Wednesday, January 18, 2017

जनक शिक्षाले नभ्याए पाठ्यपुस्तक छाप्न साझा प्रकाशन तयार

काठमाडौँ, ५ माघ । साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नभ्याएको अवस्थामा पाठ्यपुस्तक मुद्रणसहित विगतमा खोसिएको वितरणको जिम्मेवारीसमेत बहन गर्न आफू सक्षम रहेको जनाएको छ ।

संस्थाले ‘एक पटक ः एक काम साझा प्रकाशन’ भन्ने अभियानसहित सरकारका सबै कार्यालयका मुद्रणका काम लिन पहल गर्ने तथा शिक्षा मन्त्रालय मातहतका विशेषगरी पाठ्यक्रम विकास केन्द्रबाट थप काम लिई छपाइ र वितरण गर्ने घोषणा गरेको हो ।

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले मङ्गलबार समयमा सरकारी निकायलाई जिम्मा दिन र काम गर्ने वातावरण गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । केन्द्रले कागज र चालु पुँजी अभावमा आवश्यक पाठ्यपुस्तक छाप्न नसकिएको जनाउँदै आएको छ । साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले निजी क्षेत्रले त्यही पाठ्यपुस्तकको काम गरेर नाफा कमाउने र राज्यका संस्था घाटामा जानुका कारण खोज्न अध्ययन समूह गठन गरिएको भन्दै विगतमा प्रकाशनमा भएका अनियमितताबारे पनि आगामी वैशाखभित्र लेखा परीक्षण प्रतिवेदनसहित सबै विवरण सार्वजनिक गर्ने बताउनुभयो ।

सरकारले गत महिना ऋण र अनुदान गरी रु ३० करोड निकासा गरे पनि सङ्क्रटग्रस्त सो संस्था बामे सर्न थालेकाले अब आफैँ कमाएर राज्यसँग माग्ने होइन दिनसक्ने नमुना संस्थाका रुपमा यसलाई विकसित गर्ने शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । साझाको सञ्चालक समितिले शर्मालाई आजैदेखि लागू हुने गरी थप चार वर्षका लागि महाप्रबन्धकमा नियुक्ति गरेको छ । दोस्रो कार्यकालको आज केन्द्रीय कार्यालयमा थालनी गर्दै शर्माले आगामी दुईवर्षे सुधारका कार्ययोजना सार्वजनिक गर्दै चुस्त व्यवस्थापन र दक्ष जनशक्ति परिचालन गरी सो जिम्मेवारी पूरा गर्ने जनाउनुभयो ।

सो अवसरमा उहाँले प्रकाशनले आर्थिक व्यवस्थापन, कानुनी र नीतिगत, संस्थागत र आय बढाउनेसम्बन्धी ३७ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभयो ।
लेखकको लेखकस्व, कर्मचारीको पारिश्रमिकलगायत सेवानिवृत्त तथा अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने कुल रु ४० करोडभन्दा बढी ऋण दायित्व साझा प्रकाशनलाई छ । राजनीतिक आधारमा नियुक्त र उत्पादन बढाउन नसक्ने तथा २० वर्ष सेवा पार गरेकासहित १७२ जना कर्मचारीलाई साझाले कटौती गरिसकेको छ । साझामा अब ८३ कर्मचारी बाँकी छन् । प्रकाशनका सञ्चालक सदस्य तथा पूर्वशिक्षामन्त्री प्रदीप नेपालले महाप्रबन्धक शर्माले संस्थालाई पुनःजागरण गराएको बताउनुभयो भने अर्का सदस्य डा कृष्णहरि बरालले विगतमा राजनीतिक भर्ती केन्द्र र भनसुनका आधारमा साहित्यिक कृति प्रकाशन गरेर संस्था डुबेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts