सिन्धुपाल्चाक, १५ असोज । अविरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकमा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राम्चे गाविस ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिल्सना, उद्धब तिमिल्सिना र उहाँकी श्रीमती सम्झना तिमिल्सिना रहेको प्रहरीले जानकारी दिएको छ ।
अविरल वर्षाले आज बिहान ३ बजेतिर घरमाथिबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
पहिरोले पुरीएका अन्य दुई जनाको भने स्थानीयले उद्धार गरेका थिए । पहिरोले दुइ वटा अस्थाई टहरा समेत पुरेको छ ।
Friday, September 30, 2016
सिन्धुपाल्चोकमा पहिरोमा परिँदा एकै परिवारका ३ जनाको मृत्यु
नौरथा सँगसँगै झिझिया पर्व सुरु
कलैया, १५ असोज । हिन्दूको महान् चाड बडादसैँको नौरथा सँगसँगै तराईको ग्रामीण क्षेत्रमा किशोरीले झिझिवा पर्व मनाउन सुरु गरेका छन् ।
भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका तराई मूलका किशोरीले नौरथाको नौ दिन साँझ राति ९ बजे झिझिया पर्व मनाउने गरेका छन् । किशोरीको समूहले सानो प्वाल भएको माटाको घैँटामा दियो बालेर टाउकामा राखी ‘सबके दुअरिया झिझिया चमचम करेहु, बाताके दुअरिया अनहा कुपवेहो’ (सबैको घरआँगनमा झिझियाको बत्ती जगमाइरहेको छ, बाबाको घरद्वार भने अँध्यारो छ) बोलको झिझिया गीत गाउँदै नाच्दै टोल टोलमा घुम्ने गर्छ ।
नौरथाका अवसरमा बोक्सी तान्त्रिकले मन्त्रसिद्ध गर्न टुनामुना मन्त्र प्रयोग गर्ने हुनाले त्यसबाट बच्न झिझिया पर्व मनाउने परम्परा चलिआएकामा अब क्रमिक रुपमा लोपोन्मुख हुने अवस्थामा रहेको स्थानीयवासीले बताएका छन् । रासस
No related posts.
घटस्थापनाको शुभसाइत ०८ः३५ बजे
काठमाडौँ, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।
यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । “दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्मविशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”– धर्मशास्त्रविद् एवम् समितिका अध्यक्ष गौतमले भन्नुभयो । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौ कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ ।
नवरात्र भनेर समेत चिनिने दसैँ यस वर्ष तिथिको घटबढ नरहेकाले १० रात्रि र ११ दिनको छ । विगत केही वर्षमा तिथि टुटी सामान्य अवस्थामा हुनुपर्ने नौ रात्रि पनि दसैँमा नपरेकाले राष्ट्रलाई नै नराम्रो प्रभाव परेकामा यस वर्ष १० रात्रि र ११ दिनको संयोग घटस्थापनादेखि विजयादशमीसम्म जुरेकाले यसको फल समग्र राष्ट्रलाई नै राम्रो हुने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेले बताउनुभयो । “असोज १६ गते आइतबार र असोज १७ गते सोमबार दुवै दिन द्वितीयामै सूर्योदय हुँदैछ, यसरी यस वर्ष तिथि बढेको छ”– पाण्डेले भन्नुभयो ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज २५ गते ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।
आजका दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गादेवीको पूजा आराधना सुरु हुन्छ ।
रोजगारी, अध्ययन एवम् अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दसैँ मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले सार्वजनिक बिदा दिने गर्छन् । रासस
No related posts.
स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणमा तीव्रता
रसुवा, १५ असोज । नेपाली सेनाले कार्यारम्भ गरेको स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माण तीव्र रुपमा अगाडि बढेको छ ।
नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने उक्त राजमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिरहेको र हालसम्म तीन हजार ८०० मि बाटो खुलिसकेको बताइएको छ ।
असहज स्थानमा हेलिकोप्टरबाट विस्फोटक पदार्थलगायत सामग्री हेलिकोप्टरले पु¥याइने गरेको छ । स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्यदलका अनुसार पहिलो चरणमा कडा चट्टान फुटाली बाटो खोल्ने र दोस्रो चरणमा दोहोरो लेन सडक निर्माण गर्दै अगाडि बढ्न नेपाली सेना तल्लीन छ । सेनाले स्याफ्रुदेखि मैलुङसम्म १८ किमी सडक निर्माण गर्नुपर्ने छ ।
नेपाल–चीनबीचको व्यापारिक कारोबार उत्तरी नाका रसुवागढीबाट सञ्चालन भएपछि सडक व्यवस्थित गर्न सरकारले घोषणा गरेको स्याफ्रु–मैलुङ सडक निर्माणमा सेनाले गरेको कार्य प्रशंसनीय भएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले निर्धारित समयमै राजमार्ग निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । रासस
No related posts.
घरपालुवा कुकुरलाई रेबिजविरुद्ध खोप
जुम्ला, १५ असोज । जिल्ला पशुसेवा कार्यालयले यहाँका २०७ घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ ।
जिल्लाका पाँच सय सिंजा क्षेत्रका पाल्तु कुकुरमा रेबिजको शङ्कास्पद लक्षण देखिएपछि कार्यालयले तत्काल ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन सूचना प्रवाह गरेको थियो । सोही अनुसार २०७ कुकुरपालकले कुकरलाई खोप लगाएको कार्यालयका सूचना अधिकारी गोविन्दबहादुर महतले जानकारी दिनुभयो । “हामीसँग पाँच सय एन्टी रेबिज भ्याक्सिन थियो, निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेका थियौँ तर पनि भने अनुसार सेवा लिन नआउँदा २९३ सुई बाँकी नै रह्यो,” महतले भन्नुभयो ।
घरेलु कुकुरमा लाग्ने रेबिजका कारण भोलिका दिनमा समस्या नआओस् भन्ने सावधानी अपनाएर खोप लगाइएको उहाँको भनाइ छ । उहाँका अनुसार २६ गाविसमध्ये ११ गाविसका बासिन्दाले कुकुरलाई रेबिजविरुद्धको खोप लगाएका थिए ।
वर्षको एक पटक कुकुरलाई रेबिजविरुद्धको सुई लगाउनुपर्ने वार्षिक कार्यक्रम र आवश्यकतानुसार अन्य बेलामा लगाइने कार्यालयले जनाएको छ । रासस
No related posts.
राईलाई सङ्घर्षशील पत्रकारिता पुरस्कार
खोटाङ, १५ असोज । किरात राई पत्रकार सङ्घले पत्रकार डम्बरसिं राईलाई ‘सङ्घर्षशील पत्रकारिता पुरस्कार’ शुक्रबार प्रदान गरेको छ ।
पत्रकारिताका माध्यमबाट समुदायको विकासमा पु¥याएको योगदानको कदरस्वरुप सङ्घले आफ्नो दसौँ स्थापना दिवसका अवसरमा राईलाई पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राईलाई खादा ओढाएर रु नौ हजारका साथमा सम्मानपत्र प्रदान गर्नुभयो ।
यस्तै सङ्घका पूर्वअध्यक्ष भीषण राई र संस्कृतिकर्मी एवम् समाजसेवी अशोक राईलाई पनि सम्मान गरिएको किरात राई पत्रकार सङ्घका अध्यक्ष दीपेन्द्र राईले जानकारी दिनुभयो । हाल कान्तिपुर दैनिकमा आबद्ध पत्रकार राई १५ वर्षअघिदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । विसं २०७१ मा स्थापित पुरस्कार पाउने पत्रकार राई पहिलो पत्रकार हुनुहुन्छ ।
पत्रकारिताको माध्यमबाट समुदायको विकासको लागि योगदान पु¥याउने राई पत्रकारको प्रतिभा र हौसला वृद्धिका लागि कृषि विशेषज्ञ मदन राईले उपलब्ध गराउनुभएको रु एक लाखको अक्षयकोषबाट पुरस्कार स्थापना गरिएको सङ्घले जनाएको छ ।
कार्यक्रममा महासङ्घका अध्यक्ष विष्ट, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महासचिव गजुरधन राईलगायतले सञ्चारमाध्यममा समावेशी न्युज रुमको व्यवस्था कार्यान्वयन गर्दै मातृभाषा पत्रकारितालाई व्यावसायिक पत्रकारितासरह स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No related posts.
अन्नपूर्ण माविलाई सौर्यबत्ती
पोखरा, १५ असोज । पोखरा उपमहानगरपालिका–२८ अर्मलास्थित अन्नपूर्ण माविलाई जापानको कोमागाने नगरपालिकाका कर्मचारी र लेवर युनियनद्वारा संयुक्त रुपमा रु दुई लाख ७५ हजार मूल्य बराबरको सौर्यबत्ती प्रदान गरिएको छ ।
उपमहानगरपालिका र कोमागाने नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसेको १५ वर्ष पुगेका अवसरमा पोखरा आएका कोमागानेका प्रतिनिधिले सो विद्यालयको निरीक्षणपछि शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा उक्त सौर्यबत्ती हस्तान्तरण गरिएको हो ।
विद्यालयको शैक्षिक उन्नयनका लागि प्राप्त सो सामग्रीको भरपुर उपयोग गरिने प्रअ यमनाथ लामिछानेले जानकारी दिनुभयो ।
रासस
No related posts.
होटल व्यवसायी संघ काठमाडौंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
होटल व्यवसायी संघ काठमाडौं जिल्ला तदर्थ समितिले परिचयात्मक एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं जिल्लाभरि छरिएर रहेका होटल व्यवसायीहरुका विभिन्न १० वटा संघहरुको छाता संगठनको रुपमा गठन भएको उक्त संघले शुक्रबार राजधानीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । जिल्ला तदर्थ समितिका अध्यक्ष शैलेश कार्कीको सभापतित्व एवं पर्यटन बोर्डका निर्देशक सुनिल शर्माको प्रमुख आतिथ्यता र महानगरीय प्रहरी बृत्त महाराजगञ्जका कार्यालय प्रमुख प्र.ना.उ. गोविन्द पुरीको विशिष्ठ आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको शुरुमा नव गठित २१ सदस्यीय जिल्ला तदर्थ समितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको परिचय गराइएको थियो ।
त्यसैगरी कार्यक्रमका अन्य अतिथिीहरुमा सूर्य लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक, सामुदायिक सेवा समितिका अध्यक्ष, नेपाल होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ केन्द्रीय कमिटीका अध्यक्ष, संयुक्त होटल व्यवसायी संघका अध्यक्ष, लगायत जिल्ला समितिमा आवद्ध सबै नौ वटै संघका पदाधिकारीहरु रहेका थिए ।
राष्ट्रिय गानबाट शुरु गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको स्वागत मन्तव्य तदर्थ समितिका सल्लाहकार बीर बहादुर खतिवडाले दिएका थिए । बीच बीचमा शुभकामना गीत एवं आकर्षक नृत्य समेत प्रस्तुत हुँदा कार्यक्रम झनै आकर्षक बनेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले सिंगो काठमाडौं जिल्लाको नेतृत्व गर्ने गरी गठन भएको जिल्ला तदर्थ समितिलाई बोर्डका तर्फबाट यथासम्भव सहयोग गर्ने र पर्यटन प्रवर्धनका कार्यहरुमा सहकार्य गरेर जान सकिने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न अतिथिहरुले विजया दशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना मन्तव्य दिंदै नव गठित संघको उत्तरोत्तर प्र्रगतिको कामना समेत गरेका थिए ।
शैलेश कार्कीकौ अध्यक्षतामा गठित उक्त तदर्थ समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, द्वीतीय उपाध्यक्षमा डि.बी. राई, तृतीय उपाध्यक्षमा प्रभु प्रसाद चौधरी, महासचिवमा ऋषि कुमार चौलागायी, कोषाध्यक्षमा भविश्वर दुबे, तथा सदस्यहरुमा यम बहादुर श्रेष्ठ, दीपक राई, बुद्धि बहादुर बस्नेत, दामोदर नेपाल, श्याम कुमार मण्डल, श्रीमती लक्ष्मी गुरुंग, हौम बहादुर भट्टराई, पूर्ण बहादुर गुरुंग, टेकनाथ अधिकारी, माया गुरुंग, विष्णु पौडेल,गीता गुरुंग, लक्ष्मी भण्डारी ओली रहेका छन् भने सचिव र अन्य १ जना सदस्य खाली रहेको छ । त्यसैगरी सल्लाहकारमा तिल कुमारी घले, सागर बूढा मगर, खड्ग बहादुर थापा, रामसागर मण्डल, ज्ञानु गजमेर, छत्र बहादुर बस्नेत, तिलक कार्की, नारायण गुरुंग रहेका छन् ।
No related posts.
विश्व नेताद्वारा नोबेल पुरस्कार विजेता पेरेजको अन्तिम बिदाइ
इजरायल, १४ असोज । नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजलाई विश्वनेताले शुक्रबार अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका राजकुमार चाल्र्सलगायतका विश्व नेताले कडा सुरक्षा व्यवस्थाबीच पेरेजलाई श्रद्धाञ्जलिसहित बिदाइ गर्नुभएको हो ।
प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास पनि श्रद्धाञ्जलि समारोहको अघिल्लो लहरमा हुनुहुन्थ्यो । उहाँले पेरेजलाई सम्झौता गर्न वार्ता गर्ने नेताको रुपमा नजिकबाट चिनेको बताउनुभयो ।
विश्वनेताको उपस्थितिका कारण जेरुसेलममा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने सडक बन्द गरिएको र हजाराँै कर्मचारी परिचालन गरिएको थियो । श्रद्धाञ्जलि समारोहमा झन्डै ७० देशका प्रतिनिधि सहभागी रहेका थिए ।
इजरायलका संस्थापक पिताको रुपमा चिनिने नेता पेरेजको निधन गत बुधबार ९३ वर्षको उमेरमा भएको हो ।
बिहीबारसम्म अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनसहित झन्डै ५० हजार जनाले संसद् अगाडि राखिएको पेरेजको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलि दिने बेला क्लिन्टन शब्दविहीन बन्नुभएको थियो ।
इजरायल र प्यालेस्टाइनका बीचमा सन् १९९० मा भएको ओस्लो शान्ति सम्झौताका लागि क्लिनटनले सघाउनु भएको थियो, जसका कारण पेरेजले नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो । पेरेसको मृत्युभएपछि क्लिनटनले उहाँलाई अपूर्व बुद्धि र मन भएको महान् व्यक्तिका रुपमा सम्झनुभएको थियो ।
श्रद्धाञ्जलि समारोहमा ओबामा, क्लिनटन, इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन, प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु, सभामुख युली इडेल्स्टेइन, चर्चित लेखक अमोस ओज, पेरेसका छोरा र छोरीले शोक मन्तव्य दिनुभएको थियो ।
झन्डै सात दशकको राजनीतिक यात्राका क्रममा उहाँले सन् २००७ देखि २०१४ सम्म प्रधानमन्त्री र राष्ट्रपतिसहित विभिन्न महत्वपूर्ण भूमिकामा रहनुभएको थियो । रासस÷एएफपी
No related posts.
सुरक्षा चासो व्यक्त गर्दै टर्कीमा १२ टेलिभिजन च्यानल बन्द
टर्की, १४ असोज । राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ ।
जुलाई १५ मा टर्कीमा गरिएको असफल सैनिक विद्रोहपछि राज्यमा सङ्कटकालको घोषणा गरिएको छ भने कैयौँ समाचार संस्था बन्द भएका छन् । यी सञ्चार माध्यममा अमेरिकामा घोषित निर्वासनमा रहनु भएका टर्कीका इस्लाम धर्मगुरु फेतुल्लहा गुलेनको आवद्धता रहेको र उनीहरूलाई राज्य विद्रोह गर्न उक्साउन प्रयोग गरिएको आरोप सरकारको छ ।
गुलेनले भने आफूमाथि सरकारद्वारा लगाइएका आरोपमाथि कुनै सत्यता नभएको बताउँदै आएका छन् ।
अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको सञ्चार माध्यमका गतिविधिलाई हेर्ने संस्थाले बिहीबार १२ टेलिभिजनलगायतका केही समाचार संस्थालाई राज्यको सुरक्षामाथि खतरा हुनेकार्य गर्न उक्साएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो । रासस÷एपी
No related posts.
पाकिस्तानमा आगलागीका कारण पाँच बालबालिकाको मृत्यु, छ जना घाइते
पाकिस्तान, १४ असोज । पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा परी पाँच जना बालबालिकाको मृत्यु भएको छ ।
घटनामा परी अन्य ६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सिन्ध प्रान्तको लियाकट नगरमा रहेको पाकिस्तान स्विट होम्स् नामक सार्वजनिक बालगृहमा बस्ने बालबालिकाले अज्ञानताबस अत्तर (बडी पर्फ्युम) लाई लामखुट्टे धपाउन बालेको धुपमा छर्केपछि आगलागी शुरु भएको यहाँको सामा समाचार संस्थाले जनाएको छ ।
अग्नी नियन्त्रक र उद्धार टोलीले घाइतेहरुलाई तत्काल नजिकैको अस्पतालमा लगेका थिए । आगलागी भएका बेला आगलागी भएको कोठामा ११ जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।
No related posts.
क्यासिनो सञ्चालनसम्बन्धी विधेयक ल्याउन समितिको निर्देशन
काठमाडौँ, १४ असोज । सामाजिक न्याय तथा मानवअधिकार समितिले राजस्व नतिर्ने तथा कर्मचारीलाई तलब भत्ता नदिने नेपाल रिक्रिएसन सेन्टरका तात्कालीन सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले सेन्टरका तात्कालीन सञ्चालक शान्ति चड्डा, राकेश वादवा, शालिनी वाद्वा, तुलाराम भट्ट, सर्वण क्षेत्री र रिचर्ड डोयललगायतलाई इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी अविलम्ब पक्राउ गर्न सरकालाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिले निजहरुबाट राजस्व र मजदुरले पाउनुपर्ने खर्च रकम असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउन तथा त्यसको जानकारी समितिलाई एक महिनाभित्र गराउन गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
समितिले सोल्टी होटल परिसरमा नेपाल रिक्रिएसन सेन्टरको नाममा बैंक खातामा रहेको रकमलगायत चल अचल सम्पत्तिलाई लिलाम गरी मजदुरको तलब सुविधा भुक्तान गरी बचेको रकम राजस्वमा दाखिला गर्ने व्यवस्था गर्न पनि भनेको छ ।
क्यासिनो सञ्चालन तथा व्यवस्थापनसम्बन्धी हालसम्म पनि ऐन नभएको सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले संसद्कै चालु अधिवेशनमै क्यासिनो सञ्चालनसम्बन्धी विधेयक पेस गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
सञ्चालनमा रहेका क्यासिनोमा कार्यरत मजदुरको समस्या र राजस्व असुलीमा देखिएको बेथितिप्रति उदासीन रहने मन्त्रालयलाई सचेत गराउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले दिएको निर्देशन पालन भए÷नभएको सन्दर्भमा समितिले अब नियमित अनुगमन गर्ने निर्णय पनि गरेको जनाएको छ । रासस
No related posts.
महिला अधिकार संरक्षण नभएसम्म संविधान कार्यान्वयनमा कठिनाइ
काठमाडौँ, १४ असोज । संविधानले प्रत्याभूत गरेको महिला अधिकारलाई संरक्षण गर्न नसकेमा संविधान कार्यान्वयनमा कठिनाइ हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
अन्तरपार्टी महिला सञ्जालद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा संविधानअनुसार राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी प्रतिनिधित्व नगराएसम्म संविधानले पूर्णता नपाउने बताए ।
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले अहिलेको संविधानले महिलाका धेरै विषयलाई समेटेको छ भन्दै निर्धारित समयमा तीनवटा चुनाव गर्न नसकेमा संविधान कार्यान्वयन बाधा उत्पन्न हुने र सबैका सपना चकनाचुर हुने विचार व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले समानुपातिक र समावेशी प्रतिनिधित्व गराउन आफ्नो दल प्रतिबद्ध रहेको बताउँदै महिलालाई अगाडि बढ्न असहज भएका केही विभेदकारी कानुन खारेज हुनुुपर्नेमा जोड दिनुभयो ।
सञ्जालका अध्यक्ष प्रतिभा राणाले संविधानमा महिला प्रतिनिधित्व सुनिश्चित भए पनि कुनै पनि दल तथा निजामती प्रशासनमा सो हक कार्यान्वयन चासो नदिएको गुनासो गर्नुभयो ।
सञ्जालकी पूर्व अध्यक्ष शशि श्रेष्ठले कर्मचारी प्रशासन, स्वास्थ्य सेवा, सुरक्षा निकायका तथा विभिन्न राजनीतिक पार्टीमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुन नसकेको विषयमा एक अनुसन्धानपत्र प्रस्तुत गर्नुभयो ।
नेकपा (एमाले)का नेता थममाया थापा, राप्रपाका प्रवक्ता ठाकुर शर्मा, नेकपा (संयुक्त)का प्रवक्ता केदारचन्द्र शर्मा, नेकपा (माले)का नेता कुमार बेलबासेलगायतले महिला तथा पुरुषलाई समान अवसर र समान सुविधाका साथै समावेशी गराउन जोड दिनुभएको थियो । रासस
No related posts.
ज्येष्ठ नागरिक दिवस मूल समारोह समिति गठन
काठमाडौँ, १४ असोज । छब्बीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई भव्य रूपमा सफल बनाउन ‘२६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।
‘ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध उभिऔँ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको सो दिवसलाई विगतका वर्षहरूमा भन्दा अझै भव्य बनाउन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।
समितिमा विभिन्न मन्त्रालय र ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू रहेका छन् ।
संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।
अक्टुबर १ (असोज १५) मा यो दिवस मनाउँदै आएको भए पनि यो बर्ष सो दिन शनिबार परेको हुँदा आइतबार विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
दिवसका अवसरमा पदयात्रा, ज्येष्ठ नागरिकलाई सम्मान, फलफूल वितरण, सरसफाइ र अन्तक्र्रियालगायतका कार्यक्रमसमेत आयोजना गरिने जनाएको छ । रासस
No related posts.
सञ्चारमन्त्रालयद्वारा कार्यसम्पादन सम्झौता
काठमाडौँ, १४ असोज । सूचना तथा सञ्चार मन्त्रालयले मातहतका निकाय र विभागसँग कार्यको परिणाममुखी नतिजाका लागि कार्यसम्पादन सम्झौता गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, सूचना विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, मुद्रण विभाग, राष्ट्रिय चलचित्र विकास बोर्डसँग सो सम्झौता गरिएको हो ।
यसपछि नेपाल टेलिभिजन, नेपाल टेलिकम र हुलाक विभागसँग पनि छिट्टै कार्यसम्पादन सम्झौता गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतका निकाय राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपाल भने कानुनद्वारा स्वायत्त भएकाले सो सम्झौता नगरिने भएको छ ।
सो अबसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकार कति दिनसम्म रहन्छ भन्ने भन्दा पनि आफ्नो प्रतिबद्धतामा इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
आफूुले मातहतका निकायमा अपेक्षाकृत प्रगति नदेखेको गुनासो गर्दै उहाँले भन्नुभयो – “कर्मचारीतन्त्र आफँैले बनाएको कानुनी प्रणालीमा अल्झेको छ ।”
कर्मचारीतन्त्रमा स्वार्थ पूरा हुने काम चाँडै गर्ने र अन्य काममा ढिलासुस्ती गर्ने प्रवृत्ति रहेको मन्त्री कार्कीले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका सूचना तथा सञ्चार विषय हेर्ने सदस्य प्राध्यापक इन्जिनियर भूपेन्द्रमान प्रधानले मन्त्रालय र मातहतका निकायबीच हुने कार्यसम्पादन सम्झौताले परिणाममुखी नतिजा ल्याउने बताउनुभयो ।
मुख्य सचिव डा सोमलाल सुवेदीले नेपालमा स्थानीय विकास मन्त्रालयबाट सुरु गरिएको कार्यसम्पादन सम्झौता सकारात्मक भएको बताउँदै यसलाई क्रमशः सबै मन्त्रालयमा लागू गर्दै जाने जानकारी दिनुभयो ।
सरकारका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता आवश्यक रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो – संविधान कार्यान्वयनमा समेत यसले उल्लेख्य योगदान दिने छ ।
सञ्चार सचिव दिनेश थपलियाले संस्थाको समग्र प्रगतिको सूचकका रुपमा कार्यसम्पादन सम्झौता ल्याएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले मातहतका निकायसँग र निकायले आफ्ना विभाग तथा महाशाखासँग समन्वय गर्नुपर्ने निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्रालय मातहतका निकायका प्रमुखले सम्झौतामा हस्ताक्षर गर्दै निर्धारित समयमा तोकिएका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस
No related posts.
चरिकोट घटना संयमित हुन आग्रह : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, १४ असोज । स्वास्थ्य मन्त्रालयले दोलखाको चरिकोट अस्पतालमा भएको घटनामामा छानबिन भइरहेको जनाएको छ ।
मन्त्रालयले सो घटनामा बुधबार मध्यमाञ्चल क्षेत्रीय निर्देशक डा रमेशविक्रम सिंहको संयोजकत्वमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र शाखा अधिकृत दीपक रिजाल रहनुभएको छानबिन समिति गठन गरेको र गृहमन्त्रालयका सहचिवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका उपसचिव र नेपाल प्रहरीका प्रहरी निरीक्षक रहेको अर्को छानबिन समिति समेत गठन गरेको छ ।
मन्त्रालयका निमित्त सचिव रामशरण चिमोरियाद्वारा आज यहाँ जारी विज्ञप्तिमा ती दुवै समितिले छानबिन सुरु गरिसकेको अवस्थामा स्वास्थ्य सेवालाई प्रभावित हुने अवस्था आउन नदिई उच्च मनोबलका साथ सेवामा जुट्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ ।
छानबिन कार्यलाई सहज बनाउन त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने जानकारी प्राप्त भएको र समितिको प्रतिवेदन आइसकेपछि सोअनुरुप कारबाही अगाडि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।
“घटनाका बारेमा द्रुत गतिमा छानबिन भइरहेको र तत्कालीन तथा दीर्घकालीन रुपमा गर्नुपर्ने कानुनीलगायतका कामसमेत गरिसकेकाले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दछौँ ” विज्ञप्तिमा भनिएको छ ।
घटनाबाट सिर्जित परिस्थितिलाई सामान्यीकरण गर्न स्वास्थ्य सेवालाई प्रभावित हुने अवस्था आउन नदिई उच्च मनोबलका साथ सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकायलाई तथा त्यस कार्यमा सहयोग गर्न स्थानीय समुदायलाई मन्त्रालयले अपिल समेत गरेको छ ।
अस्पतालमा स्वास्थ्यकर्मी माथि हुने आक्रमण तथा स्वास्थ्य संस्थामा हुने तोडफोडलगायतका घटना हुन नदिनका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन प्रक्रिया समेत अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
साथै स्वास्थ्य क्षेत्रलाई मर्यादित, विश्वासनीय र जनताप्रति जवाफदेही बनाउन मन्त्रालय लागिरहेकाले स्वास्थ्य संस्थाभित्र आइपर्ने समस्या समाधान गर्न पनि मन्त्रालयले ध्यान दिँदै आएको जनाइएको छ । रासस
No related posts.
Thursday, September 29, 2016
सभामुख घर्तीद्वारा सभापति बराललाई शपथ
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)का सचेतक सीता नेपाली प्रस्तावक र नेकपा (एमाले)का काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिनुभएका उहाँ बिहीबार निर्विरोध सभापति पदमा चयन हुनुभएको हो ।
नेपाली काँग्रेसका तर्फबाट सिन्धुली क्षेत्र नं २ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका सभापति बराल यसअघि अर्थसमितिको सदस्य हुनुहु्न्थ्यो ।
सिन्धुलीको रानीवास स्थायी घर भएका बरालले २०३९ सालबाट राजनीति यात्रा आरम्भ गर्नुभएको थियो । उहाँले लामो समयसम्म प्राध्यापन गर्नुभएको थियो ।
मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय हुँदा पटक पटक गरी उहाँले एक वर्ष जेल जीवन बिताउनुभएको छ ।
यसअघि उक्त समितिको सभापतिको जिम्मेवारी गगनकुमार थापाले वर्तमान मन्त्रीपरिषदमा स्वास्थ्य मन्त्रीभएसगै सभापति पद रिक्त भएको थियो ।
नव निर्वाचित सभापति वरालले आजै सिहदरवारस्थित समितिको सचिवालयमा आफनो पदभार सम्हाल्नुभएको छ ।रासस
No related posts.
अनुदानको रकम पु-याउन सरकार सदनको ध्यानाकर्षण
काठमाडौँ, १४ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले कञ्चनपुर जिल्लामा हात्ती आतङ्क फैलिएकाले नियन्त्रण गर्न र भूकम्पपीडित जनतालाई अनुदानको रकम पु-याउन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
दार्जुला जिल्लामा विसं २०७० र यस वर्ष गएको बाढी पहिरोपीडित जनतालाई राहत दिन, संविधान कार्यान्वयन गर्न र रेमिट्यान्सबारेमा नयाँ कानुन बनाउन पनि उहाँहरुले सरकारसंग माग गर्नुभयो ।
उहाँहरुले हालै धादिङ, काभ्रे जिल्लामा भएका सडक दुर्घटनामा परेर अकालमा ज्यान गुमाएका परिवारजनलाई राहत तथा क्षतिपूर्ति दिन, उपत्यकाभित्र सडक यातायातलाई व्यवस्थित गर्न, बाहिरी चक्रपथ निर्माण सुरु गर्न तथा मध्यपहाडी लोकमार्ग समयभित्र सम्पन्न गर्न पनि माग गर्नुभयो ।
सांसदहरुले विधिको शासन स्थापना गर्न, दसैँ तथा तिहारजस्ता चाडवाड मानाउन घर जानेलाई सरकारले यातायताको व्यवस्थापन गर्न माग गर्नुभयो ।
यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा कृपाराम राना, कृष्णप्रसाद पौडेल, गणेशकुमार पहाडी, गणेशसिंह ठकुन्ना, गीता क्षेत्री, गुरुप्रसाद बुर्लाकाटी, चन्द्र महर्जन, चम्पादेवी खड्का, तप्तबहादुर विष्ट तथा तारादेवी राई हुनुहुन्थ्यो । रासस
No related posts.
सहरी पूर्वाधार निर्माणसम्बन्धी सम्झौता
धनगढी, १४ असोज । धनगढी उपमहानगरपालिका र एसियाली विकास बैंकबीच हालै धनगढी उपमहानगर क्षेत्रमा सहरी पूर्वाधार निर्माण गर्ने सम्झौता भएको छ ।
क्षेत्रीय सहरी विकास आयोजना नाम दिइएको यो पञ्चवर्षीय आयोजनाअन्तर्गत निर्माण हुने पूर्वाधारमा एसियाली विकास बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।
सम्झौताअनुसार धनगढी उपमहानगर क्षेत्रमा ४२ किलोमिटर सडकको स्तरोन्नतिका साथै, ढल निर्माण, फोहर मैला व्यवस्थापन, सामुदायिक पूर्वाधार विकास, सडक पेटी निर्माण, सौर्य सडक बत्ती जडान, हरियाली निर्माणलगायतका काम गरिने कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताउनुभयो ।
सम्झौतापत्रमा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्रेष्ठ र एसियाली विकास बैंक आयोजना समन्वय कार्यालयका निर्देशक राजमान मानन्धरले हस्ताक्षर गर्नुभएको थियो ।
बिना योजना सहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबासजस्ता समस्या छ
धनगढी उपमहानगर क्षेत्रमा सडक, खानेपानीलगायतका पूर्वाधारहरु निर्माण हुन नसक्दा कतिपय वडाका बासिन्दा अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित छन् ।
विसं २०३३मा स्थापना भएको धनगढी नगरपालिकालाई झन्डै एक वर्षअघि साविकको फूलबारी र उर्मा गाविसलाई समेटेर धनगढी उपमहानगरपालिका बनाइएको थियो ।
बाहुन, क्षेत्री, ठकुरी, दलित, राना थारु, डगौरा थारु, समुदायको बाहुल्यता रहेको यो उपमहानगरको जनसङ्ख्या हाल झन्डै एक लाख ३७ हजार छ ।
क्षेत्रीय सहरी विकास आयोजना सुदूरपश्चिमको धनगढीबाहेक अत्तरिया, झलारीपिपलाडी र महेन्द्रनगर (भीमदत्तनगर) नगरपालिकामा सञ्चालन गरिने बताइएको छ । रासस
No related posts.
विजयादशमी–शुभकामना आदानप्रदान
भद्रपुर, १४ असोज । नेपाली काँग्रेस भद्रपुर वडा नं ११ समितिद्वारा आयोजित विजयादशमी–२०७३ को शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।
सो अवसरमा पूर्व कानुन तथा न्यायमन्त्री एवम् सांसद नरेन्द्रविक्रम नेम्बाङ नेतृत्वले समयको माग र परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले विजयादशमीको शुभकामना प्रदान गर्दै नेपाल महिला सङ्घको सम्पन्न तेस्रो महाधिवेशन झापाबाट निर्वाचित केन्द्रीय सदस्य गोमा भट्टराई र लखी गणेशलाई हार्दिक बधाई तथा शुभकामना दिनुभयो ।
आयोजक समितिका सभापति लावण्यकुमार पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य लखी गणेश, नेपाली काँग्रेसका कार्यकर्ता गणेश पोखरेल, तोया गड्तौला, रीता भट्टराई, मोहन महर्जन र शर्मिला अधिकारीले पनि आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन लाग्नुपर्नेमा जोड दिनुभयो । रासस
No related posts.
बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक
खोटाङ, १४ असोज । सडक दुर्घटना न्यूनीकरण गर्न खोटाङमा बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक लगाइएको छ ।
निरन्तरको वर्षाका कारण जिल्लाका सडकको अवस्था खराब बनेका कारण बेलुका ७ बजेपछि यात्रुबाहक बस तथा जिप चलाउन रोक लगाइएको हो ।
यातायात व्यवसायीकै उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सडक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउन भन्दै रातका समयमा गाडी नचलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । सडक यातायातलाई सुरक्षित बनाउन ‘टाइमकार्ड’को समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
यस्तै, दसैँ र तिहारलाई लक्षित गर्दै खोटाङका प्रमुख सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । वर्षाका कारण अवरुद्ध सडकमध्ये दिक्तेल–हलेसी सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।
सडक कालोपत्रेको प्रारम्भिक चरणको काम गरिरहेकै ठेकेदार कम्पनीलाई बिग्रेका सडकखण्ड मर्मत गर्ने जिम्मा दिइएको प्रजिअ कार्कीले जानकारी दिनुभयो । अहिले जिल्लाका सबैजसो सडक वर्षाका कारण अवरुद्ध छन् । रासस
No related posts.
चरीकोट घटना छानबिन गर्न समिति गठन
काठमाडौँ, १४ असोज । सरकारले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बिहीबार गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल रहनुभएको छ ।
समितिका सदस्य घटनाको विषयमा छानबिन गर्न चरीकोट जानुभएको छ । यही असोज ७ गते केन्द्रमा उपचारका क्रममा साढे दुई वर्षका बालक महादेव रिजालको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफ माग्न बाध्य पारेका थिए ।
घटनापछि नेपाल चिकित्सक सङ्घले विहिबार नै स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौँ ल्याएको छ । सम्पूर्ण स्वास्थ्यकर्मी काठमाडौँ आएपछि त्यहाँको आकस्मिकसहित अन्य स्वास्थ्य सेवा पनि ठप्प भएको छ । रासस
No related posts.
भारतीय सेनाको कारवाहीमा दुई पाकिस्तानी सैनिक मारिए
पाकिस्तान, १३ असोज । भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
स्थानीय समयानुसार बिहीवार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले बिहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको इलाकामा हमला गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा उक्त घटना भएको बताउनुभयो ।
“सीमा नियन्त्रण रेखामा आतङ्कवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधवार राति उनीलाई कारबाही गरेको हो ।” उहाँले भन्नुभएको छ ।
गत सेक्टेम्बर १८ भारत प्रशासित काश्मिरको गरीमा माभएका हमलामा परी १७ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाव बढेको छ ।
उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ ।
यसअघि सन् २००३ मा यी दुई मुलुकले युद्धविरामको घोषणा गरेका थिए । रासस÷सिन्ह्वा
No related posts.
कोलम्बियामा शान्ति स्थापनाको तीव्र प्रयास
बोगोटा, १३ असोज । कोलम्बियाको सरकार र यहाँको विद्रोही पक्षबीच हालै शान्ति सम्झौता भएपछि दशकौँ लामो द्वन्द्वको अन्त्य हुने आशा बढेको छ ।
करिब ५४ वर्षपछि यहाँको विद्रोही समूह युद्धविरामका लागि सहमत भयो र त्यसलगत्तै गतहप्तामात्र शान्ति सम्झौता सम्पन्न भएको हो ।
उक्त दुवै पक्षबीच भएको शान्ति सम्झौता यहाँका करिब ६२ वटा स्थानीय भाषामा अनुवाद गरिएको छ ।
कोलम्बियाको सरकार र यहाँका विद्रोही रिभोल्युसनरी आम्र्ड फोर्सबीच सो शान्ति सम्झौता भएको बताइएको छ ।
कोलम्बियाको संस्कृति मन्त्रालयले दिएको जानकारीअनुसार सरकार र उक्त विद्रोही पक्षबीच सो सम्झौता भएको थियो । उक्त सम्झौतालाई यहाँका स्थानीय भाषाभाषीले पनि बुझ्न सक्नेगरी सो अनुवाद गरिएको समाचारमा जनाइएको छ ।
कोलम्बियाका सबै जाति जनजाति तथा स्थानीय भाषाभाषीले सरकार र विद्रोहीका बीचमा सम्पन्न भएको सो शान्ति सम्झौतामा के छ भन्ने बारेमा थाहा पाउन भनेर सो अनुवाद गरिएको जानकारी उक्त मन्त्रालयले दिएको छ ।
शान्तिको भाषा सबै भाषाभाषीबाट पनि बोलियोस भन्ने उद्देश्यले यो काम गर्नु आवश्यक रहेको यहाँको सरकारको जनाएको छ ।
देशको पछिल्लो अवस्थाका बारेमा सबै भाषाभाषीका नागरिकले सुसूचित हुन पाउनु भनेको एक महत्वपूर्ण काम भएको जानकारी एकजना सरकारी अधिकारीले दिएका छन् ।
सरकार र उक्त विद्रोही पक्षका बीचमा भएको सो सम्झौता सबैले थाहा पाएका छन् कि छैनन् भन्ने बारेका साथै उक्त सम्झौताको कार्यान्वयनको लागि विद्रोही पक्ष इमान्दार छन् कि छैनन् भन्ने बारेमा पनि यसबाट जानकारी हुने सो मन्त्रालयले जानकारी दिएको छ ।
कोलम्बियामा जारी रहेको सो द्वन्द्वका कारण यहाँका विभिन्न स्थानीय जाति तथा जनजाति झन बढी मात्रामा प्रभावित भएको उक्त शान्ति सम्झौतामा उल्लेख गरिएको छ ।
यसअघि पनि क्युवाको हवानामा जम्मा भएका विभिन्न जाति जनजातिका नागरिकले कोलम्बियामा सुरु भएको शान्ति प्रयासलाई विभिन्न स्थानीय समुदायसम्म पु¥याएर सफल बनाउने बताएका थिए ।
कोलम्बियामा स्थानीय जातजातिको भाषा धेरै बोल्ने गरिन्छ । यहाँ धेरैथरी जनजाति रहेका छन् । रासस÷सिन्ह्वा
No related posts.
केन्यामा १४० मेगावाट जियोथर्मल विद्युत उत्पादनको तयारी
नैरोबि, १३ असोज । विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ ।
पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्युत शक्तिमा परिणत गरी भण्डारण र विद्युत आपूर्ति गर्ने प्रणालीलाई जियोथर्मल प्रविधि भनिन्छ ।
तुलनात्मक रुपले जल विद्युत उत्पादन लागत सरह खर्च लाग्ने यस प्रविधिबाट विद्युत उत्पादन गर्न जलस्रोत, पेट्रोलियम इन्धन, आणविक वा अन्य कुनै प्रकारको रासायनिक उर्जा आवश्यक पर्दैन ।
यसमा, सूर्यबाट भू(सतहमा प्राप्त हुने तापक्रमलाई वैज्ञानिक प्रक्रियाबाट जियोथर्मल तापवाष्प तयार गरी एकत्रित पार्दै विद्युत उर्जामा परिणत गरी विद्युत आपूर्ति गरिन्छ ।
जियोथर्मल तापवाष्प उत्पादन, सङ्कलन तथा बिक्री बितरण कार्य सरकारी स्वामीत्वको केन्या इलेक्ट्रिसिटि जेनेरेटिङ्ग कम्पनी (केन्जेन्) ले गर्ने र खरीद गर्ने संस्थाले सो तापवाष्पलाई विद्युत उर्जामा परिणत गरी विद्युत आपूर्ति गर्ने परिपाटी हुनेछ ।
केन्जेन्को जियोथर्मल शक्ति विकास बिभागका निर्देशक आबेल रोटिकले यस परियोजनामा भौतिक पूर्वाधार निर्माणकार्य र मेसिनरी प्लान्ट, उपकरण जडानका लागि लगभग तीस करोड अमेरिकी डलर लगानी गर्न रकमको बन्दोबस्त भै सकेको नैरोबिमा सिन्ह्वा समाचारदातालाई बताए ।
जियोथर्मल शक्ति प्रकृति (सूर्य) बाट नित्य निरन्तर प्राप्त भै रहने नवीकरणिय उर्जास्रोत भएकाले यस अन्तहीन स्रोतको अधिकतम उपयोगलाई केन्या सरकारले प्राथमिकता दिने पनि निर्देशक आबेलले बताए।
राजधानी नैरोबिबाट करीब एकसय किलोमिटर टाढा उत्तरपश्चिममा पर्ने ओल्कारिया इलाकामा ओल्कारिया(पाँचौं नामाकरण गरिएको यस परियोजना शुरु भएको मितिले अठार महिनासम्ममा सम्पन्न गरिसक्ने लक्ष राखिएको छ ।
वर्तमानमा केन्यामा केन्जेन्ले पाँचसयचालिस र निजी क्षेत्रको अर्को एउटा छुट्टै कम्पनीले एकसयचालिस गरी जम्मा छसयअसी मेगावाट जियोथर्मल विद्युत उत्पादन गरिरहेका छन् ।
यस पूर्वीअफ्रिकाली राष्ट्रभरी समग्रमा कूल सातहजार मेगावाट सम्भाव्य जियोथर्मल विद्युत क्षमता भएको अनुमान गरिएको छ । रासस÷सिन्ह्वा
No related posts.
संविधान कार्यान्वयनमा सघाउन प्रधानमन्त्रीद्वारा प्रेसलाई आग्रह
काठमाडौँ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनमा सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गर्नुभएको छ ।
प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो – “संविधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगत्लाई अपिल गर्न चाहन्छु ।”
उहाँले संविधानमार्फत सिङ्गो मुलुकलाई एकताबद्ध र मजबुत गर्न आफूले चाहेको बताउँदै भन्नुभयो – “कुनै राजनीतिक आग्रह र पूर्वाग्रहका कारण राष्ट्रिय एकता बिथोलिने भएमा प्रेसले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्छ ।”
प्रेसले आगामी १८ महिनाभित्र तीन चरणको निर्वाचन गर्ने कार्यलाई सघाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रुत गतिमा लैजान सरकारले पहल गरिरहेको उल्लेख गर्दै उहाँले पुनःनिर्माणका साथै अन्य विकास निर्माणका काममा पनि प्रेसको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रजातन्त्रको पुनर्बहाली र गणतान्त्रिक आन्दोलनमा पे्रसले खेलेको भूमिका सराहनीय भएको पनि उहाँले बताउनुभयो ।
सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले श्रवजीवी पत्रकारको मुद्दालाई आफूले सम्बोधन गर्ने वचनबद्धता प्रकट गर्दै उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “तोकिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक हामी कार्यान्वयन गर्छौं ।”
उहाँले पत्रकारले खवरदारी नगरेमा लामो सङ्घर्षबाट प्राप्त उपलब्धि प्रजातान्त्रिक गणतन्त्र खतरामा पर्ने भन्दै त्यसका लागि सिर्जनशील आलोचना आवश्यक हुने बताउनुभयो ।
सत्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न र सामान्य विषयलाई अनावश्यक रुपमा प्रचार नगर्न उहाँले प्रेससँग आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक मुद्दा पेचिलो बन्दै गर्दा प्रेसका मुद्दामा ओझेलमा पर्न नहुने बताउनुभयो ।
उहाँले आमसञ्चार नीति एवम् श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्यले सङ्गठनलाई गतिशील बनाएर नयाँ भावनासहित अगाडि बढाउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहनुभएका आचार्यले नयाँ परिवेशमा प्रेस सेन्टरले जनपक्षीय पत्रकारितालाई अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।
अधिवेशनको सफलताका लागि शुभकामना दिँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्डबहादुर कार्कीले जनअपेक्षाअनुसार पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले आर्थिक रुपमा सञ्चारमाध्यम सबल भएपछि मात्र पत्रकार सबल हुने भएकाले त्यसका लागि राज्यले उपलब्ध गराउने समानुपातिक विज्ञापनलाई समानुपातिक रुपमै वितरण गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले अधिवेशनको सफलताको कामना दिँदै शान्ति सम्झौताका साझेदार पार्टी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर संविधान कार्यान्वयनका लागि अगाडि बढेको सन्दर्भमा युनियन र सेन्टर पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
त्यसैगरी प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस सेन्टर र चौतारीको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
छापा माध्यम राष्ट्रिय सञ्जालका महासचिव किशोर श्रेष्ठ, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, आदिवासी जनजाति पत्रकार महासङ्घका महासचिव गजुरधन राई, क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउने, सामुदायिक रेडियो प्रसारक सङ्घका महासचिव गोविन्द देवकोटा र सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले अधिवेशनको सफलताको कामना गर्दै शुभकामना दिनुएको थियो । रासस
No related posts.
मौरी वैज्ञानिक सम्मेलन हुने
काठमाडौँ, १३ असोज । आगामी कात्तिक ७ र ८ गते काठमाडौँस्थित होटेल ह्यातमा प्रथम मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ ।
हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट अफ नेपाल (हार्डिन)ले आयोजना गर्न लागेको उक्त सम्मेलनमा विश्वका आठ देशका वैज्ञानिकको सहभागिता रहनेछ । अमेरिका, चीन, भारत, कोरिया, फिलिपिन्स, जर्मनी, अष्ट्रिया, इट्लीका वैज्ञानिकले सो सम्मेलनमा मौरी विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक संस्थाका अध्यक्ष प्राडा रत्न थापाले जानकारी दिनुभयो ।
नेपाल सरकार, कृषि विभाग, व्यावसायिक किट विकास निर्देशनालय र एसियन एग्रिकल्चर, एसोसिएसनले मौरी संरक्षण र मौरीजन्य उत्पादनको प्रवद्र्धन खाद्य सुरक्षा तथा पर्यावरणको संरक्षण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वमा पाइने नौ प्रजातिकामध्ये नेपालमा मात्र चार प्रजातिका मौरी पाइन्छन् । नेपालमा हाल १० देखि १५ हजार जङ्गली (भिर मौरी)को गोला रहेको छ । विभिन्न अध्ययनअनुसार तीनदेखि पाँच वर्षभित्रमा भिर मौरीका गोला नासिन्छन् ।
प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नो लेखमार्फत पृथ्वीबाट मौरी लोप भयो भने त्यसको चार वर्षपछि सम्पूर्ण मानव जगत् लोपोन्मुख हुनेछ भनी उल्लेख गर्नुभएको छ । अहिलेसम्म मौरी पालन नीति बन्न सकेको छैन । सरकारसँग नीति बनाइदिन र महको गुणस्तरीयता मापन गर्ने आधिकारिक प्रयोगशालाको व्यवस्था गरिदिन व्यवसायी र किसानले आग्रह गर्दै आएका छन् ।
सरकारले मौरी व्यवसायीका लागि मौरी विकास बोर्डको गठन गर्न सकेको छैन तर उपकरणमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालिम, सामग्री, घार तथा अन्य उपकरणमा अनुदान भने उपलब्ध गराउँदै आएको छ ।
नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरी पालन सुरु भएको इतिहास छ । मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरी पालन केन्द्रीय सहकारी सङ्घले जनाएको छ । सङ्घसँग आबद्ध सदस्यले वार्षिक एक हजार मेट्रिक टन मह उत्पादन गरेका छन् ।
सरकारले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र चुनेको छ । नेपाल महमा समेत परनिर्भर भएको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गरेको छ । मुख्यतः नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।
सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकिलो रु दुई हजार ५०० सय देखि रु तीन हजार, केरेनाको रु ७०० देखि रु एक हजार र मेलिफेराको रु ४०० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ । विश्वमा सबैभन्दा बढी मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले बर्सेनि २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ ।
नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाली महले विश्व बजारमा अग्र्यानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दाबी छ । मौरी पालन व्यवसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यवसाय वातावरणमैत्री व्यवसाय हो । व्यवसायी अर्जुनप्रसाद पोखरेलका अनुसार प्रागसेचन प्रक्रियामा मौरीको महत्व रहेको र वनस्पतिको अस्तित्वसमेत मौरीले नै जोगाइराखेको पाइन्छ । रासस
No related posts.
नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौँ, १३ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, १२० र १२७ को उपनियम (१), नियम १४२ र १५६ को उपनियम (१) निलम्बन गरेको छ ।
बैठकले बहुमतले निलम्बनको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक परशुराम तामाङको समर्थनमा नेकपा (माओवादी) केन्द्रका सचेतक टेकबहादुर बस्नेतले निलम्बनको प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
प्रस्ताव प्रस्तुत गर्दै सांसद बस्नेतले आर्थिक वर्ष २०७३÷७४ को बजेट लागू गर्न आवश्यक पर्ने अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि आर्थिक विधेयक २०७३, ऋण तथा जमानत (२१औँ संशोधन) विधेयक–२०७३ र राष्ट्र ऋण उठाउने विधेयक–२०७३, पारित गर्न नियम निलम्बनको प्रस्ताव गर्नुपरेको बताउनुभयो ।
व्यवस्थापिका–संसद्को साउन ७ गतेको बैठकले ती विधेयक अस्वीकार गरेको थियो ।
सांसद राजेन्द्र पाण्डेले प्रस्तावको विरोध गर्दै नेकपा (एमाले)ले त्यसको विपक्षमा मतदान गर्ने बताउनुभयो ।
व्यवस्थापिका–संसद्को बैठक आधा घन्टाका लागि स्थगन भएको छ । रासस
No related posts.
दलीय सहमतिमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी आज यहाँ आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले सरकारले स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनको तयारी समेत थालेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “संविधान कार्यान्वयन क्रममा दलीय सहमतिमा संविधान संशोधन प्रक्रिया समेत सुरु भएको छ । यसले छिट्टै पूर्णता पाउँदछ ।”
“नयाँ संविधानले राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिमा कोसेढुङ्गा सावित गर्ने छ ।” प्रम दाहालले भन्नुभयो । सार्कको बडापत्र अनुसार सार्कले यस क्षेत्रको जनताको आर्थिक एवम् सामाजिक समृद्धिमा प्रभावकारी काम गर्न नसकिरहेको चर्चा गर्दै प्रम दाहालले अब यसको पुनःसंरचना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
सन् २०१४ मा काठमाडौँमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनबाट नेपालले अध्यक्षता ग्रहण गरेको थियो । आगामी सार्क शिखर सम्मेलनलाई अझ प्रभावकारी बनाउन सुझाव दिन सो दुईदिने सम्मेलन आयोजना गरिएको हो ।
उहाँले गरिबी, आतङ्कवाद, जलवायु परिवर्तन जस्ता सार्क क्षेत्रका साझा समस्या र चुनौती रहेको हुँदा प्राकृतिक विपद्को उच्च जोखिम रहेको यस क्षेत्रमा साझा रुपमा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रम दाहालले सार्क स्थापनाको तीनदशक व्यतीत भइसक्दा पनि जनताको आशातीत रुपमा काम गर्न नसकिरहेको र भएका सहमति र अनुमोदनको कार्यान्वयन पनि सुस्त रहेको बताउनुभयो ।
सभामुख ओनसरी घर्तीले सार्कको १९ औँ शिखर सम्मेलनलाई अझ प्रभावकारी बनाउन सरकार प्रमुखलाई सुझाव दिन सम्मेलनले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दक्षिण एसिया मानवीय र प्राकृतिक स्रोतमा धनी भए पनि यसको सही उपयोग हुन नसक्दा चरम गरिबीको मार खेप्नुपरिरहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा सार्कले पर्यटन प्रवद्र्धन, खाद्य सुरक्षा आर्थिक समृद्धिमा मिलेर काम गर्न सुझाव दिनुभयो । पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सार्कको प्रभावकारिताका लागि यस्ता सम्मेलनबाट दिने सुझाव महत्वपूर्ण हुन्छ भन्नुभयो ।
सम्मेलनको उद्घाटनसत्रमा समितिका सभापति प्रभु साहले सम्मेलनमा विभिन्न पाँच विषयमा कार्य प्रस्तुत गरिने जानकारी दिनुभयो । रासस
No related posts.
बुद्धधर्म आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति : राष्ट्रपति
काठमाडौँ, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धधर्म धर्म मात्र नभई सम्पूर्ण मानवको आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति भएको बताउनुभएको छ ।
दक्षिण कोरियाको राजधानी सियोलमा भइरहेको विश्व बौद्ध भ्रातृत्व सङ्घको २८औँ विश्व बौद्ध सम्मेलनको सफलताको कामना गर्दै पठाउनुभएको सन्देशमा उहाँले विश्व शान्ति, बान्धुत्व र अहिंसाका प्रवर्तक बुद्ध लुम्बिनीमा जन्मनुभएको सन्दर्भ र यसपटकको सम्मेलनको विषय ‘दैनिक जीवनमा बुद्धधर्म र बौद्धहरुको जीवनपद्धति’ राखिएबाट आफू अत्यन्त प्रभावित भएको बताउनुभएको छ ।
विगतमा नेपालमा चौथों र पन्ध्रौँ बौद्ध सम्मेलन भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहर, बौद्धहरुका साथै शान्ति र स्थिरतामा आस्थाबान् सम्पूर्ण मानिसका लागि एक तीर्थस्थलको रुपमा विकास गर्न नेपालले सक्दो प्रयास गर्दै आएको बताउनुभएको छ ।
साथै, उहाँले दक्षिण कोरियाली सरकारबाट यी सम्मेलनहरु आयोजना भइरहेका बेला कोरियाली राष्ट्रपति र कोरियाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।
नेपाल र दक्षिण कोरिया दुवै मुलुकले निकट र सौहार्द सम्बन्ध र सहयोग कायम राख्दै आएको र कोरियाले नेपाललाई विभिन्न क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको ठूलो सन्तोषको विषय भएको पनि राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।
सियोलमा असोज १० देखि १४ सम्म विश्व बौद्ध भ्रातृत्व सङ्घको सम्मेलनका साथसाथै विश्व युवा बौद्ध सङ्घ र विश्व बौद्ध विश्वविद्यालय परिषद्का बैठकहरु एकसाथ भइरहेका छन् ।
नेपालका तर्फबाट धर्मोदय सभाका उपाध्यक्ष लक्ष्मीदास मानन्धरको नेतृत्वमा अर्का उपाध्यक्ष रत्नमान शाक्य, महासचिव सागरमान बज्राचार्य, सचिव अशोकनन्द बज्राचार्य र युवक बौद्ध मण्डलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले ती सम्मेलनमा सहभागतिा जनाइरहेको छ । रासस
No related posts.
Wednesday, September 28, 2016
मुक्तिनाथ जाने तीर्थयात्री बढ्न थाले
म्याग्दी, १३ असोज । बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् ।
सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो । विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ ।
बेगखोलामा आएको बाढी र अन्य ठाउँमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन नहुँदा तीर्थयात्रीलाई असुविधा भएको थियो । गत हप्ता सबै ठाउँमा सडक मर्मत गरेर साढे दुई महिनापछि ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको थियो ।
सडक मार्ग भएर बुधबार अहिलेसम्मकै धेरै तीर्थयात्री मुस्ताङ गएका म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिनुभयो । बेनीबाट जोमसोमका लागि १२, पोखरा र बागलुङबाट एकएकवटा माइक्रोबस जोमसोमका लागि छुटेका छन् । दैनिक एक सयवटा निजी र पर्यटक गाडी मुस्ताङतर्फ गएका छन् ।
यसअघि बेनी हँुदै मुस्ताङ जाने सार्वजनिक गाडीको सङ्ख्या दैनिक १२ वटाको हाराहारीमा थियो । तीर्थयात्री नआउँदा सुनसान भएका होटल बुक हुन थालेका छन् । बेनीका होटल व्यवसायी उत्साहित भएका छन् । सडकमा यातायात सहज भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फैलाउन सकेमा मुस्ताङ जाने तीर्थयात्री र आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने बेनीका होटल व्यवसायीले बताएका छन् । रासस
No related posts.
रामपुरमा इन्जिनियरिङ कक्षा सञ्चालन हुने
पाल्पा, १३ असोज । पाल्पा जिल्ला रामपुरस्थित दरैठाँटी उच्च माध्यमिक विद्यालयमा यस वर्षदेखि इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् काठमाडौँले प्राविधिक शिक्षाअन्तर्गत तीनवर्षे डिप्लोमा इन इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमतिका लागि निर्णय गरेपछि कक्षा सञ्चालन हुन लागेको हो । आउँदो कात्तिक ६ गतेदेखि कक्षा सुरु हुने विद्यालयका प्राचार्य सुन्दरप्रसाद देवकोटाले बताउनुभयो ।
दरैठाँटी उच्च माविमा इन्जिनियरिङ शिक्षाका लागि गतबर्ष माघमा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञबाट रु चार करोड बराबरको नगद तथा जग्गा दान सङ्कलन भएको थियो । यहाँ इन्जिनियरिङ कक्षा सञ्चालन भएपछि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विद्यार्थी लाभान्वित हुनेछन् । रासस
No related posts.
मकाउबाट खेलकुद सामग्री सहयोग
मेलम्ची । नेपाली खेल क्षेत्रको विकासका लागि मकाउमा बस्ने नेपाली तेक्वान्दो खेलाडीले आर्थिक सङ्कलन गरी तेक्वान्दो खेलकुद सामग्री सहयोग गरेका छन् । दुई लाख रुपैयाँ बराबरको तेक्वान्दो खेलकुद सामग्री खरिद गरी उनीहरुले खाडीचौर तेक्वान्दो डोजाङलाई सहयोग गरेका हुन् ।
नेपाल तेक्वान्दो सङ्घका प्रमुख प्रशिक्षक ध्रुव गुरुङ र वरिष्ठ तेक्वान्दो प्रशिक्षक प्रेम भुजेलले संयुक्तरुपमा बुधबार उक्त खेलकुद सामग्री खाडीचौर तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक प्रेम भण्डारीलाई वितरण गरेका हुन् । चार थान फक्स् प्याड, नौ थान हेड गार्ड, नौ थान ग्रोइङ गार्ड, नौ थान चेस्ट कभर, नौ थान ह्याण्ड ग्लोब्स, १२ जोर ट्र्याक सुट र २० थान किकिङ प्याड, वितरण गरिएको हो ।
वरिष्ठ तेक्वान्दो प्रशिक्षक प्रेम भुजेलको समन्वयमा वितरण गरिएको खेलकुद सामग्रीले तेक्वान्दो खेल विकास र खेलाडीको खेल मनोबल बढेको कार्यक्रममा उपस्थित पिपलडाडाँका डोजाङका डोजाङ प्रमुख सुशील भुजेलले बताउनुुभयो । खेलकुद सामग्री वितरण गर्दै ध्रुव गुरुङले भन्नुुभयो, “मकाउमा रहेर पनि नेपालको तेक्वान्दो खेल विकासको निम्ती खेलाडीले जुन सहयोग गरे यो एकदमै अर्थपूर्ण र सराहनीय काम हो । यसलाई नेपालको सबै तेक्वान्दो खेलाडी र खेलप्रेमीले सम्मान गर्नुपर्छ ।
पछिल्लो समय जिल्लामा तेक्वान्दो खेलप्रति अन्य विधाका खेलाडीको पनि आकर्षण बढ्दो छ । हाल जिल्लामा नौवटा तेक्वान्दो डोजाङमा करिब तीनसय खेलाडी प्रशिक्षणरत रहेको खाडीचौर तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक प्रेम भण्डारीले बताउनुभयो ।
खाडीचौर डोजाङका लागि भनी तोकेर सहयोग गरिएको सो खेलकुद सामग्री खाडीचौर डोजाङको मातहतमा रहेका बाह्रबिसे तेक्वान्दो डोजाङ, सुकुटे तेक्वान्दो डोजाङ, यमुनाडाँडा, धार्पा, मानेश्वारा, पिपलडाँडा लगायतको डोजाङलाई पनि वितरण गरिएको थियो । रासस
No related posts.
दशवर्षपछि उपत्यकाबाहिर साझा बस
काठमाडौँ, १३ असोज । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।
दश वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस सञ्चालन हुनेछन् ।
यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बागलुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ बाट पूर्णरुपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो ।
काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो । रासस
No related posts.
आठ दिनपछि बालकको शव भेटियो
पाँचथर, १३ असोज । हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव बुधबार भेटिएको छ ।
असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव भेटिएको हो ।
स्थानीयवासीले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुबै हातखुट्टा भाँचिएको र शव पनि सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव स्थलगत मुचुल्का तयार गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । साथीहरुसँग घरनजिकै पुलमा खेल्न गएका उनी खेलिरहेका बखत पुलबाटै खोलामा खसेर नौ दिनअघि बेपत्ता भएका थिए । रासस
No related posts.
ग्यास उद्योगीको लापर्वाहीले ज्यान जाँदै
भक्तपुर, १३ असोज । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले उद्योगीको लापर्वाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण दुर्घटना बढेको बताउनुभयो । पुराना ग्यास सिलिन्डर बजारमा लैजाने, ग्यास चुहावट भएकै सिलिन्डर बजारमा पठाउने, उद्योगीले बेलाबेलामा सिलिन्डरको पुनः परीक्षण नगर्ने तथा सिलिन्डरको निर्माणमा लापर्वाही गर्ने गर्दा उपभोक्ताले दुर्घटना मोल्नु परेको उहाँले बताउनुभयो ।
उपभोक्तालाई ग्यासको प्रयोगमा सचेत गराउने र खराब उद्योगीलाई कारर्वाही गर्न सरकारले उदासीनता देखाउँदा उपभोक्ताले ज्यान गुमाउनु परिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले कच्चा ग्यास सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिनेभन्दा पनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको बताउनुभयो । उहाँले उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनु परेको र सरोकारवालाले नियमन गर्न नसक्दा ग्यास सिलिन्डरमा त्रुटि देखिएको बताउनुभयो ।
कार्यक्रममा एलपी ग्यास सिलिन्डर पड्कँदा ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भाइ सबिन महतले एलपी ग्यास सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाइले ज्यान गुमाउनु परेको बताउनुभयो । कम्पनीले सिकिस्त घाइते भएकी भाउजूको उपचार खर्चसमेत उपलब्ध नगराएको बताउँदै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेकाले उपभोक्ता मञ्चलाई पहल गरिदिन आग्रह गर्नुभयो । रासस
No related posts.
व्यक्ति स्वरोजगार नभए राष्ट्र समृद्ध हुँदैन : महतो
पर्सा । गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष एवम् वरिष्ठ उद्योगपति डा उपेन्द्र महतोले प्रत्येक नेपाली स्वरोजगार नभएसम्म राष्ट्र समृद्ध हुन नसक्ने बताउनुभएको छ ।
उहाँले मुलुकमा विद्यमान लामो राजनीतिक सङ्क्रमकालको अन्त्यका लागि जनता समृद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।
पतञ्जली योगपीठ, पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै डा महतोले राजनीतिक स्थिरतालाई समाप्त पार्दै मुलुकलाई समृद्ध बनाउन उद्योगपति, व्यापारी, राजनीतिक दल तथा नागरिक समाज सबैले आ–आप्mनो दायित्व निर्वाह गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा महतोले बाराको प्रसौनीमा स्थापना गरिएको पतञ्जली आयुर्वेद उद्योग प्रालिबाट भएको आम्दानी स्वास्थ्य, शिक्षा र कृषि विकासमा खर्च गरिने जानकारी दिँदै पतञ्जलीले अपनाएको पद्धतिलाई अन्य औद्योगिक घरानाले समेत अनुसरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्योगपति डा महतोले रु एक सय ५० करोडको लागतमा स्थापना गरिएको आयुर्वेद उद्योगको आगामी मङ्सिर ९ गते उद्घाटन हुने जानकारी दिनुभयो । उहाँले मङ्सिर ९ देखि १३ गतेसम्म वीरगन्जको आदर्शनगर रङ्गशालामा हुने निःशुल्क योगविज्ञान शिविरमा सहभागी हुन आउने क्रममा योगगुरु बाबा रामदेव, आर्युवेदज्ञाता आचार्य बालकृष्ण र राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो ।
नेपालमा पहिलोपटक पतञ्जलीले स्थापना गरेको उक्त उद्योगले हाल ५० प्रकारका आयुर्वेदिक वस्तु उत्पादन गर्दै आएको डा महतोले जानकारी दिनुभयो । उहाँले हाल रु ५० करोडको वार्षिक कारोबार हुँदै आएपनि आउने पाँच वर्षभित्र पाँच सय करोडको कारोबार हुने विश्वास रहेको दाबी गर्नुभयो । बारामा सञ्चालित उद्योगले सयकडौँ परिवारलाई रोजगारी दिनुका साथै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभयो ।
राजेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा योग शिविर व्यवस्थापन समितिका संयोजक तथा वरिष्ठ उद्योगपति विजय सरावगीले मङ्सिर ९ देखि १३ गतेसम्म हुने योग शिविरमा २५ हजार जनाका लागि मात्र स्थान भएकाले चाँडै रजिस्ट्रेसन गराउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । योगगुरु स्वामी रामदेव महाराजको आगमनले नेपालीको स्वास्थ्यमा मात्र नभई मुलुकको आर्थिक गतिविधिमा समेत ठूलो प्रभाव पार्ने विश्वास सरावगीले व्यक्त गर्नुभयो ।
पहिलोपटक वीरगन्जमा हुन लागेको योगविज्ञान शिविरको भारतीय आस्था च्यानलले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएका छन् । रासस
No related posts.
राष्ट्रसङ्घको महासचिवका लागि बुल्गेरियाले नयाँ उम्मेदवार उठाउने
बुल्गेरिया, १२ असोज । संयुक्त राष्ट्रसङ्घको महासचिव पदका लागि बुल्गेरियाले नयाँ उम्मेदवार उठाउने भएको छ ।
युनेस्कोकी प्रमुख इरिना बोकोभाको सट्टामा बुल्गेरियाले युरोपेली आयोगका उपाध्यक्ष क्रिष्टालिन जर्जीभालाई उठाउने भएको हो ।
“मलाई लाग्छ, उहाँ नै सशक्त उम्मेदवार हुनुहुन्छ” बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको बोरिसोभले एक राज्यस्तरीय बैठकमा भन्नुभयो ।
यही हप्ता सम्पन्न १५ सदस्यीय राष्ट्रिय परिषदको बैठकव्दारा गरिएको अनौपचारिक मतदानमा बोकोभा कमजोर देखिनु भयो । उहाँ बलिष्ठ पाँच जना भित्र पर्नु पर्नेमा छैठौं क्रममा पर्नु भएको थियो ।
बर्तमान राष्ट्रसंघीय प्रमुख दक्षिण कोरियाका वान की मुनलाई विस्थापित गर्न जर्जीभा सक्षम हुने विश्वास गरिएको छ ।
“बोकोभालाई उम्मेदवार बनाउने वातावरण गराउन हामीले अन्तिम समयसम्म संपूर्ण शक्ति र मेहनेत प्रयोग गर्यौं । तर उहाँलाई अन्य देश र अन्य महिला उम्मेदवार नै पछाडी पार्ने भए ।” प्रधानमन्त्री बोरिसोभले भन्नुभयो ।
महासचिव पदको दौडमा अहिलेसम्म पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनो गट्रेस अग्रपङिक्तमा देखिनु भएको छ । रासस÷एएफपी
No related posts.
अफ्गानिस्तानमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु
अफ्गानिस्तान, १२ असोज । पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले बुधवार जनाएको छ ।
तालिवानी लडाकु समुह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन् ।
सेनाले दुई पक्षीय भिडन्तका क्रममा विद्रोहीतर्फका २० जना पनि मारिएका छन् भने ४७ जना घाइते भएका छन् ।
सेनाले विद्रोहीका हतियार बमलगायतका सामग्री पनि कब्जामा लिएको वक्तव्यमार्फत् जनाएको छ । रासस÷सिन्ह्वा
No related posts.
इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री पेरेजको निधन
इजरायल, १२ असोज । नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ ।
दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिनुभयो ।
पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बन्नुभएको थियो भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल हुनुहुन्थ्यो ।
प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
उहाँको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उहाँलाई स्मरण गर्नुभएको छ । उहाँ पेरेजको अन्त्यष्टी कार्यक्रममा सहभागी हुनु शुक्रबार इजरायल जानुहुने भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेल्नु भएका पेरेजको निधनले दुखित बनाएको बताउनु भएको छ ।
“विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठुलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ ।” ओवामाले वक्तव्यमा भन्नुभएको छ ।
अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गर्नुभएको छ ।
इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गर्नुभएको छ भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताउनु भएको छ ।
पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गर्नुभएको थियो । रासस÷एएफपी
No related posts.
इपिएल क्रिकेट : पञ्चकन्याको लगातार तेस्रो जित
काठमाडौँ, १२ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेलले कान्तिपुर गोर्खाजलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकर कप्तान रहेको पञ्चकन्याले अर्का भेट्रान खेलाडी वसन्त रेग्मी कप्तान रहेको टोली कान्तिपुरलाई ३४ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरायो ।
तीन खेल खेलेर सबै जित निकालेको पञ्चकन्या अङ्क तालिकाको अहिलेसम्म शीर्ष स्थानमै कायम रहन सफल भएको छ ।
टस हारेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२९ रनको योगफल तयार ग¥यो । १३० रनको विजय लक्ष्य पछ्याएको कान्तिपुरले पनि भने पूरै ओभर खेल्यो । तर लक्ष्य भेट्टाउन सकेन । नौ विकेट खर्च गरेको कान्तिपुरले ९५ रन मात्र बनाउन सक्यो ।
पञ्चकन्याको जितमा अविजित रहेका पुष्प थापाले ३८, आरिफ शेखले ३२, दीपेन्द्र ऐरीले २२ तथा करण केसीले १७ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले चार तथा करणले दुई विकेट लिए । यता कान्तिपुरका सन्दीप झोराले १७ रन बनाउनबाहेक अन्य वाट्सम्यान सस्तैमा समेटिए । त्यस्तै कान्तिपुरका अविनाश बोसराले चार विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् ।
प्रतियोगिताअन्तर्गत अहिले विशाल वारियर्स र जगदम्बा राइनोजबीच भिडन्त खेल भइरहेको छ । रासस
No related posts.
बारा माछा मासुमा आत्मनिर्भर
कलैया, १२ असोज । बारा माछा मासु उत्पादनमा आत्मनिर्भर बनेको छ ।
आव २०७२÷७३ मा जिल्लामा पशुपक्षीको ८० हजार ४८७ मेट्रिक टन मासु उत्पादन भएको छ । उत्पादित मासुमध्ये १० हजार ४६३ मेट्रिक टन जिल्लामा खपत भएको थियो भने बाँकी ७० हजार २४ मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको पसुसेवा कार्यालयका चिकित्सक बेजुलाल बूढाले जानकारी दिनुभयो । रासस
No related posts.
एक्काइस जनाको बैतडीबाट उद्धार
बैतडी, १२ असोज । भारत जान लागेका पाँच बालकसहित २१ जनालाई प्रहरीले आज बैतडीबाट उद्घार गरिएकोे छ ।
उद्धार हुनेमा पाँचजना बैतडीका र १६ जना बझाङका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार, बैतडी ग्वाल्लेक– २ का १२ वर्षीय रमेश धामी, १४ वर्षीय दिनेश भट्ट, १५ वर्षीय विनोद धामी तथा शिवलिङ– ३ का लक्ष्मण सिंह बोहरा र १६ वर्षीय प्र्रकाशराज अवस्थीको उद्घार गरिएको हो ।
प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार, उद्घार गरिनेमा बझाङ वानचोर– ३ का १५ वर्षीय गोविन्द धामी, १६ वर्षीय राजु धामी, १७ वर्षीय अनिल धामी, १७ वर्षीय जीवन धामी, १७ वर्षीय अङ्ग धामी, १८ वर्षीय दिनेस धामी र १७ वर्षीय राजु धामी रहेका छन् ।
त्यस्तै, बझाङ बाज– ९ का १७ वर्षीय जनक बोहरा, १७ वर्षीय धनबहादुर बोहरा, १८ वर्षीय दलबहादुर बोहरा, १८ वर्षीय रामबहादुर बोहरा, १७ वर्षीय दमनबहादुर बोहरा, १७ वर्षीय हिक्मत बोहरा, १७ वर्षीय बलदेव बोहरा, १७ वर्षीय जनक धामी र १८ वर्षीय नरदिप बोहराको पनि उद्घार गरिएको प्रहरी नायब उपरीक्षक राणाले बताउनुभयो ।
उद्घार गरिएकामध्ये बैतडी ग्वाल्लेकका रमेश धामी, दिनेश भट्ट र विनोद धामीलाई आफन्तको जिम्मा लगाइसकेको र बाँकी अन्यलाई पनि उनीहरुको घरपरिवारमा सम्पर्क गरी जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
प्रहरीले आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको बसपार्क र बजारक्षेत्रबाट उनीहरुलाई उद्घार गरेको हो । शङ्का लागेर सोधपुछ गर्दा भागेर भारततर्फ जान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई उद्घार गरिएको जनाएको छ ।
यसअघि पनि प्रहरीले असोज ३ गते बैतडीको सीमा नाका झुलाघाट भएर भारत जान लागेका अवस्थामा दुई बालकसहित तीन जनाको उद्घार गरेको थियो ।
पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जानेको सङ्ख्या बढ्दै गएको छ । रासस
No related posts.
मधेसी दलित महिलाको अर्थपूर्ण सहभागितामा जोड
जनकपुरधाम, १२ असोज । मधेसी दलित महिलाहरूलाई राज्यको मूलधारमा ल्याउनका लागि उनीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
दलित महिला सङ्घद्वारा अयोजित मधेसी दलित महिलाका सवाल, चुनौती र सम्भावना विषयक कार्यशालाका सहभागी आठ जिल्लाका मधेसी दलित महिलाले उक्त कुरामा जोड दिएका हुन् ।
उनीहरुले अवसरबाट वञ्चित गरिएका मधेसी दलित महिलाका लागि बहुआयामिक अवसरको सिर्जना गर्नुपर्नेे माग समेत गरेका छन् ।
बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका मधेसी दलित महिला सहभागी भएको उक्त कार्यशालाले २१ बुँदे जनकपुर घोषणा पत्र समेत जारी गरेको छ ।
घोषणा पत्रले राजनीतिमा मधेसी दलित महिलाको पहुँच बढाउन, पहिचानसहितको कलष्टरभित्र मधेसी दलित महिलाको आरक्षण, शैक्षिक विकासका लागि नयाँ शैक्षिक नीतिको निर्माण, सुरक्षित आवास र रोजगारीको सुनिश्चितताको आवश्यकता ठहर गरेको छ ।
त्यस्तै, अन्तरजातीय विवाहका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था र घरविहीनलाई घरको व्यवस्था गर्नुपर्ने, प्रसूति र सुत्केरी भएका महिलाका लागि पोषण सामग्री र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने जारी घोषणा पत्रमा उल्लेख छ ।
मधेसी दलित महिलालाई जबर्जस्ती सिनो फाल्न लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाहीको व्यवस्था गर्नुपर्ने, बोक्सी भनी अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्ने, विद्युत्, खानेपानी, दुरसञ्चार जस्ता सेवामा विशेष सहुलियत उपलब्ध गराउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।
घोषणा पत्रमा भनिएको छ – हरूवा, चरूवा प्रथाको अन्त्य, उचित ज्याला निर्धारण र घरेलु हिंसाबाट मुक्ति दिलाउन सरकारले यस सम्बन्धी अभियान नै सञ्चालन गर्नुपर्दछ ।
सो अवसरमा सांसद कमला विश्वकर्माले मधेसी दलित महिलालाई राजनीतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक अधिकार, पहुँच र प्रतिनिधित्वबाट वञ्चित गराइएको छ भन्दै मधेसी दलित उत्थानमुखी विशेष कानुनको आवश्यकता छ भन्नभयो । रासस
No related posts.
प्रधानमन्त्री दाहालद्वारा अस्पतालको निरीक्षण र कर्मचारीलाई निर्देशन
चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
उहाँको सम्मानमा आज अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।
नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले जनताको सेवामा कत्ति पनि विचलित नभई काम गर्न निर्देशन दिनुभयो । चीन सरकारले निर्माण गरिदिएको सो अस्पताल नेपाल र चीनबीचको मित्रताको प्रतीक रहेको भन्दै उहाँले नेपालका महान् नेताका नामबाट बनेको अस्पताल भएकाले पनि यसको महत्व छुट्टै रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री थापाले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
अस्पतालमा उपकरण पुराना हुँदा उपचारमा समस्या आएको भन्दै यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिदिन उहाँले आग्रह गर्नुभयो ।
क्यान्सर अस्पतालमा हाल ५२ जना विशेषज्ञसहित ५७९ जना कर्मचारी कार्यरत रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
प्रधानमन्त्री दाहालले अस्पतालका सम्पूर्ण विभागमा पुगी त्यहाँ रहेका बिरामी र तिनका आफन्तसँग कुराकानी गर्नुभएको थियो । उनीहरुले प्रधानमन्त्रीसँग अस्पतालको उपचार सेवामा ढिलासुस्ती हुने गरेको गुनासो गरेका थिए ।
क्यान्सर उपचारका लागि केन्द्रीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा भारत र भुटानका बिरामी समेत उपचारका लागि आउने गर्दछन् ।
प्रधानमन्त्रीद्वारा कार्यालय प्रमुखहरुलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका काम छिटो छरितो ढङ्गबाट सम्पादन गर्न जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘‘नेपालमा अपारदर्शी, ढिलासुस्तीको प्रवृत्ति बढेकाले यसलाई सुधार गर्नु आवश्यक छ’’ उहाँले भन्नुभयो ।
पुँजीगत खर्च बढाउनु पर्ने बताउँदै आयोजना समयमै सम्पन्न गर्न पनि उहाँको निर्देशन थियो । प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्य र जनतालाई सेवा सुविधा दिन कर्मचारी इमान्दारीपूर्वक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “जनता र विकासका पक्षमा उदाहरणीय काम गर्नुहोस्, त्यसबाट जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् ।” राजनीतिले निर्देशन गर्ने र प्रशासनले कार्यान्वयन गर्ने हो भने देश र जनताको पक्षमा उल्लेखनीय काम हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले कर्मचारीतन्त्रमा दण्ड र पुरस्कारको व्यवस्था लागू गरी राम्रो काम गर्नेलाई प्रोत्साहन र खराब गर्नेलाई कारबाही गर्ने प्रथाको विकास गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । रासस
No related posts.
पार्टीको अवधारणमा हिन्दू गणतन्त्र थपेका छौँ: अध्यक्ष राणा
काठमाडौँ, १२ असोज । स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँैथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको घोषणा गरेको छ ।
आगामी बडादसँै, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज यहाँ आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले भन्नुभयो– “भविष्यमा संविधान संशोधनद्वारा नेपाललाई सनातनधर्म सापेक्ष हिन्दू– राष्ट्र घोषणा गराउने अभियान चलाउने कार्यक्रम रहेको छ ।”
उहाँले परराष्ट्र नीतिका सञ्चालकले परिस्थितिले पैदा गरेको जटिलता र गतिशीलताभित्र उचित र परिपक्क सन्तुलन कायम गर्नसक्ने कुटनीतिक सिल्प, कलाकौसल र बुद्धिमता देखाउन सक्नुपर्छ भन्दै आदिवासी, जनजाति र मधेसीले उठाएका जायज मागलाई पन्छाएर संविधानको पूर्ण कार्यान्वयन सम्भव नरहेको बताउनुभयो ।
“अङ्गिकृत नागरिकताको प्रमाणपत्र लिने व्यक्तिलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतका महत्वपूर्ण पदमा पु¥याउने गरी संविधान संशोधन गरिनु हुन्न, अध्यक्ष राणाले भन्नुभयो– नेपाललाई हिन्दूराज्यबाट हटाउने कार्य अपरझट र सुटुक्क गरिएकाले तीन दलले गरेको त्यो कदम हामी मान्दैनाँै ।
सो अवसरमा उक्त पार्टीका प्रचार विभाग प्रमुख ठाकुर शर्मा र सह–प्रवक्ता किरण गिरीले पार्टीले केही वर्षयतादेखि शुभकामना आदानप्रदान गर्दै आएको बताउनुभयो । रासस
No related posts.
विधयेकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, १२ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधानले व्यवस्था गरेका विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बैठकमा ‘राष्ट्रिय दलित आयोग विधेयक, २०७३’, ‘राष्ट्रिय समावेशी आयोग विधेयक, २०७३’, ‘आदिवासी जानजाति आयोग विधेयक, २०७३’, माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री पाण्डेले संविधानको अन्र्तवस्तुमा रहेर सरकारले संवैधानिक आयोग गठन गर्न विधेयक ल्याएको भन्दै छलफलमा उठेका आवश्यक सुझावसहित परिमार्जन गर्न सकिने बताउनुभयो ।
छलफलमा केही सांसदले विधेयकमा रहेको दलित शब्दप्रति नै आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गर्नुभयो भने केहीले आयोगमा नियुक्तिका लागि फरकफरक शैक्षिक योग्यताको विभेदकारी नीति रहेको गुनासो गर्नुभयो ।
सांसदले सबै विधेयकलाई राष्ट्रिय तथा समावेशी बनाउनुपर्ने टिप्पणी गर्दै आवश्यक सुझाव दिनुभयो । रासस
No related posts.
दुर्घटना न्यूनीकरण गर्न सांसदको माग
काठमाडौँ, १२ असोज । व्यवस्थापिका– संसद्मा आजको बैठकमा अधिकांश सांसदहरुले मुलुकमा बढ्दै गएको सडक दुर्घट्ना न्यूनीकरण गर्न ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको विशेष समयमा बोल्दै सांसद कृष्णभक्त पोखरेल चितवत दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै ३६ किलोमिटर लामो बाटो पार गर्न ६ घन्टा लाग्ने गरेको दुखेसो पोख्नुभयो ।
उहाँले उक्त सडकमा दुर्घटना बढ्दै गएको भन्दै राजधानी भित्रिने एकमात्र सडक सुधारका लागि सरकारले सबै संयन्त्र परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङमा मङ्गलबार भएको दुर्घटनाका घाइतको सम्पूर्ण उपचार खर्च तथा मृतकका परिवारलाई उचित क्षतिपूति दिनुपर्ने र ग्रामीण सडक स्तरोन्नतीका लागि सरकारसँग माग गर्नुभयो ।
सांसद रेशमबहादुर बानियाँले गत भदौ १७ गतेको अविरल वर्षाका कारण म्याग्दीमा आएको बाढीबाट पीडित जनताले आवश्यक सहयोग नपाएको गुनासो गर्दै उनीहरुको पुनः स्थापनाका लागि सरकारसंग माग गर्नुभयो ।
बेनी– मुस्ताङ सडकको स्तरोन्ती गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो ।
सांसद भरतकुमार शाहले अङ्ग प्रत्यारोपण सम्बन्धी विधेयक पारित भएको पाँच महिना भइसक्दा पनि बिरामीले सो सेवा पाउन नसकेको भन्दै सो सम्बन्धी नियमावली तुरुन्त पारित गर्नुपर्ने बताउनुभयो ।
सांसद अमनलाल मोदीले अन्य राजनीतिक आन्दोलन अग्रगामी र राष्ट्रिय मानिने तर टिकापुर घट्नालाई अग्रगामी र राष्ट्रिय किन नमानिने भनी प्रश्न गर्नुभयो । अन्यायमा परेका थारु आन्दोलनमा रहेको अवस्थालाई गम्भीर रुपमा लिनुपर्ने उहाँको धारणा थियो ।
सांसद कुन्तीकुमारी शाहीले मन्त्रिपरिषद्ले इलाकालाई आधार मानेर स्थानीय निकायको पुनःस्थापना गर्ने गरेको निर्णय उचित नभएको भन्दै निर्वाचनका सम्बन्धमा यस अघिको सरकारले गरेको निर्णयलाई वर्तमान सरकारले हचुवाका आधारमा लत्याएको आरोप लगाउनुभयो ।
ठूला तीन दलले सिन्डिकेट लादेको उहाँको आरोप छ ।
सांसद छायाँ शर्मा पन्तले यही असोज ५ गते राजधानीका विभिन्न विद्यालयमा बम राखेको घट्नाका सम्बन्धमा आपत्ति जनाउँदै यस्ता कार्यले विद्यार्थीमा नकारात्मक असर पर्ने भएकाले त्यस्ता घटनामा सँलग्न व्यक्तिलाई कडा कानुनी कारबाहीको माग गर्नुभयो ।
सांसद गीता क्षेत्रीले पूर्वी पहाडमा उत्पादन हुने ठूलो अलैँचीको मूल्य नपाउँदा कृषक चिन्तित भएको भन्दै सरकारले समयमै उचित ध्यान दिई यसको समाधानका उपाय निकाल्नुपर्ने बताउनुभयो ।
सांसद नरसिंह चौधरीले भगवान गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा आवातजावतको उचित व्यवस्था नभएको भन्दै यातायातको उचित व्यवस्था गरी त्यसलाई छिमेकी राष्ट्र भारतको रेलमार्गसँग जोड्न आग्रह गर्नुभयो ।
सांसद शिवचन्द्र यादवले प्रमुख तीन दल सरकार बनाउने खेलमा मात्र बढी केन्द्रीत भएको आरोप लगाउँदै संविधान कार्यान्वयनका लागि मुलुकभित्र राष्ट्रिय सहमति खोज्नुपर्ने बताउनुभयो ।
सांसद डिल्लीप्रसाद काफ्ले स्थानीय निकायको पुनःस्थापना गर्दा सरकारले वैज्ञानिक आधार बिना नै हचुवाका भरमा निर्णय गरेको भन्दै यसले जनतालाई उचित सेवा दिन नसक्ने दाबी गर्नुभयो ।
सांसद गङ्गा चौधरी सत्गौवाले मुलुकका सबै आन्दोलन परिवर्तनकारी र अग्रगामी हुने तर टिकापुरमा भएको थारुको शान्तिपूर्ण आन्दोलनलाई हत्या देख्ने सरकारको कस्तो दृष्टिकोण भनी प्रश्न गर्नुभयो । सो घट्नामा गिरफ्तार गरिएका व्यक्ति बिना सर्त रिहा नगरिए थप आन्दोलन हुने चेतावनी समेत उहाँले दिनुभयो ।
सांसद प्रेमबहादुर सिंहले संविधान कार्यान्वयनका लागि गम्भीर रुपमा छलफल गर्न सबै दल सम्मिलित बैठक राख्नुपर्ने बताउँदै संविधान विपरित संसदीय सुनुवाइ भएकोमा आपत्ति जनाउनुभयो ।
सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग अब कुनै पनि समस्या छैन् भनेको कुराप्रति इङ्िगत गर्दै त्यस बारेमा प्रधानमन्त्रीले संसद्मा आएर जानकारी गराउनुपर्ने माग गर्नुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घमा भारतलाई सदस्यता दिलाउन नेपालले सहयोग गर्ने भन्ने कुरा तटस्थता नीति हो भनी प्रश्न समेत गर्नुभयो ।
टिकाराम चेम्जोङले सरकारले हालै उच्च अदालत रहने स्थान तोकेकोप्रति आपत्ति जनाउँदै उच्च अदालत धनकुटामा राख्नुपर्ने र प्रदेश नम्बर– १ को राजाधानी समेत त्यही राख्नुपर्ने माग गर्नुभयो । रासस
No related posts.
इलाकालाई स्थानीय तह बनाउने बीचको बाटो खोजियो: उपप्रधानमन्त्री निधि
काठमाडौँ, १२ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति नभई कुनैपनि निर्वाचन गर्न सकिन्न भने बोध सरकारलाई रहेको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले भन्नुभयो–“राजनीतिक सहमति कायम गर्न संविधान संशोधनको लागि गृहकार्य र प्रक्रिया अघि बढाएका छौँ ।”
संविधान संशोधनसँगै निर्वाचन कानुनको तयारी तीव्रगतिमा भइरहेको बताउदै उपप्रधानमन्त्री निधिले निर्वाचन हुन्छ भन्नेमा कसैले शङ्का नगर्न आग्रह गर्नुभयो ।
सबै विषय राजनीतिक सहमतिकै आधारमा टुङ्गोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले भन्नुभयो–“राजनीतिक दलका बीचमा संवाद र सहमति गरेर अघि बढ्ने सिलसिलामा बीचको बाटो अपनाएर इलाकालाई स्थानीयका रुपमा राख्ने विषय अघि बढाइएको हो ।”
गृहमन्त्रीले भन्नुभयो– “हाल कायम रहेका नगरपालिकाको संरचनालाई कायमै राखेर इलाकालाई स्थानीय तहका रुपमा अघि बढाउने सरकारले निर्णय गरेको हो ।”
उहाँले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनामा परेपछि भइरहेको खोजतलास तथा हिजो धादिङको मार्पाकमा भएको अर्को यात्रुबाहक बस दुर्घटनाबारे जानकारी दिनुभयो ।
समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, प्रदेश सभा सदस्य निर्वाचन विधेयक, स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक, राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्ने विधेयकलगायत सबै तहको निर्वाचनका लागि अत्यावश्यक विधेयक तर्जुमा र तयारीका सम्बन्धमा सरकार र निर्वाचन आयोगसँग जानकारी लिन आज बैठक राखेको थियो । रासस
No related posts.
Tuesday, September 27, 2016
भोजपुरः चेतनामा अगाडि विकासमा पछाडि
काठमाडौँ, १२ असोज । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो ।
समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा शुभकामना दिनुहुँदै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थिरता कायम हुन नसकेकाले नै देशमा विकास हुन नसकेको र उत्कृष्टमध्ये एक संविधान जारी गरे पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल मिलेर सुल्झाउनुपर्ने बताउनुभयो ।
उहाँले भोजपुर चेतनाको दृष्टिले अगाडि भएपनि पूर्वाधारमा पछाडि हुनुका साथै भोजपुरको विकास अल्मलिएकाले किन विकास हुन सकेन भनेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले चाडपर्वको अवसरमा समाजले एकै ठाउँ ल्याएकोमा धन्यवाद दिँदै भोजपुर विकासमा किन कमजोर भयो भन्ने सोच्नुपर्ने बताउनुभयो ।
पूर्वसांसद शान्ति अधिकारीले भोजपुरको गौरव सबैतिर फैलिए पनि विकासको फल प्राप्त गर्न नसकेको बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले शुभकामना दिनुहुँदै भोजपुरको विकासबारे चिन्तन गर्नुपर्ने बतताउनुभयो ।
पूर्वसांसद तथा राष्ट्रपतिका अर्थविज्ञ धनहर्क राईले धेरै बर्ष अगाडि भोजपुरमा बाढीपहिरोको समस्या पर्दा समाजका पूर्वअध्यक्ष गजेन्द्रमणि प्रधानले समाजका तर्फबाट सहयोग उपलब्ध गराउनुभएको सम्झना गर्दै शुभकामना दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विश्वको जुन भागमा रहे पनि भोजपुरमा बाल्यकाल बिताएको सम्झना आइरहन्छ भन्नुहुँदै भोजपुरको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले भोजपुरे जहाँ रहे पनि भोजपुरको विकासका लागि एक हुनुपर्छ भन्दै विदेशमा अवसर पाए पनि यहीँ केही गर्न सकिन्छ कि भनी समाजमार्फत सक्रिय रहेको बताउँदै भोजपुर अन्य सबै क्षेत्रमा अगाडि भए पनि पूर्वाधारमा पछि परेको बताउनुभयो ।
कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य तारानाथ लुइँटेल, समाजका परिषद् अध्यक्ष दयाकृष्ण न्यौपाने, पूर्वअध्यक्ष कुलप्रसाद पराजुली, डा गोविन्दमान सिंह कार्की, राजन श्रेष्ठ, रोशन श्रेष्ठ, दक्ष पौडेल, देवी घिमिरे आदिले भोजपुरले राष्ट्रपतिजस्तो सम्मानित पद र पटकपटक मन्त्री पद पाएपनि आवश्यक पूर्वाधार विकास हुन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ, विप्लव ढकाल, पवन आलोक, पशुपति पराजुली आदिले कवितावाचन गर्नुभएको थियो भने गायक मनोज सामसोङले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजलाई सहयोग गरेबापत युनाइटेड स्कुल, कुमारीपाटी, ललितपुरलाई प्रमुख अतिथि कार्कीले समाजका तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभएको थियो । रासस
No related posts.
पचली भैरवको मूर्तिलाई खटजात्रा गरिने
काठमाडौँ, १२ असोज । काठमाडौँ महानगरपालिकाको टेकुस्थित पचली भैरवको मूर्तिलाई यसपटक खटजात्रा गरिने भएको छ ।
घ्याम्पो आकारको सो मूर्तिलाई काँधमा राखेर जात्रा गरिँदै आएकामा यसपटकदेखि खटमा मूर्तिलाई सजाएर जात्रा निकाल्न लागिएको हो । यही असोज २० गते पञ्चमीका दिन भैरव जात्रा गरिनेछ । दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभ कार्य तथा बलप्रयोग गरिने कार्यलाई पूरा गर्न पचली भैरवको विशेष पूजा गर्ने गरिन्छ ।
त्यहाँको मूर्ति चर्किएको र पुरानो भएर बिग्रिएपछि त्यसलाई फेर्न परिवर्तनका लागि ललितपुरको प्रयागपोखरीबाट नयाँ मूर्ति निर्माण गरी ल्याइएको छ । उपयुक्त तिथि निर्धारण गरेपछि विधिविधानपूर्वक मूर्तिलाई स्थापना गरिने जात्राका संयोजक एवम् संस्कृतिविद् भरत मालीले जानकारी दिनुभयो ।
उक्त मूर्ति निर्माणका लागि पूर्वराजा ज्ञानेन्द्र शाहबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । यसपटक जात्रामा सहभागिताका लागि शाहलाई निमन्त्रणासमेत गरिएको छ । मुलुकमा राजसंस्थाको अस्तित्व कायम रहेको समयमा राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परासमेत थियो ।
लामो समयदेखि मन्दिरमा संरक्षण हुन नसकेका कारण मन्दिरको अस्तित्व ओझेलमा परेको छ । गत वर्षको भूकम्पका कारण मन्दिरमा क्षति पुगेको थियो । त्यसको सामान्य मर्मत पनि हुन सकेको छैन । सो मन्दिरबाट नजिकैको दूरीमा पचली भैरवको मन्दिर छ । रासस
No related posts.
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...