Thursday, December 31, 2015

घुससहित प्राविधिक निर्देशक पोखरेल कार्यस्थलमा नै पक्राउ

‘राष्ट्रिय राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला’ लोकार्पित

काठमाडौँ, १६ पुस । राष्ट्रिय राजनीतिमा जननायक बिपी कोइरालाका सान्दर्भिक विचारलाई नेताहरुले बिर्सदै गएको प्रति चिन्ता व्यक्त गर्दै ती विचारको पुनः मूल्याङ्कन हुर्नुपर्नेमा जोड दिइएको छ ।

चालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिपी विचार राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला’विषयको पुस्तक लोकार्पण समारोहमा सहभागी वक्ताले सो कुरामा जोड दिएका हुन् ।

पूर्व राष्ट्रपति डा रामवरण यादवले सो पुस्तक लोकार्पण गर्दै भन्नुभयो– “राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको जगेर्नाका लागि बिपीले अपनाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक भएकाले तिनको अनुसरण गरिनुपर्छ ।” राजनीतिक दलभित्रको खिचातानी, हतियारको राजनीति र दरबारिया खेलका कारण लोकतन्त्रलाई संस्थागत गर्न छ दशक लागेको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई आत्मसात् गर्न नसकेकैले राजसंस्थाको पनि अन्त्य हुन पुगेको हो भन्नुभयो ।

सर्वमान्य नेता गणेशमान सिंहले आन्दोलनरत शक्तिलाई एकै ठाउँमा ल्याउन र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हतियारधारी समूहलाई हतियार त्याग गर्न लगाएर राष्ट्रिय राजनीतिमा ल्याउन सफल भएको सम्झना गर्दै डा यादवले आफूले पनि सैनिकको अवकाश, संविधानसभाको विघटन र अर्को संविधानसभाको निर्वाचनका सन्दर्भमा सही बाटो अवलम्बन गर्न सक्दो प्रयास गरे पनि सफल हुन नसकेको गुनासो गर्नुभयो ।

राष्ट्रिय एकताका लागि आन्दोलनरत सबै समूहलाई एकै ठाउँमा ल्याउन संविधानसभा र तत्कालीन सरकारलाई आफूले सातबुँदे प्रस्ताव गरे पनि नसुनेको उहाँको भनाइ थियो ।

आयोजक संस्थाका उपसभापति गोविन्दराज जोशीले बिपी स्मृति तथा राष्ट्रिय मेलमिलाप दिवस मनाउन छाडेको नेपाली काँग्रेसले बिपीका विचारलाई पनि आत्मसात् गर्न नसकेकै कारण पार्टीको स्थिति खस्कँदै गएको हो भन्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्माले राणा शासन र राजसंस्थाविरुद्ध अहिसांत्मक क्रान्ति गरेका बिपीमा राजनेतामा हुनुपर्ने यथेष्ट गुण भएको बताउनुभयो ।

लोकार्पित सो पुस्तकमा कोइरालाका ‘राष्ट्रियताको आधार’ र ‘अन्तिम सन्देश’ नामक लेख समावेश गरिनाका साथै ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला’सम्बन्धी निबन्ध प्रतियोगितामा उत्कृष्ट छ निबन्ध समावेश छ ।

प्रतियोगितामा रामप्रसाद पन्तको ‘बिपी सङ्घर्षको अर्को रुप हो’, विश्वराज ढुङ्गानाको ‘लोकतन्त्रका महानायक बिपी कोइराला’, शिरीषबल्लभ प्रधानको ‘बिपी एक अन्तर्राष्ट्रिय व्यक्तित्व’, डा गोविन्दमानसिंह कार्कीको ‘व्यक्ति एक व्यक्तित्व अनेकः बिपी कोइराला’, डा नारायण चालिसेको ‘नेपाली राजनीति र साहित्यका शिखरपुरुष बिपी कोइराला’ र माधवहरि पौडेलको ‘राष्ट्रिय जीवनका महत्वपूर्ण आधारस्तम्भः बिपी कोइराला’ले क्रमशः प्रथमदेखि छैटौँ स्थान प्राप्त गरेका थिए । रासस

समझदारीबाट मात्र संविधान कार्यान्वयनमा आउन सक्ने

नेपालगन्ज, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलबीचको राष्ट्रिय समझदारीले मात्र संविधान कार्यान्वयन हुनसक्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधानले सबै नेपालीको अधिकारलाई समान रुपमा सम्बोधन गरेको छ, भ्रम छरेर जनतालाई भड्काउने खेलमा कुनै दल लाग्नु त्यो राजनीतिक बेइमानी हो ।”

नेपाली काँग्रेस प्रतिपक्षमा रहे पनि राष्ट्रिय एकता निर्माण गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै महामन्त्री सिटौलाले सानो चित्त, पार्टीको साँघुरो घेरामा उभिएर राजनीतिक एकता हुन सक्दैन भन्नुभयो ।

मधेस आन्दोलन छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आन्दोलनले उठान गरेका मागलाई राजनीतिक ढङ्गबाट नै सम्बोधन गर्न जरुरी छ भन्नुभयो । रासस

गाई मर्दै

बर्दिवास, १६ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाका गाई मर्न थालेका छन् ।

बढ्दो जाडोबीच न्यानो बास र पौष्टिक आहारको अभावमा पुस लागेयता सात दुधालु गाई र १५ गाईका बाछाबाछी मरेका हुन् । आर्थिक अभावका कारण निगौल गाई गौशालाको ब्यवस्थापन पक्षले फाराममा पालिएका गाईलाई पोषणयुक्त खाना जुटाउन, बासको समुचित प्रबन्ध गर्न नसक्दा चार गोठमा पालिएका गाई, कोरेली बाच्छी र ससाना बाच्छाबाच्छी मर्ने क्रम बढेको हो । पछिल्लो पटक मधेस आन्दोलनले गर्दा गौशालाको आन्तरिक स्रोतबाट नियमित आउने आम्दानी ठ्याक्कै रोकिएपछि गाई फारामका गाई खान नपाएर मर्ने र बिरामी हुने क्रम बढेको निगौल गाई गौशाला ब्यवस्थापनले जनाएको छ । पछिल्ला दिनमा बास र पौष्टिक आहारको कमीले फर्मका गाई दुब्लाइरहेका छन् ।
निगौल गाई गौशालाको गाई फारामका ६० उन्नत जातका गाई, १८ कोरेली बाच्छी र अन्य ४२ ससाना बाच्छाबाच्छीसहित १२४ गाईले पछिल्ला चार महिनायता पोसिलो आहार खान र समुचित बास नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको गौशालाका ब्यवस्थापक शोभाकान्त पाण्डेले बताउनुभयो । रासस

अवैध सालको काठ बरामद

सल्यान, १६ पुस । जिल्ला वन कार्यालय सल्यानले आज करिब ८८ क्युफिट सालको काठ बरामद गरी नियन्त्रणमा लिएको छ ।

कार्यालयले लक्ष्मीपूर ९ टोट्केमा रहेको राष्ट्रिय वनबाट बेवारिसे अबस्थामा रहेका सालका काठ नियन्त्रणमा लिएको हो । वन कार्यालयका सहायक वन अधिकृत मेघनाथ काफ्लेको नेतृत्वमा गएको टोलीले काठ नियन्त्रणमा लिएको वन अधिकृत विद्यानाथ झाले जानकारी दिनुभयो । काठ तस्करीका लागि तस्करले काभ्रादेखि कालीमाटीसम्म जोड्ने ५ किमी कच्चीबाटो निर्माण गरी तस्करी गर्ने गरेको झाले वताउनुभयो । रासस

कलामा प्रधानमन्त्रीहरुका भाषण र मुहारचित्र

फरक फरक घटनामा दुईकोृ मृत्यु

परासी, १६ पुस । नवलपरासीमा आज भएको दुई फरक फरक घटनामा दुई जनाको ज्यान गएको छ ।

स्थानीय डेढगाउ गाविस–६ धारापानिमा एकजना पुरुषको शव फेला परेको छ । शव सो ठाउका ६९ वर्षीय झविलाल जिसीको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिका–८ चौरेमा पर्खाल भत्किएर च्यापिँदा एक बालिकाको ज्यान गएको छ । इलाका प्रहरी कार्युालय नवलपुरले दिएको जानकारीअनुसार मध्यविन्दु–८ चौरेमा पुरुषोतम रिजालको घरमा डेरा गरी बस्ने कास्की लेखनाथ नगरपालिकाका–६ का नरबहादुर रोक्काको पाँच वर्षीया छोरी भूमिका रोक्काको घरको पर्खाल भत्किएर च्यापिँदा मृत्यु भएको हो । रासस

पूविविमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य माग

किसानलाई कृषि जलवायु मौसमसम्बन्धी सूचना मोबाइलमै

पत्रकारको पेसागत र भौतिक सुरक्षा हुनु जरुरी छ : डा रिजाल

काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पत्रकारको पेसागत र भौतिक सुरक्षा हुनु जरुरी रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँको वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका प्रचार विभाग प्रमुखसमेत रहनुभएका डा रिजालले मुलुक द्वन्द्वबाट विस्तारै बाहिर निस्कँदै गर्दा पत्रकारमाथि भएको आक्रमण अनुचित भएको उल्लेख गर्दै पत्रकारिताको पेसा र धर्मलाई लिएर काम गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

उहाँले संविधान सम्झौताको दस्तावेज भएकाले वार्ता र संवादबाटै वर्तमान समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । नेताडा रिजालले सरकारले थालेको जनताको संविधान जनताको माझमा अभियान पञ्चायतकालको गाउँ फर्क अभियानजस्तै भएको बताउँदै भन्नुभयो, “संविधान जनतालाई प्रचार गर्नुभन्दा जनताले प्रचार गर्नु राम्रो हुनेछ ।”

पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री डा रिजालले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले जति सहयोग गर्नुपर्ने हो त्यो गर्न नसकेको टिप्पणी गर्नुभयो ।

काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले देशको राजनीतिमा सञ्चारमाध्यमको ठूलो भूमिका रहेको भन्दै पत्रकारको पेसागत र भौतिक सुरक्षा हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले २०३३ सालमा आजकै दिनमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले राष्ट्रिय मेलमिलापको नीति ल्याएको भन्दै अहिले पनि देशमा मेलमिलापको खाँचो रहेको बताउनुभयो ।

नेपाल तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले मधेसमा जारी आन्दोलनका सम्बन्धमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन भएकाले यी दुई संस्थाबीच एकापसमा सहकार्यको खाँचो औँल्याउनुभयो ।

वरिष्ठ पत्रकार कविर राणाले पार्टीको आन्तरिक विवादमा प्रेस युनियनलाई ल्याउन नहुने तर्क गर्नुभयो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दुले मधेस आन्दोलनले तराईमा काम गर्ने पत्रकार असुरक्षित भएकाले तराई आन्दोलनलाई चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, काठमाडौँका अध्यक्ष नकुल अर्याल र पूर्वअध्यक्ष गोकर्ण अर्याल, शाखाका सल्लाहकार जीवन भण्डारी, उपत्यका संयोजक नीरज खतिवडा, वाग्मती अञ्चल संयोजक रमेश खतिवडा, ललितपुर र भक्तपुरका अध्यक्ष जानुका बराल र प्रबल भट्टराई, नेपाल ट्रेड युनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराई, नेपाल ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटालगायतले श्रमजीवी पत्रकारका हकहितका लागि प्रेस युनियन दृढ भएर लाग्ने विश्वास व्यक्त गर्नुभएको थियो । रासस

शैक्षिक विकासमा प्रधानमन्त्रीको जोड

संविधानमा सबैको अधिकार समेटिएको छ–उपप्रम गच्छदार

विराटनगर, १६ पुस । उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानमा सबैको अधिकार समेटेको बताउनुभएको छ ।

यहाँ आज पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफ्नै संविधान आफैँले बनाउने ६५ वर्षदेखिकोे जनताको सपना साकार भएको बताउँदै
तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा भएको र सबैभन्दा बढी मधेसकै जनजीवन तहसनहस भएको छ भन्नुभयो । उहाँले आफ्नो दलले भर्खरै महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिँदै उहाँले पार्टीको सङ्गठनलाई बलियो र विस्तार गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

दलका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिव चन्देश्वर खत्रीले पार्टीको सङ्गठनलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिनुभयो । रासस
–––––––––

न त रु १५ हजार पाइयो, न रु १० हजार

बङ्गबन्धु कपमा नेपाल समूह ‘ए’मा

संविधानका राम्रा कुरा प्रचार नगर्दा समस्या भएको सांसदहरुको गुनासो

दुई व्यक्तिको मृत्युपछि पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ, १६ पुस । तनहुँमा बिहीबार भएको सडक दुर्घटना घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय सुरज थापाको मृत्यु भएको छ । उनी घाँसीकुवा–८ छिर्कनेका बासिन्दा हुन् ।

उपचारका क्रममा उनको मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

दुर्घटनापछि पृथ्वीराजमार्गको दमौली—डृुम्रे सडकखण्ड अवरुद्ध छ ।

मोटरसाइकलमा सवार अन्दाजी २० वर्षका सन्दीप कुँवरको घटनास्थलमै मृत्यु भएको थियो ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना५ख ७५२३ नम्बरको टिपरले पृथ्वी राजमार्ग सडकअन्तर्गत घाँसीकुवा–८ छिर्कनेमा विपरीत दिशामा गुडिरहेको ग१०प ७२६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

बिहान ११ बजे भएको दुर्घटनापछि अवरुद्ध पृथ्वीराजमार्ग खुलेको छैन । राजमार्ग नखुल्दा हजाराँै यात्रु अलपत्र परेका छन् । रासस

आहारा नपाएर गौशालाका गाई मर्न थाले

उडानमा नकरात्मक असर

काठमाडौँ, १६ पुस । भूकम्प र नाकाबन्दीका कारण नेपालको उडान क्षेत्रमा नकरात्मक असर देखिएको छ ।

भूकम्प र नाकाबन्दीका कारण आन्तारिक हवाई उडानतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो वर्षको पहिलो १० महिनामा सन् २०१४ को सोही अवधिको तुलनामा हवाई यात्रु आवागमनमा ४.२५ प्रतिशतले ह्रास आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको १७औँ वार्षिकोत्सका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव दिनेशकुमार थपलियाले स्वस्थ र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खालको सेवा दिन सम्पूर्ण उडान क्षेत्रका कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो । विश्वका अन्य समकक्षी विमानस्थल जतिकै बनाउनका लागि लागिपर्नु पर्ने र निर्माण गरेको भोलिपल्ट नै पुनःनिर्माण गर्नुपर्ने अवस्था किन आउँछ भन्ने बारेमा समेत मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र वायुसेवा सञ्चालक सङ्घका प्रथम उपाध्यक्ष पवित्रकुमार कार्कीले भूकम्प र नाकाबन्दीको समस्यामा पनि सेवाग्राहीलाई सक्दो सेवा पु¥याउने प्रयास गरिरहेको धारणा राख्नुभएको थियो ।

यसैबीच नेपालले हालै न्यूजील्यान्ड र भियतनामसँग द्वीपक्षीय हवाई सेवा सम्झौता गरेको छ । योसँगै नेपालले द्वीपक्षीय हवाई सेवा सम्झौता तथा समझदारी गरेका मुलुकको सङ्ख्या ३८ पुगेको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा स्वदेशी तथा २४ वटा विदेशी वायुसेवा गरी कूल २६ वटा अन्तर्राष्ट्रिय वायुसेवाले १३ मुलुकका २३ गन्तव्यस्थलमा उडान सञ्चालन गरिरहेका छन् । नेपाली वायुसेवाबाट विभिन्न छ मुलुकका आठवटा गन्तव्यस्थलमा उडान भर्दैआएका छन् । रासस

Wednesday, December 30, 2015

कुनै जात विशेषलाई गाली गरेर कसैको प्रगति हुदैन : प्रधानमन्त्री

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले १२५ जातजाति र १२३ भाषाभाषीकै उत्थान गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

तमु ल्होसार २०७२ को उपलक्ष्यमा मूल आयोजक समितिले आज टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले “एउटै राष्ट्रिय गीत र झन्डामा एकत्रित भई सबै जातजाति र भाषाभाषीको उन्नति गर्न सकिन्छ, कुनै जात विशेषलाई गाली गरेर कसैको प्रगति हुँदैन”– भन्नुभयो ।

राणाकालमा राणाबाहेक क्षेत्री ब्राह्मणलाई विद्यालय खोल्न नदिइएको, पञ्चायतकालमा पनि सबै जातजातिलाई दल खोल्न नदिएकाले कुनै जात विशेषले शासन चलाएर अरुलाई अन्यायमा पारेको तर्क गर्नु नहुने प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भयो ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको संविधान २०७२ मा दुईवटा विषय छुटेकाले संशोधन गरी सबैलाई स्वामित्व ग्रहण गर्न योग्य बनाइने बताउनु भयो ।

“संविधानमा समानुपातिक समावेशी र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय थप्नका लागि संशोधन प्रक्रिया अगाडि बढाइएको छ, यसपछि संविधानले पूर्णता प्राप्त गर्छ, समयअनुसार अन्य विषय पनि संशोधन गरिने भएकाले संविधानको विषयलाई लिएर देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन”– उहाँले भन्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले राष्ट्रियतालाई र एकतालाई सुदृढ गर्न सबै जातजातिको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

सांसद एवम् आदिवासी जनजाति महासङ्घका अध्यक्ष नागेन्द्र कुमालले संविधानमा सबै जातजातिले अपनत्व ग्रहण गर्न सक्नेगरी संशोधन गरिनुपर्ने धारणा राख्नु भयो ।

सो अवसरमा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा योगदान गर्नुभएका व्यक्तित्वहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ, आँधीखोला तमु समाजका अध्यक्ष श्रीप्रसाद गुरुङ, प्राडा योगेन्द्र गुरुङ, प्राडा देवकुमारी गुरुङ, खेलाडीद्वय धनबहादुर गुरुङ र उमेश गुरुङ, वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, कलाकारत्रय रामबहादुर गुरुङ, भीमबहादुर गुरुङ, र खिमबहादुर गुरुङ, पत्रकार मनिराज गुरुङ, बेपत्ता छानबिन आयोगका सदस्यद्वय आइबहादुर गुरुङ र नरकुमारी गुरुङ, पञ्चेश्वर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर महेन्द्रबहादुर गुरुङ, नेपाल प्रहरीका डा अजितकुमार गुरुङ, नेपाली सेनाका सहायक रथी अरुण घले, गङ्गाबहादुर गुरुङ र कृष्णबहादुर गुरुङ, मेडिकल डा अनु गुरुङ, इन्जिनियर दुर्गाकुमार गुरुङ, सरकारका कामु सचिव महेन्द्रमान गुरुङ, सहरी विकास आवास तथा कम्पनीका महाप्रबन्धक डिबी गुरुङ र शिक्षासेवी कमला घलेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष टेकबहादुर गुरुङ, महासचिव सूर्य गुरुङ र सचिव लोकबहादुर गुरुङलगायतका वक्ताले तमु संस्कृति एवम् वेषभूषाका विषयमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा गुरुङ समुदायको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । रासस

चिसोबाट बच्न चिकित्सकको सल्लाह, पक्षघात र स्टोक समस्या बढ्दो

काठमाडौँ, १५ पुस । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पु¥याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।

तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उहाँका बुबा मनबहादुर रावलले बताउनुभयो । यी केही उदाहरण मात्र हुन् ।

यस्तै, हेटौँडाका पुरुषोत्तम गोर्खालीको अचानक रक्तचाप बढेपछि उहाँको टाउकोमा रगत जम्मा भएपछि एक भाग नचल्ने (पक्षघात) भएको उहाँकी श्रीमती मनेश्वरी गोर्खालीले बताउनुभयो । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउनुहुन्छ ।

उहाँले अहिले स्नायु अस्पतालमा पक्षघात र स्टोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताउनुभयो । उहाँले भन्नुभयो – “स्टोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”

उहाँका अनुसार जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । तर नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

डा पन्त भन्नुहुन्छ – “जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ ।”

स्टोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।

स्टोकबाट बच्नका लागि बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायतका) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने हो भने बच्न सकिने चिकित्सकको सल्लाह छ ।

चिसो बढेसँगै रक्तचाप बढ्ने र पक्षघात स्टोक हुने सम्भावना भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ । उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीले बीचमै औषधि नछोडी नियमित सेवन गर्न पनि चिकित्सकले सुझाव दिएका छन् । यदि स्टोक भएमा त्यसको तुरुन्त उपचार गनुपर्ने वा मष्तिकको शल्यक्रिया गरी उपचार गर्नुपर्ने हुन्छ । कल्पना पौडेल/रासस

मधेस आन्दोलन र नाकाबन्दी चाँडै अन्त्य हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दी चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

लुम्बिनी–कपिलवस्तु प्रवद्र्धन विश्व अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले लामो समयदेखि सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो –“मधेसको समस्या समाधान प्रयासमा छौँ, आशावादी छु केही दिनभित्र समस्याको समाधान हुन्छ, नाकाबन्दी पनि टुङ्गिन्छ ।” उहाँले वार्ता र संवादबाटै समस्याको समाधान हुने बताउनुभयो ।

शान्तिका दूत गौतमबुद्ध नेपालमा जन्मिएको भनेर अभियान चलाउनु विश्वभरका नेपालीका लागि गौरवको विषय भएको बताउँदै अध्यक्ष दाहालले विश्वभर रहेका भ्रमलाई चिर्नका लागि अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

गौतमबुद्धबारे अभियान सञ्चालन गर्ने कार्यमा देशभित्र र देश बाहिर केही तहमा अझै हिच्किचाहट बाँकी नै रहेको बताउँदै उहाँले नेपालीमा रहेको मनोवैज्ञानिक दबाबको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो – “विश्वभर फैलिएको गलत सूचना सच्याउने अभियानले गति लिएको छ, यो सामान्य प्राविधिक कुरा होइन, हामी सबै नेपालीको पहिचान स्थापित गर्ने कुरा हो, यो पुनित र गौरवशाली काममा सबैको साथ हुनुपर्छ ।”

गौतमबुद्धको जन्मस्थलका विषयमा नेपाल र नेपालीले चालेको अभियान नेपालको पक्षमा हो कसैको विरुद्धमा नभएको बताउँदै उहाँले भन्नुभयो – “हामीले हाम्रो पक्षमा काम गर्दा कसैले अप्ठ्यारो मान्नु विडम्बना हो, एक्काइसौँ शताब्दीमा यो सुहाउँदैन ।”

कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अभियानकै दौरानमा दक्षिण कोरिया र स्विडेनका पाठ्यपुस्तकमा लेखिएका गौतमबुद्धसम्बन्धी पाठ्यक्रम सच्याइएको र अमेरिका एवम् अस्ट्रेलियामा काम सुरु भएको जानकारी दिनुभयो ।

गौतमबुद्ध भारतको उत्तरप्रदेशमा जन्मिएको भनेर लेखिएका पुस्तक विश्वबजारमा रहेकाले यसलाई अभियानकै रुपमा अगाडि बढाइएको उल्लेख गर्दै उहाँले अभियानबाटै गुगलको नक्सालाई सच्याउन सफल भएको बताउनुभयो ।

अभियानका अध्यक्ष हरिकुमार श्रेष्ठले विश्व बजारमा रहेका पुस्तक, लेख, चलचित्र र वृत्तचित्रमा रहेका बुद्धसम्बन्धी गलत कुरालाई सच्याउने अभियान निरन्तर चलाएर नयाँ इतिहास बनाउनुपर्ने बताउनुभयो ।

यस अभियानले विश्वका २२ देशमा सञ्जाल खडा गरेर बुद्धको प्रचारप्रसार गरेको र ८० देशमा अभियान जारी राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा अभियानकै दौरानमा अस्ट्रेलियाको सङ्ग्रहालयमा राख्न लागिएको बुद्धमूर्ति एमाओवादी अध्यक्ष दाहालले सरकारका प्रतिनिधि एवम् परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

अभियानमा लाग्ने कलाकार एवम् अभियन्तालाई सम्मान गर्नुका साथै बुद्धका विषयमा उत्कृष्ट कविता लेख्ने पाँचजनालाई जनही रु १० हजार पुरस्कारसहित प्रशंसा गरिएको थियो । रासस

होटलमा युवती बन्धक बनाउने कार्यमा संलग्न तीन पक्राउ

झापा, १५ पुस । मानव बेचबिखन तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९ निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका – १४ निवासी २३ वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड लजको १०२ नं कोठामा एक युवतीलाई बन्धक बनाई राखेको गोप्य सूचनाको आधारमा छापा मारी युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

युवतीलाई बन्धक बनाउने कार्यक्रममा संलग्न होटल सञ्चालकसमेत रहेका मनिष र सोही होटलमा काम गर्ने अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनैजनालाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको बताइएको छ ।

बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि उद्धार गरेको जनाइएको छ । युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पक्राउ गरेपछि मात्र उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रासस

एक महिनामा तेह्र किशोरी र महिला बलात्कृत

काठमाडौँ, १५ पुस । सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनको प्रतिवेदनले एक महिनामा १३ किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ ।

सञ्चारिकाले गत मङ्सिर १ देखि २९ गतेसम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमन प्रतिवेदनले एक महिनामा किशोरी तथा महिलामाथि सो घटना भएको देखाएको छ भने अनुगमन अवधिमा बलात्कारसम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो । यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाल अङ्गे्रजी दैनिकहरू समेटिएका थिए ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो जसमा बलात्कार, यौन दुव्र्यबहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी र राजनीतिक रहेका थिए ।

त्यस्तै, सो एक महिनामा हत्याका आठ घटना भएका थिए भने हत्यासम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारको एक घटना भएको थियो । सात समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकार हननको एउटा घटना थियो भने यससम्बन्धी ५३ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

त्यसैगरी, आर्थिक अधिकारसँग सम्बन्धित एउटा घटना भएको थियो भने १४ वटा समाचार, विचार र सम्पादकीय छापिएको थियो । यस अवधिमा मानव बेचबिखनसम्बन्धी १५ र राजनीतिक अधिकार हननसम्बन्धी २० वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ ।

त्यस्तै, परम्परागत र धार्मिक हिंसासम्बन्धीे एउटा घटना थियो भने १९ वटा समाचार सामग्री प्रकाशित थिए । बोक्सी आरोपका दुई समाचार सामग्री प्रकाशित भएको थियो । घरेलु हिंसासम्बन्धी नौ समाचार र एउटा घटना प्रकाशित भएको थियो ।

महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा १३ वटा समाचार छापिएका थिए ।

सञ्चारिकाले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैङ्गिक हिंसा भइरहेका छन् ? ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दै आएको छ । रासस

शिक्षा ऐन संशोधनमा महासङ्घका माग राख्न आग्रह

काठमाडौँ, १५ पुस । व्यवस्थापिका–संसद्मा विचाराधीन शिक्षा ऐन (आठाँै संशोधन) विधेयकमा विगतमा आफूहरुसँग भएका सहमतिको पूर्ण पालना हुनुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घले विभिन्न पार्टीका सचेतक र सांसदलाई भेटी ध्यानाकर्षण गराएको छ ।

महासङ्घले शिशु कक्षादेखि विद्यालय तहको संरचनाको मान्यता हुनुपर्ने, माध्यमिक शिक्षा परीक्षा बोर्डमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, शिक्षक पदपूर्तिमा लामो समयदेखि कार्यरत अस्थायी शिक्षकलाई प्राथमिकता दिनुपर्नेलगायत माग राखेको छ ।

महासङ्घका अध्यक्ष केशव निरौलासहितको टोलीले आज नेपाली काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)का शिक्षक विभाग प्रमुख तथा सांसद गङ्गालाल तुलाधर, काँग्रेसका सांसद डीना उपाध्यायलाई भेटी आफ्नो सरोकारका विषयमा विधेयकको संधोशनका क्रममा राखीदिन आग्रह गरेको हो ।
लामो समयको प्रतिक्षापछि शिक्षा विधेयक संशोधनको अन्तिम चरणमा पुगेकाले विद्यालय क्षेत्र सुधार कार्यक्रम अवधारणा कार्यान्वयनमा कानुनी जटिलता अन्त्य हुने बताइएको छ । विधेयक पारित भएपछि कक्षा १२ सम्म विद्यालय शिक्षाको संरचना बन्नेछ । रासस

यथास्थितिमा सीमाङ्कनको विषयमा सहमति जुट्न सक्दैन – कानुन मन्त्री खरेल

झापा, १५ पुस । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले मधेसवादी दलको जारी आन्दोलनबीच सीमाङ्कनको विषय टुङ्गो लाग्न नसक्ने बताउनुभएको छ ।

आज प्रेस चौतारी झापाले विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खरेलले नाकामा अवरोध गरिरहेको मधेसवादी दलसँग सहमति जुट्न नसक्ने बताउनुभएको हो ।

उपयुक्तताको आधारमा छलफल गरी सीमाङ्कनको विषय टुङ्ग्याउन सकिने बताउँदै उहाँले आन्दोलनको स्वरुप परिर्वतन गर्न मधेसवादी दललाई आग्रहसमेत गर्नुभयो । मधेसवादी दलको चार महिनादेखि जारी आन्दोलनले सबैभन्दा बढी त्यहीँका जनता मारमा परेको उल्लेख गर्दै एमालेका प्रमुख सचेतकसमेत रहनुभएका मन्त्री खरेलले आन्दोलन फिर्ता गरेर समस्या समाधानमा अग्रसर हुन सुझाव दिनुभयो ।

भर्खरैमात्र चीन भ्रमण सकेर स्वदेश फर्कनुभएका खरेलले नेपाल छिमेकीसँगको सम्बन्ध सदैव प्रगाढ राख्न अग्रसर रहेको र चीन नेपालका प्रधानमन्त्रीको भ्रमण पर्खाइमा रहेको बताउनुभयो ।

उपयुक्त समयमा प्रधानमन्त्रीको चीन भ्रमण हुने बताउँदै उहाँले दुई देशबीचको व्यापारिक सम्झौता र इन्धन आयातसम्बन्धी सम्झौतामा चाँडै उच्च तहमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । रासस

संविधान संशोधन गरेरै मधेसका माग सम्बोधन गरिने – महामन्त्री सिंह

चितवन, १५ पुस । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेरै मधेसका माग सम्बोधन हुने बताउनुभएको छ ।

प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले छिट्टै मधेसवादी दलसँग सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

सीमाङ्कनको विषय टुङ्ग्याउन केही समय लाग्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो – “हामीले सरकार र मधेसवादी दलसँग छुट्टाछुट्टै र सँगै बसेर माग सम्बोधनका विषयमा गहनरुपमा छलफल गरिरहेका छौँ ।”

एक फरक प्रसङ्गमा महामन्त्री सिंहले ठूलो पार्टी भएर पनि सरकार बाहिर रहेको अवस्थामा सरकारलाई सकारात्मक कुरामा कसरी सहयोग गर्ने भन्ने विषयमा पार्टी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो – नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा लान सरकारलाई सहयोग गर्नु काँग्रेसको दायित्व हो । रासस

काँग्रेसको अगुवाइमा मधेस समस्या चाँडै समाधान हुने – उपसभापति पौडेल

कपिलवस्तु, १५ पुस । केपी ओली नेतृत्वको सरकारले मुलुकको वर्तमान समस्या समाधान गर्न नसक्ने नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनुभएको छ ।

बिपीको मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेला तथा जारी संविधान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस उपसभापति पौडेलले काँग्रेसको नेतृत्वमा मधेसी मोर्चाको आन्दोलनको सम्बोधन हुने र मुलुकले निकास पाउने दाबी गर्नुभयो ।

नेता पौडेलले नेकाको आसन्न १३औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी र भागबन्डाको खेलको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य मनमोहन भट्टराईले मधेसी जनताको अधिकारको नाममा नभई मधेसी मोर्चाले केवल दोस्रो संविधानसभाबाट गुमेको आफ्नो जनमत फिर्ता ल्याउन मात्रै आन्दोलनलाई हिंसात्मक बनाउँदै गएको आरोप लगाउनुभयो । रासस

महाधिवेशनले पार्टीलाई जीवन्त र एकताबद्ध गर्नेछ– वरिष्ठ नेता देउवा

काठमाडौँ, १५ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी महाधिवेशनले पार्टीलाई जीवन्त तुल्याउनुका साथै एकता कायम गरी भविष्यमा आउने सबैखाले चुनौतीको सामना गर्न सक्षम हुने दृढता व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं २ काठमाडाँैले सन्त नेता कृष्णप्रसाद भट्टराईको ९२आँै जन्मजयन्ती तथा ४०आँै राष्ट्रिय एकता दिवसका अवसरमा आज आयोजना गरेको ‘किसुनजी र वर्तमान राजनीति’ विषयक अन्तक्र्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

महाधिवेशनले नेपालको संविधानलाई बलियो बनाउने नयाँ सोंच, शक्ति र सामथ्र्य निर्माण गर्ने बताउँदै वरिष्ठ नेता देउवाले संसद्मा पेस भएको संशोधन विधेयक पास भएका खण्डमा मधेसमा उठेका धेरै समस्या सुल्झने दाबी गर्नुभयो ।

लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईमा शालिन, लगनशीलताका अतिरिक्त ठट्यौली र रमाइलो गर्ने विलक्षण प्रतिभा रहेको नेता देउवाले चर्चा गर्नु भयो ।

काँग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले संविधान जारी गर्दा भएका कमीकमजोरी सच्याएर जान सकिन्छ भन्नुभयो ।

पूर्वराज्यमन्त्री लक्ष्मण घिमिरेले राजनीतिक स्थायित्व, शान्ति, विकास, सामाजिक न्याय तथा सद्भावका लागि संविधान भएपनि संविधान जारी भएसँगै नाकाबन्दी र कालोबजारीका घटना हुन पुग्दा नेपाली जनताले फेरि पनि मार खेप्नुपरेको उल्लेख गर्नु भयो ।

सांसदत्रय भिमसेनदास प्रधान, दीपक कुइँकेल र ध्यानगोविन्द रञ्जितले राजनीतिमा धेरै लोभीपापी रहेका बेला सन्त नेता भट्टराई एक आदर्श पुरुषका रुपमा नेपाली राजनीतिमा पहिचान राख्न सफल हुनुभएको धारणा राख्नु भयो ।

उहाँहरुले भन्नुभयो– “पार्टीको आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडाँैमा हुने १३आँै महाधिवेशनलाई महाभारतको लडार्इंका रुपमा नलिइ लोकतन्त्रको अभ्यासका रुपमा लिन नेतृत्व वर्गलाई सुझाव दिन चाहन्छाँै ।”

राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाली काँग्रेस लोकतन्त्रको समस्या, समाधान, मुलुक बनाउने संयन्त्र र बिगार्ने औजारका रुपमा रहँदै आएको परिघटना सुनाउनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री प्रतिमा गौतम, नेता हरिशरण नेपालीले समग्र मुलुक र पार्टीले नयाँ नेतृत्व र नयाँ विचार खोजिरहेका बेला सङ्कटको निकासका लागि सन्त नेता भट्टराई जस्तो राजनेताको आवश्यकता आँैल्याउनुभयो । रासस

सेभेन ए साइड फुटबलको उपाधि सिद्धगुफालाई

दमौली, १५ पुस । तनहुँकै ठूलो राशिको जिल्लास्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफा युवा क्लब विमलनगरले हात पारेको छ ।

दमौलीको खेल मैदानमा आज भएको फाइनल खेलमा सिद्धगुफाले आयोजक काहुँ मिलन युवा क्लब झापुटारलाई ट्र«ाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगिताको निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि ट्र«ाइब्रेकरको माध्यमबाट खेलको निर्णय लिइएको हो । सिद्धगुफाका तर्फबाट विप्पल श्रेष्ठ र सन्दिप रानामगर तथा काहुँ मिलन युवा क्लबका तर्फबाट सुनिल थापा र अनिल सारुले गोल गरेका थिए ।

प्रतियोगितामा विजेता सिद्धगुफा र उपविजेता काहुँ मिलनका खेलाडीलाई क्रमशः रु एक लाख ११ हजार १११ र रु ५५ हजार ५५५ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र काहुँ गविसका सचिव रामचन्द्र पण्डितले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा ग्यालेक्सी युवा क्लबका हिकमान दुरा उत्कृष्ट खेलाडी घोषित भई नगद रु तीन हजार र सिद्धगुफाका सन्दिप रानामगर सर्वाधिक गोलकर्ता घोषित भई रु पाँच हजार नगद हात पारेको क्लबका अध्यक्ष श्रीबहादुर आलेले बताउनुभयो । प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो । रासस

नागरिकलाई छिटो र सहज सेवा दिन ‘मेट्रो मोबाइल एप्स’

काठमाडौँ, १५ पुस । काठमाडौँ महानगरपालिकाले नागरिकलाई प्रभावकारी र थप सेवा दिन ‘मेट्रो मोबाइल एप्स’ सेवा आजदेखि सुरु गरेको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले शुभारम्भ गर्नुभएको यस सेवाले महानगरपालिकाले नागरिकलाई ३५ वटै वडाको काम कारबाही छिटो र सहज रुपमा जानकारी दिनेछ । सो सेवामार्फत जनताले गुनासोसमेत गर्नसक्ने बताइएको छ ।

त्यस्तै महानगरपालिकाले आफ्नो सेवा स्थानीयस्तरमा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि ४३ बुँदे प्रतिबद्धतापत्रसमेत जारी गरेको छ ।

महानगरपालिकाले आयोजना गरेको चुस्त एवम् प्रभावकारी सेवाप्रवाहसम्बन्धी प्रतिबद्धतापत्र ‘२०७२’ कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जारी गर्नुभएको हो ।

सो प्रतिबद्धतापत्रमा ४३ वटा बुँदा रहेको भए पनि मुख्य बँुदा सेवाग्राहीको तथा उपभोक्ताको हकअधिकारलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित अधिकारीबाट महिनामहिनामा नियमित बजार अनुगमनको व्यवस्था गर्ने,स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ बमोजिमको कार्यालय समयको पालना भए नभएको र सेवाग्राहीलाई समयमा नै सेवा दिए नदिएको विषयमा सुपरीवेक्षण गर्ने उल्लेख छ ।

सेवाग्राहीको कुनै पनि काम तोकिएको समयभित्र सम्पन्न गर्ने, सम्पन्न हुन नसक्ने वा नमिल्ने भएमा आधार, कारण र औचित्य खोली सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउने वा सूचना पाटीमा टाँस गर्ने व्यवस्था गर्ने व्यवस्था मिलाइने, कार्यालयको कुनै कर्मचारी वा सम्पादित कुनै कार्यको विरुद्धमा कुनै उजुरी परेमा तीन दिनभित्र छानबिन प्रारम्भ गरी कानुनको अवधि तोकेकामा सोही अवधिभित्र कारबाही किनारा लगाइनेछ ।

कार्यक्रममा प्रशासनिक अदालतका अध्यक्ष काशिराज दाहालले राज्यले प्रदान गरेको सेवा प्राप्त गर्नु नागरिकको अधिकार भएकाले सो बारेमा जानकारी दिनु सम्बन्धित निकायको कर्तव्य रहेको बताउनु भयो । रासस

तराईमा देखिएको समस्या संवादबाट समाधान गर्नुपर्छ – राजदूत राय

काठमाडौँ, १५ पुस । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको तराई क्षेत्रमा देखिएको राजनीतिक समस्या वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै आज राजदूत रायले तराईको समस्या हल गर्न नेपालका सबै राजनीतिक शक्तिले थालेको वार्ता र संवादको प्रशंसा गर्दै सबैले सहमति र लचकताका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

दलहरुबीच संवाद जारी रहेकाले छिट्टै केही निर्णय भएर समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उहाँँले सिमानामा देखिएको अवरोध हटाउने बारेमा सहमतिको खाका बनिसकेको बताउनुभयो ।

सीमामा देखिएको अवरोधका बारेमा स्पष्ट पार्दै उहाँले नेपालमा सामान्य अवस्थामा दैनिक एक हजार ६०० देखि एक हजार ७०० मालबाहक ट्रक भारतबाट प्रवेश गर्ने गरेकामा अहिले दैनिक एक हजार १०० सम्म ट्रक भित्रिरहेको जानकारी दिनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध दुवै मुलुकका सरकारबीच मात्र नभई जनस्तरमा समेत प्रगाढ रहेको बताउँदै उहाँले भन्नुभयो, “हाल दुई देशबीचमा देखिएको चिसोपनालाई संवादबाट नै हल गर्नुपर्छ ।”

नेपालमा भारतको स्वार्थ भनेको राजनीतिक स्थायित्व र विकास भएको अवगत गराउँदै राजदूत रायले यस क्षेत्रमा शान्ति र स्थायित्व भएमात्र भारतले चाहेको दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न मद्दत पुग्ने बताउनुभयो । नेपालमा भारत विरोधी भावना बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यो दुवै मुलुकको हितमा नभएको बताउनुभयो ।

दुवै मुलुकबीचको सम्बन्ध विशिष्ट र रोटीबेटीको सम्बन्ध रहेको चर्चा गर्दै उहाँले नेपाललाई भारतले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपालले इन्धनलगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले नेपाल सार्वभौम मुलुक भएकाले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा राजदूत रायले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गराउनुभयो । रासस

Tuesday, December 29, 2015

खाली भाँडा बोकेर पानी माग्दै प्रजिअसामु

दोलखा, १४ पुस । खाली भाँडा बोकेर खानेपानीको माग गर्दै नाम्दु गाविसका स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालय दोलखा आइपुगेका छन् । मङगलबार दिउँसो करिब ६० परिवार खाली जर्किन सहित पानी माग्दै प्रमुख जिल्ला अधिकारीसामु आइपुगेका हुन् ।
विगत दुई महिनादेखि पानीका लागि दुई घण्टाको बाटो हिँड्नु परेको गुनासोसहित उनीहरुले प्रशासन कार्यालय घेराउ गरेका हुन् । दोलखाको दक्षिणी गाविस नाम्दु–३ का स्थानीय बासिन्दा एक महिनाअघि प्रशासनमा खानेपानीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाई नभएर प्रजिअ गुहार्न चरिकोट आइपुगेका हुन् ।
विसं २०२४ सालदेखि काब्रे गाविसबाट खानेपानी ल्याएर पानी खाँदै गरेकामा जग्गाधनी रविचन्द्र ढुङ्गेलले पानी बन्द गरिदिएपछि आफूहरु समस्यामा परेको स्थानीयवासी रामशरण नेपालीले बताउनुभयो ।
खानेपानी नभएपछि करिब ६६ घरधुरी प्रभावित भएको अर्का स्थानीयवासी रीताकुमारी भुजेलले जानकारी दिनुभयो । यता, जिप्रका दोलखाले सम्बन्धित पक्षसँग छलफल गरी समाधान खोज्ने बताएको छ । रासस

प्यूठानमा पहिलो पटक ‘बस्तीदेखि गाउँसम्म नमुना योजना छनोट’

पहुँच मार्ग निर्माण अलपत्र

जाजरकोट, १४ पुस । जिल्लामा बन्न लागेको राष्ट्रिय गौरवको नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग जोड्ने सडकको काम अलपत्र परेको छ ।

निर्माणको जिम्मा लिएका ठेकेदारले कामै नगरेपछि पहुँच मार्ग जोड्ने सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणको जिम्मा लिएको वर्षदिन बितिसक्दा पनि निर्माण कम्पनीले काम नै सुरु गरेको छैन । आयोजनाको लहँ– ६ कालिमाटीदेखि सक्ला– १ लैखमको अधेरी खोलासम्मको १० दशमलब ८ किलोमिटर सडक निर्माणको काम रोकिएको छ ।

तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी रु ४४ करोड लागतको उक्त ठेक्का लामा, खड्का कृष्ण, गाल्वा जेभी, बुद्धनगर, काठमाडौँ निर्माण कम्पनीका प्रोप्राइटर रत्नबहादुर खड्काले घटाघटमा रु २२ करोडमा निर्माणको जिम्मा लिएका हुन् । तर ठेक्का सम्झौता गरेको वर्ष दिन बितिसक्दा पनि उनले निर्माण स्थलमा नटेकेको स्थानीयवासीको आरोप छ ।

निर्माण व्यवसायी खड्काले भूकम्प र भारतको नाकाबन्दीका कारण काममा ढिलाइ भएको बताउनुभयो । इन्धन अभावले कामलाई अगाडि बढाउन नसकेको उहाँको भनाइ छ । रासस

शाहको निधनबाट पार्टीलाई ठूलो क्षति – मन्त्री बोहरा

भक्तपुर, १४ पुस । श्रम तथा रोजगार एवम् वाणिज्य मन्त्री दीपक बोहराले राष्ट्रिय प्रजातन्त्र पार्टी, भक्तपुरका अध्यक्ष सुरेन्द्रप्रताप शाहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

आज भक्तपुर अस्पतालको प्राङ्गणमा राखिएको शाहको पार्थिव शरीरमा आज श्रद्धाञ्जलि अर्पण गरेपछि उहाँले लामो समय राप्रपामा रहेर योगदान दिनुभएको शाहको निधनले सिङ्गो पार्टी स्तब्ध भएको बताउनुभयो ।

शाहको पार्थिव शरीरमा पूर्वमन्त्री, राप्रपाका केन्द्रीय सदस्य एवम् राप्रपाका उच्च कार्यसम्पादन समितिका सदस्य परशुराम खापुङ र राप्रपाका केन्द्रीय सदस्य रामहरि थापाले पार्टीको झन्डा र राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

यसैगरी, शाहको पार्थिव शरीरमा भूमि सुधार सहायकमन्त्री दिनेश श्रेष्ठ, पार्टी महामन्त्री बुद्धिमान तामाङ, प्रजिअ तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, प्रहरी उपरीक्षक किरण बज्राचार्य, जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुखहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

भक्तपुरको नगरकोट नगरपालिका वडा नं ११ का स्थायी बासिन्दा एवम् राप्रपा भक्तपुरका विगत २७ वर्षदेखि अध्यक्ष सम्हाल्दै आउनुभएका शाहको ६९ वर्षको उमेरमा गएराति भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

आर्यघाटमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्ष पशुपतिशम्शेर राणालगायतका पार्टी नेताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । शाहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रासस

राहतका लागि आएको ६१ हजार क्विन्टल चामल गोदामै

उखुको भुक्तानी १९ करोड अझै दिन बाँकी

परासी, १४ पुस । नवलपरासीमा उखु क्रसिङको नयाँ याम सुरु भइसक्दा पनि अझै अधिकांश किसानले आफ्नो पुरानो भुक्तानी रकम पाएका छैनन् ।

जिल्लास्थित चार वटा ठूला उखु मिलबाट अघिल्लो वर्षको करिब रु १९ करोड उनीहरुले अझै भुक्तान लिन बाँकी रहेको छ ।

उद्योगहरुले प्रति क्विन्टल रु ४३६ को दरले अघिल्लो वर्षको रकम बल्ल दिन थालेको भएपनि किसानले उद्योगसँग अझै १९ करोड रुपैयाँ भुक्तानी लिन बाँकी भएको उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

यस वर्षको उखुको याम सुरु भएर अहिलेसम्म इन्द्रा सुगर मिल र बागमती सुगर मिल सञ्चालनमा आइसकेका छन् । अझै लुम्बिनी चिनी मिल र मोहिनी चिनी मिल भने अझै सञ्चालनमा आएका छैनन् ।

सरकारले रु ४६१ प्रति क्विन्टल उखुको मूल्य निर्धारण गरेपनि चिनी उद्योगले किसानलाई अघिल्लो वर्षको भुक्तानी रु ४३६ प्रति क्विन्टलको दर मात्र दिँदा किसान थप मारमा परेको उखु उत्पादक महासङ्घका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताले बताउनुभयो ।

उखु किसानले चिनी उद्योगलाई उखु दिएपनि समयमा भुक्तानी नपाउने भएपछि किसानले प्रत्येक वर्ष यो खेती छोड्दै गएका छन् । उचित मूल्य र समयमा भुक्तानी रकम नपाउँदा किसान थप मारमा परेको उखु किसान अगुवा सुभान अलिले बताउनुभयो ।

जिल्लाको कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हँुदै आएको छ । जिल्लामा वार्षिक २० देखि २५ लाख क्विन्टल उखु खेती उत्पादन हुन्छ । जिल्लामा चार वटा चिनी मिल उद्योग छ र करिब ५० भन्दा बढी साना क्रसर (भेलि) उद्योग छन् । रासस

सहकारीद्धारा रु तेह्र करोड लगानी

नाकाबन्दीले सामान नआउँदा व्यापारी मर्कामा

काठमाडौँ, १४ पुस । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले काठमाडौँमा सामान ल्याउन नसकी व्यापारीहरु मर्कामा परेका छन् ।

गत वैशाख १२ गते गएको भूकम्पले तातोपानी नाकामा सामान अड्किँदा समस्यामा परेका व्यापारीले नाकाबन्दीबाट थप क्षति बेहोर्नुपरेको छ ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष मनोज श्रेष्ठले चीनबाट सामान ल्याउने नाका भूकम्पले थुनिएपछि भारतबाट सामान ल्याएको तर मधेस आन्दोलन नाकाबन्दीले वीरगञ्ज नाकाबाट सामान आउन नसक्दा समस्या भइरहेको बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष जाडो याममा दैनिक ५० हजार रुपैयाँको व्यापार हुने गरेकामा अहिले भूकम्प र नाकाबन्दीले दैनिक २० हजार रुपैयाँको पनि व्यापार हुनसकेको छैन ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “मैले एमएण्डडी जुत्ता कम्पनीबाट जुत्ता र चप्पल ल्याएको थिएँ । चीनबाट आएको सामान तातोपानी र भारतबाट आएको सामान वीरगञ्जमा थन्किँदा समस्या भएको छ ।” न्यूरोड व्यापार सङ्घमा ६०० पसल आवद्ध छन् र सबैको व्यापारको स्थिति उस्तै छ ।

यस्तै न्यूरोडमै सुदिम ट्रेडर्समार्फत सामान आयात गर्नुभएका दीपक भण्डारीको पीडा पनि उस्तै छ । वैशाखमा ल्याउनुभएको सामान भूकम्पका कारण ल्हासामा अड्किएर र दसैँका लागि ल्याएको सामान वीरगञ्जमा अड्किएर व्यापार अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान नआँउदा बैँकबाट लिएको रकमको व्याज तिर्नसमेत समस्या भएको छ ।” भण्डारीका अनुसार करिब दश लाख रुपैयाँ बराबरको सामान ल्हासामा थन्किएको छ । र विरगञ्जबाट ल्याएको सामान नाकामा थन्किँदा समस्या परेको बताउनुभयो । रासस

लोकतन्त्रमा हत्या–हिंसा असह्य हुन्छ : प्रधानमन्त्री

संसद्ः तीन दलको निर्णयले छिट्टै पूर्णता पाओस्

सरसफाइ

भूमिसम्बन्धी १७ मुद्दा

जानकी मन्दिर क्षेत्र तनावग्रस्त

जनकपुरधाम, १४ पुस । प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शकारीले जानकी प्रहरी चौकीलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गरिरहेका छन् । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमले चौकी नजिकै रहेको गोलघरमा आगो लागेकामा प्रहरीको सक्रियतामा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन दिनदेखि सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार प्रदर्शनकारीले चौकीलाई लक्ष्य गरी ३४ पेट्रोल बम प्रहार गरेका थिए । सोमबार पनि भएको झडपमा २२ प्रदर्शनकारी घाइते भएका थिए । रासस

पसलमा आगलागीः रु एघार लाख बढी क्षति

जनस्तरबाट गाउँ परिषद् !

लुटेराको चक्कु प्रहारबाट दुई घाइते

रौतहट, १४ पुस । लुटेराको समूहले आज बिहान गौर, चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गढवामा काठमाडाँैबाट घर फर्कंदै गरेका दुई जनालाई चक्कु प्रहार गरेको छ ।

ती दुवै सख्त घाइते भएका छन् । लुटेरा समूहले उनीहरुका साथबाट रु १५ हजार लुटेको छ ।

उनीहरु काठमाडौँबाट चन्द्रनिगाहपुर आएर मोटरसाइकलमार्फत गन्तव्यस्थलतर्फ जाँदै थिए । चक्कु प्रहारबाट धरमपुर गाविस–५ बस्ने मंकर गिरी र भारत विहार घर भएका पंकज जयसवाल घाइते भएका छन् । उनीहरुको शरीरका विभिन्न भागमा लुटेराले जथाभाबी चक्कु प्रहार गरेका थिए । उनीहरुको गौर अस्पतालमा उपचार भइरहेको छ ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड तथा ग्रामीण भेगका सडकखण्डमा केही सातायता लुटपाटका घटनामा वृद्धि भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् । प्रहरीको ध्यान हाल तराई मधेसमा जारी आन्दोलनमा केन्द्रित रहेका कारण पनि राजमार्ग क्षेत्रमै लुटपाट लगायत आपराधिक गतिविधिमा वृद्धि भएको जिप्रका, रौतहटले जनाएको छ ।

जिप्रका, रौतहटका प्रवक्ता राजेन्द्र पोखरेलले आन्दोलनका कारण आपराधिक गतिविधि वृद्धि भएको बताउँदै अपराध हुने सम्भावित क्षेत्रमा प्रहरीले निगरानी गर्न सुरु गरेको जानकारी दिनुभयो । रासस
–––––––

गाँजा बरामद

गोलबजार (सिरहा), १४ पुस । कर्जन्हा गाविसबाट प्रहरीले आज बिहान ठूूलो परिमाणमा लागुुऔषध गाँजा बरामद गरेको छ ।

कर्जन्हा गाविस– ७ मा परालले छोपिराखिएको तयारी अवस्थाको १६१ केजी गाँजा बरामद भएको जिप्रका, सिरहाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुुभयो ।

गाँजा कसले राखेको थियो भन्ने विषयमा केही खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

‘शिक्षा विधेयक कोसेढुङ्गा’

सल्यान, १४ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सोमबार संसद्मा शिक्षा विधेयक पेस गरिएको जानकारी दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, सल्यानले श्रीनगरमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विसं २०६६ देखिका शिक्षा मन्त्रीले संसद्मा पेस गर्न खोजेको शिक्षा विधेयक पेस गरिएको र यसमा सैद्धान्तिक सहमति भएको बताउनुभयो ।“यो शिक्षामा देखापरेका समस्या समाधानका लागि कोसेढुङ्गा हुनेछ”, मन्त्री पोखरेलले भन्नुभयो ।

अहिलेको शिक्षा विधेयकले नयाँ संविधान कार्यान्वयनपछि शिक्षा क्षेत्रका लागि ऐन कानुन निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस
–––––

Monday, December 28, 2015

सात दिनभित्र भूकम्पपीडितलाई राहत उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितलाई सात दिनभित्र राहत प्रदान गर्न निर्देशन दिएको छ ।

आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, आपूर्ति मन्त्रालय र प्रमुख तीन सुरक्षा अङ्गका प्रमुखलाई बोलाएर राहत प्रदान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेको हो ।

चिसोका कारण धादिङ, गोरखा, ललितपुर, दोलखा, रसुवालगायत जिल्लामा भूकम्पपीडितको निधन भएको समाचार सार्वजनिक हुन थालेपछि आयोगले चासो व्यक्त गरेको हो । चिसोका कारण बिरामी परेका र बढी समस्या भएका क्षेत्रमा आजै औषधिमूलो उपलब्ध गराउन आयोगले स्वास्थ्य मन्त्रालयका सचिवलाई निर्देशन दिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र साझाको पेट्रोल पम्पबाट इन्धन उपलब्ध गराउन र कुनै पनि बहानामा भूकम्पपीडितले दुःख पाउन नहुनेमा आफूहरुले सम्बन्धित सरोकार भएका पक्षको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो ।

तत्कालका लागि न्यायो कपडा किन्न भन्दै सरकारले भूकम्पपीडितलाई रु १० हजार उपलब्ध गराउने भनेर जिल्ला जिल्लामा पठाइएको रकम वितरण नभएको र राहत वितरण प्रभावकारी नभएको भन्दै नागरिकको तहबाट व्यापक गुनासो आएपछि आयोगले सात दिनभित्रै भूकम्प प्रभावित १४ वटै जिल्लामा उक्त रकम वितरण गर्न र त्यसको जानकारी आयोगलाई गराउन आग्रह समेत गरेको छ ।

कतिपय जिल्लामा राहत रकमको अख्तियारी गएको भए पनि कर्मचारीको अभाव, प्रक्रियागत झन्झट, यातायातको असुविधा र इन्धनको अभाव रहेको भन्दै वितरण नगरेको पाइएको छ । यस्तै विभिन्न भण्डारणस्थलमा राहत सामग्री थुप्रिएको भए पनि पीडितलाई वितरण नभएको, न्यानो कपडा झापा र मोरङमा आएको लामो समय भए पनि पीडितकहाँ नलगिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा भूकम्प प्रभावित क्षेत्रका लागि भनेर आएको औषधि समेत नपठाइएकाले तत्काल सम्बन्धित क्षेत्रमा पठाउन आयोगले ध्यानाकर्षण गराएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत तत्काल राहत वितरण गरेर त्यसको जानकारी दिन र अटेर गर्ने कर्मचारी तथा सम्यन्त्रलाई तत्काल विभागीय कारबाही गर्न आयोगले आग्रह गरेको छ ।

स्थलगत अनुगमन

आयोगले राहत वितरण प्रक्रियाको स्थलगत अध्ययन समेत गर्ने जनाएको छ । ‘गोरखा भूकम्प’का कारण प्रमुख प्रभावित १४ र प्रभावित ३१ जिल्लामा आयोगको टोली अनुगमनका लागि परिचालन हुने प्रवक्ता पुष्करले जानकारी दिनुभयो । प्रकोपपीडित जनतालाई लामो समयसम्म प्रभावकारी रुपमा सम्बोधन गर्न नसक्नु सरकार र सरकारी निकायको कमजोरी रहेको भन्दै आयोगले किन त्यस्तो गरिएको हो भन्ने प्रश्न गरेको थियो ।

दलको विवादका कारण भर्खर मात्र पूर्णता पाएको भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणले काम समेत सुरु गरिनसकेको अवस्थामा सरकारी निकायको दायित्व जनतालाई सेवा दिने भए पनि त्यसतर्फ ध्यान नदिएको नागरिक तहबाट असन्तुष्टि व्यक्त हुँदै आएको थियो । पाल तथा जस्ताको अस्थायी छाप्रोमा बस्दै आएका नौ भूकम्पपीडित चिसोका कारण अकालमा ज्यान गुमाउन बाध्य भएका छन् ।

राहत नपाए गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गालगायत उच्च पहाडी तथा हिमाली क्षेत्रका भूकम्पपीडित थप मर्कामा पर्ने देखिएको छ । छलफलमा सहभागी मन्त्रालयका सचिवले आफूहरुले तत्काल नै राहत वितरण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts