Saturday, June 3, 2017

नुवाकोटका सबै तहमा कार्यपालिका र सभा गठन

नुवाकोट, २० जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा सूर्यगढी गाउँपालिकामा कार्यपालिका र स्थानीय तहको सभा गठन भएको छ । योसँगै नुवाकोटमा रहेका सबै १२ वटै स्थानीय तह कार्यपालिका गठन भएको छ ।

विदुर नगरपालिकामा भएको निर्वाचनमा आठजना उम्मेदवार नै नेकपा (एमाले)का निर्वाचित भएका छन् । महिला सदस्यमा कुमारी विश्वकर्मा, विन्दा श्रेष्ठ, मेनुका चौलागाईं, रश्मी लोहनी पाण्डे, रेखा लामा रहेका छन् ।

दलित तथा अल्पसङ्ख्यक तर्फबाट मुरली मिजार, राजकुमार कुमाल र रामशरण मिजार रहेका छन् । निर्वाचित भएका एमालेका उम्मेदवारहरुले ४२ मत प्राप्त गरेका थिए भने काँग्रेसका उम्मेदवारले २५ मत प्राप्त गरेका छन् ।

विदुर नगरपालिकामा एकालेको स्पष्ट बहुमत रहेकाले एमालेको प्यानल सहजै निर्वाचित भएको छ भने माओवादी केन्द्रका दुई सदस्यको समर्थन पाएको काँग्रेसले उम्मेदवारहरु चुनावी प्रतिस्पर्धा गरे पनि आधा कम मत पाएको छ । दलित र अल्पसङ्ख्यक प्रतिनिधित्वसँगै विदुर नगर कार्यपालिका र नगरसभाले पूर्णता पाएको छ । कार्यपालिकामा २३ सदस्य र नगरसभामा ७० सदस्य पुगेको छ ।

यस्तै, बेलकोटगढी नगरपालिकामा पनि आठजना नै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको महिलातर्फ पाँचजनामा कल्पना नेपाली, जयन्ती तामाङ, पवित्रा घिमिरे, लक्ष्मी गजुरेल र सीता पाण्डे रहेका छन् । दलिततर्फ सुदीप विश्वकर्मा सङ्गीता सार्की एवम् अल्पसङ्ख्यकतर्फ पदमबहादुर भुजेल रहेका छन् ।

बेलकोटगढी नगरपालिकाको कार्यपालिका २३ सदस्य र नगरसभा ६९ सदस्य गठन भएको छ ।

यस्तै, सूर्यगढी गाउँपालिकामा भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । चारजना महिला सदस्यमा मेनुका भट्टराई, कल्पना सूचीकार, लक्ष्मी सुनार र सीता नेपाली निर्वाचित भएका छन् । यस्तै, दलितबाट दीपक परियार र अल्पसङ्ख्यकबाट सन्तमान घर्ती निर्वाचित भएका छन् । महिला, दलित र अल्पसङ्ख्यकको प्रतिनिधित्वसँगै सूर्यगढीको गाउँ कार्यपालिका सदस्य १३ सदस्य र गाउँसभा २९ सदस्य भएका छन् ।

नुवाकोटमा आज तीन स्थानीय तहको निर्वाचनमार्फत कार्यपालिका र गाउँसभाले पूर्णता पाएसँगै नुवाकोटको सबै स्थानीय तहको कार्यपालिका र सभाले पूर्णता पाएको छ । योसँगै स्थानीय तहको निर्वाचनको प्रक्रिया पनि पूरा भएको छ ।

निर्वाचन पूरा भएसँगै निर्वाचन गराउन स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको जिम्मेवारीसमेत सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्म कायमै रहने मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts