Sunday, December 31, 2017

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ ।
आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न आज निर्देशन दिएको हो ।

निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानूनअनुसार कारबाही हुने आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय÷क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलको समानुपातिकतर्फका उम्मेदवारको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३ को दफा ३१ मा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दफा ३१ को उपदफा (४) बमोजिम त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले रु १५ हजार जरिवाना गरी मनासिव समय तोकी त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्ने छ ।

आदेशअनुसार तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकैपिच्छे रु १५ हजार जरिवाना गर्न सक्ने उल्लेख छ ।
आयोगले आजै निर्वाचनको क्रममा प्रचारप्रसारका लागि प्रयोग गरिएका निर्वाचन सामग्री तत्काल हटाउन सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

निर्वाचन सम्पन्न भएको लामो समय हुँदा पनि कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएकाले आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनको प्रचारको क्रममा केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सबै किसिमका सामग्री हटाई ती स्थानलाई पूर्ववत् अवस्थामा राख्न सम्बन्धित राजनीतिक दललाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

Saturday, December 30, 2017

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताउनुभएको छ ।

ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गर्नुभयो ।

अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले भन्नुभयो “वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ । त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन् । जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं । कार्यान्वयनमा लैजान्छौँ ।”

उहाँले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको छ भन्नुभयो । “आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ”, उहाँले भन्नुभयो ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उहाँको भनाइ थियो । सबैलाई मिलाएर देशलाई समुन्नतिको मार्गमा लैजाने भन्दा आफू र आफ्नो पार्टीको अरु कुनै लक्ष्य र उद्देश्य नरहेको उहाँको भनाइ थियो ।
टोल सुधार समितिले स्थानीय समस्या समाधानका लागि पहल गरिदिन, वाम गठबन्धन सफल बनाउन, मुलुकलाई आर्थिक समृद्धिको मार्गका लैजान र देशका तमाम समस्या समाधान गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको टोल सुधार समितिका सदस्य गंगालाल तामाङले जानकारी दिनुभयो ।

गुफा बजारमा पर्यटन सूचना केन्द्र स्थापना

तेह्रथुम।  गुराँसको राजधानीेका रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका सबै सूचना अब एकै ठाउँबाट पाइने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरी संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित टिएमजे क्षेत्रको मुख्य गन्तव्य गुफाबजारमा यो क्षेत्रकै पहिलो पर्यटन सूचना केन्द्र खुलेको हो ।

सरकारीस्तरबाटै पर्यटन सूचना केन्द्र सञ्चालन हुनुपर्ने भए पनि यत्तिका समयसम्म बेवास्ता भएको भन्दै स्थानीय युवा संगठित भएर पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका छन् । युवाले ‘तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्र’ नामक संस्थाका रुपमा संगठित भएर सूचना केन्द्र स्थापना गरेका हुन् । एउटै वनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रका पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन साथै सो क्षेत्रका अत्यावश्यक सूचना सम्प्रेषणका लागि सूचना केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष केदारनाथ लिम्बुले बताउनुभयो ।

“सूचना केन्द्रबाट टिएमजे क्षेत्रका सबै सूचना उपलब्ध गराउने हाम्रो योजना छ”– उहाँले भन्नुभयोे, “अहिले सुरुआतमा हामीसँग सहजै उपलब्ध हुने सूचनालाई व्यवस्थित गरेर राखेका छौँ ।” केन्द्रमार्फत तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेको यो क्षेत्र हुँदै कञ्चनजंघा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा ¥याफ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्रदान गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष लिम्बुको भनाइ छ ।

युवालाई सूचना केन्द्र स्थापनाका लागि नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले आर्थिक सहयोग गरेको छ । सो संस्थाको सहयोगमा आफूहरुले भवन निर्माण गरी प्रारम्भिक चरणका सूचनालाई व्यवस्थित गरी सूचना केन्द्र सञ्चालनमा ल्याएको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका सचिव सन्तोष लिम्बुले बताउनुभयो ।

“यो क्षेत्रले ‘गुराँसको राजधानी’ भनेर संसारमै नाम कमाएको छ, यहाँ आउने पर्यटकलाई सबै सूचना उपलब्ध गराउने हाम्रो उद्देश्य हो”– सचिव लिम्बुले भन्नुभयो ।

स्वास्थ्य शिविरमा ३५० को निःशुल्क जाँच

लहान । ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा बस्तीपुर, गोविन्दपुर, भदैया, गुदिगाउँ, पिडरवनी, झुटकीलगायतका गाउँका ३५० भन्दाबढी बिरामीले निःशुल्क स्वास्थ्य जाँच गराएको स्वास्थ्य केन्द्रका आयोजक संस्थाका प्रमुख तथा नाक, कान, घाँटी विशेषज्ञ डा सन्दर्भ गिरीले जानकारी दिनुभयो ।

शिविरमा साधारण रुघाखोकी, ज्वरो, जिउ दुख्ने, ग्याष्ट्रिक, छाला, डिप्रेसन, मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्याबाट पीडित बिरामीले जाँच गराएको र जचाएका बिरामीलाई औषधिसमेत वितरण गरेको डा गिरीले बताउनुभयो ।

उक्त शिविरमा काठमाडौँ मेडिकल कलेज(केएमसी)का डा.गिरी, डा निराजन क्षेत्री, डा विवेक सिंह, डा आनन्द आचार्य, नर्स सिर्जना कायस्थ, अहेव छविशंकर साह, विएमएलटी ओमप्रकाश राय लगायत चिकित्सकको टोलीेले बिरामीको स्वास्थ्य जाँच गरेको थियो ।

हात्ती महोत्सव सम्पन्न

रत्ननगर, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा भएको पाँचदिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ ।

यही पुस ११ गतेदेखि शुरु भएको १४ औँ चितवन हात्ती महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवअन्तर्गत भएको विभिन्न कार्यक्रममध्ये हात्तीको फाष्टवाक प्रतियोगितामा टुरिजम बैंकबाट सहभागी लक्कीकली प्रथम भएको छ ।

हिमालयन जर्नीको एकताकली दोस्रो र कोकाकोलाबाट सहभागी अनारकली तेस्रो भएको आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो ।

सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरीको ताज भने होटल पार्क साइडको पुजाकलीले जितेकी छिन् । यस्तै हात्ती पेन्टिङमा भने पुनक कलिले जित्यो । हात्तीको फुटबलमा चौधरी ग्रुपले जितेको छ ।

फुटलमा कुमारी बैंकलाई शून्यका विरुद्ध तीन गोलले हराउँदै सिजीले उपाधि जितेको हात्ती व्यवस्थापन तथा खेलकुद समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । हात्ती पोलोमा माउन्ट एभरेष्ट ग्रुपले जितेको छ । उसले मेघा बैंकलाई ३ का विरुद्ध ६ गोलले पराजित गरेको हो ।

यसपाली गाडा डुंगा र टाँगा दौड कार्यक्रम हटाइएको थियो । हात्तीको वनभोज कार्यक्रमसमेत भएको आयोजकले जनाएको छ । हात्ती महोत्सवले सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गराएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले बताउनुभयो । नेपालमै यो महोत्सव अन्य महोत्सवभन्दा फरक खालको हुने गरेको छ ।

सहकारी क्षेत्रमा योगदान पु-याउने व्यक्ति सम्मानित

मंगलबारे, इलाम । इलाममा सञ्चालित शताब्दी बचत तथा ऋण सहकारी संस्थाले शनिबार विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरेको छ ।

संस्थाको १५औँ वार्षिक साधारणसभाका अवसरमा सहकारी विषयमा विद्यावारिधि गर्ने डा भुपाल थापा लगायतलाई सम्मान गरेको हो । थापा सहकारी विषयमा विद्यावारिधि गर्ने जिल्लाकै पहिलो व्यक्ति हुनुहुन्छ ।

सहकारीले आव ०७३÷७४ मा कूल रु २३ करोड छ लाख १४ हजार ७६४ को कारोबार गरेको छ । एक हजार ३९५ जना शेयर सदस्य रहेको संस्थामा सदस्यको बचत रकम करिब नौ करोड रहेको छ । सदस्यलाई राहत तथा हित कार्यक्रमअन्तर्गत संस्थाले मृतक सदस्य राहत कोष, एम्बुलेन्स भाडामा छुट सुविधा, सुत्केरी पोषण खर्च र गम्भीर प्रकृतिको रोग उपचार खर्चसमेत उपलब्ध गराउँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक दायित्व पूरा गर्ने उद्देश्यका साथ वार्षिकोत्सवमा सामाजिक क्षेत्रमा काम गर्दै आएको संघसंस्थालाई पनि सहयोग गर्ने क्रममा यस वर्ष इलामका ‘सहयोगी हात’ नामक संस्थालाई रु पाँच हजार ५०० समेत प्रदान गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कवि शीरोमणिको जन्मजयन्ती मनाइयो

कवि शीरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्ती शनिबार इलाममा पनि साहित्य वाचन गर्दै मनाइएको छ ।

विश्व नारी नेपाली साहित्य सम्मेलन इलामको नियमित शृङ्खलासँगै शीरोमणि पौड्यालको जन्मजयन्ती मनाइएको हो ।

जिल्लाका साहित्यकारले साहित्यमार्फत कवि शीरोमणि पौड्याललाई सम्झिनुभयो । उहाँका कृति र उहाँले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चासमेत गरियो ।

कार्यक्रममा जीवनहरि शर्मा, देवी गौतम, विमल वैध, गीताराम निरौलालगायत दर्जन बढी कवि तथा साहित्यकारले साहित्यिक कृति वाचन गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष प्रतिभा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नेपाली साहित्यका अग्रज व्यक्तित्व कवि शीरोमणि पौड्यालले साहित्यमा पु¥याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने वक्ताहरुले विचार राख्नु भयो ।

एकीकृत अखिल शिक्षक संगठनमा नाथ निर्वाचित

बैतडी।  एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा रमेशनाथ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शनिबार पाटनमा सम्पन्न भएको पाँचाँै जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उद्धव महरा, देवसिंह ठगुन्ना, जानकी लुहार, सुरेन्द्र साउद, गणेश बोहरा, सचिवमा लक्ष्मीदत्त भट्ट, अर्थ सचिवमा राजेन्द्र जोशी, सहसचिवमा गीता जोशी, शंकर घर्ती र वीरसिंह ठगुन्ना चयन हुनुभएको छ ।

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं ७ का इन्चार्ज कृष्णदत्त भट्टले शिक्षकको पेशागत हकहितका लागि संगठनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
माओवादी केन्द्रका पोटिलब्यूरो सदस्य विजय सुन्दरले समृद्धि र समाजवादउन्मुख यात्रामा अखिल नेपाल शिक्षक संगठनको अह्म भूमिका रहेको बताउनुभयो ।

चिसोका कारण जनजीवन प्रभावित

नवलपरासी । विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् ।

चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको सुस्ताका छोटे खानले बताउनुभयो ।

चिसो र शीतलहर बढेको हुँदा तरकारीखेती पनि प्रभावित भएको किसानले दुखेसो व्यक्त गरेका छन् । आलु गोलभेँडा लगायतका तरकारीमा डडुवा रोग लागेर तरकारी बाली नष्ट भएको विनय त्रिवेणी– ७ रानीनगरका किसान गोवद्र्धन कुर्मीले जानकारी दिनुभयो ।

चिसोले गर्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएको अवस्था छ । चिसोले वृद्धवृद्धामा बाथ, दम, रुघाखोकीको प्रकोप देखा परेको छ भने बालबालिकामा निमोनिया श्वासप्रश्वासका रोगी उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने गरेको सहिद स्मृति सामुदायिक अस्पातल चौपताका मेडिकल अधिकृत नीरज रौनियारले बताउनुभयो ।

चिसोले स्कुले बालबालिकाको विद्यालय जाने संख्या कम भइरहेको छ । चिसोबाट बच्नका लागि बढी तातो भई बस्ने र बढी तातो पेय पदार्थ पिउने र घरमै बस्न चिकित्सकले सल्लाह दिएका छन् ।

स्वास्थ्य बीमामा सत्र सय परिवार आबद्ध

बाबियाचौर, म्याग्दी।  आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब एक हजार सात सय परिवार आबद्ध भएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको अवधिमा एक हजार ६७४ परिवारका सात हजार १६० जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका समितिका जिल्ला प्रबन्धक अर्जुन पण्डितले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमाबापत रु ४३ लाख ७८ हजार ६२० योगदान रकम संकलन भएको छ । स्वास्थ्य बीमा गरेकामध्ये हालसम्म बेनी अस्पतालबाट दुई हजार ५१९ जनाले रु १३ लाख २९ हजार ९३६ र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५१ जनाले रु एक लाख ५३ हजार ५२४ बराबरको औषधि, उपचार सेवा प्राप्त गरेका समितिले जनाएको छ ।

धौगागिरि गाउँपालिका– ७ ताकमका तुलसीनाथ सुवेदीले रु दुई हजार ५०० शुल्क तिरेर स्वास्थ्य बीमा गरेर रु १० हजार बराबरको उपचार सेवा निःशुल्क प्राप्त गरेको बताउनुभयो । स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाएको सुवेदीले बताउनुभयो ।

बेनी अस्पताल, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएका काठमाडौँ, पोखरालगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ ।

पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमका सेवा पाउनेछन् ।

वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ । म्याग्दीमा ४३ जना दर्ता सहयोगी परिचालन भएका छन् । ४ नं प्रदेशको म्याग्दी, बागलुङ, कास्की, तनहुँ र गोरखासहित देशका २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै

पथरी, मोरङ । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ ।

संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ ।

मोरङको उर्लाबारी– ४ सिसौलीमा दुई बिगाहा क्षेत्रफलमा रोयल हेरिटज रिसोर्ट सञ्चालन गरिएको छ । पथरीका तीन जना युवा व्यवसायीले सञ्चालनमा ल्याएको रिसोर्टमा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ । पूर्वाञ्चलकै ठूलो र भव्य एवं सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको रोयल हेरिटेजले निर्माणको आधा काम सकेको छ ।

रिसोर्टका सञ्चालक कमलहाङवाङले भन्नुभयो, “चिल्ड्रेन पार्क, स्वीमिङ पुल, पार्किङ र कम्पाउण्ड वाल निर्माण भइरहेको छ ।” निर्माण सम्पन्न भइसक्दा रु पाँच करोड बढी लगानी हुने हाङवाङको भनाइ छ ।

रिसोर्ट पूर्व–पश्चिम राजमार्गबाट एक किमी दक्षिण सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्पसँगै रहेको छ । ग्रामीण क्षेत्रको शान्त वातावरणमा स्थापना भएकाले जोकोही आएर बस्नसक्ने हाङवाङ बताउनुहुन्छ । हाल १२ जनाले रोजगार पाइरहेको रिसोर्ट पूर्णरुपमा सञ्चालनमा आइसक्दा २५ जनालाई राम्रो रोजगार पाउने सञ्चालकको भनाइ छ ।
दुई बिगाहा क्षेत्रफलभित्र अत्यन्तै आकर्षक घर, बगैँचा, सभाहल र २५ वटा भिआइपी आवास कोठा रहेका छन् । हाल दैनिक तीनदेखि पाँच वटा टिम होटलको अवलोकनका लागि आउने गरेको सञ्चालक कमल हाङवाङको भनाइ छ ।

नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

रत्ननगर, चितवन । चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष सुरक्षा योजनाअनुरुप शुक्रबार र शनिबार ९३ जना प्रहरी टोली परिचालन गरी सो क्षेत्रमा लगाइएको गाँजा फाँडेर जलाइ नष्ट गरिएको आचार्यको भनाइ छ ।

जिल्लाको उत्तरी भेगमा रहेका राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा गाँजाखेती गरिएको भन्ने सूचनाका आधारमा हेटौँडाबाट समेत प्रहरी टोली मगाइ गाँजा नष्ट गरिएको चितवन प्रहरीले जनाएको छ । गाँजा फाँड्नका लागि जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय रत्ननगर र खैरहनी तथा भण्डारा र हेटौँडाबाट समेत प्रहरी टोली खटाइएको थियो ।

प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं १२ स्थित बाख्राङ गाउँस्थित दुई बिगाहा १० कट्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

यस्तै सोही नगरपालिकाको वडा नं १३ कालिटारमा तीन बिगाहा १० कट्ठा, वडा नं १२ स्थित यौरालीटार र धानबाङ गाउँमा दुई बिगाहा १८ कट्ठामा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो क्षेत्रमा वर्षेनी गाँजा खेती हुने गरेको छ ।

निर्वाचनमा खटिने उत्कृष्ट कर्मचारी सम्मानित

गाईघाट, उदयपुर।  गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा खटिने उदयपुर जिल्लाका तीन उत्कृष्ट कर्मचारीलाई शनिबार सम्मान गरिएको छ ।

निर्वाचनको समयमा उत्कृष्ट कार्य गरेर सम्मानित हुनेमा उदयपुरको बेलका नगरपालिकास्थित कमलबारी मावि मतदान केन्द्रका मतदान अधिकृत दुर्गानन्द गुप्ता, बालमन्दिर मावि गाईघाट बोक्से केन्द्रमा खटिने मतदान अधिकृत निर्मला कार्की र नारद आदर्श उच्च मावि बसाहा मतदान केन्द्रमा खटिने मतदान अधिकृत ताराकुमार राई रहेका छन् ।

यसरी उत्कृष्ट हुने तीन कर्मचारीलाई उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा र उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश रामप्रसाद ओलीले सम्मानपत्रसहित दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

यस्तै निर्वाचनको समयमा शान्तिसुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेबापत प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, नेपाली सेना सार्दुल गण बोक्सेका प्रमुख राजेन्द्र पन्त, उदयपुरका प्रहरी प्रमुख नवराज भट्ट, त्रियुगा सशस्त्र प्रहरी गुल्मका प्रमुख पुरनचन्द भट्ट, राष्ट्रिय अनुसन्धान विभाग उदयपुरका प्रमुख तीलक शर्मा प्रसाईं र जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतलाई पनि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश ओलीले दोसल्ला ओढाइ सम्मान गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्रियुगा नगरलाई पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकालाई शनिबार एक औपचारिक कार्यक्रमबीच पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति उदयपुरका उपाध्यक्ष गंगाकुमारी राईले त्रियुगा नगरलाई खोपयुक्त सुनिश्चित नगर घोषणा गर्नुभएको त्रियुगा नगरपालिका गाईघाटले बताएको छ ।

यसपटक त्रियुगा नगरपालिकामा रहेका एक हजार ९५२ जना सबै बालबालिकालाई पूर्णरुपमा खोप लगाइएका कारण अहिले नगरलाई पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरिएको जिल्ला जनस्वास्थय कार्यालय उदयपुरका लेखा अधिकृत दुनियालाल यादवले बताउनुभयो ।

नगरका सम्पूर्ण बालबालिकामा यसपटक पूर्णरुपमा खोप सम्पन्न भएका कारण अब नगर पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको त्रियुगा नगरपालिकाका उपप्रमुख देविकुमारी चौधरीले बताउनुभयो ।

त्रियुगा नगरपालिकामा हाल ८४ हजार ७५६ जनसंख्या रहेका छन् भने ६४ हजार ४०० मतदाता संख्या रहेको छ ।

वाम गठबन्धन टुटाउने प्रयास हुँदैन : ओली-प्रचण्ड

काठमाडौँ। वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा उहाँहरुले स्थायित्य र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिनुभएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “वाम गठबन्धन सफल हुन नदिन धूमधाम खेल भइरहेको छ, पाँच वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनु देश बनाउने होइन बिगार्ने प्रयास मात्र हो ।”

अध्यक्ष ओलीले नेपाललाई आश्रित र दमित मुलुकका रुपमा नभई स्वाधीन मुलुकमा रुपमा अघि बढाउन भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध विस्तार गरेर आगामी सरकार अघि बढ्ने जनाउनुभयो । उहाँले नेता गौतमको पुस्तकमा उल्लेख भए झैँ समृद्धिका लागि द्रुत गतिमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्व र विकासका लागि वाम गठबन्धनले ल्याएको बहुमत ऐतिहासिक अवसर भएकाले तीव्र गतिमा नेपाल निर्माणको महाअभियान सञ्चालन गर्न होमिनुपर्ने बताउनुभयो ।

उहाँले पुस्तकमा शान्ति प्रक्रियासम्म आफूहरु आइपुग्दाका प्रयासलाई पुस्तकले पर्याप्त समेट्न नसकेको तर आगामी विकासको बाटोलाई राम्रोसँग प्रस्तुत गरेको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा विकासमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै पुस्तकले ती पक्षलाई सम्बोधन गरेको बताउनुभयो ।

उहाँले सम्पन्न निर्वाचनमा पैसाको खेल हुनु लोकतन्त्रको दुरुपयोग हो भन्नुभयो ।

लेखक गौतमले आफूले एक दशक लगाएर तयार पारेको पुस्तकको मूल भाव नेपालमा प्रशस्त सम्भावना भए पनि विकासबाट पछाडि पर्नुका कारण समेत खोतलिएको बताउनुभयो । बुक मार्ट प्रालिद्वारा प्रकाशित २३५ पृष्ठको उक्त पुस्तकमाथि साहित्यकार मोदनाथ प्रश्रित, संविधानविद् डा युवराज संग्रौला, पूर्वाधार विज्ञ डा सूर्यराज आचार्य, अर्थविद् डा डिल्लीराज खनाललगायतले टिप्पणी गर्नुभएको थियो ।रासस

नीति सिद्धान्तवादी र कार्यक्रम यथार्थवादी बनाउन पार्टी नेतृत्वलाई काँग्रेसका नेताको सुझाव

काठमाडौँ। “हामी हारेका छैनौँ, हारेको मनोविज्ञान नलिऔँ, अहिले एक–अर्काेलाई आरोप र प्रत्यारोप गरेर भएको संगठनलाई भत्काउने काम नगरौँ” नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनको यसरी समीक्षा गर्नुभयो ।
पूर्व सांसद मञ्च, नेपालले आज आयोजना गरेको विचार गोष्ठीमा मञ्चका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो– संगठन, कार्यशैली र विधानमा भएको त्रुटीलाई सच्याएर अघि बढौँ, हिनता बोध नगरौँ, अब नीति सिद्धान्तवादी र कार्यक्रम यथार्थवादी बनाएर अघि बढौँ ।
मञ्चका महासचिव होमराज दाहालले नेपाली काँग्रेसको पुनर्जागरणको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली काँग्रेसका आन्तरिक व्यवस्थामा भएको अव्यवस्था र अकर्मण्यता, विपक्षीको एकता र प्रहार एवं सरकार सञ्चालनबाट जनतामा देखिएको निराशा नै पराजयका प्रमुख कारण भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– पार्टीभित्र मौलाउँदै गरेको गुटबन्दी, भागबण्डाको राजनीति, व्यक्तिवादी प्रवृत्तिको अन्त्य गर्दै निर्वाचनको निर्मम समीक्षासँगै लोकतान्त्रिक आचरण युक्त युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कार्ययोजना बनाउन आवश्यक छ ।
नेपाली काँग्रेसका पुराना नेता विपीन कोइरालाले नेपाली काँग्रेसले विश्वव्यापी राष्ट्रियताको लहर थाहा पाउन नसक्नु नै निर्वाचनमा पराजयको प्रमुख कारण हो भन्नुभयो ।
उहाँले भन्नुभयो– जनआन्दोलनपछि दुई तिहाइको संख्यामा वामपन्थीलाई संसद्मा प्रवेश गराउने, काँग्रेस हारे पनि मुलुकले जित्छ भन्ने गलत सोच राख्ने, पूर्वसहमतिअनुसार सुशील कोइरालालाई राष्ट्रपति बनाउनबाट वञ्चित गराउने, नाकाबन्दीको विरुद्धमा स्पष्ट धारणा सार्वजनिक गर्न नसक्नु, स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गर्नु नै पराजयका कारणहरु हुन् ।
भारतका लागि पूर्व राजदूत एवं नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले नेपाली काँग्रेसको लोकप्रिय मत धेरै नघटेको हुँदा अझै पनि पार्टीमा पुनःजागरण सम्भव छ भन्नुभयो ।
अर्का पूर्वसांसद तारणीदत्त चटौतले निर्वाचनमा काँग्रेसका धेरै उम्मेदवारको पराजय भए पनि दलले प्राप्त गरेको लोकप्रिय मतलाई विश्लेषण गर्दा आत्तिनुपर्ने अवस्था नरहेको टिप्पण्ी गर्नुभयो ।
नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले आठ वर्षको प्रवासपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै पूर्व सांसद मञ्चले नेपाली काँग्रेस पूर्व सांसदको भेला राखेको हो ।
उक्त भेलामा सहभागी नेताले तीन पुस्ते राजतन्त्रको शासनकालमा जेल नेल भोगेका नेताले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न, एउटै व्यक्ति छ पटकसम्म उम्मेदवार भै रहने प्रवृत्ति हटाउन सुझाव दिँदै थोरै समय शासन गर्ने बिपी कोइरालाको कार्यकाल नै स्वर्णिय कार्यकाल रहेको पक्षलाई स्मरण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

सामग्री आएको चार वर्षमा पनि निर्माण भएन झोलुंगे पुल

लहान । निर्माण सामग्री ल्याइएको चार वर्ष बितिसक्दा पनि सिरहाको गोलबजार नगरपालिका–११ बलकवा र बेतौना जोड्ने मैनाबत्ती खोलामा झोलुंगे पुलको निर्माण कार्य शुरु हुन सकेको छैन ।

पुल निर्माण उपभोक्ता समितिको लापर्बाही र ढिलासुस्तीका कारण झोलुंगे पुलको निर्माण कार्य शुरु हुन नसकेको जिल्ला प्राविधिक कार्यालय सिरहाले जनाएको छ ।

पुल निर्माण कार्यमा ढिलाइ हुँदा करोडौँ मूल्य बराबरको निर्माण सामग्रीमा खिया लाग्न थालेको र चोरीसमेत हुन थालेको स्थानीयले बताएका छन् । फलामका निर्माण सामग्री खुला आकाशमुनि नै जथाभावी राखिएको हुँदा घाम पानीले कामै नलाग्ने अवस्थामा पुगेको बताइएको छ ।

पुल निर्माण सामग्री बेवारिस अवस्थामा राखिएका कारण कतिपय नट बोल्ट हराएर गएको निर्माण समितिले जनाएको छ । स्थानीयको मागअनुसार आव २०७०÷०७१ मा पुल निर्माण उपभोक्त समिति गठन गरी पुल निर्माण सामग्री खरिद गरिए पनि चार आव बित्न लाग्दासमेत पुल निर्माणको काम शुरु हुन नसकेको स्थानीयले बताएका छन् ।

पुल निर्माण नहुँदा वर्षायाममा सर्वसाधारणलाई हिँडडुल गर्न समस्या हुनुका साथै बेतौनाका विद्यार्थीलाई खोला तरेर आउन समस्या हुने गरेको बेतौनाका ५५ वर्षीय रामप्रसाद मोचीले बताउनुभयो ।

उहाँले भन्नुभयो– “बेतौनामा मावि स्कुल छैन, यताका विद्यार्थी सबै बलकावा माविमा पढ्न जाने हो, तर वर्षामा पुल नबन्दा विद्यार्थीहरु विद्यालय जानै पाउँदैन् ।”

जिल्ला समन्वय समिति सिरहाका ओभरसियर गंगाप्रसाद यादवले स्थानीय उपभोक्ता समितिलाई पटकपटक ताकेता गर्दा पनि जिल्लामा सम्पर्क गर्न समेत नआएका कारण निर्माण कार्य हुन नसकेको बताउनुभयो ।

उहाँले निर्माण समितिका अध्यक्ष र अन्य पदाधिकारीलाई पनि पटकपटक जिल्लामा सम्पर्क गरी निर्माण कार्य अगाडि बढाउन आग्रह गरे पनि चाँसो नदिएकाले काम अगाडि बढ्न नसकेको जानकारी दिनुभयो ।

मैनाबत्ती खोला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामदेव यादवले जिल्ला प्राविधिक कार्यालय सिरहाले निर्माण सामग्री पठाए पनि निर्माणका लागि आवश्यक थप रकम नदिएकाले काम शुरु गर्न नसकिएको बताउनुभयो ।

बुबाको जन्मदिनमा विद्यार्थीलाई झोला

आठराई, तेह्रथुम।आफ्ना पिताको जन्मदिनको अवसरमा एक समाजसेवीले विद्यालय झोला वितरण गरेका छन् ।

ज्ञान प्रकाश नारायण सेवा समाजका अध्यक्ष डा वेदप्रकाश उप्रेतीले आफ्ना पिता समाजसेवी लक्ष्मीप्रसाद उप्रेतीको ९७ औँ जन्मजयन्तीका अवसरमा तेह्रथुम आठराई गाउँपालिका–६ चुहानडाँडाका ५२० विद्यार्थीलाई विद्यायल झोला वितरण गर्नुभएको हो ।

साविक चुहानडाँडा गाविसका आठ सामुदायिक र एक निजी विद्यालय गरी नौ वटा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई पढाइप्रति उत्प्रेरणा जगाउने उद्देश्यले उक्त झोला वितरण गरिएको तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाका प्रध्यापक दीपकराज उप्रेतीले जानकारी दिनुभयो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य सम्मानित

नेकपा (एमाले)बाट तेह्रथुम प्रदेशसभा सदस्य (ख) मा निर्वाचित तेजमान कन्दङवालाई उप्रेती सेवा समाज आठराईले हिजो एक कार्यक्रमबीच सम्मानपत्र, दोसल्ला र अबीर–मालाले सम्मान गरेको छ ।

कार्यक्रममा उप्रेती समाजका ९७ वर्षीय लक्ष्मीप्रसाद उप्रेतीलगायतका ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको उप्रेती सेवा समाजका सदस्य दीपकराज उप्रेतीले जानकारी दिनुभयो ।

सो अवसरमा सम्मानित व्यक्तित्व कन्दङवाले तेह्रथुमको विकासका लागि निरन्तर लागिरहने बताउनुभयो ।

समाजका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतत्वमा कार्यक्रम सम्पन्न भयो ।

सडक मर्मतमा रु एक लगानी गर्दा यातायात मर्मतमा दुई बचत हुने

काठमाडौँ। सडक बोर्ड नेपालले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थमन्त्रालयसँग माग गरेको छ ।

बोर्डका अनुुुसार सो कोषमा वर्षेनी रु २० अर्ब रकम उठ्ने गर्दछ । सोमध्ये मन्त्रालयले बोर्डलाई रु चार अर्बमात्र विनियोजन गर्ने गर्दछ । बोर्डले हाल २१७ नगरपालिका र ७३ जिल्ला विकास समितिमार्फत सो रकम सडक मर्मतमा विनियोजन गरेको जनाएको छ ।

सडक मर्मत तथा सम्भार गर्ने ध्येयले सडक बोर्ड ऐन २०५८ अनुसार बोर्डको स्थापना भएको हो । बोर्डका १५ आँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सडक मर्मतमा रु एक लगानी गर्दा यातायात मर्मतमा रु दुई बचत हुने गर्दछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक पूर्वाधार विकास र समृद्धिको आधार भएकाले यसको पूर्वाधारमा सरकारले लगानी बढाउँदै गएको बताउनुभयो ।

राज्यमन्त्री सीतादेवी गुरुङले सडक मर्मतमा लगानी बढाउन आवश्यक भएकोमा जोड दिँदै गुणस्तरीय सडकले आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले नेताको आँगन र बारी छोएर सडक जाने प्रथा अन्त्य गरी नयाँ सडकसँगै मर्मतलाई पनि एथेष्ट रकम विनियोजन गर्ने परम्परा शुरु गर्नुपर्छ भन्नुभयो ।

सांसद रवीन्द्र अधिकारीले समयमा सडक निर्माण सम्पन्न नहुने परिपाटीलाई अन्त्य गर्दै पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा सडक बनाइनुपर्छ भन्नुभयो ।

अर्का सांसद गगनकुमार थापाले सडक विस्तारमा रकम विनियोजन हुने तर मर्मतमा रकम नपर्ने परिपाटी अन्त्य गर्न जोड दिनुभयो ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्यले आर्थिक रुपान्तरणका लागि सडक पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थमन्त्रालयसँग माग गर्नुभयो ।

जीर्ण बन्दै धनथला झोलंगे पुल

लेकम, दार्चुला।  चमेलिया नदीमा रहेको धनथला झोलुंगे पुल मर्मत सम्भार र संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीको धनथला र दार्चुलाको लेकम गाउँपालिका जोड्ने उक्त झोलुंगे पुल लामो समयसम्म पनि मर्मत सम्भार नहुँदा उक्त पुल जीर्ण बन्दै गएको हो ।

दार्चुलाको लेकम गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेको उक्त झोलुंगे पुल विसं २०५२ मा निर्माण सम्पन्न भएको थियो । पुल निर्माण सम्पन्न भएको २२ वर्ष बितिसक्दासमेत हालसम्म मर्मत सम्भार नहुँदा पुलका नटबोल्ट निक्लेर हराउँदै जानुका साथै खिया लागेर जीर्ण बन्दै गएको लेकम गाउँपालिका–१ सेजालीका मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

पुलको उचित मर्मत सम्भार नहुँदा कतिपय स्थानमा नट बोल्ट हराएको, जाली च्यातिएको तथा चर्किएको अवस्था छ, उहाँले भन्नुभयो– “स्टिल पाता उप्किएको छ भने छेउका तारवारसमेत भाँचिएको अवस्थामा छ ।”

पुलमा प्रवेश गर्नासाथ हल्लिने भएकाले डरलाग्ने गरेको छ । दिनहुँ सयौँ मान्छे ओहोरदोहोर गरिरहने पुल जीर्ण हुँदै गएको भए पनि मर्मतका लागि कुनै पनि निकायले चासो नदेखाएको स्थानीय बासिन्दाको भनाइ छ ।

दार्चुला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लेकम गाउँपालिका अहिलेसम्म कुनै किसिमको सडक सञ्जालमा जोडिएको छैन् । उक्त पुलबाटै त्यहाँका नागरिक ओहोरदोहोर गर्ने गरेका छन् । दार्चुलाको लेकम र बैतडीको दोगडाकेदारमा दोहोरो बसाइँका कारण पनि उक्त पुल भएर ओहोरदोहोर बढी हुने गरेको स्थानीय कमला कार्कीले बताउनुभयो ।

वारिपारि दुवै ठाउँमा घर जग्गा जमिन भएकाले बढीजासो यसै पुलबाट ओहोरदोहोर गरिराख्नुपर्छ, उहाँले भन्नुभयो “राति अबेर तथा बिहान सबेरै त्यही पुल भएर जानुपर्छ, तर पुल जीर्ण बन्दै जादाँ समस्या हुने गरेको छ ।”

सडक सञ्जाल नपुगेको कारण समस्या भोग्दै आएका लेकमका नागरिकलाई पुल जीर्ण बन्दै जादाँ चिन्ता बढ्दै गएको छ । पुल जीर्ण बन्दै गएकाले सम्बन्धित निकायले ध्यान नदिएको लेकम गाउँपालिका–२ बिटोराका भूपिसिंह धामीको भनाइ छ ।

पुलमा एक व्यक्तिभन्दा बढीले ओहोरदोहोर गर्न नमिल्ने अवस्था छ, उहाँले भन्नुभयो– “पुल पिङ खेलेको जस्तै हल्लिने गर्छ, बच्चा, बुढा, अशक्त र अपांगता भएकालाई झनै अप्ठ्यारो हुन्छ ।”

यसको मर्मत सम्भारमा सम्बन्धित निकाय गम्भीर हुनुपर्छ, उहाँले भन्नुभयो “अब यो ठाउँमा झोलुंगे पुल नभई पक्की पुल निर्माण हुनुपर्छ, जसले गर्दा लेकम क्षेत्रको यातायातका माध्यम घोडा खच्चडका लागि पनि सहज हुनेछ ।”

संरचना बनाउन लाखौँ÷करोडौँ बजेट खर्च गर्ने गरिन्छ तर संरक्षणका लागि कसैले चासो नदेखाउँदा यस्तो अवस्था आएको हो । झोलुंगे पुल निर्माण भए पनि त्यसको दीर्घकालीन संरक्षणका लागि आवश्यक पहल नगरिँदा पुल जीर्ण बन्दै गएको स्थानीयको आरोप छ ।

सडकको पहुँच बाहिर रहेका यस क्षेत्रका नागरिकले घण्टौँ हिँडेर घर पुग्नुपर्ने बाध्यता छ । खाद्यान्नसमेत पिठ्युँमा बोकेर तथा घोडा खच्चरको सहयताले लैजानुपर्ने बाध्यता छ । लेकम गाउँपालिकाका स्थानीयले गाडी चढ्नसमेत चार÷पाँच घण्टाको पैदल दूरी हिँडेर महाकाली राजमार्ग आउने गर्छन् ।

सडकको समस्याका कारण यहाँका नागरिकले सास्ती भोग्दै आएका छन् । लेकम गाउँपालिका जोड्ने ऐरिछाना धनथला क्षेत्रीय पर्यटन सडक निर्माण कार्य शुरु भएको लामो समयसम्म पनि बन्न नसक्दा यस क्षेत्रका जनता सडकको अभावमा सास्ती भोग्दै आएका छन् ।

जीर्ण बन्दै गएको धनथला झोलुंगे पुलको हाल मर्मतसम्भार लागि कुनै पनि बजेट नछुट्याएको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनुभयो । पुल जीर्ण बन्दै गएको भए पनि आवतजावतमा कुनै बाधा परेको छैन, उहाँले भन्नुभयो– “आवतजावतमा बाधा आयो भने गाउँपालिकाले मर्मत सम्भार गर्नेछ ।”

लेकम गाउँपालिका जोड्ने गरी ऐरिछाना धनथला क्षेत्रीय पर्यटन सडक निमार्ण कार्य शुरु भएकाले अब उक्त स्थानमा पक्की पुल निर्माण हुनेसमेत उहाँले बताउनुभयो ।

बेलौरीका दुई स्थानमा तरकारी संकलन केन्द्र स्थापना

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई ठाउँमा तरकारी संकलन केन्द्र स्थापना गरिएका छन् ।

तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्नका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघको आर्थिक सहयोग र कृषि शाखा बेलौरीको समन्वयमा नगरपालिकाको वडा नं ५ र वडा नं ३ मा तरकारी संकलन केन्द्र स्थापना गरिएको हो ।

दुई वटै संकलन केन्द्र रु पाँच लाखको लागतमा निर्माण गरिएको संघका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । तरकारी संकलन केन्द्र स्थापना भएपछि त्यस क्षेत्रका तरकारी खेतीमा संलग्न ३०० बढी किसान लाभान्वित भएका छन् ।

तरकारी संकलन केन्द्र नहँुदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पु¥याएर बिक्री गर्न सहज भएको किसान साइटुलाल चौधरीले बताउनुभयो । यहाँ दुवै वडाका किसानले ३० बिगाहा जग्गामा व्यावसायिक तरकारीखेती गरेका छन् ।

तरकारी उत्पादन भए पनि विगतमा बजार नपाउँदा तरकारी खेतमा कुहिने गरेको कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले भन्नुभयो, “संकलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी महेन्द्रनगरदेखि कैलालीको धनगढी अत्तरियासम्म पुग्न थालेको छ ।” बजार पाएपछि यहाँका किसान तरकारी उत्पादनमा हौसिएका छन् ।

विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग

बाबियाचौर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गर्नुभएको छ ।

मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गर्नुभएको हो ।

जग्गा खरिद र भवन निर्माणमा रु १५ लाख नौ हजार सहयोग गरिसक्नुभएका खड्का परिवारको सहयोगमा थप दुई कोठे कक्षा कोठा निर्माण गर्न लागिएको वडा सदस्य रामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँहरुले भवन निर्माणका लागि रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा भवन बनाउन घडेरी सम््याउन रु एक लाख ३५ हजार सहयोग गरेका खड्का परिवारले सरकारी अनुदान अपुग भएपछि रु तीन लाख ५० हजार उपलब्ध गराउनुभएको छ ।

टीकाबहादुर भारतीय सैनिकका सेवानिवृत भूपू हुनुहुन्छ भने देवबहादुर पर्यटन व्यवसाय गर्नुहुन्छ । जिल्ला शिक्षा कार्यालय, स्थानीयवासी, विभिन्न संघ संस्थाको रु एक करोड १५ लाखमा निर्माण भएको दुई तले आठ कोठे भवन माथि खड्का परिवारको सहयोगमा थप दुई कोठे ट्रस कोठा निर्माण गर्न लागिएको हो । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच वृद्धि र गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर सहयोग गरेको टीका खड्काले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले आठ कोठे भवन निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । जग्गा खरिदसहित भवन निर्माणका लागि रु एक करोड १५ लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष गोकुलप्रसाद बरुवालले बताउनुभयो ।

विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार ५५० सहयोग गरेको छ । साविक घार गाविसले रु पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट रु चार लाख र मोना बेल्जियमबाट रु ७५ हजार सहयोग गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको रु ४५ हजार स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार र बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गर्नुभएको छ ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । भूकम्प प्रतिरोधात्मक क्षमताको नयाँ भवन अपांगमैत्री छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् ।

मगर संस्कृतिको जगेर्ना गर्न चलचित्र ‘पाहुर’ निर्माण

पाल्पा।  मगर समुदायको ज्ञान, सीप, कला, संस्कृति, रहनसहनमा आधारित चलचित्र पाहुर निर्माण गरिएको छ ।

मगर संस्कृतिमा आधारित चलचित्र पाहुरमा मगरी संस्कृति जर्गेना गर्ने उद्देश्यले निर्माण गरिएको हो । माघे संक्रान्तिका दिनमा च्यारिटी शोका लागि तयार गरिएको यस चलचित्रमा चार वटा मगरी संस्कृतिमा आधारित गीत रहेका छन् ।

चलचित्रको ‘लेकैमा फुल्यो लाली गुरास…..’ बोलको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्माता श्याम थापामगरले समुदायभित्र परम्परागत सामाजिक अवस्था र त्यसलाई उजागार गर्न चलचित्र निर्माण गरिएको बताउनुभयो ।

मगरी परम्परामा पाहुरलाई मुख्य आधार बनाएर यस चलचित्रको निर्माण गरिएको छ । पाल्पा गुल्मी, रुपन्देही जिल्ला ऐतिहासिक क्षेत्र तथा मगरी बस्तीमालाई कैद गरेर चलचित्र निर्माण गरिएको निर्देशक सुमन थापामगरले बताउनुभयो ।

मगर गाउँको परिवेश र पुरानो संस्कृति जोगाउन चलचित्र निर्माण गरेको उहाँको भनाइ छ ।
मगर समाजको मुद्दा पहिचान गर्न चलचित्रले सन्देश दिन्छजस्तो लाग्छ, कथा लेखक बाबुराम घिमिरेले भन्नुभयो, “यसले पक्कै पनि मगर समुदायको संस्कृति र रहनसहनलाई बाहिर ल्याउन फाइदा पुग्नेछ भन्ने हाम्रो बुझाई छ ।”

चलचित्रमा देखाइएको दृष्य, मुद्दाका विषयमा आगामी दिनमा समस्या समाधान तथा विषयवस्तुमा आधारित रहेर बहस होस् भन्ने चाहेको घिमिरेले बताउनुभयो ।

मगर संस्कृतिको चलचित्र बजारलाई विस्तार गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । चलचित्रको कथा मगरी समुदायको प्रथा वा कुप्रथा के भन्ने कुरालाई आधार मानिएको छ ।

रु १२ लाख लगानीमा निर्माण गरिएको चलचित्रले पुरानो चलनसँगै समाज परिवर्तन गर्नलाई सन्देश दिने निर्माता थापाले बताउनुभयो । पाल्पा जिल्लामा मगर समुदायको बाहुल्यता रहिआएको छ ।

मुसहर बस्तीमा राहत वितरण

महोत्तरी । करिब दुई सातायता अत्यधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काम्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका–७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् ।

शीतलहरबाट बच्नका लागि काठमाडौँस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शुक्रबार सो बस्तीमै गएर करिब रु १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।

डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा एकरात बिताएका सो बस्तीका गरिब मुसहर समुदायका दर्जनौँ घरपरिवारका सदस्य आर्थिक अभावको कारण न्यानो लुगा कपडा लगाउन पाएका थिएन भने वृद्धवृद्धा रोग पालेर बसेका थिए ।

सो बस्तीमा बसोबास गर्दै आएका १०२ परिवारलाई शीतलहरबाट बच्नका लागि कम्बल, म्याट, ट्रयाकसुट, दन्तमन्जन, चालमजस्ता सामग्री वितरण गरिएको हो । साथै सो बस्तीमा नगदसमेत वितरण गरिएको छ ।

तराई शीतलहरले पीडित रहेको समयमा आफूहरु पहाडबाट आएर सहयोग गर्न पाउँदा धेरै नै हर्षित भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष विजयबहादुर मालीले बताउनुभयो । यता राहत सामग्री पाएपछि सो बस्तीमा अहिले खुशीयाली छाएको छ ।

विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग

बाबियाचौर, म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गर्नुभएको छ ।

मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गर्नुभएको हो ।

जग्गा खरिद र भवन निर्माणमा रु १५ लाख नौ हजार सहयोग गरिसक्नुभएका खड्का परिवारको सहयोगमा थप दुई कोठे कक्षा कोठा निर्माण गर्न लागिएको वडा सदस्य रामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँहरुले भवन निर्माणका लागि रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा भवन बनाउन घडेरी सम््याउन रु एक लाख ३५ हजार सहयोग गरेका खड्का परिवारले सरकारी अनुदान अपुग भएपछि रु तीन लाख ५० हजार उपलब्ध गराउनुभएको छ ।

टीकाबहादुर भारतीय सैनिकका सेवानिवृत भूपू हुनुहुन्छ भने देवबहादुर पर्यटन व्यवसाय गर्नुहुन्छ । जिल्ला शिक्षा कार्यालय, स्थानीयवासी, विभिन्न संघ संस्थाको रु एक करोड १५ लाखमा निर्माण भएको दुई तले आठ कोठे भवन माथि खड्का परिवारको सहयोगमा थप दुई कोठे ट्रस कोठा निर्माण गर्न लागिएको हो । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच वृद्धि र गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर सहयोग गरेको टीका खड्काले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले आठ कोठे भवन निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । जग्गा खरिदसहित भवन निर्माणका लागि रु एक करोड १५ लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष गोकुलप्रसाद बरुवालले बताउनुभयो ।

विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार ५५० सहयोग गरेको छ । साविक घार गाविसले रु पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट रु चार लाख र मोना बेल्जियमबाट रु ७५ हजार सहयोग गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको रु ४५ हजार स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार र बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गर्नुभएको छ ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । भूकम्प प्रतिरोधात्मक क्षमताको नयाँ भवन अपांगमैत्री छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् ।

मेलम्ची खानेपानी सुरुङको ब्रेक थ्रु

चौतारा।  बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थु्र) सम्पन्न भएको छ ।

सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थु्र) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताउनुभयो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ ।
एसियाली विकास बंैक (एडिबी) को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

Friday, December 29, 2017

दिक्षा र रामविक्रम बने दशक कै उत्कृष्ट राइडर

नेपालको मोटरसाइक्लिंग स्पोर्ट्समा दिक्षा श्रेष्ठ र रामबिक्रम थापा दशक कै उत्कृष्ट खेडाडी बन्न सफल भएका छन् ।

नेपाली मोटर साइकलिंग स्पोर्टस्लाई संसारमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै नासा तथा मोटरसाईकल फेडरेशनले नेपाली मोटर स्पोर्टस्को पहिलो दशकमा योगदान पुर्याउने खेलाडीहरु मध्येबाट दुई जना राइडर्स छनौट गरि गत २३ डिसेम्बर २०१७ का दिन काठमाडौंमा ती खेलाडी द्वयलाई दशक कै उत्कृष्ट राइडर्स घोषणा गरेको हो ।


गत २३ र २४ डिसेम्बर २०१७ मा काठमाडौंमा संम्पन्न भएको मोटरसाईकलिंग सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले दुवै खेलाडीहरुलाई पच्चीस( पच्चीस हजार रुपैंया नगद, तथा प्रमाणपत्र र शिल्ड प्रदान गरे । उनीहरु बिगतका केहि वर्षदेखिबाट मोटर रेसिंग क्षेत्रमा आफ्नो पहिचान बनाउदै आईरहेका कुशल खेडाली हुन् ।

नेपाली मोटर स्पोर्टस्को क्षेत्रमा रहेका अनगिन्ती कुशल राईडर्स, ड्राइभर्स् मध्येबाट रामविक्रम र दिक्षा नमूना बनेर उदाएका छन् ।

धुलिखेल निवासी २० वर्षीय खेलाडी दिक्षा श्रेष्ठले मोटरस्पोर्ट्समा निकै ख्याती कमाई सकेकी छिन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा समेत सहभागीत जनाईस्केकी दिक्षा होन्डा दिवा कप २०१३ मा प्रथम, रेसमाण्डु २०१४ मा प्रथम, रेसनारि २०१६ र २०१७ को विजेता हुन् भने मलेसियामा आयोजित एसिया कप अफ रोड रेसिंग २०१६ को सहभागी समेत हुन् । स्नातक तहमा अध्यनरत दिक्षा श्रेष्ठले मोटर स्पोर्ट्समा देखाएको कौशलताले मोटर स्पोर्टस्मा उनको भविष्य उज्वल देखिन्छ्र ।


त्यसैगरी रामबिक्रम थापा पनि मोटरस्पोर्ट्स क्षेत्रमा चर्चित छन् । उनी रेसमाण्डु १,२,३,४,५ का सहभागी खेलाडी हुन् भने रेसमाण्डु ४ का बिजेता पनि हुन् । साथै रेसमाण्डु ५ को नेशनल क्याटागोरीमा पाचौं स्थान प्राप्त गरेका थिए । थापाले एसिया कप अफ रोड रेसिंग जस्ता अन्तराष्ट्रिय खेलहरुमा पनि सहभागिता जनाएका छन् । हालै भारतमा सम्पन्न एसिया कप अफ रोड रेसिंग २०१७ मा सहभागी भएर उनले नेपाललाई तेस्रो स्थान समेत दिलाउन समेत सफल भएका छन् ।
ख्यालख्यालैमा नेपाली मोटर स्पोर्ट्सले १ दशकको यात्रा सुरु गरेको छ अर्थात् ९ वर्ष पुरा गरेको छ । सामान्य मनोरञ्जन यात्रा, पर्यटन प्रवद्र्धन तथा कम्पनीको प्रवद्र्धनका लागि मात्र भैरहेको नेपाली मोटरिंग एकैपटक साहसिक स्पोर्ट्स , साहसिक पर्यटनको मूल आधार तथा कला , साहित्य र समाज सेवाको संयोजकको रुपमा समेत उदाएको छ । २०६५ सालमा नासाको स्थापना हुदा कुनै चर्चा परिचर्चा र स्थान ग्रहण गर्न नसकेको मोटर स्पोर्ट्स आजको दिनमा नेपालमा मात्र नभई संसार मै चर्चाको शीखर चुम्दै छ । त्यसको श्रेय नासाका अफिसियल तथा प्राविधिकलाई त जान्छ नै तर त्यो भन्दा ठुलो योगदान नेपाली राइडर्स् ड्राइभर्स ले गरेका छन् ।
आज दिक्षा श्रेष्ठ, अमन चौधरी, रामबिक्रम थापा, उपेन्द्र प्याकुरेल, आसिक लामा तथा प्रत्यूष कुईकेल जस्ता खेलाडीको श्रम, सीप, साहस र सिर्जनामा अडेको मात्र होइन सुरक्षित् रुपमा गुडेको पनि छ नेपालको मोटर स्पोर्ट्स । हो तिनै राइडर्सलाई बिर्सने कुरा कल्पना भन्दा बाहिरको रह्यो । किनकी उनीहरुले नै आफूलाई त्यो स्थानमा उभ्याएका छन् जुन स्थानबाट नेपाली मोटर स्पोर्टस्ले आफ्नो पहिचानलाई विश्वव्यापी बनाउने निश्चित प्राय छ ।

पर्यटन नै मुलुकको आर्थिक समृद्धिको आधार : अध्यक्ष ओली

काठमाडौँ। मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन समारोहका वक्ताले पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकाले सरकार निजी क्षेत्रको साझेदारिताकासाथ पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्ने खाचो औँल्याउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्वतारोहण, पदयात्राको असाधारण महत्व रहेको र योसँगै सिंगो पर्यटन व्यावसायिक पक्ष जोडिएकाले यसलाई उच्च प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

नेपाल विश्वकै असाधारण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक र जैविक विविधताको अधिकतम सदुपयोग गरी देशको समृद्धिसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ठट्यौली शैलीमा भन्नुभयो, “मलाई सगरमाथाको चुचुरोमा पुगौँपुगौँ लागेको छ तर सम्भव छैन त्यो चुनौतीपूर्ण छ । सगरमाथा आरोहण ‘कुर्सीमा बसेर चेस खेलेजस्तो र टेबलमा राखेर क्यारेमबोर्डको गोटी हानेजस्तो हैन’ यो असाध्यै चुनौतीपूर्ण छ, यस साहसिक काम सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सरोकार निकायले ध्यान दिनुपर्छ ।”

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालको हिमाल सम्पत्ती भएकाले यसको वातावरण सन्तुलन कायम राखी देश र जनताको समुन्नतिमा अधिकतम उपयोग गरिनुपर्ने धारणा राख्नुभयो ।

एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालका हिमाल पर्यटकीय गन्तब्य मात्र नभई पहिचान र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।
एनएमएका अध्यक्ष शन्तवीर लामाले पर्वतीय पर्यटन विकासमा संस्थाले खेलेको भूमिका, चुनौती र आगामी रणनीतिबारे जानकारी गराउनुभएको थियो ।

उहाँले एनएमएले वार्षिक रोयल्टी उठाउँदै आएका १२ वटा हिमालको गत भदौ मसान्तमै समयावधि सकिए पनि पर्यटन विभागले अझै नवीकरण नगरेको भन्दै यथाशीघ्र नवीकरणका लागि ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, नेकपा (माओवादी केन्द्र) का पर्यटन विभाग प्रमुख टेकबहादुर बस्नेत र पर्यटन व्यवसायीको उपस्थिति थियो । रासस

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु : पण्डित

भक्तपुर।नेकपा(एमाले)का नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गर्नुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा पूर्व सामान्य प्रशासनमन्त्री पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने बताउनुभयो ।

“हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नसके देशले १० वर्षमै विकासको फड्को मार्न सक्छ, इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुन सक्छ”, उहाँले भन्नुभयो । एक प्रसंगमा उहाँले प्रदेश राजधानी बनाउनुभन्दा पहिले व्यापक छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
वाम गठबन्धनलाई काम गर्ने मौका
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले अबको सरकारलाई काम गर्ने मौका दिनुपर्ने बताउनुभएको छ ।

राप्रपा (प्र) भक्तपुरले यहाँ आयोजना गरेको राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष एवं जिविस भक्तपुरका पूर्वसभापति सुरेन्द्रप्रताप शाहको तेस्रो स्मृतिसभामा उहाँले भन्नुभयो, “ बहुमत ल्याएसँगै अब वाम गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ, त्यो जिम्मेवारी वाम गठबन्धनले पूरा गर्छ, गर्दैन, हामी गहन रुपमा हेर्नेछौँ ।”

पूर्वाधार विकासमा ढिला सुस्ती : राजनीतिक नेतृत्वको विचार माग

काठमाडौँ। पूर्वाधार विकासमा हुने ढिला सुस्तीलगायत समस्या विकासको बाधक रहेकाले यस सम्बन्धमा राजनीतिक नेतृत्वले स्पष्ट विचार बनाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको यातायात पूर्वाधारमा नीति विषयक सम्वाद कार्यक्रमका वक्ताहरुले राजनीति सबैलाई डो¥याउने मियो भएकाले पूर्वाधार विकासमा आइपरेका समस्या समाधान गर्ने सोच अघि सार्न विज्ञहरुले माग गर्नुभयो ।

सडक, पुललगायत पूर्वाधार विकासका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सांसद गगनकुमार थापाले सडक विस्तार भएसँगै सवारी साधन थपिने क्रम पनि बढेकाले अहिलेकै पद्धतिबाट उपत्यका व्यवस्थित गर्न नसकिने बताउनुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सांसद रवीन्द्र अधिकारीले ठेक्का पट्टा भएर पनि २०० भन्दा बढी पक्की पुल निर्माण प्रक्रिया अवरुद्ध हुँदा पनि कुनै निर्माण व्यवसायी कालोसूचीमा नपर्ने पद्धति विकासको बाधक रहेको धारणा राख्नुभयो ।

उपत्यकाका सडकको ट्राफिक लाइट, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायत पूर्वाधारका काम लामो समयदेखि अवरुद्ध हुँदा पनि समस्या समाधान हुन नसकेको सांसद अधिकारीको भनाइ थियो ।

आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले राम्रो काम गर्नेलाई पुरस्कार र तोकिएको काम समयमा नगर्नेलाई दण्ड नदिएसम्म पूर्वाधार विकासले गति लिन नसक्ने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अन्तर कार्यालय समन्वय नहुँदा उपत्यकामा सडक बिस्तारको कामले गति लिन नसकेको गुनासो गर्नुभयो । “सडक बिस्तारमा धेरै निकाय संलग्न हुँदा समन्वयमा समस्या भएको छ, एउटै अधिकार सम्पन्न कार्यालय स्थापना गरेर जिम्मेवारी दिनुपर्छ”–उहाँले भन्नुभयो ।

पूर्वसचिव रामेश्वर खनालले शहरका सडकको विस्तार एवं स्तरोन्नतिका लागि शहरी सडक विभागको आवश्यकता रहेको बताउनुभयो ।

भलिबल प्रतियोगिता सुरु

भक्तपुर। भक्तपुर दरबार क्षेत्रमा रहेको श्रीपद्म माविको ९४ औँ तथा कलेजको आठौँ वार्षिकोत्सवको अवसरमा आजदेखि जिल्लाव्यापी पाँचौं पद्मा कप भलिवल प्रतियोगिता सुरु भएको छ ।

भलिबल खेलको विकास गर्न तथा विद्यार्थीहरूको स्वास्थ्य तन्दुरुस्त बनाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाका सात विद्यालयको सहभागिता रहेको विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिनुभयो ।

सहभागी विद्यालयहरूमध्ये आयोजक श्रीपद्मा, अरनिको मावि, आदर्श ज्योति(एजे), स्प्रिङ्डेल, सैनिक आवासीय मावि, विद्यार्थी निकेतन मावि र ख्वप मावि रहेकोमा आजको पहिलो खेल आयोजक श्रीपद्य उमावि र अरनिको माविबीच प्रतिष्पर्धा भएको थियो ।

पहिलो दोस्रो र तेस्रो चरण गरी तिन दिनसम्म लगातार हुने खेलमा समूह (क) मा श्री पद्म मावि, अरनिको मावि, एजे इ स्कुल, स्प्रिङ्गडेल मावि र समूह (ख) मा सैनिक आमावि, ख्वप मावि, विद्यार्थी निकेतन मावि रहेका छन् ।

सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचारः प्रमुख आयुक्त बस्न्यात

बर्दिवास ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताउनुभएको छ ।

महोत्तरीे बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – “भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको छ । ”

प्रमुख आयुक्त बस्न्यातले आयोगले आफ्नो तहबाट भ्रष्टाचारविरुद्ध अभियान चालेको बताउँदै भ्रष्टाचारका बिषय सबै क्षेत्रको साझा प्रयत्नले मात्र निर्मूल गर्न सक्ने भएकाले यसमा आम चासो बढाउन आवश्यक छ भन्नुभयो ।

आयोगले भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि र तत्काल कारबाही बढाउन सजिलो होस् भनेर मुलुकका विभिन्न ठाउँमा कार्यालय स्थापना गर्ने अभियानका क्रममा बर्दिवासमा नयाँ प्रशासनिक भवन बनाउन लागिएको कार्यक्रममा जानकारी गराइयो ।

बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित १३ कठ्ठा आठधुर क्षेत्रफलमा रु १३ करोड ९० लाख ६४ हजार १२७ को लागतमा सो भवनको निर्माण कार्य शुरु गरिएको बर्दिवासस्थित आयोगको कार्यालयले जनाएको छ ।

सुरक्षाकर्मी आवासका लागि एउटा तीन तल्ले र प्रशासनिक भवनका लागि अर्को दुई तल्ले भवन निर्माण हुनेछ । दुवै भवनमा गरी २० कोठा हुनेछन् । रासस

‘राजा वीरेन्द्र राष्ट्रवादी नेता’

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रले मुलुक र जनताको हितमा योगदान गरेका कारण उहाँलाई राष्ट्रवादी नेताका रुपमा सदैव नयाँ पुस्ताले सम्मान गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँको ७३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘श्री ५ वीरेन्द्र एक बहुआयामिक व्यक्तित्व’ विषयको गोष्ठीमा सहभागी वक्ताले उहाँ कुशल नेतृत्वकर्ताका साथै राजनीतिक विश्लेषक भएको बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजा वीरेन्द्रले मुलुकका सबै क्षेत्रमा सन्तुलित विकास गर्ने उद्देश्यले पाँच विकास क्षेत्रको अवधारणा ल्याएको स्मरण गर्दै उनलाई आफूले देश र जनतालाई माया गर्ने अभिभावकका रुपमा आफूले पाएको विचार व्यक्त गर्नुभयो ।

पार्टी अध्यक्ष कमल थापाले नेपालको भौगोलिक अवस्थालाई बुझेर यहाँ हुन सक्ने हस्तक्षेपलाई रोक्न शान्ति क्षेत्र बनाउनका लागि प्रस्ताव प्रस्तुत गरेर दूरदर्शिता देखाएको बताउनुभयो । उहाँले विगतका कमजोरीमाथि समीक्षा गरी विभिन्न पार्टीमा विभाजित राप्रपालाई अब एकताबद्ध बनाएर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले विसं २०४६ मा भएको जनआन्दोलन दबाउनका लागि दक्षिणबाट आएका राष्ट्रघाती सन्धिका प्रस्तावलाई अस्वीकार गरेर राजा वीरेन्द्रले जनतालाई अधिकारसम्पन्न बनाउन योगदान गरेको बताउनुभयो । पूर्वमन्त्री रमेशनाथ पाण्डेले मुलुकमा नयाँ शिक्षा नीति कार्यान्वयनका लागि राजा वीरेन्द्रले देखाएको अग्रसरताको सराहना गर्दै उनले विशेषगरी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरेर मुलुकको अस्तित्वलाई संरक्षण गरेको विचार व्यक्त गर्नुभयो । विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परी वीरेन्द्रसहित उनका परिवारको निधन भएको थियो । रासस

Wednesday, December 27, 2017

जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको छ : नेता नेपाल

काठमाडौँ। नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको आरोप लगाउनुभएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो –“जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा काँग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको छ ।”

नेता नेपालले नेपालको संविधान संसारकै गर्भ गर्न लायक रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

जनताको अधिकार सुनिश्चित गर्न वाम गठबन्धन कहिलै पछि नहटेको चर्चा गर्दै उहाँले “कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन्,” भन्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अब इमान्दारिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर राज्य सञ्चालन गरिने बताउँदै योग्य मान्छेलाई जिम्मेवारी दिइने व्यवस्था गरी विकास निर्माणको अध्याय शुरु गरिने धारणा व्यक्त गर्नुभयो ।

“इमान्दारीपूर्वक काम गर्ने हो भने समृद्धि र विकास टाढा छैन”, उहाँले भन्नुभयो । नेता नेपालले आफ्नो पार्टी र नेकपा (एमाले)का बीच एकता हुनेमा आशङ्का नगर्न आग्रह पनि गर्नुभयो ।

परम्परागत शैलीका निर्माण बलियो हुन्छ : पुरातत्व विभाग

काठमाडौँ। पुरातत्व विभागले कंक्रिटबाट निर्माण गरिएको पुरातात्विक वस्तुभन्दा परम्परागत सामग्रीबाट निर्माण भएको मठ, मन्दिर तथा भवन बढी टिकाउ र बलियो हुने जनाएको छ ।

कंक्रिटबाट भवन निर्माण गर्ने प्रचलन विश्वव्यापी भएसँगै त्यसको असरका रुपमा नेपालमा पनि कंक्रिट अथवा ढलान गरेर भवनमात्र नभई भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर तथा पुरातात्विक वस्तुको निर्माण गर्ने होड बढ्दै गएको बेला पुरातत्व विभागको उक्त धारणा बाहिर आएको हो ।

रासससँग कुरा गर्दै पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले परम्परागत शैलीबाट निर्माण भएका मन्दिर, पाटी, पौवा, बौद्ध विहार ४०० वर्षदेखि जीवित धरोहरका रुपमा रहेको देख्न सकिने प्रष्ट पार्नुभयो ।

उहाँले परम्परागत शैली तथा सामग्री प्रयोग गरी निर्माण भएका त्यस्ता मन्दिर तथा सत्तल नेपालमा बारम्बार गइरहेको शक्तिशाली भूकम्पबाट पनि केही नभएका थुप्रै उदाहरण रहेको बताउनुभयो । कुँवरले थप्नुभयो, “कंक्रिटबाट बनेको भवन पनि धेरै भत्केको हाम्रो आँखासामू धेरै उदाहरण छ ।”

परम्परागत सामग्री तथा शैली प्रयोग गरेर हाम्रा पुर्खाले छाडेर गएको अमूल्य सम्पदालाई मौलिकता नबिग्रने गरी संरक्षण गर्ने नीति विभागले लिएको उहाँले प्रष्ट पार्नुभयो ।

परम्परागत सामग्री तथा कामदार पाइन्छ कि पाइँदैन भनी जिज्ञासा राख्दा कुँवरले बज्र, इँटा, माटो, काठका सामग्री प्रशस्त पाइने तथा पुरानो बुट्टादार झ्याल, ढोका, खापा आदि प्रयोग गर्न सकिने भएकाले कुनै समस्या नभएको उहाँले जानकारी दिनुभयो ।

विसं २०७२ को भूकम्पबाट अधिराज्यभरका कूल ८०० पुरातात्त्तिवक महत्वको सम्पदामा क्षति पुगेको थियो । जसअनुसार १५० वटा सम्पदामा पूर्ण क्षति तथा बाँकीमा सामान्य क्षति भएको विभागको भनाइ छ ।

सो विभागका अनुसार ती सबै सम्पदा पुनःनिर्माण कार्य सम्पन्न गर्न छ वर्ष लाग्ने अनुमान छ । तीमध्ये हालसम्म ६५ वटा मन्दिर तथा विहार पुनःनिर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ भने १५० भन्दा बढी सम्पदाको जीर्णोद्धार कार्य जारी रहेको छ ।

चाँगुनारायण, किलेश्वर महादेव, भक्तपुरको नारायण मन्दिर, खमगेट, बद्रीनाथको जीर्णोद्धार कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै ललितपुरको योगनरेन्द्र मल्लको स्तम्भ, तलेजु मन्दिर, आगछेँ, काठमाडौँको हनुमान ढोकाको देगु तलेजु, आगछेँ पनि निर्माण कार्य सम्पन्न भइसकेको छ ।

विभागका अनुसार स्वयम्भू महाचैत्यमा रहेको अनन्तपुर र प्रतापपुर, तासी गुम्बा, शान्तिपुर पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । शान्तिपुरको निर्माण कार्य युनेस्कोको आर्थिक सहयोगमा जीर्णोद्धार भएको हो ।

त्यस्तै बौद्धनाथ, कीर्तिपुरका विभिन्न मन्दिर तथा सत्तल, गोरखाको गोरखनाथ तथा पण्डित पाटी पनि जीर्णोद्धार सम्पन्न भइसकेको छ । गोरखा दरबारको भने जीर्णोद्धार जारी रहेको बताइएको छ ।

प्रवक्ता कुँवरका अनुसार ललितपुरमा रहेको रातो मच्छिन्द्रनाथको बुंगमतीस्थित मन्दिर तथा काठमाडौँको गद्दी बैठकको जीर्णोद्धार कार्य जारी रहेको र यो दुई वर्षमा पूरा हुने लक्ष्य रहेको छ । बुंगमतीमा हाल जगको काम सम्पन्न भइसकेको छ ।

त्यस्तै भक्तपुरको बसल्ला देवी, फसी देगः, सिद्धिलक्ष्मी, हरिहर सत्तलमा जीर्णोद्धार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता कुँवरले काष्ठमण्डपको जीर्णोद्धार कार्य विवादका कारण हालसम्म शुरु हुन नसकेको, तर पनि यसको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाले गर्ने भन्ने कुरा भइरहेको जानकारी दिनुभयो । यसका लागि विभागले नक्सा ड्रइङ गरी नगरपालिकालाई पठाइसकेको छ ।

रानीपोखरीमा भइरहेको विवादमा जिज्ञासा राख्दा उहाँले पुरातत्व विभागले कंक्रिट प्रयोग गरी रानीपोखरी जीर्णोद्धार गर्न काठमाडौँ महानगरपालिकालाई स्वीकृति नदिइएको स्पष्ट पार्नुभयो ।

उहाँले नुवाकोट, दोलखा, काभ्रे, सिन्धुपाल्चोकका विभिन्न मन्दिर तथा पाटीपौवाको जीर्णोद्धार भइरहेको जानकारी दिनुभयो । प्रवक्ता कुँवरले काठमाडौँका नेवार समुदाय विशेषगरी लिच्छवी तथा मल्लकालमा विकास भएका सांस्कृतिक सम्पदा नै नेपालीको पहिचान हो भन्दै पुर्खाको यो महत्वपूर्ण सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । रासस

Tuesday, December 26, 2017

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री देउवा

चितवन। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ ।

चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभयो ।

निर्वाचनले पार्टीलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन काँग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको उहाँको भनाइ थियो । ‘‘यो निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सकारात्मक सन्देश प्रवाह भएको छ’’ प्रधानमन्त्रीले भन्नुभयो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक इतिहासमा भएका महत्वपूर्ण ऐतिहासिक उपलब्धि काँग्रेसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको छ र त्यही उपलब्धिमध्येको अहिलेको संक्रमणको अन्त्य पनि भएको उल्लेख गर्नुभयो ।

लोकतन्त्रबाटै विकास हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको भन्दै उहाँले संविधानलाई संस्थागत गरी अघि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताउनुभयो ।

काँग्रेसकै नेतृत्वमा देशमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास भएको भन्नुहुँदै उहाँले अब मुलुकले थप समृद्धिको यात्रा तय गर्नुपर्नेछ भन्नुभयो । सभापति देउवाले नेपाली काँग्रेस सरकारमा रहे पनि नरहे पनि विकासका लागि प्रतिबद्ध पार्टी हो भन्नुभयो ।

पर्यटन क्षेत्रको विकासमा सरकार प्रतिबद्ध भएर लागेकै कारण नेपालमा पर्यटकको आगमन बढ्दै गएको बताउँदै प्रधानमन्त्रीले आव २०७२÷७३ मा सात लाख १० हजार पर्यटक आगमन भएको र त्यसबाट मुलुकमा ५० करोड अमेरिकी डलर भित्रिएको जानकारी दिनुभयो । चौधौँ योजनाको अन्त्यसम्ममा वार्षिक पर्यटक आगमन १२ लाख पु¥याउने र बसाइँ १५ दिन पु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

हात्ती महोत्सवले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँले भन्दै यस्ता महोत्सवले पर्यटक आवागमनमा वृद्धि भई स्वदेशमै स्वरोजगारी सिर्जना गरी पर्यटन क्षेत्रमा संलग्न नागरिकको जीवनस्तर उकास्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण देश भएकाले पर्यटकीय क्षेत्रको विविधीकरण गर्दै नयाँ पर्यटकस्थलको पहिचान गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य उद्योगका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।

भूकम्प, बाढीका कारण सौराहाको पर्यटन व्यवसाय प्रभावित भएको भन्दै उहाँले विस्तारै सुधार हुँदै गएका अवस्थामा भएको यस कार्यक्रमले पर्यटन व्यवसायीलाई थप हौसला मिल्ने पनि उहाँले बताउनुभयो ।

गत साउनमा आएको बाढीले बगाएका गैँडालगायतका दुर्लभ वन्यजन्तुको उद्धारमा संलग्न सबैलाई प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गर्नुभयो । व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको भन्दै उहाँले नारायणगढ–मुग्लिन सडक अझै पनि सम्पन्न नभएको सुन्दा चिन्तित बनेको बताउनुभयो । आफूले पुनः सो सडक निर्माण छिटो सम्पन्न गर्न आवश्यक निर्देशन दिने पनि उहाँले बताउनुभयो ।

सो अवसरमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वी चितवनमा बाढीको समस्या रहेको भन्दै स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा तटबन्धको काम हुँदै आएको बताउनुभयो । उक्त परियोजना यसै वर्ष सम्पन्न हुने बताउँदै राज्यमन्त्री अधिकारीले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद कृष्णप्रसाद खनाल, होटल संघ नेपाल(हान)का केन्द्रीय अध्यक्ष अमरमान शाक्य, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेलगायतले बोल्नुभएको थियो ।

कार्यक्रमका अवसरमा संरक्षणमा उत्कृष्ट कार्य गरी वन र वन्यजन्तु संरक्षणमा विशेष योगदान दिने चितवन राष्ट्रिय निकुञ्जलगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यवसायीको रहेको छ ।

पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको १४औँ संस्करण आजदेखि शुरु भएको हो । क्षेत्रीय होटल संघ सौराहाले आयोजना गरेको महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्ट वाक प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती शृङ्गार प्रतियोगिता, हात्ती बार्थिङ्ग प्रतियोगिता, हात्ती पेन्टिङ प्रतियोगिता गरिने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना गरिएको महोत्सव हरेक वर्ष अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा गरिँदै आएको छ । महोत्सव सम्पन्न गर्न करिब रु ८१ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

नेपाली क्रान्ति मौलिकतासहित नयाँ चरणमा प्रवेश गरेको छ :अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजको युगान्तकारी परिवर्तन भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितका उपलब्धिको जगमा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक, आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा लाग्नु र प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु क्रान्तिकारीहरुको साझा दायित्व हो ।’

उहाँले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्र स्रोत रहनुभएको सन्देशमा उल्लेख छ ।

उहाँले क्रान्तिकारीलाई वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आग्रह गर्नुभएको छ । रासस

रानीपोखरी पुनःनिर्माण विवादबारे महानगरले पुरातत्व र प्राधिकरणसँग समन्वय गर्ने

काठमाडौँ।  आपसी विवाद चर्किएपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ ।

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कायम गर्दै पर्यटकीय आकर्षण कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि सम्बन्धित निकायसँग समन्वय गर्न लागिएको हो ।

निर्माणाधीन रानीपोखरीमा आज बिहान उपप्रमुख खड्गी अवलोकन गर्न गएको समयमा केही संस्कृतिकर्मीले पोखरीभित्र जाने मूल ढोकामा ताला लगाइएपछि निर्माण कार्यमा अवरोध पुगेको थियो । दिउँसो प्रमुख शाक्यसहित महानगरको टोली पुगी ताला तोडिएको थियो । प्रमुख र उपप्रमुख एकैसाथ अवलोकनमा जाने र समस्या समाधानबारे निकासमा पुग्ने तयारी भए पनि उहाँहरु अलगअलग पुग्दा थप समस्या देखिएको हो ।

पहिलेको भन्दा पोखरी सानो बन्न नहुने तथा त्यहाँस्थित बालगोपालेश्वर मन्दिर निर्माण कंक्रिट प्रयोग गर्न नहुने आवाज संस्कृतिकर्मीले उठाउँदै आएका छन् तर प्रमुख शाक्यले आफू पनि त्यही पक्षमा रहेको दाबी गर्नुभयो ।

प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्र्देशन दिनुभएको छ भने उपप्रमुख खड्कीले निर्माणको काम नियमविरीत भएकाले स्थगन गर्न आग्रह गर्नुभएको छ ।

“सम्पदा सबैको हो । यसको पुनःनिर्माण चाँडै सकाउन हामी लागिपरेका छौँ । आज उपप्रमुख पनि सँगै जान पाएको भए विवाद हुने थिएन, पछि मैले छलफलका लागि बोलाउँदा उहाँ आउनुभएन”–प्रमुख शाक्यले भन्नुभयो, “यस विषयलाई चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढिनेछ ।”

विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ मा राष्ट्रपतिबाट पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो ।

विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो । सम्झौताअनुसार कुल करिब रु सात करोड लागतमा पहिलो चरणको लागि गत कात्तिक मसान्तसम्ममा सकाइक्नुपर्ने सो निर्माण कार्य महानगर र ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीबीच आन्तारिक विवादका कारण ढिलाइ भएको हो ।

विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन स्थापना गरिएको इतिहासमा उल्लेख छ । रासस

इपिएल क्रिकेट–ललितपुरद्वारा पोखरा पराजित

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको योगफल बनायो । १३३ रनको विजय लक्ष्य पच्छाएको ललितपुरले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ललितपुरको यो दोस्रो जीत हो ।

यसअघि ललितपुरले काठमाडौँलाई पराजित गरेको थियो । जीतसँँगै ललितपुर प्ले अफमा पुगेको छ भने खेलमा हार ब्यहोरेको पोखराले पनि यसअघि नै प्ले अफमा पुगिसकेको छ ।

ललितपुरको जितमा जयकिसन कोल्सावाला सर्वाधिक ५६ रनको योगदान दिए । त्यसैगरी शंकर रानाले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७ तथा दीपेश भण्डारीले ८ रन जोडे । पोखराका इसरार उल्लाहले २ विकेट लिए भने शक्ति गौचन र सुसन भारीले समान एक–एक विकेट लिए ।

यता पोखराका लागि भने सुनिल धमलाले सर्वाधिक ७० रनको योगदान दिए । ६२ बल खेलेका उनले ५ छक्का र २ चौकाको मद्दतमा अविजित ७० रन जोडेका हुन् । त्यसैगरी राजेश पुलामी मगरले ३२ तथा विनोद भण्डारी १२ रन जोड्दै बाहिरिए ।

लतिपुरका दीपेश भण्डारी, ललितनारायण राजवंशी, रसिद खान र सन्दीप लामिछानेले समान १÷१ विकेट लिए । खेलको ‘म्यान अफ दी म्याच’ भने ललितपुरका जयकिसन कोल्सावाला घोषित भए ।

Monday, December 25, 2017

ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

मनाङ- माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी ।

यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन् ।

लमजुङ सदरमुकाम बेँसीशहरदेखि मनाङसम्म पुग्ने सडकको स्तरोन्नति हुन नसक्दा सो बाटोमा ओहोरदोहोर गर्ने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

लमजुङको खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजार, भार्ताङ, पिसाङ, माथिल्लो मनाङ र त्यसमाथिको खाङसारसम्म जिप यात्रा गर्ने सुविधा छ । बेँसीशहर–चामे ६५ किलोमिटर, चामे–माथिल्लो मनाङ ३५ किलोमिटर र माथिल्लो मनाङदेखि खाङसारसम्म करिब सात किलोमिटर सडकखण्ड गरी करिब १०७ किलोमिटर यात्रा निकै जोखिमपूर्ण रहेको यात्रु बताउँछन् ।

व्यक्तिगत कामकाज, घुमफिरदेखि व्यापार–व्यवसाय गर्ने, सरकारी तथा गैरसरकारी निकाय र विद्यालयका शिक्षक, कर्मचारी यस सडकका नियमित यात्रु हुन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले निकै जोखिमपूर्ण छ भने अग्लो भिर, ससाना मोड, ग्रेडिङ नमिलेको र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको लोकप्रिय मावि चामेका शिक्षक सुरेश थापा बताउनुहुन्छ ।

लमजुङतर्फका ताघृङ, स्याँगे, अर्खले, च्याम्चे र जगतखण्ड र मनाङतर्फका तालबजार आसपास, म्यार्दीभिर, तिमाङ छहरा, तिमाङभिर, भार्ताङ–स्वर्गद्वारी खण्डका सडकमा उच्च जोखिमयुक्त ‘प्वाइन्ट’ भएको डिभिजन सडक कार्यालय दमौलीका इञ्जिनियर गौतम श्रेष्ठ बताउनुहुन्छ ।

सडकखण्डका अप्ठ्यारा केही ठाउँमा कंक्रिट गरिएको र कतिपय स्थानमा ढुंगा ‘सोलिङ’ गरेर सजिलो बनाइएको उहाँ बताउनुहुन्छ । ठूला सवारी गुडाउन निकै असहज हुने भएकाले सो सडकमा मुख्य गरी जिप नै चल्ने गर्दछन् ।

नेपाली सेनाको सडक निर्माण कार्यदल गणले ट्रयाक खुलाएपछि २०६९ सालदेखि सो सडकमा गाडी गुडाइएको भए पनि सडक कतै निकै साँघुरो, कतै छङ्गाछुर भिर त कतै पहरो कोपेर बनाइएको सानो गल्छी र उकालोजस्ता अनेकौँ अप्ठ्यारा भएकाले सो सडकको यात्रा निकै जोखिमपूर्ण रहेको जिप चालक टीकाराम नेपाली बताउँछन् ।

तत्कालीन नेपाली सेनाको सडक निर्माण कार्यदलले २०६९ सालमा निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय, दमौलीलाई हस्तान्तरण गरेको हो । त्यसयता सो सडकको स्तरोन्नति हुन नसक्दा विशेष गरी मनाङका स्थानीयवासी निकै निराश बनेका छन् ।

लमजुङ–मनाङ सडकमा दैनिक कम्तीमा ७० वटा जिप गुड्ने गरेका मस्र्याङ्दी यातायात एण्ड ट्रान्सपोर्ट कम्पनीका कार्यालय प्रमुख जिबी घिमिरे बताउनुहुन्छ । राजमार्गमा गुड्ने ठूलो बस गुड्न नसक्ने भएकाले सो सडकमा साना सवारीसाधनले यात्रु तथा सामान ढुवानी गर्दै आएको उहाँले बताउनुभयो ।

आफ्नो कम्पनीमा बोलेरो जिप ७० वटा, एलएक्स र एक्सएलएक्स १० वटा गरी कुल ८० थान सवारीसाधन दर्तामा रहेको घिमिरे बताउनुहुन्छ । नियमित गुडाउने चालकबाहेक बाहिरबाट आउने चालकले सो सडकमा सवारी गुडाउन निकै जोखिम ठान्ने भएकाले पनि सोही रुटका सवारीबाट नै यात्रु आवतजावत गर्ने गरेको चालक यामबहादुर गुरुङ बताउँछन् ।

ठाउँठाउँमा रहेका मोडलाई फराकिलो बनाउने, खोला, खोल्सीमा आवश्यकताअनुसार कजवे, कल्भर्ट र पुल निर्माण गर्नुपर्ने, ग्रेडिङ मिलाउने र आवश्यकताअनुरुप केही स्थानमा फराकिलो बनाउनेजस्ता कार्य गरेमा सडक सुविधाजनक र जोखिममुक्त हुने भएकाले सडक विभागले ध्यान दिनुपर्ने मनाङको तालका बासिन्दा राजन गुरुङ बताउनुहुन्छ ।

लमजुङ–मनाङ सडकखण्डमा हालसम्म एक दर्जन सवारी दुर्घटना भएकोमा छ जना यात्रुले ज्यान गुमाएको पनि मनाङ प्रहरीले जनाएको छ । नवीन लामछिाने

महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

पोखरा। पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्पm पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी भएका छन् ।

प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको दुवैतर्पm प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

पुरुषतर्प पूर्वाञ्चल र नेपाल आर्मीबीच शुभारम्भ खेल भएको थियो । रासस

सरकार गठनभन्दा पहिले पार्टी एकता :मन्त्री पोखरेल

विराटनगर। बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पार्नुभयो ।

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उहाँले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गर्नुभयो । निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने माग गर्नुभयो ।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उहाँले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिनुभयो ।

मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उहाँले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको पनि उहाँले बताउनुभयो । रासस

एकताको पक्षमा वामपन्थीलाई जनादेश प्राप्त : नेता श्रेष्ठ

गोरखा।नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।

निर्वाचनमा गोरखा–२ मा पराजित भएपछि निर्वाचनको समीक्षा गर्न आज गोरखा आउनुभएका श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनमा वाम गठबन्धनलाई प्राप्त जनादेशभित्र वाम आदेश पनि छ । पार्टी एकताको वाम आदेश । पार्टी एकतालाई छिटोभन्दा छिटो घोषणा गर्ने र एकीकृत पार्टी बन्ने प्रतिबद्धता हाम्रो छ ।”

सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता भएमा राम्रो हुने भन्दै श्रेष्ठले एकीकृत पार्टीले सञ्चालन गरेको सरकार स्थिर हुने र समृद्धिका लागि काम गर्न सकिने बताउनुभयो । श्रेष्ठले गोरखा क्षेत्र नं २ मा जनताको चयनमा यसपटक माओवादी नपरेको भन्दै मतपरिणामलाई सहज र स्वाभाविक रुपमा लिएको बताउनुभयो । चुनाव हारे पनि ‘समृद्ध गोरखा र खुसी गोरखाली अभियान’ जारी रहने उहाँको भनाइ थियो ।

कुनै पनि ढंगले जनताको जनादेशलाई अपमानित गर्ने, उपेक्षा गर्ने, सरकार गठन गर्ने प्रक्रियालाई अवरुद्ध गर्न नहुनेमा सचेत गराउँदै नेता श्रेष्ठले वामपन्थीलाई देशभरबाट प्राप्त जनादेश, जनमत भनेको पार्टी एकता गर्नुपर्छ भन्ने रहेको प्रष्ट्याउनुभयो । काँग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश प्राप्त भएको उहाँको भनाइ थियो ।

जिल्ला अस्पतालबाट सेवाग्राहीले प्रभावकारी सेवा पाएनन्

कपिलवस्तु। सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा स्थापित गरे पनि सोअनुसार यहाँका नागरिकले सेवा सुविधा पाउन सकेका छैनन् ।

जिल्ला अस्पतालबाट ७० बढी प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी घोषणा भए पनि जिल्ला अस्पतालमा भने ३० प्रकारका भन्दा बढी औषधि बिरामीले पाउँदैनन् ।

जिल्ला अस्पतालको व्यवस्थापन प्रभावकारी हुन नसक्दा आफूहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको कपिलवस्तु नगरपालिका वडा नं २ का रामप्रसाद लम्सालले बताउनुभयो । अस्पतालमा आउने बिरामी त स्वास्थ्य सेवा प्रभावकारी भएन भनेर आक्रोशित छँदैछन् ।

तर अस्पतालमा कार्यरत कर्मचारी पनि स्वास्थ्य उपचारका लागि आवश्यक उपकरणको अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको आकष्मिक वार्डका कर्मचारी शैलेन्द्र गुप्ताले बताउनुभयो । इमर्जेन्सी टिकटसमेत नहुँदा ओपिडी टिकटबाट इमर्जेन्सी वार्डमा काम चलाउँदै आएको सो वार्डका एक स्वास्थ्यकर्मीले बताए । यसैगरी एक्सरे वार्डमा सहयोगी कर्मचारी नहुँदा एक्सरे गर्न समस्या भइरहेको डार्क रुम अधिकृत भोजराज रेग्मीले बताउनुभयो ।

क्षेत्र र केन्द्रबाटै औषधि नआएका कारण निःशुल्क औषधि वितरणमा केही समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । निःशुल्क औषधि वितरणका लागि स्टोरमा औषधि अभाव भएपछि आफूहरुले पटकपटक क्षेत्र र केन्द्रमा यसका लागि पहल गर्दै आएको जिल्ला अस्पतालका स्टोरकिपर विजय चौधरीले बताउनुभयो ।

गुल्मीमा होमस्टे महोत्सव

गुल्मी। मुसिकोट नगरपालिका– ६ कुर्घामा ‘होमस्टे महोत्सव’ शुरु भएको छ ।

कुर्घा स्वाँरामा गुरुङ समुदायले होमस्टे महोत्सवको आयोजना गरेको उद्योग वाणिज्य संघका सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिनुभयो । होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

समुद्री सतहदेखि एक हजार ५२० मिटरको उचाइमा रहेको उक्त स्थानमा गुरुङहरुको मात्र बस्ती रहेको छ । हाल ३२ वटा घरधुरी रहेको सो बस्ती पुराना शैलीमा निर्माण गरिएको छ । गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत र सांस्कृतिक झलक, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति महोत्सवका मुख्य आकर्षण रहनेछ ।

महोत्सवमा स्थानीयस्तरमै उत्पादित खानाका विभिन्न परिकारहरु जस्तै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, कुरिलो, आलु, पिँडालु, गाउँमै उत्पादन गरेको कोदोको रक्सी, लोकल कुखुरा, खसी, फापर, मकै, भटमास, गहुँको ढिँडोलगायत उपलब्ध हुने होमस्टे सञ्चालक धनकुमारी गुरुङ बताउनुहुन्छ । महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।रासस

सशस्त्रका २० गोताखोरलाई निःशुल्क दुर्घटना बीमा

काठमाडौं। सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ ।

विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा उनीहरुको निःशुल्क बीमा गरेको हो ।

तालीम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा प्रणव सेनले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले देश र जनताको सेवालाई मूलमन्त्र सम्झिएर संगठन विपद् व्यवस्थापनलगायत प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट पूरा गर्न अनवरतरुपमा क्रियाशील रहेको सन्दर्भमा बीमाले थप उत्साह बढाउने बताउनुभयो ।

बलका अधिकृत तथा जवानले बंगलादेशबाट गोताखोर तालीम हासिल गरेका छन् । विपद् व्यवस्थापनको कार्य एकल प्रयासमा मात्रै सम्भव नहुने कुरालाई हृदयंगम गर्दै संगठनले सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै दायित्व निर्वाह गरिरहेको चर्चा गर्दै गोताखोरलाई इन्स्योरेन्स कम्पनीले गरेको निःशुल्क बीमा कार्यक्रमबाट सशस्त्र प्रहरी कर्मचारीको हौसला अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

जोखिमयुक्त मात्र नभएर हरेक कार्यका लागि बीमा कार्यक्रम महत्वपूर्ण रहेको चर्चा गर्दै डा सेनले व्यक्तिगतरुपमा समेत बीमा जरुरी रहको बताउनुभयो । सो कम्पनीले बलका २० जनालाई प्रतिव्यक्ति रु दुई लाखका दरले निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरेको हो ।

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

त्यस्तै एक खेलमात्र जितेको काठमाडौँ प्रतियोगिताबाट बाहिरियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौँलाई १४८ रनको चुनौती दिएको थियो । जवाफमा काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।

विराटनगरले भने २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे ।

काठमाडौँका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २÷२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १÷१ विकेट झारे ।

यता काठमाडौँका लागि भने कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी नरेश बुढाऐर ३०, शुरुवाती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे ।

विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २÷२ विकेट लिए । त्यस्तै करन केसी र पारस खड्काले १÷१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए । उपाधिसहित उनले रु १० हजार प्राप्त गरे । रासस

अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्छ : नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गर्नुभएको छ ।

संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुनेमा जोड दिंदै उहाँले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

पूर्व प्रधानमन्त्री नेपाले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै उहाँले राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

दुनियाँको जुनसुकै शक्ति लागे पनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने चर्चा गर्दै नेता नेपालले एउटै कम्युनिष्ट केन्द्रले मुलुकको विकास गर्ने भएकाले दुवै पार्टीका कार्यकर्तालाई बहकाउ र भ्रममा नपर्न आग्रह गर्नुभयो । रासस

Sunday, December 24, 2017

‘प्रगतिका आधारमा नगरपालिकालाई वर्गीकरण गरिनुपर्छ’

काठमाडौँ । चालू आर्थिक वर्षको प्रथम चार महिनामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३.५४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।
मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७४÷२०७५ को प्रथम चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो जानकारी गराइएको हो । यो अवधिमा चालू खर्च भने १५.२ प्रतिशत भएको छ ।
कार्यक्रममा राज्यमन्त्री जनकराज चौधरीले लगातारको निर्वाचन र प्रशासनिक संक्रमणकालका कारण पहिलो चार महिनामा विकास बजेट कम मात्रै खर्च भएको बताउनुभयो ।
“बाँकी समयमा विकास बजेट खर्च हुनुपर्छ, बजेट मात्र खर्च गर्ने होइन विकास निर्माणका काम गुणस्तरीय रुपमा गरिनुपर्छ” – उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठले आर्थिक वर्षको पहिलो चार महिनामा ३.५४ प्रतिशत मात्र विकास बजेट खर्च हुनुले पूर्वाधार विकासको अवस्था दयनीय रहेको दर्शाउने बताउनुभयो ।
“प्रगति जनताको सन्तुष्टिमा मापन गरिनुपर्छ, कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र शहरी विकासलाई प्राथमिकता दिएर विकास निर्माणका काम हुनुपर्छ, पूर्वाधार एवम् विकास निर्माणमा भएको प्रगतिका आधारमा २९३ नगरपालिकालाई वर्गीकरण गरिनुपर्छ” – उहाँले भन्नुभयो ।
आयोगले चालू आर्थिक वर्षमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको सदस्य श्रेष्ठले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा ७.९ प्रतिशत वृद्धिको लक्ष्य राखिएको पनि सो अवसरमा जानकारी गराइयो ।
सचिव दिनेशकुमार थपलियाले ७५३ स्थानीय तहमा गएको रु दुई खर्ब २५ अर्ब बजेटको प्रगति मन्त्रालयले पेश गर्न नसक्ने बताउनुभयो ।
“कूल ७५३ स्थानीय तहमध्ये ४७ मा अझै सडक सञ्जाल पुगेको छैन, दुई वर्षमा सबै स्थानीय तहका केन्द्रमा यातायात पु¥याउने मन्त्रालयको लक्ष्य छ”–उहाँले भन्नुभयो ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले स्थानीय स्तरमा पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षको चार महिना बितिसक्दा पनि बजेट प्राप्त नभएको गुनासो गर्नुभयो ।

राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकता : महरा

दाङ।नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताउनुभएको छ ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङको आयोजनामा आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्मान कार्यक्रममा उहाँले सकारात्मक सोचबाट गरिएको सानै कामले पनि समुन्नत समाज निर्माण गर्ने अभियानलाई सार्थक बनाउन मद्दत पु¥याउने विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका उम्मेदवार रहेका बखत सबैबाट आशीर्वाद र सहयोग प्राप्त भई आफूले विजय हासिल गर्न सकेको बताउँदै उहाँले भन्नुभयो, “विश्वस्तरमा आफ्नो पहिचान बनाउन सफल ब्रह्मकुमारी संस्थाले समाज रुपान्तरणका लागि समाजका हरेक क्षेत्र, वर्ग, पेशा व्यवसायका मानिसलाई निःस्वार्थ रुपले सेवा गरिरहेको हुँदा संस्थाको विकासमा आफू सदैव लागिरहने छु ।”

राजयोगिनी ब्रह्मकुमारी गीता दिदीले आहार, विचार र चरित्रमा सुधारको आवश्यकता बोध नगर्दा समाज विखण्डन र दूषित मानसिकताबाट शिकार भइरहेको बताउनुभयो । रासस

तल्लो मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने

फलेवास। पर्वतको कुश्मा नगरपालिका–८ मा सञ्चालित तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका शेयर धनीलाई पाँच प्रतिशत लाभांश वितरण गरिने भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । कूल पुँजीको रु पाँच करोड ७५ लाख वितरण गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजनाको हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय भएको कम्पनीका कार्यकारी निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

पर्वतमा १० मेगावाटको तल्लो मोदीबाट २०६९ मंसिरदेखि विद्युत्को व्यापारिक उत्पादन शुरु भएको हो । साधारणसभामा आयोजनाका अध्यक्ष सुकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ वर्षमा लक्ष्यअनुसार नै आम्दानी दिएको दाबी गर्नुभयो ।

आव २०७२÷७३ मा बाढीका कारण साढे चार महिना विद्युत् आपूर्ति बन्द हुँदा सो आवको उत्पादन निकै कम भए पनि आयोजनाले बीमा गरेकाले ठूलो क्षति व्यहोर्नु नपरेको बताइएको छ । उक्त आवमा आयोजनाले बीमाबापत रु १९ करोड सात लाख पाएको थियो ।

अघिल्लो आव २०७२÷७३ मा रु १४ करोड ७१ लाख आम्दानी भएको आयोजनामा गत आवबाट ७७ प्रतिशत वृद्धि भएर रु २८ करोड १४ लाख आम्दानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा रु एक करोड ३५ लाख ६४ हजार खुद नाफा गरेको कम्पनीले गएको आवमा रु चार करोड ८८ लाख ४८ हजार खुद नाफा कमाएको थियो ।

चालू आवको पहिलो तीन महिनासम्म कम्पनीले रु चार करोड १८ लाख ८१ हजार खुद नाफा कमाएको छ । कम्पनीले समीक्षा अवधिमा रु नौ करोड ७१ लाख ३३ हजारको विद्युत् बिक्री गरेको जानकारी दिएको छ ।

उक्त कम्पनीले निकट भविष्यमै तल्लो मोदी–२ सञ्चालन गर्ने योजनासमेत अघि सारेको छ । अहिलेको आयोजनाभन्दा तल तल्लो मोदी–२ निर्माण गर्ने र यसका लागि जग्गा अधिग्रहणलगायतका काम भइरहेको कार्यकारी निर्देशक गौतमले जानकारी दिनुभयो ।

जलजलामा अवैध ढुंगाखानी सञ्चालन

उत्तरी पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा अवैधरूपले ढुंगाखानी सञ्चालन गरिएका छन् ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार साविक माझफाँट, लेखफाँट र बाँसखर्क गाविसमा एक दर्जनभन्दा बढी ढुंगाखानी अवैधरूपले सञ्चालन गरिएका हुन् । बाँसखर्क गाविसको वडा नं १ र ८ तथा माझफाँट गाविसको वडा नं ९ मा निजी जमिन र सार्वजनिक चौर तथा वन क्षेत्रमा समेत अवैधरूपले ढुंगाखानी सञ्चालन भएका र यस्ता ढुंगाखानीका कारण भू्क्षय र पहिरोको जोखिमसमेत बढ्दै गएको छ ।

खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग, वन कार्यालय र भू–संरक्षण कार्यालयबाट अनुमति लिनुपर्छ । अहिलेसम्म सञ्चालित कुनै पनि खानीले अनुमति लिने र जिल्ला समन्वय समितिमा कर बुझाउने काम समेत नगरेको अध्यक्ष मल्लले बताउनुभयो ।

अनुमति नलिइकन चलेका खानी बन्द गर्न पटक पटक ताकेता गर्दासमेत कुनै सुनुवाइ गरेका छैनन । “कानूनी प्रक्रिया पूरा गर्ने र राजश्व बुझाउन धेरैपटक भनेका थियौँ, जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माले भन्नुभयो, “उल्टै अनुमति नलिइकन पर्यावरणीय जोखिम बढाएर खानी सञ्चालन भइरहेका छन् ।”

ढुंगा उत्खनन गर्न अनुमति नलिएका यस्ता खानी सञ्चालकले ढुंगा कटिङ गर्नका लागि घरेलु तथा साना उद्योग विकास समितिबाट समेत अनुमति नलिएको स्थानीयवासीले जानकारी दिए ।

माझफाँटमा भने निजी जमिनमा खानी सञ्चालक धेरै छन् । दुई वर्षदेखि माझफाँटमा खानी सञ्चालन गर्दै आएका तेजबहादुर खत्रीले निजी जमिनमा खानी सञ्चालन गर्न पाउनुपर्ने बताउनुभयो । “आफ्नो जमिनमा पनि अनुमति लिनुपर्छ भन्ने नै थाहा छैन”, उहाँले भन्नुभयो, “अनुमति लिने प्रक्रियाका बारेमा जानकारी भए अनुमति लिएरै सञ्चालन गर्ने र्छौं ।”

भिरालो र पुरानो पहिरोमा खानी उत्खनन गरिएकाले त्यसले केही समयपछि पहिरोको प्रकोप बढ्दा त्यसबाट प्रसिद्ध धार्मिकस्थल गलेश्वर र म्याग्दीको सदरमुकाम बेनीबजारसम्म असर पार्ने देखिएको छ । बाँसखर्क लेखफाँट र माझफाँटमा निकालिएको ढुंगाको पोखरामा माग बढेपछि तीन वर्षयता खानी सञ्चालन गर्ने क्रम बढेको छ । पोखरामा घर सजाउन यस्ता ढुंगाको माग बढेपछि धमाधम नयाँ खानी सञ्चालन बढेका हुन् ।

त्यस्ता ढुङ्गाखानीको नियन्त्रणका लागि गाउँपालिकाले वडा नं ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवि)को संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । सो समितिलाई सबै वडामा रहेका ढुङ्गा खानीको अध्ययन अनुगमन गरी प्रतिवेदन पेश गर्ने अधिकार दिएको छ ।

दर्ता नगरी, वातावरणलाई असर पार्ने गरी अव्यवस्थितरुपमा ढुङ्गाखानी उत्खनन भएको पाइएपछि त्यसलाई नियमन र व्यवस्थित गर्न गाउँपालिकाले पहल थालेको हो ।

फलेवास नगरपालिकाद्वारा सडक आसपास संरचना निर्माणमा रोक 

पर्वतको फलेवास नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सडकको मापदण्ड तयार गर्ने भएको छ ।

नगरपालिकाले व्यवस्थित नगर बनाउने अभियानअनुरुप दुई हप्ताभित्र मापदण्ड तयार गर्न लागेको हो । सडक मापदण्ड तयार नभएसम्म संरचना निर्माण कार्यसमेत रोक लगाइएको छ ।

फलेवास नगरोन्मुख क्षेत्र भएकाले नयाँ बस्ती विकास गर्न पनि सडकको मापदण्ड तोक्न लागिएको कार्यकारी अधिकृत मोतीराम सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले हरेक सडक कम्तीमा दुई वटा सवारी साधन सहजरुपमा आवतजावत गर्न सक्ने गरी मापदण्ड तोकिने उल्लेख गर्दै उहाँले दीर्घकालीनरुपमा सडक साँघुरो नहोस् भनेर अहिले नै मापदण्ड तोकेर सोहीअनुसार संरचना बनाउन अनुमति दिन लागेका हौँ भन्नुभयो ।

नगरपालिकाले पुसको तेस्रो हप्तासम्म मापदण्ड तयार गरिसक्ने लक्ष्य लिएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो । मापदण्ड तयार गर्न नगरपालिकाको प्राविधिक शाखाका इन्जिनियर र ओभरसियर खटिएका छन् । ५० वर्षपछिको फलेवासको आवश्यकतालाई हेरेर नगरभित्रका सडकको मापदण्ड तोकिने प्रमुख शर्माले बताउनुभयो । “अहिले थोरै मापदण्ड राख्दा भोलि समस्या नहोस् भनेर नयाँ बन्ने शहर भएकाले सोहीअनुसारको मापदण्ड तयार हुन्छ”, उहाँले भन्नुभयो, “अहिले कसैलाई मर्का परे पनि समृद्ध फलेवास नगर बनाउने अभियानलाई यसले सहयोग पु¥याउँछ ।”

फलेवास नगरपालिकाभित्र अहिलेसम्म झण्डै ३०० किमी कच्ची सडक बनिसकेको छ । कालीगण्डकी लोकमार्गमा पर्ने मुडिकुवादेखि पाङ्राङसम्मको सडक राष्ट्रिय राजमार्गको मापदण्डअनुसार राखिने भएको छ भने जैमिनुघाटदेखि खानीगाउँ, थापाठाना हुँदै कार्कीनेटा जोडिने सडकको मापदण्ड पनि राष्ट्रिय राजमार्गको मापदण्डअनुसार नै तयार गर्ने योजना नगरपालिकाको छ । यसबाहेक सडक विभागले तोकेको मापदण्डका आधारमा भित्री र अन्य सडकको पनि मापदण्ड तयार हुने भएको छ ।

ॐशान्ति संग्रहालय

मलेखु। ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धादिङमा ॐशान्ति संग्रहालय स्थापना गरिएको छ ।
धादिङ्बेंसीस्थित ॐशान्ति टोलमा रहेको सुविधासम्पन्न भवनमा संग्रहालय, वाचनालय तथा अन्य कोठासमेत छन् । संग्रहालयमा स्वर्गको परिदृश्य, सुखशान्तिको भाव, योग साधना र यसबाट हुने फाइदा आदि कलात्मक रुपमा देखाइएको छ । शनिबार जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल र सेवा केन्द्र नेपालका प्रमुख राजदिदीले भवन उद्घाटन गर्नुभएको थियो । रासस

४ नं प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ माघमा

बागलुङ। प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ ।

बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

नगरपालिका आफँैले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिनका लागि ४ नं प्रदेशका सबै नगरपालिकालाई आह्वान गरिएको छ । “खेलकुद विकासलाई प्राथमिकतामा राखेर प्रतियोगिता राखेका हौँ”, नगरपालिका प्रमुख जनकराज पौडेलले भन्नुभयो । “खेलाडी र समग्र खेलजगत्लाई प्रतियोगिताले उत्प्रेरित गर्ने हामीले विश्वास लिएको छ ।”

प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै सेमिफाइनलमा पुग्ने समूहलाई दैनिक भत्तासमेत व्यवस्था गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघले सहयोगी भूमिका खेल्नेछन् । प्रतियोगितामा ४ नं प्रदेशका १२ भन्दा बढी नगरपालिकाबाट खेलाडी सहभागी गराउने लक्ष्य लिइएको छ । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts