाको आक्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरुका बारे प्रभावित क्षेत्रका १६ वटा सामुदायिक वनका प्रतिनिधिहरुलाई तीन फरक फरक स्थानमा सचेतना गोष्ठी सञ्चालन गर्दै आएको छ ।

कार्यालयले चितुवा आक्रमणवाट आफन्त गुमाएका २० परिवार र केही घाइते परिवारलाई गत वर्ष सौर्य बत्ती वितरण गरेको जनाएको छ ।
यसैबीच, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग सम्बन्धी निर्देशिका, २०६९ अनुसार १४ मृतकका परिवारलाई प्रतिपरिवार रु एक लाख ५० हजार का दर र ६ मृतकका परिवारलाई रु तीन लाखका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला वन कार्यालय बैतडीले जानकारी दिएको छ । यस्तै, गम्भीर घाइते दुई जनालाई रु ५० हजारका दरले र सामान्य घाइते भएका ३ जनालाई रु १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । विनोदसिंह विष्ट/रासस

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

पोखरा, १४ भदौ । तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही भदौ १७ देखि १९ गतेम्म हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने खेलकुद संयोजक सुशील श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमन्ड विद्यालय, टप्स आवासीय विद्यालय र मध्यपश्चिमाञ्चल टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ७५ हजार १०१, द्वितीय हुनेले रु ५० हजार एक सय एक र तृतीयले रु ३० हजार एक सय, सिल्ड, पदक र प्रमाणपत्र पाउने छन् ।

सोही अवसरमा विद्यालयस्तरीय महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई क्रमशः रु २५ हजार एक सय एक र रु १५ हजार एक सय एक दिइने समाजका पूर्वअध्यक्ष सञ्जय अधिकारीले जानकारी दिनुभयो ।

सोही उपलक्ष्यमा सितेरियो कराँते प्रतियोगिता, तीज गीत, नृत्य र विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने छ । रासस

पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गरिँदै

काठमाडौँ, १४ भदौ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ ।

वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो ।

सम्बन्धित क्षेत्रका विज्ञ र सङ्घसंस्थाको सुझावका आधारमा मस्यौदालाई पूर्णता दिइ कार्यान्वयनमा ल्याइने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
सम्बन्धित क्षेत्रबाटै परिमार्जन गर्नुपर्ने गुनासो आएकाले पनि परिमार्जन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

“पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड–२०६६” मा भएका कतिपय त्रुटिका कारण वर्गीकरणमा विभेद गरिएको भन्दै काउन्सिलमा गुनासो आएका कारण पनि परिमार्जन गर्न छलफल अगाडि बढाइएको हो ।

काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले कतिपय पत्रपत्रिका बजारमा देखिँदैन, तर काउन्सिलको वर्गीकरणको सुविधा लिइरहेका छन्, त्यसलाई कडाइ गर्नका लागि पनि मापदण्ड परिमार्जन गर्न लागिएको बतउनुभयो ।

काउन्सिलले राष्ट्रिय क्षेत्रीय र स्थानीय गरी तीन श्रेणीमा पत्रपत्रिका विभाजन गर्दै आएको र त्यही आधारमा सूचना विभागले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ ।

अहिले वर्गीकरणका लागि एक सय पूर्णाङ्कमध्ये वितरित सङ्ख्यामा २५ अङ्क, निरन्तरतामा पाँच, आचारसंहितामा १५, विषयवस्तुमा २५, क्षेत्रगत समाचारका लागि १५, भाषाका लागि १० र साजसज्जा तथा छपाइमा पाँच अङ्क छुट्याएकमा मापदण्ड परिमार्जनका क्रममा उल्लेखित अङ्कलाई समेत घटबढ गरिने भएको छ ।

परिमार्जित मापदण्ड आव २०७२÷७३ मा प्रकाशित पत्रपत्रिकाको वर्गीकरणमा लागू गर्न काउन्सिलको सोच छ । आव २०७१÷०७२ को वर्गीकरण नतिजा भने अबको दुई हप्ताभित्रमा सार्वजनिक गरिनेछ ।
आव २०७१÷७२ मा वर्गीकरणका लागि ९१० पत्रपत्रिकाले निवेदन दिएका छन् । सूचना विभागका अनुसार अहिले मुलुकभर करिब सात हजार १९ पत्रपत्रिका प्रकाशित छन् ।

विगतका वर्षमा अङ्क नपुग भएका, अवज्ञाकारीको सूचीमा परेका, पृष्ठ नपुगेका, कम्प्युटर प्रिन्ट, हुबहु, संस्थागत प्रकाशन र फोटोकपी गर्ने पत्रपत्रिकालाई वर्गीकरणमा पारिएको छैन । आव२०६९÷७० मा ८०९ पत्रपत्रिकाले वर्गीकरणको निम्ति निवेदन दिए पनि ३९७ मात्र वर्गीकरणमा परेका थिए । त्यसैगरी २०७०÷७१ मा ८४० पत्रपत्रिकाले वर्गीकरणका लागि निवेदन दिए पनि ४५५ मात्र वर्गीकरणमा परेका थिए ।

काउन्सिलका अनुसार गुणस्तरीय पत्रिका प्रकाशन गर्नेभन्दा पनि वर्गीकरण र सूचना विभागले दिने विज्ञापनलाई लक्षित गरेर मात्र प्रकाशन गर्ने र वर्गीकरणका लागि झुटा विवरण पेस गर्ने गरिएको पाइएको छ ।
काउन्सिलले पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी कार्य २०४० सालदेखि गर्दै आए पनि कानुनीरूपमा प्रेस काउन्सिल ऐन, २०४८ आएपछि स्वायत्त संस्थाका रूपमा वितरण सम्परीक्षण समिति गठन भएको थियो । सो समितिमार्फत वर्गीकरणसम्बन्धी काम हुँदै आएको छ ।

कानुनले पत्रपत्रिकाको वर्गीकरण गर्ने जिम्मेवारी वितरण सम्परीक्षण समितिलाई तोके पनि वर्गीकरण गर्ने विधिका बारेमा कानुनमा स्पष्ट व्यवस्था नभएकाले २०५५सालमा काउन्सिलद्वारा वर्गीकरण मापदण्ड कार्यान्वयनमा ल्याइएकामा यसलाई २०५७, २०५९, २०६४ र २०६६ मा परिमार्जन गरिएको थियो ।

काउन्सिलले छापा माध्यमसँगै रेडियो, टेलिभिजन र अनलाइनसहितका विद्युतीय सञ्चारमाध्यमलाई समेत वर्गीकरण गर्न छलफल अघि बढाएको छ । पत्रपत्रिकाको वर्गीकरण काउन्सिलले गरिरहेको हुँदा अर्को निकाय खडा गर्नेभन्दा पनि अनुभवको आधारमा विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण गर्ने अधिकार पनि काउन्सिललाई नै दिनुपर्ने अध्यक्ष कार्कीको भनाइ छ । सुशील दर्नाल/रासस

स्थानीय निकाय पुनःसंरचना विवादः निरन्तर छलफल

काठमाडौँ, १४ भदौ । प्रमुख तीन राजनीतिक दल स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद गहन ढङ्गले समाधान गर्न तयार भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा स्थानीय निकाय पुनः संरचना आयोगले प्रारम्भिक प्रतिवेदन तयार पारेपछि त्यसको पक्ष र विपक्षमा देखिएको विवाद समाधान गरेर समाधान दिन दलहरु तयार भएका हुन् ।

आयोगले ५६५ गाउँपालिका र नगरपालिका हुने प्रारम्भिक प्रतिवेदन दिएपछि त्यसका पक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) तथा विपक्षमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) देखिएपछि मध्यमार्गी रुपमा विवादको निरुपण गर्ने गरी छलफल सुरु भएको हो ।

आयोगले दिएको प्रतिवेदन स्विकार्ने कि विगतमा जिविसले अगाडि सारेको इलाकालाई गाउँपालिका मान्ने कि वा हाल कायम रहेको गाविसलाई नै गाउँपालिकामा रुपान्तरण गर्ने भन्नेमा दलबीच मतैक्यता हुन सकेको छैन ।

बैठकमा सहभागी माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विभिन्न विकल्पमाथि छलफल जारी रहेको जानकारी दिँदै लगातार बैठक बसेर अन्तिम रुप दिने सहमति भएको बताउनुभयो । उहाँले आगामी असोजभित्र स्थानीय निकाय पुनःसंरचनाको विषय टुङ्ग्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार पार्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।

यस्तै बैठकमा संविधानको कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र दलबीचको सहमतिका बारेमा समेत छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता नारायणकाजी श्रेष्ठ, काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेता डा रामशरण महत, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का र सहरी विकासमन्त्री अर्जुननरसिंह केसी सहभागी हुनुहुन्थ्यो ।

यस्तै एमालेका तर्फबाट कावा अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो । रासस

नाडाको ‘११ औँ अटो सो’ सुरु

काठमाडौँ, १४ भदौ । नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औँ अटो सो’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

उक्त प्रदर्शनीको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा ७४ कम्पनीका एकसय २५ कक्ष राखिएका छन् । बर्सेनि आयोजना गर्दै आइरहेको मेलाको उद्देश्य यस क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा टेवा पु¥याउनु रहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनीका संयोजक तथा सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी अधिकृत शम्भु दाहालले प्रदर्शनीस्थल अपुग भएकाले सबै व्यवसायीलाई समेट्न नसकेको बताउनुभयो । छ दिनसम्म चल्ने उक्त प्रदर्शनीको ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रासस

सहुलियत पसललाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, १४ भदौ । आसन्न चाडपर्वका अवसरमा सञ्चालन हुने सुपथ मुल्यका पसललाई प्रभावकारीरुपमा सञ्चालन गर्न उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले काठमाडौँ उपत्यकालगायत मुलुकका अन्य स्थानका साथै खासगरी दुर्गम तथा भूकम्पबाट प्रभावित जिल्लाका सर्वसाधारणलाई चाडपर्वका अवसरमा सहुलियतरुपमा खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले विगत वर्षमा सहुलियतपूर्वक सञ्चालन गरेबापत सरकारले संस्थानलाई उपलब्ध गराउन बाँकी रकम अबिलम्ब सोधभर्ना दिलाउने व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले पाँच वर्षदेखि बाँकी रहेको सोधभर्ना उपलब्ध गराउने सम्बन्धमा समितिले अर्थ मन्त्रालयसँग छलफल गर्ने जानकारी दिँदै सहुलियत पसल सञ्चालनका लागि खाद्य संस्थान, नेसनल ट्रेडिङ एवम् साल्टट्रेडिङले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले चाडवाडका अवसरमा आपूर्ति व्यवस्थालाई विशेष ध्यान दिनुपर्ने तथा बजारमा विचौलियालाई कडा निगरानीमा राख्नुपर्ने बताउनुभयो । बैठकमा सहभागी सांसदले बजार अनुगमनलाई विशेष प्राथमिकतामा राखेर अत्यावश्यीयक वस्तुको आपूर्ति तथा व्यवस्थापनको पाटोमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

आपूर्ति सचिव श्रीधर सापकोटाले समितिले दिएको निर्देशनलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्दै बजार व्यवस्थापन र अनुगमनलाई विशेष ध्यान दिने बताउनुभयो । रासस

प्राधिकरणको रु तेह्र करोड चौरासी लाख बक्यौता

भक्तपुर, १४ भदौ । नेपाल विद्युत् प्राधिकरण शाखा भक्तपुरमा आव २०७२÷७३ सम्मको रु १३ करोड ८४ लाख ४७ हजार बक्यौता उठ्न बाँकी रहेको छ ।

भक्तपुर नगरपालिकाभित्र रहेको सडक बत्तीको मात्र रु छ करोड ९४ लाख १२ हजार बक्यौता रकम रहेको छ । जिल्लाका विभिन्न मन्दिरमा रहेका बत्तीको रु दुई करोड ५३ लाख २० हजार बक्यौता बाँकी रहेको शाखा प्रमुख विक्रम अमात्यले जानकारी दिनुभयो ।

अन्य उपभोक्ताको रु दुई करोड ८० लाख ६० हजार तथा व्यापारिक निकायतर्फ रु ८२ हजार बक्यौता बाँकी छ । आव २०७२÷७३ मा महसुल नतिर्र्ने ५७ उपभोक्ताको विद्युत्को लाइन काटिएको शाखाले जनाएको छ । रासस

जापानी विदेश राज्यमन्त्री आज आउँदै

काठमाडौँ, १४ भदौ । जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज राति यहाँ आउँदै हुनुहुन्छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उहाँ यहाँ आउन लाग्नुभएको हो । नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यद्यपि त्यसको निक्र्योल भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “राज्यमन्त्री किसाइको शिष्टाचार भेटबारे हामीले सम्माननीय राष्ट्रपति र सम्मानीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पत्राचार गरिसकेका छौँ तर समय निर्धारण भइसकेको छैन”, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग पनि उहाँले शिष्टाचार भेट गर्नुहुनेछ । राज्यमन्त्री किसाइले नेपाल सरकारका उच्चपदस्थ अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ । रासस

Monday, August 29, 2016

विकास समितिको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, १३ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीले सदनसमक्ष विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । उहाँले समितिले भूकम्पपछिको पुनःनिर्माण, विकास निर्माण र अन्य समितिका कामका सम्बन्धमा सरोकारवाला निकायसँग भएका छलफल र दिएको निर्देशनका बारेमा जानकारी गराउँदै अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।

समितिले दिएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा पुनः छलफल गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले सरकार र संसद्ले एकअर्काको समन्वय गरी काम गर्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गर्नुभयो । समितिले स्थलगत अध्ययन भ्रमणका साथै ७८ घन्टा छलफल गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

सम्झौतामाथि छलफल र अनुमोदन

“व्यवस्थापिका–संसद्ले ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युत्) माथि छलफल गरियोस्” भन्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ ।

यसअघि बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले ऊर्जा सङ्कट समाधान गर्न, उत्पादित विद्युत् वर्षायाममा निर्यात गर्नसमेत योगदान होस् भनेर प्रस्ताव ल्याइएको हुँदा यसलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

सेज विधेयक पारित

व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।

विधेयक पारित गर्नुअघि वैठकमा उठेका प्रश्नको जवाफ दिदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक क्षेत्रको विकास र निर्यात व्यापार बढाउन उक्त विधेयक ल्याईएको बताउनुभएको थियो ।
व्यवस्थापिका संसद्मा उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिको प्रतिवेदन सहितको विशेष आर्थिक क्षेत्र विधेयक, २०७१ माथि छलफल गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफलमा केही सांसदहरुले भाग लिनुभएको थियो । संसद्को अर्काे बैठक भोलि भदौ १४ गते दिनको २ बजे बस्नेछ । रासस

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १३ भदौ । व्यवस्थापिका–संसद््को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र मुलुकको समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद रेशमबहादुर बानियाले सडक दुर्घटनाबाट पछिल्लो समय ठूलो जनधनको क्षति भएको हँुदा सडकलाई व्यवस्थित गर्न र सवारी चालक अनुमतिपत्र वितरण व्यवस्थालाई समयसापेक्ष तुल्याउन सुझाव दिनुभयो ।

सांसद रवीन्द्र अधिकारीले सरकार गठन भएको एक महिना बितिसक्दासमेत स्थानीय तहको निर्वाचन कहिले हुन्छ भन्ने अन्योल हुनुले सरकार स्थानीय तहको निर्वाचन चाहेको छैन भन्ने पुष्टि भएको बताउनुभयो ।

संविधानको कार्यान्वयनसँगै लोकतन्त्र स्थापित हुने भएकाले तीनवटै तहको निर्वाचन गर्नेतर्फ सरकारको गम्भीर ध्यान जानु आवश्यक छ भन्दै उहाँले अन्यथा मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने बताउनुभयो ।

सांसद वाङ्दी शेर्पाले ताप्लेजुङको जिल्ला अस्पताल र टेलिफोनको टावरलाई व्यवस्थित तुल्याउन सरकारको ध्यानाकर्षण गराउँदै जिल्लामा विद्युत् आपूर्ति सञ्चालन गर्न माग गर्नुभयो ।

सांसद विक्रम थापाले नेपाल राष्ट्रिय खड्गी समाजले प्रदर्शनी मार्गमा रहेको आफ्नो नामको जग्गा तरकारी बजारका लागि ठेक्का दिएपछि उत्पन्न विवादका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो ।

सांसद गीता क्षेत्रीले केही वर्षयता नेपाली भाषाको हिज्जेमा गरिएको परिवर्तनले विद्यालय र शिक्षकमा देखिएको अन्योल हटाउन आवश्यक निर्णयको माग गर्नुभयो ।

उहाँले नयाँ हिज्जेको आधारमा अघि बढने हो भने हाम्रा पुराना धार्मिक ग्रन्थहरु पढ्न नसकिने अवस्था हुन गई धर्म र संस्कृति नै अप्ठ्यारोमा पर्ने भएकाले शिक्षा मन्त्रालयलाई यस विषयमा आवश्यक निर्णयका लागि निर्देशन जारी गर्न सुझाव दिनुभयो ।

सांसद बृजेशकुमार गुप्ताले कपिलवस्तुलगायतका जिल्लामा यस वर्ष अत्यन्त कम वर्षा भएकाले धान रोक्न नपाएका हुँदा ती जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

सांसद परशुराम तामाङले नेपाल बहुभाषिक मुलुक भएको र संविधानले धर्म निरपेक्षसमेतको मान्यता प्रदान गरिसकेको अवस्थामा पर्यटन मन्त्रालयले बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने खादामा गरेको प्रतिबन्धप्रति आपत्ति जनाउनुभयो । उहाँले सरकारको यस निर्णयले संविधानले दिएको अधिकार उल्लङ्घन भएकाले यसमा तत्काल सुधार गर्न माग गर्नुभयो ।

सांसद नरसिह चौधरीले कृषि प्रधान देश नेपालमा किसानको हक नै कुण्ठित भएको बताउँदै मोहियानी हकलाई व्यवस्थित गर्न र यस वर्ष पानी कम परेका जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

सांसद अनुराधा थापाले बोक्सीको आरोपमा हुने हिंसाजन्य घटनालाई नियन्त्रण गर्न ऐन आइसकेको भए पनि बाँकेमा एक पुरुषले आफ्नी श्रीमतीलाई बोक्सी लगाइदिएको आरोपमा कुटपिट गरेर हत्या गरेको घटनाले हाम्रो सामाजिक अवस्थामा निकै सुधारको आवश्यकता देखिएको छ भन्नुभयो ।

सांसद मीना पुनले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा सचिवले काम चलाउने गरेको बताउँदै आवश्यक नियम कानुन बनाई स्थानीय निकायको निर्वाचन शीघ्र गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का सांसद जनकराज जोशीले शीर्ष नेताले सदनमा बोल्ने वा राख्ने धारणाले महत्व हुने भए पनि उहाँहरुको उपस्थित न्यून रहेकोमा गुनासो गर्नुभयो । शीर्ष नेताहरुले बाहिर बोल्नुभन्दा सदनमा बोल्नुपर्नेमा उहाँको जोड थियो ।

सांसद डा. दुमनसिंह थापा क्षेत्रीले बढ्दै गएको सडक दुर्घटनाका बारेमा बोल्दै पहाडका सडक कच्ची हुनुका साथै पुराना सवारी साधन र सुरुमा अनुमतिपत्र लिनेले गाडी चलाउने भएका कारण दुर्घटना बढेको हो भन्नुभयो । उहाँले यसलाई नियन्त्रण गर्न सरकार गम्भीर भएर कडा कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।

सांसद हरिलाल ज्ञवालीले कारागारमा सुधार गर्नुपर्ने र खाना भत्ता बढाउन माग गर्दै पुर्पक्षका नाममा लामो समयसम्म जेलमा राख्ने प्रवृत्तिलाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निश्चित समय भुक्तान गरिसकेका कैदीले पाउने सुविधा नपाएको, जेलमा क्षमताभन्दा बढी मानिस राखेको र सरसफाइ नभएको भन्दै यसलाई सुधार गर्न माग गर्नुभयो ।

सांसद लीलादेवी श्रेष्ठले यातायात व्यवसायीले राज्यलाई अर्बांै रुपयाँ राजस्व बुझाएको भए पनि सडकको अवस्था नाजुक रहेको बताउँदै सिन्डिकेट यातायात व्यवसायीले नभई सरकारले गरेको आरोप लगाउनुभयो । उहाँले सडकको नाजुक अवस्थालाई सुधार गर्नुपर्ने बताउँदै सडक यातायातलाई व्यवस्थित र भरपर्दो बनाउन प्राधिकरणको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद योगेन्द्र चौधरीले २०६४ सालको संविधानसभा निर्वाचनमा काँग्रेस नेता खुमबहादुर खड्काका सुरक्षाकर्मीले दाङमा गोली चलाउँदा सात माओवादी कार्यकर्ताको ज्यान गएको तर त्यो घटनामा उल्टै माओवादीकै एक कार्यकर्तालाई दोषी ठहर गरी जेल चलान गरेकामा आपत्ति प्रकट गर्नुभयो । उहाँले यस्ता घटनाले द्वन्द्वको घाउ चर्काउने बताउनुभयो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts