काठमाडौँ, ३१ असार । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले हाम्रो देशको साहित्य, संस्कृति तथा धार्मिक संस्कार नै हाम्रो पहिचानको आधार भएको बताउनुभएको छ ।
प्राध्यापक डा नारायणप्रसाद खनालले लेख्नुभएको ‘प्रज्ञाद्योतित संस्कृतमनीषी प्रा डा वेणीमाधव ढकाल’ शीर्षकको पुस्तक विमोचन गर्दै उहाँले सो विचार प्रकट गर्नुभएको हो ।
पाल्पाका संस्कृतका ज्ञाता प्रा डा वेणीमाधव ढकालको बारेमा लेखिएको उक्त पुस्तक पाँच अध्यायमा विभाजित रहेको र त्यसमा अन्तर्वार्ता, उहाँका कृति, अनुवाद, अनुसन्धान लेखआदिबारे स–विस्तार वर्णन गरिएको छ ।
कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले नयाँ पुस्ताले हाम्रो जीवन पद्धति बिर्संदै गएको चर्चा गर्दै यस्ता पुस्तकबाट नयाँ पुस्तालाई हाम्रो पहिचान र संस्कृति हस्तान्तरण हुने धारणा व्यक्त गर्नुभयो ।
प्राध्यापक डा चूडामणि बन्धुले नेपाली भाषा साहित्यको उत्थान गर्ने व्यक्ति वा संस्थालाई जीवित अवस्थामा नै सम्मान गर्नुपर्ने बताउनुभयो ।
प्राध्यापक गोपीकृष्ण खड्काले देश विकासको आधार युवावर्ग भएकाले युवालाई नै दीक्षित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सहप्राध्यापक प्रयागराज वशिष्ठ, प्रा डा ढकाल, हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरका अध्यक्ष डा मिलनकुमार थापा, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायतका वक्ताले हिन्दू धर्म, संस्कृतिमाथि चर्चा गर्नुभएको सो कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले आचार्य डा नारायणप्रसाद खनाललाई श्री हनुमान ज्ञान विज्ञान पुरस्कार प्रदान गर्नुभयो ।
सो पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ ।
प्रा डा ढकालले पहिले त्रिवि र पछि नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुका साथै हाल नेपाल संस्कृत विविमा सेवा आयोगको अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।
‘शैलेश’ खण्डकाव्य, ‘जय ज्योतिष्मती मुमा’ नव्यकाव्य, ‘पृथुदय’ महाकाव्य लगायत विभिन्न कृतिका सर्जक प्रा डा ढकालले विसं २०४९ मा लिच्छविकालिन अभिलेखको साहित्यिक अनुशीलन शीर्षकमा नेपाल संस्कृत विविबाटै विद्यावारिधि गर्नु भएको थियो ।
पूर्व अध्यक्ष रेग्मीले प्रा डा वेणीमाधव ढकाल, आचार्य पूर्णचन्द्र उपाध्याय ढुँगेल, डा चूडामणि बन्धुसहित १३ जनालाई श्री हनुमान विद्वत् सम्मान पनि प्रदान गर्नुभयो । रासस
No comments:
Post a Comment