Saturday, June 3, 2017

प्रजनन विधेयक व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने

काठमाडौँ, २० जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने बताउनुभएको छ ।

प्रजनन स्वास्थ्य अधिकार कार्य समूहले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानको मौलिक हकमा व्यवस्था गरिएको प्रजनन अधिकारलाई कानुनतः स्थापित गर्न र नेपालको यससम्बन्धी प्रतिबद्धता पूरा गर्न उक्त विधेयक यथाशीघ्र पारित हुनुपर्नेमा जोड दिनुभयो ।

सो विधेयक तयार गर्न मन्त्रिपरिषद्ले दुई साताअघि स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो ।

मन्त्री थापाले भन्नुभयो–“भोलि आइतबार कानुन मन्त्रालयमा विधेयक पठाइने र बढीमा दुई साताभित्र मन्त्रिपरिषद्मा छलफल भई संसद्मा पुग्नेछ । सरकार परिवर्तन भए पनि यो मन्त्रालयको प्राथमिकताको विषय बनिसकेकाले कुनै प्रभाव पर्ने छैन ।”

कार्यक्रममा सो कार्य समूहको तर्फबाट सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले प्रजनन विधेयक ल्याउन र स्वास्थ्य क्षेत्रमा सुधारका कामको नेतृत्व गरेकामा मन्त्री थापालाई सम्मानित गर्नुभयो ।

महिला, कानुन र विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठले प्रस्तावित विधेयकमा सुरक्षित मातृत्व, किशोरकिशोरीको अधिकार, अपाङ्गता भएका महिला तथा प्रजनन स्वास्थ्य, रुग्णतासम्बन्धी अधिकार र दण्ड सजायसम्बन्धी व्यवस्था भएको बताउनुभयो ।

सञ्चारिका समूहका कोषाध्यक्ष यशोदा अधिकारीले प्रजनन विधेयकले महिलाको प्रजनन अधिकार स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts