रसुवा, २७ साउन । पहिराका कारण तीन दिन अगाडिदेखि अवरुद्ध धुन्चे–स्याफ्रु–रसुवागढी खण्डको पासाङल्हामु राजमार्ग आज अपराह्नदेखि खुला भएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीका अनुसार नेपाली सेना नारायणदल गण र मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदल समेतको संयुक्त प्रयासबाट विस्फोटक पदार्थको सहायताले सडकमा रहेका ढुङ्गा विस्फोट गराई सवारी साधन आवतजावत गराइएको हो ।
सडक खुला भएपछि सडकमा अलपत्र परेका सयौँ कन्टेनर तथा ट्रक अहिले साँझ नै रसुवागढीतर्फ प्रस्थान गरिसकेको छ । सशस्त्र प्रहरी प्रमुख गिरीले नेपाल–चीनको एक मात्र व्यापारी नाका सञ्चालन गराउन आफू अहोरात्र तल्लीन रहेको बताउनुभयो ।
नेपाली सेनाले जैविक विविधता संरक्षणलाई ध्यानमा राखी हल्का तवरले विस्फोटक पदार्थ प्रयोग गरी दुई दिनको प्रयासबाट सडक खुला गरेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment