Thursday, June 30, 2016

ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुर, १६ असार । मध्यपुरथिमी नगरपालिका–१३ राधेराधे अगाडि आज बा५च ६४७३ नं को पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको गाडीको ठक्करबाट बाटो काट्दै गरेका दोलखाको काभ्रे गाविस–५ घर भएका वर्ष ५० का देवीबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका खड्काका मध्यपुर अस्पताल उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । ठक्कर दिने गाडी र चालक सिन्धुपाल्चोक कुभिण्डे–६ का ३३ वर्षीय रामहरि नेपालीलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ । रासस

महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ, १६ असार । नेपाल पत्रकार महासङ्घले पर्सा शाखाका सदस्य एवम् अग्रज पत्रकार भद्रनाथ अधिकारीको हिजो (बुधबार) निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

दुई वर्षदेखि काठमाडौँ बस्दै आउनुभएका ६६ वर्षीय अधिकारीको लडेर मस्तिष्क रक्तश्राव भएपछि आठ महिनादेखि उपचाररत हुनुहुन्थ्यो । तीन दशकभन्दा लामो समय पत्रकारितामा संलग्न अधिकारी पछिल्लो सयम ‘ग्रामीण समाचारपत्र’ पाक्षिकमा सम्पादक÷प्रकाशककारुपमा कार्यरत हुनुहुन्थ्यो । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । रासस

तस्बिर प्रतियोगिता तथा प्रदर्शनीको घोषणा

एमाले प्रचार विभाग सचिवमा रिजाल

काठमाडौँ, १६ असार । नेकपा(एमाले) प्रचार तथा प्रकाशन विभागका सचिवमा ‘बुधबार’ साप्ताहिकका सम्पादन सल्लाहकार तथा ‘पहिलोन्युज डटकम’का सम्पादक विष्णु रिजाल विजयी हुनुभएको छ ।

एमालेको विसं २०७१मा यहाँ भएको नवौँ अधिवेशनपछि गठित विभागहरुमा पहिलो चोटि सचिव पदमा निर्वाचन भएको हो । दलको धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज अपराह्न भएको निर्वाचनमा रिजालले १४ र प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्टले नौ मत ल्याउनुभएको थियो ।

कुल २५ सदस्यमध्ये विभाग प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापाले भने मतदान गर्नुभएन । आजै विभागका केही सदस्यको कार्यविभाजन गरिएको बताइएको छ । रासस

नासु कार्की घुस लिँदालिँदै पक्राउ

काठमाडौँ, १६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका नायब सुब्बा दीपककुमार कार्कीलाई एक सेवाग्राहीसँग घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।

घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको विशेष टोलीले रु २० हजार घुससहित काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित युनाइटेड फाइनानान्स अगाडिबाट पक्राउ गरेको हो । सरकारी छाप कीर्ते मुद्दाका अभियुक्तसँग मुद्दा चाँडै मिलाइदिने भन्दै कार्कीले घुस लिएका थिए ।

यस्तै आयोगले आजै राक्सिराङ इलाका वन कार्यालय मनहरि मकवानपुरमा कार्यरत सहायक वन अधिकृत रामकृष्ण कुश्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार वन अधिकृत कुश्लेले सामुदायिक वन उपभोक्ता समिति भार्ताले बिक्री गरेको काठ दाउरा लोड गरी लैजाने प्रक्रियामा विभिन्न बहाना बनाई रु एक लाख ८० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले वन अधिकृत कुश्लेविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

पहिरोका कारण व्यापार कठिन

धुन्चे (रसुवा), १६ असार । नेपाल चीनको उत्तरी नाका रसुवगढीमा पहिरो आउन थालेपछि व्यापार व्यवसाय कठिन भएको छ ।

चीनको केरुङबाट सामान आयात गर्ने व्यवसायी धर्मलाल श्रेष्ठका अनुसार रसुवागढी इलाकामा पहिरो आउन थालेपछि सामान आयातमा कठिन भएको छ ।

ट्राफिक प्रहरीका प्रमुख नवराज खड्काका अनुसार पहिरोबाट तीन दिनको अन्तरालमा ३१ वटा कन्टेनरमा क्षति पुगेका छन् । “कतिखेर ढुङ्गा झर्छ यकिन छैन”–व्यवसायी श्रेष्ठले भन्नुभयो ।

यही असार १४ गतेको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनाएको रसुवागढी क्षेत्रको सडक खुला गरिएको भए पनि छिनछिनमा भीरबाट ढुङ्गा झर्ने क्रम नरोकिएको ट्राफिक प्रहरीले बताएको छ । रासस

विवाद मिलाएर अधिवेशन गर्न माग

काठमाडौँ, १६ असार । नेपाल विद्यार्थी सङ्घका नेताले सङ्घभित्र देखिएका विवाद मिलाएर अधिवेशन गर्न नेतृत्वसँग माग गरेका छन् ।

नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले आज यहाँ आयोजना गरेको ‘नेविसङ्घको ११ औँ महाधिवेशनका चुनौती’ विषयको बहसमा नेताले विधिवत् रुपमा अधिवेशन नगरे आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा नेविसङ्घका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागबन्डामा भन्दा विधिवत् अधिवेशन गरेर प्रतिनिधि छान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सात दिनभित्र विधिवत् महाधिवेशनको प्रक्रिया अगाडि नबढाए अनशन बस्छौँ ।”

नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटाले विवाद समाधान कार्यदलले अहिलेसम्म काम गर्न नसक्दा समयमा नै अधिवेशन हुन्छ कि हुँदैन भन्ने आशङ्का जन्माएको बताउनुभयो । नेविसङ्घका केन्द्रीय सदस्य जित शेरचन, युवराज पाण्डे, बलदेव तिमल्सेना, तुलसा पन्त, नेविसङ्घ कैलाली सभापति विनय लामालगायतले महाधिवेशनको मिति तोक्नुभन्दा पनि विवादित समस्या समाधानमा वर्तमान नेतृत्व लाग्नुपर्ने बताउनुभयो । रासस

पूर्वसांसद मञ्चमा श्रेष्ठ

पहिरामा चार घर पुरियो

दोलखा, १६ असार । वर्षापछिको पहिराले सुरी गाविसमा गए राति चार घर पुरेको छ ।

पहिराले सुरी–३ का दिनेश खड्का, चरित्रकुमार खड्काको दुई वटा र लालकुमार खड्काको घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो । पहिरामा अस्थायी आवाससँगै सम्पूर्ण सम्पत्ति र चौपायासमेत पुरिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

त्यसैगरी सुरी–३ का १९ परिवार र सुरी–५ का २१ परिवार पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोबाट सुरी ३ र ५ नं वडाको करिब ८० रोपनी जग्गामा लगाएको मकैबाली पूर्णरुपमा नोक्सान भएको बताइएको छ । पहिराका कारण सोही ठाउँकै कलङ खोला लघुजलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।

वर्षाका कारण लाकुरीडाँडा–९ स्थित झिँगानमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौँ जाने र काठमाडौँबाट आएका यातायातका साधन रोकिएको प्रहरीले जनाएको छ । डाँडाखर्क, मेलुङ, मार्बु, खारे, गौरीशङ्कर, चङ्खु, गैरीमुदी, जफेलगायत गाविसका वस्ती पहिराको उच्च जोखिममा रहेको बताइएको छ । रासस

प्रजातान्त्रिक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान : प्रम

काठमाडौँ, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पु¥याउनुभएको स्मरण गर्नुभएको छ ।

जिपी कोइराला फाउन्डेसनले गिरीजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको लोकतान्त्रीकरणमा गिरिजाप्रसाद कोइरालाको योगदान तथा संविधान कार्यान्वयन’ विषयको विचार गोष्ठीमा उहाँले देश, जनता र लोकतन्त्रका लागि कहिल्यै भाँजो नहालेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मजदुर आन्दोलन, भारतमा भएको स्वतन्त्रताको आन्दोलन, राजनीतिक दलको गठन, आन्दोलन, परिवर्तनमा स्व कोइरालाको ठूलो योगदान रहेको छ ।” प्रधानमन्त्री ओलीले कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफैँ आन्दोलनको आँधी बेहरीमा होमिएर त्यसलाई कुन दिशामा अगाडि राम्रो हुन्छ भन्ने बारेमा ठूलो भूमिका खेलेको स्पष्ट पार्नुभयो ।

उहाँले जतिबेला राष्ट्र सङ्कटमा पर्छ त्यतिबेला आफ्नो विचारको बलले शान्तिलाई सही मार्गमा फर्काउन कोइरालाले ठूलो भूमिका खेलेको बताउनुभयो । “संविधान निर्माण गर्ने ठूलो इच्छा कोइरालामा रहेपनि उहाँ बितेर जानुभयो । अहिले मुलुकले संविधान पाएको छ, यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुनु आवश्यक छ”–प्रधानमन्त्री ओलीले थप्नुभयो ।

क्रान्ति र शान्तिको नेताः पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइराला क्रान्ति र शान्तिका नेता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिजाबाबुले राजनीतिमा कहिल्यै विश्राम लिनुभएन ।”

नेता पौडेलले नेपालको राजनीतिमा नेपाली काँग्रेसको सिद्धान्तको विकास हुँदै गएपनि पार्टी पराजित हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा कोइरालाको ठूलो भूमिका रहेको स्पष्ट पार्नुभयो ।

नेता पौडेलले सरकारले वार्ताको वातावरण बनाएर आन्दोलनरत मधेसी मोर्चाका मागलाई समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधान निर्माणसँगै प्राप्त अधिकारलाई गुमाउन नदिन छलफल र वार्ता आवश्यक छ ।” उहाँले स्थानीय निकायको निर्वाचन गराउन गाउँपालिका, नगरपालिका र जिल्लाको संरचना बनाएर अगाडि बढ्नु जरुरी रहेको औँल्याउनुभयो ।

साहसी र दृढसङ्कल्पित नेताः गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कोइराला साहसी र दृढसङ्कल्पित नेता भएको बताउनुभयो । उहाँले कोइराला नभएको भए नेपालको लोकतान्त्रिक आन्दोलन सफल नहुने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो, “मुलुकमा राजनीति स्थिरता अहिलेसम्म पनि पूरा भएको छैन, यसलाई पूरा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।” गच्छदारले मुलुकको प्रजातन्त्रलाई बलियो बनाउन उपेन्द्र यादवसँग पार्टी विभाजन गरेको स्पष्ट पार्नुभयो ।

फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीति विकासमा गिरिजाबाबुले खेल्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा संविधान निर्माण भएको छ, यसलाई कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्छ ।”

कार्यक्रममा डा राम थपलियाले गिरीजाप्रसाद कोइरालाको व्यक्तित्वसम्बन्धी तयार पारिएको वृत्तचित्र प्रस्तुत गर्नुभयो । रासस

कावा अध्यक्ष शेरचन पदमुक्त, लामालाई जिम्मेवारी

काठमाडौँ, १६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, समानान्तरको केन्द्रीय कार्यसमितिको बैठकले कावा अध्यक्ष गणेश शेरचनलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले शेरचनले पार्टीलाई सही नेतृत्व दिन नसकेका कारण उहाँलाई पदमुक्त गरेको पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिनुभयो । समान विचारधारा भएका राजनीतिक दल एवम् शक्तिसँग एकता गर्ने पार्टी स्थापनाकालदेखिको नीति विपरीत एकीकरण प्रयासमा उहाँले बाधा गरेको लावतीले आरोप लगाउनुभयो ।

उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न बैठकले लामालाई नै पार्टी नेतृत्वको जिम्मेवारी प्रदान गरेको छ । बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्तालाई सकारात्मक निष्कर्षमा पु¥याउने तथा राष्ट्रवादी शक्तिको एकताका लागि प्रयत्नशील रहेका सन्दर्भमा बृहत् राप्रपा एकता अभियानमा सरिक रहँदै जाने निर्णय समेत गरेको छ । रासस

पत्रकारिता पेसा अत्यन्त जिम्मेवारीपूर्ण छ–राष्ट्रपति

काठमाडौँ, १६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसा जनतालाई सुसूचित गर्नाका साथै अत्यन्त जिम्मेवारीपूर्ण पेसा भएकाले पत्रकारले यसलाई संवेदनशील रुपमा लिनुपर्ने बताउनुभएकोे छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), काठमाडौँका पदाधिकारी एवम् हालै सो शाखाले सम्मान गरेका पत्रकारहरुसँगको भेटका क्रममा उहाँले पत्रकारिता क्षेत्रले समाजलाई अगाडि बढाउन अग्रणी भूमिका खेल्न सक्ने विचार व्यक्त गर्दै पत्रकारहरुको यो आफ्नो व्यावसायिक धर्म पनि हो भन्नुभयो ।

सो अवसरमा उहाँले सम्मानित व्यक्तित्व राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधर, रेडियो नेपालका ध्रुव मधिकमी र रमिता लामा तथा पत्रकार रुवि श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा उहाँलाई फोनिज, काठमाडौँका अध्यक्ष मीरा अमात्य (राजभण्डारी)ले अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो । रासस

छ महिनामा पाँच सय मानवाधिकार उल्लङ्घनका घटना

काठमाडौँ, १६ जेठ । मध्यमाञ्चल क्षेत्रमा पछिल्लो छ महिनामा ५५५ मानवाधिकार उल्लङ्घनका घटना भएको एक अध्ययनले देखाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यहाँ आज आयोजना गरेको मध्यमाञ्चल क्षेत्रका ‘मानवाधिकार उल्लङ्घन अवस्था’ विषयको अन्तक्र्रियामा ती घटनामा ५९४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले प्रतिवेदन सार्वजनिक गर्दै मध्यमाञ्चलका १९ वटै जिल्लामा गत पुस महिनादेखि यही असार १५ गतेसम्म घटेका मानवाधिकार उल्लङ्घनको घटना रहेको उल्लेख गर्नुभयो ।

अध्ययनअनुसार ती घटनामा हत्या, अपहरण, कुटपिट, बलात्कारको प्रयास, बोक्सी तथा बोक्साको आरोपमा हत्या, कुटपिट तथा अमानवीय व्यवहार, मानव बेचबिखन, बहुविवाह, महिला हिंसा तथा घरेलु हिंसा लगायत मानवाधिकार उल्लङ्घनका विषय छन् । सोही अवधिमा राज्यबाट तीन महिला र २६ पुरुष तथा गैरराज्य पक्षबाट ५४२ महिला र २३ पुरुष पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द पौडेलले कानुनको प्रभावकारी कार्यान्वयनको माग गर्दै मानवाधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई एकापसमा समन्वयका साथ काम गर्न आग्रह गर्नुभयो । बेरोजगारी अशिक्षा, अज्ञान र गरिबीका कारणले गर्दा महिला तथा बालबालिका घटनामा बढी पीडित बनेको बताइएको छ । रासस

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, १६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरीशिक्षकको नियुक्त लिएको अभियोगमा मोरङका एक शिक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काली उमावि डाँगीहाट मोरङमा निमावि तहमा कार्यरत शिक्षक तर्पणलाल राजवंशीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानका क्रममा पाइएको हो । आयोगकाअनुसार शिक्षक राजवंशीले पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल, भारतबाट सन् १९९२ मा आइकम उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नेविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

Wednesday, June 29, 2016

उमावि परिषद् बोर्डमा रुपान्तरण, उपाध्यक्ष शर्माको बिदाइ

काठमाडौँ, १५ असार । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ ।

राष्ट्रपतिबाट आज प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उहाँलाई आज भक्तपुरस्थित परिषद् कार्यालयमा कर्मचारीले बिदाइ गरेका हुन् । शर्मा २०७१ चैतमा नियुक्त हुनुभएको थियो । सदस्यसचिव नारायणप्रसाद कोइराला भने परिषद्को सहसचिवस्तरका कर्मचारी भएकाले उहाँले आफ्नो कामलाई फरक हैसियतमा निरन्तरता दिनु हुनेछ ।

शर्माले माध्यमिक शिक्षाको पाठ्यक्रम र परीक्षा व्यवस्थापनमा नयाँ संरचना आएको र यसले जटिलता थपिन सक्ने भएकाले सरकारले पर्याप्त मानव स्रोत र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताउनुभयो । परिषद् मातहत रहेका तीन हजार ६०० उमावि अब शिक्षा विभागको मातहत रहनेछन् । दस जोड दुई कक्षा मात्र सञ्चालन भएका विद्यालयले तलको कक्षा पनि सञ्चालन गर्नुपर्नेछ ।

ऐनले विसं २०४६ मा स्थापित परिषद्लाई बोर्डमा रुपान्तरण गराई हालको कक्षा १० को प्रवेशिका परीक्षा अन्त्य गरेको छ । अब कक्षा १२ मा राष्ट्रिय परीक्षा हुनेछ । बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्ने समितिमा लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्याति प्राप्त शिक्षाविद्मध्येबाट कम्तीमा एक जना महिला पर्ने गरी शिक्षा मन्त्रालयले मनोनयन गरेका दुई जना सदस्य रहेको सिफारिस समिति रहनेछ । मन्त्रालयको प्रत्यक्ष निकायका रुपमा बोर्ड आउने भएपछि परिषद्का कर्मचारीमा कसरी समायोजन हुने भन्ने अन्योलसमेत देखिन्छ ।

भर्ना प्रक्रियामा थप व्यवस्था
यसैबीच, परिषद्ले कक्षा ११ मा भर्ना हुन विद्यार्थीले रोजेको विषय पढ्न ‘सि प्लस’ ल्याउनुपर्ने भन्ने यसअघिको प्रावधान संशोधन गरी व्यवस्थापन समूहमा भर्ना हुन गणितमा ‘डि प्लस’ र मानविकी, शिक्षा समूहमा सम्बन्धित विषयमा ‘डि प्लस’ ल्याए पनि हुने भएको छ । शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । रासस

ग्राहकको रोजाइ बाजेको सेकुवा

काठमाडौँ, १५ असार । आजभन्दा ४१ वर्षअघि तराईबाट राजधानी घुम्न आउनुभएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो ।

‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउँदै ‘बाजेको सेकुवा कर्नर’ का अध्यक्ष चेतन भण्डारीले भन्नुभयो, “राम्रो पकाउन जान्ने र मिठो खाना खाने बुबाको सौखिन बानी थियो, उहाँ पहिलेदेखि नै दसैँका बेला घरमा काटेको खसीको मासुको विभिन्न परिकार बनाउनु हुन्थ्यो ।” ठूलो हवाईजहाज हेर्न भनेर त्रिभुवन विमानस्थल गएका बेला दीनानाथले राम्रो खाना नास्ता खाने ठाउँ नपाएपछि आफ्नो सीप प्रयोग हुने र व्यापार पनि राम्रो हुन्छ भन्ने ध्येयले विमानस्थल छेउको चौरमा सेकुवा पोल्न सुरु गर्नुभयो ।

कुनै भाडा नतिरी चौरमा सेकुवा पोलेर सामान्य कारोबार गरिरहेका भण्डारी दम्पती एक दिन नगरपालिकाका कर्मचारीबाट लखेटिएको घटनाले उहाँका छोरा चेतनको मन छोयो । त्यतिन्जेलसम्म विमानस्थलका कर्मचारी र त्रिभुवन विमानस्थल भन्सारमा सामान लिन आउने व्यापारीको खाजा खाने स्थलको रुपमा उहाँको सेकुवा प्रचलित हुँदै गएको थियो ।

त्यसलगत्तै घर सल्लाहपछि व्यवसाय कतै साराँै भनेर सिनामङ्गल नजिकैको खाली चौरको एक कुना भाडामा लिएर व्यावसायिक रुपमा सेकुवा पोल्न सुरु गरेको अध्यक्ष चेतनले स्मरण गर्नुभयो । यसरी सुरु भएको बाजेको सेकुवा व्यवसाय आज काठमाडौँंका १० तथा पोखरा र चितवनमा एक एक ठाउँमा शाखा विस्तार भइसकेको छ । त्यसमध्ये छवटा आफँै र छवटा आङ्गिक स्वामित्वका रुपमा सञ्चालनमा छन् । करिब ३०० जनाले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।

खसीको सेकुवाबाट सुरु भएको उक्त व्यवसायले आज ताजा र मिठो खानपिनका लागि मुलुकमै ख्याति कमाएको छ । दौरा सुरुवाल मात्र लगाउने ब्राह्मण जातिका भण्डारीलाई सुरुमा सेकुवा खान आउने ग्राहकले बाजे भनेर सम्बोधन गर्ने गर्थे । कालान्तरमा त्यही नाम उक्त व्यवसायको ब्राण्ड बनेको छ ।

अध्यक्ष भण्डारीले भन्नुभयो, “यो नाम हामीले कहीँ लेखेको वा राखेको नाम होइन ग्राहकले आफैँले दिएको नाम हो, पछि त्यही नाम ब्राण्ड भयो ।” गुणस्तरमा आधारित रहेर मूल्य निर्धारण गर्नु र ग्राहकलाई सन्तुष्ट पार्नु चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ । खपत हुने अधिकांश खसी भारतबाट आयात गर्ने गरेको जानकारी गराउँदै उहाँले भन्सार शुल्क तिर्दा पनि यहाँको मूल्यभन्दा सस्तो पर्ने गरेको बताउनुभयो ।

नेपाली समाजमा खसीको मासु खाने चलन निकै प्रचलित भए पनि विस्तारै रातो मासु कम खानुपर्छ भन्ने चेतनाका कारण ग्राहकले आजभोलि अन्य खाजाको तुलनामा मासु थोरै खाने गरेको उहाँको अनुभव छ । “नाम नै सेकुवा कर्नर भएकाले शाकाहारी मानिस जान हिच्किचाउँछन् तर हाम्रोमा शाकाहारी सेकुवा पनि पाइन्छ,” अध्यक्ष भण्डारीले भन्नुभयो ।

साझा मञ्च सिर्जना गरी एक व्यापारले अर्काे व्यापारलाई सञ्जालमार्फत कसरी सहयोग गर्न सक्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा उद्यमी क्षेत्रका नयाँ प्रवेशी, विभिन्न क्षेत्रका व्यापारी, विद्यार्थीलगायतका ५०० बढी युवाको सहभागिता रहेको थियो । रासस

पुनःनिर्माणको काममा दलीयकरण भएको छैन : प्रम ओली

धान दिवस मनाइयो

काठमाडौँ, १५ असार । काठमाडाँै उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी आज १३औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्य सङ्कट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो ।

कृषि विकास मन्त्रालयका अनुसार धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भइसकेको छ । तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । मन्त्रालयका अनुसार आव २०७२÷७३ मा करिब १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ ।

धान विज्ञ भोलामानसिंह बस्नेतले बिहानबेलुकी नै खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव नहुने दाबी गर्नुभयो । कृषकले बीउ तथा मल छनोटमा ध्यान पु¥याए अहिले भन्दा २० प्रतिशत बढी धान उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ । पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ ।

यसैगरी आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन नेपालले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा धान रोपाइँ कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा, राज्यमन्त्री विक्रमबहादुर थापा, सहायकमन्त्री दिनेश श्रेष्ठ, सङ्घीय मामिला र स्थानीय विकास सहायकमन्त्री रेशम लामालगायतको उपस्थिति रहेको थियो । रासस

सपना देख्नु नै जीवनको सारांश

काठमाडौँ, १५ असार । चौधरी समूहका अध्यक्ष व्यापारी विनोद चौधरीले जीवनको सारांश नै सपना देख्नु भएकाले सबै युवाले आफ्नो उज्ववल भविष्यका लागि सपना देखेर त्यसलाई पछ्याउनुपर्ने बताउनुभएको छ ।

‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष चौधरीले सफल उद्यमी बन्न सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने सुझाव दिँदै भन्नुभयो, “सफल उद्यमी बन्न व्यापार पृष्ठभूमि, साधन स्रोत र राम्रो शिक्षा चाहिन्छ भन्ने मान्यता परम्पारवादी सोच हो ।”

उहाँले कार्यक्रममा सहभागी सयौँ युवालाई सफल उद्यमी बन्न प्रेरणा दिनुका साथै आफ्नो सफलताको अनुभवका बारेमा समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा सिएन्डइ समूहका महाप्रबन्धक ओमराज भण्डारी, ठमेल डट कमका सह संस्थापक बालकृष्ण जोशी, बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारी, मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र, प्रिज्म एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रन्जित आचार्यले आ–आफ्ना व्यापार क्षेत्रका सफलताका कथा प्रस्तुत गर्नुका साथै सफल हुने सुत्रका बारेमा समेत सुझाव दिनुभयो ।

साझा मञ्च सिर्जना गरी एक व्यापारले अर्काे व्यापारलाई सञ्जालमार्फत कसरी सहयोग गर्न सक्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा उद्यमी क्षेत्रका नवप्रवेशी, विभिन्न क्षेत्रका व्यापारी, विद्यार्थीलगायतका ५०० भन्दा बढी युवाको सहभागिता थियो । रासस

प्रमद्वारा अफगानिस्तान घटनाप्रति निन्दा र भत्र्सना

काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा घटेको घटनाबाट सिङ्गो मुलुक शोकाकुल र सरकार स्तब्ध भएको बताउनुभएको छ,।

व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो घटनाको निन्दा र भत्र्सना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले घटनाका घाइतेको सरकारले निःशुःल्क उपचारको प्रबन्ध मिलाएको जानकारी दिँदै तदरुकताका साथ मृतकको शव नेपाल ल्याउन गरेको कामलाई आझेलमा पार्ने प्रयास गरेको भनी त्यसको खण्डन गर्नुभयो । रासस

घरेलु हिंसाका उजुरी बढे

दमक, १५ असार । झापाको दमकमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरी बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरीका घटनामा वृद्धि आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा आव २०७१÷७२ मा ४८ वटा उजुरी दर्ता भएकोमा चालु आवको साउनदेखि जेठसम्मको ११ महिनामा ५५ वटा उजुरी दर्ता भएका छन् । त्यसअघि आव २०७०÷७१ मा ४७ वटा उजुरी दर्ता भएका थिए ।

इप्रका दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार उजुरी गर्नेमा अधिकांश घरेलु हिंसाका घटना छन् । सामाजिक रुपान्तरणसँगै आम नागरिकमा आएको चेतनाका कारण घरेलु हिंसाका घटना प्रहरी कार्यालयसम्म आउने क्रम बढेको उपरीक्षक लिम्बूले बताउनुभयो ।

दमक तथा आसपासका क्षेत्रमा घरेलु हिंसाका अधिकांश घटना मादक पदार्थ सेवनका कारण हुने गरेको उहाँले बताउनुभयो । इप्रका दमकका अनुसार चालु आवमा सबैभन्दा धेरै साउन महिनामा घरेलु हिंसाका १४ वटा उजुरी परेको थियो । रासस

एमालेद्वारा आत्मघाती आक्रमणको निन्दा

काठमाडौँ, १५ असार । नेकपा (एमाले)ले टर्कीको इस्तानवुलस्थित आटार्टुक अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती आक्रमणमा परी ३६ जनाभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त आतङ्कवादी हमलाकोे पार्टीले घोर निन्दा तथा भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आतङ्कवादी हमलाको पार्टीले घोर निन्दा गर्दछ, अतिवादी हमलाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”

विश्वका कुनै पनि भू–भागमा हुने आतङ्कवादी क्रियाकलाप तथा अतिवादी विचारप्रति पार्टीले गम्भीर असहमति व्यक्त गर्दै कुनै पनि अमानवीय हर्कतको एमालेले निन्दा गर्दछ विज्ञप्तिमा भनिएको छ ।

पछिल्ला दिनमा विश्वमा बढ्दै गएको आतङ्कवादी गतिविधि तथा अतिवादी विचारप्रति चिन्ता व्यक्त गर्दै मानव जातिको हित तथा विश्व शान्तिका लागि ठोस पहल गर्न पार्टीले सबैमा अपिल गरेको छ । रासस

करेन्ट लागेर मजदुरको मृत्यु

त्रिशूली (नुवाकोट), १५ असार । जिल्लाको खानीगाउँ गाविसमा आज करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

खानीगाउँ– ४ ढिकुरेबजारमा रहेको काष्ठ फर्निचर उद्योगमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर सूर्यमती– २ का २७ वर्षीय श्याम रिजालको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

करेन्ट लागेर घाइते भएका रिमालको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । करेन्ट लागेर ५० वर्षीय केशव न्यौपाने गम्भीर घाइते भएका छन् । घाइते न्यौपानेको नुवाकोटको विदुरमा नुवाकोट सिटी अस्पतालमा उपचार भइरहेको छ । रासस

पैतालीस करोडमा दूतावास भवन खरिद

काठमाडौँ, १५ असार । सरकारले थाइल्यान्डको राजधानी बैंककमा रु ४५ करोडमा चार रोपनी जग्गा र त्यसले चर्चेको भवन खरिद गरेको छ ।

उक्त जग्गा र त्यसमा रहेको भवन आजैदेखि नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण भएको उक्त दूतावासले जनाएको छ ।

स्थापनाकालदेखि भाडामा रहेको उक्त दूतावास अब आफ्नै भवनमा रहने र त्यसबाट मुलुकको आर्थिक भार घट्नेछ । रासस

Tuesday, June 28, 2016

आज राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौ, १५ असार । राष्ट्रिय धान दिवस आज देशभरमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा आज सरकार, गैरसरकारी संस्था र दलका कृषि समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।
नेपाली किसानले आजको दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरेका छन् । नेपालले २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउँदै आएको छ । यस वर्ष १३औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
राजधानी बाहिर पनि सरकारी तथा गैरसरकारी निकायले धान दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दैछन् । आजको दिनलाई रोपाई महोत्सव र दही चिउरा खाने दिनका रुपमा लिने गरिन्छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।
धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गा मध्ये असार १४ हिजोसम्म १० प्रतिशत मात्र रोपाइँ भएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।
पानी समयमा परेका कारण यसबर्ष किसानहरु खुसी देखिएको छन् । तराईको कुल भूभागको करिब ७० प्रतिशत पहाडी क्षेत्रको कूल भूभाग मध्ये करिब २६ प्रतिशत र हिमाली क्षेत्रको कूल भूभाग मध्ये करिब पाँच प्रतिशत जग्गामा धानबाली हुने गरेको छ ।

हजुरबुबाको किरिया बसिन् नातिनी

दाङ, १५ असार । दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् ।

उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् । विन्दुले भनिन्, “किरिया वस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ ।” अरूलाई खोजेर किरिया गर्नुभन्दा आफू नै बसेको विन्दुले बताइन् ।

प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो । प्रेमबहादुरका दाइभाइका छोराहरु भए पनि नातिनी आफँैले हजुरबुबाको किरिया वस्ने भन्दै किरिया बसेकी हुन् । रासस

च्याउ खाएर एकै घरका पाँच बिरामी

भोजपुर, १५ असार । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका छन् ।

बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरु सिकिस्त बिरामी परेका थिए । बिरामी भएपश्चात् उनीहरुलाई छिमेकीले जिल्ला अस्पताल भोजपुर ल्याएका थिए । साबित्राको स्वास्थ्यमा केही सुधार नभएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । छोराछोरीहरु भने उपचारपछि घर फर्किएका छन् । रासस

‘आत्मरक्षा गर्ने सीपले मलाई निडर बनायो’

काठमाडौँ, १५ असार । ‘नाइट ड्युटी हुने भएकाले सधैँ रातको १२ बजेभन्दा अघि दोहोरीबाट निस्कन पाइँदैनथ्यो । एक्लै निस्कन डर लाग्ने भएकाले हामी सधैँ दुईतीन जना केटीको समूह बनाएर मात्र घर जान निस्कन्थ्यौँ ।”

विगतलाई सम्झँदै सिर्जना पुनले भनिन् – “एक त राति हिँड्नुपर्ने अर्को मनोरञ्जन क्षेत्रमा काम गर्ने भएकाले हामीलाई नराम्रो दृष्टिले हेर्ने त भइहाले । हामीले आफूलाई कार्यस्थलमा नै जोगाउनुपथ्र्यो बाहिर सडकको त के कुरा रु”

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला यस्तै जोखिमबाट बढी गुज्रिनुपर्ने भएकाले उनीहरुलाई आत्मरक्षासम्बन्धी तालिमको संयोजन गर्दै आएको संस्था महिलाका लागि महिला मञ्च नामक संस्थाका प्रमुखसमेत रहेकी सिर्जना द्वन्द्वकालमा सुरक्षा र रोजगारीको सिलसिलामा काठमाडौँ आइपुगेकी थिइन् ।

आत्मरक्षासम्बन्धी तालिम लिनुअघि र पछिको अनुभव सुनाउँदै उनले तालिमले आफूलाई निडर बनाएको बताइन् । “पहिले साथीसँगै रातिमा निस्कँदा पनि कसैले आएर समात्ने पो हो कि, कसैले हमला पो गर्ने हो कि भन्ने लागिरहन्थ्यो”, उनले भनिन् – “अहिले म एक्लै ठमेलको बाटो हिँड्छु । कसैले मलाई केही गरिहाल्यो भने पनि मैले यसरी प्रतिकार गर्छु भन्ने मनमा आइहाल्छ ।”

दाङकी सिर्जनाले सुरुमा क्याबिन रेस्टुरेन्टमा काम गर्न थालिन् तर त्यहाँ समयमा पैसा नदिने समस्या भएपछि दोहोरीतिर लागिन् । दोहोरीबाट घरका लागि निस्कँदा सधैँ १२ बजिहाल्थ्यो । कोही साथी भएको समयमा समस्या महसुस नभए पनि एक्लै भएका बेला भने उनलाई डरले समातिहाल्थ्यो । “अब भने त्यस्तो समस्या छैन” – उनले निर्धक्क भएर भनिन् ।

दश दिनको आत्मरक्षा तालिमपछि आफूमा आत्मविश्वासको महसुस गर्ने सुनिता आफूमाथि भन्दा पनि अरुमाथि हिंसा भएको देख्ने बित्तिकै प्रतिकारका लागि उत्रिहाल्छिन् । उनले सुनाइन् – “केही समयअघि गोङ्गबुमा एक जना महिलालाई जाँड खाएको पुरुषले हातमा समातेर तान्दै थियो । म र अर्को एक जना साथी सँगै थियौँ । वरपर मानिस जम्मा भई रमिते भएर हेरिरहेका थिए । हामीले गएर किन यस्तो गरेको रु को हौ रु भनेर सोध्यौँ तर उसले केही नभनी ती महिलालाई मसँग हिँड् हिँड् मात्र भनिरहेको थियो । महिला भने केही गर्न नसकी रोइरहेकी थिइन् ।”

सुरुमा आफूहरुले सम्झाउन खोजेको भएपनि ती पुरुष सम्झने मनस्थितिमा नभएपछि भीडका बीचमा नै पिटेर ती महिलालाई आफूसँगै ल्याएको उनले बताइन् । तालिमअघि यस्ता घटना देख्दा आफूले केही गर्न नसक्ने भएपनि अहिले यस्ता घटनालाई सम्झाइबुझाई गर्दा नमाने कुटपिट नै गरेर भए पनि समाधान गरेको उनले सुनाइन् ।

आत्मरक्षा तालिम लिएकी मनोरञ्जन क्षेत्रमा कार्यरत अर्की महिला कुमारीले पनि आफूमाथि दुव्र्यवहार गर्न खोज्नेलाई प्रतिकार गर्न थालेकी छिन् । “पहिले पहिले ठूलो स्वरले बोल्नसमेत डर लाग्थ्यो”, उनले सुनाइन् – “ग्राहक नै पनि कहिलेकाहीँ अलि दुव्र्यवहार गर्न खोज्ने खालका हुन्छन् । उनीहरुसँग कसरी व्यवहार गर्ने भन्ने चिन्ता लाग्थ्यो । कराउँ भने ग्राहक र मालिक रिसाउला भन्ने चिन्ता हुन्थ्यो ।”

“अहिले त कसैको पनि डर लाग्दैन, तालिममा हामीलाई पहिले कुरामार्फत नै दुव्र्यवहारको प्रतिकार गर्न सिकाइन्छ, त्यतिले नमाने मात्र हो कुटपिटमा उत्रने त । तालिमपछि भने कामबाट निकाले नि अन्तै गरौँला भन्ने भावना आउन थालेको छ” – उनले हाँस्दै भनिन् ।

“मानिसको सोचाइमा आत्मरक्षा तालिम भन्ने बित्तिकै पिटेर ठीक ठाउँमा ल्याउने होला भन्ने सोच छ”, विभिन्न क्षेत्रका महिलालाई आत्मरक्षाको तालिम प्रदान गर्दै आएको संस्था परित्रान रिस्क म्यानेजमेन्ट सोलुसनका निर्देशक विक्रान्तराज पाण्डेले भने –“पहिले हामी संवादमार्फत नै समस्याको समाधान खोज्छौँ । कोही महिला दुव्र्यवहारमा परिहालेमा पीडकसँग राम्ररी कुरा गरेर छुट्कारा पाउन सकिन्छ । त्यति गर्दा पनि मानेन भने आफूभन्दा निकै बलवान नै किन नहोस् उसँग कसरी भिड्ने र आफूलाई जोगाउने भन्ने सिकाउँछौँ ।”

दश दिनको तालिममा महिलालाई शारीरिक मात्र नभई मानसिक रुपमा पनि आत्मरक्षाका लागि तयार गरिन्छ । “महिलामाथि हिंसा भइसकेपछि विभिन्न उपचारका विधि अपनाइन्छ यो भने घटना हुनुपूर्व कसरी आफूलाई जोगाउने भनेर सिकाउने हो” – उनले भने ।

सन् २०१३ देखि संस्थाले बैंकिङ क्षेत्र, अपाङ्गता भएका, मनोरञ्जन तथा अनौपचारिक क्षेत्रमा कार्यरत सयौँ महिलालाई आत्मरक्षा तालिम प्रदान गर्दै आएको छ । अन्जली रम्तेल/रासस

बर्खा काट्न मुस्किल भयो : भुकम्पपीडित

मेलम्ची, १५ असार । भूकम्प गएको १५ महिना बित्नै लाग्दा अझै पनि पीडितले ढुक्कको श्वास फेर्न सकेका छैनन् । पीडित भन्छन्, “यो वर्षा काट्न धौधौ भयो । पुराना टिनको छानोबाट पानी चुहिन्छ । दिन र रातको समयमा पर्ने पानीका कारण यो वर्ष पनि अनिँदो बस्नुपर्ने बाध्यता छ ।”

असार साउनको महिना मानो रोपेर मुरी फलाउने समयमा कामको चटारो र दिनभरको थकान मेट्न टहरोमा पुग्यो, पानी चुहिने टिनको छानो मिलाउँदैमा थप थकित हुनु परेको छ । यस किसिमको समस्या झेल्दै आएका सिन्धुपाल्चोक जिल्ला शिखरपुरका दलित समुदायका समाजसेवी प्रेमबहादुर विक मात्रै नभई जिल्लाका विभिन्न गाविस तथा अन्य भूकम्प प्रभावित क्षेत्रका स्थानीयवासीका पीडासमेत विकसँग मिल्दोजुल्दो छ ।

गत बर्खामा छानाबाट चुहिने पानीसँग रुझ्दै दिनरात बिताएका भूकम्पपीडितको यस वर्ष आफ्नै भूकम्प प्रतिरोधात्मक घरमा बस्ने सपना असारको बाढीसँगै बगेको भोटचौर गाविसका स्थानीयवासी दिनेश चौलागाईंले बताउनुभयो । कतिपय गाविसमा पुनःनिर्माणका लागि अनुदान सम्झौतासमेत भएको भए तापनि बर्खाको धान रोप्ने व्यस्त समयमा पुनःनिर्माणको कामले गति लिने स्थिति नरहेको किसान हेमराज खतिवडा बताउनुहुन्छ ।

हावाहुरीेका कारण भूकम्पबाट थलिएका सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडितले अझै सुरक्षाको अनुभूति गर्न नसकेको पीडित भन्छन्, “अब भूकम्पले केही गर्दैन भएका सबै घरदेखि भौतिक संरचना ढलेका छन् तर अझै पनि बर्खाको पानी र हावाहुरीको डरमा नै बस्न बाध्य छौँ ।”

वर्षा हुनासाथ छानाबाट पानी चुहिएर टहराभित्र कोचाकोच गरेर अटाएका अन्तपात, लत्ताकपडा लगायतका सुत्ने ओछ्यान आधी भिजेको हुन्छ, यति मात्र होइन हावाहुन्डरी लागेको समयमा त झन् टिनको छाना समाउँदै बस्नुपर्ने बाध्यता रहेको पीडितसमक्ष ताजै छ ।

बर्खाको समयमा टहराको चारैतिरबाट पानी छिर्ने हँुदा आफ्नो टाउकोसमेत ओत्याउन समस्या पर्नेमा टहरामा नै अटाएर राखिएको खाद्यान्न, लत्ताकपडासमेत जोगाउन मुस्किल हुने हेलम्बुका स्थानीयवासी साङ्गे ह्यल्मो बताउनुहुन्छ ।

अनुदान सम्झौता भएको भए तापनि अझ पीडीतसमक्ष उक्त सम्झौता रकम पुग्न निकै समय लाग्ने देखिन्छ । रकम पाए पनि असार साउनको व्यस्त समयमा पुनःनिर्माण गर्ने लक्षण नै देखिँदैन । जिल्लाभर अनुदान सम्झौताको लहर चले पनि धान रोप्ने व्यस्त समयमा भूकम्पपीडितले कामको चटारोको कारण सम्झौतासमेत गर्न सकेका छैनन् । रासस

श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमानको शव फेला

सबै नेपाली महिलाको जित हो : बन्दना राणा

काठमाडौँ, १४ असार । महिला अधिकारकर्मी बन्दना राणाले महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घीय समिति (सिड)मा आफू निर्वाचित हुनुमा सबै नेपालीको जित रहेको बताउनुभएको छ ।

सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले अबका दिनमा लैङ्गिक समानता र सशक्तीकरणका लागि काम गर्न थप सहयोग पुग्ने विश्वास दिलाउनुभयो ।

महिला अधिकारका क्षेत्रमा नेपालमा भएका सकारात्मक उपलब्धि र स्थानीय तहका घटनालाई विश्वव्यापी बनाउन समितिमा आफ्नो उपस्थिति महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सिड समितिको सदस्यका लागि गत जुन २१ तारिखमा भएको निर्वाचनमा राणाले १०६ मत ल्याउँदै ११ जनामा स्थान हासिल गर्नुभएको थियो । यो समितिको सदस्य पदमा निर्वाचित हुने नेपालको पहिलो महिला बन्नुभएकी राणा सन् २०१७ देखि २०२० सम्म वर्षसम्म समितिमा रहेर काम गर्नुहुनेछ । महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने निकायको रुपमा सो समितिले काम गर्नेछ । रासस

सन्दर्भ राष्ट्रिय धान दिवस

संसद् बैठक बुधबार बस्ने गरी स्थगन

संविधान कार्यान्वयनमा एक हुन राष्ट्रपतिको आह्वान

काठमाडौँ, १४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक समृद्धिका लागि संविधान कार्यान्वयनमा एक हुन दलहरूलाई आह्वान गर्नुभएको छ ।

मदन भण्डारी फाउण्डेसनले आज यहाँ आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा लोकतान्त्रिक रुपान्तरण, दिगो शान्ति र आर्थिक समृद्धिका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले त्यसका लागि दलहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले समाजको शान्तिपूर्ण र लोकतान्त्रिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले बताउनुभयो ।

झुठो राजनीतिमा अल्झनु छैन ः प्रम

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको बताउँदै दातृ निकायको सम्झौताका कारण भूकम्प प्रभावितलाई एकै किस्तामा रु दुई लाख दिन नसकिएको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई थोत्रा, झुठ र बेइमानीमा अल्झने राजनीति गर्नु छैन, मुलुकको तीव्र आर्थिक उन्नतिमा लाग्नुछ । सकेसम्म सरकार जनतालाई छिटो अधिकतम सुविधा र पुनः निर्माणको सेवा दिन चाहन्छ ।”

जननेता भण्डारीले नेपालीलाई लगाएको सबभन्दा ठूलो गुन जबजको सिद्धान्त भएको भन्दै उहाँले नेपाली समाजको सकारात्मक र शान्तिपूर्ण परिवर्तनका लागि त्यस विचारकालाई चुनौती दिने अर्काे व्यवस्थित विचार नआएको जनाउनुभयो ।

क्रमभङग भएमा वैचारिक मेलको सम्भावना छ ः दाहाल

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भण्डारीको जबज र आफूको जनयुद्धपछिको शान्तिपूर्ण रुपान्तरण तथा मुलुकको समृद्धि र नेपालको नयाँ पहिचानका लागि दुई पार्टीबीचको मेलको सम्भावना रहेको बताउनुभयो ।

उहाँले जननेता भण्डारीसँग आफ्नो वैचारिक भेट तय भए पनि उहाँको दुर्घटनामा निधन भएका कारण त्यो सम्भव नभएको भन्दै भेट भएको भए जनयुद्ध वा जबजका धारमा एकले अर्काेलाई प्रभावित पार्न सक्ने टिप्पणी गर्नुभयो ।

भण्डारीको २०५० जेठ ३ मा दासढुङ्गा–दुर्घटनामा निधन भएको थियो । दाहालले ललितपुरका एक बुद्धिजीवीले आफू र भण्डारीबीच जेठ ११ मा भेटको कार्यक्रम तय गरेको जनाउँदै आफूहरुबीच प्रत्यक्ष भेट नभएको भए पनि सोच्ने समानता (घिसिपिटी जीवन गुजार्ने भन्दा फरक) रहेछ भन्ने अहिले बोध भएको बताउनुभयो ।

दाहालले भन्नुभयो, “हामीले अहङ्कार र स्वार्थ केन्द्रित पक्ष त्यागेर राष्ट्रिय स्वाधीनता र समृद्धिका पक्षमा उठेका वैचारिक प्रश्नलाई उत्तर दिने आँट र नेतृत्व गर्न सक्ने हो भने अहिले पनि दुई पार्टीको मेलको सम्भावना छ ।”

उहाँले नेता भण्डारीले इतिहासको आवश्यकता र आकस्मिताले जन्मिएका नेपाली राजनीतिक आकाशका गतिशील र परिवर्तनशील एक नायक भएको पनि धारणा राख्नुभयो ।

उपप्रधानन्त्री एवम् परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वामपन्थी आन्दोलनलाई प्रजातान्त्रिकरण र नयाँ बाटो दिन नेता भण्डारीको योगदान अविस्मरणीय रहेको बताउँदै संविधान जारीपछिको अवस्थामा अनावश्यक वादविवादभन्दा मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

महावीर र डा कोइराला पुरस्कृत

कार्यक्रममा फाउण्डेसनले सञ्चालन गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पु¥याउने महावीर पुन र स्वदेशमा जटिल मानिएको मुटुको शल्यक्रियाको थालनीकर्ता डा भगवान् कोइराललाई राष्ट्रपति भण्डारीले पुरस्तृकत गर्नुभयो । विसं २०७१ र ०७२ को सो पुरस्कार जनही रु एक÷एक लाखको छ ।

पुरस्कार कोषका संयोजक तथा एमालेका सचिव प्रदीप ज्ञवालीले समाजको विविध विधाका माध्यमबाट सकारात्मक परिवर्तनमा योगदान पु¥याउनेलाई पुस्कृत गरिँदै आएको जानकारी दिनुभयो ।

फाण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जननेता भण्डारीका योगदानलाई चिरस्थायी गराउन र समाजमा सकारात्मक योगदान गर्नेलाई सम्मानित गर्न पुरस्कार सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा वैचारिक प्रकाशन ‘श्वेत शार्दूल’, ‘शार्दूल’, ‘श्रद्धाञ्जलि’ का साथै भण्डारीका भाषणमा आधारित सिडीको लोकार्पण गरियो भने कार्यक्रमस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा भण्डारीका तस्बिरमा आधारित चित्रकला प्रदर्शनीसमेत गरिएको थियो ।

पीडितलाई सात लाख सहयोग

काठमाडौँ, १४ असार । रक्तक्यान्सरको उपचार गराइरहनुभएका काभ्रे पाँचखालका देवेन्द्र बानियाँलाई मकाउमा रहेका नेपाली कामदारले सङ्कलन गरेको रु ७ लाख आज हस्तान्तरण गरिएको छ ।

यसअघि वैदेशिक रोजगारीमै रहनुभएका बानियाँको छ महिनादेखि सिभिल अस्पतालमा रक्तक्यान्सरको उपचार भइरहेको छ ।

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति मकाउका नेताद्वय अर्जुन अधिकारी र तोरण बानियाँको नेतृत्वमा सङ्कलित रकम काँग्रेस नेता विश्वप्रकाश शर्मा, सञ्चारकर्मीद्वय भूषण दाहाल र नविनराज पौडेलले संयुक्तरुपमा हस्तानतरण गर्नुभयो । रासस

राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा

काठमाडौँ, १४ असार । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको सेमिफाइनल खेलमा विभागीय टोली विजयी भएका हुन् । एपिएफले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । यस क्रममा एपिएफले न्यू डायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले पराजित गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा पुलिसले पश्चिमाञ्चललाई ३–० कै सोझो सेटमा पराजित गर्दै एपिएफसँगको भेट पक्का ग¥यो । पुलिसले पश्चिमाञ्चमाथि २५–१८, २५–१२ र २५–२२ को सहज जित निकाल्यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा पराजित न्यू डायमण्ड र पश्चिमाञ्चलले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल बुधबार हुनेछ । रासस

अस्थायी सामूहिक आवासगृह हस्तान्तरण

हेटौँडा, १४ असार । नेपाली सेनाको अपरेसन पुनःनिर्माण–१ अन्तर्गत नयाँ सबुज गण सुपारीटार ब्यारेकले भीमफेदी गाविसस्थित बिर्ता हात्तीसारमा भूकम्पपीडितका लागि अस्थायी सामूहिक आवासगृह निर्माण गरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको छ ।

मध्यपृतनापति गणेशबहादुर कार्कीले मध्यमाञ्चल क्षेत्रीय प्रशासक मुकुन्दराजप्रसाद तिमल्सिनामार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिलाई भवन हस्तान्तरण गरेको हो । सेनाले गत २१ गते निर्माण सुरु गरी २५ दिनमा नै निर्माण सम्पन्न गरेको उक्त आवासगृहमा १६ परिवार भूकम्पपीडित विपन्न घरविहीनलाई अस्थायी रुपमा राख्ने भीमफेदी गाविसले जनाएको छ ।

नेपाली सेनाले मकवानपुर जिल्लाको पाँच गाविस निबुवाटार, गोगने, शिखरपुर, सुकौरा र भीमफेदीमा ५६ भूकम्पपीडितलाई अस्थायी सामूहिक आवासगृह निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको जानकारी दिएको छ । सो आवासगृहमा खानेपानी, शौचालय, विद्युत् सेवासमेत उपलब्ध गरिएको छ । रासस

दश लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १४ असार । नेपाल विद्युत् प्राधिकरणमा जागिर लगाई दिने भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी राजविराज नगरपालिका घर भई धनुषाको जनकपुर बस्ने आसुतोषकुमार आस (कर्ण) ले आफू विद्युत् प्राधिकरणको छैटौँ तहको कर्मचारी भएको भन्दै सप्तरीका दीपेन्द्र यादवलाई जागिर लगाई दिन्छु भनेर रु १० लाख ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो ।

यादवले जागिर खान भनी फारम भरेकामा नतिजा तयार गर्ने आफू भएको र रु दश लाख दिए उतीर्ण गराउने भन्ने आश्वासन दिएर कर्णले ठगी गरेको महाशाखाले जनाएको छ । सो पश्चात पटकपटक गरी पीडितले रु १० लाख कर्णको नाममा आइएमइ गरी पठाएको विवरणसहित यादवले महाशाखामा आई निवेदन दिएका थिए ।

टोलीले आज बल्खुबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाले जनाएको छ । रासस

साउनबाट गङ्गालाल दुई सय शय्याको हुने

उपत्यकामा एकीकृत विकास आवश्यक

‘राजनीतिक पद्धति अझै स्थापित हुन सकेन’

नेपालगन्ज, १४ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधानमा भनिएअनुसार मुलुकमा राजनीतिक पद्धति अझै स्थापित हुन नसकेको बताउनुभएको छ ।

पैसठ्ठीऔँ मदन भण्डारी जयन्तीका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र आर्थिक, सामाजिक रुपान्तरण अबको वाटो’ विषयको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले निर्दिष्ट गरेको राजनीतिक पद्धतिलाई संस्थागत गर्न स्थानीय, प्रान्तीय र केन्द्रीय गरी तीन तहको निर्वाचन हुन आवश्यक छ ।”

लोकतान्त्रिक, देश भक्तिपूर्ण, प्रगतिशील र समाजवाद उन्मुख अहिलेको संविधानको चरित्र भएको बताउँदै उहाँले यही चरित्रलाई आत्मसात् गरेर नै मुलुकलाई आर्थिक समृद्धि र विकासका बाटोमा डो¥याउन सकिन्छ भन्नुभयो ।

यसैबीच, सोही दिवसका अवसरमा आज यहाँ एमाले बाँकेले आयोजना गरेको खुल्ला डबल्स व्याडमिन्टन प्रतियोगिताको पूर्व प्रधानमन्त्री खनालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले खेलकुदको विकासलाई राज्यले राष्ट्रको प्रगति र चिनारीसँग जोड्न सक्नुपर्ने बताउनुभयो ।

बुधबारसम्म सञ्चालन हुने सो प्रतियोगितामा ३० वर्षभन्दामाथिका १६ टोलीका ३२ खेलाडीको सहभागिता रहेको छ । रासस

Monday, June 27, 2016

रासायनिक मलको समस्या समाधान गर्ने उपाय खोजी गर्न समिति

ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा सुरु

एनपिआइमा कोइराला

काठमाडौँ, १३ असार । नेपाल प्रेस इन्टिच्युट (एनपिआइ)का अध्यक्षतामा तीर्थ कोइराला चयन हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा मन्टेश्वरी राजभण्डारी, महासचिवमा लक्ष्मण उप्रेती र कोषाध्यक्षमा निता सापकोटालाई चयन गरिएको छ । नीलकण्ठ उप्रेती, पुष्कर माथेमा, कपिल काफ्ले, गङ्गा गुरुङ र लक्ष्मण हुमागाईं
भने सदस्यमा केही दिनअघि नै चयन भइसक्नुभएको छ । रासस

परराष्ट्रमन्त्री समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस

‘पर्यावरण संरक्षणमा ओलम्पिक अभियान’ सुरु

सेनाद्वारा निर्मित आवासगृह हस्तान्तरण

त्रिशूली(नुवाकोट), १३ असार । प्राकृतिक प्रकोप तथा विपद्का समयमा पीडितका लागि सामूहिक रुपमा बन नेपाली सेनाले बर्सुन्चेतमा बनाएको सामूहिक आवासगृह आज गाविसलाई हस्तान्तरण गरिएको छ ।
बर्सुन्चेत –१ मेघाङमा निर्मित बाह्रकोठे भवन आज सेनाले समुदायलाई हस्तान्तरण गरेको हो । स्थानीय समाजसेवी गौरीमाया घले र हस्तमाया घलेलेसंयुक्त उद्घाटन गरेको भवन हस्तान्तरण कार्यक्रममा श्रीनाथ गणका प्रमुख सेनानी रोहित गुरुङले गाविस सचिव मुक्तिनाथ निरौलालाई सामूहिक आवासको साँचो हस्तान्तरण गर्दै सामूहिक आवासको उचित प्रयोग, संरक्षण र सञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिविस नुवाकोटका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले विपत्तिका बेला प्रयोगमा ल्याइने आवासगृहको उचित प्रयोग गर्नका लागि राजनीतिक दल, स्थानीय नागरिक र सरोकार भएकाहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
बाह्र परिवारलाई विपद्का बेला बस्न मिल्ने भवन नेपाली सेनाका मोहनकाजी श्रेष्ठको नेतृत्वमा ६५ जनाको टोली खटिएर निर्माण गरेको थियो । सेनाले यसअघि थानसिङ, बुधसिङ र ओखरपौवामा सामूहिक आवास निर्माण सम्पन्न गरी गाविसलाई हस्तान्तरण भइसकेको छ । रासस

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पुन र डा कोइरालालाई

काठमाडौँ, १३ असार । मदन भण्डारी फाउन्डेसनले विसं २०७१ र ७२ का ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ क्रमशः महावीर पुन र डा भगवान कोइरालालाई दिने भएको छ ।
पुनलाई सूचना प्रविधिका क्षेत्रमा र डा कोइरालालाई चिकित्सा क्षेत्रमा पु¥याएको योगदानबापत दिन लागिएको सो पुरस्कारको राशि जनही रु एक लाख एक रहने जनाइएको छ ।
पुरस्कार राष्ट्रपतिबाट जननेता मदन भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार प्रदान गरिएको थियो । यसअघि सो पुरस्कार महजोडी र हेटौँडाको सहिद उद्यानलाई दिइएको थियो । रासस

संसद्मा काँग्रेसको अवरोधले लोकतान्त्रिक संस्कारको उपहास – नेता नेपाल

राष्ट्रपतिद्वारा चार स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

काठमाडौँ, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको गीत–संगीत र नाट्य क्षेत्रमा योगदान पु¥याएबापत चार स्रष्टालाई आज ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ प्रदान गर्नुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने पुरस्कार यहाँ आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले वरिष्ठ सङ्गीतकार तथा वेलावादक गोपालनाथ योगी, वरिष्ठ लोकगायक प्रचण्डबहादुर बुढाथोकी, वरिष्ठ नाट्यकर्मी महेन्द्र मलङ्गिया र वरिष्ठ नाट्य कलाकार शकुन्तला गुरुङ शर्मालाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि जनही रु एक लाख एक छ ।
विसं १९९२ माघ ४ गते पाल्पामा जन्मिनुभएका योगीले २०१८ सालदेखि रेडियो नेपालमा कार्यक्रम गर्नाका साथै २०२२ देखि २०५२ सालसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा वाद्यसङ्गीत निर्देशकका रूपमा काम गर्नुभएको थियो ।
त्यस्तै विसं १९९९ फागुन २८ गते अर्घाखाँचीमा जन्मिुभएका बुढाथोकीले लोकसङ्गीत, लोकगायन, लोकसाहित्यको अनुसन्धान र प्रगतिशील सङ्गीत क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएको छ ।
त्यसैगरी सन् १९४६ जनवरी २० मा भारतको विहारमा जन्मिनुभएका मलङ्गिया ४५ वर्ष नेपालमा शिक्षण सेवामा कार्यरत रहनुभयो । यस्तै विसं २००८ माघ ३० गते काठमाडौँमा जन्मिनुभएका गुरुङ ११ वर्षको उमेरदेखि हालसम्म पनि नाट्यकर्ममा निरन्तर लाग्दै आउनुभएको छ ।
यसअघि सो पुरस्कार वरिष्ठ नाटक निर्देशक हरिप्रसाद रिमाल, वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्मा, वरिष्ठ नृत्य निर्देशक भैरववहादुर थापा र वरिष्ठ वाद्यवादक न्ह्ुच्छेबहादुर डङ्गोललाई प्रदान गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले सङ्गीत, नाट्य र नृत्य मानव जीवनका विशिष्ट पक्ष भएको र तिनले सिङ्गो राष्ट्रको पहिचान, संस्कृति र विशेषतालाई प्रतिनिधित्व र प्रतिविम्बन गरेको बताउनुभयो ।
“नेपाल विभिन्न अनुपम र मौलिक संस्कृतिको सम्मिश्रणबाट बनेको विविधताबीच एकता कायम भएको मुलुक हो, हाम्रो समाज सबै विशिष्ट संस्कृति, जनजाति समुदाय र भाषाभाषीबीच समन्वय र अन्तरनिर्भरताको उदाहरण समेत हो”– राष्ट्रपतिले भन्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जीवित संस्कृतिका रुपमा रहेका गीत–सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै ती सङ्घसंस्थालाई सबैको साझा संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्तले राजनीतिक र सामाजिक कारणले लोपोन्मुख धेरै नेपाली जातीय सङ्गीत, नाटक र नृत्यकलाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले पुरस्कारको राशि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक मुलुक नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्बद्र्धनसँगै अनुसन्धान गर्ने उद्देश्यले सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको हो । रासस

आयोगलाई नियन्त्रण गर्न माग

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts