Monday, November 30, 2015

यमनी सीमातर्फबाट साउदी अरेबियामा गोली प्रहार गोलीलागेर तीन जनाको मृत्यु

रियाद, १४ मङ्सिर । साउदी अरेबियाको सीमा क्षेत्रमा यमनको तर्फबाट आइतबार भएको गोली प्रहारमा एक सीमा सुरक्षा गार्ड र तीन जना स्थानीय बासिन्दाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहान दहरन अल जानुब यमनी क्षेत्रबाट भएको भीषण गोली प्रहारमा एक सीमा गार्डको मृत्यु भएको गृह मन्त्रालयले घोषणा गरेको छ ।

यसैगरी जजान क्षेत्रमा भएको गोली प्रहारबाट दुई यमनी स्थानीय बासिन्दाको मृत्यु भएको नागरिक प्रतिरक्षा मन्त्रालयले जनाएको छ ।

हुथी विद्रोहीको विरुद्धमा साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेयता साउदी अरेबियाको सीमा क्षेत्रमा करिब ८० जनाको गोली प्रहारमा हत्या भइसकेको छ ।

हताहती हुनेहरुमा प्राय सैनिक रहेका जनाइएको छ । यमनी क्षेत्रबाट सो हमला निरन्तर रुपमा हुने गरेको पनि समाचारमा उल्लेख गरिएको छ ।

यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाइको छ ।

सो सङ्ख्यामा आधा भन्दा बढी सर्वसाधारण रहेका बताइएको छ । रासस÷एएफपी

विद्यमान समस्याको चाँडो समाधान गर्न चेम्बरको माग

काठमाडौँ, १४ मङ्सिर । मधेस केन्द्रित दलको बन्दसँगै चर्किएको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र तहसनहस भई दैनिक जनजीवन गम्भीररुपमा प्रभावित भएकाले चाँडो समस्याको समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ ।

आज यहाँ पत्रकारसम्मेलन आयोजना गरी विषम परिस्थितिमा सरकारले समस्याको समाधानको पहलमा लाग्नुपर्ने र आन्दोलनरत दलहरु जिम्मेवार भएर अगाडि बढ्न चेम्बर अफ कमर्सले जोड दिएको हो ।

“अहिले विषम परिस्थितिको यथाशीघ्र समाधान होस् भन्ने जोड्दार माग गर्दछौँ” चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्नुभयो । उहाँले नाकाबन्दीले बैंक तथा वित्तीय संस्थासमेत जोखिमयुक्त हुने र सामाजिक एवम् आर्थिक विकृति मौलाउने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

सरकारले जारी गरेको श्वेतपत्रले देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “श्वेतपत्रमा वर्तमान अवस्थाको विश्लेषण मात्र गरिएको छ, यो अवस्था सिर्जना गर्ने वास्तविक कारणहरु र समस्या समाधानबारे स्पष्ट गर्न सकेको छैन ।”

बन्द र नाकाबन्दीले देशको अर्थतन्त्र झन्डै एक दशकपछि परेको र चालु आवको आर्थिक वृद्धिदर नकारात्मक हुने स्पष्ट भइसकेको अवस्थामा चाँडो समस्याको समाधानतर्फ लाग्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।

त्रिपक्षीय वार्ता सकारात्मक, निर्णायक वार्ता पर्सि हुने

काठमाडौँ, १४ मङ्सिर । लामो समयपछि आज भएको सत्तारूढ दलहरु, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरुबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।

सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आज भएको छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताएका छन् ।

प्रतिपक्षी दलका नेता एवम् काँग्रेसका सभापति सुशील कोइरालाले वार्ताका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै छलफल सकारात्मक भएको र मोर्चाले राखेको ११ बुँदे मागका सम्बन्धमा प्रमुख दलहरुबीच गहन छलफल गरी यही मङ्सिर १६ गते पुनः अर्को वार्ता हुने जानकारी दिनुभयो ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको वर्तमान समस्या हल गर्न सबै दल संवेदनशील देखिएको र समस्यालाई सुल्झाउन सरकार तथा आन्दोलनकारीबाट भएका दमन तथा हिसांत्मक गतिविधि रोक्नपर्छ भन्नेमा सहमति भएको बताउनुभयो । बैठकमा आफूले तत्काललाई केही समयका लागि प्रदेशको सीमाङ्कनको विषयलाई थाती राखेर अघि बढे समस्या हल गर्न सहज हुने धारणा राखेको उहाँले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री एवम् एमालेका उपाध्यक्ष भीम रावलले छलफलमा सबै दलका नेताले आफ्ना भावना व्यक्त गरेको र प्रधानमन्त्री केपी शार्मा ओलीले वार्तालाई सार्थक परिणाममा पुग्ने गरी छलफल अघि बढाउन सबैलाई लचकताका साथ प्रस्तुत हुन आग्रह गरेको जानकारी दिनुभयो ।

बैठकमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चाका राजनीतिक मागका सम्बन्धमा प्रमुख दलले आन्तरिक र आपसमा छलफल गरी पर्सि १६ गते अर्काे बैठक बस्ने सहमति भएको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले वार्ता निरन्तर जारी राख्ने निर्णय भएको जानकारी दिँदै सीमाङ्कनको विषय बैठकमा प्रवेश नभएको बताउनुभयो । उहाँले आन्दोलनमा देखिएको दमन अविलम्ब रोक्ने बारेमा सहमति भएको जानकारी दिनुभयो ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा मधेसको अवस्था सहज गर्नेबारेमा गम्भीररुपमा छलफल भएको जानकारी गराउँदै सरकारले वार्ताको वातावरण बनाउन यसअघि गरेको घाइतेको उपचार र आन्दोलनमा मृत्यु भएकालाई राहत दिने निर्णय कार्यान्वयन हुनुपर्ने माग राखेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीको मागमा गहन छलफल गरी वार्ताबाट निकास निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेताहरुले बताएका छन् । मोर्चाका नेताहरुले आफ्ना मागका बारेमा साझा धारणा बनाउन प्रमुख दललाई आग्रह गरेको र छिटो निकास निकाल्ने कुरामा सबै पक्ष लचकताका साथ बस्ने प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, काँग्रेस सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादीका वरिष्ठ नेता राई, सद्भावनाका सहअध्यक्ष कर्णलगायतको सहभागिता थियो ।

साढे आठ हजार जारी फिर्ता गरेपछि…

भीमदत्तनगर, १४ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाकी २० वर्षीया जेनिशा राना आइतबार दिउँसोपछि प्रफुल्ल मुद्रामा भेटिनुभयो । डेढ दशकअघि जेनिशाको देखतभूली गाविसका रामवकस रानासँग विवाहका लागि स्वयम्बर भएको रहेको छ । आफ्नो इच्छा विपरीत बुवा–आमाले बाल्यावस्थामै गरेको स्वयम्बरलाई सहमतिअनुसार तोडेपछि जेनिशाको खुसीको सीमा नै रहेन ।

चेतनास्तर बढ्दै गएसँगै जेनिशाले आइतबार आफ्नो समुदायको परम्पराअनुसार रामवकससँग विवाह नगर्ने निधो अनुरुप स्वयम्बरलाई ‘ब्रेक’ लगाउनुभयो । “हाम्रो समुदायमा बाल्यकालमै स्वयम्बर हुन्छ”–जेनिशाले रासससँग भन्नुभयो–“पछिल्ला वर्षमा तत्काल स्वयम्बर गरेर विवाह गर्ने प्रचलन भएकाले मैले पनि पुरानो स्वयम्बरलाई इन्कार गरेकी हुँ ।”

“डेढ दशकअघि घरमा स्वयम्बर गर्न आउँदा केटा पक्षले लड्डु, मिठाइ खुवाएर भोज गराएको रहेछ”–उहाँले भन्नुभयो, “हामीले स्वयम्बरलाई तोडेपछि रु साढे आठ हजार स्वयम्बर खर्च (जारी) बुझायौँ ।” राना थारु समुदायमा परिवारले स्वयम्बर गरेको केटासँग विवाह नगरेर स्वयम्बरमा लागेको खर्च फिर्ता गर्नुपर्ने प्रावधान अनुरुप आइतबार जेनिशाका बुवा रामचन्द्रले सो रकम फिर्ता गर्नुभयो ।

“छोरीले हामीले स्वयम्बर गरेको केटासँग विवाह गर्न नै मानिनन्”–रामचन्द्रले भन्नुभयो, “अब छोरीको इच्छा विपरीत कसरी विवाह गर्न लगाउँ भनेर कर गरिन् ।” स्वयम्बरलाई यो समुदायको चलचल्तीको भाषमा ‘मङ्गनी’ भनिन्छ ।

“बीस वर्ष उमेर पुगिसक्दा पनि अहिलेसम्म मैले स्वयम्बर गरेको केटालाई देखिन”–जेनिशाले भन्नुभयो, “केटाको बारेमा सामान्य जानकारी नै नभई कसरी स्वयम्बरकै आधारमा बिहे गर्नु ?” उहाँले अब असल केटा पाए बिहे गर्ने योजनासमेत सुनाउनुभयो । दुई पक्षको आपसी लेनदेनपछि आइतबारबाट उनीहरुको मित्रताको सम्बन्ध टुटेको छ । “हामीले सहमतिमै विवाह नगर्ने निर्णय गरेका हौँ”–रामचन्द्रले भन्नुभयो, “अन्तिमपटक केटाको बुबाले छोरीकै मुखबाट इन्कार गरेको सुनेपछि सहमतिमा सामेल हुनुभयो ।”

देखतभुलीका रामवकस वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षदेखि कतारमा हुनुहुन्छ । आइतबार उहाँका दाइ र बुबासहित गाउँका मान्यजनसहितको टोली जेनिशाको घरमा पुगेर स्वयम्बरमा लागेको खर्च लिएर फिर्ता भएको छ ।

सुदूरपश्चिममा राना थारु समुदायको बाहुल्यता रहेको कञ्चनपुरमा यो समुदायले छोरा छोरीको बाल्यकालमै विवाह कोसँग गर्ने ? भनेर निधो गरिसकेका हुन्छ । “पहिले त गर्भमै पनि छोरा–छोरी भए विवाह गर्ने छोरा–छोरा भए मितेरी लगाउने प्रथा नै थियो”–भीमदत्तनगरपालिका–१९ बागफाँटाका पूर्व भलमन्सा सेन रानाले भन्नुभयो, “आजकाल त हाम्रो समुदाय पनि शिक्षित हुँदै गयो, यो प्रथा पनि हट्दैछ ।” रासस

निर्वाचनसम्बन्धी लैङ्गिक तथा समावेशी नीति कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धताको खाँचो

काठमाडौँ, १४ मङ्सिर । निर्वाचन आयोगका आयुक्त ईला शर्माले निर्वाचनसम्बन्धी लैङ्गिक तथा समावेशी नीति कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा निर्वाचन आयोगले आज आयोजना गरेको ‘निर्वाचन तथा राजनीतिमा महिला सहभागिता एवम् निर्वाचन प्रक्रियामा हुने लैङ्गिक हिंसा’ विषयक अन्तरक्रियामा उहाँले निर्वाचन प्रक्रिया महिलामैत्री बनाउन ल्याएको उक्त नीति कार्यान्वयनमा राजनीतिक दलको सहयोग आवश्यक रहेको बताउनुभयो ।

आयोगले लैङ्गिक तथा समावेशी नीतिका अतिरिक्त पाँचवर्षे लैङ्गिक तथा समावेशी रणनीति–२०७२, लैङ्गिक तथा समावेशी कार्ययोजना ल्याएको छ । यसैगरी आयोगले लैङ्गिक तथा समावेशीकरण समन्वय समिति, लैङ्गिक तथा समावेशी इकाई, आयोग र जिल्ला निर्वाचन कार्यालयमा लैङ्गिक सम्पर्क बिन्दुको स्थापना गरेको छ ।

आयोगका सचिव शारदाप्रसाद त्रितालले निर्वाचनसँगै महिला हिंसाका घटना पनि आउने बताउँदै निर्वाचनमा समानुपातिक सहभागिताका कुरा आए पनि महिलाको हकमा त्यो लागू हुन नसकेको स्वीकार्नुभयो ।

कार्यक्रममा आयोगका सह–सचिवद्वय वीरबहादुर राई र सूर्यप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गर्दै २०७० सालको निर्वाचनमा आठ प्रतिशत महिलालाई मतदान गर्न अवरोध पुगेको, दुई प्रतिशत मतदान केन्द्रमा महिलामाथि हिंसा भएको, २६ प्रतिशत मतदान केन्द्रबाट महिलाले मतदान नगरी फर्केको तथ्याङ्क प्रस्तुत गर्दै मतदान केन्द्रलाई महिलामैत्री बनाउने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संसद्मा प्रतिनिधित्व गर्ने महिलामा विसं २०४८ मा आठ, २०५१ सालमा छ, २०५६ सालमा १२ र अन्तरिम संविधानसभामा ५७ जना थिए । रासस

‘संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने’

पाँचथर, १४ मङ्सिर । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले मुलकको आन्तरिक समस्या हल गर्नु नै अहिलेको उत्तम विकल्प रहेको बताउनुभएको छ ।

फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दे उहाँले संविधानप्रति असन्तुष्ट दलसँग संवाद गर्दै संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै उहाँले समयको गतिशीलतासँगै संशोधन गर्न सकिने बताउनुभयो ।

उहाँले संविधान संशोधन प्रक्रिया यथाशक्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो । छ महिनाभित्र सङ्घीय आयोग गठन भइसक्ने र त्यसले सीमाकङ्नको विषयलाई एक वर्षभित्रमा टुङ्ग्याइसक्ने उहाँको भनाइ थियो । रासस

सत्र वर्ष कैद भुक्तान गर्न बाँकी बलात्कारी पक्राउ

धादिङ, १४ मङ्सिर । जबर्जस्ती करणी र हाडनाता करणी मुद्दामा १७ वर्ष कैद सजाय पाएर फरार भएका अपराधीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

धादिङ जिल्ला अदालतबाट २०६९ साल असार २२ गतेको फैसलाअनुसार मैदी गाविस–२ का ५२ वर्षीय रुद्रमान श्रेष्ठलाई आइतबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । प्रहरीले पक्राउपछि आज जिल्ला अदालतमा पेस गरी जिल्ला कारागारमा १७ वर्ष जेल भुक्तानका लागि चलान गरेको प्रहरी नायब उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो ।

श्रेष्ठले आफ्नै नातिनीलाई जबर्जस्ती करणी गरेपछि जिल्ला अदालतले उनलाई १७ वर्ष कैद भुक्तान गर्न आदेश गरेको थियो । रासस

कोरला नाकाको अध्ययन गर्न संसदीय टोली सीमा क्षेत्र जाँदै

मुस्ताङ, १४ मङ्सिर । चीनसँग सीमा जोडिएको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सञ्चालनको सम्भाव्यता अध्ययन गर्न संसदीय टोली मुस्ताङ आइपुगेको छ ।

व्यवस्थापिका–संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, धौलागिरि अञ्चलका सांसद, मुस्ताङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको टोलीले नाका सञ्चालन गर्न सकिने वा नसकिने, भौतिक पूर्वाधार, सडकको अवस्थाका विषयमा विस्तृत अध्ययन गर्नेछ । आज उपल्लो मुस्ताङ हिँडेको टोलीले दुई दिन नाकाको सम्पूर्ण अध्ययन गर्ने र स्थानीयवासीसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ ।

अघोषित भारतीय नाकाबन्दीका कारण देशभरको जनजीवन अस्तव्यस्त बनिरहेको सन्दर्भमा चीनसँग सीमा जोडिएको उक्त नाका सञ्चालन गर्न सके इन्धन, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री त्यसैबाट आयात–निर्यात गर्न सकिने अवस्था छ ।

मुस्ताङलगायत धौलागिरि अञ्चलका उद्योगी व्यवसायी, नागरिक समाज, स्थानीयसवासी लगायतको हालै बेनीमा सम्पन्न बृहत् छलफलले नाका सञ्चालन गर्न सके देशलाई दीर्घकालीन रुपमा धेरै फाइदा हुने निष्कर्ष निकालेका थिए । १२ वर्षअघि सम्म सञ्चालनमा रहेको नाका चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै बन्द गरेको छ ।

उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणलाई निर्बाध आवतजावतको व्यवस्था भएपछि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ ।

नाकानजिकै अत्याधुनिक हतियारसहितका सुरक्षा क्याम्प राखेर सिसी क्यामेरामार्फत निरन्तर निगरानी बढाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संसदीय टोलीले सम्पूर्ण विषयको अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने बताउनुभयो । टोलीमा समितिका सदस्य, बाग्लुङका संसद् प्रकाश पौडेल, मुस्ताङका श्रीमायाँ थकालीलगायतका व्यक्ति सहभागी हुनुहुन्छ । रासस

केन्द्रीय रक्तसञ्चार केन्द्र ललितपुरमा सर्ने

काठमाडौँ, १४ मङ्सिर । काठमाडौँको भृकुटीमण्डपमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार केन्द्र ललितपुरको बालकुमारीमा सर्ने भएको छ ।

गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले केन्द्रमा क्षति पु¥याएपछि सो केन्द्र ललितपुरस्थित रेडक्रसको जिल्ला शाखामा सर्न लागेको हो । केन्द्रका वरिष्ठ मेडिकल अधिकृत डा प्रकाशकुमार यादवले केन्द्र यही महिनाको अन्त्यसम्म ललितपुरमा सर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो—“भूकम्पलगत्तै तीन महिना नेपाल पुलिस क्लबबाट सेवा दिँदै आएकामा पछि आफ्नै केन्द्रको प्राङ्गणमा त्रिपालमुनि बसेर सेवा दिएका छौँ ।”

पचास वर्ष लामो इतिहास बोकेको केन्द्रीय रक्तसञ्चार केन्द्रले सुरुका दिनमा वीर अस्पतालबाट सेवा दिँदै आएको भए पनि २०३९ सालमा भृकुटीमण्डपबाट सेवा दिँदै आएको थियो ।

भूकम्पले केन्द्रको भवनमा पूर्ण क्षति पुगेपछि भवन निर्माणका लागि तीन वर्षलाई केन्द्र ललितपुरमा सर्न लागेको हो । अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा तीनतले भवन निर्माण भएपछि केन्द्र पुनः भृकुटीमण्डमा नै फर्कने यादवले जानकारी दिनुभयो । रासस

मोङ्गला बन्दरगाह नेपाललाई प्रयोग गर्न अनुमति दिन सकिन्छ – राजदूत शाम्स

काठमाडौ, १४ मंसिर। नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बङ्गलादेशको चटगाउँ र मोङ्गला बन्दरगाह नेपाललाई प्रयोग गर्न अनुमति दिन सकिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा राजदूत साम्सले मास्फी विन्ते साम्सले नेपालमा आपूर्ति व्यवस्थापनमा असहज स्थिति पैदा भएपछि एक नेपाली प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमणमा गएको स्मरण गर्दै उक्त कुरा बताउनुभएको हो ।

बङ्गलादेशको नेपालसँगको सम्बन्ध सौहार्द रहिआएको बताउँदै उहाँले नेपालमा हालै आएको भूकम्पबाट प्रभावितहरुलाई बङ्गलादेश सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालका भूकम्पपीडितलाई एक करोड २० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको थियो ।

गत वर्ष बङ्गलादेशले ६० लाख अमेरिकी डलर बराबरको विद्युतीय सामग्री, लुब्रिकेन्ट्सलगायतका ४० वटा उत्पादन नेपालतर्फ निर्यात गरेको जानकारी पनि उहाँले दिनुभयो । रासस

Sunday, November 29, 2015

मधेस केन्द्रित दलले काँग्रेसको झन्डा जलाए

संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव पारित गर्नुपर्ने काँग्रसको निष्कर्ष

वार्ताबाट समस्याको हल गर्न परिषद्को सुझाव

राष्ट्रिय स्वाधीनताका विषयमा कसैसँग नझुक्ने – गृहमन्त्री बस्नेत

टीकापुरमा विषालु च्याउ खाँदा सातजना बिरामी

धनगढी, १३ मङ्सिर । कैलाली जिल्लाको टीकापुर नगरपालिका–९ एकतानगरमा आज आफ्नै घर अगाडि उमे्रको विषालु च्याउ खाँदा सात जना बेहोस भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले स्थानीय चन्द्र ग्रान्जामगर, बलराम ग्रान्जामगर, दिपेश ग्रान्जामगर, तुल्सी ग्रान्जामगर, नन्दकला नाथ, तारा नाथ र खगेशरा थापा घरअगाडि उमे्रको च्याउ खाँदा बिरामी भएको जनाइएको छ ।

बेहोस सबैलाई उपचारका लागि टीकापुर अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ । रासस

अधिकारप्राप्ति नहुँदासम्म आन्दोलन : मधेसवादी नेता

रसुवागढी सडक तत्काल सुधार गर्न समितिको निर्देशन

प्रम ओली र भारतीय राजदूत भेटवार्ता

काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्रीले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण नेपालले असहज स्थिति भोग्नुपरेको भन्दै नाकाबन्दी फिर्ता लिन राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राजदूतसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै छलफल सकारात्मक भएको बताउनुभयो । रासस

मोहली पुलमुनि राखिएको सिलिन्डर बम निष्क्रिय

सप्तरी, १३ मङ्सिर । नेपाली सेनाको बम डिस्पोजल टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहा र बरमझियाको बीचमा पर्ने महुली पुल ध्वस्त पार्ने गरी अज्ञात समूहले राखेको दुईवटा सिलिन्डर बम आज निष्क्रिय पारेको छ ।

आज बिहान पुलमुनि शङ्कास्पद अवस्थामा राखिएको दुईवटा सिलिन्डर बम राजविराजस्थित कृष्ण दल गणबाट गएको नेपाली सेनाले निष्क्रिय पारेको हो । दुईवटा ग्यासको सिलिन्डरलाई बोरामा राखी मट्टीतेल र पेट्रोल छर्केर २५ मिटर डोरीमा आगो लगाई पुलमा क्षति गर्ने उद्देश्यले राखेको अवस्थामा बम फेला परेको थियो ।

सशस्त्र प्रहरी बल दन्तकालीन गण बरमझियादेखि ५०० मिटर दक्षिण राजमार्गमा पर्ने मोहली पुलमुनि सिलिन्डर बम फेला परेको थियो । रासस

बाबु नै र्निदयी भएपछि चार सन्तानले अकालमै जयान गुमाउनुप-यो

प्रधानमन्त्री ओलीद्वारा सोमबार संयुक्त वार्ताको आह्वान

प्रवासी श्रमिकका समस्यालाई लिएर साउदीमा चिन्ता

साउदी अरब, १३ मङ्सिर । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित एवम् कामदारमैत्री बनाउन नसक्दा नेपाली कामदारले विभिन्न समस्या झेल्नुपरेको साउदी अरबमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

वैदेशिक रोजगारीमा देखा परेका विकृति र विसङ्गतिप्रति राज्य गम्भीर नहँुदा प्रवासमा रहेका लाखाँैं नेपाली श्रमिकले दःुख भोग्नुपरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । साउदी अरबसँग श्रम सम्झौता हुन नसक्दा नेपाली श्रमिक समस्यामा परेको भन्दै उनीहरुले नेपाली श्रम र सीपको उचित मूल्याङ्कनसहित श्रम सम्झौता हुनुपर्नेमा जोड दिएका छन् ।

साउदी अरबमा क्रियाशील डेढ दर्जनभन्दा बढी सङ्घ संस्थाको संयुक्त आयोजनामा शुक्रबार साउदीको दमाममा सम्पन्न भएको ‘प्रवासी श्रमिकका समस्या र समाधान’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले सेवा सुविधालाई ध्यानमा राखेर जति सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने सुझाव दिए । साउदीमा कार्यरत अधिकांश नेपाली कामदारले अझै पनि सम्झौता अनुरुप न्यूनतम तलब, सेवा सुविधासमेत पाउन नसकेको गुनासो गरेका छन् । प्रवासी श्रमिकले भोग्नुपरेका समस्याका विषयमा राज्य गम्भीर नभएकै कारण नेपाली कामदारले दिनप्रतिदिन पीडा खेप्नु परेको उनीहरुको भनाइ छ ।

कमजोर सरकारी नीति र मेनपावर कम्पनीको लापरबाहीका कारण सम्झौता अनुसारको काम नपाउनु, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, बिमा अवधिमा समस्या, मानसिक तथा शारीरिक यातना, काम गर्ने सिलसिलामा मृत्यु भएकाको शव पठाउन ढिलाइ हुनेलगायत समस्या साउदीमा व्याप्त रहेपनि समाधानका लागि सम्बन्धित निकायले ध्यान नदिएको उनीहरुको आरोप छ ।

नेपाली कामदारका लागि ठूलो श्रम बजारको रुपमा लिइएको साउदी अरबसँग श्रम सम्झौता भएको खण्डमा हाल देखापरेका सबै खाले जटिल समस्या समाधान हुने सहभागीले विश्वास व्यक्त गरे । श्रमिकको समस्याप्रति साउदीमा रहेको नेपाली दूतावासले चासो नदिएको भन्दै सहभागीहरुले दूतावासको कार्यशैलीप्रति कडा आलोचना गरेका थिए । आपतविपतमा परेका नेपालीको उद्धारमासमेत दूतावासले सक्रियता नदेखाएको गुनासो गर्दे उनीहरुले कार्यशैली सुधार गर्न सुझावसमेत दिए ।

सहभागीहरुले दूतावासमा टेलिफोन सम्र्पक गर्दा फोन नउठ्ने समस्या रहेको भन्दै सहज सम्र्पकको व्यवस्था मिलाउन आग्रह गरे । साउदीमा कार्यरत अधिकांश घरेलु महिला कामदार मानसिक एवम् शारीरिक यातनाबाट पीडित हुनुपरेको भन्दै घरेलु महिला कामदार पठाउने प्रक्रिया पूर्णरुपमा बन्द गनुपर्ने बताए । कार्यक्रममा उठेका जिज्ञासामाथि स्पष्ट पार्दै साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले नेपाली श्रमिकमा देखा परेका समस्या समाधान गर्न दूतावासले प्रयास गरिरहेको बताउनुभयो । उहाँले देशबीच श्रम सम्झौताका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।

“साउदी अरबको आफ्नै नीति नियम र ऐनका कारण कम्तीमा तीन महिना कानुनी प्रक्रिया पूरा गर्न लाग्ने भएकाले ज्यान गुमाएका नेपाली श्रमिकको शव पठाउन ढिलाइ हुनेगरेको छ” उहाँले भन्नुभयो । नेपाली कामदारका तलब, बीमालगायत अन्य सेवा सुविधा लागू गराउन दूतावास गम्भीर रहेको शर्माको भनाइ थियो । कुनै पनि समस्या दूतावाससम्म आएको खण्डमा समाधानका लागि आफू प्रतिबद्ध रहने उहांँले बताउनुभयो ।

श्रम सहचारी कृष्णप्रसाद दवाडीले साउदी अरबसँग श्रम सम्झौता नभएकै कारण नेपाली कामदारले समस्या झेल्दै आएको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य यास्मिन बेगम, समाजसेवी राजु शैयाद, प्रवासी नेपाली मञ्चका बालाराम गिरी, स्याङ्जा सहयोग समाजका मोहन बिएसके, जनप्रगतिशील मोर्चाका मीनराज नाथ, नेपाल टे«ड युनियन महासङ्घ जिफन्टका राज तामाङ, प्रवासी नेपाली सेवा समाजका मोहन अर्याल, नेपाल मगर सङ्घका रुद्र शारु, फेन्ड्स अफ नेपालका श्रीकृष्ण श्रेष्ठ, रोशन श्रेष्ठ, अनुप नेपालीलगायतले प्रवासी श्रमिकका समस्या समाधानको एक मात्र विकल्प श्रम सम्झौता भएकाले जति सक्दो छिटो श्रम सम्झौता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा कावा राजदूत शर्मालाई नेपाली श्रमिकका समस्या र बीमामा देखिएको समस्याप्रति ध्यानाकर्षण गराउँदै कार्यक्रम संयोजक मोहन बिएसकेले ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस

च्याउ खेतीमा सरकारको ध्यान पुगेन

काठमाडौँ, १३ मङ्सिर । च्याउ वैज्ञानिक डा महेश अधिकारीले नेपालमा च्याउको अनुसन्धान, अध्ययन र विकासका लागि सरकारी स्तरबाट पहल नभएको बताउनुभएको छ ।

बलम्बु च्याउ सहकारी संस्थाको सातौँ साधारणसभामा शनिबार उहाँले भूकम्पका कारण नेपालमा च्याउ उत्पादनस्थल नष्ट भएको र त्यसको लेखाजोखा नभएको भन्दै सरकारबाट च्याउ खेतीको गुणस्तरीय परीक्षण नभएकामा चिन्ता व्यक्त गर्नुभयो । नेपालमा पाइने च्याउको विकास र विस्तारका लागि सरकारी निकायले कुनै पहल नगर्नु दुःखद भएको भन्दै उहाँले अध्ययन र अनुसन्धानमा मात्र सीमित नभई खेतीका लागि किसानलाई ठोस कार्यक्रम गरी जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यामा मात्र सहकारीको स्थापना नगरी त्यसको गुणात्मकता वृद्धि गर्नुपर्ने बताउनुभयो । गुणात्मकता वृद्धि गर्न धेरै भएका सहकारीलाई एकआपसमा गाभी काम गर्ने सकिने बताउँदै उहाँले त्यसका लागि पहल गर्ने बताउनुभयो । सहकारीले सातौँ साधारणसभाको अवसर पारी च्याउ खेतीका विषयमा अध्ययन, अनुसन्धान गर्नुहुने डा अधिकारीलाई सम्मान गरेको छ ।

त्यसैगरी संस्थाका शान्ती महर्जन र रिता श्रेष्ठलाई असल बचतकर्ता, रामकृष्ण र सानुमाया सार्कीलाई असल ऋणी र पुरुषोत्तम महर्जनलाई असल सेयरकर्ताको रुपमा सम्मान गरेको छ । यस्तै आठ जना च्याउ कृषकलाई च्याउमा पानी हाल्न प्रयोग गरिने ‘वाटर स्प्रे’पनि वितरण गरेको छ ।

संस्थाले आव २०७१÷७२ मा रु ३५ करोड २८लाख ५०हजार २६६ बचत सङ्कलन गरेको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष बुद्ध श्रेष्ठले विविध विधामा रु १२ करोड ५५ लाख नौ हजार २०८ को कारोबार गरेको बताउनुभयो । ९२० जना सेयर सदस्य रहेको संस्थाले आगामी आवमा सो सङ्ख्या बढाएर ११ हजार सात पु¥याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष धमेन्द्र महर्जनले जानकारी दिनुुभयो । रासस

सिलिन्डर बम फेला

सप्तरी, १३ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्र्तगत पोर्ताहा र बरमझियाका बीचमा पर्ने मोहली पुलमुनि अज्ञात समूहले राखेको दुई शक्तिशाली सिलिन्डर बम आज बिहान फेला परेको छ ।

राजमार्गमै पर्ने सो पक्की पुल ध्वस्त पार्ने उद्देश्यले राखिएको सो बमलाई निष्क्रिय पार्न राजविराजस्थित कृष्ण दलगढबाट नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले जानकारी दिनुभयो ।

घटनास्थलदेखि ५०० मि नजिकमा सशस्त्र प्रहरी बल दन्तकाली गण रहेको छ । अहिले राजमार्गमा चल्ने यातायात र सर्वसाधारणलाई रोक लगाइएको छ । ग्यासका दुई सिलिन्डरलाई बोरामा राखी मट्टितेल छर्केर २५ मि डोरीमा आगो लगाई पुल भत्काउने उद्देश्यले राखिएको प्रहरीले जनाएको छ । सिलिन्डर बम कसले राखेको भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । रासस

Saturday, November 28, 2015

मधेसका दुई प्रदेशको सीमा जोडिएको दुई प्रदेश माग

दुर्घटनामा परेको बसबाट इन्धन बरामद

लहान, १३ मङ्सिर । सिरहाको पूर्वपश्चिम सडक अन्तर्गत कर्जनहा गाविसको बगाहामा आज बिहान दुर्घटनामा परेको बसबाट ठूलो परिमाणमा इन्धन बरामद भएको छ ।

झापाको बिर्तामोडबाट प्रहरीको सुरक्षा घेरामा काठमाडौँ जाँदै गरेको ना ४ ख ३७८८ नंको बस बिहान करिब ३ः०० बजेतिर बगहामा दुर्घटनामा परेपछि करिब १२ हजार लि पेट्रोल र डिजल बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार उक्त बस पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ख ६५९४ नंको बससँग ठोक्किँदा केही यात्रु सामान्य घाइते भएका थिए । ठोक्किएको बसलाई प्रहरी निगरानीमा राखेर बिहान खानतलासी गर्दा काठमाडौँ लैजान ग्यालेनमा राखिएको पेट्रोल र डिजल बरामद गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले उल्लेख गर्नुभयो । प्रहरीले इन्धन र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तराई–मधेसमा जारी आन्दोलनका कारणले इन्धन आपूर्ति असहज हुँदा प्रहरीको सुरक्षा घेरामा राजधानीसहित अन्य ठाउँमा जाने सवारी साधनका सञ्चालकले सुरक्षाको जोखिम भए पनि पेट्रोल र डिजललगायत इन्धन ओसारपोसार गरिरहेको गुनासो रहेको छ । रासस

ट्रकमा आगजनी

जापानी भाषा इन्ष्टिच्युट स्थापनाको स्वर्ण महोत्सव

भारतीय जिप तोडफोड, पाँच पक्राउ

भीमदत्तनगर, १३ मङ्सिर । नेकपा माओवादीले आज बिहान कञ्चनपुरको भीमदत्तनगर बजारमा भारतीय नंको जिप तोडफोड गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको एचआर २६ जेड ०२२७ नंको भारतीय जिप माओवादीका कार्यकर्ताले यहाँस्थित विद्युत् कार्यालय नजिक तोडफोड गरेका हुन् । प्रहरीले जिप तोडफोड र यातायातमा अवरोध पु¥याउँदै हिँडेका माओवादीका महाकाली इन्चार्ज देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रहरीलाई तोडफोड गरिएको जिपलाई सुरक्षा दिई नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी पार गराएको छ ।

असुरक्षाको कारण देखाउँदै प्रहरीले कञ्चनपुरमा गुडिरहेका भारतीय सवारी साधनको सुरक्षामा विशेष चासो देखाएको छ । प्रहरीले बिहानैदेखि सुरक्षा सक्रियता बढाएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका अनुसार पश्चिमी नाका गड्डाचौकीबाट नेपाल आउने भारतीय सवारी साधनलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बनबासा क्षेत्रमै रोकेको छ ।

माओवादीले भारतीय सवारी साधनलाई निसाना बनाउँदै तोडफोड गर्न थालेपछि एसएसबीले भारतीय सवारी साधनलाई सिमानामै नेपाल आउन रोकेको बताइएको छ । रासस

सुनकोसी–मरिन–वाग्मती डाइभर्सनको काम अघि बढ्दै

भगौडा प्रहरीमाथि गोली

काठमाडौँ, १३ मङ्सिर । स्थानीय सुन्धारामा खटिएको प्रहरी टोलीले आज बिहान सुन्धारा नजिकै भगौडा प्रहरी छोटेलाल ठाकुरमाथि गोली प्रहार गरेको छ ।
अपराध महाशाखाबाट खटिएको टोलीले सुन्धाराको एक गेस्ट हाउसमा बसेका बारा जिल्लाका ठाकुरलाई चिनियाँ पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग थापाले राससलाई जानकारी दिनुभयो । तराईका जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न भएकाले पहिलेदेखि नै निगरानीमा रहेका ठाकुरसँगै बाराकै राजकुमार पटेललाई समेत शङ्का गरी पक्राउ गरिएको छ ।
सूचनाका आधारमा गेस्ट हाउसमा पुगेर ठाकुरलाई नियन्त्रणमा लिन खोज्दा मुठभेड भए पनि गोली चलाइएको र ठाकुरको घुँडामुनि गोली लागेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । घाइते ठाकुरलाई उपचारका लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ । रासस

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, १३ मङ्सिर । आज बिहान ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहान ३ः१५ बजे थानकोटबाट कलङ्कीतर्फ आइरहेको युके००सिए ४७२४ नम्बरको भारतीय तरकारी बोकेको ट्रकको ब्रेक फेल भई काजी चन्द्रागिरी नपा– २३ ढुङ्गेअड्डा नजिकै बा६१प १३७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिचालक कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रहरी जवान लोकेन्द्रबहादुर चन्दका अनुसार मृतक अन्दाजी ४५÷४६ वर्षका भए पनि परिचय खुल्न सकेको छैन । रासस

हङकङ समाजले एम्बुलेन्स दियो

चितवन, १३ मङ्सिर । हङकङमा रहेका चितवनवासीको संस्था ‘चितवन–हङकङ समाज’ले माडीको कल्याणपुरमा एम्बुलेन्स सहयोग गरेको छ । समाजले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

चितवन हङकङ सम्पर्क समाजका अध्यक्ष टेकप्रसाद गुरुङले उपशाखा कल्याणपुरका कार्यबाहक सभापति सुरेशबहादुर थापालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष गुरुङले गरिब, असहाय बिरामीलाई ल्याउनु पर्दा आर्थिक अभाव भएमा समाजले ती बिरामीको एम्बुलेन्स खर्च व्यहोरिदिने बताउनुभयो ।

माडीको कल्याणपुर भरतपुर सदरमुकामबाट ४७ किलोमिटरको दूरीमा रहेको छ । जहाँ पुग्न चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गल र खोला तर्नुपर्ने हुन्छ । उपचारका लागि भरतपुरसम्म आउने साधनको अभावमा धेरैको ज्यान जाने गरेको थियो ।

स्थानीयवासीले एम्बुलेन्स पाएसँगै खुसी प्रकट गरेका छन् । योसँगै माडी क्षेत्रमा एम्बुलेन्सको सङ्ख्या तीन पुगेको छ । रासस

हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मी नियन्त्रणमा

काँकडभिट्टा (झापा), १३ मङ्सिर । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ती हतियारधारी सुरक्षाकर्मीको समूह सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा पसेको प्रत्यक्षदर्शी स्थानीय गाउँलेले बताएका छन् । उनीहरुसँग चार थान आधुनिक हतियार साथमा रहेको बताइएको छ ।
झापाका प्रजिअ तेजप्रसाद पौडेलले आज बिहान नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

भारतीय सुरक्षाकर्मीलाई केचना–४ बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिनु भयो ।

प्रजिअ पौडेलले सदरमुकाम चन्द्रगढीबाट घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ डम्बरुप्रसाद निरौलालाई केचना पठाइएको बताउनुभएको छ ।

हाल भारतीय सुरक्षाकर्मीलाई केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएको छ । रासस

दुर्घटनामा एकको मृत्यु ,बालक घाइते

सुन्दरदुलारी (मोरङ), १३ मङ्सिर । मोरङको बेलबारी– ६ बेतना चोकमा गएराति सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक मोरङको बयरवन– ७ का २७ वर्षीय मोहन तिम्सिना रहेका छन् ।

सोही ट्र्याक्टरमा सवार बयरवन– ७ कै १० वर्षीय बालक समीर चौधरी गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा पश्चिम गइरहेको को२त ५१५७ नंको हाते ट्र्याक्टरले सडकको किनारामा रोकेर राखेको को२१प ७७७२ नंको मोटरसाइकललाई ठक्कर दिँदा ट्र्याक्टर अनियन्त्रित भई विपरीत दिशातर्फबाट आउँदै गरेको ना३ख ९०७० नंको बसमा ठक्कर खाएको थियो ।

तिम्सिनाको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । घाइते चौधरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

कास्कीमा बन्द गर्दै हिँडेका २७ जना प्रहरी नियन्त्रणमा

बन्द गर्न खोज्ने तीन पक्राउ

चितवन, १३ मङ्सिर । नेकपा माओवादी नेत्रविक्रम चन्द समुहले आह्वान गरेको नेपाल बन्दका क्रममा आज बिहान नारायणगढबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाडीमा ढुङ्गा हान्न खोज्दा तिनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार माइक्रोबसको साँचो खोस्ने र ढुङ्गा हान्ने प्रयास गर्दागर्दै ढुङ्गासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा पार्टीको क्षेत्र नं ३ का सेक्रेटरी भीमबहादुर खड्का र विद्यार्थीहरु नयनसिंह खड्का र केशव भट्टराई रहेका छन् ।

माओवादीका जिल्ला सेक्रेटरी महेश थारुले भारतीय गाडी लक्षित गरिएको भए पनि नेपाली सवारी साधन भने तोडफोड नगरी रोक्ने काममात्रै भइरहेको बताउनुभयो । बन्दका कारण जनजीवन प्रभावित भएको छ । रासस

लैङ्गिक हिंसाविरुद्ध सचेतना अभियान प्रारम्भ

आठ महिना बितिसक्दा पनि विद्यार्थीको हातमा किताब पुगेन

दुर्घटनामा एकको मृत्यु

रत्ननगर (चितवन), १३ मङ्सिर । चितवनमा रहस्यमय दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

गएराति करिब ११ बजेको समयमा जिल्ला अदालत, चितवन अगाडि घाइते अवस्थामा फेला परेका स्थानीयवासी एक व्यक्तिको उपचारका क्रममा राति नै भरतपुर अस्पतालमा ज्यान गएको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले सवारी साधनले ठक्कर दिएको जस्तो देखिने भरतपुर– ११ का ३८ वर्षीय एकप्रसाद दाहालको उपचारका क्रममा ज्यान गएको जानकारी दिनुभयो । सवारी साधनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।

भरतपुरको भित्री सडक चौबीसकोठीबाट मालपोत चोक जाने क्रममा सवारीले ठक्कर दिएको प्रहरीले अनुमान गरेको छ ।

उनको साथमा पासपोर्टसमेत फेला परेको र के कारणले राति त्यहाँ आएका थिए भनेर अनुसन्धान भइरहेको छ । रासस

उत्कृष्ट चार किसानलाई मेसिन अनुदान

परासी, १३ मङ्सिर । नवलपरासीका उत्कृष्ट चारजना दुग्धको कारोबार गर्ने किसानलाई दूध दुहुन प्रयोग हुने मेसिन प्रदान गरिएको छ ।

पशुसेवा विभागबाट प्राप्त भएका चारवटा दूध दुहुन प्रयोग हुने मेसिन किसानलाई वितरण गरिएको पशुसेवा कार्यालयका प्रमुख डा शङ्कर शाहले बताउनुभयो ।

सो मेसिन प्राप्त गर्ने किसानहरुमा गोपाल श्रेष्ठ, दधीराम सुवेदी, पदम ढकाल, होमनाथ कँडेल रहेका छन् ।

विशेष गरी नवलपरासीको मुकुन्दपुर क्षेत्र दुग्ध उत्पादनका लागि नेपालमै नमुना मानिन्छ ।

जिल्लामा दूधको सङ्कलन र बिक्री गर्ने कारोबार गर्ने ७२ वटा ठूला संस्था रहेका छन् । नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादन हुँदै आएको छन् । रासस

यातायात व्यवसायी मारमा : अध्यक्ष भण्डारी

भीमदत्तनगर, १३ मङ्सिर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले नाकाबन्दीका कारण यातायात व्यवसायी मारमा परेको बताउनुभएको छ ।

उहाँले इन्धनको अभाव रहेको भए पनि व्यवयासीहरु राष्ट्रियता र स्वाभिमानका लागि जेनतेन यातायात सञ्चालन गरिरहेको धारणा राख्नुभयो ।

शनिबार कञ्चनपुरको भीमदत्तनगरस्थित पवनदूत यातायात समितिको १२औँ अधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष भण्डारीले व्यवसायीले एकताबद्ध भएर हालको परिस्थितिलाई सहज बनाउन दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

“राष्ट्रलाई सङ्कट परेका बेला व्यवसायीहरु एकढिक्का भएर अघि बढ्नुपर्छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो – “भारतीय पक्षबाट नेपालमा मानवीय सङ्कट निम्त्याउन खोजेको जस्तो देखिन्छ ।”

कार्यक्रममा यातायात व्यवसायीले इन्धनमा कालोबजारी भइरहँदा सरकार तथा स्थानीय प्रशासन मौन बसेकोप्रति गुनासो व्यक्त गरेको पवनदूत यातायात समितिका महासचिव कर्मबहादुर सिंहले जानकारी दिनुभयो । रासस

मुस्ताङ बन्यो १२औँ पूर्ण खोपयुक्त जिल्ला

मुस्ताङ, १३ मङ्सिर । हिमालपारिको जिल्ला मुस्ताङलाई नेपालकै १२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।

शनिबार सदरमुकाम जोमसोममा एक समारोहका बीच व्यवस्थापिका–संसद्का सांसद श्रीमायाँ थकालीले जिल्लामा अब जन्मने बालबालिकालाई समेत खोपको पहुँच पु¥याउने प्रतिबद्धतासहित पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो ।

एक वर्षअघि कुञ्जो गाविसबाट सुरु गरिएको पूर्ण खोपयुक्त अभियानका क्रममा जिल्लाभरका एक वर्षभित्रका १९१ बालबालिका र एक वर्षदेखि २३ महिनाभित्रका १९६ बालबालिकामा खोप पहुँच पुगेपछि जिल्लालाई पूर्ण खोपयुक्त क्षेत्र घोषणाका लागि बाटो खुलेको खोप सुपरभाइजर बद्री आचार्यले जानकारी दिनुभयो ।

घोषणासभामा बोल्दै, सांसद थकालीले दुर्गम जिल्लाका बालबालिका खोपको पहुँचमा आउनु सराहनीय कार्य भएको भन्दै यसलाई निरन्तरता दिनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
जन्मेदेखि २३ महिनाभित्र बालिबालिकालाई बिसिजी, डिपिटी, पोलियो, दादुरा–रुबेलालगायत १० प्रकारका रोगविरुद्ध विभिन्न चरणमा खोपको मात्रा पूरा गरेपछि पूर्णखोप क्षेत्र घोषणा गर्न सकिने कानुनी प्रावधान छ । १६ वटा गाविस रहेको जिल्लामा असोज २८ गते लेते गाविसलाई अन्तिम गाविसको रुपमा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिएको थियो । रासस

संरक्षण हुन सकेन ऐतिहासिक सूर्यकुण्ड

अध्यक्ष दाहालद्वारा प्रम ओली र सभापति कोइरालासँग भेट

मधेस केन्द्रित दलले काँग्रेसको झन्डा जलाए

‘पाँचौँ अन्तर्राष्ट्रिय लोक फिल्म महोत्सव’ सम्पन्न

काठमाडौँ, १२ मङ्सिर । अमूल्य अमूर्त अनुसन्धान लोकगीत, लोक सङ्गीत, लोकबाजा लोकनाच, लोक संस्कृति, लोकपरम्परा र लोकजीवनका विविध पक्षको अध्ययन अनुसन्धान र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको ‘पाँचौँ अन्तर्राष्ट्रिय लोक फिल्म महोत्सव’ आज सम्पन्न भएको छ ।

‘जीवनका लागि सङ्गीत र बाँच्नका लागि सङ्गीत’ भन्ने मूल नारासहित सुरू भएको महोत्सव नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजना तथा सांस्कृतिक संस्थानको सहआयोजनामा यही मङ्सिर १० गतेबाट सुरू भएको थियो ।

महोत्सवमा विश्वका विभिन्न राष्ट्रका मौलिक लोक संस्कृतिको अनुसन्धान र संरक्षणको लागि भइरहेको कार्यका बारेमा अनुभव आदानप्रदानसमेत गरियो । महोत्सवमा नेपालसहित विभिन्न देशका विज्ञले लोक सङ्गीतसम्बन्धी कार्यपत्रसमेत प्रस्तुत गर्नुभयो । महोत्सवमा नेपालसहित विभिन्न देशका विज्ञले लोक सङ्गीतसम्बन्धी चारवटा कार्यपत्र प्रस्तुत गनुभयो ।

महोत्सवमा विभिन्न देशका लोक सङ्गीत संस्कृति, जीवनशैलीसम्बन्धी १३५ वटा वृत्तचित्रले भाग लिएकामा आमन्त्रित, अप्रतियोगी र प्रतियोगी गरी १८ वटा देशका छनोटमा परेका ३५ वृत्तचित्रको प्रदर्शन गरिएको थियो ।

विभिन्न देशबाट भाग लिएका लामो समयका फिल्ममध्ये ‘आई उइल सिङ फर यू’, र ‘नो ल्यान्ड सङ’ उत्कृट भएका छन् । त्यसैगरी छोटो समयका फिल्ममध्ये ‘वोय वोय’ (दयथ दयथ), नामक फिल्म उत्कृट भएको छ । ‘द फरगटन थारू स्टुमेन्ट’ नामक फिल्मलाई उत्कृष्ट विद्यार्थी फिल्म अवार्ड प्रदान गरिएको छ ।

समापन कार्यक्रममा विगत आठ दशकदेखि अविच्छिन्न रूपमा स्थानीय नेवारी लोक सङ्गीत संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धनमा लागिरहनुभएका ८८ वर्षका भीमबहादुर नकर्मीलाई लाइफ लाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको नेपाली लोकबाजा सङ्ग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिनुभयो । रासस

चितवनमा नाकाबन्दीविरुद्ध प्रदर्शन छातीमा लेखे–भारतीय हस्तक्षेप बन्द गर

सार्क राष्ट्रका न्यायाधीशहरुको चौथो सम्मेलन सुरु

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts