Thursday, March 31, 2016

जेलभित्रैबाट एसएलसी परीक्षा

पर्वत, १९ चैत । जिल्ला कारागार पर्वतबाट दुईजनाले एसएलसी परीक्षा दिन सुरु गरेका छन् ।

बिहीबारदेखि सुरु भएको परीक्षामा विभिन्न अभियोगमा जेल चलान भएका दुईजनाले कारागारभित्रैबाट परीक्षा दिएका हुन् । विभिन्न अभियोग लागेर पुर्पक्षका लागि कारागार चलान भएका उनीहरुलाई कारागारभित्रैबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।

परीक्षामा सहभागिता जनाउने कैदीबन्दीमध्ये नियमिततर्फ कृष्ण रोका रहेका छन् । उनले शिवालय खुल्ला मावि कुष्माबाट फारम भरेका थिए ।

त्यस्तै आंशिकतर्फ सुमन परियार रहेका छन् । उनले होली चाइल्ड बोर्डिङ स्कुल बागलुङबाट आवेदन भरेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । रोका लागुऔषध र परियार हातहतियार खरखजानाअन्तर्गत पुर्पक्षका लागि थुनामा परेका हुन् ।

कारागारमा सञ्चालन भएको परीक्षालाई व्यवस्थित गराउनका लागि शिवालय ‘ख’ केन्द्रका केन्द्राध्यक्ष पूर्णचन्द्र काफ्लेमार्फत व्यवस्था मिलाइएको जिशिअ पौडेलले जानकारी दिनुभयो । कारागारभित्रको एसएलसी परीक्षा मर्यादित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

आफूहरु जेलभित्र रहे पनि परीक्षा दिन पाएकामा उनीहरुले खुसी व्यक्त गरेका छन् । रासस

निःशुल्क प्रवेशाज्ञा प्रणालीको माग गर्दै धर्ना

काठमाडौँ, १९ चैत । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ लागू गर्न माग गरेको छ ।

सक्रिय सेवा समाज, पौरखी नेपाल, एसियन फोरम, ओरेक नेपाल, म्याग नेपाललगायत विभिन्न २१ वटा सङ्घसंस्थाले आज बिहान करिब दुई घन्टा भद्रकालीमा धर्ना दिएका छन् ।

सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले विगतमा सरकारले गरेको ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ अहिलेसम्म व्यवसायीले कार्यान्वयन नगरेकाले उनीहरुलाई कारबाहीको माग गर्नुभयो । सञ्जालका प्रतिनिधि बालकृष्ण गैरेले वैदेशिक रोजगार भनेको नेपाली श्रमिकको बाध्यता भएको र त्यस्तो बाध्यतामाथि मेनपावर कम्पनीले श्रमिकलाई ठगी गर्न नहुने बताउनुभयो ।

सञ्जालले निःशुल्क प्रवेशाज्ञा प्रणाली कार्यान्वयनका लागि राष्ट्रपति, प्रधानमन्त्री, श्रममन्त्री, संसद्को अन्तर्राष्ट्रिय श्रम समितिलगायतका संस्थामा ध्यानाकर्षण गराउने पौरखी नेपालका प्रतिनिधि विजया राई श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरणमा विभिन्न सात देशमा निःशुल्क प्रवेशाज्ञा प्रणाली लागू भइसकेको भएपनि व्यवसायीले अवरोध गरेका कारण पूर्णरुपमा लागू हुन सकेको छैन । रासस

उद्योगपति चौधरीको आत्मवृत्तान्तको समीक्षा

चितवन, १९ चैत । उद्योगपति विनोद चौधरीले पेसाप्रति निष्ठा र आफूप्रतिको इमान्दारिता कायम गर्न सके सफल बन्न सकिने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको आत्मवृत्तान्त ‘विनोद चौधरी’को उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबार नारायणगढमा आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँले सफल हुन सपना देख्नुपर्ने बताउनुभयो । केही साहित्यकार, केही व्यवसायी र धेरै उद्योगपतिको बीचमा उहाँले पुस्तकको भन्दा आफ्नो जीवनमा भएको सफलता र अनुसरण गर्नुपर्ने विषयमा बोल्नुभएको थियो ।

सामुदायिक विद्यालयमा अध्ययन गरेर सामान्य परिवारबाट हुर्किएको आफ्नो प्रसङ्गलाई प्रस्ट्याउँदै उहाँले सपना देखेकै कारण सफल भएको बताउनुभयो । चौधरीले भन्नुभयो, “भाग्य र अरूलाई दोष नदिनुहोस्, निरन्तर एउटै सपना देख्नुहोस्, समय लामो लिन सक्छ, तर सफलता मिल्छ ।” २० वर्षभन्दा कान्छो उमेरमा विश्वका धेरै व्यक्ति प्रविधिका कारण फड्को मार्न सफल भएको भन्दै उहाँले सूचना प्रविधि, हवाई यातायात र क्रेडिट कार्डले विश्वलाई सानो बनाएको बताउनुभयो ।

आफ्नो पुस्तक लेखनका सम्बन्धमा सुरुमा लेख्ने वा नलेख्ने निर्णय गर्न समय लागेको बताउँदै उहाँले सबैखाले चुनौती मोलेर अन्ततोगत्वा पुस्तक लेख्ने निष्कर्षमा आफू पुगेको बताउनुभयो । पाँच वर्षको मिहिनेतपछि आत्मवृत्तान्त तयार भएको पनि उहाँले बताउनुभयो । आत्मवृत्तान्तमा आफ्ना कमीकमजोरीसमेत समावेश भएको उहाँले बताउनुभयो । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले आफ्नो जीवनपछिको अध्ययन विनोद चौधरीको गरेको बताउँदै सामुदायिक पाठशालाको अध्ययनबाट यो अवस्थामा आउनु उदाहरणीय काम भएको बताउनुभयो ।

चौधरीले सामुदायिक विद्यालयमा पढ्दा पाठ्यक्रम मात्रै होइन मानिसको जीवन पढ्ने अवसर मिलेकै कारण उहाँमा सफलता मिलेको शाहले बताउनुभयो । चौधरी उद्योगपति मात्रै नभएर लेखक, कलाकार, साहित्यकार र सङ्गीतकार पनि रहेको शाहले बताउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै प्राध्यापक एलवी क्षेत्रीले आफ्नो कमीकमजोरीसहित समावेश हुने आत्मवृत्तान्त लेख्नु ठूला व्यापारीका लागि आफँैमा चुनौतीपूर्ण भएपनि चौधरीको आत्मवृत्तान्त नेपाली उद्योगी, व्यवसायी र युवाका लागि पाठ भएको बताउनुभो । रासस

नेपालमा सात सय प्रजातिका जडीबुटी प्रयोग

काठमाडौँ, १९ चैत । नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ ।

औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको वनस्पति विभागका उपसचिव एवम् वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पश्चिमाञ्चलमा पनि धेरै मात्रामा जडीबुटीको सम्भावना छ तर प्रचारप्रसार र बजारको अभावले गर्दा उत्पादन कमी देखिएको हो ।” तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा हुन् भने मध्यपहाडी भागमा चिराइतो, रिट्ठा, टिमुर, तेजपात÷दालचिनी, सुगन्धवाल व्यावसायिक रुपमा खेती भएको छ ।

यस्तै, हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाललगायतका रहेका छन् । जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात हुन् । यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी पाटन (हिमाली घाँसे मैदान) क्षेत्रमा पाइन्छ । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ ।

जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायतका देशमा जाने गरेको विभागले जनाएको छ । विसं २०१६ मा स्थापना भएको विभागले सुरुको समयमा एलोपेथिक औषधिको गुण नियन्त्रण गर्ने कामसमेत गरेको वनस्पति विभागले पछिल्लो समय नेपालका वनस्पतिको अद्यावधिक तथ्याङ्क सङ्कलन, तालिम सञ्चालन, जडीबुटीको खेती विस्तार र संरक्षण गर्दै आएको छ । सबै वनस्पतिमा औषधीय गुण हुने र कुनैमा धेरै र कुनैमा थोरै मात्र हुने गरेको छ ।

अधिकृत क्षेत्री नेपालमा आयुर्वेदिक औषधिका कम्पनीहरु कम भएका कारण नेपालमा उत्पादन हुने जडीबुटीको भरपुर उपयोग हुन नसकेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जडीबुटीलाई गुणस्तरीय उत्पादन र जनचेतना फैलाउनु आवश्यक छ ।” जडीबुटीबाट प्रशोधित तेलको बिक्री पछिल्लो समय बढेको छ । विदेश लैजाने तेल गुणस्तर छ कि छैन भन्ने हेर्ने प्राकृतिक सम्पदा अनुसन्धान शाखाका प्रमुख ज्योति जोशी भट्टले गत आर्थिक वर्ष २०७१÷७२ मा एक हजार १०० भन्दा बढी गुणस्तर जाँच गरेको जानकारी दिनुभयो ।

उहाँले आव २०७०÷७१ मा भन्दा यो ६०० ले बढी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तर परीक्षण गरेकोमध्ये ९५ प्रतिशत विदेश निकासी हुँदै आएको छ ।” उत्पादन भएका जडीबुटीमध्ये १०० देखि १५० प्रजातिका जडीबुटी विदेश निकासी हुँदै आएका छन् । नेपालमा अवैध जडीबुटी कारोबार गर्नेलाई जडीबुटी जफत र आवश्यकताअनुसारको दण्ड सजाय गर्ने प्रावधान रहेको छ । विभागले हाल इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलाली जिल्ला वनस्पति कार्यालयमार्फत जडीबुटीको अध्ययन, अनुसन्धान र विस्तार गर्दै आएको छ ।

विभागका महानिर्देशक रामदेवप्रसाद यादवका अनुसार आगामी वर्ष विभागले १६ वटा क्षेत्र बनाएर व्यक्तिगत तथा सामुदायिक क्षेत्रमा जडीबुटी खेती विस्तार गर्नका लागि प्रस्ताव मन्त्रालयमा पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा ‘एक नगर अनेक उद्यान’ कार्यक्रम विराटनगर, विदुर, पोखरा, भक्तपुरलगायत १० नगरपालिकामा सञ्चालन ग¥यौँ, आगामी वर्ष जडीबुटी उत्पादन कार्यक्रमलाई प्राथमिकता दिन्छौँ ।”

वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै, विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ । अच्युत रेग्मी/रासस

प्रवेशिका परीक्षामा रु सात करोड बजेट अपुग

काठमाडौँ, १९ चैत । अनुमान गरिएभन्दा बढी विद्यार्थी सामेल भएपछि प्रवेशिका परीक्षाका लागि पूर्वनिर्धारित बजेट अपुग भएको छ ।

चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनका लागि कुल रु ३७ करोड पचास लाख विनियोजन गरेकोमा करिब रु सात करोड रकम अपुग हुने देखिएको छ । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलका अनुसार परीक्षा सकिएपछि तेस्रो चौमासिकमा हुने गरी अर्थ मन्त्रालयमा थप बजेट माग गरिने बताउनुभयो ।

बिहीबार बिहानदेखि सुरु भएको परीक्षामा गत वर्षको भन्दा करिब पचास हजार बढी अर्थात सवा छ लाख परीक्षार्थी सामेल छन् । परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । गत वर्ष पाँच लाख ७० हजार विद्यार्थी थिए । यस वर्ष गत वर्षभन्दा करिब एक सय परीक्षा केन्द्र बढी छन् ।

यस वर्षबाट अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुनेगरी परीक्षा सुरु भएको छ । भूकम्प र अघोषित नाकाबन्दीको असरका बीच पनि यस वर्ष विद्यार्थीले पूर्ववत् समयमै परीक्षामा सामेल भएका छन् ।

यसैगरी, प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाका लागि देशभर एक हजार ९४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मीमात्रै २९ हजार १४५ परिचालन हुनेछन् । रासस

औंला नभएपछि नाडीको भरमा परीक्षा

झापा, १९ चैत । दुवै हात गुमाएका एक विद्यार्थीले झापाको भद्रपुर उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा (एसएलसी) दिएका छन् ।

एमराल्ड एकेडेमी भद्रपुरमा अध्ययनरत भद्रपुर नगरपालिका–४ निवासी १६ वर्षीय चन्दनकुमार महतोले पहिलो दिन अङ्ग्रेजी विषय र आज दोस्रो दिन नेपाली विषयको परीक्षा दिएका छन् । उनका दुवै हातका औँला छैनन् । उनले दुवै नाडीको सहायतामा अरू विद्यार्थीसरह सजिलै परीक्षा दिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो ।

परीक्षा समितिले अपाङ्गता भएका विद्यार्थीलाई तोकिएको समयभन्दा डेढ घन्टा बढी समय थप गरेपनि उनले नाडीको सहायताले तीव्रगतिमा लेखेकाले निर्धारित समयमै परीक्षा दिन सफल भएको भद्रपुर उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो ।

परीक्षार्थी महतोको १० वर्षअघि घरको छतमाथि रहेको विद्युत्को नाङ्गो तार छुनेक्रममा करेन्ट लागेर दुवै हात गुमेका थिए ।

बिहीबारदेखि सुरु भएको एसएसली परीक्षा झापामा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । झापाका ५२ परीक्षा केन्द्रबाट यस वर्ष १६ हजार ९८५ जना परीक्षार्थी सहभागी हुने भनिएपनि पहिलो दिन २५५ जना अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो । रासस

चट्याङ लागेर सुतिरहेकी किशोरीको मृत्यु

चितवन, १९ चैत । चितवनको विकट लोथर गाविसमा चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।

बिहीबार घरमै सुतिरहेका बेला चट्याङ लागेकी सिद्धि–२ की १७ वर्षीया चन्द्रमायाँ चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घरमै सतिरहेका बेला बिहीवार चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको छ । पछिल्ला केही दिनदेखि चितवनमा हावाहुरी र वर्षा हुने क्रम चलिरहेको छ । ठाउँठाउँमा असिनासमेत परेको छ । रासस

बिस्केट जात्राको मार्ग अवलोकन गरिने

भक्तपुर, १९ चैत । मध्यपुर थिमि नगरपालिका क्षेत्रमा हुने बिस्केट जात्राको मार्गको अवस्थाका बारेमा आज एक टोलीले अवलोकन तथा निरीक्षण गर्ने भएको छ ।

नगरपालिका नेतृत्वको टोलीमा प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय गुथियार, सञ्चारकर्मी, राजनैतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी र संस्कृतिकर्मी रहने नपाले जनाएको छ । गत वैशाखको भूकम्पले क्षति पु¥याएका जात्रा सञ्चालन हुने मार्गका घरमा टेका लगाएको र ती टेकाले जात्रा सञ्चालनमा अवरोध र कठिनाइ उत्पन्न भएको भन्ने जनगुनासो आएपछि नपाले मार्ग अनुगमन तथा निरीक्षण गर्न लागिएको नपाका सूचना अधिकारी एवम् वरिष्ठ कानुन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।

टोलीले स्थानीय वडा नं १ देखि १४ सम्मका बोडे, नगदेश, चपाचो, बालकुमारी क्षेत्रको अवलोकन तथा निरीक्षण गर्ने सिलवालले बताउनुभयो । टोलीले अवलोकन र निरीक्षणपछि आवश्यक परेको खण्डमा जात्राको मार्ग परिमार्जन गर्ने सम्बन्धमा स्थानीयवासीसँग आवश्यक छलफल गरी जात्राको मार्ग परिमार्जनसमेत गरिने सिलवालले जानकारी दिनुभयो ।

मध्यपुर थिमि क्षेत्रमा चैत ३० देखि वैशाख ३ गतेसम्म विभिन्न देवीदेवताका खटसहित सिन्दूरजात्रा हुन्छ । यही वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा विश्व प्रसिद्ध रहेको छ । रासस

स्थानीयवासीद्वारा कोरला जोड्ने सडक मर्मत सुरु

मुस्ताङ, १९ चैत । उपल्लो मुस्ताङवासीको अग्रसरतामा चीनको सिमाना कोरला नाका जोड्ने समर–भियना सडकको मर्मत सुरु गरिएको छ ।

जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने उक्त सडकखण्डलाई उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । सबैभन्दा जोखिमयुक्त मानिने करिब दुई किलोमिटर समर–भियना सडकखण्ड मर्मत गर्न करिब ३० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि जिविसले १२ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ ।

बजेट अपुग हुने भएकाले लोमान्थाङ, छोसेर आदिका सर्वसाधारणले दैनिक श्रमदान गर्ने सहमतिमा मर्मत सुरु गरिएको हो । व्यापारिक कारोबारका लागि कोरला नाका सञ्चालन गर्नुपर्ने सर्वत्र माग भएपनि सडक मर्मतका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा स्थानीयवासी भने आक्रोशित बनेका छन् । स्थानीयवासीको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि केही दिन श्रमदान गर्ने भएका छन् । सरकारले बजेट कम उपलब्ध गराए पनि विभिन्न सङ्घसंस्था र स्थानीयवासीको लगानीमा सडक मर्मत गरिने लोमान्थाङका स्थानीयवासी टासी गुरुङले जानकारी दिनुभयो ।

जिविसले उपलब्ध गराएको बजेटबाट ढुङ्गा, बालुवा र माटो सङ्कलन कार्य गरिने उहाँको भनाइ छ । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीले सडक फराकिलो र सतह मिलाउने काम सुरु गरिएको बताउनुभयो । “पैसा थोरै भए पनि श्रमदान गर्न स्थानीयवासी तयार छन्, त्यसमा सुरक्षा निकायले पनि राम्रो साथ दिएको छ”, उहाँले भन्नुभयो । उक्त सडकखण्ड मर्मत भएमा ९३ किलोमिटर लामो जोमसोम–कोरला सडक सञ्चालन गर्न समस्या नहुने इन्जिनियर तिवारीको भनाइ छ । रासस

इयु–भारत संयुक्त वक्तव्यप्रति सरकारको आपत्ति

काठमाडौँ, १८ चैत । सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न युरोपेली सङ्घ (इयु)–भारत १३औँ सम्मेलनपछि जारी संयुक्त वक्तव्यप्रति आपत्ति जनाएको छ ।

एकचालिसबुँदे संयुक्त वक्तव्यको १७ नं बुँदामा ‘इयु र भारतले भूकम्पपछिको पुनःनिर्माणमा नेपालको प्रयासमा क्षमता अभिवृद्धिसहित दीर्घकालीन विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै दिगो राजनीतिक स्थायित्वको प्रवद्र्धन र आर्थिक वृद्धिका लागि समावेशी संवैधानिक व्यवस्था गर्न तथा संविधानका बाँकी विषय समयबद्ध रुपमा सम्बोधन गर्नुपर्ने’ उल्लेख गरिएकामा त्यसप्रति सरकारले आपत्ति जनाएको हो ।

“लोकतान्त्रिक रुपमा निर्वाचित संविधानसभाबाट संविधान जारी भएको सबैलाई विदित छ, संविधानले नेपाली जनताका भावना पूर्णरुपेण समायोजन गरेको छ, संविधान जारी भएसँगै २०६३ सालमा राष्ट्रिय रुपमा थालिएको शान्तिप्रक्रिया औपचारिक निष्कर्षमा टुङ्गिएको र त्यसले सङ्घीय एवम् गणतन्त्रात्मक प्रणालीसहित लोकतन्त्रका उपलब्धिलाई संस्थागत गरेको छ”– इयु–भारत संयुक्त वक्तव्यप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

संविधान लेखन तथा त्यसको घोषणा मूलतः एउटा मुलुकको आन्तरिक मामिला हो र अहिले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको मार्गमा अग्रसर भएको उल्लेख गर्दै विज्ञप्तिमा इयु र भारतको संयुक्त वक्तव्यबाट नेपाली जनताको भावनामा मात्र चोट पुगेको नभई त्यसले एउटा राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने मौलिक सिद्धान्तको अवज्ञा तथा राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका मान्यताको उल्लङ्घन गरेको जनाइएको छ ।

नेपाली जनताको सार्वभौम एवम् लोकतान्त्रिक अधिकारको पूर्ण सम्मान गर्न र त्यस्ता अनावश्यक वक्तव्य नदिन सरकारले सम्बद्ध सबैलाई आग्रह गर्दै नेपाल सरकार र नेपाली जनता संविधानको दायराभित्र रहेर आफ्ना समस्या समाधान गर्न पूर्ण सक्षम रहेको स्पष्ट गरेको छ । रासस

सरकार र व्यवसायीबीचको वार्ता सहमति नजिक

काठमाडौँ, १८ चैत । श्रम तथा रोजगार मन्त्रालय र आन्दोलनरत वैदेशिक रोजगार व्यवसायी सङ्घबीच भएको आजको वार्ता सहमति नजिक पुगेको छ ।

सरकारले गत असार २१ गतेदेखि निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था गर्दै प्रवद्र्धन खर्चवापत म्यानपावर कार्यालयले उठाउन पाउने रकम रु १० हजारमा सीमित गरेको थियो । सो रकम बढाएर रु २० हजार वा कामदारले पाउने पहिलो एक महिनाको तलब बराबरको रकम प्रवद्र्धन खर्चवापत पाउनुपर्ने माग राख्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

मन्त्रालयको तर्फबाट वार्ता समितिका संयोजक मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले आजको वार्ता सौहार्दपूर्ण वातावरणमा भएको बताउँदै व्यवसायी र कामदार दुवैलाई मर्का नपर्ने गरी समाधान खोज्ने प्रयास भएको बताउनुभयो ।

उहाँले विगतमा न्यूनतम लागत रु ८० हजार तोक्दा पनि व्यवसायीले त्योभन्दा बढी रकम कामदारबाट असुल्ने गरेको भन्दै आगामी दिनमा बढी रकम नलिने सुनिश्चिततासहित वैज्ञानिक आधारमा प्रवद्र्धनात्मक खर्च तोक्न सरकार तयार रहेको जानकारी दिनुभयो ।

वार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) र दक्षिण पूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसिआन) राष्ट्रमा विदेशिने कामदारबाट त्यहाँको म्यानपावरले कति रकम उठाउछन् सोही आधारमा प्रवद्र्धन खर्च तय गर्ने सहमति भएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो । दुवै पक्षले सो रकमबारे दुई दिनभित्र अध्ययन गर्ने र आइतबार पुनः वार्तामा बस्ने गरी आजको वार्ता टुङ्गएिको उहाँले बताउनुभयो ।

प्रहरीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मार्दै केही सञ्चालकलाई पक्राउ गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीले फागुन २३ गतेदेखि कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति लिन बन्द गर्दै आएका छन् ।

सङ्घले विदेश कामदार नपठाउने निर्णय गरे पनि त्यसको उल्लङ्घन गर्दै म्यानपावरले धमाधम श्रम स्वीकृति लिँदै कामदार पठाउन थालेपछि व्यवसायीको आन्दोलन कमजोर बन्दै गएको थियो । आन्दोलन कमजोर बनेपछि बुधबार सङ्घले आन्दोलनलाई केही खुकुलो बनाउँदै अन्तिम श्रम स्वीकृति लिन रोक नलगाउने निर्णय गरेको थियो । रासस

संविधानको कार्यान्वयन प्रमुख आवश्यकता– अध्यक्ष दाहाल

काठमाडौँ, १८ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वय अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनसँग आबद्ध कानुन व्यवसायीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ संविधानको कार्यान्वयन गरेर मुलुकलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिनुभयो ।

संविधानमा समावेश गरिएका समावेशी, समानुपातिक व्यवस्था एवम् जनताका पक्षमा प्राप्त भएका अधिकारका आधारमा थप अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने अध्यक्ष दाहालको कथन थियो ।

उहाँले संविधानको पहिलो व्याख्याकार कानुन व्यवसायी भएकाले जनताका पक्षमा सूत्रबद्ध भएका अधिकारलाई जनतामाझ लैजान सुझाव दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो– “संविधानलाई सर्वस्वीकार्य संविधान कसरी बनाउने भन्ने अझै चुनौती छ, यसलाई समाधान गर्ने दायित्व कानुन व्यवसायीको हो ।”

कार्यक्रममा एमाओवादीका सांसद् रामनारायण बिडारी र नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले संविधान राम्रो भएरमात्र नहुने र त्यसको व्यावहारिक कार्यान्वयन गर्नु नै महत्वपूर्ण पक्ष हो भन्नुभयो ।रासस

अध्यादेश रोक्न देउवाको आग्रह

काठमाडौँ, १८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशमार्फत उच्च अदालतको न्यायाधीश नियुक्त गर्न लागिएको जानकारी पाएको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

आज सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

काँग्रेस सभापति देउवाले नेपाल सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरेपछि प्रधानमन्त्री ओलीलाई फोन गरी अध्यादेश ल्याउने काम तत्काल रोक्न अनुरोध गर्नुभएको हो ।

सभापति देउवाले यस्तो कार्य संसद्मा प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभयो । आजै सभापति देउवाले सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समेत टेलिफोन गरी अध्यादेश प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गर्नुभएको सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

नेपालको संविधान २०७२ लाई नै संशोधन गर्ने गरी नेपाल सरकारले न्याय प्रशासन ऐन, २०४८ संशोधन अध्यादेश ल्याउने तयारीको सूचना पाएपछि सभापति देउवाले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई टेलिफोन गर्नुभएको हो । रासस

बैंकिङ कसुरमा फरार राष्ट्र बैंकको कार्यक्रमबाट पक्राउ

काठमाडौँ, १८ चैत । नेपाल राष्ट्र बैंक, प्रोब्लम बैंक रिजोलुसन डिभिजनले दोषी ठहर गरेपछि फरार रहेका व्यक्ति सोही डिभिजनले आज आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि त्यहाँ सहभागीबीच कानेखुसी चल्यो ।

डिभिजनले आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयक एकदिवसीय गोष्ठीमा भाग लिन पुगेका नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष उत्तमप्रसाद द्वाविरुद्ध बैंकिङ कसुर गरेको भन्दै महाशाखाले २०७१ माघ १५ गते जाहेरी दिएको थियो ।

अध्यक्ष द्वा तथा बैंकका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ समेतका विरुद्धमा चितवन, टाँडी प्रधान कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको रु २३ करोड ७२ लाख २६ हजार ७४४ हिनामिना गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ विपरीतको कार्य गरेको उजुरीमा पुनरावेदन अदालत मकवानपुर, हेटौँडाको फैसलापछि द्वा अदालतबाट फरारको सूचीमा थिए ।

उनै द्वा राष्ट्र बैंक, थापाथलीमा आयोजित कार्यक्रममा सहभागी भएको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बैंक परिसर बाहिरबाट आज पक्राउ गरेको हो ।

बैंकका अध्यक्ष द्वाको प्रमुख योजना तथा मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई अनियमित तरिकाले कमसल धितो राखी ऋण प्रवाह गर्ने र सो ऋण रकम आफैँले प्रयोग गर्ने गरेको आरोप लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिनुभयो ।

बैंकका तत्कालीन महाप्रबन्धक श्रेष्ठलाई गत असार २३ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, चितवनमा पठाइएको र सोही बैंकका पूर्वअध्यक्ष दिव्यकुमार श्रेष्ठलाई समेत नारायणी डेभलपमेन्ट बैंकको मुद्दामा अनुसन्धान गर्न ब्युरोले जिल्ला प्रहरी कार्यालय, चितवनलाई आदेश दिएको थियो ।

सो मुद्दाको मुख्य अभियुक्त द्वा समेतका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमार्फत पुनरावेदन अदालत हेटाँैडामा गत साउन २३ गते रु २३ करोड ७२ लाख २६ हजार ७४४ बिगो कायम गरी हदैसम्म सजायका लागि मागदाबी गरेको थियो ।

सो मुद्दामा अदालतको फैसलापछि असोज ५ गतेको आदेशले प्रतिवादी श्रेष्ठसमेतलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा द्वा भने फरार रहेका थिए । कानुनअनुसार फरार रहे पनि उनी सोही बैंकको अध्यक्षको हैसियतले लुकीछिपी काम गर्दै आएको उपरीक्षक लोहनीले जानकारी दिनुभयो । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय, चितवनमार्फत पुनरावेदन अदालत, हेटौँडामा पठाइने ब्युरोले जनाएको छ । रासस

छतबाट खसेर सहचालकको मृत्यु

बनेपा, १८ चैत । यात्रुबाहक बसको छतबाट खसेर आज काभ्रेपलाञ्चोकमा एक जनाको मृत्यु भएको छ ।

श्यामपाटी गाविस–२ मा बनेपाबाट स्थानीय पिपलटार जाँदै गरेको बा२ख ५३०१ नं को यात्रुबाहक बसबाट खसेर २३ वर्षीय सहचालक सुविन नरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । मृतको ठेगाना खुल्न सकेको छैन ।

त्यस्तै आज बनेपा–११ स्थित बुडोलमा मोटरसाइकलको ठक्करबाट एक नाबालक घाइते भएका छन् । स्थानीय आँखा अस्पाताल जाँदै गरेको बा७३प १२६९ नं को मोटरसाइकलले बुडोल बस्ने पाँच वर्षीय आदित्य दाहाललाई ठक्कर दिएपछि उनी घाइते भएका हुन् । उनको हात, खुट्टा र निधारमा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । रासस

नेपालको लगातार तेस्रो जित

काठमाडौँ, १८ चैत । प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा नेपालको अपराजित यात्रा कायम राख्दै तेस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबड हलमा आज भएको खेलमा नेपालले भुटानलाई ९०–३२ ले पराजित ग¥यो । भावना लामाले २१ अङ्क जोडेपछि नेपालको जित प्रभावशाली भयो ।

पहिलो क्वाटरमै २४–९ को अग्रता लिएको नेपालले अन्तिमसम्म अग्रतालाई कायम राख्दै क्रमशः ३४–६, १६–७ र १६–१० अङक जोड्यो । यसअघि भएका आफ्ना दुवै खेलमा नेपालले बङ्गलादेश र माल्दिभ्सलाई हराइसकेको छ ।

आजै भएको पहिलो खेलमा माल्दिभ्सले बङ्गलादेशलाई ६२–२८ ले पाखा लगायो । प्रतियोगिताअन्तर्गत शुक्रबार श्रीलङ्का र बङ्गलादेश तथा माल्दिभ्स र भुटानबीच खेल हुनेछन् । रासस

न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी

काठमाडौँ, १८ चैत । देशको मध्य र पूर्वी भागको उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण मौसममा खराबी आएको छ ।

उच्च वायुमण्डलमाथि एउटा न्यूनचापीय मौसमी प्रणाली बसेका कारण मध्यपूर्वी र मध्य क्षेत्रमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र मध्यपहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा भएको र यस न्यूनचापीय मौसमी प्रणालीको प्रभाव पूर्वी र मध्य नेपालमा आज रातभर रहनसक्ने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ३.८, पोखरामा ३.३, भैरहवामा ४.२, ओखलढुङ्गामा ४.१, विराटनगरमा ३०.९, ताप्लेजुङ्गमा १.० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी कास्कीको लुम्लेमा ४६.० मिलिमिटर र सबैभन्दा कम धनकुटामा ०.१ मिलिमिटर वर्षा भएको छ ।

न्यूनचापीय प्रणालीको प्रभावले चट्याङ गराउने खालको बादल विकास गराएको र मध्य र पूर्वका पहाडी भेगमा मेघ गर्जनसहित वर्षा र हावाहुरी चलेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

यस्तै दशको पश्चिमी पहाडी क्षेत्रमा पनि स्थानीय जलवास्पयुक्त हावा सक्रिय हुँदा मौसममा खराबी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा साँझसम्म सुधार आउने र पूर्वी भेगमा भने यो प्रणाली केही दिन जारी रहने मौसमविद् रिमालले बताउनुभयो । उहाँका अनुसार पश्चिमी भेगबाट पुनःअर्को प्रणाली विकास भएकाले शुक्रबार पश्चिमी क्षेत्रमा बदली हुनेछ ।

प्रिमनसुनको अवस्थामा मेघ गर्जनसहित वर्षा र हावाहुरी चल्नु सामान्य भएको मौसमविद्को भनाइ छ । आज काठमाडौँ उपत्यकाको अधिकतम् तापक्रम २६.८ र न्यूनतम् तापक्रम १२.५ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

सार्थक वार्ताको पक्षमा मोर्चा

भक्तपुर, १८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल आन्दोलनको कार्यक्रम सार्वजनिक नगर्ने भएको छ ।

आज भक्तपुरको सानोथिमीस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले विगतका आन्दोलनको समीक्षा गर्दै तत्काल आन्दोलनको कार्यक्रम घोषणा नगर्ने भएको हो ।

मोर्चाको बैठक सकिएपछि जानकारी दिँदै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भन्नुभयो˗ “आन्दोलनको कार्यक्रम तत्काल नल्याउने भएका छौँ, आन्दोलनको कार्यक्रम ल्याउन ढिला पनि भएको छैन ।”

अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद्सिंह भण्डारी र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताको सहभागिता थियो । रासस

दिगो विकास लक्ष्य : मस्यौदा सार्वजनिक

काठमाडौँ, १८ चैत । सरकारले दिगो विकास लक्ष्य (सन् २०१६–२०३०)को प्रारम्भिक (मस्यौदा) प्रतिवेदन आज यहाँ सार्वजनिक गरेको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा ल्याइएका दिगो विकासका १७ बुँदे योजना सार्वजनिक गर्नुभयो । सोअन्तर्गत गरिबी र भोकमरी अन्त्य गर्ने, दिगो कृषिको प्रवद्र्धन गर्ने, जनताको स्वस्थ जीवन सुनिश्चित गर्ने, सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता हासिल गर्ने योजना छ ।

त्यस्तै सर्वसुलभ खानेपानी र सरसफाइको दिगो व्यवस्थापन, आधुनिक ऊर्जामा सबैको पहुँच, जनताको दिगो आर्थिक वृद्धिका लागि उत्पादनमूलक रोजगारीको व्यवस्था, टिकाउ पूर्वाधार निर्माण र दिगो औद्योगिकीकरणको प्रवद्र्धन गर्ने तथा नवीन खोजलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य छ । देशभित्रै र देशहरुमाझ रहेको असमानतालाई न्यून गर्ने, नगर र मानव बस्तीलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने, दिगो उत्पादन र उपभोगको ढाँचा सुनिश्चित गर्ने, जलवायु परिवर्तन तथा यसका प्रभावविरुद्ध लड्ने लक्ष्य सरकारले लिएको छ ।

त्यस्तै दिगो पर्यावरणीय प्रणालीको प्रयोगको संरक्षण, पुनःस्थापना र प्रवद्र्धन तथा वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरण तथा भूक्षयीकरणको रोकथाम, जैविक विविधताको क्षति रोकावट, दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन, सबैलाई न्यायमा पहुँच पु¥याउने तथा विश्वव्यापी साझेदारीलाई पुनःजीवन दिने लगायत छन् । विश्वव्यापीकरण अनुरुप ल्याइएका सत्रमध्ये दुई बुँदा नेपालका लागि लागू गर्न अनुपयुक्त रहेको बताइएको छ ।

उपाध्यक्ष डा खतिवडाले यसअघि ल्याइएका सहस्राब्दी विकास लक्ष्यलगायत योजना स्रोतसाधनको अभावका भौगोलिक तथा जातीय रुपमा सो अवधिभर लागू गर्न नसकिएकाले दिगो विकास लक्ष्यको सफलताका लागि आफू स्रोत जुटाउन डटेर लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लक्ष्य पूरा गर्ने गृहकार्यमा हामी लागिसकेका छौँ, त्यसका लागि चैत महिनाभित्र तीनवर्षीय योजनाको खाका ल्याउछौँ, वैशाखसम्ममा तयार पार्दै बजेट त्यसै अनुरुपको ल्याउने छौँ, अबको विकास दिगो हुनुपर्छ, भन्ने हाम्रो मान्यता हो ।” रासस

वैशाख ३ गतेदेखि जनजागरण अभियान सञ्चालन गरिने

विराटगर, १८ चैत । सद्भावना पार्टीको तीनदिने राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक तराई–मधेसमा आगामी वैशाख ३ गतेदेखि सप्ताहव्यापी जनजागरण अभियान सञ्चालन गर्ने लगायतका आठबुँदे निर्णय गर्दै आज यहाँ सम्पन्न भएको छ ।

बैठकले भावी रणनीति एवम् कार्यदिशा शीर्षकसहितको पाँच पृष्ठ राजनीतिक प्रस्ताव परिमार्जन गरी पारित गरेको छ । बैठकले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा अविलम्ब फिर्ता लिन, पक्राउ गरिएका कार्यकर्तालाई रिहा गर्न, हड्तालको अवधिभरको राजस्व छुट, कर मिनाहा, ब्याज र विलम्ब शुल्क छुट गर्न तथा आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई तत्काल सहिद घोषणा गर्न माग गरेको छ ।
बैठकले विसं २०७३ चैतभित्र पार्टीको छैँटौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । रासस

पत्रकारको न्युनतम पारिश्रमिक तोक्ने सन्चारमन्त्रीको पहलले लियो तिब्रता

meeting1
१८ चैत,काठमाडौं । श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमिक बृद्धिका लागि भएको सिफारिस कार्यन्वयनका लागि सूचना तथा सन्चार मन्त्री शेरधन राईले सरोकारवालाहरुसँग छलफल अघि बढाउनुभएको छ । चाँडैनै प्रमुख सरोकारवालाको बैठक राखी न्युनतम तलबमान तोकिने भएको छ ।
न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार पत्रकारहरुको न्युनतम पारिश्रमिक व्यवहारमा कार्यन्वयनका सन्दर्भमा मन्त्री राईले ठूला सन्चारगृहका लगानीकर्ताहरुसँग विहिवार परामर्श गर्नुभएको छ । सन्चार मन्त्रालयमा आयोजित मिडिया सोसाइटीसँगको छलफलमा मन्त्री राईले सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसलाई बलजफ्ति लागु गराउने भन्दा पनि सरोकारवालाहरुसँगको छलफलबाट प्राप्त सुझाबका आधारमा सबैलाई मान्य हुने खालको तलबमान तोक्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।
मन्त्री राईले श्रमजिवी पत्रकार ऐन कार्यन्वयन र न्युनतम पारिश्रमिक बृद्धि गर्ने सन्दर्भमा सकारात्मक ढंगले सघाउन लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको सन्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेलले जानकारी दिनुभयो । ‘सरकार लगानीकर्तालाई मर्कामा पारेर मिडिया उद्योग कमजोर बनाउने दिशामा जादैन तर पत्रकारहरुको न्युनतमक पारिश्रमिक र श्रमजिवी पत्रकार ऐन कार्यन्वयनमा सहजकर्ता बन्न चाहान्छ’ मन्त्री राईको भनाइ थियो । उहाँले पत्रकार महासंघ,मिडिया सोसाइटी लगायत सबै सरोकारवालाहरुसँगको साझा सहमतिका आधारमा नयाँ वर्षदेखि पत्रकारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने सोच आफ्नो रहेको प्रष्ट पार्नुभएको थियो ।
करीव डेढ घण्टा लामो छलफलमा मिडिया सोसाइटीका पदाधिकारी र सन्चार उद्यमीहरुले अहिले सिफारिस भएको १९ हजार ५ सय न्युनतम पारिश्रमिक कुनै पनि हालतमा लागु गर्न नसकिने बताएका थिए । उनीहरुले सरकारलेनै यो निर्णय गर्ने हो भने आफूहरुले सामुहिक रुपमा सन्चारगृह बन्द गरेर चाबी सरकारलाई एकमुष्ट रुपमा बुझाउने बताए । मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले जसले पारिश्रमिक दिनुपर्ने हो उसैलाई बाहिर राखेर जबर्जस्ति गरिएको सिफारिस मान्य नहुने बताउनुभयो । मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष कैलाश सिरोहियाले संसारमा कहिँ पनि आफ्नो तलब आफैं तोक्ने व्यवस्था नरहेको भन्दै सन्चार उद्यमीको प्रतिनिधित्व नभएको समितिको सिफारिस मान्न नसकिने र सरकारले यसमा वृहत छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले न्युनतम पारिश्रमिक तोक्ने बारेमा सरकारले छलफल गरेमा आफूहरु सहभागी हुने र सहमतिमा आउन सकिने प्रष्ट पार्नुभयो । मिडिया सोसइटीका महासचिव शुभशंकर कँडेल,आरके मानन्धर,मदन लम्साल,शिशिर भट्ट,निर्मल गुरुङ,निकिता पौडेल लगायत सन्चार उद्यमीहरुले भूकम्प र नाकाबन्दीको ९ महिना लामो सकसबाट तहसनहस अवस्थामा पुगेको सन्चार उद्योगलाई बन्द गराउने षडयन्त्रस्वरुप अहिले न्युनतम पारिश्रमिक बृद्धिको हतियार चलाइएको आरोप लगाउनुभयो । मिडिया सोसाइटीले सन्चार उद्योगलाई सेवामूलक उद्योगको मान्यता दिन र सन्चार नीति लगायत अन्य विषयमा सन्चार उद्यमीको सहमति लिन मन्त्रालयसँग आग्रह गरेको छ ।
सन्चार उद्यमीहरुसँगको छलफलले पत्रकारहरुको न्युनतम पारिश्रमिक लागु गर्ने सम्बन्धमा थप छलफल र बीचको बाटो निकास आवश्यक देखिएको सन्चार सचिव दिनेशकुमार थपलियाले बताउनुभयो । उहाँले ऐन कानुन पालना गराउने दायित्व सरकारको भएकाले सहमतिमा आएर सघाउन मिडिया सोसाइटीका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । मन्त्री राईले चाँडैनै मन्त्रालयले सन्चार उद्यमी र पत्रकार महासंघ सहित प्रमुख सरोकारवालाहरुको संयुक्त बैठक राखेर न्युनतम पारिश्रमिकमा सहमति जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रीको भनाइमा मिडिया सोसाइटीका पदाधिकारीले सहमति जनाएका छन् । मन्त्री राईले सन्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिलाउने लगायत सन्चार उद्यमीका समस्या समाधानमा आफूले सन्चार मन्त्रीका हैसियतमा पूर्णरुपमा सघाउने बचन समेत व्यक्त गर्नुभएको छ । एक साताभित्रै पारिश्रमिक बृद्धिका लागि मन्त्रालयले सरोकारवालाको बैठक बोलाउनेभएको छ ।

चीन भ्रमण अत्यन्त सफल: प्रधानमन्त्री ओली

ICC Nepal China Program 1 JPG ICC Nepal China Program 2
प्रधानमन्त्री केपी शर्मा ओलीले, आफ्नो चीन भ्रमण अत्यन्त सफल भएको र भ्रमणले नेपाल चीन वीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्र नेपालले (International Concern Center) आज राजधानीमा आयोजना गरेको नेपाल चीन सम्बन्ध ः नयाँ आयाम र सम्भाव्यताहरु विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, भ्रमणबाट केही महत्वपूर्ण सम्झौताहरु भएका छन अब त्यसलाई कार्यान्वयनमा ल्याएर नेपालले लाभ लिन सक्नु पर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले चीनको भ्रमण र त्यहांको विकासबाट हामीले धेरै सिक्ने अवसर पाएका छौं भन्दै अरुको अनुभवबाट अब हामीले सिकेर आफ्नै मौलिकतामा नेपालको विकास गर्न सबैले तत्काल सोच्ने बेला आएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अरुको आलोचना गरेर मात्र नेपालको विकास नहुने र विकासको लागि आफ्नै ढंगले सोचेर अघि बढन् सबैलाई आग्रह गर्नु भयो ।
नेपालमा अधिकार र समानताका लागि भएका धेरै लडाइ र आन्दोलनबाट प्राप्त अधिकारलाई संबिधानले संरक्षण गरेको छ भन्दै प्रधानमन्त्री ओलीले अबको हाम्रो सम्पुर्ण प्रयत्न आर्थिक विकासमा हुनु पर्ने पनि बताउनु भयो ।
दुइ ठुला देशको वीचमा रहेको नेपाल आकारमा सानो भए पनि सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र् हो भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनता छिमेकी देशबाट नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा गरिएको सम्मान हेर्न चाहन्छन भन्नु भयो ।
कार्यक्रममा नेपालका लागि चीनका राजदुत ऊ चुन्ताइले नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण अत्यन्त सफल रहेको र त्यसलाई चीनले महत्वका साथ लिएको बताउनु भयो ।
उहांले नेपालमा जारी भएको नयाँ संबिधानको चीनले हृदयदेखिनै स्वागत गरेको छ भन्दै अब चीन नेपालको तिव्र विकास र सम्बृद्धिको चाहनामा रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कंग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले, प्रधानमन्त्रीको चीन भ्रमण अत्यन्त उपलव्धीमुलक भएको भन्दै प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा आए नेपालको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
सोही कार्यक्रममा एकीकृत नेकपा माओवादीका सांसद राम कार्कीले, चीनको विकासलाई हेरेर नेपालले आफ्नो विकासको लागि आफ्नै खाकामा विकास योजना अघि बढाउनु पर्ने बताउनु भयो ।
चीनका लागि नेपालका पूर्व राजदुत हिरण्यलाल श्रेष्ठले, प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला भएका सम्झौता नेपालको दीर्घकालिन हितको पक्षमा छ भन्दै चीनसंग भएको सम्झौताले कोही छिमेकीले के भन्ला भनेर सोच्न आवश्यक नभएको बताउनु भयो ।
उहांले चीनसंग भएको पारवहन यातायात सम्झौता, नेपालमा पेट्रोलियम पदार्थको उत्खनमा चीनले गर्ने सहयोग लगायतका सम्झौता नेपाललाई आत्मनिर्भर बनाउने खालको भएकोले तत्काल कार्यान्वयनमा जाने गरी कार्यक्रम अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व मुख्य सचिव लिलामणि पोखरेलले, चीनसंग धेरै पहिले हुनु पर्ने सम्झौता ढिलै भए पनि यो सरकारले गरेको छ भन्दै सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा अन्तराष्ट्रिय सरोकार केन्द्र नेपालका अध्यक्ष डा. अन्जान शाक्यले पनि प्रधानमन्त्रीको चीन भ्रमण अत्यन्त उपलव्धीमुलक भएको भन्दै अब यसलाई कार्यान्वयनमा ल्याएर नेपालको हितमा देखाउनु पर्नेमा जोड दिनु भयो ।

सभापति विष्ट मनोमानी ढंगले अघि बढ्दा नेजस अमेरिका गम्भीर संकटमा

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट पछिल्ला दिनमा मनोमानी र एकलौटी ढंगले निर्णय प्रक्रियामा सहभागी हुँदा सजनसम्पर्क समितिकै भविष्य संकटमा परेको छ । लोकतान्त्रिक पार्टीको भातृ संस्थाले लोकतान्त्रिक क्रियाकलाप गर्नुपर्नेमा एकलौटी ढंग ले विष्टले जस्तासुकै निर्णयमा कलमको मसी चोपिदिने गरेका कारण सिँगो जनसम्पर्क समिति यतिबेला विष्टप्रति कुद्ध भएको छ । पछिल्लो समयमा राष्ट्रिय महत्वका केही विषयहरुमा समेत विष्टले कार्य समिति लाई बाईपास गर्दै आफूखुसी निर्णय गरेपछि जनससम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष, महासचिव, उपसभापति, कोषाध्यक्ष, लगायतका व्यक्तिले त्यसको कडा शब्दमा भत्र्सना गर्नुभएको छ ।  संस्थाको सभापति भएदेखि नै कार्यसमितिमा आपूखुसी  ढंगले कार्य गर्दै विवादको घेराभित्र पर्दै आएका सभापति विष्टले पछिल्लो पटक ‘नेपाल डे परेड–२०१६’ मनाउने विषयमा न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा गएर एकलौटी ढंगले हस्ताक्षर गरेर आएपछि उनको विवादित कामको शिलशिल पुनः दोहोरिएको छ ।

सिँगो कार्यसमितिलाई जानकारी नै नगराई विष्टले आफूखुसी रुपमा यो विषयमा निर्णय लिँदै महावाणिज्य दूतावासमा पुगेर संस्थाको तर्फबाट हस्ताक्षर गर्नु लोकतान्त्रिक विधि र प्रक्रियामाथिको ठाडो प्रहार भएको जनसम्पर्क समितिका कार्यसमितिमा रहेका विभिन्न व्यक्तिहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ । आगमाी मे ११ म्यानहन्टमा गर्न लागिएको सो कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट सहभागिता जनाउनु अघि विष्टले कार्यसमितिका कसैलाई पनि जानकारी नगराई एक्लै आफूखुसी रुपमा निर्णय प्रक्रियामा सहभागी हुँदा कार्यसमितिले विष्टको कार्यशैलीको भत्र्सना गरेको हो । यसरी भत्र्सना गर्नेहरुमा नेपाली जनसम्पर्क समिति अमेरिका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी, महासचिव, मुनिन्द्र नेम्वाङ्ग, उपसभापति सिपी पौडेल, कोषध्यक्ष विजय थुलुङ्ग, सचिब भोज राज थोकर लगायत छन् । विज्ञप्तिमा भूकम्प र नाकाबन्दीले थिलो थिलो भएको नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण हुने यस्ता कार्यक्रम गरिनु अत्यन्तै सकारात्मक भएपनि अध्यक्षको कार्यशैलीले गर्दा सिँगो कार्यसमितिको एजेन्डा विना नै अध्यक्ष एक्लै अघिबढ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

यस्तो छ कार्यसमितिका विभिन्न व्यक्तिहरुले निकालेको विज्ञप्तिः

बरिष्ठ उपाध्यक्ष
धनञ्जयनरसिंह केसीको विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपालको धार्मिक, सांस्कृति तथा पर्यटकीय महत्व र यसको बारेमा विश्वसामु प्रचार प्रचार गर्नुपर्ने सबैको दायित्व हो । यही सिलसिलामा आगामी मे ११ मा अमेरिकामा ‘नेपाल डे परेड २०१६’ सम्बन्धी विशेष कार्यक्रम हुन लागेको प्रति अत्यन्तै खुसी लागेको छ । भूकम्प र नाकाबन्दीबाट मुलुकको अर्थतन्त्र जर्वर नेको अहिलेको अस्थामा विदेशी भूमिका यस्ता कार्यक्रम हुँदा आर्थिक मेरुदण्डको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र पुरानै गतिमा अघिबढ्नेमा दुई मत छैन । यस्तो महत्वपूर्ण कार्यमा म बरिष्ठ उपाध्यक्ष रहेको नेपाली जनसम्पर्क समितिका तर्फबाट समेत सहकार्य भएको थाहा पाउँदा अत्यन्तै खुसी लागेको छ । जनसम्पर्क समितिका तर्फबाट सभापति आनन्द विष्टले महावाणिज्यदुतावासमा पुगेर हस्ताक्षर गर्नुभएको रहेछ । तर यहाँ मैले यो विज्ञप्ति मार्फत के मात्रै स्पष्ट पार्न चाहेको हो भने  सभापति विष्टले उहाँले एकपटक पनि हामीसँग यो विषयमा कुनै सल्लाह र छलफल नै नगरी एकलौटी तरिकाले नेपाली महावाणिज्य दूतावास मा पुगेर संस्थाको प्रतिनिधित्व गराउनुभएको हो । आफ्नो माउ पार्टीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासन जस्ता मूलभूत मर्म र भावना विपरित, संस्थालाई नै बदनाम गराउने हिसावल सभापतिले  सिँगो कार्यसमितिलाई नै जानकारी नगराई यस्ता ऐतिहासिक महत्वका विषयमा एकलौटी निर्णय गर्दा सिँगो कार्यसमिति दुःखी छ । नेपाल डे परेड मनाउने विषयमा कार्यसमितिका साथिहरुको पनि सकारात्म सुझाव तथा सल्लाहहरु थिए होलान् । तर सभापतिले आफूलाई सर्बोपरी ठानेर एक्लै अघि बढ्नुका पछाडिको कारण के हो अधिकांश साथीहरु यसको जवाफमा छन् । नेजस अमेरिका जस्तो जिम्मेवार संस्थाका सभापतिको यस्तो गैरजिम्मेवारीपूर्ण कामले सबैलाई स्तव्ध बनाएको छ । नेपाल र नेपालीको बारेमा विश्व समुदायलाई जानकारी गराउने यो पुनित कार्यमा किन कार्यसमतिलाई बाईपास गरेर सभापति अघि बढ्नु भयो ? त्यसको तार्किक जवाफ सभापतिसँग पक्कै छैन होला । कार्यसमितिका ९० प्रतिशत साथिहरुलाई जानकारी नै नगराई निर्णय प्रक्रियामा सहभागी हुने र त्यहाँ गएर संस्थाको प्रतिनिधित्व गर्ने नैतिक आधार तपाईँसँग के छ ? भोलि यी कार्यसमितिका साथिहले तपाईका यी कर्तुतको भण्डाफोर गरे भने त्यसको सामना गर्न तपाईँ सक्नुहुन्छ ? त्यसैले म न्यूयोर्कस्थित नेपाली कन्सुलेट अफिस र अन्य सबै सरोकारवाला निकायहरुलाई के जानकारी गराउन चाहन्छु भने नेपाली जसम्पर्क समितिका ९० प्रतिशत साथिहरुको सहमति विना गरिएको यो निर्णय नेजस अमेरिकाकोको निर्णय हुँदै सक्दैन । यद्यपि नेपाल डे परेड मनाउने विषयमा मेरो बेक्तिगत रुपमा पूर्ण साथ र समर्थन छ । यसरी एकलौटी ढंगले निर्णय गर्ने व्यक्तिले भोलि संस्थाको हित विपरित हुने गरी निर्णय नगर्ला भन्ने आधार के ? त्यसैले अब यसप्रति सम्बन्धित सबै निकाय लाई विशेष चनासो रहन अनुरोध गर्दछु । संस्थागत रुपमा भन्दै उहाँले व्यक्तिगत निर्णय गर्ने र भोलि नकारात्मक काम भएको खण्डमा सिँगो कार्यसमिति नै विवादमा तानिने काम हुने खतरा पनि रहेकोले यसतर्फ बेलैमा सचेत हुनुको कुनै विकल्प छैन । पछिल्लो पटक सभापतिको यो कार्यशैली अत्यन्तै तानाशाही ढंगको भएकाले आउँदा दिनमा संस्थाको नाममा हुनसक्ने विभिन्न क्रियाकलापमा तपाईँहरुले सिँगो कार्यसमितिबाट निर्णय भएर आएको हो होइन बुझेर मात्रै संस्थालाई सहभागी गराउनुहुन अनुरोध गर्दछु । अन्त्यमा नेपाल डे परेड २०१६ को पूर्ण सफलताको कामना गर्दछु ।

धनञ्जयनरसिंह केसी
बरिष्ठ उपभापति, नेजस अमेरिका ।

उपसभापति सिपी पौडेलले फेसबुकमार्फत जारी गर्नुभएको विज्ञप्ति: 

विज्ञप्ति

नेपाल डे परेड २०१६ मनाउने सम्बन्धमा नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रिय समितिमा कुनै निर्णय र छलफल नभएकोले महावाणिज्यदूतावास न्यूयार्क बाट प्रकाशित सूचनाप्रति मेरो ध्यानाकर्षण भएको छ कुनै पनि संस्था सामाजिक कार्यक्रममा सहभागि हुनुभन्दा अगाडि संस्थागत निर्णय हुनु आबश्यक हुन्छ ।
सिपी पौडेल
उपसभापति,नेजस अमेरिका ।

महासचिव मुनन्द्रि नेम्वाङ्गद्वारा जारी विज्ञप्ति

प्रेस विज्ञप्ति

आदरणीय साथिहरू
जय नेपाल !

भर्खरै मात्र विभिन्न सामाजिक संजालहरू मार्फत जानकारीमा आएको ‘नेपाल डे परेड २०१६’ को सम्बन्धमा नेपाली जनसंपर्क समिति अमेरिकाको नाम पनि महावाणिज्यदूतावास न्यूयोर्क द्वारा ३० मार्चमा प्रेषित विज्ञप्ति मा जोडिन आएको प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । प्रवासमा रहेका सबै नेपालीहरूले राष्ट्रका हितमा हुने सम्पूर्ण गतिविधिहरूमा सहभागिता जनाउँनै पर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको जानकारी गराउँदछौं । हामीले हाम्रा नेपाली समुदायका जो कोहिले पनि सुरू गर्न लागेको असल कार्यहरू को सदैव स्वागत र समर्थन गर्ने परम्पराको धेरै पहिले देखि अनुसरण गर्दै आइरहेका छौं । कतिपय असल कार्यहरूको थालनी पनि हतारका कारण उद्देश्य प्राप्तिका लागि गतिलो उठानी नगर्नाले निस्प्रभावकारी भएका प्रसस्त उदाहरणहरू हामीमाझ छदै छन् । हाम्रो संगठनका केही साथिहरूले पनि यस्ता पुनीत कार्यमा संगठनको संरचना भित्र साधारण छलफल समेत नगरी एकाएक संगठनको सहभागिता जनाउँदा हाम्रो आफ्नै संगठनको गरिमामा पनि ठुलो प्रश्न चिन्ह खडा भएको छ रु ‘नेपाल डे परेड २०१६’गर्ने निर्णयमा अमेरिकामा रहेका सबै संघ संस्थाहरूलाई समान सहभागिता गराउँनु पर्नेमा, केहि संकोचित बिचारका कारण अमेरीकामा रहेका थुप्रैं प्रभावशाली संगठनहरूको उपस्थितिलाई वेवास्ता गरिन्नु आफैमा एउटा दुस्खको कुरा हो । निर्बिवाद रूपमा संपन्न हुनुपर्ने यस्ता कार्यक्रमको सुरूवातमै केहि विवादहरू देखिन्नु कार्यक्रम सफल हुने शुभ लक्षण होईन । पर्यटन प्रवद्धनका मुल उद्देश्य लिएको यो कार्यक्रममा सम्वन्धित संघ संस्था संग सामान्य छलफल नै नगरीनु अर्को उदेकलाग्दो कुरा हो ।

हाम्रा बिचारमा यस्ता महान कार्यहरूको सुरू गर्दा समाजका विभिन्न तह तप्काका समुदायहरू, विज्ञहरू , विभिन्न संघ संस्थाहरू संगको व्यापक छलफल पश्चात मात्रै कार्यक्रम तय गर्दा त्यसको प्रतिफल उपलब्धि मुलक हुनेछ भन्ने हाम्रो ठहर्याई भएको जानकारी गराउँदछौं । कार्यक्रमको आयोजक मध्ये एक भनिएको हाम्रो संस्था संग सम्बन्धित एकाध सदस्यहरूले मात्र यो कार्यक्रममा सहभागिता जनाएको छ । कार्यक्रममा सहभागिता हुने बारेमा नेपाली जनसंपर्क समिति अमेरिकाले कुनै आधिकारिक निर्णय गरेको छैन , त्यसले ‘नेपाल डे परेड २०१६’मा हाम्रो संस्थाको संस्थागत सहभागिता नरहेको सबैमा र महावाणिज्यदूतावास न्यूयोर्क मा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।

धन्यवाद
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसंपर्क समिति अमेरिका

यस्तै नेजस अमेरिकाका कोषध्यक्ष विजय थुलुङ्गले पनि सभापतिको यो रवैया प्रति भत्र्सना व्यक्त गर्नुभएको छ । थुलुङ्गले संस्थाको नाममा निर्णय प्रक्रियामा सहभागी हुँदा कार्यसमितिलाई कुनै जानकारी नगराईनु अत्यन्तै निन्दनिय भएको उल्लेख गर्नुभएको छ । यस्तै उपसचिव भोजराज थोकरले सामाजिक सञ्जाल मार्फत आफ्नो विज्ञप्ति सार्वजनिक गर्दै पदाधिकारीहरुलाई जानकारी नै नगराई निर्णय गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले ‘फेसबुकबाट संस्थाको निर्णय थापा पाउनुपर्ने अवस्था आउनुका पछाडि सभापतिको के स्वार्थ रहेको छ त्यो बुझ्न सकिएन’ भनेर उल्लेख गर्नुभएको छ।

सभापति आनन्द विष्टका हर्कतका विरुद्ध कार्यसमितिका ९० प्रतिशत सदस्यहरु विरोधमा उत्रिएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको विवाद अब सतहमै छताछुल्ल भएको छ । यस्तै अवस्था रहिरहे संस्थाकै भविष्य खतरामा पर्नसक्ने भन्दै अमेरिकामा रहेका नेजसका सुभेच्छुक तथा अन्य संस्थाहरुले दुःखेसो पोखेका छन् ।

 

प्रथम रमपम झापा गोल्डकप आजदेखि शुरु हुँदै, झापा र साङ्ली भारत भिड्दै

प्रथम रमपम झापा गोल्ड कप २०७२ आजदेखि झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा शुरु हुँदैछ । आजको उद्घाटन खेलमा झापा ११ ले भारतको साङ्ली डिष्ट्रीक क्लबसँग खेल्दैछ । खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद ६ लाख र उपबिजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन । नकआउट चरणमा खेलाईने खेलमा भारतका दुईवटा ए डिभिजनका टिमसहित नेपालका बाँकी ८ टिम गरी जम्मा १० वटा टीमको सहभागिता रहेको छ । मुलुकमा नै सबैभन्दा बढी फुटबल गतिविधि हुने झापालाई फुटबल शहरको रुपमा विकास गरी फुटबल पर्यटनको गन्तब्य बनाउने झापा जिल्ला फुटबल संघको लक्ष्य अनुसार प्रतियोगिताको आयोजना गरिएको जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो । प्रतियोगीता हेर्नलाई १० हजार दर्शक अटाउने गरि प्याराफिट निर्माण गरिएको छ । फाइनल खेल चैत २७ गते हुने छ ।

भावी रणनीति तय गर्न मधेसी मोर्चाको बैठक बस्दै

भावी रणनीति बनाउन मधेसी मोर्चाको बैठक आज बस्दैछ । आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले आन्दोलनका रणनीति बनाउना मोर्चाको बैठक बस्न लागेको हो । विगतको आन्दोलनमा भएका कमिकमजोरी तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको नेताहरुले बताएका छन् । संविधानप्रति असन्तुष्ट जनाउँदै मोर्चाले पाँच महिनालामो मधेस बन्दसहित विरोधका कार्यक्रम संचालन गरेको थियो। तराईमा दुई प्रदेश हुनुपर्ने अडान लिएको मोर्चाको माग पूरा नहुँदै आन्दोलन शिथिल भएको थियो । आज बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनको एजेण्डा र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिनुभयो । वैशाखदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने गरी मोर्चाले तयारी गरेको छ ।

Wednesday, March 30, 2016

अमेरिकी पुरस्कार लिन नदिइएकोप्रति चिनियाँ वकिलको आपत्ति

बेइजिङ, १८ चैत । आफूलाई अमेरिकी पुरस्कार लिन अमेरिका जान नदिइएकोप्रति एकजना चिनियाँ अधिवक्ताले अपत्ति जनाउनुभएको छ ।
उहाँले यसलाई आफ्नो स्वतन्त्रतामा रोक लगाइएको भनी चिनियाँ सरकारको उक्त कदमको विरोध गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले बिहीबार एएफपीका समाचारदातासमक्ष यो गुनासो गर्दै सरकारले अमेरिकाको भ्रमण गर्न रोक लगाएर आफ्नो नागरिक स्वतन्त्रताको हनन् गरेको जानकारी दिनुभएको हो ।
चिनियाँ अधिकारवादी अधिवक्ता नि युलानलाई मेरिकाले दिएको एक मानवअधिकारसम्बन्धी पुरस्कार लिन जान चीनले अनुमति दिएको थिएन । उक्त कार्यक्रममा उहाँ मङ्गलबार उपस्थित हुनुपर्ने थियो ।
तर चिनियाँ प्रहरीले उहाँलाई देश बाहिर भ्रमण आदेश नभएको भन्दै अन्तिम समयमा जानकारी गराएको थियो । सो आदेशपछि उहाँ मङ्गलबार वासिङ्टन डिसीमा उपस्थित हुन नसक्नुभएको हो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ् एक आणविका सम्मेलनका लागि अमेरिकी सो सहरमा पुग्नुभएको एकदिन अघि आयोजित सो समारोहमा उहाँलाई उपस्थित हुनबाट रोक लाइएको समाचारमा जनाइएको छ ।
उहाँले अन्तर्राष्ट्रिय साहसिक महिलाको पुरस्कार प्राप्त गर्नुभएको थियो । मानवअधिकारका क्षेत्रमा लागेर कामगर्ने विभिन्न अन्तर्राष्ट्रिय स्तरका महिलालाई सो पुरस्कार प्रदान गरिएको हो ।
उहाँले भन्नुभयो– मलाई अन्तिम समयमा आएर अमेरिका भ्रमणको आदेश नभएको भनियो र गतवर्ष चीन सरकारले राखेको मानवअधिकारवादीहरुको करिब २०० जनाको समूहमा आफूलाई पनि राखिएको जानकारी दिइएको छ ।
चिनियाँ पब्लिक सेक्युरिटी ब्युरोले उहाँलाई अमेरिका भ्रमणको लागि अनुमति नदिएको जानकारी दिएको थियो । उहाँले आफ्नो नितान्त व्यक्तिगत विषयमा आफू विदेश भ्रमण गर्न लागेको तर नदिइएको यस विषयलाई नितान्त व्यक्तिगत भावना हो भन्नुभएको छ । रासस÷एएफपी

नगरविकासको जग्गा बिक्रीको छानबिन गर्न उच्चस्तरीय समिति गठन

कञ्चनपुर, १८ चैत । सहरी विकास मन्त्रालयले महेन्द्रनगर नगरविकास समितिको प्रक्रिया नपु¥याएर बिक्री वा लिजमा दिइएको जग्गाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

राजनीतिक दलको सर्वदलीय निर्णयपछि मन्त्रालयका सिनियर इन्जिनियर सुरज पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । नगरविकास समिति बोर्डको निर्णय विपरीत जग्गा लिजमा लिएको जनाउँदै सब्जीमन्डी लगायतका क्षेत्रमा भौतिक संरचना निर्माण हुन थालेपछि दलले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए ।

नगरविकास समितिका सदस्य देवराज मिश्रले सर्वदलीय निर्णयअनुसार समिति गठन गरिएको बताउनुभयो । प्रक्रिया नपु¥याएर जग्गा बिक्री गरिएको वा लिजमा दिइएको बारे छानबिन गर्न सर्वदलीय निर्णयबाट समिति गठनको माग गरिएको थियो ।
यसअघि मन्त्रालयका इन्जिनियर नवीन देवकोटाको संयोजकत्वमा गत वर्ष छानबिन समिति गठन गरिएको थियो । समितिले गत मङ्सिरमा सुझावसहितका प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । नगरविकास समितिलाई उपलब्ध गराएको प्रतिवेदनको प्रतिलिपिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयलाई समेत बोधार्थ दिइएको छ । प्रतिवेदनमा अध्यक्षको टिप्पणीका आधारमा जग्गा लिजमा दिएर प्रक्रिया मिचिएको उल्लेख छ ।

सांसदहरुले प्रक्रिया मिचेर बेचिएको वा लिजमा दिइका जग्गाको छानबिन हुनपर्ने माग राख्दै मन्त्रालयमा उजुरी दिएपछि गत भदौदेखि समितिका कामकाज रोकिएका छन् । समितिका कामकाज रोकिएको मौका छोपेर सब्जीमन्डी, पुरानो बसपार्क लगायतका क्षेत्रमा जग्गा कब्जा गरी धमाधम संरचना निर्माण गरिँदै आएका छन् । “समितिको कामकाज रोक्का गरी हातखुट्टा बाँधिएका छन्”, समितिका सदस्य मिश्रले भन्नुभयो, “छानबिन समितिले छानबिन गरेपछि मात्रै यसमा केही गर्न सकिन्छ ।” समितिका कामकाज रोक्का गरिएका कारण विभिन्न स्थानमा निर्माण गरिएका संरचनालाई रोक्न नसकिएको उहाँको भनाइ रहेको छ । रासस

ठेकेदारको लापर्बाहीले पुल निर्माणमा ढिलाइ

कावासोती, १८ चैत । नवलपरासीको निरन्दीखोलामा निर्माण भइरहेको पुल ठेकेदारको लापर्बाहीका कारण ढिलाइ भएको छ ।

जिविस नवलपरासीले स्थानीय पूर्वाधार सडक निर्माणअन्तर्गत रु एक करोड ४२ लाखको लागतमा सडक निर्माणको ठेक्का शान्ति निर्माण सेवा प्रालि काठमाडाँैलाई दिएको थियो ।

दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको पुलको १५ प्रतिशतभन्दा बढीको काम भएको छैन, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीले भन्नुभयो– “काम भएन त्यसैले थप १३ महिना समय थपेका छौँ ।” असार मसान्तमा यसको समयावधि सकिनेछ । जिविसले निर्माणमा ढिलाइ भएपछि २०७३ साउनबाट १३ महिना समय थप गरेको छ ।

पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीमा समस्या भएको कारण समयमा काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीका इञ्चार्ज विष्णुप्रसाद लामिछानेले बताउनुभयो ।

निर्माणको लागि आवश्यक पर्ने गिट्टी दलदलेबाट ल्याउनुपर्ने, आवश्यक इन्धन पनि प्राप्त नभएकाले निर्माण कार्यले तीव्रता पाउन नसकेको लामिछानेले बताउनुभयो ।

पुल नबन्दा पहाडी भेगका बासिन्दालाई वर्षायाममा आवतजावतमा समस्या हुने गरेको छ ।

ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्य दुई वर्षमा पनि पूरा नभएकाले २०७२ असार मसान्तमा कार्य सम्पन्न गर्ने गरी निर्माण थालनी गरिएको भएपनि हालसम्म पुलको एकातर्फको पिल्लरको आधा भाग मात्र उठाइएको छ भने अर्कोतर्फ फाउन्डेसन निर्माण कार्य भइरहेको छ । रासस

जनताको काम छिटो छरितो गर्न निर्देशन

चितवन, १८ चैत । भूमि सुधार तथा व्यवस्था राज्यमन्त्री विक्रम थापाले जनताको काम छिटो छरितो गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मालपोत र नापी कार्यालय भरतपुरको आज निरीक्षण पछि उहाँले जनताप्रति उत्तरदायी भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । सीमित स्रोत साधनको बाबजुत पनि जनमुखि सेवा दिन कर्मचारी अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

भूकम्पका कारण कमजोर भवनमा काम गर्नुपर्ने बाध्यता भए पनि यसकै कारण सेवाग्राहीको काम प्रभावित हुन नहुने मन्त्री थापाले बताउनुभयो । सो अवसरमा मालपोत कार्यालय प्रमुख टङ्कप्रसाद उपाध्यायले भूकम्पले कार्यालय भवन उच्च जोखिममा रहेको, पूर्वी चितवनमा सेवा केन्द्र आवश्यक भएको, साधन स्रोतको अभाव लगायत समस्याबारे मन्त्री थापालाई जानकारी गराउनुभएको थियो । रासस

प्रवेशिका परीक्षा सुरु : ‘विद्यार्थीमा भय र त्रास छैन’

काठमाडौँ, १८ चैत । भूकम्प र अघोषित नाकाबन्दीको असर बिर्सँदै आज बिहानबाट सवा छ लाख परीक्षार्थी (एसएलसी)प्रवेशिका परीक्षामा सामेल भएका छन् ।

बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा शान्तिपूर्ण सञ्चालन भइरहेको छ । परीक्षा १२ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी छन् । यस वर्षबाट अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुने गरी परीक्षा सुरु भएको हो । भूकम्प र अघोषित नाकाबन्दीको असरका बीच यस वर्ष विद्यार्थी पूर्ववत् समयमै परीक्षामा सामेल भएका छन् ।

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मी मात्रै २९ हजार १४५ परिचालन हुनेछन् ।

परीक्षाका क्रममा झापाको अनुगमनमा पुग्नुभएका शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले देभभर परीक्षा शान्तिपूर्ण रुपमा चलेको जानकारी आएको बताउनुभयो । विश्व निकेतन मावि, त्रिपुरेश्वरका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले त्यहाँ २९६ विद्यार्थी रहेकामा आज २९३ उपस्थित भएको बताउनुभयो । उहाँले विद्यार्थीमा कुनै त्रास र भय नपाइएको बताउनुभयो ।

शिक्षामन्त्री र सहसचिवको अनुगमन
परीक्षाको अनुगमनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि आज केही परीक्षा केन्द्रमा पुग्नुभएको छ । उहाँले शान्ति विद्या गृह, लैनचौर र महेन्द्र मावि, बालुवाटारको परीक्षा केन्द्र पुगी अनुगमन गर्नुभएको हो । त्यहाँ परीक्षा मर्यादित पाइएको मन्त्री पोखरेलका प्रमुख स्वकीय सचिव जागृत रायमाझीले जानकारी दिनुभयो ।

यही चैत २९ गतेसम्म चल्ने परीक्षाको अनुगमनका लागि मन्त्री पोखरेल काठमाडौँ उपत्यकाबाहिरका जिल्लामा पनि जाने कार्यक्रम छ । कतिपय स्थानमा शिक्षा सचिव विश्वप्रकाश पण्डित पनि अनुगमनमा जानुहुनेछ ।

यस्तै परीक्षा नियन्त्रण कार्यालयले १४ अञ्चलमा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन टोली खटाएको छ ।

त्रुटि सच्याउने मौका
परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका (एसएलसी) परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्नेछन् ।

पहिलोपटक गरिएको सो व्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्ममिति, विषयलगायत त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौंसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले उनीहरुलाई परीक्षाको अन्तिम दिनमा सम्पूर्ण विवरण उल्लेख भएका परिचयपत्र उपलब्ध र विद्यार्थीले कुनै त्रुटि देखेमा तत्कालै सम्बन्धित परीक्षा केन्द्रमा विवरण सच्याउन निवेदन दिन सक्ने जानकारी दिनुभयो । प्रकाश सिलवाल/रासस

काष्ठमण्डप पुरानै शैलीमा निर्माण हुने

काठमाडौँ, १८ चैत । काठमाडौँको महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनः निर्माण फेरि पुरानै कला र शैलीबाट हुने भएको छ । पुनः निर्माणका लागि करिब रु १४ करोड लाग्ने बताइएको छ ।

पुरातत्व विभागका निर्देशक भेषनारायण दाहालका अनुसार पुनः निर्माणको सम्पूर्ण नक्सा तयार भइसकेको छ, भूकम्पअघि जुन किसिमको काष्ठमण्डप देख्न पाइन्थ्यो सोही अनुरुप पुनः निर्माण हुने छ ।

“विशेष किसिमको महत्व बोकेको ऐतिहासिक सम्पदा भएको हुँदा र बहुवर्षीय योजना रहेकाले निर्माणको समय झन्डै चार वर्ष लाग्ने विभागले अनुमान गरेको छ ।
निर्माणको सम्पूर्णको जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले अबको केही महिनामा नै निर्माणको काम सुरु गर्ने बताएको छ । गत वैशाखमा गएको भूकम्पले गर्दा काष्ठमण्डपको क्षति भएको थियो । पुनः निर्माणका लागि आधिकारिक नक्साको डिजाइन प्राप्त हुनासाथ निर्माणका लागि टेन्डर आह्वान गरिने महानरपालिकाको सम्पदा विभागले बताएको छ ।
काठमाडौँको पहिचान बनेको काष्ठमण्डपको निर्माण जतिसक्दो छिटो, बलियो र सुन्दर बनाइनेछ । निर्माणमा सहभागी विज्ञको सल्लाहअनुरुप काम लाग्नेसम्म काष्ठमण्डपमा प्रयोग भएका पुराना काठ पनि प्रयोग गरिने र बलियो हुने हुँदा अन्य सबै सालको काठ नै प्रयोग गरिने तयारी रहेको छ । भत्कनुअघिको काष्ठमण्डप एउटै रूखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचीन किंवदन्ती रहेको भए पनि पुनः सोही अनुरुप निर्माण सम्पन्न गर्न भने सकिनेछैन ।

पोखरामा दिउँसै अन्धकार, असिनासंगै भिषण बर्षा

पोखरामा आज दिउँसै अन्धकार भएको छ । दिउँसो सवा ४ बजेतिर मेघगर्जनसहित परेको भिषण असिना पानीसंगै पोखरा अन्धकार बनेको छ । थोरै मात्रै गुडेका सवारी साधनले पनि दिउँसै हेडलाइट बाल्न बाध्य भएका छन् भने ठूलो असिना पानीले खेतबारीमा भएको लहरे बाली र सुन्तला लगायतका फलफुलमा ठुलो क्षति पुगेको छ ।

पहिलो र दोस्रो पटकको असिनाबाट केही मात्र जोगिएको लहरे बालीमा पनि आजको असिना पानीले थप क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालय कास्कीका बरिष्ठ कृषि विकास अधिकृत रमेश प्रसाद कोइरालाले बताउनु भएको छ ।
मौषम पूर्वानुमान महासाखाले दिउँसो हल्का वर्षा हुने संकेत गरेपनि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको थियो । कास्कीको कास्कीकोट वडा नं ३ र ४ मा असिनाका कारण व्यापक धनजनको क्षति भएको स्थानीय देवेन्द्र सुवेदी जानकारी दिनुभयो ।

सरकारको काम कछुवा गतिमा -एमाओवादी प्रवक्ता शर्मा

एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले वर्तमान सरकारको काम कछुवाको गति जस्तै रुपमा अगाडि बढेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा गरेको साक्षात्कारमा उहाँले वर्तमान सरकारको काम कारवाही प्रभाबकारी नभएको भन्दै सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनु भएको हो । उहाँले काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तनको बिषय हल्ला मात्र भएको बताउँदै यहि सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शिर्ष नेताहरु लागि परेको बताउनु भयो । प्रवक्ता शर्माले नेपाल सरकारका प्रधानमन्त्रीको चीन भ्रमणमा गरिएको सम्झौताहरुको कार्यान्वयनमा जटिलता देखिएको टिप्पणी पनि गर्नुभयो ।

संचार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य योजनाकार पक्राउ

जनकपुरका संचार उद्यमी अरुण सिंघानियाको हत्याका मुख्य योजनाकार मानिएका जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका अध्यक्ष चन्द्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । गएराती जनकपुर वडा नम्वर १ स्थित वकिल टोलबाट यादव पक्राउ परेको जनकपुर अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक सुरेश बिक्रम शाहले जानकारी दिनुभयो । यादवसँगै प्रमी रुक्मिनि देवी र भाईलाई पनि पक्राउ गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको वरिष्ठ प्रहरी उपरिक्षक शाहले बताउनुभयो । जनकपुरबाट प्रकाशित जनकपुर टुडे दैनिक पत्रिका तथा रेडियो टुडेका संचालक सिंघानियाको २०६६ साल फागुन १७ गते होली पर्वको दिन गोली प्रहारबाट हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका यादवले भारत विहारको विभिन्न प्रमुख शहरहरुमा बसेर आपराधिक क्रियाकलाप गर्दै आएको पाइएको छ । गत माघ २२ गते धनुषाको बालाबाखरमा नेपाली कांग्रेसका नेता राजेन्द्र यादवको हत्याको साथै बिरेन्द्र बजारमा नसिम मिंयालाई हत्याको प्रयास गरिएको अरोप पनि उनलाई लागेको छ । सिंघानिया हत्याको अर्का आरोपी मानिएका रामबिनोद यादव भने फरार छन् ।

सरकारको कामप्रति उप्रधानमन्त्री थापा नै असन्तुष्ट

वर्तमान सरकारका उपप्रधान, संघीय मामला तथा स्थानीय विकास मन्त्री कमल थापाले वर्तमान सरकारको काम सन्तोषजनक नभएको बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हेटौँडा उपमहानगर समितिको नगर परिषद् वैठकको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले सरकारको कामप्रति असन्तुष्टि ब्यक्त गर्नु भएको हो । मन्त्री थापाले सरकारले आपूर्ति व्यवस्था ठीकसँग चलाउन नसकेको र नागरिकले परिवर्तनको अनुभूति गर्न सक्ने गरी काम गर्न नसकेको स्वीकार गर्नुभयो । भारतको अघोषित नाकाबन्दी हटाउन र सम्बन्ध सुधार गर्न भने सरकार सफल भएको भन्दै चीनसँग भएको पछिल्लो समझदारीलाई ऐतिहासिक भएको बताउनुभयो ।

मधेसी मोर्चाले बिथोल्यो नगरपरिषद

सर्लाहीको नव घोषित बरहथवा नगरपालिकाको आज तय गरिएको पहिलो नगर परिषद मधेसी मोर्चाले बिथोलेको छ । सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित एमालेका सांसद हरि उप्रेतीलाई प्रमुख बनाएपछि मोर्चाका कार्यकर्ताले नगर परिषद् बिथोलेका हुन् । क्षेत्र नं.३ को एक मात्र नगरपालिकामा सोही क्षेत्रबाट निर्वाचित सांसदलाई मधेश बिरोधी दलका नेता भन्दै मोर्चाले नगर परिषदको अतिथि मान्य नहुने भन्दै बिरोध गरेपछि परिषद् स्थगित भएको छ । नेकपा एमाले र मधेशी मोर्चाबीचको बिवादले आजका लागि तयारी गरिएको नगर परिषद भोली गर्ने सहमति भएको बरहथवा नगरपालिकाका कार्यकारी अधिकृत राधेश्याम गिरीले बताउनुभयो । राजनीतिक दलबाट अतिथि बनाउदा बिवाद हुने भएपछि नगरपालिकाकै जेष्ठ नागरिकलाई अतिथि बनाएर भोली बिहान ११ बजे नगर परिषद उदघाटन गराउने सहमति भएको छ ।

कपिलवस्तुबाट १० जना दृष्टिविहिनले एसएलसि परिक्षा दिदै

भोलीबाट शुरु हुने यसवर्षको एसएलसी परीक्षामा कपिलवस्तुबाट १० जना दृष्टिविहिन सहित कुल ८ हजार ९० जना सहभागी हुने भएका छन् । कार्यालयका अनुसार नियमित तर्फ जिल्लामा ६ हजार १ सय ५२ मध्ये १ सय १४ खुल्ला ३८ जना प्राविधिक समुह, दृटिविहिन १० जना तथा इक्जाम्टेड तर्फ १ हजार ९ सय ३८ गरी कुल ८ हजार ९० जना परीक्षार्थी रहेको सहायक जिल्ला शिक्षा अधिकारी थानेश्वर ज्ञवालीले बताउनुभयो । २०७२ सालको एसएलसी परीक्षाका लागी कपिलवस्तुमा २६ बटा परीक्षा केन्द्र कायम गरिएको छ ।

Tuesday, March 29, 2016

एमाले स्थायी कमिटीले विभागमा मनोनयन गर्न सकेन

काठमाडौँ, १७ चैत । नेकपा (एमाले) को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बसेको बैठकमा सो कार्यसूचीमाथि मङ्गलबारको स्थायी कमिटीको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्तावमा प्रस्तुत भए पनि निर्णय हुन सकेन ।

विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो ।

प्रधानमन्त्री ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि ओलीले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगन गर्नुभएको केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा चीन भ्रमणबारे उहाँले आफ्नो बैठकमा जानकारी गराउनुभएको थियो भने भ्रमण ऐतिहासिक भएको ठहर गरिएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा दुई देशबीच यातायात तथा पारवहन सम्झौतालगायतका सम्झौता भएको र भ्रमण समग्रमा सफल रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओली यही चैत ७ देखि १४ सम्म छिमेकी चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । चीनले देखाएको सत्कार र सद्भावका लागि बैठकले आभार पनि व्यक्त गरेको छ ।

गत फागुन २३ र २४ गते सम्पन्न स्थायी कमिटीको ३४ औँ बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे समीक्षा भएको थियो ।
नवौँ महाधिवेशनयता मनोनयन हुन नसकेका ती पदमा यही चैतको अन्तिम साता हुने केन्द्रीय कमिटीको बैठकअगावै निर्णयमा पुग्ने तयारी भएको बुझिएको छ ।

पोलिटब्युरोको बैठक यही चैत २३ र २४ गते तथा केन्द्रीय कमिटीको बैठक चैत २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने तय भएको छ । रासस

भोलिदेखि देशभर एसएलसी, छ लाख १५ हजार परीक्षार्थी सहभागी

भक्तपुर, १७ चैत । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिनभयो ।

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुने छन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने छन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

एसएलसी परीक्षा भोलि चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । जसअनसार चैत १८ गते अङ्ग्रेजी, चैत १९ गते नेपाली, चैत २१ गते गणित, चैत २२ गते विज्ञान, चैत २३ गते सामाजिक, चैत २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, चैत २५ गते ऐच्छिक प्रथम, चैत २६ गते ऐच्छिक द्वितीय, चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक विषयको बाँकी विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक काप्रीले बताउनुभयो ।

कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ । एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो ।

यसरी परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेश पत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले गल्ती भएको विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनसक्ने काप्रीको भनाइ थियो ।

गत वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु हुने भएको हो ।

यस वर्षको एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिनुभयो ।

परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्ति र नक्कली परीक्षार्थीलाई रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।

‘होमसेन्टर’ भएका विद्यालयमा सोही विद्यालयमा कार्यरत व्यक्तिलाई परीक्षामा खटाउन नपाइने र परीक्षार्थीले कुनै पनि किसिमको अनियमितता एवम् अनुशासनहिन काम गरेमा, अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गर्ने भएको छ । रासस

मोटरसाइकल परीक्षण केन्द्र सारिने

काठमाडौँ, १७ चैत । यातायात व्यवस्था विभागले ललितपुरको एकान्तकुना नजिकै भएको मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थमा स्थानान्तरण गर्ने भएको छ ।

अहिलेको स्थान साँघुरो भई परीक्षणका काम गर्न असुविधा भएपछि सो कार्यालय सार्नका लागि तयारी भएको हो । विगतमा काठमाडौँबाट हेटौँडासम्म सञ्चालनमा रहेको ‘रोप वे’ मार्गको करिब ३४ रोपनी जग्गालाई यसका लागि व्यवस्था गरिने भएको छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले त्यहाँ मोटरसाइकलको परीक्षण केन्द्र स्थापनाका लागि गृहकार्य भइरहेको जानकारी दिँदै नयाँ स्थानमा उक्त कार्यालय स्थानान्तरण भएपछि विभागका अन्य कार्यालय पनि आवश्यकताअनुसार सार्न सकिने बताउनुभयो । रासस

संविधान निर्माणपछि नेपाल नयाँ युगमा : डा भट्टराई

नेपालगन्ज, १७ चैत । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस आन्दोलनको मागलाई सहमतिबाट टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले भन्नुभयो–“संविधान निर्माणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, अब हामी सबै मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा अग्रसर हुनुपर्छ ।” पुरानो राजनीतिक चिन्तनबाट मुलुक र जनताको हित हुन नसक्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति, नयाँ सोच र नयाँ जाँगरबाट मात्र स्थिर राजनीतिक र सामाजिक विकास सम्भव हुन सक्छ भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले आप्mनो स्वाभामिन गुम्न नदिएर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै ती दुवै देशको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सक्नुपर्छ भन्नुभयो ।

संविधानको विकल्प अर्को संविधान हुन नसक्ने स्पष्ट पार्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले विवादित विषय यही संविधानलाई संशोधन गरेर समाधान गर्नुपर्छ भन्नुभयो । रासस

नेपाल–भारत सम्बन्ध आत्मीय : राजदूत राय

पाल्पा, १७ चैत । भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध आत्मीय रहेको बताउनुभएको छ ।

पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाले मङ्गलबार साँझ यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले नेपाल र भारतबीच केही खटपट हुनु सामान्य भएको बताउनुभएको छ । वार्ता र सहमतिबाट समस्या समाधान हुने उहाँले बताउनुभएको छ ।

नेपालमा विकासको फड्को मार्न भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउनुभयो । रु पाँच करोडसम्मको भारतीय दूतावासले सिधै लगानी गर्न सक्ने भएकाले प्याकेजमा कार्यक्रम बनाउन उहाँले अनुरोध गर्नुभएको छ ।

भारतले दक्षिण एसियाको नै विकास गर्न चाहेको उहाँले बताउनुभएको छ । भारतले विकासको राजनीति गरेको पनि उहाँले बताउनुभयो । उहाँले शिक्षित र दक्ष जनशक्ति नेपालले उत्पादन गर्न सकेको अवस्थामा नेपाली बेरोजगार नहुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पाल्पाको विकासका लागि धेरै सम्भावना रहेको र त्यसका लागि भारत सरकारको सहयोग रहने पनि उहाँले बताउनुभयो ।

पूर्वमन्त्री माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–भारतको सम्बन्ध फराकिलो बनाउन नयाँ काम सुरु भएको बताउनुभएको छ । उहाँले नेपाल–भारत मिलेर दुवै देशको विकास गर्न सकिने धारणा राख्नुभयो ।

पाल्पाको पर्यटन विकासका लागि सिद्धबाबा क्षेत्रको सडक सुधार गर्नुपर्ने धारणा उहाँले राख्नुभएको थियो । नेपाल सरकारले यस सिद्धार्थ राजमार्गको निर्माणका लागि भारत सरकारलाई अनुरोध गरेमा भारत सरकारको प्राथमिकतामा पर्ने आशा उहाँले व्यक्त गर्नुभयो । यसैबीच, रायले जिल्लाका राजनीतिक दलका प्रमुख, व्यवसायीलाई समेत सामूहिक रुपमा भेट्नुभएको थियो । रासस

राजकुमार ह्यारीको नाममा डाँडाको नाम ‘ह्यारी हिल’

गोरखा, १७ चैत । भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुसी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले बेलायतका राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् ।

छ दिनसम्म गाउँमा बसेर ह्यारीले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुङ्गा र काठ बोकेपछि खुसी भएका गाउँलेले स्थानीय डम्बुडाँडाको नाम परिवर्तन गरी ‘ह्यारी हिल’ नामाकरण गरेका हुन् ।

ह्यारीलाई मङ्गलबार बिदाइ गर्नुपूर्व स्थानीयवासीले डाँडाको नाम ह्यारी हिल राखेको विद्यालयका प्रधानाध्यापक जीव गुरुङले बताउनुभयो । “अनकन्टार बस्तीमा आएर हामीसँगै ढुङ्गा, काठ बोक्नुभयो । उहाँको सम्मानमा स्कुलमुनिको डाँडाको नााम ह्यारीहिल राख्यौँ”, उहाँले भन्नुभयो, “ह्यारीले खुसी हुँदै धन्यवाद भन्नुभयो ।” “ह्यारीले गाउँमा बस्दा औपचारिक रुपमा बोल्न, फोटो खिच्न मान्नुभएको थिएन । सबै गाउँ सलक्कै देखिने डाँडाको नाम ह्यारी हिल राखियो”, गुरुङले भन्नुभयो ।

मनास्लु पदमार्गअन्तर्गत पर्ने ह्यारी हिललाई प्रचारप्रसार गरी थप पर्यटकीय विकास गर्न स्थानीयवासी एकजुट भएका छन् । २०४० सालमा नेपाल भ्रमणमा आएका ह्यारीका पिता बेलायतका तत्कालीन राजकुमार चाल्र्सले पदयात्रा गरेको स्मरणमा धनकुटाका स्थानीयवासीले भेडेटारको एउटा डाँडालाई ‘चाल्र्स पोइन्ट’ नाम राखेका थिए । चाल्र्सका कान्छा छोरा ह्यारीको सम्मानमा पनि लापुबेँसीवासीले स्थानीय डाँडाको नाम ‘ह्यारी हिल’ राखेका हुन् ।

छदिने गाउँ बसाइमा ह्यारीले स्थानीयवासीको संस्कार, संस्कृतिबारे पनि चासो देखाएका थिए । दिनहुँ बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्यालय र नौलीखोला लघुजलविद्युत् निर्माण गर्न समय खर्चनुभएका ह्यारी फुर्सद हुँदा विद्यालयका विद्यार्थीसँग खेलेको स्थानीयवासीले बताएका छन् । ह्यारीले स्थानीयस्तरमा उत्पादन भएको परिकार खानुभयो भने स्थानीय गुरुङ संस्कृतिमा आधारित रहेका सांस्कृतिक कार्यक्रमको पनि अवलोकन गर्न भ्याउनुभयो ।

स्थानीयवासी सोमराज गुरुङले भन्नुभयो, “ह्यारी भाङ्ग्रा, कछाड लगाएर नाच्नुभयो ।” टिम रुबिकन युके नामक संस्थाले गत कात्तिक महिनादेखि निर्माण सुरु गरेको प्रभातकिरण माविको भवन निर्माणमा सघाउन आउनुभएका ह्यारी मङ्गलबार राजधानी फर्किसक्नुभएको छ ।

गाडी हुँदै तीन घन्टा पैदल हिँडेर लापुबँेसी पुगेका उहाँ नेपाली सेनाको हेलिकप्टर चढेर राजधानी फर्किनुभयो । ह्यारी फर्किए पनि ‘टिम रुबिकन युके’ आबद्ध बेलायतका युवायुवतीले विद्यालय भवन पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएका छन् ।

आउँदो शैक्षिकसत्र सुरु भएपछि सोही भवनबाट पठनपाठन गर्न मिल्ने गरी तीव्रगतिमा भवन पुनर्निर्माणको काम भइरहेको छ । सो भवन भने नक्सा पास नगरी निर्माण गरिएको र जिल्ला शिक्षा कार्यालयमा जानकारी पनि नदिइएको बताइएको छ । प्रशन्न पोखरेल/रासस

नौ महिनामा नौ बलात्कारी पक्राउ

राजविराज, १७ चैत । साउनदेखि हालसम्म अर्थात् नौ महिनायता जिल्ला प्रहरी कार्यालय सप्तरीमा नौवटा जबर्जस्तीकरणी उद्योगका उजुरी परेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले दिनुभएको जानकारीअनुसार जिल्लाभरिमा साउनदेखि चैत १५ गतेसम्ममा नौवटा जबर्जस्तीकरणी र करणी उद्योगका घटना भएको बताउनुभयो । सो घटनामा संलग्न नौजना प्रतिवादीलाई पक्राउ गरी सकिएको बताइएको छ ।

यस्तै, पाँचवटा बहुविवाहका घटनामा सातजना अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुुभयो । बालविवाहका दुईवटा घटनामा चारजनालाई पक्राउ गरिएको पनि बताइएको छ । रासस

मोरङका सहकारीमा एक लाख ५५ हजार महिला

मोरङ, १७ चैत । मोरङका सहकारी सञ्चालनमा पुरुषभन्दा महिला बढी भएको पाइएको छ ।

डिभिजन सहकारी कार्यालय मोरङका प्रमुख दिलशेर राईका अनुसार एक लाख ५५ हजार ६०० महिला र एक लाख २१ हजार ८१९ पुरुष छन् । ४१ भन्दा बढी सहकारी महिलाको व्यवस्थापनमा सञ्चालित छ ।

महिलाको व्यवस्थापनमा सञ्चालित बहुसङ्ख्यक सहकारी सफलतापूर्वक सञ्चालनमा रहेका डिभिजन सहकारी कार्यलयका प्रमुख राईको भनाइ छ । महिलाले सञ्चालन गरेको बहुसङ्ख्यक सहकारी ग्रामीण भेगमा छन् । तर सहकारी सञ्चालकमा पाँच हजार २०० पुरुष र तिनहजार दुईसय महिला छन ।

चालु आर्थिक वर्षसम्ममा मोरङमा एक हजार ७० सहकारी संस्था सञ्चालित छन् । त्यसैगरी चालु आर्थिक वर्षमा मोरङका सहकारीले २१ अर्ब ४१ करोड ५४ लाख ७४ हजार २४० रुपैयाँको कारोबार गरेको डिभिजन कार्यालयका प्रमुख दिलशेर राईले जानकारी दिनुभएको छ । मोरङका सहकारीमा एक अर्ब ९७ करोड ३३ लाख १३ हजार ४६५ रुपैयाँ सेयर पूँजि रहेको छ ।

त्यसैगरी, सहकारीमा रु ६ अर्ब ३७ करोड ५० लाख ८० हजार बचत छ । त्यस्तै, आठ अर्ब २३ करोड एक लाख चार हजार रुपैयाँ मोरङका सहकारीले ऋण लगानी गरेको कार्यालयका प्रमुख राईको भनाइ छ । रासस

फोहोर व्यवस्थापन नगर्दा समस्या

मेलम्ची, १७ चैत । मेलम्ची नगरपालिकाबाट सङ्कलित फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा समस्या भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरबाट सङ्कलन भएको फोहोरको व्यवस्थापन राम्रो नभएकोमा स्थानीयवासीले गुनासो गरेका छन् ।

नगरबाट सङ्कलन भएको फोहोर जथाभावी नदी किनारमा डम्पिङ गर्दा वातावरण मात्र प्रदूषित भएको छैन यसको दीर्घकालीन असरसमेत पर्ने गरेको छ । फोहोरको उचित व्यवस्थापनमा नगरपालिकाको सक्रियता नदेखिएकाले फोहोरबाट फैलिने आउँ, हैजा, पखालाजस्ता विभिन्न किसिमका रोगले व्याप्त हुने सम्भावना देखिएकाले छिटोभन्दा छिटो फोहोर व्यवस्थापनमा लाग्नुपर्ने नगर बासिन्दा चित्रकुमार श्रेष्ठले बताउनुभयो ।

फोहोर व्यवस्थापन उपसमिति गठन हँुदासमेत फोहोर व्यवस्थापनमा नगरपालिकाले कुनै अधिकार नदिएकाले व्यवस्थापनमा ढिलाइ भएकोे फोहोरमैला उपसमितिका एक अधिकारीले जानकारी दिनुभयो । डम्पिङ साइटको अभाव भएको र उचित डम्पिङ क्षेत्रका लागि नगरपालिकाले आफ्नो सक्रियता बढाउनुपर्ने देखिन्छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा डम्पिङ गरेकाले कुहिने फोहोरसमेत कुहिन नसक्ने र उचित डम्पिङ क्षेत्रको अवलोकन हुँदै गर्दा सङ्कलित फोहोरलाई खाल्डो खनेर व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

यस विषयमा मेलम्ची नगरपालिकाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले सरकारी कार्य भएकाले विभिन्न नीति र नियमसङ्गत ढङ्गले जानुपर्ने भएकाले केही समय लाग्ने बताउनुभयोे ।

फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको उचित क्षेत्रको तय नभएसम्म तत्कालका लागि दुईवटा खाल्डो खनेर कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै खाल्डोमा हाल्ने दुलालले जानकारी दिनुभयो । नगरपालिकाले तोकेको क्षेत्रबाहेक अन्य सार्वजनिकस्थल तथा नदी किनारमा फोहोर फाल्नेलाई कडा कारबाहीका साथ दण्डजरिवानासमेत गरिने नगरपालिकाले जनाएको छ । रासस

सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था

पर्वत, १७ चैत । एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।

परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड, हात धुने साबुन व्यवस्था गरिएको हो । प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल, पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी ९७ प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाइएको छ ।

परीक्षा हाताभित्रै महिनावारी भएपनि परीक्षा नरोकियोस् र तुरुन्त शौचालय गएर सफा गर्ने र सेनिटरी प्याडको प्रयोग गरी पुनः परीक्षामै सहभागी होऊन् र परीक्षा प्रभावित नहोस् भनेर सबै परीक्षा केन्द्रमा पुग्ने गरी सेनिटरी प्याड प्रदान गरिएको इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

परीक्षा केन्द्र छात्रामैत्री बनाउनका लागि पनि उक्त वस्तु प्रदान गरिएको हो । हरेक केन्द्रमा पुग्ने गरी ९७ प्याकेट प्याड र साबुन जिल्ला शिक्षा अधिकारी रमेश पौडेललाई इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।

शिक्षा कार्यालयले हरेक परीक्षा केन्द्रलाई छात्रा र अपाङ्गमैत्री बनाइएको पनि जनाएको छ । महिनावारी भएका छात्राले ढुक्कसाथ परीक्षा दिने वातावरण मिलाउन साबुनपानीसहितको पक्की शौचालय, उमेरअनुसारका फर्निचरको व्यवस्था मिलाइएको जिशिअ पौडेलले बताउनुभयो । त्यससंँगै अपाङ्गताको प्रकृति हेरी त्यस्ता परीक्षार्थीलाई छुट्टै व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यस वर्ष पर्वतबाट एसएलसी परीक्षामा चार हजार ३०० परीक्षार्थी सहभागी हुने भएका छन् । रासस

जीवनभर जिब्रो छेड्ने जुजुभाइको घोषणा

भक्तपुर, १६ चैत । सातौँ पटक जिब्रो छेडिसकेका बोडेका ३५ वर्षीय जुजुभाइ वासँ श्रेष्ठले संस्कृति जोगाई राख्न जीवनभर जिब्रो छेड्ने घोषणा गर्नुभएको छ ।

थिमिमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो शरीर र स्वास्थ्यले साथ दिएसम्म, अरु व्यक्ति जिब्रो छेड्न तयार भएर नआएसम्म र बोडेका बासिन्दाको सहयोग रहेसम्म जात्रालाई निरन्तरता दिन आफूले जिब्रो छेड्ने बताउनुभयो ।

हरेक वर्ष अब कसले जिब्रो छेड्ला भन्ने स्थानीयको आशङ्का तोड्दै उहाँले यसवर्ष आठाँैपटक जिब्रो छेड्न लागेको बताउनुभयो । जिब्रो छेड्ने जात्राको लागि आज च्वाङ्गा गणेशमा पूजा एवम् साइत गरी प्रसाद ग्रहण गरेर देवताको रुपमा प्रसादलाई घरमा राखी यसवर्षको जात्राको प्रक्रिया सुरु गरेको बताउनुभयो ।

परापूर्वकालमा यो जात्रा सञ्चालनमा आएपछि बोडेमा महाभूकम्प नजान, यहाँका बासिन्दाले कुनै कुरामा दुःख नपाउने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, नहुने र धर्मको चेष्टा बढाउने जनविश्वसालाई गत वैशाख १२ गतेको भूकम्पले यहाँ कुनै क्षति नपु¥याएपछि प्रमाणित गरेको बताउँदै श्रेष्ठले अब हरेक वर्ष आफैँले जिब्रो छेड्ने घोषणा गरेको बताउनुभयो ।

वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्नेकर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिँ बाजा बजाउंँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । बाँस एवम् निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप (भ्यय) बालेर जिब्रो छेड्ने व्यक्तिलाइृ बोकाई विभिन्न टोलटोलमा घुमाइन्छ ।

टोलटोल घुमाई पाँचोगणेशको रथलाई भागुटोल पु¥याएपछि नकर्मी नाइकेले जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिन्छन् र सियो गणेश मन्दिरमा ठोकिदिन्छन् । त्यसपछि जिब्रो छ्ेड्ने व्यक्तिले नाट्यम्बरको पूजा गरेपछि मात्र बोल्न, खान र छुन हुने परम्परा छ । यो जात्रा विश्व प्रसिद्ध जात्रा पनि हो । रासस

भावी प्रधानन्यायाधीशको नाम सिफारिस भएन

काठमाडौँ, १६ चैत । भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न आज बसेको संवैधानिक परिषद् बैठक प्रमुख प्रतिपक्षी दलको सहभागिता नभएकाले स्थगित भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठकका बारेमा जानकारी दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले भावी प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने भनिएता पनि प्रमुख प्रतिपक्ष दलको संसदीय दलका नेता चयन हुन बाँकी भएकाले स्थगित भएको जानकारी दिनुभयो ।

उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी यही वैशाख १ गतेबाट अवकाश हँुदै हुनुहुन्छ । श्रेष्ठपछि प्रधानन्यायाधीश कार्की हुँदै हुनुहुन्छ । नेपालको संविधानअनुसार संवैधानिक परिषद्को निर्णयबाट प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको चयन भइनसकेकाले बैठकमा आउन नसकेको पत्र परिषद्मा आएको थियो ।

मन्त्री खरेलअनुसार परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको संसदीय दलका नेतालाई आह्वान गरिएको थियो । तर संसदीय दलका नेताको निर्वाचन हुन बाँकी भएकाले बैठकमा आउन नसक्ने पत्र परिषद्लाई प्राप्त भएको थियो ।

काँग्रेसको यही चैत २४ गते संसदीय दलको नेताको निर्वाचन हुने मिति तय भएको छ । संसदीय दलको नेता पनि तय भइसकेपछि आगामी २६ गते बस्ने गरी आजेको बैठक स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री खरेल उपस्थित हुनुहुन्थ्यो ।

चीन भ्रमणबारे स्थायी कमिटीमा जानकारी

काठमाडौ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)को आजको स्थायी कमिटी बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउनुभएको छ ।

एमाले पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले चीन भ्रमणमा दुई देशबीच पावहनलगायत सम्झौता भएको उल्लेख गर्दै भ्रमण समग्रमा सफल भएको बताउनुभएको थियो । प्रधानमन्त्री यही चैत ७ देखि १४ गतेसम्म छिमेकी चीनको भ्रमणमा जानुभएको थियो ।

पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बुधबार बिहान पुनः बस्ने स्थायी कमिटीको बैठकमा केन्द्रीय सल्लाहाकार र विभागका सदस्यहरुको मनोनयसम्बन्धी कार्यसूचीमा छलफल हुनेछ । एमालेको पोलिटव्युरो बैठक यही चैत २३ र २४ तथा केन्द्रीय कमिटीको बैठक चैत २७–३० मा काठमाडाँै हुने निर्णय गत फागुन २४ मा सम्पन्न स्थायी कमिटीको ३४औँ बैठकले गरेको थियो । रासस

सवारी दुर्घटनामा गम्भीर घाइते

बनेपा, १६ चैत । काभ्रेपलाञ्चोकको दुई भिन्दाभिन्दै स्थानमा आज बेलुका भएको सडक दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

जिल्लाको नासिकास्थान गाविसस्थित भैँसेपाटीमा बनेपाबाट काठमाडौँ जाँदै गरेको बा६३प ३०० र बा६७प ८६२ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा२ख ६४९७ नंको टिप्परले ठक्कर दिँदा चारजना घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौँको कोटेश्वर बस्ने २७ वर्षीय अङ्कित ढकाल र काठमाडौँ तीनकुने बस्ने सरिता पोखरेल रहेका छन् । दुवैजनाको अवस्था गम्भीर भएकाले उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

त्यस्तै सो दुर्घटनामा सिन्धुपाल्चोकका राजकुमार रसाइली र माया रसाइली पनि घाइते भएका छन् । उनीहरुको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पनौती नगरापकिला–२ खड्पुमा बा१०च ६३९३ नंको हाइलेक्स गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा६प ६९१८ नको मोटरसाइकलालाई ठक्कर दिँदा पनौतीका सुरेश कुइँकेल घाइते भएको प्रहरीले जनाएको छ । सो गाडी बनेपाबाट पनैती जाँदै थियो । रासस

राष्ट्रपति र उपराष्ट्रपतिलाई चीन भ्रमणबारे जानकारी

काठमाडौँ, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न चीनको औपचारिक भ्रमणबारे जानकारी गराउनुभयो ।

राष्ट्रपति एवम् उपराष्ट्रपति समक्ष प्रधानमन्त्रीले आज अपराह्न राष्ट्रपति निवासमा चीन भ्रमणका विविध पक्ष, त्यसक्रममा दुई देशबीच भएका पारवहन सम्झौतालगायत विषयमा विस्तृत जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिलाई भ्रमणका उपलब्धि एवम् अन्य समसामयिक विषयमा पनि प्रधानमन्त्रीले अवगत गराउनुभएको उक्त कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति एवम् उपराष्ट्रपतिले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएकामा प्रधानमन्त्री तथा सरकारलाई बधाई एवम् धन्यवाद ज्ञापन गर्नुका साथै भ्रमणका उपलब्धिलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो । रासस

राजकुमार ह्यारी लापुबेंशीबाट राजधानी फर्किए

गोरखा, १६ चैत । उत्तरी गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यामिक विद्यालयको भवन पुनःनिर्माणमा श्रमदान गरी बेलायतका राजकुमार ह्यारी आज राजधानी फर्केका छन् ।

गत बिहीबार लापु पुगेका राजकुमार ह्यारी शुक्रबारदेखि आजसम्म विद्यालयको भवन पुनःनिर्माणको काममा जुटेका थिए । त्यहाँ उनले विद्यालयमा ढुङ्गा, काठ बोक्ने काम गरेका थिए भने स्थानीय नौलीखोला तेस्रो लघुजलविद्युत् आयोजना मर्मतमा पनि सघाएका थिए ।

विद्यालय र लघुजलविद्युत् आयोजना गत वैशाख १२ को भूकम्पले ध्वस्त भएको हो । विद्यालयका प्रध्यानाध्यापक जीव गुरुङका अनुसार नेपाली सेनाको हेलिकोप्टर चढेर राजकुमार ह्यारी आज दिउँसो राजधानी फर्केका हुन् ।

‘टिम रुविकन युके’ नामक संस्थाले विगत छ महिना अघिदेखि सो विद्यालयमा नयाँ भवन निर्माण गरिरहेको थियो । सोही विद्यालय भवन पुनःनिर्माणमा राजकुमार ह्यारीले श्रमदान गरेका हुन् ।

ह्यारीलाई गाउँलेले खादा र माला लगाएर बिदाइ गरेका थिए । राजकुमार ह्यारी हिजो राजधानी फर्किने तयारी गरिए पनि हावाहुरीले गर्दा फर्कन सकेका थिएनन् ।

छ दिने औपचारिक भ्रमणमा नेपाल आएका ह्यारीले पुनःनिर्माणमा सहयोग गर्ने भन्दै थप छ दिन नेपाल बसाइ लम्ब्याएका थिए । रासस

दुबईमा पर्वत सेवा समाज युएईले तेस्रो बार्षिकउत्सव मनायो

Parbat sewa samaj -2 Parbat Sewa Samaj-1 Parbat sewa samaj-4 parbat sewa samaj-7 Parbat sewa samaj-9

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गएको २५ मार्च शुक्रबारका दिन दुबईको ग्राण्ड फोर्चुन होटलमा पर्वत सेवा समाज युएईले विविध लोक सांगीतिकको माहौलमा तेस्रो बार्षिकउत्सव २०१६ भव्य रुपले मनाएको छ । समाजले आफ्नो कार्यकाल तीन बर्ष पूरा गरेको अवसरमा सो बार्षिकउत्सव मनाएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका संंरक्षक खेमानन्द भुर्तेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष राजेन्द्र अधिकारीले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा मणिप्रसाद भुर्तेल, चन्द्रप्रसाद सापकोटा र मोहन शर्मा रहेको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी, पत्रकार र कलाकारहरु रहेका थिए ।
राष्ट्रिय गानबाट कार्यक्रम थालनी गरिएता पनि प्रमुख अतिथि, सभापति लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्योलन लगत्तै केक काटिएको थियो । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई औपचारिक कार्यक्रम महासचिव सरोज जिसीले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमलाई दुबई क्षेत्रीय समितिका सचिव बिक्रम पौडेलले संचालन गरेको हो ।
समाजको त्रर्फबाट शुभकामना मन्तव्य सचिव कमल लामिछानेले दिनु भएको थियो । आर्थिक बिवरण कोषाध्यक्ष भिमलाल काफ्ले र एक बर्षभरिको बार्षिक प्रतिवेदन प्रथम उपाध्यक्ष पर्शुराम पौडेलले राख्नु भएको थियो । जसमा तीन बर्षको अवधिमा २० हजार दिरामको कार्ययोजना र हालसम्मको आर्थिक वचत ९ हजार दिराम रहेको जानकारी दिएको छ ।
सांस्कृतिक कार्यक्रमको सुरुवात बिक्रम पौडेलले गाएको गीत “जाम त भने मनैको बाटो” बाट भए लगत्तै सरिता न्यौपानेले गाएको “गीत हावा चल्यो सरर..” ले हललाई तताउन थालेको थियो । टुविन्द्र लुईटेलको राष्ट्रियभावमा उप्रित कर्म भूमिको गीतले एकछिनको लागि स्वदेशसम्म पनि पु¥यायो । नरेन सापकोटाले गाएको गीत “फुल फुलेर पहेलै भयो” र हरि डुम्रेले गाएको “मुसुमुसु नहास मायाले” भन्ने गीतमा दर्शकलाई मात्र नभएर अतिथिहरुलाई समेत नचाउनसम्म भ्याए ।
मनमोहक पोशाकमा सजिएर सिमा लामिछाने र राजु थापा आशिकको युगल जोडी “सालै जो” को भाकामा नृत्यले अझै थप मनोरंञ्जन दिएको थियो । त्यसैगरी अर्जुन न्यौपानेले गाएको गीत “माया चन्चले” र सपना जिसीले गाएको गीत “रुमाल हल्लाई हल्लाई” पनि निकै सान्दर्भिक लाग्दथ्यो । “तेस्रो बार्षिकउत्सव २०१६” शिर्षक सीता पौडेलद्धारा वाचन गरेको कविताले पनि आफ्नो स्थान जमाउनमा सफल भएको थियो ।
सो अवसरमा पर्वत सेवा समाज युएईबाट अभियान चलाएको भूकम्प पीडित राहत संकलन कोषमा सहयोग गर्ने र स्थापनाकालदेखि समाजलाई सहयोग दिनेहरुलाई खादा तथा सम्मान–पत्र दिएर सम्मानित गरेका छन् । आ–आफ्नो मन्तव्य राख्नेहरुमा टोया लम्साल, नारायण आचार्य, खुम आले मगर, कमला भण्डारी, एकेन्द्र थापा, भिम अधिकारी, डियल शर्मा, उत्तम अधिकारी, मणिप्रसाद भुर्तेल, चन्द्रप्रसाद सापकोटा, खिमानन्द भुर्तेल, कृष्ण न्यौपाने, राजेन्द्र अधिकारी र गितामणि पाण्डे रहेका थिए ।

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts