Sunday, August 13, 2017

बाढीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

चितवन, ३० साउन । अविरल वर्षापछि यहाँ आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु हुनेमा राप्ती नगरपालिका–८ की ४२ वर्षीया गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका–३ का २४ वर्षीय कमलबहादुर प्रजा र राप्ती नगरपालिका–८ बस्ने ७७ वर्षीया फूलमती चेपाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रानामगरलाई पम्फा खोलाको बाढीले बगाएर, फूलमतीको घर ढलेपछि थिचेर र कमलबहादुरको स्थानीय बारवाङ् खोलाले बगाएर मृत्यु भएको हो ।

यस्तै, बाढीमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा माडी नगरपालिका–७ की कमला नेपाली रहनुभएको छ । उहाँ आफ्नै घरले थिचेर घाइते हुनुभएको हो । घाइते नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राप्ती नगरपालिकाका ५५ वर्षीय रणबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बाढीको जोखिममा रहेका दुई हजार ९५७ जनाको उद्धार गरिएको छ । उहाँका अनुसार बाढीमा परी २१ घर पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ५३४ घर डुबानमा परेका थिए । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै राप्ती, बूढीराप्ती, रिउ, कयर, लदरी लगायतका खोलामा आएको बाढीले जनधनको क्षति बनाएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts