Sunday, February 26, 2017

म कुनै पनि म्यानपावर व्यवसायमा संलग्न छैन-ओमनका लागि सिफारिश नेपाली राजदूत शर्मिला पराजुली ढकाल


काठमाडौं,
सरकारद्धारा ओमनका लागि नेपाली राजदूतमा सिफारिश शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनै पनि म्यानपावर व्यवसायमा संलग्न नरहेको स्पष्ट पारेकी छिन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पराजुलीले राजदूत  सिफारिश भए लगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको खबर सार्वजनिक भएको कुरामा कुनै सत्यता नभएको स्पष्ट पारिन्। उनले भनिन्,‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, मेरो कुनै म्यानपावरमा संलग्नता छैन्।’
पराजुलीद्धारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,‘सर्वप्रथम नेपाल सरकार र राजनीतिक दलहरुप्रति मेरो क्षमतामाथि विश्वास गरेर ओमानको राजदूतमा सिफारिस गरेकोमा आभार प्रकट गर्न चाहन्छु, एउटा नेपाली नागरिकका नाताले सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतले ममाथि गरेको विश्वासमा खरो उत्रिने वाचा गर्न चाहन्छु।’
उनले आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भनेर समेत समाचार आएकोमा खेद व्यक्त गर्दै भनिन्,‘मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो, हुन त मिडियाका साथीहरुले म सँग आएर मेरो बारेमा केही सोधिदिए हुन्थ्यो भन्ने मलाई लागेको थियो, तर आउनुभएन्, म उहाँहरुलाई पनि दोष दिन चाहन्न, म सँधै आफ्नो बारेमा मिडियालाई बताउन चाहन्छु।’
उनले आफूले कहिल्यैपनि व्यक्तिगत स्वार्थ र फाईदाको लागि काम नगर्ने वाचा गर्दै भनिन्,‘म ओमनमा महिला दिदि बहीनीहरु धेरै हुनुहुन्छ, उहाँहरुको अभिभावकको रुपमा काम गर्नेछु, मनोवैज्ञानिक रुपमा उहाँहरुको समस्या नजिकबाट बुझ्ने काम गर्नेछु।’
उनले संयुक्त अरब इमिरेट्समा अध्ययन तथा व्यावसाय गर्दै आएको आफूमाथि राज्यले गरेको विश्वासमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गर्दै भनिन्,‘मैले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर अध्ययनका साथै कस्मेटिक्स व्यावसाय गरिरहेकी थिएँ, दुबईको ओलङगुन विश्वविद्यालयमा मैले बिजनेश स्टडिजमा अध्ययनरत छु । सँगै त्रिभुवन विश्वविद्यालयबाट पनि मैले अंग्रेजीमा स्नाकोत्तर गरेकी हुँ । अहिले म बेद र बाइबलमा केन्द्रित रही नेपाल संस्कृत विश्वविद्यालयबाट महिला सुरक्षा विषयमा विद्यावारिधी गरिरहेकी छु।’
उनले लोकतान्त्रिक मुलुकमा कुनै पनि सार्वजनिक महत्वको विषयमा चर्चा परिचर्चा हुनु स्वभाविक भएको बताउँदै भनेकी छिन,‘सरकारको राजदूत  नियुक्तिका लागि सिफारिस भएपछि यस विषयमा पनि चर्चा परिचर्चा हुनु स्वभाविक हो । मैले यसलाई स्वभाविक रुपमा लिएकी छु, त्यसैले मेरा वारे पनि भएका चर्चा परिचर्चालाई मैले अन्यथा लिएकी छैन । यस विषयमा केही कुरा प्रष्ट पार्नु राज्यले विश्वास गरेको एउटा जिम्मेवार नागरिक भएका नाताले मेरो पनि दायित्व हो । यही दायित्वबोधका कारण मैले यहाँहरुलाई आज निम्त्याएकी हुँ।’
उनले आफ्नो व्यावसाय कस्मेटिक्सवाहेक अरु केही पनि नभएको जिकिर गरेकी छिन्। उनले अघि थपिन्,‘हाललाई म त्यो व्यावसायमा पनि छैन । अहिले म नितान्त रुमपा अध्ययन र समाजसेवामा समर्पित भएर लागेकी छु, ९ महिनाअघि अघिल्लो सरकारले पहिलो पटक राजदूत  नियुक्तिका लागि मलाई सिफारिस गरेपछि गर्दै आएको व्यावसायबाट अलग भइसकेकी छु, मेरा वारेमा चलेका चर्चाहरुवारे प्रष्ट पार्नुपर्दा म कुनै पनि म्यानपावर व्यावसायमा संलग्न छैन र थिइन, मलाई मलेसियाले २००६ मा डिपोर्ट गरेको भन्ने चर्चामा कुनै सत्यता छैन, जोसुकैले मेरो राहदानी अध्ययन पनि गर्न सक्नुहुनेछ । वा मलेसियन राजदुतावासमार्फत पनि बुझ्न सक्नुहुनेछ।’
उनले कुटनीतिक अनुभवका आधारमा नै सरकारले आफूलाई राजदुत नियुक्तिको सिफारिस गरेको विश्वास व्यक्त गरिन्। उनले अघि भनिन्,‘यसअघि बहराइन र नेपाल सरकारबीच श्रम सम्झौता गर्न मेरो भुमिका महत्वपूर्ण थियो, मध्यपूर्वमा श्रम गरिरहेका नेपालीहरुको समस्या समाधान तथा दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल दुबई चेम्बर अफ कमर्सको उपाध्यक्षको हैसियतले निरन्तर कार्यरत छु, सरकारले मेरा यस्तै योगदान, वैदेशीक विज्ञता, कुटनीतिक अनुभवको कदर गर्दै ओमानका लागि राजदूत  नियुक्तिको लागि सिफारिस गरेको हो, दुबईमा वसेर अध्ययन र व्यावसाय गरे पनि मैले छिमेकको ओमानमा अहिलेसम्म भ्रमणको समय जुटाउन सकेकी छैन।’

के बन्ने चाहना छ त चियावाली नानी को ?(भिडियो हेरौ )

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालहरुमा ‘चियावाली नानी ’ निकै भाइरल बनिरहेको छ ।  फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको चियावाली नानीको धेरै चाहनाहरु रैछन । उनि डाक्टर , हेरोनि  हरु बन्न चाहादी रैछिन । उनि बसन्तपुरमा चिया बेचछिन ।
उनले दिनमा दस देखि बिस कप चिया बेचछिन । थप जानकारीको लागि तलको भिडियो हेर्नु होस् ।

प्रम र ओविओआर अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रतिनिधिमण्डल भेटवार्ता

फोटो पत्रकार समूहले पत्रकारलाई सम्मान गर्ने

विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्न अपिल

Saturday, February 25, 2017

तोकिएको मितिमा स्ववियु चुनाव नहुने

मोेटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, दुई घाइते

पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट

ग्रामीण क्षेत्रका बालबालिकामा शिक्षाको पहुँच बढाउन राष्ट्रपतिको जोड

भूण्कम्पपीडितको लगत सङ्कलन कार्य तीव्र

पूजारीको हत्या

समाजलाई जातीय, धार्मिक र क्षेत्रीयताबाट विभाजन गर्नु हुँदैनः ओली

हकप्रद सेयर जारी गर्दै सानिमा

काठमाडौँ, १४ फागुन । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो ।

सो कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी रु दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी रु एक अर्ब पाँच करोड छ ।

लगानीको अन्य स्रोत हुँदाहँुदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस् भनेर सेयर निष्कासन गर्न लागिएको आयोजनाले जनाएको छ । यसअघि सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । रासस

विकासका लागि वित्तीय संस्थामा सुधार आवश्यक : गभर्नर नेपाल

धनगढी, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थाको सुधार हुनु आवश्यक रहेको बताउनुभएको छ ।

कैलालीको अत्तरियामा आज सञ्चालन भएको वित्तीय साक्षरता अभियानमा उहाँले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताउनुभयो ।

मिडिया इन्टरनेशनलको आयोजनामा भएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिश्रुत थापाले जनचेतना बढाउन यस्तो किसिमको कार्यक्रम सफल रहने बताउनुभयो । कार्यक्रमस्थलमा वित्तीय साक्षरतासँगै सर्वसाधारणलाई खाता खोल्नका लागि विभिन्न बैंकको कक्षसमेत राखिएको छ । रासस

Friday, February 24, 2017

पशुपतिनाथको जलहरी सुनको बनाइने

काठमाडौँ, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरभित्रको जलहरीलाई पूरै स्वर्णमय बनाउन पहल गरिने बताउनुभएको छ ।

महाशिवरात्रिका अवसरमा आज बेलुकी मन्दिर दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । मन्दिरमा दैनिक रुद्राभिषेकका लागि प्रयोग गरिने जलहरीको केही भाग सुनको भए पनि अधिकांश चाँदीको छ । राष्ट्रपतिले सो अवसरमा पशुपतिनाथ मन्दिर परिक्रमा गरी मूल भट्ट गणेश भट्टबाट प्रसाद पनि ग्रहण गर्नुभयो ।

यसैगरी पूर्वयुवराज पारस शाह र नेपालका लागि भारतीय राजदूत रणजीत रायले पनि आज बेलुकी नै मन्दिरको दर्शन गर्नुभयो । महाशिवरात्रिका अवसरमा अहिलेसम्म १३ लाख बढी भक्तजनले पशुपतिको दर्शन गरिसकेको अनुमान कोषले गरेको छ । दुई लाखभन्दा बढी भारतीय भक्तजन यस वर्ष पशुपतिमा आएका छन् । आज राति लाइन बसेजति सबैलाई दर्शन गर्न दिइनेछ । लाइनमा बसेका भक्तजनले दर्शन गरिसकेपछि मात्र पशुपति क्षेत्रका मूल ढोका बन्द गरिनेछ । यस वर्ष कोषले सःशुल्क खारेज गरी सबै भक्तजनलाई लाइनमै राखेर पशुपति मन्दिरभित्र प्रवेश गराएको थियो । रासस

माथिल्लो तामाकोसी ८५ प्रतिशत सम्पन्न

काठमाडौँ, १३ फागुन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्य रुपमा अगाडि बढेको जनाइएको छ । हालसम्म आयोजनामा रु ३२ अर्ब ९८ करोड खर्च भएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण आयोजनाको लागत बढेर रु ४१ अर्ब ७८ करोड पुग्ने अनुमान छ ।

चालु आवको छ महिनामा मात्रै आयोजनामा रु ३३ करोड ३३ लाख खर्च भएको छ । चालु आवमा सरकारले सो आयोजनाका लागि मात्रै रु एक अर्ब बजेट विनियोजन गरेको थियो । आयोजनाको सुरुङ खन्न अब एक हजार तीन सय ५० मि मात्र बाँकी रहेको र अन्य काम पनि युद्धस्तरमा अगाडि बढेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनको विद्युत्गृह, ट्रान्सफर्मर र क्याभिन भर्ने कार्य सम्पन्न हुने चरणमा रहेको र टेलरेसको सुरुङ खन्ने कार्य भने शतप्रतिशत पूरा भएको छ । पछिल्लो समयमा संशोधित कार्यतालिकानुसार तामाकोसीको पहिलो युनिट आगामी २०७५ असार ३१ गते सञ्चालनमा आउने छ । यस्तै बाँकी युनिट सोही वर्षको मङ्सिर २७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भूकम्प र नाकाबन्दीले आयोजनाको काम झन्डै डेढ वर्ष अवरूद्ध भएको थियो । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना हो । रासस

गमगढीदेखि रारासम्मको सडक कालोपत्रे गरिने

संविधान संशोधन प्रक्रिया पहिले अगाडि बढाऊ– मोर्चा

नेपाल–भारत सम्बन्धलाई आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्छ – राजदूत राय

आध्यात्मिक चेतना बढाउन जोड

हेटौँडा, १३ फागुन । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले हिंसा र राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त पार्न र मानवकल्याणका लागि अहिले वैदिक संस्कार र आध्यात्मिक चेतनाको आवश्यकता बढेको बताउनुभएको छ ।

रेग्मीले भारतीय जगत्गुरु सतपाल महाराजजीसँगै नेपाल मानव धर्म सेवा समितिको स्वर्ण महोत्सव तथा सत्सङ्ग महोत्सवको आज यहाँ संयुक्त रुपमा उद्घाटन गर्दै उहाँले राष्ट्रलाई आध्यात्मिक चेतनाका माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ धार्मिक सङ्घसंस्थाले अगुवाइ गर्न आवश्यक छ भन्नुभयो ।

जगत्गुरु सतपालले राष्ट्रको बृहत् उत्थानका लागि प्रत्येक मानवलाई आध्यात्मिक चेतनाको माध्यमबाट समाजलाई उत्थान गर्नेतिर ध्यान दिन आग्रह गर्नुभयो ।

सो अवसरमा समितिद्वारा प्रकाशित स्मारिकाको पनि लोकार्पण गरिएको थियो । शनिबारसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान र श्रीलङ्काका स्वामी, साधुसन्त, महन्तसहित करिब चार हजार प्रतिनिधिको सहभागिता रहेको कार्यक्रम प्रचार समितिका संयोजक सागर कटुवालले जानकारी दिनुभयो । रासस

दुईको मृत्यु

महासङ्घमा देखिएको समस्या समाधान गर्न माग

‘जीवित इतिहास’का परिवर्तनकारी कविता

काठमाडौँ, १३ फागुन । एकानब्बे वर्षीय राजनीतिकर्मी, दार्शनिक तथा साहित्यकार हर्ष स्याङ्बोले आज ‘अविरल जनसाहित्य यात्रा–३४’मा आफ्ना क्रान्तिकारी तथा परिवर्तनकारी एक दर्जन कविता सुनाएर पाठकलाई मोहित पार्नुभएको छ ।
विसं २००६ सालमै पुष्पलालबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका स्याङ्बोका कविता क्रान्तिका भट्टीमा पाकेका निस्किएका जस्तै रहेको र ती माक्र्सवादी जगमा उभिएर परिवर्तनका निम्ति रचिएकाले राजनीतिक–सामाजिक परिवर्तनमा सहयोग पु¥याउने खालका छन् । ती कविताले हिंसा, क्रूरता र अन्यायअत्याचारको विरोध गर्दै शान्ति र मानवताको वकालत गरेका छन् ।
दुई हजारको दशकदेखि हालसम्म रचित ती कविता वाचनमा डम्बर पहाडी, श्याम रिमाल, सूर्य बिसी, धनकुमारी सुनार, कमला पराजुली र अनिता लामाले सहयोग गर्नुभएको थियो । ‘ताजमहल’, ‘मुक्ति चाह’, ‘मान्छेको इतिहास’, ‘पथभ्रान्ति’, ‘डोजर नचलाऊ’, ‘धर्म र क्रान्ति’ आदि शीर्षकका कविता वाचन गरिएका थिए । साहित्यकार स्याङ्बोका दुई कवितासङ्ग्रह र एक उपन्यास प्रकाशित छन् ।
सो अवसरमा उहाँका समकालीन लक्ष्मीभक्त उपाध्यायले पार्टीको स्वीकृति लिई पहिलो पल्ट अन्तर्जातीय विवाह (तामाङ र राणा) गर्नेमा स्याङ्बो नै हुनुभएको जानकारी दिनुभयो । साहित्यकार तथा नेकपा(एमाले)की नेत्री शान्ता मानवीले राजनीति गर्नेले साहित्यलाई पनि समाएमा नेतृत्व सही ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रा केशव सुवेदीले कवि स्याङ्बोमा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल र युद्धप्रसाद मिश्रका जस्ता स्वच्छन्दतावाद र क्रान्तिकारी स्वाद पाइने बताउनुभयो । समालोचक यादव भण्डारीले कविले क्रान्तिका सपना पूरा गर्न कवितालाई हतियारका रुपमा प्रयोग गरेको टिप्पणी गर्नुभयो ।
आयोजक मञ्चका अध्यक्ष राम विनय र उपाध्यक्ष रमेश पोखरेल तथा कार्यक्रम संयोजक यशोदा अधिकारीले स्याङ्बो जीवित इतिहास भएको बताउँदै अनुभवी र पुराना स्रष्टासँग युवाहरुले सङ्गत गरी तिनको अनुभवबारे ज्ञान लिनुपर्ने बताउनुभयो । आगीमी जनसाहित्य यात्रामा कवि भारद्वाज मित्रले एकल कविता वाचन गर्नुहुनेछ । रासस

Thursday, February 23, 2017

तीन प्रतिवेदन पेस

चुनावको वातावरण बनाउन सहयोग गर्नुहोस : उपप्रधानमन्त्री महरा

Monday, February 20, 2017

अमेरिकी प्रतिरक्षा मन्त्री बग्दादमा

बग्दाद, ९ फागुन । अमेरिकी प्रतिरक्षामन्त्री जेम्स म्याटिस सोमबार औपचारिक भ्रमणको क्रममा इराकको राजाधानी बग्दाद पुग्नु भएको राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानलले जनाएको छ ।
म्याटिनको यो भ्रमण इराकको मोसुल सहरको पश्चिमी भागबाट इस्लामिक स्टेट आतङ्ककारी विरुद्ध इराक सुरक्षाबलले कारबाही जारी राखी उनीहरुलाई त्यहाँबाट हटाउने कोसिस भइरहेको अवस्थामा भएको छ ।

म्याटिनले इराकी प्रमुख अधिकारीहरु र सैनिक कमाण्डरसँग भेटवार्ता गरी Þिद्वपक्षीय सम्बन्ध र मोसुल सहरमा आएएस समूह विरुद्ध गरिने आक्रमणको विषयमा कुराकानी हुने अनुमान गरिएको इराकिया समाचार च्यानलले बताएको छ । सो समाचार च्यानलले अरु विस्तृत विवरण भने दिएको छैन् ।

इराकमा यस अघिदेखि नै सयौं अमेरिकी सैनिकहरु रहेका छन् ती सैनिकहरुले आइएस आतङ्ककारी समूहविरुद्ध इराकी सैनिकलाई तालिम र सल्लाह दिने गरेका छन् ।

अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुक्त सैनिकले इराक र सिरियामा आइएसलक्षित हवाई आक्रमण गर्दै आएको छ । रासस ÷सिन्ह्वा

ब्रिक्स सम्मेलनको तयारीका लागि चीनले सहयोग गर्छ : चिनियाँ विदेशमन्त्री

बेइजिङ, ९ फागुन । चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा सो धारणा राख्नुभएकोे हो । हाल चीनको भ्रमणमा रहनुभएका दक्षिण अफ्रिकाका विदेशमन्त्री माइते एन्कोना मासाबाने र चिनियाँ विदेशमन्त्रीबीच सोममार चिनियाँ राजधानी बेइजिङ्मा भेटवार्ता भएको थियो ।

ब्रिक्सको आगामी सम्मेलन चीनको दक्षिणपूर्वी सहर सियामेनमा आगामी सेप्टेम्बर महिनामा हुने कार्यक्रम रहेको छ । सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यिले ब्रिक्सको आगामी सम्मेलनको सफलताका लागि तथा ब्रिक्सलाई थप विकसित र समावेशी आर्थिक विकासका रुपमा विकास गर्नका लागि चीनको सहयोग रहने बताउनुभएको समाचारमा जनाइएको छ ।

आर्थिक विश्वव्यापीकरण र समावेशी तथा सन्तुलित आर्थिक विकासका लागि ब्रिक्स सङ्गठनलाई अघि बढाउनुपर्ने धारणा उहाँको थियो । चिनियाँ विदेशमन्त्री यिले चीन र दक्षिण अफ्रिकाको आपसी सम्बन्ध सुदृढ र सुमधुर रहेको बताउनुभयो ।

उहाँले आपसी विश्वासमा आधारित सम्बन्धका कारणले चीन र दक्षिण अफ्रिकाको सम्बन्धमा सुमधुरता आएको पनि बताउनुभएको राजधानी बेइजिङबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीन र दक्षिण अफ्रिकाबीचको जनस्तरको उच्चस्तरीय बैठक आगामी केही समयमा आयोजना गरिने सो अवसरमा दुई देशका विदेशमन्त्रीस्तरमा सहमति भएको बताइएको छ ।

दुई देशबीचमा स्थापित रहेको चाइना अफ्रिका कोअपरेसनको बैठक आगामी केही समयमा बस्नेगरी तयारी गरिने बताइएको छ ।

सोको अपरेसनको बैठक सन् २०१५ मा जोहानेस्बर्गमा आयोजना गरिएको थियो । त्यस सम्मेलनमा आर्थिक लगायतका विभिन्न मुद्दामा छलफल भएको थियो ।

त्यस अवसरमा दुई देशबीचमा विस्तार र अभिवृद्धि गरिनुपर्ने आर्थिक, व्यापारिक र लगानी अभिवृद्धिको विषयमा पनि आगामी सो कोअपरेसनको बैठकमा व्यापक मात्रामा छलफल हुने जानकारी पनि सो अवसरमा दिइएको थियो ।

उक्त ब्रिक्स सङ्गठनमा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेका छन् । रासस÷सिन्ह्वा

हाते बम आक्रमणमा दश सर्वसाधारणको मृत्यु

मेहतार्लाम (अफगानिस्तान) ९ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त लघमान भएको हाते बम (ग्रेनेट) आक्रमणमा कम्तीमा १० अफगान नागरिकको मृत्यु भएको छ । प्रान्तीय सरकारले सोमबार सो जानकारी दिएको छ ।
उक्त आक्रमण स्थानीय समयाअनसार आइतबार साँझ ७ः३० मा भएको जनाइएको छ । अज्ञात व्यक्तिहरुले गरेको यस ग्रेनेट आक्रमणमा एक परिवारको दश व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस आक्रमणमा मारिएका प्रायः महिला र बालबालिका रहेका र यस घटनामा घाइते भएका सवैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
यस आक्रमणको कारण हालसम्म अज्ञात नै रहेको र तत्काल कुनै व्यक्ति या समूहले यस आक्रमणको जिम्मा भने लिएका छैनन् । प्रान्तीय गभर्नर अब्दुल जबार नहिमी यस आक्रमणको भत्सना गर्नु भएको छ । साथै स्वास्थ्य अधिकारीहरुलाई घाइते व्यक्तिहरुलाई राम्रो उपचारको व्यवस्था मिलाउनसमेत आदेश दिनु भएको छ ।
अफगानिस्तानमा जारी द्वन्द्वमा परी गत बर्ष ३ हजार ४९० सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ७ हजार ९२० जना घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्रको मिसनले केही समय अगाडी जानकारी दिएको थियो । रासस ÷सिन्ह्वा

विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर

बनेपा, ९ फागुन । बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ ।
आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ ।
सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षिय कृष्णराम पुर्कोटी (प्रमोद) को रहस्यमय ढङ्गले मृत्यु भएको छ । प्रहरीले उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ भने पीडित आफन्तले विद्यालय व्यवस्थापनले वास्ता नगरेको कारण मृत्यु भएको आरोप लगाएको छ ।
मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गर्नुभयो । जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराउ गरिरहेका छन् ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले घटनाको विस्तृत अनुसन्धान हुने विश्वास दिलाउँदै मृत्युको कारण शव परीक्षणको प्रतिवेदन आएपछि जानकारी हुने बताउनुभयो ।
विद्यालयको बेवास्ताका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका पीडितले विद्यालय परिसर छिरेर तोडफोड गरेका थिए । कक्षा १० मा अध्ययनरत विद्यार्थी पुर्कोटी प्रवेशिका परिक्षाको तयारी थिए । प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । रासस

राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा धुर्मुस र सुन्तली

पर्सा, ९ फागुन । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गर्नुभएको छ ।

भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपर्नुभएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस)ले विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्दता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर भएको बताउनुभयो ।

उहाँले ‘राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रमसँगै तराईका जिल्लामा रहेका दलित बस्तीको पुनःनिर्माणको अभियानलाई अगाडि बढाएको जानकारी दिनुभयो ।
कट्टेलका अनुसार महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत बस्ती निर्माण कार्यको थालनी गरिएको छ र अहिलेसम्म सो बस्तीको काम ५० प्रतिशत पूरा भएको छ ।

पत्रकार सम्मेलनमा साथै रहनुभएकी कुञ्जनाले बालविवाह, दाइजो प्रथाजस्ता विकृतिले पिरोलिएका तराईवासीमा चेतना अभिवृद्धि गर्न आफूहरुले तयार पारेका दुईवटा चलचित्र पर्सा जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिनुभयो । रासस

खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर

धनगढी, ९ फागुन । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ ।

आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।

गत पुस २१ देखि माघ १ गतेसम्म यहाँ सञ्चालन भएको पहिलो संस्करणको विजेता मनाङ मस्र्याङ्दीलाई रु पाँच लाख तथा उपविजेता सङ्कटालाई रु दुई लाख ५१ हजारसहितको पुरस्कार दिइएको थियो ।

पत्रकार सम्मेलनमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्न भएको रु ७८ लाख १६ हजारको आयव्यय विवरणसमेत सार्वजनिक गरिएको थियो । रासस

चौध देशमा राजदूत नियुक्तिका लागि सिफारिस

काठमाडौँ, ९ फागुन । सरकारले १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय आज गरेको छ ।

सिंहदरबारमा आज दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युवनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास र अस्टे«लियाका लागि लक्की शेर्पालाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमाका लागि भीम उदास, श्रीलङ्काका लागि विश्वम्भर प्याकु¥याल, ओमनका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, बङ्गलादेशका लागि चोपलाल भुसाल र इजरायलका लागि निरञ्जन थापालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

साथै सरकारले स्पेनमा राजदूतावास खोली त्यहाँ भरत रायमाझीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो । रासस

खुकुरी प्रहारबाट एकको मृत्यु

डडेल्धुरा, ९ फागुन । खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् ।

खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

एउटै स्थानमा तल र माथि घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेकाले सो सम्बन्धी पटक पटक विवाद हुँदै आएकोस्थानीयवासीको भनाइ रहेको छ ।

मृतक साउद कोटेली गाविसस्थित मानवअधिकार निगरानी समूहका अध्यक्षसमेत हुनुहुन्थ्योे । रासस

संविधान संशोधन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, ९ फागुन । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलबारदेखि सुरु हुने संसद्मा संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“भोलिदेखि सदनमा संशोधन प्रक्रिया अघि बढाइनेछ, मधेसी, थारु, जनजाति लगायतका मागलाई सम्बोधन गर्न तदारुकताका साथ अघि बढ्ने काम हुन्छ” – मन्त्री कार्कीले भन्नुभयो ।

मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदनको व्यावहारिक कार्यान्वयनका लागि सरोकारवाला र विज्ञहरुसमेतको सुझाव लिएर सात दिनभित्र प्रतिवेदन पेस गर्न अहिलेकै समितिलाई थप कार्यभार दिने निर्णय गरेको छ ।

आयोगको प्रतिवेदनको अध्ययनका साथसाथै विभिन्न जिल्ला तथा तराई–मधेसमा प्रकट भएका भावनालाई ध्यान दिँदै सुझाव प्रस्तुत गर्न यसअघि सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले निर्धारित समयमै आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

सञ्चारमन्त्री कार्कीका अनुसार तराई–मधेसलगायत विभिन्न स्थानमा सीमाङ्कनको हेरफेर गर्न र स्थानीय निकायको सङ्ख्या अभिवृद्धि गर्न समितिले दिएको सुझावलाई मन्त्रिपरिषद्ले उचित र मुनासिब ठहर गर्दै त्यसको व्यावहारिक कार्यान्वयनका लागि विज्ञहरुको सुझाव समेटेर प्रतिवेदन दिन समितिलाई सात दिनको अवधि दिइएको हो । रासस

बालविवाह गराउने चारजना प्रहरी हिरासतमा

गुल्मी, ९ फागुन । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।

हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिनुभयो ।

गुल्मी खड्गकोट–४ का पवन ढकालले गत माघ २२ गते पर्वत लिमीठाना–१ की १७ वर्षीय लक्ष्मी रिजाललाई ललाई फकाई विवाह गरेको भन्दै निजकी आमा कल्पना रिजालले जिल्ला प्रहरी कार्यालय गुल्मीमा बालविवाह सम्बन्धीे उजुरी दिएकी थिइन् ।

उजुरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले बालविवाह गर्ने र विवाह गर्न सघाउने चारैजनालाई पक्राउ गरी हिरासतमा लिएको हो ।

मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

जिल्लामा बालविवाह सम्बन्धीे घटनामा प्रहरीसमक्ष धेरै कम उजुरी आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँच वर्षको अवधिमा बालविवाहको कसुरमा उजुरी दर्ता भएको यो दोस्रो पटक हो । रासस

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

कञ्चनपुर, ९ फागुन । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ ।

कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताउनुभयो ।

नेपाल भारत सीमाक्षेत्रभन्दा १०० मिटर परको नेपाली भू–भागमा कल्भर्ट निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

यससम्बन्धी सिमावर्ती भारतीय सुरक्षाकर्मी र सम्बन्धीत अधिकारीसँग छलफल गर्नका लागि नगरपालिकाका कार्यकारी अधिकृत र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका अधिकारीसहित टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । रासस

अवैधरुपमा लैजाँदै गरेको जडीबुटीसहित व्यापारी पक्राउ

जाजरकोट, ९ फागुन । अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ ।

जिल्ला वन कार्यालयको छुट पुँर्जीबिना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो ।

प्रहरीले उक्त जडीबुटी दल्लीस्थित इलाका वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताउनुभयो । अवैध रूपमा ट्र्याक्टरमा हाली जाजरकोटबाट नेपालगन्जतर्फ लैजान खोजिएको उक्त जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको र अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ ।

स्रोत साधन तथा जनशक्ति अभावमा जडीबुटी चोरी निकासी नियन्त्रण गर्न कठिन भएकोे जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताउनुभयो । चोरी निकासी हुने नाकामा पुग्न ३,४ दिन लाग्ने र नजिकमा रेन्ज पोस्ट पनि नहुँदा थप समस्या भएको उहाँको भनाइ छ । रासस

रक्त सञ्चार केन्द्र स्थापनाका लागि आर्थिक सहयोग

तम्घास (गुल्मी), ९ फागुन । गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थालाई रु १२ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, गुल्मीको रक्त सञ्चार केन्द्र स्थापनाका लागि रु नौ लाख र अपाङ्गताका क्षेत्रमा काम गर्न आशा अपाङ्ग केन्द्रलाई रु तीन लाख गरी कुल रु १२ लाख सहयोग गरेको हो ।

जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष राम गलामीले नेपाल रेडक्रस शाखा सभापति अनुपकुमार श्रेष्ठ र आशाकी उपाध्यक्ष गङ्गा रायमाझीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले जिल्लाको सामाजिक विकासका लागि युकेमा बसोबास गर्ने गुुल्मेलीहरुले देखाएको सक्रियताको प्रशंसा गर्दै राज्यको एक्लो प्रयासले मात्र समाज विकास सम्भव नहुने भएकाले यसमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

समाजका अध्यक्ष राम गलामीले जिल्लाको समग्र विकासका लागि समाजले आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै खर्च कटौती गरेर गरिएको सहयोग रकमको पूर्ण सदुपयोग हुनेमा जोड दिनुभयो ।

जिल्लामा रगत अभावका कारण कैयौँले अकालमै ज्यान गुमाउनु परेको र कुनै ठूलो दुर्घटना हुँदा आपत्कालीन अवस्थामा रक्त सञ्चार केन्द्रको अभावमा बिरामीलाई अन्य जिल्लामा पठाउनुपर्ने बाध्यतालाई हटाउन नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार केन्द्र स्थापनाका लागि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरिएको नेपाल रेडक्रसका सभापति अनुपकुमार श्रेष्ठले बताउनुभयो ।

गुल्मी सेवा समाज बहराइनले रु एक लाख सहयोग गरेर रक्त सञ्चार केन्द्र स्थापनाको सुरुवात गरेको थियो । त्यो अभियानलाई सफल बनाउन गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारीले पनि संसद् विकास कोषबाट रु १० लाख सहयोग गरिसक्नुभएको छ । रासस

अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

निर्वाचनको मिति आजै घोषणा हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को १३ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो —संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको छ भन्नुभयो ।

मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा(एमाले)का नेता गङ्गालाल तुलाधरले मुलुकमा गुणस्तरीय शिक्षा आवश्यक भएको बताउनुभयो । रासस

ट्रक दुर्घटनामा आठ घाइते, दुईको अवस्था गम्भीर

इलाम, ९ फागुन । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को.३ प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का १७ वर्षीय राजीव विक, कन्काई नपा–२ का ३३ वर्षीय राजेश राई, धाइजन–४ का २१ वर्षीय विवेक सुब्बा, कन्काई नपा–८ कै २६ वर्षीय सुमन पौडेल सामान्य घाइते र झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई नपा–८ कै ४२ वर्षीय दीपक राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि झापाको विर्तामोडस्थित बी एन्ड सीमा लगिएको छ । ट्रक अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

Sunday, February 19, 2017

सडक र पुलको पूर्वाधार विकासमा भारतको रु ३६ अर्ब ४७ करोड ऋण

काठमाडौँ, ८ फागुन । नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले रु ३६ अर्ब ४७ करोड ऋण सहयोग गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित सहमतिपत्र हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । भीमदत्तनगरको महाकाली नदीमा चार लेनको पक्की पुल र १८ सडक योजनाका लागि ऋण सहयोग प्रदान गरिएको हो ।

गण्डक नहर सडक, सहजपुर–बोगटान–दिपायल, वसन्तपुर–कथरिया–कबाहीगोठ–पिपराढी–पदम, तराई सहरी सडक नेपालगन्ज, रम्भापुर–गुलरिया, गुलरिया–रजनवा, लमही–घोराही, घोराही–तुलसीपुर, चरीकोट–तामाकोसी–जिरी, सेलेघाट–रामेछाप–साँघुटार, तराई सहरी सडक–राजविराज, सिरहा–मलङ्गवा–जलेश्वर, भालुवाङ–बाग्दुला–भीमगिठे, भेडेटार–बुधबारे–रबी–राँके, गैँडाकोट–रामपुर–राम्दी, चन्द्रौटा–कृष्णनगर, कृष्णनगर सहरी सडक, बर्दिवास–जलेश्वर सडक योजनाका लागि ३४०.२२ अमेरिकी डलर अर्थात् रु ३६ अर्ब ४७ करोड ऋण सहयोग स्वीकृतिको अन्तिम सहमतिपत्र हस्तान्तरण गरियो ।

मन्त्री रमेश लेखक र भारत सरकारका रेलमन्त्री सुरेशप्रभाकर प्रभुको उपस्थितिमा सचिव धनबहादुर तामाङलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले सहमतिपत्र हस्तान्तरण गर्नुभयो । सहमतिपत्र हस्तान्तरणपछि मन्त्री लेखकले दुई देशबीच आपसी सम्बन्ध, सद्भाव र पारस्परिक सहयोग कायम गर्दै नेपालमा रेलमार्ग र हुलाकी सडक निर्माणमा पनि भारतको महत्वपूर्ण सहयोग प्राप्त भएको छ भन्नुभयो ।

भारतीय रेलमन्त्री प्रभुले दुई छिमेकीले पूर्वाधार विकासलगायत क्षेत्रमा एकापसमा सहयोग आदानप्रदान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधबारसम्म अल्पकालीन अन्तरिम आदेश जारी रहने अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । इजलासले महान्यायाधिवक्ता कार्यालयलाई गत आइतबार इजलासमै चढाएको पूरक निवेदनका बारेमा सूचना दिने र बुधबार दुवै पक्षलाई राखी बहस हुनेछ ।

गत आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने÷दिलाउने, पदबहाली गर्ने÷गराउनेलगायत कुनै पनि कार्य नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आदेशमा प्रहरी महानिरीक्षकमा नियुक्त गर्दा प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूमुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यजस्ता कुरालाई ध्यानमा राख्नुपर्नेे उल्लेख थियो ।

प्रहरी महानिरीक्षकका लागि मापदण्डको पालना र अवलम्बन बाध्यात्मक रूपमा गर्नुपर्ने संवेदनशीलता समेतलाई विचार गर्दा दुवै पक्षका छलफलबाट अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निष्कर्षमा नपुगेसम्मका लागि उक्त आदेश जारी गरिएको आदेशमा उल्लेखे थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै गत माघ २९ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

गत आइतबार नै चन्दलाई मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि अधिवक्ता ढकालले पुनः इजलासमा पूरक निवेदन दिनुभएको थियो तर त्यसका बारेमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा मङ्गलबारका लागि सुनुवाइ सरेको हो । निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षकमा नियुुक्त गरेको जनाउँदै सो नियुक्ति बदर गर्न माग गरिएको थियो ।

त्यसैगरी गत आइतबार चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयविरुद्ध महानिरीक्षकका आकाङ्क्षी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले निवेदन दायर गर्नुभएको थियो ।

सोमबार प्रधानन्यायाधीश कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन सोही दिन अर्को अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । दुवै निवेदनमाथि अदालतले यही फागुन ११ गते सुनुवाइ गर्नेछ । सो निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा निष्कर्ष निकालिनेछ । रासस

जनता आवास कार्यक्रम अन्तर्गत पाँच सय ५०घर निर्माण हुँदै

धनगढी, ८ फागुन । सीमान्तकृत र विपन्न समुदायको बसोवासका लागि ल्याइएको जनता आवास कार्यक्रम अन्तर्गत यसवर्ष कैलाली जिल्लामा ५सय ५० वटा घर निर्माण हुने भएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा प्रति घरका लागि रु दुई लाख १६ हजारका दरले बजेट आएको यहाँस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।

जिल्लाका कुन क्षेत्रका सीमान्तकृत एवम् विपन्न परिवारको घर निर्माण गर्ने भन्ने बारेमा तीन दिनअघि स्थान छनोट गरिएको थियो । सांसद ईश्वरी न्यौपानेको संयोजकत्वमा गठित जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिको बैठकले हालै स्थान छनोट गरेको थियो ।

बैठकले स्थान छनोट गरेपनि परिवार छनोट गर्न बाँकी रहेको कार्यालयका इन्जिनियर मोहन अवस्थीले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत ५० वटा घर राजी, वादी, गन्धर्व र लोध जातीका लागि तोकिएर आएकाले सत्ती, विष्णुकान्तिपुर, टिकापुर, पथरैया, भजनी–त्रिशक्ति तथा धनगढी लगायतका स्थान छनोट गरिएको हो ।

बाँकी ५०० घर निर्माणका लागि समितिले अत्तरिया, चौमाला, लम्की, गोदावरी, मुडा, टिकापुर, भजनी–त्रिशक्ति, थापापुर, मसुरिया र सुगरखाल क्षेत्र छनोट गरेको छ ।

आर्थिक अवस्था, बसोबासको स्थिति आदि हेरेर विपन्न परिवार छनोट गरिने संयोजक सांसद न्यौपानेले बताउनुभयो । घर निर्माणको लागि छनोटमा पर्ने सम्बन्धित परिवारले रु १० हजार बराबरको श्रमदान गर्नुपर्ने प्रावधान छ ।

आर्थिक वर्ष सुरु भएको आठ महिनासम्म पनि कार्यक्रम कार्यान्वयनका लागि भइरहेको ढिलाइले यो आर्थिक वर्षमा आएको सबै बजेट खर्च हुन नसक्ने देखिएको छ ।

सरकारले आर्थिक वर्ष ०६७÷६८ देखि सीमान्तकृत र विपन्न समुदायको बसोबासका लागि सो कार्यक्रम अन्तर्गत घर निर्माणको अवधारणा ल्याएको हो । सुरुका वर्षमा बादी जातीका लागि मात्र आएको यो कार्यक्रम त्यसपछिका वर्षमा अन्य सीमान्तकृत एवम् गरिब जातीका लागि पनि विस्तार गरिएको हो ।
सोे अवधिमा कैलाली जिल्लामा मात्रै १०० भन्दा बढी घर निर्माण गरिसकिएको छ । चालु वर्षदेखि कञ्चनपुर जिल्लामा पनि यो कार्यक्रम कार्यान्वयन हुन लागेको बताइएको छ ।

उक्त कार्यक्रममा ऐलानी जग्गा भएका विपन्न परिवारलाई पनि समेटिनुपर्ने माग कैलालीका बादी समुदायले गर्दै आएका छन् । रासस

छिट्टै मिति घोषणा गर्ने सत्तारुढ दलको निर्णय

काठमाडौँ, ८ फागुन । लामो समयको रस्साकस्सीपछि अन्ततः सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेको छ ।

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर स्थानीय निकायको निर्वाचन घोषणासँगै संविधान संशोधन प्रक्रियालाई अघि बढाउने योजनामा रहेको सरकारले सम्बन्धित पक्षसँग चरणबद्ध छलफल गरिरहेको छ । दुवै पक्षका अडानका बीच मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।

निर्वाचनको मिति र समसामयिक विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ प्रमुख दलको बैठकले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्दै निर्वाचनको दिशातर्फ अघि बढ्ने अठोट गरेका छन् ।

निर्वाचन र संविधान संशोधनबारे शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएका प्रधानमन्त्रीले आज सत्ता साझेदार काँग्रेससँग छलफल गरी छिट्टै निर्वाचनको मिति घोषणाको तयारी गर्नुभएको बुझिएको छ ।

मुलुकको परिस्थिति ध्यानमा राखी निर्वाचनको मिति छिट्टै घोषणा गरेर पछि संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचन गर्ने सत्तारुढ दलबीच सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“सत्तारुढ गठबन्धनका प्रमुख राजनीतिक दलले पहिलादेखि नै आफ्नो दृष्टिकोण प्रस्ट पारेकै थिए कि संविधान संशोधनको प्रक्रिया टुङ्ग्याएपछि निर्वाचन गर्ने, त्यसमा त हामी कायमै छौँ अहिले पनि, तर अहिले मिल्ने स्थिति रहेन, त्यसलै निर्वाचनको मिति छिट्टै घोषणा गर्नेमा सत्तारुढको स्पष्ट दृष्टिकोण बनेको छ, छिट्टै हुन्छ, दिन र घन्टा भन्न म सक्दिन” – उहाँले भन्नुभयो ।

नेता श्रेष्ठले मोर्चाका नेतासँग छलफलमै रहेकाले संशोधन प्रक्रिया टुङ्गो लगाएर निर्वाचनमा जाने भनिएकाले मोर्चा आन्दोलनमा नजाने अपेक्ष व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले निर्वाचन क्षेत्र निर्धारण आयोगसँग आवश्यक परामर्श गरी छिट्टै निर्वाचन गराउन सत्तारुढ दलबीच सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो – “पहाडमा भूगोलअनुसार र तराईमा जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गर्ने कुरा भएको छ, आजै साँझ आयोगका पदाधिकारीसँग परामर्श गरी मिति घोषणा हुन्छ ।”

बैठकमा प्रधानमन्त्रीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, उपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत नेताको सहभागिता थियो । रासस

दुई गाविसका भूकम्पपीडितले आवास अनुदान पाउने

बनेपा, ८ फागुन । काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने भुम्लुटार र फलाँटे गाविसका भूकम्पपीडितले पनि आवास अनुदान पाउने भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । सो क्षेत्रमा रहेको जग्गा नापजाँच भइसकेको प्रमाणित भएपछि सम्बन्धित गाविस वा नगरपालिकाले गरेको सिफारिसका आधारमा उनीहरुलाई आवास अनुदान दिन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिव ध्रुव गंैडाले जानकारी दिनुभयो ।

“यो जिल्लामा जग्गाको कारणले भूकम्पपीडित आवास अनुदान पाउनेबाट वञ्चित हुने अवस्था देखिएपछि यो निर्णय गरेका हौँ” उहाँले भन्नुभयो । आवास अनुदान पाउने भुम्लुटार गाविसमा पाँच सय ८९ र फलाँटे गाविसमा तीन सय ६७ छन् । उनीहरुले पहिलो किस्ताबापत रु ५० हजार पाउने छन् ।

सदस्य सचिव गैंडाले भूकम्पपीडितलाई दोस्रो किस्ता वितरणका लागि जिविसलाई निर्देशनसमेत दिइएको उल्लेख गर्दै अहिलेसम्म करिब पाँच सय जनाको आवेदन परेको बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा क्षेत्रगत अध्ययनका लागि सम्बन्धित क्षेत्रका सांसदको संयोजकत्वमा अध्ययन समिति समेत गठन भएको छ । त्यसले १५ दिनभित्रमा अध्ययन पूरा गर्ने छ ।
जिल्लामा अनुदान आवास पाउनबाट वञ्चित भएको गुनासोमा २१ हजार नौ सय २९ मध्ये आठ हजार तीन सय २८ जनाले आवास अनुदान पाएका छन् । अहिलेसम्म ७० हजार छ सय ३४ जनाको आवास अनुदानका लागि लाभग्राही सूचीमा नाम प्रकाशन भएको छ ।

स्थानीय विकास अधिकारी टेकराज निरौलाले गाविस र नगरपालिकाबाट प्राविधिकसहित सिफारिस भएर आए भूकम्पपीडितले दोस्रो किस्ताको रकम पाउने बताउनुभयो । भूकम्पपीडितले दोस्रो किस्ताबापत रु एक लाख ५० हजार पाउने छन् ।

सहरी विकास भवन डिभिजन कार्यालय, धुलिखेलका प्रमुख अष्टलाल सुवालले प्राविधिकमार्फत कार्यविधि र निरीक्षण पुस्तिका गाविस र नगरपालिका पठाइएको जानकारी दिनुभयो । रासस

एक्काइस वर्षपछि उपचार पाइन् जयनन्दाले

बाजुरा, ८ फागुन । बडिमालिका नगरपालिका–९ की ६० वर्षीया जयनन्दा पाध्याय पाठेघरको बिरामी भएको २१ वर्ष पुग्यो । तीन सन्तानकी आमा पाध्यायले अर्थाभावका कारण जिल्ला बाहिर गएर उपचार गर्न सक्नुभएको थिएन ।

सामान्य परिवारकी पाध्यायले पाठेघरको उपचार गराउन नसक्दा धेरै सास्ती भोग्नुपरेको थियो । जिल्लामै पाठेघर खस्नेको उपचार नहुँदा उहाँले रोग पालेर बस्न बाध्य हुनभएको हो ।
जिल्लामा पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शिविर आयोजना गरेकाले लामो समयपछि उपचार गरेको उहाँले बताउनुभयो ।

पाध्याय जस्तै पाठेघरको रोग पाल्दै आउनुभएकी दुर्गम विकट गाविस कोल्टी–९ नुरीकी ७० वर्षीया दुर्गा बोहराले पनि शिविरमा उपचार गराउनुभयो । पाठेघर खस्ने समस्या भएको पाँच वर्षपछि बोहराले उपचार गराउनु भएको हो । आर्थिक अभावका कारण मर्ने बेलामा के उपचार गराउने भन्ने सोचमा रहेकी थिए तर जिल्लामै निःशुल्क शिविर सञ्चालन भएपछि पाठेघरको उपचार गर्न आएको उहाँले बताउनुभयो ।

शिविरमा आर्थिक अभावका कारण पाठेघर खस्ने समस्या भएका अधिकांश महिलालाई राहत मिलेकामा बोहराले खुशी व्यक्त गर्नुभयो ।

पाध्याय र बोहराको जस्तै जुकोट गाविस–८ जुकुकी ४६ वर्षीया चैती जैशीले पाठेघर खस्ने समस्याको निःशुल्क शिविर सञ्चालन हुने खबर पाएपछि सदरमुकाम पुग्नुभएको थियो ।

पाठेघर खस्ने समस्या सुरु भएको १० वर्ष पुगेको भइसक्दा पनि आर्थिक समस्याले उपचार गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो– जिल्ला बाहिर गएर उपचार गर्न लाखाँै खर्च लाग्थ्यो तर त्यो क्षमता आफूसँग थिएन ।

शिविर सञ्चालनका कारण जिल्लाका महिला पाठेघर खस्ने समस्याको उपचार एकामा खुशी देखिन्थे ।

जिल्लामा ग्रामीण भेगका महिलाले गर्भवती हुँदा गह्रुँगो भारी बोक्ने गरेकाले यस्तो समस्या आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले बताउनुभयो ।

यादवले ग्रामीण भेगका महिलाले सुत्केरी भएका बेला आराम नगर्ने र पोषणयुक्त खानेकुरा र पहेँला फलफूल नखाने र सुख्खारोटी खाएर बस्ने गर्छन् । महिलाले गर्भावस्थामा ठूला सामान नबोक्ने, आराम गर्नेजस्ता कार्य गरे पाठेघर खस्ने समस्या टर्ने सुझाव दिनुभयो ।

महिलाको पाठेघर खस्ने समस्या बाजुरामा बढी भएकाले निःशुल्क शिविर सञ्चालन गरिएको शिविर संयोजक रामबहादुर मल्लले बताउनुभयो । शिविरबाट जिल्लाका महिलालाई सेवा दिनकै लागि पहिलो प्राथमिकता बाजुरालाई दिएको उहाँले जानकारी दिनुभयो ।

संयोजक मल्लले शिविरमा आएका हिमाली जिल्लाका बिरामीलाई यातायात खर्चबापत रु एक हजार ५०० र पाँच दिनसम्मको खाना खर्च व्यहोरेको छ । शिविरमा सामान्य उपचारदेखि शल्यक्रिया गरिएको छ भन्नुभयो ।
शुक्रबारबाट सञ्चालन भएको शिविरमा आठ महिलाको शल्यक्रिया गरिएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ । प्रेम रौले/रासस

Saturday, February 18, 2017

आवधिक निर्वाचनको जिम्मेवारी लिन आयोग सक्षम हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताउनुभएको छ ।

पहिलो निर्वाचन दिवसका अवसरमा आज आयोगले यहाँ आयोजना गरेको मूल समारोहमा उहाँले नेपालको निर्वाचन अभ्यासलाई विश्व मानकअनुरुप बनाइनुपर्नेमा जोड दिनुभयो ।

“लोकतान्त्रिक अभ्यासलाई अघि बढाउने सुरुवात् आजभन्दा ५८ वर्षअघि आजकै दिन भएको थियो, आयोगले संवैधानिक दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ, निर्वाचनलाई अझ सहज, सरल र पारदर्शी बनाइनुपर्छ, लोकतान्त्रिक मुलुकका राम्रा अभ्यासबाट पाठ सिकेर निर्वाचन प्रणालीलाई समृद्ध बनाउन सकिन्छ” – उहाँले भन्नुभयो ।

दलहरुबीचको लोकप्रियता मापन गर्ने कडी भएकाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विधि निर्वाचन भएको बताउनुभयो ।

“आयोगका आयुक्तको पदपूर्ति गरी वैशाख मसान्तसम्म स्थानीय निर्वाचनको तयारी गर्न भनिएकाले निर्वाचनप्रति शङ्का गर्नु पर्दैन, निर्वाचनमा स्थानीय तहमा ४० र सङ्घीय प्रदेशमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ” – उहाँले भन्नुभयो ।

संविधानमा व्यवस्था भएबमोजिमका निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । निर्वाचनका लागि आवश्यक आर्थिक र मानवीय सहयोग आयोगलाई उपलब्ध गराउन सरकार तयार रहेको उहाँले बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रलाई संस्थागत गर्न संविधानले तोकेकै समयमा तीनै तहको निर्वाचन सम्पन्न गराउन आयोग अहोरात्र जुटेको उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्र«पति भण्डारीले आयोगले प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास’ पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सुरेन्द्रबहादुर बस्नेत, सूर्यप्रसाद श्रेष्ठ, केशवराज राजभण्डारी, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलाई सम्मान गरियो ।

पूर्व निर्वाचन आयुक्तहरु नारायणप्रसाद राजभण्डारी, रामचन्द्र शर्मा पौडेल, प्रा डा वीरेन्द्रप्रसाद मिश्र, रमेशजङ्ग थापा, विश्वमान श्रेष्ठ, डमरुवल्लभ भट्टराई, जयरामसिंह बोहरा, दिलबहादुर कार्की, उषा नेपाल र डा रामभक्त पिबी ठाकुरलाई पनि सम्मान गरियो । आयोगमा २० वर्षभन्दा बढी अवधि सेवा गर्ने कर्मचारीलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो ।

विसं २०१५ फागुन ७ गते नेपालमा पहिलो संसदीय निर्वाचन भएको थियो । निर्वाचनमा नौ राजनीतिक दल सहभागी थिए । १०९ निर्वाचन क्षेत्रमा भएको चुनावमा नेपाली काँग्रेसले ७४ स्थानमा विजयी भई बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा सरकार गठन भएको थियो ।

यो सम्झनामा आयोगले प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने निर्णय गरी यस वर्ष पहिलोपटक यो दिवस मनाइएको हो । रासस

प्रधानमन्त्रीको प्रस्ताव मधेसी मोर्चाबाट अस्वीकार

काठमाडौँ, ७ फागुन । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चालाई बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन र संशोधनबारे नेताहरुसँग राय माग्नुभएको हो ।
यी विषयमा लामो छलफल भए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने जुट्न सकेन ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चासँग संविधान संशोधन र निर्वाचनसँगै अघि बढाउन प्रस्ताव गर्नुभएको थियो भने मोर्चाका नेताले संविधान संशोधन नभई कुनै पनि निर्वाचनमा जान नसकिने अडान लिएका थिए ।

प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएकामा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने वैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्रीको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले फागुन १० गतेबाट सञ्चालन हुने संसद्मा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीले मुलुकको अवस्थालाई मध्यनजर गरी निर्वाचन र संशोधनलाई अघि बढाई सरकार निर्वाचनको तयारीमा रहेको जानकारी गराउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकमा मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राख्नुभएको थियो ।

मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन अघि निर्वाचनमा जान नसकिने धारणा प्रधानमन्त्रीसमक्ष राखेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइराला, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी हुनुहुन्थ्यो । रासस

इन्धन आयातमा बृद्धि

पर्सा, ७ फागुन । वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा यो नाकाबाट रु. ३० अर्ब ६४ करोड ७३ लाख छ हजार मूल्य बराबरका एक लाख २३ हजार ९०३ केल इन्धन र २४ हजार ४११ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो ।

यो गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सोहि अवधिमा रु. एक अर्ब ९८ कारोड ६५ लाख बढी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिनुभयो ।

उहाँले गत आर्थिक वर्षको तुल्नामा चालु आर्थिक वर्षमा सोहि अवधिमा चार लाख २३ हजार ९७५ केल इन्धन र ७४ हजार ९२८ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको बताउनुभयो ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकाबाट भएको इन्धन आयातबाट भन्सार कार्यालयले रु. सात अर्ब ६७ करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ ।

वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल, बरौनी, मथुरा, हल्दिया लगायतका स्थानबाट नेपालक लागि पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आयात हुने गरेको छ ।

नेपालको लागि आवश्यक इन्धनको ६० प्रतिशत इन्धन वीरगन्ज नाकाबाटै आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट एक लाख २३ हजार ८६२ केल पेट्रोल , ८० हजार ६६२ केल एटिएफ(हवाई इन्धन), ६ हजार ३१७ केल मट्टितेल र तीन लाख ३६ हजार ७६४ केल डिजल आयात भएको छ । रासस

निर्वाचनको विकल्प छैन : नेता सिटौला

झापा, ७ फागुन । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) झापाको सातौँ जिल्ला अधिवेशनको आज चन्दुगढीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो “अब सङ्क्रमणकाल अन्त्यका लागि कर्मचारी तयार हुनुपर्छ” ।

नेता सिटौलाले “संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अत्यावश्यक छ” भन्दै मुलुक विवाद र द्वन्द्वको अलमलमा पर्दा लोकतन्त्र खतरामा पर्न सक्नेतर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रले सुशासनका लागि निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “आफ्नो अधिकारको खोजी गर्दा राष्ट्रसेवक कर्मचारीले देश र जनतालाई बिर्सनु हुँदैन ।”

सो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि निजामती कर्मचारी युनियन (सङ्घ) झापाको अध्यक्षमा कवीन्द्रविक्रम नेम्वाङलाई निर्विरोध चयन गरेको छ ।

त्यस्तै सचिवमा ज्ञानु सिवाकोटी, सहसचिवमा भानुभक्त भट्टराई र कोषाध्यक्षमा तेजबहादुर पौडेललाई निर्विरोध चयन गरेको छ । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts