गायक रोशन श्रेष्ठको आवाजमा रहेको “तिमी नै तिमी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ । पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् । प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री लोभलाग्दो देखिन्छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने निशान घिमिरेले काटेका हुन । यसअघि यो मन रम्दैछ, कहाँ समय र सोचि हेर लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक रोशन श्रेष्ठले प्रेम महिना पारेर “तिमी नै तिमी” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको बताए । प्राय सधै रोमान्टिक गीतहरु दर्शक, स्रोतामाझ ल्याउने गायक श्रेष्ठले यो पटक पनि भ्यालेनटाइन महिनालाई लक्षित गर्दै प्रेमको स्वाद मिसिएको “तिमी नै तिमी” गीत सार्वजनिक गरेका हुन ।
Tuesday, January 31, 2017
वेनिशाले भेटिन् माया गर्ने मान्छे (भिडियो)
सडक दुर्घटनामा सयभन्दा बढीको मृत्यु
बाँके, १८ माघ । मध्यपश्चिमाञ्चलमा सडक दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन् ।
आव २०७२÷७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा पुरुषको सङ्ख्या बढी छ । सो कार्यालयका अनुसार सडक विस्तारसँगै मुख्य रुपमा चालकको लापर्बाहीले गर्दा नै सडक दुर्घटना हुने गरेको छ ।
चालकले मापसे गरेर सवारी साधन चलाउने र धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यस्तै ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटना परेका छन् । रासस
No related posts.
सार्क कार्यक्रम समिति बैठक बुधबार
काठमाडौँ, १८ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार यहाँ हुँदैछ ।
सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र। विदेश÷बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन् ।
गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले राससलाई बताउनुभयो ।
पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो । रासस
No related posts.
एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला
बर्दिया, १८ माघ । कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् ।
कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न बाँकी रहेको बताइएको छ । तीमध्ये नौ जना बालबालिका रहेको कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा अब कुष्ठरोगको औषधि सेवन गरेकाहरुको सङ्ख्या दुई सय ४० पुगेको बताइएको छ । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला मानिन्छ । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् ।
सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको छ । कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइएको छ । रासस
No related posts.
‘दलितमाथि विभेद गर्नेलाई कडा कारबाही’
काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील भएको बताउनुभएको छ ।
राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा दलित अधिकार तथा सरकारको काम कारबाहीका विषयमा छलफल गर्दै प्रधानमन्त्रीले जात, वर्ण र लिङ्गका आधारमा गरिने विभेद र अन्याय सरकारका लागि सह्य हुँदैन भन्नुभयो ।
उहाँले दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको बताउँदै दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पारिने जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको हत्यामा संलग्नमाथि कारबाहीका लागि छानबिन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताउनुभयो ।
ती घटना छानबिनका लागि सरकारले युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ । समितिले दिने प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी प्रधानमन्त्रीले दिनुभएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक सीता नेपालीले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परियार र मिजारका हत्यारामाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन तथा दलित विकास समिति खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा दलितमाथि भएको विभेद अन्त्यका लागि कडा कानुन बनाउन सुझाव दिइएको छ । रासस
No related posts.
एकैपटक होचोबाट अग्लो स्थानसम्म यात्रा गर्दा खतरा
काठमाडौँ, १८ माघ । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पु¥याउनुहोस्, बिरामी पर्नुहोला ।
पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन् ।
हिमालय उद्धार सङ्घले सन् २०१६ मा लेक लागेका दुई हजार ७०० व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने झन्डै चार हजार जनालाई हाई अल्टिच्युडसम्बन्धी जनचेतना प्रदान गरेको छ ।
सङ्घले स्वदेशी तथा विदेशी पर्यटक एकैपटक कम उचाइ भएको स्थानबाट उच्च स्थानमा जाँदा लेक लाग्ने र बिरामी पर्ने गरेकाले स्वास्थ्य सेवा प्रदान गरेको हो ।
सङ्घका अध्यक्ष देवीबहादुर कोइरालाले पछिल्लो समय मनाङको खाङसारसम्म मोटरबाटो पुगेको र एकै दिनमा काठमाडौँदेखि मनाङसम्मको यात्रा गर्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक बिरामी हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दैनिक ५०० मिटर उचाइसम्म मात्र यात्रा गर्नुपर्छ तर एकहजार ४०० मिटर उचाइमा रहेको काठमाडौँदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको मनाङको खाङसारसम्म पुग्दा अधिकांश पर्यटक बिरामी भएका छन् ।”
धेरै मानिस बिरामी भएपछि सङ्घले मनाङमा होटल, रेस्टुराँ सञ्चालन गर्ने २२ जनालाई लेक लाग्दा कसरी मानिसलाई जोगाउने भन्नेबारेमा सोमबार तालिम प्रदान गरेको छ । सो तालिममा आन्तरिक पर्यटकलाई कसरी सुरक्षित गन्तव्यसम्म पु¥याउने भन्नेबारेमा सिकाइएको हो ।
सङ्घले हाल मनाङ, एभरेस्ट बेसक्याम्प र सोलुखुम्बुको फेरुचेमा हाइ अल्टिच्युडबाट बिरामी भएका मानिसलाई सेवा प्रदान गरेको छ भने गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा स्वास्थ्यसेवा प्रदान गर्ने गरेको छ । रासस
No related posts.
प्रहरी गाउँमा आउँदा दुःखी हुन्छन् भालेबासका महिला
पाल्पा, १८ माघ । प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् ।
पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा नै नपसिदिँदा जति खुसी हुन्छन्, त्योभन्दा धेरै गुणा दुःखी हुन्छन् गाउँमा प्रहरी पसेको मेसो पाएपछि । दोषनिर्दोष प्रहरीको होइन, गरिबीको कारण जीविकोपार्जनको हो । अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला प्रहरीदेखि सधैँ टाढा रहन चाहन्छन् ।
अवैधरुपमा घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला गाउँमा प्रहरी पस्दा आफू जोखिममा पर्ने भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने मन नगर्ने हुन् । आर्थिकरुपमा विपन्न मगर समुदायको बाहुल्य रहेको यस गाविसमा महिलाले रक्सी उत्पादन, बिक्री वितरणबाट जीविकोपार्जन गर्न खोज्दा जोखिम हुन्छ । उनीहरुलाई प्रहरीले जतिबेला पनि नियन्त्रण गर्नसक्ने भएपछि प्रहरीदेखि टाढा रहन चाहनु महिलाको बाध्यता हो ।
स्थानीय बासिन्दा प्रहरीले जतिबेला पनि आफूहरुलाई समात्न सक्ने भएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन मान्दैनन् । स्थानीय बासिन्दा शान्ति अधिकारी प्रहरीदेखि मदिरा उत्पादन गर्ने महिला बाह्रै महिना त्रसित रहेको बताउनुहुन्छ ।
रोजगारीको सम्भावना नभएपछि परिवार र बालबच्चालाई पढाइ लेखाइका लागि रक्सी बनाउन बाध्य हुनुपरेको उनीहरु बताउँछन् । खानीछाप गाविस–५, भालेबासका महिला साँझको बेला रक्सी पार्ने र रातको समयमा राम्दी क्षेत्रमा बिक्री वितरण गर्न लैजाने गरेको स्थानीय बताउँछन् ।
अधिकारीका अनुसार सरकारले अवैध मदिरा उत्पादन न्यूनीकरणतर्फ ध्यान दिन नसक्दा गाउँमा मदिरा सेवन गरी झगडा गर्ने बढेका छन् । सरकारले मदिरा उत्पादन गर्ने महिलालाई लक्षित गरी विभिन्न आयमूलक तालिम सञ्चालन गर्नुपर्ने उहाँको धारणा रहेको छ ।
राम्दी प्रहरी चौकीका प्रमुख भेषराज रेग्मी प्रहरीले गाउँ बस्ती स्तरमा पुगेर अवैध घरेलु मदिरा उत्पादन, बिक्री, वितरण कार्य सरकारले निषेध गरेकाले मदिरा उत्पादन रोक्न सचेतना कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले अवैध घरेलु मदिरा उत्पादन गर्ने महिलाले प्रहरीको नजिकै नपर्ने र सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन नमान्ने गरेको बताउनुहुन्छ ।
पटकपटक मदिरा नियन्त्रण गरी कारबाही गरेपनि अवैध मदिरा उत्पादन रोक्न नसकिएको हो । अब घरेलु मदिरा उत्पादन गर्ने महिलालाई वैधानिक रुपमा आयआर्जन गर्ने व्यवसायमा आकर्षण गर्न खोजे पनि ती महिला मदिरा उत्पादन, बिक्री वितरण गर्न नरोकिएकोमा स्थानीय बासिन्दा चिन्तित छन् ।
अवैध घरेलु मदिरा उत्पादन गर्ने कामले महिलाको स्वास्थ्यमा ठूलो असर पर्ने भएकाले यस्तो व्यवसाय नगर्न पटकपटक अनुरोध गरेको स्वास्थ्यकर्मी बताउँछन् । गाविस, महिला तथा बालबालिका कार्यालय पाल्पाले विभिन्न अभियान सञ्चालन गरेपनि यहाँका महिलामा अवैध मदिरा उत्पादन कार्य रोकिन सकेको छैन । कृष्ण दर्नाल/रासस
No related posts.
पुथा र उत्तरगङ्गा गाउँपालिका जोडिएकोमा विरोध
रुकुम, १८ माघ । स्थानीय तह पुनःसंरचना सहयोग समिति र जिल्लामा रहेका राजनीतिक दलको सहमतिअनुसार बनाएका गाउँपालिका काटिएको भन्दै पूर्वी रुकुमका तीन गाविसका स्थानीय आन्दोलित भएका छन् ।
प्राविधिक सहयोग समिति र राजनीतिक दलको सहमतिमा बनाएको पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिकालाई आयोगले एउटै गाउँपालिका बनाएपछि स्थानीय सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् ।
पूर्वी रुकुमका रन्ममैकोट, हुकाम र जाङका ८ र ९ नम्बर वडालाई मिलाएर पुथा गाउँपालिका बनाइएको थियो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिका एउटै बनाएर पुथा उत्तरगङ्गा गाउँपालिका बनाएको भन्दै सङ्घर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक समितिले बनाएको भन्दा आयोगले फरक बनाएर आफूहरुलाई अन्याय गरेको सङ्घर्ष समितिका संयोजक केशरमान रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको लागि पर्याप्त आधार हुँदाहुँदै पनि आयोगको कार्यविधि र मापदण्डविपरीत दुईवटा गाउँपालिकालाई जोडेर एउटै बनाएर ठूलो अन्याय गरेको सङ्घर्ष समितिका संयोजक रोकाको भनाइ छ ।
स्थानीय तह पुनःसंरचना आयोगले सरकारले प्रतिवेदन बुझाएसँगै यसरी दिनप्रतिदिन आन्दोलन चर्कन थालेको छ । रासस
No related posts.
Monday, January 30, 2017
बजगाईंको ‘कवच’ बेलायतमा सार्वजनिक
No related posts.
निर्वाचनलाई नै एजेन्डा बनाउन सुझाव
काठमाडाँै, १८ माघ । लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलले निर्वाचनलाई अब आन्दोलनको एजेन्डाको रुपमा अघि बढाउनुपर्ने सुझाव दिइएको छ ।
गाविस महासङ्घद्वारा सोमबार यहाँ आयोजित ‘स्थानीय लोकतन्त्र, निर्वाचन र सुशासन’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले स्थानीय निकायमा लामो समयदेखि निर्वाचन नहुँदा मुलुकमा सुशासन होइन, जनतामाथि शासन चलाउने प्रवृत्ति हाबी भएको बताउनुभयो ।
स्थानीय तहमा जनप्रतिनिधि नहुुनु, विकास निर्माणमा अति राजनीतिकरण हुनुले राज्यको नियन्त्रण प्रणाली निकै कमजोर भएको बताउँदै उहाँहरुले सुशासन भनेको जुलुस समेत काठमाडाँैमा केन्द्रित नभई विकेन्द्रीकरण हुनु हो भन्ने पक्षलाई राजनीतिक दलहरुले बुझ्न जरुरी छ भन्नुभयो ।
स्थानीय निकायमा निर्वाचन नहुँदा राजनीतिक दलका कार्यकर्ताले सहकारी, उपभोक्ता समिति र विद्यालय व्यवस्थापन समितिनै कब्जा गरेर सुशासनकै धज्जी उडाएको पाटोलाई अन्त्य गर्न पनि स्थानीय निकायको निर्वाचन अब छिटो गर्नुको विकल्प नभएको उहाँहरुले बताउनुभयो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रश्मीराज पाण्डेले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा राजनीतिक दलकै हातखुट्टा भाँचिएको जस्तो अवस्था सिर्जना भएको छ भन्नुभयो ।
जिविस महासङ्घका पूर्व सभापति कृष्णप्रसाद सापकोटाले सार्वभौमसत्ता भनेको प्रतिनिधि मात्रै हुन् कि जनता पनि हुन् भनी प्रश्न गर्दै सङ्घीयता भनेको प्रदेश र सङ्घ मात्रै होइन स्थानीय तह पनि हो भन्ने बुझ्न आवश्यक छ भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहालले स्थानीय तहमा निर्वाचन नहुँदा राजनीतिक दलका डनले शासन चलाइरहेको र त्यहाँ गएको अनुदानमा व्यापक अनियमितता हुँदै आएको बताउनुभयो ।
गाविस महासङ्घका अध्यक्ष नवराज गेलालले स्थानीय तहको निर्वाचनको लागि देशव्यापी जागरणको आवश्यकतामा जोड दिनुभयो । रासस
No related posts.
सभाहल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण
चितवन, १८ माघ । सरकारको रातो किताबमा समेत समावेश भएको सुविधायुक्त ‘सौराहा सभाहल’ निर्माणका लागि स्थानीय पर्यटन व्यवसायी तथा संरक्षणकर्मीले सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
सोमबार राजधानीस्थित सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको निवासमै पुगेर यहाँका व्यवसायी, नागरिक प्रतिनिधि तथा दलीय प्रतिनिधिको एक टोलीले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
क्षेत्रीय होटल सङ्घ, सौराहा, चितवनका अध्यक्ष सुमन घिमिरेको नेतृत्वमा काठमाडौँ पुगेको टोलीले सभाहल निर्माणलाई तदारुकताका साथ अघि बढाउन मन्त्रीलाई आग्रह समेत गरेका छन् ।
सरकारी रातो किताबमा उल्लेख भएको उक्त सभाहल करिब पाँच हजार मानिस अट्ने क्षमताको हुनुपर्ने माग गरिएकोे सङ्घले जनाएको छ । उक्त सभाहल सौराहामै निर्माण गर्ने भनी स्पष्ट उल्लेख हुँदाहुँदै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले अन्यत्रै बजेट लगेर निर्माण सुरु गरेको सुन्नमा आएकाले मन्त्रीको ध्यानाकर्षण गराएको सङ्घका महासचिव राममणि खनालले जानकारी दिनुभयो ।
“सभाहलका विषयमा सम्बन्धित निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले प्रस्ताव गरिएको योजना सौराहामै निर्माण गर्न माग गर्दै यहाँको ध्यानाकर्षण गराउँछाँैं” मन्त्रीसमक्ष पेस गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री केसीले सौराहामा सभाहल निर्माणका लागि कुनै दुई मत नरहेको भन्दै आफूले आवश्यक अध्ययन गरी समस्या समाधानको प्रयास गर्ने आश्वासन दिनुभएको छ ।
उहाँले तत्कालै मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मामार्फत सो विषयमा यथार्थ जानकारी दिन निर्देशन दिनुभएको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका कोषाध्यक्ष शिरलाल परियारले सौराहामा सभाहल अत्यावश्यक भएकाले व्यवसायी अग्रसर भएर अघि बढेको बताउनुभयो ।
ध्यानाकर्षण बुझाउने टोलीमा सहभागी रत्ननगरको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुङ्गानाले सोमबारै सचिव शर्मालाई समेत भेटेर आवश्यक छलफल गरेको जानकारी दिनुभयो ।
सचिव शर्माले सौराहामा सुविधायुक्त सभाहल निर्माण हुने विश्वास दिलाउनुभएको छ । सो सभाहलका लागि यहाँ रु चार करोड बजेट समेत विनियोजन भइसकेको छ । सोही रकम रकमान्तर गर्ने दुस्साहस भएकाले मन्त्रालयसम्म आउनुपरेको सङ्घका महासचिव राममणि खनालले बताउनुभयो । रासस
No related posts.
भण्डारीद्वारा मुसहर बस्तीमा श्रमदान गर्न अपिल
बर्दिवास, १८ माघ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गर्न आम समुदायसँग अपिल गर्नुभएको छ ।
राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी रहनुभएका अध्यक्ष भण्डारीले सोमबार औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय एकतालाई बल पु¥याउने धुर्मुस–सुन्तलीको बस्ती बनाउने अभियानलाई सघाउन जनश्रमदानका लागि सार्वजनिक अपिल गर्नुभएको हो ।
धुर्मुस–सुन्तलीले काभ्रेपलाञ्चोक जिल्लाको पहरी बस्ती तथा सिन्धुपाल्चोकको गिरानचौर बस्ती निर्माणको काम सकेर महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा झर्नुले हिमाल, पहाड र तराईबीच एकताको सन्देस दिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
अझ महोत्तरीको कामका लागि सबै अवसरबाट पछि परेका मुसहर समुदायको बस्ती छान्नु सबै क्षेत्र, भाषाभाषी र समुदायप्रतिको सम्मानका रुपमा ग्रहण गरिनुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
राम्रो काममा सहयोग जुटाउनु गर्नेलाई प्रोत्साहन र लक्षित वर्गलाई फाइदा हुने भएकाले सबैले सकेको सहयोग धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने अध्यक्ष भण्डारीको अपिल छ ।
“हाम्रो पार्टीको महोत्तरी जिल्ला शाखाले पार्टीका सबै समितिमा आबद्ध सदस्यलाई एक दिन एकीकृत नमुना मुसहर बस्ती निर्माण कार्यमा श्रमदान गर्नुपर्ने निर्णय गरेका छौँ” अध्यक्ष भण्डारीले भन्नुभयो–, “धन हुनेले धनबाट, मन हुनेले मनबाट र सिप हुनेले श्रमबाट बस्ती निर्माणमा सहयोग गरौँ ।”
फागुन पहिलो साताभित्रै आफ्नो श्रमदान गर्ने टोली एकीकृत नमुना मुसहर बस्तीको परियोजनास्थल पुग्ने भण्डारीले जानकारी दिनुभयो ।
यसैबीच, बस्ती निर्माण भइरहेको परियोजना स्थलमा सोमबार न्यानो स्पर्स संस्था र बर्दिवासस्थित जनसेवा अस्पतालले बस्ती निर्माणमा जुटेको जनशक्तिलाई भइपरि आउने प्राथमिक उपचारमा आवश्यक पर्ने औषधि प्रदान गरेका छन् । परियोजनास्थलमा विभिन्न क्षेत्रका व्यक्तित्व आउनु भई सहयोग पु¥याई रहनुभएको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिनुभयो ।
फाउन्डेसनले ५० परिवार मुसहरका लागि नमुना बस्ती निर्माण गरेर आउने नयाँ वर्षका दिन हस्तान्तरण गर्ने यसअघि नै जनाइसकेको छ । रासस
No related posts.
डडेल्धुरामा ९८ प्रतिशत काम उपभोक्ता समितिबाट
डडेल्धुरा, १८ माघ । डडेल्धुरामा विकास निर्माणका अधिकांश सार्वजनिक कार्य उपभोक्ता समितिबाट गरिने जनाइएको छ ।
डडेल्धुरामा सार्वजनिक तथा रु ६० लाखभन्दा कमका आयोजनामा खानेपानी, बाटोघाटो, सिँचाइ निर्माण, सडक खन्ने जस्ता ९८ प्रतिशत कार्य आम नागरिक तथा उपभोक्ता समितिबाट गरिने स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले एक कार्यक्रममा खुलासा गर्नुभएको छ ।
प्राविधिकरुपले जटिल मानिने र रु ६० लाखभन्दा बढीका आयोजना मात्र टेन्डर प्रक्रियाबाट हुने र बाँकी सम्पूर्ण कार्य उपभोक्ता समिति र आम नागरिकबाट भइरहेका स्थानीय विकास अधिकारी पराजुलीले जानकारी गराउनुभयो ।
उपभोक्ता समितिबाट काम गराउँदा स्थानीयबासी आर्थिक रुपमा पनि सवल बन्दै गइरहेका र आफ्नो ठाउँमा भइरहेका विकास निर्माणका कार्य छिटोछरितो र पारदर्शी किसिमले भइरहेको जनाइएको छ । आफ्नो विकास निर्माणको काम आफैँले गर्न पाउँदा स्थानीय मानिस पनि खुसी हुनुका साथै अपन्वत्वको भावना जाग्रित भई काम पनि गुणस्तरीय हुने गरेको उपभोक्ताको भनाइ रहेको छ ।
जिल्लाका अधिकांश भागमा निर्माणाधीन अवस्थामा रहेका विकास निर्माणका कार्य तीव्रगतिमा भइरहेको समेत जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका सहायक सव इन्जिनियर टेकबहादुर भण्डारीले बताउनुभयो । रासस
No related posts.
Sunday, January 29, 2017
त्रिवेणी धाममा कोटीहोम र महामहोत्सव हुने
जुम्ला, १७ माघ । कर्णाली अञ्चलको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको कुडारी जुम्लास्थित ब्रह्माकपाली भूवनेश्वरी त्रिवेणी धाममा कोटीहोम तथा धार्मिक महामहोत्सव लगाइने भएको छ ।
ब्रह्माकपाली भुवनेश्वरी त्रिवेणी धाम र भक्तियोग फाउन्डेसन नेपालको सहकार्यमा आगामी ०७४ साल वैशाख १४–२८ गतेसम्म झन्डै आधा महिना कोटीहोम तथा धार्मिक महामहोत्सव लगाइने भएको छ । आइतबार त्रिवेणी धाममा कर्णाली अञ्चलका धार्मिक तथा संस्कृतिविद् रमानन्द आचार्य, जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासे, प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहित समाजसेवी, बुद्धिजीवी र सञ्चारकर्मी सम्मिलित भेलाले कोटीहोम र धार्मिक महामहोत्सव लगाउने निर्णय गरेको हो ।
भक्तियोग फाउन्डेसन नेपालका प्रमुख व्यवस्थापक हेमराज रिजालले पूर्वबाहिनी भएको नेपालकै प्रसिद्ध यो तीर्थस्थललाई ठूलो धाममा विकसित गर्न, नेपालको धर्म, संस्कृति र सभ्यता बचाउन कोटीहोम र धार्मिक महामहोत्सवको आयोजना गरिएको बताउनुभयो ।
कोटीहोम व्यवस्थापन तथा सञ्चालनका लागि सेतीवाडा मावि कुडारी जुम्लाका प्रधानाध्यापक गोरखबहादुर शाहीको संयोजकत्वमा ५०० सदस्यीय कोटीहोम तथा धार्मिक महामहोत्सव मूल आयोजक समिति गठन गरिएको छ । कोटीहोममा एक करोड २५ लाखको बत्ती बालिने र १०८ ब्राह्मणको सहभागिता हुने मूल आयोजक समितिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
त्रिवेणी धामलाई नेपाल तथा विश्वकै आस्थाको केन्द्र र धार्मिक, ऐतिहासिक पर्यटकीय थलोका रुपमा विकास गर्ने दूरगामी सोचले विभिन्न बाधा, अवरोध र चुनौतीका बीचबाट कोटीहोम तथा धार्मिक महामहोत्सव लगाउने योजना निर्माण गरिएको समिति महासचिव शान्तिनाथ योगीले जानकारी दिनुभयो । रासस
No related posts.
सौराहामा माघ २९ देखि फुड फेस्टिबल
रत्ननगर (चितवन), १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ ।
सौराहामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ गतेसम्म चल्ने महोत्सवका संयोजक नरेश गिरीले जानकारी दिनुभयो ।
प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारासहित आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारु समुदायको परिकार राखिने बताइएको छ ।
महोत्सव अवधिभरमा रेस्टुराँ तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ ।
महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने अध्यक्ष भट्टले जानकारी दिनुभयो । रासस
No related posts.
खानेपानीको अभावले विद्यार्थीले विद्यालय छाडे
रामपुर (पाल्पा), १७ माघ । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् ।
नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ । दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ ।
हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना गरी जम्मा २६ जना विद्यार्थी रहेका छन् ।
दुई जना दरबन्दी र एक जना निजी स्रोतमा कार्यरत शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर आलेले बताउनुभयो । गाउँमा कुनै पनि पानीको स्रोत नभएपछि खानेपानीको समस्याले गर्दा विद्यालयमा विद्यार्थी सङ्ख्यामा न्यून आएको प्रअ आलेले भन्नुभयो ।
गाउँभरि नै पानीको समस्या बिहानभरि विद्यार्थी पानीको जोहो गर्दा विद्यालयमा पनि नियमित उपस्थित नभएपछि विद्यालय जानु र नजानुको कुनै महत्व नभएको पूर्व शिक्षक मिनु सिंजालीले बताउनुभयो । “१० बजे विद्यालय पुग्यो, विद्यार्थी पढ्न आउँलान् भनेको गाग्री बोकेर पानी खोज्न जान्छन्”– “पानीको जोहो नगर भनौँ त गाउँभरि नै हाहाकार छ, अर्कोतिर विद्यार्थीको भविष्य अन्धकारमय बन्यो, न्यून विद्यार्थी सङ्ख्या भएको कक्षाकोठामा बसेर पढाउनुको सट्टा समय बिताउन पनि गाह्रो भएपछि जागिर नै छाडिदिएको हुँ” उहाँले भन्नुभयो ।
विद्यालय स्थापना भएको २७ वर्ष बिते पनि शैक्षिक गुणस्तर वृद्धि र भौतिक सेवा सुविधामा विद्यालयले कुनै फड्को मार्न नसकेको स्थानीय सूर्यप्रसाद रेग्मीले बताउनुभयो । पानीको अभावले बस्ती नै पातलिँदै गएपछि यहाँको शैक्षिक गुणस्तर विकास हुन नसकेको स्थानीय बताउँछन् । पानीको चरम अभाव अर्कोतिर विद्यालयको स्तरोन्नति हुन नसक्नु, बिजुली, सडकको समस्याले पनि विद्यार्थी सङ्ख्या पातलिँदै गएको हो । रासस
No related posts.
दलहरुबीच सहमतिको विकल्प छैन : महामन्त्री कोइराला
नवलपरासी, १७ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
उहाँले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्छ भन्नुभयो ।
नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताउनुभयो । रासस
No related posts.
भारतीय अन्डा अवैध रुपमा भित्रिदै
वीरगञ्ज, १७ माघ । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ ।
बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने गरेका छन् ।
बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि राखिए पनि स्थानीय प्रहरी प्रशासन मौन रहेको छ ।
भारतबाट आयात भई नेपाल भित्रिने पक्षी तथा पक्षीजन्य पदार्थ अवैध रुपमा पैठारी नगर्न नेपाल सरकारबाट नेपाल राजपत्रको खण्ड ५६ भाग तीन अतिरिक्त ३७÷८ असोज २०६३ मा सूचना प्रकाशित गरी पक्षी तथा पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री, मासु उत्पादन, कुखुरा, मल, दाना औषधि आयातमा रोक लगाएको व्यवस्था गरिएको पशु क्वारेन्टाइन चेकपोस्ट वीरगन्ज विर्ताले जनाएको छ ।
निरीक्षण गर्र्ने पशु सेवा कार्यालय तथा पक्राउ गर्ने काम प्रहरीको हो । हाम्रो काम भने नष्ट गर्ने मात्र भएको भन्दै पशु क्वारेन्टाइन चेकपोस्ट वीरगञ्ज विर्ताका प्रमुख डा हरेराम यादवले भन्नुभयो ।
बारा जिल्लामा कुखुराको अन्डा उत्पादन गर्ने फर्म सात वटा रहेको छ । वार्षिक एक करोड २९ लाख, ७४ हजार वटा अन्डा उत्पादन हुने बारा जिल्लामा वार्षिक रु १५ करोड ५६ लाख ८८ हजार मूल्य बराबरको अन्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय बाराले जनाएको छ ।
तर भारतीय अन्डा सस्तो भएकाले खुला सीमाको कारण भारतबाट व्यापक मात्रामा सेतो अन्डा आउने गरेको जिज्ञासा राख्दा पशु सेवा कार्यालय वाराका वरिष्ठ पशुविकास अधिकृत डा देवानन्दन साहले अनभिज्ञता प्रकट गर्दै आफूलाई थाहा नभएको बताउनुभयो ।
सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको आँखा छलि भारतबाट व्यापक मात्रामा सेतो अन्डा भित्रिने गरेकोबारे जिज्ञासा राख्दा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपानेले हामी सीमा क्षेत्रमा कडाइ गरेका छौँ तर पनि कसरी सेतो अन्डा भित्रिन्छ यसबारेमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कतिपय व्यापारीले सेतो अन्डा ल्याई रातो रङमा रङ्गाएर नेपालको रातो अन्डा हो भनी बेच्ने गरेको समेत खुलासा हुन आएको छ ।
भारतमा बेलाबेलामा बर्डफ्लुका रोगी भेटिने गरेकाले नेपाल सरकारले भारतीय कुखुरा, अन्डा र कुखुराजन्य पदार्थको आयातमा रोक लगाए पनि भारतीय अन्डा नेपालमा भित्रिनु भनेको नेपाली जनता बर्डफ्लुको जोखिममा पर्नु हो बाराबासीको भनाइ छ । रासस
No related posts.
Saturday, January 28, 2017
रावणको यज्ञकुण्डमा अलपत्र राष्ट्रियसहिद स्मारक
गोकर्णेश्वर (काठमाडौँ), १५ माघ । सहिद दिवस एवम् अन्य राष्ट्रिय उत्सवमा श्रद्धाञ्जलि अर्पण गर्न प्राथमिकता प्राप्त आयोजनाका रुपमा सरकारले नै निर्माण गर्न लागेको गोकर्णको राष्ट्रियसहिद स्मारक अलपत्र बनेको छ ।
मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन अर्पण गर्ने सहिदको सम्झनामा शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत निर्माण भइरहेको सहिद स्मारक निर्माण सम्पन्न हुनुपर्ने समय दुई वर्ष बितिसक्दा पनि अलपत्र बनेको हो ।
स्मारक अलपत्र बन्दा राष्ट्रि«यसहिद दिवसको मूल समारोह गर्ने स्थानको समेत अभाव छ । विसं २०६२÷६३ को जनआन्दोलन अघि सहिदगेटमा गरिँदै आएको सहिद दिवस मूल समारोहको कार्यक्रम चार सहिदमाथि राजा त्रिभुवनको सालिक भएको भन्दै गर्न छोडिएको छ ।
स्मारक निर्माणको निर्णय गर्दा सरकारका मन्त्री एवम् शीर्ष नेताले चार सहिदको सालिक गोकर्णमा स्मारक निर्माण भएपछि राख्ने घोषणा गर्दै आउनुभएको थियो ।
लोकतन्त्र, शान्ति र राष्ट्रिय एकताका लागि भन्ने मूलनाराका साथ सहिदको बलिदानीलाई चिरस्थायी र सदा ताजगी राख्नका लागि मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ र मन्त्रिपरिषद् सामाजिक समितिको २०६४ साल जेठ २८ को बैठकको निर्णयअनुसार गोकर्णमा राष्ट्रियसहिद तथा शान्ति र निजामती स्मारक निर्माण गर्ने निर्णय भएको थियो ।
यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा सहिदका नाममा मन्त्रालयको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजना अन्तर्गत स्मारक निर्माण भइरहे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन नसकेको स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देल बताउँनुहुन्छ ।
“विस्तृत आयोजना प्रतिवेदन अनुसार स्मारक सञ्चालन आरम्भ २०७१ वैशाखमा हुनुपथ्र्यो, स्मारकका सबै निर्माण २०७२ चैत मसान्तमा सकिनुपथ्र्यो, तर प्राथमिकता प्राप्त आयोजनाको काम सकिनुपर्ने समयमा आधा पनि भएन, अहिले भने कामले केही गति लिएको छ”–उहाँले भन्नुभयो ।
स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन गोकर्णको विस्तृत आयोजना सारांश बमोजिम निर्माणको काम डाँफे÷गौरी, पर्वत÷सुनौला खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य, आबि, जनपथ,जेभी र चक्रेश्वरी, सूर्यजीवन जेभीका निर्माण व्यवसायीलाई छनोट गरी विसं २०६८ देखि निर्माण सुरु भएको थियो ।
स्मारकको काम नेपालमै पहिलो पटक नमुनाका रुपमा सरकार, समुदाय र निजी साझेदारीमा भइरहेको छ । यो नमुना अनुसार पहिलोपटक ठूलो आयोजना साझेदारीमा सञ्चालन गर्न लागिएको हो ।
सामुदायिक वनभित्र गुरुयोजना अनुसारको भौतिक संरचना निर्माण गर्दा रुख काट्ने निर्णय गर्न एकवर्ष लागेकाले पनि काम ढिला भएको निर्माण व्यवसायीको भनाइ छ ।
स्वीकृत गुरुयोजनामा निर्दिष्ट बाँकी काम र मन्त्रिपरिषद् सामाजिक समितिको २०६९ वैशाख ४ को निर्णयलाई कार्यान्वयनमा छिटो ल्याउनुपर्ने आवश्यकता रहेको स्मारकको ठहर छ । सहिदको अभिलेख सङ्कलन, सहिद तथा घाइतेसँग जोडिएका ७५ जिल्लाका सङ्घ÷संस्थाबीच स्थानीय शान्ति समितिमार्फत समन्वय गर्ने जिम्मेवारी पनि मन्त्रालयले स्मारकलाई दिएको छ ।
निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा अहिलेसम्म सञ्चालनमा आउनुपर्ने स्मारक अलपत्र बन्न पुगेको महासचिव त्रिलोचन पौडेलले बताउनुभयो ।
“हाल ७१ प्रतिशत काम सम्पन्न भएकाले एक वर्षभित्रमा सबै काम सम्पन्न भई विसं २०७५ को वैशाखसम्ममा स्मारक सञ्चालनमा ल्याउने तयारीमा छौँ”–उहाँले भन्नुभयो ।
स्मारक निर्माणको लागत रु ४६ करोड ७१ लाख अनुमान गरिएको छ । स्मारक अन्तर्गत पाँचवटा सहायक पार्क निर्माणका लागि गुरुयोजना निर्माण भएको छ । सहायक पार्कको गुरुयोजना अनुसार निर्माण सक्न रु दुई अर्बको अनुमान गरिएको छ । सहायक पार्कको निर्माणकार्य आव २०७४÷७५ सुरु हुने आयोजना प्रमुख ध्रुव पौडेलले जानकारी दिनुभयो ।
मूल स्मारकमा विसं २००७ को क्रान्ति पार्क बूढानीलकण्ठ नगरपालिकाको पञ्चकन्या सामुदायिक वनमा, पञ्चायतकालका सहिदको पार्क कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी सामुदायिक वनमा, २०४६ सालको जनआन्दोलनका सहिदको पार्क बूढानीलकण्ठ नगरपालिकाको गुठ सल्लाघारी सामुदायिक वनमा, १० वर्षे जनयुद्धका सहिदको स्मृतिमा पार्क गोकर्णेश्वर नगरपालिकाको गाम्चा सामुदायिक वनमा र पत्रकार एवम् नागरिक समाजका सहिदको पार्क डुमुकी सामुदायिक वनमा निर्माण गर्न लागिएको पार्कका कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
युवालाई वन संरक्षण तथा विकासमा सरिक गराउन २०७१ देखि २०८० सालसम्मलाई वन दशकको घोषणा गरिएको छ । पार्क स्मारक निर्माण तथा व्यवस्थापन समितिको नेतृत्वमा वन संरक्षण, विकास र सदुपयोगलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्न वन तथा भू–संरक्षण मन्त्रालयले तयार गरेको वन दशक कार्यको नेतृत्व समेत दिइएको छ ।
स्मारक निर्माणस्थल धार्मिक, पर्यटकीय, पौराणिक दृष्टिले समेत महत्वपूर्ण स्थानमा निर्माण भइरहेको छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध, पितृतर्पण र सिदादान गरेमा घर, मामाघर र ससुरालीका तर्फका २१ कुलका पितृ तर्छन् भन्ने विश्वास छ ।
सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा फैलिएको डाँडाबाट उपत्यकाका सबै भाग र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ । वन क्षेत्रको अग्लो भाग पौराणिककालमा रावणले यज्ञ गर्दा थुप्रिएको चरु हो भन्ने मान्यता रहेको प्राडा ऋषिराम पोखरेल बताउनुहुन्छ ।
“स्मारक निर्माणका क्रममा खन्दा केहीमुनि नै कालो माटो भेटिनुले यसलाई पुष्टि गरेको छ, यो पवित्रस्थलमा सहिद स्मारक निर्माण भए सहिदको आत्माले शान्ति पाउनेछ”– बेद विषयमा विद्यावारिधि गर्नुभएका पोखरेलले भन्नुभयो । “यो पवित्र भूमिमा सहिदको सम्झनामा स्मारक बने सहिदप्रति साँच्चै सम्मान हुने स्थानीयवासी राजकुमार केसीको भनाइ छ ”। पूर्णप्रसाद मिश्र/रासस
No related posts.
खेलकुद क्षेत्र सकारात्मक दिशामा अगाडि बढेको छ : मन्त्री श्रीपाइली
काठमाडौँ, १५ माघ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपालको खेलकुद क्षेत्र पछिल्लो समय सकारात्मक रुपमा अगाडि बढेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले १५ वर्षे खेलकुद रणनीति योजना बनाउन लागेको जानकारी दिनुभयो ।
मन्त्री श्रीपाइलीलले “खेलकुद विकासका लागि खेलकुद विश्वविद्यालय, खेलकुद अस्पताल, खेलाडी बिमा र खेलाडी परिचयपत्र दिन लागेका छौँ” भन्दै एक करोडभन्दा बढी जनसङ्ख्या रहेको युवालाई विकास निर्माणमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सरकारले योजना बनाएर कार्य गरिरहेको बताउनुभयो ।
सन् २०१९ मा हुन लागेको १३ औँ साफ प्रतियोगिताका लागि पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उहाँले ओलम्पिक क्षेत्रमा देखिएको विवादलाई मिलाएर अगाडि बढ्न लागेको बताउनुभयो ।
मन्त्री श्रीपाइलीले युवा परिषद्मा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । रासस
No related posts.
संविधान कार्यान्वयनमा जुट्न प्रमको आग्रह
काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दरमुलुक भएको बताउनुभएको छ ।
तामाङ ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रा लागि मात्रै नभई विश्व समुदायका लागि नेपाल बहुपहिचानयुक्त एक महत्वपूर्ण पुँजी भएको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले भाषा, संस्कृति, वेषभूषा, संस्कार तथा चाडपर्व आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषता रहेको उल्लेख गर्दै तामाङ जाती नेपालको एक प्राचीन जाति रहेको र सांस्कृतिक रुपमा समेत धनी मानिने यस जातिले सदियाँैदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण एव्म संवद्र्धन गर्दै आइरहेको छ भन्नुभयो ।
नयाँ अवसरको आगमनको खुसियालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने भएकाले तामाङ जातिको महत्वपूर्ण चाडको रुपमा यसलाई लिने गरिन्छ, उहाँले भन्नुभयो — ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने चलन रहेको र यसवर्ष तामाङ समुदायले बाँदर वर्गलाई बिदा गरी चरा वर्गलाई स्वागत गरेर २८५३ ज्या ल्हो चरा वर्ष मनाउँदै छन् ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ‘‘जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ, संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु अहिलेको प्रथम आवश्यकता हो ।”
“हिमाल, पहाड र तराईका सबै जाति भाषा, धर्म, र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो, उहाँले भन्नुभयो— यसका लागि सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ ।’’
प्रधानमन्त्री ‘प्रचण्ड’ले तामाङ समुदाय तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा हातेमालो गर्न अनुरोध गर्दै सम्पूर्ण नेपाली बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गरी राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
No related posts.
नेप्सेमा ९० अङ्कको गिरावट
काठमाडौँ, १५ माघ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९० दशमलव ७ अङकले घटेर अन्तिम दिन एक हजार ३७५ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले ओरालो लागेको थियो ।
यससाता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीको कारोबार भएको छ । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार १३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ९४ प्रतिशत बढी हो ।
गत साता १५३ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १४ हजार ७८५ कारोबारबाट रु एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरका एक करोड १३ लाख १८ हजार २७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यो साता समुगत परिसूचकमा वाण्ज्यि बैंकको ९४ दशमलव ०२, विकास बैंक ७४ दशमलव ३५, वित्त ४५ दशमलव १२, होटल ९३ दशमलव ८६, जलविद्युत् ८८ दशमलव ०१, बिमा ५७५ दशमलव ७८, उत्पादनमूलक ३५ दशमलव ३५, व्यापारमा शून्य र अन्य समूहको परिसूचकमा १९ दशमलव ७५ अङ्कले गिरावट आएको नेप्सेले उल्लेख गरेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १९ दशमलव ७५ अङ्कले घटेर २९८ दशमलव ४८ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकम (रु ३६ करोड ३० लाख ८० हजार)को आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (१८ लाख ५६ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङ्ख्या (१६५० वटा) को आधारमा प्रभु बैंक लिमिटेड नै अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
यस साता माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ९० हजार र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड २८ हजार २८९ हकप्रद, सनराइज बैंक लिमिटेडको एक लाख ३२ हजार ५३४ बोनस तथा नविल इक्वीटी फन्डको १२ करोड ५० लाख इकाई कित्ता सेयर सूचीकृत भएको छ । रासस
No related posts.
हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा
काठमाडौँ,१५ माघ । लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन आजदेखि सञ्चालनमा आएको छ ।
भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो ।
मातातीर्थबाट स्यूचाटार जोड्ने प्रसारणलाइनको खण्डमा पर्ने घर तथा आवास क्षेत्रमा रोकिएको काम समेत सम्पन्न भएको आयोजना प्रमुख केदार सिलवालले राससलाई जानकारी दिनुभयो ।
उक्त प्रसारणलाइनबाट काठमाडौँमा बढी भएको बिजुली हेटौँडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ । राजधानीको वितरण प्रणालीमा पनि थप सुधार गर्ने हो भने दुईवटा महत्वपूर्ण प्रसारणलाइनले राजधानी जोडिएपछि त्यसले दिने सेवा समेत सहज हुने विश्वास लिइएको छ ।
केही दिन पहिले मात्रै ढल्केबर– खिम्ती प्रसारणलाइनबाट समेत विद्युत् प्रवाह भइसकेको छ । हेटौँडा मातातीर्थ स्यूचाटार प्रसारणलाइन पनि सञ्चालनमा आएपछि काठमाडौँमा विद्युत् आयात गर्न र काठमाडौँबाट बाहिर लैजानलाई समेत सहज भएको छ ।
प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर– हेटाँैडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो ।
उक्त प्रसारण लाइनबाट करिब २०० सय मेगावट बिजुली आयात तथा निर्यात दुवै गर्न सकिने आयोजना प्रमुख सिलवालले जानकारी दिनुभयो ।
विसं २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।
मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दैआएको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो ।
प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।
ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको उहाँले जानकारी दिनुभयो ।
भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।
प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा सो प्रसारण लाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
मातातीर्थदेखि स्यूचाटारसम्मको खण्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो । सो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ– भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ । रमेश लम्साल/रासस
No related posts.
निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गरौँ : सभामुख घर्ती
मोरङ, १५ माघ । सभामुख ओनसरी घर्तीले विगतका आन्दोलनले स्थापित गरेका हक अधिकारलाई संस्थागत गर्न राजनीतिक दलले निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल मगर विद्यार्थी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकार प्राप्तीसँग सम्बन्धित गुनासा र असन्तुष्टिलाई सहमतिका आधारमा संवैधानिक तवरले सम्बोधन गर्न सुझाव दिनुभयो ।
नेपाली जनताका हक अधिकारसँग जोडिएका प्रावधानलाई कार्यान्वयन गराउन चनाखोका साथ राजनीतिक दलका नेतालाई घच्घच्याउन आवश्यक रहेको बताउँदै उहाँले सामाजिक संस्कार र संस्कृतिले भरिपूर्ण नेपाललाई संविधान कार्यान्वयन गरेर अझ सुन्दर बनाउनुपर्छ भन्नुभयो ।
“संविधानले पहिलोपटक महिलाका विशेषाधिकार संरक्षण गरेको हुनाले देशमा ‘छोरीले जितेका’ छन्”–उहाँले भन्नुभयो । नेपाल सांस्कृतिक तथा भाषिक हिसाबले धनी भएको हुनाले पर्यटनको सम्भावना पनि निकै बोकेको धारणा राख्दै उहाँले हाम्रा सबै श्रम, पसिना देशको विकास र हितका लागि खर्चनुपर्छ भन्नुभयो ।
सङ्घका अध्यक्ष दीपा आलेले नवौँ महाधिवेशनमा मुलुकका ६२ जिल्लाबाट ४०० प्रतिनिधिले भाग लिएको जानकारी दिनुभयो । महासचिव गोमबहादुर रानाले तीन दिनसम्म चल्ने अधिवेशनले ६९ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने बताउनुभयो ।
‘अधिकारसम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा आन्दोलनः वैज्ञानिक, व्यवहारिक र सङ्घीय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेशन’ मूल नारा रहेको महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले दुई वर्ष सङ्गठन हाँक्नेछ ।
उद्घाटन समारोह अघि मगर समुदायको वेशभूषा, रहनसहन र संस्कृति झल्कने झाँकी सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । सभामुख घर्तीले समारोहमा सांसद् डिकबहादुर लिम्बूलाई सम्मान गर्नुभएको थियो । रासस
No related posts.
स्थानीय तहको निर्वाचन अविलम्ब होस् : उपाध्यक्ष रावल
भीमदत्तनगर, १५ माघ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले स्थानीय निकायको निर्वाचन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा शनिबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको प्रदेश नं ७ स्तरीय भेलाको उद्घाटन गर्दै उपाध्यक्ष रावलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुन नसके मुलुकको राजनीति अप्ठ्यारोमा पर्ने बताउनुभयो ।
“दिगो शान्ति, राजनीतिक स्थायित्व, जनताको हकअधिकारका लागि पनि निर्वाचन गर्नुपर्छ ।” रावलले भन्नुभयो – “नेकपा (एमाले) तत्काल निर्वाचन गराउन माग गर्दछ ।” वर्तमान सरकारले राष्ट्रिय हितविपरीत क्रियाकलाप गरिरहेको आरोप लगाउँदै उहाँले स्वाभिमानलाई कमजोर हुन नदिन प्रतिपक्षी दल एमालेले व्यवस्थापिका–संसद् अवरुद्ध गर्नुपर्ने बताउनुभयो ।
“संविधान स्वाभिमान बचाउन ल्याइएको हो ।” रावलले भन्नुभयो –“स्वाभिमान कमजोर पार्न र एकताबद्ध भएको तराई, पहाड–हिमाललाई टुक्र्याउन होइन ।” संविधान संशोधन जनताको इच्छा, आकाङ्क्षा नभएको दाबी गर्दै उहाँले राजनीतिक स्थिरता हुन नदिने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो । संविधान संशोधन गरेर कुनै समस्या समाधान नहुने उहाँको भनाइ थियो । रासस
No related posts.
Thursday, January 26, 2017
खेलकुदको समस्या समाधान हुन्छ : मन्त्री श्रीपाइली
काठमाडौँ, १३ माघ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेलकुदक्षेत्रभित्रका समस्या निरुपण गर्न आफू लागिपरेको बताउनुभएको छ ।
व्यवथापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको आज बसेको बैठकमा उहाँले ओलम्पिक कमिटीको विवादलाई सुल्झाइ १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालमा नै सञ्चालन गर्ने बताउनुभयो ।
मन्त्री श्रीपाइलीले ओलम्पिक कमिटीको विषयमा सर्वोच्च अदालतले जे फैसला गरेको छ त्यही मान्य हुन्छ भन्दै खेल क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्पोटर्स अस्पताल, खेलकुद विश्वविद्यालय निर्माण गर्ने कार्यको तयारी भइरहेको बताउनुभयो ।
त्यस्तै बैठककी सभापति रञ्जुकुमारी झाले देशको महत्वपूर्ण पहिचान खेलकुद भएकाले यसभित्र भएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
त्यस्तै सांसद राजेन्द्र पाण्डले सङ्घीय संरचनालाई व्यवस्थापन गरी प्रत्येक प्रदेशमा खेलकुद गतिविधि गर्नुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयन गर्नका लागि पनि खेलकुद गतिविधि गर्दा विकास क्षेत्र नभनी प्रदेश भन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सांसद आशा कोइरालाले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले खेलकुदभित्र भएका समस्यालाई तत्काल समाधान गरी अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सांसद रत्नदेवी गुरुङले महिला सशक्तीकरणका लागि खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपालमा हुने भनिएको १३ औँ सागमा २६ खेल समावेश गर्ने बताउँदै पाँच खेल पोखरामा र बाँकी २१ खेल काठमाडौँमा गर्ने प्रस्ताव राखेको जानकारी दिनुभयो ।
मन्त्रालयले समयमा नै बजेट निकासा नगर्दा भरखरै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा केही कमीकमजोरी भएको हुँदा १३ औँ सागको तीव्र तयारीका लागि पनि समयमा नै रकम निकासा गर्न उहाँले माग गर्नुभयो ।
ओलम्पिक कमिटीको विवादका विषयमा सदस्य सचिव विष्टले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी राखेपमा आबद्ध भएको हुँदा राखेपले श्रेष्ठलाई नै मान्यता दिँदै उहाँको रोहबरमा काम गर्दै आएको छ भन्नुभयो ।
यता सर्वोच्च अदालतले गौरव शमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीका पक्षमा फैसला गरेको थियो । रासस
No related posts.
उमेर हदबन्दी गरेर स्ववियु निर्वाचन गर्न हुँदैन
काठमाडौँ, १३ माघ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेर हदबन्दी गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नहुने बताएको छ ।
शाखाले यहाँ आज पत्रकार सम्मेलन गरी लामो समयदेखि स्ववियुको निर्वाचन हुन नसकेको वर्तमान अवस्थामा उमेर हद लगाएर निर्वाचन गर्न नहुने बताएको हो ।
सो अवसरमा नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले २०६५ सालदेखि निर्वाचन नभएकाले उमेर हदबन्दी नगरी निर्वाचनमा जानुपर्नेमा जोड दिदैं उमेर हदबन्दीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।
नेवि सङ्घकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले उमेरको हद लगाएर त्रिभुवन विश्वविद्यालयले चुनाव नगर्ने खेल गरिरहेको आरोप लगाउँदै “निर्वाचन हुने आशमा विद्यार्थी दिनरात नभनी क्याम्पसमा बसेका छन् यस्तो अवस्थामा उमेर हदबन्दी लाग्नु कत्तिको उचित हो भनी प्रश्न गर्नुभयो ?”
स्ववियुमा उमेर हदबन्दीलाई लगाएर अगाडि बढे चरणबद्ध आन्दोलन गर्ने घोषणासमेत सङ्घले गरेको छ ।
सङ्घले माघ १४ मा हरेक क्याम्पसमा कालो झण्डा गाड्ने, माघ १७ गते कालोपट्टिसहित सबै क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने, माघ १८ मा नेविसङ्घ केन्द्रीय कार्यालय तालाबन्दी गर्ने र माघ १९ मा त्रिवि उपकुलपतिको कार्यालय घेराउ तथा तालाबन्दी गर्ने जनाएको छ ।
No related posts.
काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
काठमाडौँ, १३ माघ । संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ ।
काठमाडौँ महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो ।
समयमा नै निर्माण कार्य सुरु गर्ने भन्दै निर्माण कम्पनीले गत वैशाखमा नै बसपार्कलाई खुलामञ्चमा सारे पनि काम अघि बढ्न सकेको थिएन ।
विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम्झौता भएकामा भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भए पनि ठेकेदारसँग कुरा नमिल्दा यसभन्दा पहिले टावर निर्माणको काम अघि बढ्न नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
“ भूकम्पअघि २९ तलाको टावर बनाउने सहमति भएको थियो”, कार्कीले भन्नुभयो – “भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियम विपरीत हुने देखियो । बाह्र तलाको बनाउने कुरा भयो अनि ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसारको काम अगाडि बढाउन नपाउँदा यसअघि निर्माणको काममा समस्या आएको थियो ।”
टावर निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द विकोइका प्रमुख मनोज भेटुवालका अनुसार टावर निर्माण गर्नुपर्ने सामग्री इटलीबाट ल्याई गत आइतबारदेखि प्ररम्भिक चरणको निर्माणको काम सुरु भइसकेको छ । अहिले उपकरण जडान गरी जग खन्ने काम भइरहेको छ ।
नेपाली कला र संस्कृति झल्काउने योजना रहेको उक्त टावरका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भूभागमा भवन बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । साठी प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ ।
टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ ।
काठमाडौँ महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ ।
सहमति भएको लामो समयसम्म पनि निर्माणको काम सुरु हुन नसक्दा कहिले राजनीतिक हस्तक्षप त कहिले महानगरले असक्षम कम्पनीलाई भ्यू टावर बनाउन दिएको आरोप पनि कामपाले खेप्दै आएको थियो । रासस
No related posts.
उपराष्ट्रपति गणतन्त्र दिवस समारोहमा
काठमाडौँ, १३ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
नेपालका लागि भारतका राजदूत रणजित रायले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रधानमन्त्री, सांसद, पूर्व उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती एवम् जङ्गी सेवाका उच्च पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, कलाकार, वरिष्ठ सञ्चारकर्मीका साथै कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिकहरुको उपस्थिति थियो ।
त्यस अवसरमा भारतीय कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
यसै उपलक्ष्यमा आज बिहान दूतावास परिसरमा आयोजित समारोहमा राजदूत रायले भारतको राष्ट्रिय झन्डा फहराउनुभएको थियो । रासस
No related posts.
Wednesday, January 25, 2017
जबर्जस्ती करणी गर्ने युवक पक्राउ
राजविराज, १२ माघ । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेको छ ।
जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुवै युवकले वीरेन्द्र बजारसम्म पु¥याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए । जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय महुलीले प्रहरी टोलीले ७० लिटर अवैध मदिरा नष्ट गरेको छ ।
जिल्लाको विभिन्न ठाउँबाट खोजतलास गर्ने क्रममा फेला पारेको उक्त अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बरामद गरिएको मदिरा जिल्लाको बकधुवा–९ महुली खोलामा स्थानीय मानिसको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय कल्याणपुर र रुपनीबाट खटिएको प्रहरी टोलीले करिब गाजाको सय बोट नष्ट गरेको छ । जिल्लाको नेगडा गाविस वडा नं ४, ५, ६ र शम्भुनाथ नगरपालिका ३ र ४ का स्थानीयले आफ्नो घर करेसाबारीमा लगाएको उक्त गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । रासस
No related posts.
नेपाल भ्रष्टाचार हुने मुलुकको १३१ औँ सूचीमा
काठमाडौँ, १२ माघ । भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको देखिन्छ ।
सूचकाङ्कमा समावेश गरिएका १७६ देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ ।
सर्वेक्षणबाट भ्रष्टाचार विश्वभर प्रमुख समस्याका रुपमा रहेको देखिएको संस्थाका अध्यक्ष श्रीहरि अर्यालले जानकारी दिनुभयो । प्रतिवेदनले भ्रष्टाचार र सामाजिक असमानता एक अर्काका परिपूरक हुन् र यसले राजनीतिप्रति निराशा पैदा गर्छ भनी उल्लेख गरेको छ ।
दक्षिण एसियाली मुलुकमध्ये भुटान ६५ अङ्क प्राप्त गरी २७ औँ स्थानमा, भारत ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा, मालदिभ्स र श्रीलङ्का ३६ अङ्क प्राप्त गरी ९५ औँ स्थानमा, पाकिस्तान ३२ अङ्कले ११६ औँ स्थानमा, नेपाल २९ औँ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४५ औँ स्थानमा र अफगानिस्तान १५ अङ्क प्राप्त गरी १६९ औँ स्थानमा रहेका छन् ।
छिमेकी मुलुक चीन ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा रहेको छ । नेपाल गत वर्ष १६८ मुलुकमध्ये २७ अङ्क प्राप्त गरी १३० औँ स्थानमा रहेको थियो । सो संस्थाले सन् १९९५ देखि प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको र नेपाललाई २००४ देखि समावेश गरिएको अध्यक्ष अर्यालले बताउनुभयो ।
“प्रतिवेदनले नेपालको भ्रष्टाचार बारेको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिए पनि नेपालले पाएको अङ्कमा धेरै कम अङ्कको फेरबदलले अवस्थामा परिवर्तन भएको भन्न नमिल्ने देखिन्छ” उहाँले भन्नुभयो ।
प्रतिवेदन विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो ।
सरकारद्वारा सार्वजनिक क्षेत्र÷पदाधिकारीको काम कारबाहीमा निगरानीको स्थिति, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, सरकारी प्रतिनिधिद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्थालगायत विषय समेटी प्रतिवेदन तयार पारिएको संस्थाका महासचिव पदमिनी प्रधानाङ्गले जानकारी दिनुभयो । रासस
No related posts.
अझै निर्माण सुरु भएन सगरमाथा जाने पुल
सोलुखुम्बु, १२ माघ । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ ।
दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो । २०७३ असार २० गते सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाको अहिलेसम्म कुनै काम हुनसकेको छैन ।
सो पुल सम्पन्न गरिसक्ने अन्तिम मिति समेत गुज्रिएको सात महिना बितिसकेको छ । योजनाका लागि पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि अहिलेसम्म उपभोक्ता समितिका पदाधिकारी जिविसको सम्पर्कमा आएका छैनन् । पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना निर्माण गरिएको थियो ।
उपभोक्ता समितिसँग रु ५० लाख ४२ हजारमा सो योजना सम्झौता भएको थियो । ६८ मिटर लामो सो पुल निर्माण नहुँदा खुम्बु भ्रमणमा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । गएको वर्षात्मा सोही स्थानबाट खोलामा खसेर एकजना विदेशी पर्यटक बेपत्ता भएका थिए ।
सँगै सम्झौता गरिएको चौरीखर्कको पुल निर्माण भएर प्रयोगमा आइसक्दा पनि उक्त पुल निर्माणको सुरसार नहुँदा स्थानीय वासिन्दा र पदमार्गमा हिँड्ने पदयात्री खिन्न भएको पथप्रदर्शक तिलक बस्नेतले गुनासो गर्नुभयो ।
यता जिल्ला प्राविधिक कार्यालय सोलुुखम्बुका प्रमुख इन्जिनियर पुष्करप्रसाद पोख्रेलले भौगोलिक कठिनाइकै कारण अनुगमनमा जान नसकिएको बताउनुभयो । रासस
No related posts.
मुटुरोगी बालिकाको उपचारका लागि प्रवासीद्वारा सहयोग
म्याग्दी, १२ माघ । बेनी नगरपालिका–२ अर्जमकी अरुर्णिमा नेपालीको उपचारका लागि प्रवासीहरुले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
आठ वर्षीय नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा हङ्कङमा रहेका म्याग्देलीबासीले रु ८० हजार सहयोग गरेका हुन् ।
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङका अध्यक्ष इन्द्र एलजी थापाले कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव लोकेश पुनमार्फत अरुणिमाका काका भूपेन्द्र नेपालीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । अरुणिमाको उपचारका लागि हङ्कङमा रहेका १७ जना म्याग्देलीले सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी परियारको उपचारका लागि कोषले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा सहयोग प्राप्त हुने क्रम जारी छ । उनको काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस
No related posts.
छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार : मन्त्री महत
दाङ, १२ माघ । परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ ।
प्रेस युनियन दाङले आज दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उहाँले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हँुदै गएको बताउनुभयो । “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको छ, यसले पनि राम्रो परिणाम दिएको छ” उहाँले भन्नुभयो ।
विदेशमा काम गर्न गएका नेपालीको बिमा व्यवस्थापनका लागि दुई महिनाभित्र अध्ययन अवलोकन गर्न कार्यदल बनाएको समेत बताउनुभयो । उहाँले बिमा समितिसँग कुरा भएको र छिट्टै त्यो लागू हुने जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका मन्त्री महतले सबै दललाई सहमतिमा ल्याउन र संविधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गराउन सरकार लागिपरेको बताउनुभयो ।
उहाँले वर्तमान गतिरोधको निकास र मुलुकको विकास अगाडि बढाउनका लागि वर्तमान सरकार गठन भएको र ती दुई कामलाई प्रमुखतामा राखेको उल्लेख गर्नुभयो । उहाँले अब छिट्टै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने पनि बताउनुभयो ।
कार्यक्रम युनियनका अध्यक्ष सुुशील बस्नेतको अध्यक्षतामा भएको थियो । रासस
No related posts.
कोसीटप्पु वन्यजन्तु आरक्षमा चरा घट्दै
इटहरी, १२ माघ । वासस्थानको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने साइबेरियन चरा वर्षेनी घटिरहेका छन् ।
साइबेरियन एवम् घुमन्ते चराका लागि स्वर्गभूमि मानिदै आएको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सप्तकोसी नदीले पश्चिम कुशाहाबाट पूर्वी तटबन्ध भत्काएपछि वासस्थानको अभावमा यहाँ आउने चरामा कमि आएको हो ।
चरा अध्ययनका लागि प्रमुख केन्द्र मानिदै आएको कोसीटप्पु क्षेत्रमा केही वर्षयता चरा आउने क्रममा निकै कमी देखिन थालेको स्थानीयले बताएका छन् ।
सात वर्षअघि सप्तकोसीको बाढीले सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष र आसपास क्षेत्रका कतिपय सिमसारक्षेत्र मासिएका थिए । भएका सिमसारक्षेत्र पनि जलकुम्भी झारले ढाँकिएको र त्यसको सफाइमा आरक्षले ध्यान नदिइएकाले चराका लागि वासस्थान अभाव हुँदै आएको छ ।
पर्या पर्यटन संरक्षण समिति सुनसरीका कुर्वान मन्सुरीले सप्तकोसी कटान र त्यसपछिको मानवीय गतिविधिका कारण सीमसारक्षेत्र सुक्न थालेकाले वासस्थानको अभावमा यहाँ चरा आउने क्रममा कमि आएको बताउनुभयो ।
विगतमा जाडो याम सुरु हुनासाथ साइबेरिया, पाकिस्तान, चीन, अफगानिस्तान, भारत र दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकबाट झुन्डका झुन्ड टप्पुमा आउने चरा पछिल्लो समयमा देखा पर्न छाडेको मन्सुरीले भन्नुभयो ।
चराको सङ्ख्या घटेकाले सीमसार क्षेत्रमा दुर्लभ चराको अवलोकन र अनुसन्धान गर्न बर्सेनि आउने चरा अनुसन्धानकर्ता समूह पनि घटेका छन् । आसपास क्षेत्रका खेतबारीमा विषादीको प्रयोग बढ्नुले पनि चराको गतिविधि प्रभावित भएको पाइएको मन्सुरीले बताउनुभयो ।
कोसीटप्पुको सिमसार क्षेत्रमा विश्वमै दुर्लभ मानिएकासहित पाँच सयभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङ्क छ ।
यसैगरी दुर्लभ नीलगाईलगायत अर्नाको पनि मुख्य वाससस्थान रहदै आएको यो आरक्षमा पिंटेल, मलर्ड, गुज, रेडिसियल डक, बारहेडेड गुजलगायतका पाहुना चरा आउने गरेका छन्, आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले भन्नुभयो – ती पाहुना चराले बच्चा कोरलेपछि हुर्काएर फर्कने गर्छन् ।
यसैबीच, ‘हिमालयन नेचर’ नामक संस्थाले कोसीटप्पुमा चरा गणना सुरु गरेका छन् । चरा विज्ञ बद्री चौधरीको नेतृत्वमा अहिले कोसीटप्पु वन्यजन्तु आरक्षभित्र, चतराबाट कोसी ब्यारेजको पुलसम्मको क्षेत्र, बर्जुताल, उर्लाबारी, बेतना र तरहरालगायत क्षेत्रमा चराको अवस्थाबारेमा अध्ययन भइरहेको छ । रासस
No related posts.
Tuesday, January 24, 2017
विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी
महोत्तरी, ११ माघ । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना आज सार्वजानिक भएको छ ।
गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो ।
विवाहमा सरिक भएका अतिथि एवम् आफन्तहरु राती सुतेको मौका छोपी सो परिमाणको मोबाइल क्रमिक रुपमा चोरी भएको पीडित निशान्तले बताउनुभयो ।
विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल करिब रु चार लाख मूल्य बराबरको रहेको उनले जानकारी दिनुभयो । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । रासस
No related posts.
तीन तहको प्रशासनिक कार्यको वाँडफाँड
काठमाडौ ११ माघ । सङ्घीयता संरचना अनुसार सरकारले केन्द्र, प्रदेश र स्थानिय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँड तयार पारेको छ ।
मुख्य सचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
समितिले तयार पारिएको तीनै तहको कार्यको बिश्लेषण गरि जिम्मेवारीको वाँडफाँडसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा रहेको उच्चस्तरिय सङघीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना निर्देशक समिति हुदै मन्त्रीपरिषद् बैठकबाट अनुमोदन भई परिषद्कै पूर्वाधार समितिमा अन्तिम टुङगो लगाउन पठाइएको उहाँले बताउनुभयो ।
‘‘संविधानले तोके अनुसार समितिले तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी तयार पारेका छन्’’ सचिव थपलियाले भन्नुभयो– ‘‘अव बस्ने निर्देशक समिति बैठकले तयार पारेको कार्यको अन्तिम टुङ्गो लगाउने छ ।’’
उहाँका अनुसार तीनै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँड गरिएको छ । जसअनुसार केन्द्रमा ८७०, प्रदेशमा ५५५ र स्थानिय तहमा ३६० प्रशासनिक कार्य रहेका छन् । रासस
No related posts.
दशवर्षभित्र उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता
काठमाडौँ, ११ माघ । दर्ता भएको अवधिदेखि अधिकतम १० वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको आज यहाँ बसेको २२१ औं बैठकले उद्योग सञ्चालन सम्बन्धी सो समयावधि तोकेको होे ।
बैठकले उद्योग सञ्चालनका लागि लाग्ने समयावधिका सम्बन्धमा मापदण्ड तयार भई लागू भएका उद्योगका हकमा सोही बमोजिम हुने र अन्यको हकमा सम्बन्धित उद्योगीसँग कार्ययोजना लिई कार्ययोजना र उद्योगको प्रकृतिअनुसार अधिकतम सञ्चालन सीमा तोक्ने निर्णय गरेको उद्योग मन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाईँले जानकारी दिनुभयो ।
नेपाल सरकारका विभिन्न मन्त्रालय र निजी क्षेत्रको समेत गरी २३ जना सदस्यको उपस्थिति रहेको सो बैठकमा नौ वटा नीतिगत प्रस्तावमाथि छलफल भएको थियो ।
ठूला, मझौला र विदेशी लगानी सम्बन्धी उद्योगका लागि उद्योग विभाग, साना लघु तथा घरेलु उद्योगका लागि घरेलु विभाग र विशेष आर्थिक क्षेत्र सेजमा स्थापना हुने स्वदेशी उद्योगको हकमा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयलाई दर्ताको जिम्मेवारी तोक्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
उद्योगले पालना गर्नुपर्ने सर्तहरु निर्धारण गर्ने सम्बन्धमा उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा वन, वातावरण, कृषि, अर्थ, पर्यटन र स्थानीय विकास मन्त्रालयको प्रतिनिधि रहने गरी समिति गठन गर्ने र सो समितिले आगामी बैठकमा मापदण्ड प्रस्तुत गर्ने निर्णय गरेको छ ।
सो अवसरमा उद्योगमन्त्री जोशीले उद्योग तथा लगानी प्रवद्र्धन बोर्डमा लामो समयदेखिका थाँती रहेको केही मुद्दाको विस्तृत अध्ययन गरेर आगामी बैठकमा क्रमशः त्यसलाई सम्बोधन गर्दै जाने बताउनुभयो ।
मुलुकमा औद्योगिक वातावरण निर्माणका सरकार लागिपरेकाले बोर्डले पनि उद्यमीलाई सहज र सरल हुने खालका नीतिगत निर्णयलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै उहाँले उद्योग तथा लगानी प्रवद्र्धन बोर्डमा सरकारका धेरै मन्त्रालयको प्रतिनिधित्व रहेकोले औद्योगिक वातारण बनाउनका लागि समन्वय गरेर अगाडि बढ्न निर्देशन दिनुभयो । रासस
No related posts.
नेपाल र हङ्कङको टोलीबीच मैत्रीपूर्ण खेल
काठमाडौँ, ११ माघ । नेपाल र हङ्कङका राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल यही माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टोलीका संयोजक हेमन्त डाँगीले जानकारी दिनुभयो ।
उक्त मैत्रीपूर्ण खेलका लागि हङ्कङबाट एक प्रशिक्षकसहित तीन पुरुष र चार महिला खेलाडी यही माघ १३ गते नेपाल आउनेछन् ।
मैत्रीपूर्ण खेलमा कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता रेजीना कार्की ९४६ केजी०, ज्ञानी चुनारा ९५७ केजी०, ताराकुमार रायमाझी ९५४ केजी०, महम्मद वेस ९६७० केजी र निश्चलमान श्रेष्ठ ९७४ केजी० ले आफ्नो तौलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, ५३ केजी तौल समूहमा भने स्वर्ण विजेता निमा गुरुङ र रजत विजेता रेश्मा थापाले प्रतिस्पर्धा गर्नेछिन् ।
नेपाल र हङ्कङका राष्ट्रिय टोलीले यही माघ १४ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संयुक्त रुपमा प्रशिक्षण लिने छन् । माघ १६ गते नक्सालस्थित अर्जुन फिटनेश क्लबमा उक्त टोलीले प्रशिक्षण लिने मैत्रीपूर्ण खेलका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोख्रेलले जानकारी दिनुभयो । रासस
No related posts.
नेकपा एमाले केन्द्रीय मोर्चा सङ्गठनद्वारा २० बुँदे घोषणापत्र जारी
पोखरा, ११ माघ । नेकपा (एमाले)को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ ।
पार्टीका सचिव योगश भट्टराईले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँँदै संविधानको रक्षा, संवद्र्धन र कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
घोषणापत्रमा संविधानको कार्यान्वयनमा पार्टी प्रतिबद्ध छ भन्दै यसको संशोधन भन्दा शीघ्र कार्यान्वयनका लागि लाग्नु आवश्यक भएको उल्लेख गरिएको छ ।
विसं २०७४ माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक सीमालाई ख्याल गर्दै तीनवटै तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न र निर्वाचनका लागि तत्काल अत्यावश्यक कानुनी प्रबन्ध मिलाउन पनि माग गरिएको छ ।
संविधान संशोधनका नाममा सरकारले सुरु गरेको तराईवासी–मधेसी र पहाडी समुदायबीच सामाजिक सदभाव बिगार्ने कार्यको भत्र्सना गर्दै संविधान संशोधनको प्रस्ताव तत्काल फिर्ता लिन माग गरिएको छ ।
आगामी फागुन २१ गतेबाट सुरु हुने मेची–महाकाली अभियानलाई सफल पार्न मोर्चा सङ्गठनअन्तर्गतका २० वटै सङ्गठनलाई विभिन्न जिल्लाका कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाहका लागि जिम्मेवारी प्रदान गरेको सचिव भट्टराईले जानकारी दिनुभयो ।
पार्टीभित्रको आन्तरिक अनुशासन कायम राख्न अनावश्यक तडकभडक नगर्ने प्रतिबद्धता व्यक्त गर्दै घोषणापत्रमा आगामी दिन अतिथिलाई लगाइदिने माला, ब्याच, खादा आदिको अत्यधिक प्रयोगलाई निरुत्साहन गर्ने, आसनग्रहणमा अनावश्यक समय खेर फाल्नेजस्ता कार्यशैली सुधार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नेकपा (एमाले) सम्बद्ध २० वटा मोर्चा सङ्गठनका पदाधिकारी सम्मिलित राष्ट्रिय भेलाको गत माघ ९ गते नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । रासस
No related posts.
केटालाई जेलबाट छुटाएर विवाह
सोलुखुम्बु, ११ माघ । साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् ।
जन्ती कहाँबाट आउने ? प्रनाउ बुढाथोकीको प्रश्नमा रश्मी भुजेल (नाम परिवर्तित) ले भनिन्, जाजरकोटबाट । झनै अचम्म लागेपछि बुढाथोकीले सोधे – “जाजरकोट कहाँ हो, कति टाढा छ, थाहा छ ?” भुजेलको जवाफ आयो – “त्यो त थाहा छैन, जाजरकोट भन्ने मात्र सुनेको ।”
घटना विवरण बुझ्दा थाहा भयो, ती महिला वैदेशिक रोजगारीबाट केही समय अघि फर्केकी रहिछन् । विदेशमा बस्दा ती महिला र जाजरकोट घर बताउने एक पुरुषसँगै बस्दा (लिभिङ टुगेदर) रहेछन् । नेपाल फर्केपछि विवाह गर्ने उनीहरुको सर्त रहेछ । दुवै नेपाल फर्केपछि फोनमार्फत कुराकानी भइरहेको रहेछ । केटाले केही समयपछि विवाह गरौँला भन्दा केटीले चाँडै विवाह गर्न दबाब दिएपछि केटाले जन्ती लिएर आउने साइत सुनाएछन् । सोही अनुसार केटीपक्षले विवाहको लागि धुमधाम तयारी गरे ।
विवाहको दिन निम्तालु पनि भेला भए । खानपिनको व्यवस्था पनि भयो । दिउँसोसम्म आउँदैछौँं भन्दै गरेको केटापक्ष साँझपख एक्कासि आफूहरु नआउने भन्दै सम्पर्क बाहिर पुगेपछि केटी अत्तालिँदै प्रहरीकोमा पुगेकी रहिछन् । उनले तत्काल केटालाई झिकाइदिन भने पनि प्रहरीले स्पष्ट ठेगाना नभएको र टाढा रहेकाले तत्काल झिकाउन असम्भव रहेको बताएपछि केटीले आफू केही दिनसम्ममा फकाएर केटालाई बोलाउने त्यसबेला पक्राउ गर्न सहयोग मागे । प्रनाउ थापाले सहयोग गर्ने आश्वासन दिए र केटी फर्किइन् ।
एक हप्तापछि पुनः प्रहरी कार्यालय पुगेकी ती महिलाले केटा सो दिन जिल्लामा आउने बताए र प्रहरीले केटालाई पक्राउ ग¥यो । सार्वजनिक मुद्दा अन्तर्गत २४ दिन हिरासतमा बसेपछि २५ औँ दिनमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए, आदेशलगत्तै तिनै महिलाले सो रकम तिरेर केटालाई छुटाइन् र विवाह सम्पन्न गरी गएको शुक्रबार केटी केटासँगै जाजरकोट लागिन् ।
प्रनाउ बुढाथोकी भने – “चलचित्रको कथा जस्तो लाग्ने यस्तो घटना यसअघि कतै सुनेको पनि थिइनँ । वैदेशिक रोजगारीले यस्ता समस्या आउन थालेको छ । यस्तो विषयमा युवायुवती सचेत हुनुपर्छ ।” भोजेन्द्र बस्नेत/रासस
No related posts.
सेयर बजार : दोहोरो अङ्कको कमी
काठमाडौँ, ११ माघ । धितोपत्र बजारमा आज पनि दोहोरो अङ्कले कमी आएको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार आज करिब २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अङ्कले घटेको हो ।
स्टकका अनुसार बंैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत् ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य समूहको सेयर ६.६५ अङ्कले ओरालो लागेको हो ।
बजारमा सबैभन्दा बढी प्रभु बैंकको साधारण सेयरको किनबेच भएको स्टकले जनाएको छ । सो बैकको रु तीन करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ । यस्तै एसियन लाइफ संस्थापकको रु दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको रु एक करोड ५७ लाख बराबरको सेयर किनबेच भएको छ । रासस
No related posts.
तत्काल स्थानीय निकायको निर्वाचन गर्न माग
काठमाडौँ, ११ माघ । व्यवजस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।
स्थानीय निकायसम्बन्धी आयोगले प्रतिवेदन बुझाइसकेको र केही जिल्लामा विवादसमेत देखिएको सम्बन्धमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मार्फत समस्या समाधानका लागि पहल गर्नसमेत उनीहरुले आग्रह गरे ।
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा स्थानीय तथा राष्ट्रिय समस्यालगायत स्थानीय निकायको निर्वाचनको मिति घोषणामा भइरहेको बिलम्बप्रति सरकारको आलोचना गरेका थिए ।
सांसद ओफिलाल ओफेडा, आशा घिमिरे, आशा कोइरालाले तत्काल लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेको स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभयो ।
केही जिल्लामा रहेको विवाद समेत मन्त्रिपरिषद्ले समाधान गर्न सक्ने कानुनी प्रावधानलाई उपयोग गर्न समेत उहाँहरुले ध्यानकर्षण गराउनुभयो ।
सांसद आदित्यनारायण कशौधनले मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण प्रक्रियामा भइरहेको ढिलाइले हजारौँ नागरिक प्रभावित भएकाले युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गर्नुभयो ।
यस्तै तराई मधेस सिँचाइ कार्यक्रममा भइरहेको ढिलाइप्रति सिँचाइ मन्त्रालयले चासो नदिएकामा समेत रोष प्रकट गर्दै भूकम्पपीडितले राहत नपाएको, भूमिहीन किसान सबैभन्दा बढी समस्यामा परेको र राहत नपाएकामा पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।
यसरी ध्यानाकर्षण गराउनेहरुमा अमनलाल मोदी, आशा यादव, केशरी घर्ती मगर, उमेशकुमार यादव, ऋषिकेश पोखरेल, केशव बडाललगायत हुनुहुन्थ्यो । रासस
No related posts.
विप्रेषणले बस्तीको स्वरुप फेरियो
लहान, ११ माघ । सिरहाको गोलबजार नगरपालिका– ११ बलक्वाका मो कुदुस हारुनलाई अहिले इँटाको पक्की घर बनाउने चटारो छ ।
केही वर्षअघिसम्म पुरानो फुसको घरमा जसोतसो दिन काट्दै आएका हारुनलाई वैदेशिक रोजगारमा रहेका छोराले पठाएको पैसाबाट नयाँ पक्की घर बनाउन चटारो भएको हो ।
नयाँ घर बनाउन इँटा, गिटी, बालुवा र रडजस्ता आवश्यक सामग्रीको जोहोसमेत गरिसक्नुभएका कुदुस भन्नुहुन्छ– “घरको जग खन्ने काम भईसकेको छ, अब बाँकी काम हुन्छ ।” घर बनाउने कामदार र मजदुरले काम शुरु नगरेकाले मात्र घर निर्माणमा केही ढिलाई भएको हो, उहाँ भन्नुहुन्छ–“ नत्र माघको पहिलो सातासम्ममा घरको काम सकिसक्थ्यो ।” हारुनको ५ छोरामध्ये तीनजना अहिले बैदेशिक रोजगारको क्रममा साउदी अरबमा छन् । तीनवटै छोराले कमाएर पठाएको पैसाबाट घर बनाउन लागेको हारुनको भनाइ छ ।
छोराहरुले नै बैदेशिक रोजगारीबाट पठाएको रकमबाटै पाँचकोठे पक्की घर बनाईसकेका सोही ठाउँका मो. कुदुस भने अब गाउँमा थोरै भएपनि जग्गा खरिद गर्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“ घर बनाईसके, अब गाउँमा केही जग्गा जमिन खरिद गर्ने सोचमा छु ।” केही बर्षअघिसम्म निम्न वर्गीय परिवारका रुपमा चिनिने कुदुसको परिवार अहिले गाउँमा हुने खाने परिवारको रुपमा समेत पहिचान बनाउन सफल भएको छ् ।
यस्तै कुनै बेला परिवारको दुई छाक टार्न हम्मे हुने बलक्वाकै जिब्रिल मियाँलाई पनि बैदेशिक रोजगारले यो समस्याबाट मुक्ति दिलाएको छ । करिब ४ बर्षअघि साहु महाजनबाट ऋण लिएर बैदेशिक रोजगारमा गएका मियाँले बिदेशमै कमाएर अहिले परिवारलाई सम्पन्न रुपमा अघि बढाईरहेका छन् । बैदेशिक रोजगारबाट दुई महिनाअघि मात्र घर फर्किनुभएका मियाँ भन्नुहुन्छ–“ बिदामा आएको छु, फेरी कमाउन बिदेश जान्छु ।” उहाँकै कमाईबाट अहिले एउटा छोरा र एक छोरी गाउँ नजिकैको बोर्डिङ्ग स्कुलमा पढ्दै छन्, मियाँकी श्रीमती हसिना खातुन भन्नुहुन्छ–“ श्रीमान्को कमाईले अहिले हाम्रो जीवन नै फेरिएको छ ।”
अहिले उहाँहरुको मात्र होईन्, सिंगो बस्तीकै स्वरुप फेरिएको छ । फुसै फुसको घर देखिने बस्तीमा अहिले पक्की घर देखिन थालेको छ । एक दशकअघिसम्म गरिब, बिपन्न र भूमिहिन सुकुम्बासीहरु समेत बैदेशिक रोजगारका कारण अहिले सम्पन्न बनेका हुन् ।
बैदेशिक रोजगारकै कारण सिरहा जिल्लामा अचेल दैनिक रु. एक करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको अनुमान छ । कामको सिलसिलामा छिमेकी मुलक भारत तथा खाडी मुलुकका विभिन्न देशमा गएका सिरहाका युवाले मनि ट्रान्सफरमार्फत दैनिक करिव रु. एक करोड रकम पठाउने गरेका छन् ।
रोजगारीमा गएका आफन्तले पठाएको रकम लिन सदरमुकाम तथा लहानस्थित मनि ट्रान्सफरका शाखामा दैनिक भीडभाड हुने गरेको छ । सामान्य अवस्थामा सदरमुकाम तथा लहानमा खोलिएका विभिन्न मनि ट्रान्सफरका शाखाबाट अहिले दैनिक रु.एक करोड भन्दा बढी रकम जिल्ला भित्रिने गरेको लहानस्थित सोनु मनि ट्रान्सफरका सञ्चालक गौरी साह बताउनुहुन्छ ।
तेस्रो मुलुक मलेसिया, कतार, दुबई, साउदी, ओमन, कोरिया, इराक तथा इरोपियन मुलुकबाट सबैभन्दा बढी रकम आउने गरेको उहाँको भनाइ छ । जिल्लाबाट बैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्ेपछि सिरहाका आधा दर्जन स्थानमा अहिले मनि ट्रान्सफर खुलेका छन् ।
सिरहाको बिभिन्न स्थानमा प्रभु मनि ट्रान्सफर, बेस्टर्न यूनियन मनि ट्रान्सफर, आइएमई, हिमाल रेमिटल, कृषि प्रमुरा, सनराईज मनि ट्रन्सफर, सिद्धार्थ रेमिट लगायत एकदर्जन भन्दा बढी ट्रान्सफरका शाखा तथा जिल्लामा स्थापना गरिएका समुदायिक सहकारी संस्थामार्फत समेत रेमिट्यान्स भित्रिने गरेको छ । जिल्लाबाट करिब डेढ लाख भन्दा बढी युवाहरु बैदेशिक रोजगारमा रहेको अनुमान छ । राजु विश्वकर्मा/रासस
No related posts.
‘स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग
काँकडभिट्टा (झापा), ११ माघ । मेचीनगरमा नेपाली काँग्रेसले आयोजना गरेको सात दिवसीय ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग भएको छ ।
राजनीतिक दलले स्वास्थ्य सेवाका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्नु आफैँमा नौलो र उदाहरणीय कार्य भएको वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी बताउनुहुन्छ । ‘स्वस्थ समाजका लागि स्वस्थ साहित्य’ विषयको छलफलमा भाग लिन प्रा डा सुवेदी काठमाडौँबाट झापा आउनुभएको हो । उहाँ दुई दिन महोत्सवमा रहनुभयो ।
महोत्सवमै भाग लिन आउनुभएका अर्का साहित्यकार खगेन्द्र सङ्ग्रौला पनि दलले आयोजना गरेको स्वास्थ्य महोत्सवलाई सामाजिक आन्दोलनको मौलिक प्रयोग भएको बताउनुहुन्छ । “हामीकहाँ साहित्य, कला र सांस्कृतिक महोत्सव धेरै भएका छन्”, महोत्सव सन्देशमूलक भएको बताउँदै साहित्यकार सङ्ग्रौला भन्नुहुन्छ – “यस किसिमको स्वास्थ्य महोत्सव नितान्त नयाँ र रमाइलो लाग्यो ।”
आयोजकले यही माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको सातै दिन विशेषज्ञ चिकित्सकको सेवासहित निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । दिनैपिच्छे स्वास्थ्यसँग जोडिएका विषयमा आयोजना हुने छलफलले महोत्सवको आकर्षण थपेको छ ।
महोत्सवमा मुटु, मिर्गौला, कलेजो, मधुमेह, इएनटी, हाडजोर्नी, बालरोग, स्त्रीरोग, आँखा, नसा, फोक्सो, बुढ्यौली जस्ता रोगको उपचार काठमाडौँ, पोखरा, विराटनगर, धरान, बिर्तामोड, भद्रपुर र काँकडभिट्टाबाट आउनुभएका विशेषज्ञहरुले गरिरहनुभएको छ ।
साहित्य, कलाजस्ता विषयमा मात्र आयोजना हुँदै आएको महोत्सवमा बेग्लै स्वास्थ्य महोत्सव आयोजना हुँदा विज्ञको स्वास्थ्यसम्बन्धी धारणा प्रत्यक्ष सुन्न र आफ्ना मनका जिज्ञासा पोख्नसमेत पाइएको मेचीनगर लेडी जेसिजका अध्यक्ष शोभा श्रेष्ठको अनुभव छ ।
मेचीनगर लेडी जेसिजले महोत्सवमा खाजाघरको कक्ष राखेर कोदो, फापर, चामलको रोटीसहितको मौलिक नेपाली परिकार बिक्री गरिरहेको छ । जेसिज आफैँले खाजाघरको कक्ष राखेर स्वस्थ र मौलिक परिकार बेच्दा त्यहाँ खाजा खान सर्वसाधारणको मात्र नभएर चिकित्सक, साहित्यकार, शिक्षकलगायतको घुइँचो लाग्ने गरेको छ ।
बालरोग विशेषज्ञ डा गणेश राई रोगीको उपचारभन्दा छलफलमार्फत स्वास्थ्यका विषयमा प्रवाह हुने चेतना अझ बढी महत्वको हुने बताउनुहुन्छ । डा राईले महोत्सवमा दुई दिनसम्म बिरामी जाँचेर सेवा पु¥याउनुभएको छ । “म आजसम्ममा धेरै स्वास्थ्य शिविरमा सहभागी भएको छु”, डा राई स्वास्थ्य महोत्सवको अनुभव सुनाउँदै भन्नुहुन्छ – “तीभन्दा यो महोत्सव फरक प्रकृतिको पाएँ ।” महोत्सवमा दैनिक हजारौँको सहभागिताले सर्वसाधारण यस्ता गैरराजनीतिक कार्यक्रम रुचाउँदारहेछन् भन्ने देखाएको उहाँको धारणा छ ।
नेपाली काँग्रेसले आयोजना गरे तापनि महोत्सव सफल तुल्याउन स्थानीय नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपालगायत अन्य दलको सहयोगी भूमिका पाइएको छ । नेकपा (माओवादी केन्द्र)का मेचीनगर इन्चार्ज प्रकाश भण्डारी स्वास्थ्य महोत्सव अनुकरणीय कार्यक्रम भएको बताउँदै जनताका समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यमा राजनीतिक दलले भूमिका बढाउन यसले शिक्षा दिएको धारणा व्यक्त गर्नुहुन्छ ।
महोत्सवमा बुढ्यौलीका कारण हुने रोगको उपचार गर्न ६० वर्षमाथि सय वर्ष नाघेका वृद्धवृद्धालाई ल्याइएको थियो । बाहुनडाँगी–२ बाट आउनुभएकी ९८ वर्षीया मैयादेवी थापाले दम बढेका कारण उपचार गर्न छोराबुहारीले ल्याएको बताउनुभयो ।
महोत्सवमा आजसम्मको चार दिनमा छ हजार पाँच सयभन्दा बढी सर्वसाधारणले पुर्जी काटेर प्रत्यक्ष उपचार सेवा लिएको महोत्सव सचिवालय संयोजक पुष्पराज पौडेलले जानकारी दिनुभएको छ । दिनहुँ एक हजार छ सयभन्दा बढी मानिस उपचारका लागि आइरहेको र त्यसमध्ये आँखाको उपचार लिन आउनेको सङ्ख्या दैनिक औसत चार सय रहेको पौडेल बताउनुहुन्छ ।
महोत्सवको छलफलमा स्वस्थ खाना, स्वस्थ बाली, लागुपदार्थको दुव्र्यसन, सुरक्षित सवारी, स्वास्थ्य बिमा, स्वस्थ राजनीतिजस्ता विषयमा विज्ञले आफ्ना अनुभव, अनभूति र सुझाव राखेका छन् ।
‘लागुऔषधमुक्त नेपाली समाजको निर्माण’ विषयको छलफलमा सम्भाषण दिनुभएका नार्कोनन नेपालका अध्यक्ष वसन्तराज कुँवरले स्वास्थ्य महोत्सवको अवधारणाबाट आफू अत्यन्त प्रभावित भएको बताउँदे मेचीबाट सुरु भएको सो अभियानलाई महाकालीसम्म पु¥याउनुपर्ने सुझाव दिनुहुन्छ ।
स्वास्थ्यसम्बन्धी बहसमा माघ १४ गते स्वास्थ्यमन्त्री गगनकुमार थापासमेत सहभागी हुने कार्यक्रम छ । माघ १३ गते नेता प्रदीप गिरी, पत्रकार रवीन्द्र मिश्र, मुमाराम खनाललगायतले छलफलमा भाग लिने कार्यक्रम रहेको महोत्सवको परिकल्पनाकार एवम् नेतृत्वकर्ता काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा बताउनुहुन्छ ।
“प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा पु¥याउने र परोक्ष रुपमा स्वस्थ जीवन जिउन ज्ञान बाँड्ने हाम्रो उद्देश्य हो”, शर्मा भन्नुहुन्छ – “आमजनताको स्वास्थ्यका विषयमा पनि अब राजनीतिक दलहरूले ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सन्देश गइरहेको छ, यो हाम्रो मूल अपेक्षा पनि हो ।” चन्द्रकला भण्डारी/रासस
No related posts.
जलविद्युतमा दुई अर्ब साठी करोड प्रतिबद्धता
काठमाडौँ, ११ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ । स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार २५ हजार २०१ जनाले रु दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् । संस्थागत रुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् । रासस
No related posts.
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...