Monday, February 29, 2016

काँग्रेसमा आरक्षण सिटमा ठूलाठालुकै हालीमुहाली

काठमाडौँ, १८ फागुन । नेपाली काँग्रेसमा पिछडिएका वर्ग, जाति, समुदाय र अल्पसङ्ख्यकका लागि सुरक्षित गरिएको आरक्षण कोटामा सो क्षेत्रका ठूलाठालुकै बर्चस्व हुने गरेको छ ।

आरक्षण कोटामा सम्बन्धित समुदायका पढेलेखेका र पहुँच भएकाहरुको नै हालीमुहाली हुने भएकाले समावेशीताको सिद्धान्त व्यवहारमा कार्यान्वयन हुन नसकेको सरोकारवालाले गुनासो गरेका छन् ।

कुल ८५ सदस्यीय केन्द्रीय समितिमा काँग्रेसले पिछडिएका वर्ग, जाति र समुदायलाई प्रतिनिधित्व गराउन २७ कोटा आरक्षण गरेको छ । आरक्षण कोटामा यसअघि प्रायः एकै किसिमका व्यक्ति दोहोरिने गरेको र नयाँले अवसर नपाउने गरेको काँग्रेसमा गुनासो छ ।

कैलाली काँग्रेसका दलित नेता मनीराम देवल एकपटक आरक्षण कोटामा प्रवेश गरिसकेका र राष्ट्रिय पहिचान भएका कुनै पनि समुदायका नेताहरुले खुला पदमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुहुन्छ । “जिल्लाबाट भर्खर केन्द्रमा जान खोजेका र पिछडिएको समुदायमा सशक्तीकरण हुन नसकेका नेता कार्यकर्ताले आरक्षण कोटामा स्थान पाउनुपर्छ, उहाँ भन्नुुहन्छ ।”

काँग्रेसको केन्द्रीय निर्वाचनको मतदान गर्ने महाधिवेशन प्रतिनिधिका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट महिला, दलित, आदिवासी÷जनजाति, मधेसी वा मुस्लिम वा अल्पसङ्ख्यक वा पिछडिएको वर्गसहित कम्तीमा पाँचजना प्रतिनिधिको व्यवस्था अनिवार्य छ ।

यस हिसाबले मुलुकभर २४० निर्वाचन क्षेत्रबाट पाँचजनाका दरले एक हजार २०० समावेशी सिद्धान्तका आधारमा महाधिवेशन प्रतिनिधि अनिवार्य चयन हुने व्यवस्था रहेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काठमाडौँबाट महासमिति सदस्य निर्वाचित काँग्रेसकी नेत्री यमुनादेवी श्रेष्ठ पार्टीले व्यवस्था गरेको आरक्षण कोटामा सो समुदायका नवउदीयमान तर विविध कारणले पछाडि पारिएका नेता कार्यकर्ताले पहुँच पाउन नसकेको जिकिर गर्नुहुन्छ । आरक्षण कोटामा पार्टीले जातीयभन्दा वर्गीय अवस्थालाई बढी प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा छ ।

पार्टीले आरक्षण प्रदान गरेको समुदायबाट कोटामा एकपटक अवसर प्राप्त गरिसकेका र राष्ट्रिय पहिचान बनाइसकेका नेताले खुला पदमा प्रतिस्पर्धा गर्नुपर्ने नेत्री श्रेष्ठको पनि सुझाव छ ।

काँग्रेस विधानले केन्द्रको निर्वाचनमा महिलाका लागि छ निर्वाचित र एक मनोनीत, दलितका लागि दुई महिलासहित पाँच निर्वाचित र एक मनोनीत, आदिवासी÷जनजातिका लागि कम्तीमा दुई महिलासहित पाँच निर्वाचित र एक मनोनीत, मधेसीका लागि कम्तीमा दुई महिलासहित पाँच निर्वाचित र एक मनोनीत र मुस्लिमका लागि एक निर्वाचित र एक मनोनीत गरी २७ आरक्षण कोटाको व्यवस्था गरेको छ ।

खोटाङबाट काँग्रेस महासमिति सदस्यमा निर्वाचित हीरा गुरुङ पार्टीको आरक्षण कोटामा सधैँ एउटै तहका व्यक्तिको मात्र हालिमुहाली हुने गरेको गुनासो गर्नुहुन्छ । “केन्द्रमा पहुँच भएकाले मात्र सधैँ आरक्षणका नाममा पद प्राप्त गर्ने गरेका छन्, अब यस प्रवृत्तिलाई तोडेर नयाँ युवा र जिल्लामा काम गर्नेले अवसर पाउनुपर्छ, उहाँ भन्नुहुन्छ ।”

कुल ८५ जना सदस्य रहने काँग्रेस केन्द्रीय समितिमा एक सभापति, एक महामन्त्री, एक कोषाध्यक्षको निर्वाचन हुन्छ भने निर्वाचित केन्द्रीय सदस्यबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत हुने व्यवस्था छ ।

त्यस्तै, खुलारुपमा निर्वाचन हुने २५ केन्द्रीय सदस्य, प्रत्येक अञ्चलबाट एकजनाका दरले निर्वाचित हुने १४ केन्द्रीय सदस्य (अब प्रत्येक प्रदेशबाट निर्वाचित हुने दुईजनाका दरले १४ सदस्य) चयन हुने प्रावधान विधानमा छ । यसबाहेक केन्द्रीय सभापतिले महाधिवेशन प्रतिनिधिमध्येबाट बढीमा १६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था काँग्रेसमा छ । भीष्मराज ओझा/रासस

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा हुने

बैतडी, १८ फागुन । सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्गस्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ ।

पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि केही हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो ।

गत वर्ष नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यसवर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको छ । श्यामराज भट्ट, थर्कबहादुर शाह र मोहनराज भट्टराईलगायतको प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङका लागि उपयुक्त भएको ठहर गरेको छ ।

पाटन नगरपालिका वडा नं १२ को दहडाँडा, वडा नं २ को जरौलीडाँडा, वडा नं १३ को अन्नाडीडाँडा र वडा नं ११ को हुरहुरेडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो ।

सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिएपनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्राविधिक टोलीका सदस्य थर्कबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो – “पाटनमा हावाको गति र दिशा उपयुक्त रहेको छ ।”

त्यस्तै, पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी स्थानीयवासीले थालेका छन् । पाटनभन्दा करिब आठ किमी पश्चिममा रहेको पात्तालभुमेश्वर गुफाको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यावसायिकीकरण गर्न संस्थागत रुपमै प्रयास गर्ने पाटनका स्थानीयवासी युवा पुष्कर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो – “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा अघि बढ्न प्रक्रिया सुरु गरिएको छ ।” रासस

कोरला नाका सञ्चालन गर्न पूर्वाधार निर्माण सुरु

मुस्ताङ, १८ फागुन । चीनसँग व्यापारिक कारोबारका लागि सबैभन्दा उपयुक्त मानिएको मुस्ताङको कोरला नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ ।

दुई महिनाअघि व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले स्थलगत अध्ययन र अनुगमन गरेपछि नाका सञ्चालनका लागि सुरक्षा, भन्सार, सडकमार्ग र अध्यागमन कार्यालय स्थापनाका लागि तयारी अघि बढेको हो ।

समितिले सरकारलाई तत्काल नाका सञ्चालन गर्न सम्भव रहेको भन्दै चीन सरकारसँग आवश्यक कूटनीतिक पहल थाल्न र नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सुझाव दिएको थियो ।

कोरला नाकासम्म पुग्नका लागि ९३ किमी जोमसोम–कोरला सडकलाई स्तरोन्नतिसँगै विभिन्न स्थानमा पक्की पुल निर्माण गर्नुपर्ने देखिएको छ ।

सडक निर्माण, स्तरोन्नति र पुलको काम सडक विभागले सुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको टोलीले अध्ययन गरेर फर्केपश्चात् सुरक्षा निकाय र भन्सार कार्यालयका लागि आवश्यक जग्गा छनोट गर्ने काम सकिएको जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित नेपाली सेनालाई समेत खटाउने योजनाअनुरुप सोही किसिमको भौतिक पूर्वाधार निर्माणका लागि जग्गा खरिद गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम जोमसोममा रहेको नेचुङ भन्सार कार्यालयले कोरला नाकाबाटै काम सुरु गरेको अवस्थामा त्यहाँ कार्यरत जनशक्तिलाई दोब्बर बनाउन तयारी गरिएको छ ।

अहिले भन्सारमा कार्यालय प्रमुखसहित एकजना सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । “नाका सुरक्षार्थ लोमान्थाङमा ब्यारेक राख्नका लागि पनि उपयुक्त जग्गा छनोट गरी नापी र नक्साङ्कनको काम सम्पन्न भएको छ, तत्काललाई लोमान्थाङको एक हजार रोपनी समथर सरकारी जग्गा प्रयोग हुनेछ” – प्रजिअ अधिकारीले भन्नुभयो ।

नापी कार्यालयले तयार गरेको जग्गाको नक्सा भीमदल गण जोमसोम र जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको छ । यसैका आधारमा रक्षा र गृहमन्त्रालयले जग्गा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ

नवलपरासी, १८ फागुन । नवलपरासीको सोमनी गाविस वडा नं ७ बरगदवा गाउँका स्थानीयवासीलाई अझै पनि द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ ।

विसं २०६२ वैशाख २ गते एकैराति १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासीले द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् ।

सो गाउँमा २०६२ साल वैशाख २ गते तत्कालीन माओवादी कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण मारिएका थिए ।

द्वन्द्वकालमा तत्कालीन माओवादी र प्रतिकार समूहको द्वन्द्वको नाममा बिनासित्ती १२ जना सर्वसाधारणले ज्यान गुमाएको घटना घटेको दिनलाई गाउँलेले कालो दिनका रुपमा स्मरण गर्न बाध्य छन् ।

बरगदवा गाउँका स्थानीयवासीले अहिलेसम्म पनि आफूहरु द्वन्द्वको प्रभावबाट बाहिर आउन नसकेको बताएका छन् । गाउँमा सहिद परिवार र द्वन्द्व प्रभावित परिवारले अझै पनि राज्य पक्षबाट पर्याप्त सेवा सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।

बरगदवा गाउँका द्वन्द्व प्रभावित स्थानीय, सहिद परिवारले राज्यले द्वन्द्वपीडितलाई प्रभावकारी रुपमा सेवा सुविधा दिन नसकेको साथै आफूहरुको कुरा सुन्न राज्य तयार नभएको गुनासो गरेका हुन् ।

द्वन्द्व भएको लामो समय भइसक्दा पनि सो घटनापछि हालसम्म दुई घरपरिवार गाउँ फर्केका छैनन् भने घटना घटेको करिब एक वर्षसम्म गाउँ पूर्णरुपमा विस्थापित हुन पुगेको थियो । सो बरगदवा गाउँमा हाल करिब १५० घरधुरी छन् ।

पछिल्लो तथ्याङ्कअनुसार द्वन्द्वकालमा नवलपरासीमा २१७ जनाको मृत्यु, बेपत्ता २०, घाइते ७२ र ३४ जना विस्थापितको सङ्ख्या रहेको छ । रासस

केसमा उम्मेदवार घोषणा गर्नेहरु बढ्दै

काठमाडौँ, १८ फागुन । भ्रातृ एवम् शुभेच्छुक संस्थाका आवधिक समयमा महाधिवेशन हुन नसक्दा नेपाली काँगे्रसको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारको सङ्ख्या बढ्ने भएको छ ।

दलको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेका नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घ लगायतको महाधिवेशन पार्टी एकीकरणदेखि नै हुन सकेको छैन । पार्टीमा १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् । पार्टी एकीकरणपछि नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल दलित सङ्घ, नेपाल प्रेस युनियन र नेपाल शिक्षक सङ्घको मात्र महाधिवेशन भएको छ ।

भ्रातृ संस्थाको पदाधिकारी बन्न चाहनेले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन चाहेकाले केन्द्रीय सदस्यका उम्मेदवार ५०० नाघ्न सक्ने कार्यकर्ताको विश्लेषण छ । नेविसङ्घका नेता आनन्द त्रिपाठी लामो समयदेखि विद्यार्थीको महाधिवेशन नभएकाले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री लगायत पदमा उम्मेदवार बन्न चाहने नेताले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी सुरु गरेको बताउनुहुन्छ । “समयमै भ्रातृ संस्थाको महाधिवेशन गरिएको भए काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य घोषणा गर्नेको यो रुपमा बाढी आउने थिएन, लोकतान्त्रिक दलमा लोकतान्त्रिक अभ्यास नहुँदा एकै पटक धेरैले उम्मेदवारी घोषणा गरे,” उहाँले भन्नुभयो ।

काँग्रेस विधानानुसार एक एक सभापति, महामन्त्री र कोषाध्यक्ष, खुला केन्द्रीय सदस्य २५ तथा सात प्रदेशबाट दुई जनाका दरले १४ केन्द्रीय सदस्य, आरक्षणअन्तर्गत महिलाबाट छ, दलित– आदिवासी जनजाति–मधेसीबाट पाँच पाँच र मुस्लिमबाट एक गरी ६४ जनाको निर्वाचन हुनेछ । बाँकी पदाधिकारीमध्ये एक एक उपसभापति र महामन्त्री तथा बाँकी केन्द्रीय सदस्य सभापतिले मनोनयन गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने विधानमा व्यवस्था गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य गरी केन्द्रीय कार्यसमितिमा कुल ८५ जना रहने छन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेले समेत सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिसँग भेटघाट एवम् प्रचारप्रसार गर्न थालेका छन् । राजधानीको व्यस्त भृकुटीमण्डप जहाँ यही फागुन २१ गतेदेखि काँग्रेस महाधिवेशनको बन्द सत्र हुँदैछ, मा जनजाति आरक्षणका केन्द्रीय सदस्यद्वय कर्माछिरिङ शेर्पा र दिलमान पाख्रिनले सम्पर्क कार्यालय खोल्नुभएको छ ।

उम्मेदवारको कार्यालय खुलेको वरपर जिल्ला जिल्लाबाट राजधानी भित्रिएका महाधिवेशन प्रतिनिधिको भिड लाग्न थालेको छ । कार्यालय वरपरको वातावरण हेर्दा नेता मत माग्न हिँड्नेभन्दा मत हाल्ने कार्यकर्ता नै नेता खोज्दै सम्पर्क कार्यालय धाउन थालेका छन् ।

काँग्रेस कावा सभापति एवम् १३औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बन्न लाग्नुभएका रामचन्द्र पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालय रहेको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको कार्यालय नजिकै केन्द्रीय सदस्य जीवन परियारले सम्पर्क कार्यालय खोल्नुभएको छ । महाधिवेशनमा सहकारी आन्दोलनका अग्रणी एवम् पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल पनि उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लाग्नुभएको छ ।

काँग्रेस सिन्धुपाल्चोकको सभापति हुँदा तरुण दस्ता खोल्ने तयारी गरेर चर्चामा आउनुभएका मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्नुभएको छ । वरिष्ठ नेता एवम् सभापतिका उम्मेदवार बन्न लाग्नुभएका शेरबहादुर देउवाको सम्पर्क कार्यालय नजिकै रहेकाले बस्नेतको सम्पर्क कार्यालयमा प्रभावशाली नेताहरुको समेत भिड देखिन्छ ।

नयाँ बानेश्वर, बिजुली बजार, डिल्ली बजार, थापाथली, त्रिपुरेश्वर, गैह्रीधारा लगायत क्षेत्रमा खोलिएका काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवारको सम्पर्क कार्यालय वरपर पनि दुर्गम जिल्लाका गाउँबाट आएका महाधिवेशन प्रतिनिधि एवम् पर्यवेक्षक कार्यकर्ताको चहलपहल छ । केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको लामसँगै काठमााडौँ उपत्यकाका चियापसलको बहस समेत काँग्रेस महाधिवेशनमा केन्द्रित हुन थालेको छ । सभापति, महामन्त्री, कोषाध्यक्ष एवम् केन्द्रीय सदस्यमा जितहारको विश्लेषणमा नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणले चासो दिइरहेका छन् ।

केन्द्रीय सदस्यका उम्मेदवार बन्न लाग्नुभएका पाख्रिन भ्रातृ संस्थाको महाधिवेशन नभएको र यस पटक पार्टीका क्रियाशील सदस्यको सङ्ख्या पनि बढेकाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको लर्को लागेको बताउनुहुन्छ । “क्रियाशील सदस्यको सङ्ख्याअनुसार केन्द्रीय सदस्य पनि बढाउने व्यवस्था गरिनुपथ्र्यो, त्यसो नहुँदा झन्डै दोब्बरको सङ्ख्यामा बढेका क्रियाशील सदस्यको सही प्रतिनिधित्व हुने देखिएन,” उहाँले भन्नुभयो ।

भ्रातृ संस्थाको केन्द्रीय सदस्य पद सम्हालिरहेकाहरुले समेत पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरी जग हँसाएको काँग्रेस कार्यकर्ता श्याम रेग्मीले टिप्पणी गर्नुभयो । पूर्णप्रसाद मिश्र/रासस

हवाई सुरक्षार्थ विश्वमा चलेका प्रविधि प्रयोग गरिने

लमजुङ, १७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले हवाई सुरक्षाका लागि विश्वमा चलेका प्रविधि प्रयोग गरिने बताउनुभएको छ ।
चौबिसौँ जिल्ला परिषद्को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो,“मौसमको अवस्था जानकारी गराउन हवाई सुरक्षाका लागि प्रविधि प्रयोगमा कुनै कञ्जुस्याइँ गर्दिन, विश्वमा चलेका प्रविधिको प्रयोग मार्फत सुरक्षित यात्राको व्यवस्था मिलाइन्छु ।”

जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी शेखर पौडेलले रु तीन अर्ब ५७ करोड ६५ लाख ५७ हजार बजेट प्रस्तुत गर्नुभयो । सोमध्ये रु तीन अर्ब १८ करोड ६० लाख ६९ हजार पुँजीगततर्फ र चालुतर्फ रु २९ करोड चार लाख ८८ हजार विनियोजन गरिएको छ । रासस

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सुरु, ‘भारत भ्रमण ऐतिहासिक र उपलब्धिमूलक’

भुजेललाई आर्थिक सहयोग

दोलखा, १७ फागुन । औषधि किन्ने रकम नभएपछि परिवारबाटै फलामे खोरमा थुनुवा जीवन व्यतित गर्दै आएका जुगु गाविस–५ निवासी ४० वर्षीय श्यामबहादुर भुजेललाई आर्थिक सहयोग प्राप्त भएको छ ।

‘फलामे खोरमा छोरा थुन्न सहकारीबाट ऋण’ शीर्षकमा राष्ट्रिय समाचार समिति ९रासस०बाट समाचार प्रकाशन भएपछि उहाँलाई आर्थिक सहयोग प्राप्त भएको हो । अति गरिबीका कारण औषधि किन्ने रकम नहुँदा मानसिक रोगी भुजेललाई आमाले सहकारीबाट ऋण लिएर फलामको खोर बनाई विगत १५ महिनादेखि थुन्नुभएको थियो ।

सो समाचार राससबाट प्रकाशन भएपछि वीरगन्ज उपमहानगरपालिका–१८ विसुवा नयाँवस्ती घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका अमित रिजालले रु ५० हजार सहयोग गर्नुभएको हो । सहयोग रकम दोलखाका सांसद् पार्वत गुरुङ, प्रजिअ देवेन्द्र लामिछाने, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले संयुक्त रुपमा बिरामीका आमा जगतमायालाई हस्तान्तरण गर्नुभयो । उक्त रकम राससका दोलखा प्रतिनिधि गोकर्णप्रसाद भण्डारीलाई अमितका बुबा ईन्द्रप्रसादले बैंकमार्फत पठाउनुभएको थियो ।

सहयोग रकम पाएपछि खुसी हुँदै जगतमायाले छोरालाई थुन्न फलामको खोर बनाउँदा लागेको खर्च तिर्ने र बाँकी रकम छोराको उपचारमा खर्च गरिने बताउनुभयो । यसैबीच, भुजेललाई कोसिस नेपाल नामक संस्थाले एक साताअघि उपचारको लागि राजधानी लगिसकेको छ । रासस ९तस्बिर उपलब्ध छ०

मुलुकको समृद्धिमा एमालेले निर्णायक भूमिका खेल्ने

उर्लाबारी (मोरङ), १७ फागुन । नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले मुलुकको विकास र समृद्धिका लागि एमालेले निर्णायक भूमिका खेल्ने बताउनुभएको छ ।

उर्लाबारीमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधान जारी भइसकेको अवस्थामा मुलुक समृद्धिको बाटोभन्दा बाहिर जान नसक्ने बताउनुभयो ।

नेपाली जनताले राष्ट्रिय हितमा संविधान बनाएकै कारण भारतले नाकाबन्दी गरेको उल्लेख गर्दै आचार्यले भारतसँग मित्रताका साथ अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो । रासस

सञ्चारमन्त्री राईद्वारा चलचित्र बन्ठेको शुभारम्भ

कलाकार श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, १७ फागुन । वरिष्ठ कलाकार कालीदास श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

उच्च रक्तचाप र पिसाबसम्बन्धी समस्याबाट ग्रसित श्रेष्ठलाई यही फागुन ११ गतेदेखि त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिँदै आएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार सहितका कलाकार आज अस्पतालमा गई उहाँको अवस्था बारेमा जानकारी लिएका छन् ।

उपकुलपति चित्रकारका अनुसार ९३ वर्षीय श्रेष्ठलाई पाइपबाट खाना खुवाइएको छ र उहाँ अहिले बोल्न सक्नुहुन्न । रासस

मिनी ट्रकको ठक्करबाट मृत्यु

भक्तपुर, १७ फागुन । भक्तपुरबाट काठमाडाँैतर्फ तीव्र गतिमा जाँदै गरेको मिनीट्रकको ठक्करले आज अपराह्न स्कुटर चालक बबिता लिम्बूको मृत्यु भएको छ ।

भक्तपुरको छ लेन सडकस्थित मध्यपुरथिमि–१५ कौशलटारमा बा२ख ८९४२ नंको मिनी ट्रकले बा४९प ८६८५ नंको स्कुटरलाई ठक्कर दिँदा लिम्बा–२ पाँचथर घर भई जोरपाटी बस्ने ४९ वर्षीया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने मिनीट्रकका चालक विष्णुबहादुर श्रेष्ठ र ट्रकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । रासस

नयाँ शिक्षा नीतिमा जोड

हेटौँडा, १७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राविधिक शिक्षाबाट आत्मनिर्भर बनाउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने नयाँ शिक्षा नीतिको आवश्यकतामा जोड दिनुभएको छ ।

मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरबारी गाविस–७ स्थित जनता उमाविको स्वर्णाेत्सवका उपलक्ष्यमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ सप्ताहको आज उद्घाटन गर्दै उहाँले ग्रामीण भेगमा शिक्षाको पहुँच पुगे पनि गुणस्तर कायम गर्नेतर्फ शिक्षा प्रणाली कमजोर रहेको हुँदा अब सरकारले शिक्षामा आमूल परिवर्तन गरी प्राविधिक शिक्षालाई जोड दिनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा सहभागी सांसद इन्द्रबहादुर बानियाँ, पूर्वसांसद प्रेमबहादुर पुलामी, दिलबहादुर घिसिङ र कृष्णप्रसाद दाहाल तथा राप्रपा नेपालका मकवानपुरका अध्यक्ष नवराज विष्टले देशभक्ति जगाउने शिक्षा नीति लागू गर्न सरकारसँग माग गर्नुभयो । महायज्ञबाट उठेको रकम उमाविको भवन निर्माण गर्न खर्च गरिने महायज्ञ संयोजक कुपननारायण फुयाँलले राससलाई बताउनुभयो । रासस

विमान दुर्घटनाको छानबिन सुरु

बाबियाचौर(म्याग्दी), १७ फागुन । तारा एयरको विमान दुर्घटनाको विषयमा अनुसन्धान गर्न गठित आयोगले छानबिन सुरु गरेको छ ।

आयोगका संयोजक एवम् पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको पाँच सदस्यीय टोलीले विमान दुर्घटना भएको ठाउँको आज स्थलगत निरीक्षण गरेको ईलाका प्रहरी कार्यालय दानाका प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले जानकारी दिनुभयो । टोलीले घटनास्थलको भौगोलिक वस्तुस्थिति, दुर्घटनाग्रस्त विमानको निरीक्षण र नापजाँच गरेको उहाँले बताउनुभयो ।

निरीक्षणका क्रममा संयोजक आचार्यको साथमा यति एयर र नेपाल एयरलाइन्सका दुई विमान चालक, एक इञ्जिनियर र एक जना विदेशी विज्ञ पनि सहभागी हुनुहुन्थ्यो । रासस

‘सिन्धु पत्रकारिता सम्मान’ कसजुलाई

चौतारा, १७ फागुन । ‘सिन्धु पत्रकारिता सम्मान’ यस वर्ष पत्रकार सुरेश कसजुलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकको नवाँै साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमलगायतले उहाँलाई सो सम्मान प्रदान गर्नुभयो ।

त्यसैगरी ‘कञ्चन–ज्ञानेन्द्र स्मृति पत्रकारिता पुरस्कार’ महासङ्घ शाखा सिन्धुपाल्चोकका पूर्वाध्यक्ष पवित्रकुमार खड्का, ‘दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ सञ्चारकर्मी दीपक न्यौपाने, ‘रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल, ‘जुगल नवोदित पत्रकारिता पुरस्कार’ किशोर बुढाथोकी र ‘सिन्धु विकास लघु उद्ममी प्रोत्साहन पुरस्कार’ नानीराम नेपाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु तीन हजार छ ।

त्यस्तै ‘रेडियो सिन्धु’, ‘रेडियो मेलम्ची’ र ‘जनतापत्र’ साप्ताहिक पनि पुरस्कृत भएका छन् । पत्रकार महासङ्घ शाखालाई आर्थिक सहयोग प्रदान गर्ने समाजसेवी शम्भु दाहाल र जिविस सिन्धुपाल्चोक पनि सम्मानित भएका छन् ।

कार्यक्रममा अध्यक्ष डा विष्टले राष्ट्रियस्तरको इन्स्टिच्युट स्थापना गरी पत्रकारलाई सक्षम र सबल बनाउन महासङ्घ लागिपरेको र गैह्रपत्रकारले समेत प्रेस परिचयपत्र लिई दुरुपयोग भइरहेको हुँदा महासङ्घले रोक्ने प्रयत्न गरिरहेको जानकारी दिनुभयो । रासस

नदी व्यवस्थापनको छुट्टै ऐन ल्याउन गृहकार्य

वीरगन्ज, १७ फागुन । सिँचाइमन्त्री उमेश यादवले नेपालको दिगो आर्थिक विकासका लागि सरकारले सिँचाइ तथा कृषिमैत्री नीति अवलम्बन गरेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ, २ नं प्रदेशद्वारा आज यहा“ आयोजित पत्रकारसम्मेलनमा उहा“ले भन्नुभयो – “मुलुकको आर्थिक समृद्धिका लागि राज्यले अब सिँचाइ र कृषिमैत्री नीति लिएर अगाडि बढेको छ ।” निर्वाहमुखी कृषि प्रणालीले मुलुकको कृषि क्षेत्र आत्मनिर्भर हुन नसकेको र गरिबी निवारणसमेत हुन नसकेको उहाँको भनाइ थियो ।

मन्त्री यादवले नदी व्यवस्थापन तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलाई बढी व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन यससम्बन्धी छुट्टै ऐन ल्याउन गृहकार्य सरकारले थालेको उल्लेख गर्दै क्षेत्र नं २ मा पर्ने प्रत्येक जिल्लाको कम्तीमा एउटा गाविसलाई पूर्ण सिञ्चित गाविस घोषणा गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताउनुभयो । रासस

‘औद्योगिक सुरक्षाको प्रत्याभूतिलाई महाधिवेशनले प्राथमिकतामा राख्नुपर्छ’

वीरगन्ज, १७ फागुन । राजनीतिक अस्थिरता र संवैधानिक सङ्क्रमणबीच मुलुक गुज्रिरहेका अवस्थामा हुन लागेको नेपाली का“ग्रेसको १३औँ महाधिवेशनले मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमतिको बाटो अवलम्बन गर्ने नीति तय गर्नुपर्नेमा यस क्षेत्रका उद्योगी–व्यवसायीले जोड दिएका छन् ।

राजनीतिक अस्थिरता र सङ्क्रमणले सोचेजस्तो आर्थिक विकास हुन नसकेको अहिले परिप्रेक्ष्यमा मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि निश्चित सूत्र र चमत्कारी बाटो नहुने जनाउ“दै उनीहरुले का“ग्रेसको यो महाधिवेशनले आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमतिको बाटो अवलम्बन गर्न सुझाए ।

“मुलुकमा सा“च्चिकै आर्थिक र सामाजिक रुपान्तरण गर्ने हो भन्ने शान्ति, स्थायित्व र लगानी मैत्री वातावरणको निर्माण हुनै पर्दछ,” वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले भन्नुभयो – “यसका लागि मुलुकमा सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति, एकता र सहकार्य अपरिहार्य छ ।”

“आर्थिक तथा सामाजिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्य सुरक्षा, आवास र रोजगारीमा पहु“च पु¥याएर राज्यको नीतिनिर्माण गर्ने अङ्गहरुलाई फराकिलो बनाउ“दै तल्लो तहका जनताको नेतृत्वको विकास गर्ने अवसर जुटाउने आर्थिक नीति का“ग्रेसले अवलम्बन गर्नुपर्दछ,” उहा“ले भन्नुभयो – “महाधिवेशनले का“ग्रेसको आर्थिक नीतिमा आर्थिक र सामाजिक समृद्धिका लागि मूलभूत रुपमा सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकतामा राख्नुपर्दछ ।”

कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई का“ग्रेसले आर्थिक विकासको मेरुदण्ड र रोजगारी प्रवद्र्धन गर्ने दिगो क्षेत्रका रुपमा विकसित गर्नुपर्ने तथा जलविद्युत् विकासलाई उच्च प्राथमिकता दिई नेपाललाई दक्षिण एसियाकै जलविद्युत् ऊर्जाघर बनाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउ“दै सङ्घका पूर्वअध्यक्ष एवम् उद्योगपति अशोक वैद्यले भन्नुभयो – “खुल्ला तथा उदार पु“जीवादी अर्थव्यवस्थाको गतिशील पक्ष, समाजवादी व्यवस्थाको समानता र सामाजिक न्यायको सम्मिश्रणबाट आर्थिक समृद्धिसँगै सामाजिक न्यायको लक्ष्य प्राप्त गर्न सकिने हु“दा महाधिवेशन यसतर्फ गम्भीर हुनुपर्दछ ।

“आर्थिक समृद्धिका लागि मूलभूत रुपमा पु“जी, प्रविधि र आफ्नो इच्छाअनुसार जीवन बा“च्न पाउने स्वतन्त्रता नै प्रमुख सर्त हुन्,” नेपाल उद्योग वाणिज्य महासङ्घका केन्दीय सदस्य एवम् उद्योगपति विजय सरावगीले भन्नुभयो –“अहिलेको विश्वमा पु“जी र प्रविधिको अभाव छैन । अभाव छ भने केवल सक्षम व्यवस्थापनको मात्रै छ र यसतर्फ का“ग्रेस महाधिवेशन उन्मुख हुनुपर्दछ ।”

उत्पादन वृद्धिका लागि निजी क्षेत्रको पु“जी, श्रम र उद्यमशीलताका साथै राज्यको लगानी मैत्री नीति आवश्यक रहेको उहा“को कथन थियो ।

“उत्पादन वृद्धि राज्य नियन्त्रित व्यवस्थाबाट नभई निजी क्षेत्रको पु“जी, श्रम र उद्यमशीलताको सम्मिश्रणबाट मात्र सम्भव भएकाले यसतर्फ राज्यले सहयोगीको भूमिका निर्वाह गर्नुपर्दछ,” व्यवसायी मुकेश सरावगीले भन्नुभयो – “सामाजिक सेवाका क्षेत्रमा लगाानी बढाएर सामाजिक न्याय दिन र क्षेत्रीय रुपमा देखिएको विषमतालाई न्यून गर्न सकिने खालका नीति का“ग्रेसले अख्तियार गर्नुपर्दछ ।”

वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् उद्योगपति गणेश लाठले आर्थिक समृद्धि र विकास लागि राजनीतिक स्थिरता आधारभूत र अनिवार्य सर्त हो भन्नुहुन्छ । राज्यको ढा“चा, प्रतिनिधित्वको व्यवस्था, व्यक्तिलाई दिएको स्वतन्त्रता र न्याय निरुपणको स्पष्ट पद्धतिमा प्रत्येक नागरिकको स्वाभाविक सहभागिताका लागि महाधिवेशनले जोड दिनुपर्ने उहाँको भनाइ छ ।

उहा“ले भन्नुभयो – “उदार अर्थव्यवस्था र उदार राजनीति सँगसँगै जान नसक्ने अवस्थामा यसले द्वन्द्वलाई निम्त्याउन सक्दछ ।” त्यसैले पूर्ण लोकतान्त्रिक अभ्यास, उदार र सहमतिको राजनीति, दण्डहीनताको अन्त्य, औद्योगिक सुरक्षाको पूर्ण प्रत्याभूति नै अर्थतन्त्रमा समृद्धिको पहिलो सर्त हो र यसलाई का“ग्रेसले आफ्नो आर्थिक नीतिमा विशेष प्राथमिकता दिनुपर्छ ।

उत्पादन वृद्धि समाजवादी अर्थ व्यवस्था निर्माणतर्फको पहिलो पाइला भएकाले देशको उत्पादन, आयवृद्धि र रोजगारी बढाउनमा जोड दिने, कृषि क्षेत्रको दिगो विकासका लागि कृषिमा अनुदान पुनःस्थापना गर्ने, कृषि क्षेत्रको विविधीकरण र व्यावसायीकरणबाट कृषि क्षेत्रमा आश्रित परिवारको जीवनस्तर सुधार्ने तथा कृषिलाई उद्योगका रुपमा विकास गरी यसवाट रोजगारी बढाउने र विद्यमान असमानता हटाउ“दै जाने नीति का“ग्रेसले तय गर्नुपर्ने यस क्षेत्रका उद्योगी व्यवसायीको मत छ । शीतल महतो/रासस

रु डेढ अर्बको वस्तु निर्यात

विराटनगर, १७ फागुन । विराटनगर नाकाबाट चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४५ करोड ४२ लाख ६१ हजार मूल्य बराबरका विभिन्न प्रकारका खाद्यलगायतका वस्तु भारततर्फ निर्यात भएका छन् ।

सबैभन्दा बढी रु एक अर्ब १२ करोड ८८ लाख ८७ हजार मूल्य बराबरका एक हजार ७७५ मेट्रिक टन अलँैंची निर्यात भएको प्लान्ट क्वारेन्टाइन विराटनगरले जनाएको छ । रु १३ करोड ६१ लाख ९३ हजारको ६ हजार ९७७ मेट्रिक टन पिना, रु एक करोड ५१ लाख ३२ हजारको १४ मेट्रिक टन तेजपात र रु ११ करोड पाँच लाख ४७ हजारको १०१ मेट्रिक टन सुपारी निर्यात भएका छन् ।

यस्तै उक्त नाका भएर रु पाँच करोड ६३ लाख ५१ हजारको ६३० मेट्रिक टन अदुवा, रु १२ लाख १४ हजारको १२१ मेट्रिक टन कूचो, रु १२ लाखको १२ मेट्रिक टन गहुँचोकर, रु तेह्रलाख ३२ हजारको १११ मेट्रिक टन लिनसिड र रु दुई लाख ५५ हजार मूल्य बराबरको पाँच मेट्रिक टन मजिठो निर्यात भएको कार्यालयका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।

यस्तै रु १८ लाख ३० हजार मूल्य बराबरको ६१ मेट्रिक टन चिया, रु १६ लाख ८० हजारको ४० मेट्रिक टन रुद्राक्ष र रु सात लाख २० हजारको १६ मेट्रिक टन चिराइतो भारत निर्यात भएको छ । रासस

भूकम्पप्रभावितलाई खाद्य सुरक्षा कार्यक्रम

बनेपा, १७ फागुन । भूकम्पबाट प्रभावित पशुपालक किसानलाई लक्षित गरेर काभ्रेपलाञ्चोकमा खाद्य सुरक्षा पोषण कार्यक्रम सुरु भएको छ ।

जिल्ला पशुसेवा कार्यालयले जिल्लाको चण्डेनीमण्डन, गैरी, बिसौना, ज्याम्दी र महादेवस्थान गाविसमा पोषण कार्यक्रमअन्र्तगत गोठ निर्माण, बाख्रा वितरण, बङ्गुरका पाठा, कुखुरा चल्ला वितरणलगायतका काम गर्नका लागि स्थानीयस्तरमा समिति गठन गरिएको छ । पशु चिकित्सक मणि सापकोटाका अनुसार कार्यक्रमले पशुपालक किसानलाई जीविकोपार्जन गर्न सहयोग पु¥याउने छ ।

“पोषण कार्यक्रमका लागि रु २२ लाख विनियोजन भएको छ,” उहाँले भन्नुभयो । भूकम्पबाट पशु चौपाया मरेका पशुपालक किसानलाई बाख्रा वा बङ्गुरका पाठा दिने सापकोटाले बताउनुभयो । त्यस्तै पशुसेवा प्रसार कार्यक्रमअन्तर्गत भूकम्पपीडित पशुपालक किसानलाई राहत उपलब्ध गराउन रु पाँच लाख विनियोजन भएको छ । गोठ सुधारका कार्यक्रम देवीटार र पाँचखाल नगरपालिकाका– १५ र १६ वडामा सञ्चालन हुने छ ।

छनोट भएका गाविस तथा नगरपालिकामा रु दुई लाख ५० हजारका दरले रकम वितरण हुने छ । भूकम्पबाट जिल्लामा पाँच हजार ८०० पशु मरेका थिए । रासस

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

झापा, १७ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिकामा आज भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–३ निवासी ४३ वर्षीय मैया मलाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सडक किनारमा पैदल हिँडिरहेकी उनलाई मे२प २९७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

महिलालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ । रासस

हत्याको विरोधमा व्यवसायी विरोधमा

कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यापारीको हत्याको विरोधमा आज कलुवापुर बजार बन्द गरी व्यवसायी विरोधमा उत्रिएका छन् ।

आज बिहान बैतडी होटल एन्ड रेस्टुराँका सञ्चालक ४० वर्र्षीय दामोदर अवस्थीको घाँटी रेटेर होटलभित्रै हत्या गरिएपछि व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका हुन् ।

तत्काल हत्यारा पत्ता लगाइनु पर्ने, व्यवसायीको भरपर्दो सुरक्षाको व्यवस्था गरिनुपर्ने र मदिराको कारोबारलाई व्यवस्थित गरिनुपर्ने माग राखेर विरोध गरिएको कलुवापुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष जयबहादुर विष्टले बताउनुभयो ।

व्यवसाय गरेर बसेका होटेल व्यवसायी माथि होटलभित्रै हत्या हुनु दुर्भाग्य हो उहाँले भन्नुभयो, “शोक र विरोधमा बजार बन्द गरेका छौँ ।”

व्यवसायीले साङ्केतिकरुपमा कलुवापुर बजार क्षेत्रको पूर्व पश्चिम राजमार्गमा आधा घन्टा धर्नासमेत दिएका छन् ।

घटनास्थलमा पुगेका महाकाली अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामप्रसाद श्रेष्ठले व्यवसायीलाई तत्काल हत्यारा पत्ता लगाउने, शान्ति सुरक्षाको प्रत्याभूत गर्ने र प्रहरीको बिट कलुवापुर बजार क्षेत्रमा राख्ने आश्वासन दिएपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगित गरेका छन् । रासस

यान्त्रिक गाईबाट वार्षिक सात लाख आम्दानी

पोखरा, १७ फागुन । पोखरा उपमहानगरपालिका– १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईबाट वाषर््िाक रु सात लाख २३ हजार आम्दानी भएको छ ।

गुफाको सौन्दर्य कायम गर्न २०६४ सालमा रु एक लाख ८० हजारमा निर्मित यान्त्रिक गाईलाई एक दाना खुवाएपछि दूध र गहुँत दिने व्यवस्था मिलाइएको छ । यान्त्रिक गाईको दर्शनका लागि रु १० को गुच्चा प्राप्त हुने र उक्त गुच्चा गाईको नजिकै रहेको प्वालमा राखिदिएपछि दूध तथा गहुँत दिने गर्छ ।

शिवको मन्दिरमा गाईको दूध तथा गहुँतको विशेष महत्व हुने भएकोले त्यस्तो व्यवस्था गरिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउनुहुन्छ । वार्षिक रु सात लाखदेखि रु १० लाखसम्म आम्दानी हुनेगरेको छ । गहुँतबाट आफूलाई शुिद्धकरण गरी दर्शनार्थी गाईले दिएको दूधले गुफाभित्रको शिवको मूर्तिमा चढाउँछन् ।

विसं २०५० मा आश्चर्यजनक गुफा पत्ता लागेपछि देशका विभिन्न ठाउँबाट सो गुफामा महादेवको दर्शनका लागि दर्शनार्थी आउने गरेका छन् । जमिनको सतहबाट लगभग १०० मिटर तल रहेको महादेवको प्राकृतिक मूर्तिमा दर्शन गरेमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास रहेको छ । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष खगराज आचार्यका अनुसार कामधेनु गाईको मूर्ति सुर्खेतका मूर्तिकार तिलक सेञ्चुरीले निर्माण गर्नुभएको हो ।

गुफा बाहिर १०८ किलोको शालिग्राम स्थापना गरिएको छ । त्यसलाई व्यवस्थित गर्न करिब रु एक करोड १५ लाखको लागतमा भवन निर्माणको योजना अघि सारिएको छ । मुस्ताङबाट ल्याइएको शालिग्राम रहेको परिसरलाई विश्व दर्शन धामको रुपमा विकास गर्ने लक्ष्य राखिएको आचार्यको भनाइ छ ।

गुफा प्रवेशका लागि विद्यार्थीबाट रु पाँच, सर्वसाधारणबाट रु १० र विदेशीबाट रु ३० शुल्क लिने गरिएको छ । हिउँदको समयमा मन्दिरसहित गुफा भित्रबाट मनोरम पातले छाँगोसमेत हेर्नका लागि विद्यार्थीबाट रु ३५, सर्वसाधारणबाट रु ५० र विदेशीबट रु १०० शुल्क लिने गरिएको छ । गुफाले यस आवमा कामधेनु गाईको टिकट बिक्री बाहेक अन्यबाट रु दुई करोड पाँच लाख ७३ हजार आम्दानी गरेको छ ।

त्यस्तै दानपत्रबाट रु आठ लाख ३१ हजार, सदस्यता शुल्कबाट रु दुई लाख १३ हजार, बैंक ब्याजबाट रु चार लाख १५ हजार र सहयोग रसिदबाट रु १२ हजार आम्दानी गरेको समितिका कोषाध्यक्ष ऋषिराम बरालले जानकारी दिनुभयो । सो आम्दानीलाई गुफा व्यवस्थापनका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालनका लागि उपयोग गरिँदै आएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलक आचार्यका अनुसार क्याम्पसमा हाल २६८ विद्यार्थी रहेका छन् । गुफा व्यवस्थापन समितिले यसवर्ष रु ६२ लाख क्याम्पस सञ्चालनका लागि छुट्ट्याएको छ । रासस

मिर्गौलाका पाँच हजार बिरामीको उपचार

विराटनगर, १७ फागुन । नेसनल किड्नी अस्पताल विराटनगरले मिर्गौला रोगसँग सम्बन्धित पाँच हजार बिरामीको उपचार गरेको छ ।

तीन वर्षअघि स्थापना भएको सो अस्पतालले गम्भीर एवम् जटिल प्रकृतिका मिर्गाैलासँग सम्बन्धित विभिन्न रोगको उपचार गरी सफाल हुँदै गएको जनाएको छ ।

अस्पतालका सञ्चालक एव्म युरोलोजिस्ट डा सन्तोषकुमार झाका अनुसार भारतको पटना, कटिहार, सिलीगुडी तथा देशका काठमाडौँ, जनकपुर, वीरगन्ज र पूर्वाञ्चलका विभिन्न अस्पतालमा मिर्गाैलासँग सम्बन्धित रोगको उपचार हुन नसकेका बिरामीको सो अस्पतालमा सफलतापूर्वक उपचार तथा शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

मिर्गाैलासम्बन्धी रोगको प्रभावकारी रुपमा उपचार हुँदै गएपछि सो अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सो अस्पतालमा डिजिटल पद्धतिबाट मिर्गाैलामा रहेको पत्थरको शल्यक्रियालगायत, हाडजोर्नी तथा नसा रोग, इसिजी, युएसजी, आइसियुलगायतका उच्चस्तरका सेवा सुविधा उपलब्ध छन् ।

त्यसै सन्दर्भमा विराटनगर–७ का रघुवीर साहले विराटनगरका धेरै अस्पतालमध्ये नेसनल किड्नी अस्पतालको मिर्गाैलासँग सम्बन्धित उपचार सेवा प्रभावकारी रहेको र आफूले सो अस्पतालमा किड्नीमा भएको रोग र मधुमेहको उपचार गराएको बताउनुभयो । रासस

सात हजार स्मार्ट कार्ड वितरण

काठमाडौँ, १७ फागुन । यातायात व्यवस्था विभागले अहिलेसम्म सात हजार स्मार्ट कार्ड वितरण गरेको जनाएको छ ।

वाग्मती अञ्चलभित्रका सवारी चालकलाई स्मार्ट कार्डमार्फत अनुमति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो ।

पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक अनुमतिपत्र लिएकालाई स्मार्ट कार्ड प्रदान गरी परीक्षणको रुपमा हेर्दा सफल भएपछि विभागको देशभर रहेका कार्यालयबाट सबैलाई प्रदान गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

सवारी चालकको परिचय तथा कहिले कहाँबाट सवारी चालकको अनुमति लिएको भन्नेबारेमा सबै जानकारी स्मार्ट कार्डभित्र राखिएको हुन्छ ।

यो विद्युतीय प्रणालीबाट व्यवस्थित गरिएकाले नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न सहयोग पु¥याउनेछ ।

महानिर्देशक श्रेष्ठले यस क्षेत्रमा देखिएका विकृति तथा विचौलियालाई समेत न्यूनीकरण गर्ने बताउँदै स्मार्ट कार्डलाई व्यवस्थित गर्न दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो ।

त्यसैगरी विभागका इन्जिनियर राजकुमार महर्जनले उक्त कार्डको माग दिन प्रतिदिन अत्यधिक बढ्दै गएको भए पनि दैनिक एक हजार स्मार्ट कार्ड वितरण सक्ने क्षमता रहेको बताउनुभयो ।

सवारी अनुमतिपत्रको नवीकरणका लागि दैनिक करिब ६०० निवेदन पर्ने गरेको र तीनलाई स्मार्ट कार्डमा व्यवस्थित गरिने गरेको उहाँले बताउनुभयो । रासस

नारायणी नदीमा झन्डै दुई किलोमिटर तटबन्ध गरिँदै

चितवन, १७ फागुन । नाताको तटबन्धन कार्यक्रमअन्तर्गत यस वर्ष नारायणी नदीमा एक किलोमिटर ७०० मिटर तटबन्धन गरिने भएको छ ।

चितवनतर्फ ९०० मिटर र नवलपरासीतर्फ ८०० मिटर तटबन्धको काम सुरु भएको कार्यालयले जनाएको छ । जसका लागि चितवनतर्फ रु छ करोड र नवलपरासीतर्फ रु पाँच करोड निकासा भएको कार्यक्रमका प्रमुख कृष्णराज पाठकले बताउनुभयो ।

चितवनतर्फ नारायणी नगरपालिकाको बलुवा र लौखुरी, चित्रवन नगरपालिकाको गाँजीपुर र राममन्दिर यस्तै मङ्गलपुरको गणेश मन्दिरमा तटबन्धन गर्न लागिएको छ भने नवलपरासीतर्फ देवचुली, गौँडाकोटको पितौँजी, मध्यबिन्दुको बोटेटोल, कावासोतीको पिठौली र रजहरको पप्रहरमा तटबन्धन गर्न लागिएको हो ।

जनताको तटबन्ध कार्यक्रमले आव २०६६÷६७ सालमा निर्माण गरेको गुरुयोजनाअनुसार रु १० अर्ब ५० करोडको लगानीमा तटबन्ध निर्माणको काम सञ्चालन गरिएको हो ।

चितवनतर्फको ३५ किलोमिटर तटबन्ध निर्माणका लागि रु तीन अर्ब ८० करोड र नवलपरासीतर्फको ६५ किलोमिटर तटबन्ध निर्माणका लागि रु छ अर्ब ७० करोड बजेट माग गरिएको थियो ।

सो लक्ष्यअनुसार आव २०७४÷७५ सम्ममा काम सक्ने भनिए पनि आवश्यक बजेट विनियोजन हुन नसक्नु र आवश्यक कच्चा पदार्थको अभावका कारण निर्माणको काम ढिलाइ भएको कार्यालय प्रमुख पाठकले बताउनुभयो ।

आव २०६६÷६७ सालबाट जनताको तटबन्ध कार्यक्रमले काम सुरु गरेको भए पनि अहिलेसम्म दुवैतर्फ गरी १५ किलोमिटर मात्र तटबन्ध निर्माण गरिएको छ ।

कार्यालयका अनुसार नारायणी नदीको पुलभन्दा तल्लो भागमा चितवनतर्फ राप्ती नदीको सङ्गमस्थलसम्म र नवलपरासीतर्फ त्रिवेणी ब्यारेजसम्म तटबन्धन निमार्णको काम गरिने छ ।

वर्षात्को समयमा नारायणी नदीको दुवैतर्फ बाढीका कारण स्थानीयले ठूलो धनजनको क्षति बेहोर्दै आएका थिए । तटबन्धनको कार्यक्रम सुरु भएयता बाढीको समस्यामा कमी आएको छ ।

लक्ष्यअनुरुपको काम सम्पन्न गर्नसके नदीको दुवैतर्फ सुरक्षित रहने स्थानीयको अपेक्षा रहेको छ । रासस

लुक्ला विमानस्थलमा बम नभएको पुष्टि

काठमाडौ, १७ फागुन । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरण गरेको सिम्रिक एयरको जहाज भित्र बम नभएको पुष्टि भएको छ । बम नभएको पुष्टि भएपछि जहाजहरू काठमाडौं उड्ने तयारीमा छन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अनलाइनखबरसँग भने, ‘बम भएको भन्ने गलत सूचना रहेछ, अब केहीबेरमा जहाजहरू काठमाडौं उड्छन् ।’
काठमाडौंबाट लुक्ला विमानस्थलमा सोमबार बिहान अवतरण गरेको सिम्रिक एयरको डोनियर जहाजभित्र भेटिएको कागजमा खबरदार ‘जहाजमा बम छ’ लेखिएको थियो । उक्त कागज भेटिएपछि विमानस्थलमा त्रास फैलिएको थियो । सुरक्षा जाँचका लागि केहिबेर उडान अवतरण सबै बन्द गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी शर्माले सुरक्षाकर्मीले बम नभएको क्लीयरेन्स दिइसकेको जानकारी दिए । गलत हल्ला फैलाएर जनजीबन त्रसित बनाउनेको अनुसन्धान भइरहेको उनले बताए ।
यद्यपी त्रास फैलाउने व्यक्तिको पहिचान भइसकेको छैन ।

पैसासहित श्रीमती अर्कोसँग गएपछि बिचल्ली

कालिकोट, १७ फागुन । कालीकोट जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमान्ले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् ।

जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत रकम रु सात लाख पठाएको अभिभावकले बताएका छन् ।

नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ गरी प्रहरीलाई बुझाएको तर उनीसँग रकम नभेटिएको बताइएको छ ।

आफूलाई विदेशबाट श्रीमान्ले केही रकम घर खर्चका लागि पठाएको भएपनि रु सात लाख भने नपठाएको शान्तिले बताएकी छन् । अहिले मनियारलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी विभागीय कारबाहीका लागि प्रक्रियाअघि बढेको इलाका प्रहरी कार्यालय स्युनाका निमित्त कार्यालय प्रमुख तथा असई कुलबहादुर खड्काले जानकारी दिए ।

शान्ति तिरुवालाई भने मनियारको जिम्मा लगाइएको छ । रासस

Sunday, February 28, 2016

काँग्रेसको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, १६ फागुन । संविधानको कार्यान्वयनलाई जोड दिने गरी नेपाली काँग्रेसको भावी नीति तथा कार्यक्रमको मस्यौदा केन्द्रीय समितिबाट आज पारित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बैठकले आसन्न १३औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा पारित गरेको हो ।

बैठकले पार्टीको भावी नीति तथा कार्यक्रममा केही नेताहरुले राखेका सुझावलाई समेटेर संशोधनसहित आज पारित गरेको केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिनुभयो । कार्यवाहक सभापति पौडेल नेतृत्वको समितिद्वारा बैठकमा प्रस्तुत मस्यौदामा धेरै केन्द्रीय सदस्यले सुझाव राखेको उहाँले बताउनुभयो ।

बैठकमा बोल्नेले कार्यान्वयन गर्न सकिने र अहिलेका लागि अत्यावश्यक विषयवस्तुलाई मात्रै राख्न सुझाव दिएपछि नेता पौडेलले संशोधन गर्नुभएको नेता खाँडले जानकारी दिनुभयो । बैठकमा अधिकांश पदाधिकारी एवम् सदस्यले मस्यौदामाथि आफ्ना धारणा राख्नुभएको थियो । मस्यौदामा संविधान कार्यान्वयन, तराई–मधेस आन्दोलन, समसामयिक राजनीतिलगायत अन्य विषयलाई समेटिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताउनुभयो ।

उहाँले मस्यौदामा तराईमा उठेका आन्दोलनलाई स्वशासन, आत्मसम्मान र पहिचानको संज्ञाका रूपमा उल्लेख गरिएको छ । मस्यौदामा तराई–मधेसको जनजीवन सुधारका लागि हुलाकी सडक निर्माण गर्ने, रेल्वे लाइनको स्थापना गर्ने, ग्रामीण सडकको सुधार गर्ने, उत्तर–दक्षिण लिङ्क रोड निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्नसक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ ।

संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास हुन सक्छ भन्ने आशङ्का गर्दै संविधान कार्यान्वयनका लागि दृढता र सङ्कल्प प्रदर्शन गर्ने नीति प्रस्ताव गरिएको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

पार्टीले सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोतसाधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायतका बाँकी महत्वपूर्ण विषयको टुङ्गो लगाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति लिएको छ ।

मस्यौदामा प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्ने र बिपीले खडा गरेको धरातलमा अडिएर राष्ट्र हितलाई जोड दिई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने काँग्रेसको नीति हुने जनाइएको छ ।

काँग्रेसले आर्थिक पुनरात्थानका लागि कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानका रूपमा प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ ।

त्यस्तै, भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्बन्धबाट सन्तुलित सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहने मस्यौदामा उल्लेख छ । काँग्रेसले नेपालको आर्थिक, सामाजिक राजनीतिक रुपान्तरण गर्ने, सामाजिक न्याय र आर्थिक वृद्धिबीचको सन्तुलन कायम गर्ने, खाद्य सुरक्षा, ऊर्जा सुरक्षाजस्ता आधारभूत कुरा पूरा गर्ने मूल नीति भनेको छ ।

त्यस्तै, स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्ने, आत्मनिर्भरताउन्मुख अर्थनीति अँगाल्ने तथा ज्ञान र प्रविधि विकाससहितको दिगो विकासमा जोड दिने मुख्य नीति रहने मस्यौदामा उल्लेख छ ।

महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तयार पार्न काँग्रेसले कार्यवाहक सभापति पौडेलको संयोजकत्वमा ३५ सदस्यीय नीति तथा कार्यक्रम प्रस्ताव समिति गठन गरेको थियो । समितिमा भएको छलफलका आधारमा कार्यदलले मस्यौदा तयार पारेर केन्द्रीय समितिमा पेस गरिएको थियो ।

केन्द्रीय समितिबाट आज पारित नीति तथा कार्यक्रम महाधिवेशनबाट पारित भएपछि मात्रै पूर्ण हुनेछ । बैठकमा पार्टीका महामन्त्रीले महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि पनि छलफल भएको थियो । महामन्त्रीको प्रतिवेदन केन्द्रीय समितिले पारित गर्नु नपर्ने भए पनि छलफल गरेर महामन्त्रीलाई सुझाव दिइएको नेता गगन थापाले जानकारी दिनुभयो । रासस

काँग्रेसमा अञ्चललाई प्रादेशिक बनाईने, पदाधिकारी बढेन

विद्युत्भार कटौती न्यूनीकरण गर्न सरकार गम्भीर –ऊर्जामन्त्री

तिलोत्तमा (रुपन्देही), १६ फागुन । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा सङ्कट अन्त्य गर्न सरकारले सबै विधि अपनाइरहेको बताउनुभएको छ ।

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले लामो सयम विद्युत् कटौटी गर्दा आमनागरिक र उद्योगी व्यवसायी मर्कामा परेकाले विद्युत्भार कटौती न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री रायमाझीले एक वर्षभित्र नेपाललाई विद्युत्भार कटौतीमुक्त गराउने गरी नयाँ योजना अघि बढाइएको उल्लेख गर्नुभयो । हाल ६०० मेगावाट विद्युत् उपलब्ध भइरहेको र न्यूनतम् एक हजार ५०० मेगावाट विद्युत् उत्पादन भए नेपाललाई विद्युत्भार कटौतीमुक्त बनाउन सकिने उहाँको भनाइ थियो ।

एक अर्को प्रसङ्गमा एकीकृत नेकपा (माओवादी)का सचिवसमेत रहनुभएका उहाँले मुलुक अहिले एमाओवादीकै एजेण्डामा चलेको बताउँदै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले माक्र्सवाद त्यागेर ठूलो भूल गरेको उल्लेख गर्नुभयो ।

यसैबीच, रुपन्देहीकै सैनामैना नगरपालिकास्थित सैनामैना उमाविको ४२औँ वार्षिकोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री रायमाझीले शिक्षा पद्धति पुरानै ढर्राको हुँदा शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने ठाउँ जस्तै भएको उल्लेख गर्नुभयो । रासस

नेपाल लोकसंस्कृतिमा धनी छ : आना स्टर

पोखरा, १६ फागुन । नेपाली लोक संस्कृतिको अनुसन्धानका क्षेत्रमा क्रियाशील अमेरिकी नागरिक आना स्टरले नेपाल लोक संस्कृतिका क्षेत्रमा धनी रहेको बताउनुभएको छ ।

स्वतन्त्र पत्रकार सङ्घ, नेपालले आज यहाँ आयोजना गरेको “लोकसंस्कृति सम्वद्र्धन तथा संरक्षण” विषयक अन्तक्र्रिया एवम् पत्रकार भेटघाट कार्यक्रममा उहाँले विविधतालेयुक्त नेपालमा धेरै महत्वपूर्ण संस्कृति रहेको बताउनुभयो ।

नेपाली लोक संस्कृतिको अनुसन्धानका क्रममा नेपालका विभिन्न गाउँ र बस्तीमा पुगेको स्मरण गर्दै स्टरले नेपाली लोकसंस्कृतिको संरक्षणको विषयलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नेपालको लोक संस्कृतिका क्षेत्रमा अमेरिकी अनुसन्धाता स्टरले गहन अध्ययन गर्नुभएको चर्चा गर्दै लोपोन्मुख लोक संस्कृतिको जगेर्नामा प्रत्येक नेपालीको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घ, नेपालका महासचिव कमल पौडेल ‘अथक’ले पछिल्लो समयमा लोक संस्कृतिको क्षेत्र कमजोर बन्दै गएको बताउँदै यसको सवलीकरणका लागि जुट्नु आवश्यक भएको बताउनुभयो ।

सञ्चारकर्मी शान्ति राणाले अमेरिकी नागरिक स्टरले नेपाली लोकसंस्कृतिका क्षेत्रमा गर्नुभएको अध्ययन अनुसन्धानले भूगोलका कारण कुनै पनि कला संस्कृति नछेकिने पुष्टि गरेको धारणा राख्नुभयो ।

अमेरिकी नागरिक आना स्टरलाई नेपाली लोक संस्कृतिको अनुसन्धान र नेपाली लोक गायनमा क्रियाशील रहेको भन्दै अलि मिया लोकवाङ्मय प्रतिष्ठानले लोककवि अलि मियाको ९८औँ जन्मजयन्तीका अवसरमा शनिबार रु २० हजार नगदसहित सम्मानपत्र र दोसल्लाले पोखरामा सम्मान गरेको थियो । रासस

इन्धन तथा उपभोग्य वस्तु सहज बनाइने : मन्त्री पुन

नदीमा डुबेर किशोरी बेपत्ता

चितवन, १६ फागुन । नारायणी नदी किनारमा फोटो खिच्ने क्रममा डुबेर आज दिउँसो एक किशोरी बेपत्ता भएकी छन् ।

नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने १९ वर्षीया स्मिता ज्ञवाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार नारायणी किनारमा फोटो खिच्न पुगेका दुई किशोरी चिप्लिएर नदीमा खसेका थिए । उनीहरुमध्ये ज्ञवाली बेपत्ता भएकी हुन् भने उनकी साथी सोही स्थान बस्ने १८ वर्षीया नम्रता सापकोटाको प्रहरीले उद्धार गरेको छ । अरोमा कलेज भरतपुरमा अध्ययनरत उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

एकताको सन्देश दिन महाधिवेशन सफल हुने विश्वास

प्राधिकरण र तल्लो मोदीबीच विद्युत् खरिद सम्झौता

सबै दलको सहकार्यमा सरकार गठन हुन्छ–बिजुक्छे

भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली काँग्रेसको महाधिवेशनपश्चात सरकार परिवर्तन हुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले महाधिवेशनपश्चात् काँग्रेसकै नेतृत्वमा नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), मधेसवादीलगायत दलको सहकार्यमा सरकार निर्माण हुने बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीका लागि कुनै फरकपन देखा नपरेको भन्दै उहाँले भमणबाट खासै सम्बन्ध सुधार नभएको बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन जति सक्यो छिटो गर्न सके त्यसले पुनःनिर्माणमा सहयोग पुग्नुका साथै मधेस र जनजातिका आधा समस्या सम्बोधन हुने उहाँको भनाइ थियो । रासस

राष्ट्रपतिबाट पहिलो संशोधन विधेयक प्रमाणीकरण

काठमाडौँ, १६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘नेपालको संविधानको पहिलो संशोधन विधेयक, २०७२’ आज प्रमाणीकरण भएको छ ।

व्यवस्थापिका–संसदले उक्त विधेयक माघ ९ गते पारित गरेको थियो । पारित विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गर्नुभएको थियो । प्रमाणित विधेयकलाई प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो ।

मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रमुख तीन दलहरुबीच भएको सहमतिअनुसार सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसद्मा विधेयक दर्ता गराएको थियो । विधेयकमाथि संसद्मा लामो समयसम्म सैद्धान्तिक र दफावार छलफल भएपछि विधेयक पारित भएको थियो ।

नेपालको संविधानलाई संशोधन गर्न हालै बनेको विधेयकले संविधानका तीनवटा धारालाई संशोधन गरेको छ ।

संविधानको धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत समावेशी सिद्धान्तको आधारमा भन्ने स्थानमा समानुपातिक समावेशी हुने व्यवस्था गरिएको छ ।

धारा ८४ मा ‘भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्ने’ भन्ने व्यवस्था रहेकोमा ‘जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने’ गरी संशोधन भएको छ ।

त्यसैगरी, धारा २८६ मा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा एक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्या मुख्य र भूगोललाई दोस्रो आधार मान्नुपर्ने’ व्यवस्था गरिएको छ । रासस

काँग्रेसमा समझदारीको सन्देश दिन सम्मान गरिने

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सबै नेता १३औँ महाधिवेशनमा समझदारीका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश दिन मङ्गलबार राजधानीमा जिल्ला एवम् क्षेत्रीय सभापतिको सम्मान एवम् बिदाई कार्यक्रम गरिने भएको छ ।

नेका जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा राष्ट्रिय सभागृहमा ७५ जिल्लाका पूर्वसभापति, २४० निर्वाचनका क्षेत्रीय सभापतिको बिदाई र नवनिर्वाचित सभापतिको स्वागत कार्यक्रम आयोजना गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा जिल्ला सभापति एवम् सांसद मोहनबहादुर बस्नेतले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताको सन्देश प्रवाह गर्न दलभित्र पूर्ण समझदारीको विकास गर्न कावा सभापति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

“कार्यक्रमका लागि वरिष्ठ नेता शेरबहादुर देउवा, पार्टी पदाधिकारी एवम् केन्द्रीय सदस्य, पार्टीका तर्फबाट निर्वाचित सांसद, जिल्ला सभापति, पूर्व जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई निमन्त्रणा गरिएको छ”–उहाँले भन्नुभयो । रासस

हठ छाडेर समाधान खोजौँ : प्रम

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र सहमतिकै आधारमा मुलुकको समस्या समाधान गर्न राजनीतिक संयन्त्रलाई पूर्णता दिई अघि बढ्न आन्दोलनरत संयुक्त लोकतान्तिक मधेसी मोर्चालाई आह्वान गर्नुभएको छ ।

इन्टरनेसनल कन्सर्न सेन्टरले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध ः नयाँ आयाम र उत्तरदायित्व’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले असहमतिका विषयलाई आवश्यकता आधारमा समाधान गरेर अघि बढ्न सकिने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“तराईको समस्या अलिक जटिल छ । म मधेसी मोर्चाका साथीहरुलाई भन्छु, ओइरोबिनाको जातो घ्वाइँ घ्वाइँ नपारौँ, तात्तै जान्छ, निष्कर्ष केही छैन, त्यस्तो खालको जाँतो नघुमाऔँँ । सधँै समस्या मात्रै खडा गर्ने हैन, हठ छाडेर असमानता कहाँ छ, समाधान खोजौँ ।”

संविधानले तराईका जनतालाई कुनै विभेद नगरेको बरु विशेष व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि बनाइएको संविधान आवश्यकताका आधारमा परिमार्जन गर्दै जान सकिने बताउनुभयो ।

नेपाल–भारतबीच देखिएको असमझदारी हटाउन आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “दुई देशबीच अलिकति असमझदारी थियो, त्यसलाई हटाउन मेरो भ्रमणले मद्दत पुगेको छ, अबको मूल्य र मान्यताका आधारमा सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाइनुपर्छ ।”

उहाँले छिमेकीविरुद्ध कुनै पनि प्रकारको सोच राख्ने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै असल छिमेकी भारत र चीनबाट आर्थिक लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो । “हामी सबै मित्र राष्ट्रसँग बरोबर सम्बन्ध स्थापित गर्न चाहन्छाँै, एउटाको भूमि अर्कोलाई प्रयोग गर्न दिँदैनौँ, अब नयाँ आवश्यकतामा जानुपर्छ पछाडि फर्केर हेर्ने हैन”, उहाँले भन्नुभयो ।

सो अवसरमा नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको असमझदारी अन्त्य गरी विश्वासको वातावरण सिर्जना गर्न मद्दत पुगेको बताउनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले दुई देशबीचको कूटनीतिक असमझदारीले आएको तिक्ततालाई प्रधानमन्त्रीको भारत भ्रमणले अन्त्य गरेको उल्लेख गर्दै भारतको आधारभूत सम्बन्धमा दखल नपर्ने गरी छिमेकी मुलुक चीनसितको व्यापारिक सम्बन्धलाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो । पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले असहज परिस्थितिमा भएको प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार्न उपलब्धिमूलक छ भन्दै आपसी शङ्का मेटेर दिगो सम्बन्ध कायम गरिनुपर्ने औँल्याउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणले सफल भएको र नेपालमा भारतीय लगानी अभिवृद्धि गर्ने दरिलो वातावरण सिर्जना भएको स्पष्ट गर्नुभयो ।

कृषिमन्त्रीसित सवाल–जवाफ

चीन विरोधी गतिविधि हुन नदिन नेपाली सुरक्षा अधिकारी सजग रहनुपर्नेमा जोड

काठमाडौँ, १६ फागुन । नेपाल र चीनका वरिष्ठ सुरक्षा अधिकारी सम्मिलित द्विपक्षीय बैठक आज यहाँ सम्पन्न भयो ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त बैठकमा नेपालले चीनको राष्ट्रिय स्वार्थमा आघात हुने कुनै किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने र एक चीन नीतिप्रतिको प्रतिबद्धता पेस गरेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्र मन्त्रालय, उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्र अर्यालका अनुसार बैठकमा नेपाल–चीन सीमा सुरक्षा लगायत पारस्परिक सम्बन्धका सबै विषयमा छलफल भएको थियो ।

बैठकमा चिनियाँ पक्षले मार्च महिनामा चीनमा धार्मिक, सांस्कृतिक एवम् विविध उत्सव परेकाले चीन विरोधी गतिविधि हुन नदिन नेपाली सुरक्षा अधिकारी विशेष सजग रहनुपर्नेमा जोड दिएको थियो ।

बैठकमा चिनियाँ पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका बाह्य सुरक्षा मामिलासम्बन्धी महानिर्देशक ल्यु गोआङ्यानले गर्नुभएको थियो भने साथमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलगायत ११ जनाको सहभागिता थियो । बैठकमा नेपालबाट परराष्ट्र, गृह, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चअधिकारी हुनुहुन्थ्यो । रासस

पर्यटक सङ्ख्या अझै बढेन

डा न्यौपाने स्वास्थ्य सेवा पुरस्कारका लागि छनोट

म्याग्दी, १६ फागुन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपाने उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गरेको जनाई डा न्यौपानेलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारका लागि छनोट गरेको हो । पुरस्कार साथ रु एक लाख रहने छ ।

वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा न्यौपानेले स्रोत र साधनको अभाव भए पनि स्थानीयस्तरमै सहयोग जुटाएर जटिल मानिएको शल्यक्रिया सहितको सेवालाई जिल्लास्तरमै उपलब्ध गराउन सफल भएबापत छनोट गरिएको जनस्वास्थ्य प्रशासन अनुगमन तथा मूल्याङ्कन महाशाखाले जनाएको छ ।

करिब साढे दुई वर्ष अगाडि जिल्लामा आएका डा न्यौपाने हाडजोर्नी तथा नसा रोगसम्बन्धी उपचारलाई जिल्ला अस्पतालमै सुरू गरेपछि ग्रामीण क्षेत्रका बासिन्दाले समेत सहज र निःशुल्क सेवा पाइरहेका छन् । रासस

सोह्र टन सुपारीसहित चालक पक्राउ

गोलबजार (सिरहा), १६ फागुन । बडहरामाल गाविसबाट आज प्रहरीले १६ टन अवैध सुपारीसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेका छैन । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ४ख. २०६९ नंको ट्रकमा विशेष सुराकीका आधारमा जाँच गर्दा अवैध सुपारी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । पछिल्लो समय यहाँबाट सुपारी तस्करी बढेको छ । रासस

काँग्रेस प्रतिपक्षमा बस्ने होइन–पोखरेल

बागलुङ, १६ फागुन । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले काँग्रेस सरकारमा आउनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान निर्माणमा अगुवाइ गरेको दल संविधान कार्यान्वयनका लागि बनेको सरकारमा प्रतिपक्षी भएर बस्न मिल्दैन भन्नुभयो ।

उहाँले महाधिवेशनपछि काँग्रेस सरकारमा सहभागी हुने विश्वास व्यक्त गर्दै काँग्रेस र मधेसी मोर्चासहितको राष्ट्रिय सरकार बन्नुपर्ने तर सरकारको वर्तमान नेतृत्व भने विस्थापन हुन नहुने स्पष्ट पार्नुभयो । “अब नेपालको राजनीतिलाई विकास र समृद्धितर्फ लैजानुपर्छ, आर्थिक सामाजिक रुपान्त्रण आवश्यक छ, विकास राजनीतिको मुख्य मुद्दा बन्नुपर्छ” नेता पोखरेलले भन्नुभयो । रासस

रुस्लान क्रिकेट कप : हिमालयन एकेडेमी विजयी

काठमाडौँ, १६ फागुन । प्रथम रुस्लान ट्वेन्टी ट्वेन्टी क्रिकेट कप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ ।

काठमाडाँै क्रिकेट सेन्टरको आयोजनामा शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त प्रतियोगितामा हिमालयन क्रिकेट एकेडेमीले लर्ड बुद्ध क्रिकेट क्लबलाई ५४ रनको ठूलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हिमालयनले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार ग¥यो ।

हिमालयनको १५५ रनको विजय लक्ष्यलाई पछ्याएको लर्डबुद्ध एक सय रनमा नै समेटियो । लर्डबुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनमा समेटिएको हो ।

हिमालयनको जितमा अमरसिंह रौतेलाले २४ रनको योगदान दिए भने उपेन्द्र थापा र अविनाश अधिकारीले समान २२÷२२ रन जोडे ।

त्यस्तै, हिमालयनका अर्का ब्याट्सम्यान शक्ति सिंह भण्डारीले २० रन जोडे । लर्डबुद्धलाई एक सय रनमा समेट्ने क्रममा हिमालयनका सतेन्द्र जोशी र प्रोसन थापाले समान ३÷३ विकेट लिए ।

यता लर्डबुद्धका ब्याट्सम्यान सुजन थपलियाले ३५, संयोग दाहालले १८ र शेरसिंह खत्रीले २० रन जोडेका थिए ।

प्रतियोगिताको उपाधि विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउनेछन् । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल आर्मी क्लबलगायत काठमाडौँ उपत्यकाका १२ र उपत्यकाबाहिरका चार टोलीले प्रतिस्पर्धा गरेका छन् । रासस

‘पर्वतीय पर्यटन’ अध्ययनको आकर्षण बन्दै पर्वतीय सङ्ग्रहालय

पोखरा, १६ फागुन । पोखरा उपमहानगरपालिका–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्वतीय पर्यटन अध्ययन गर्ने अध्येताका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

नेपाल पर्वतारोहण सङ्घको ११ करोड ३० लाख ४८ हजार ८५० रुपैयाँको लागतमा कुल एकसय रोपनीमा फैलिएको परिसरको करिब छ रोपनी आठ आना क्षेत्रफलमा निर्माण सम्पन्न भई २०६१ साल माघदेखि सञ्चालनमा आएको यो सङ्ग्रहालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट विभिन्न अध्येता अध्ययन तथा अनुसन्धानका लागि आउने गरेका छन् ।

पर्वतीय पर्यटनका विभिन्न पक्षको प्रत्यक्ष रुपमा जानकारी पाउनसक्ने किसिमले सङ्ग्रहालयमा धेरै पक्ष समेट्ने प्रयास गरिएको सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार हिमालैहिमालको देशका रुपमा परिचित नेपालमा आठ हजारभन्दा बढी उचाइ भएका १४, सात हजार ५०० देखि सात हजार ९९९ सम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कुल एक हजार ९१३ वटा हिमचुचुरा रहेका र तिनीहरूको जानकारी एकै ठाउँबाट लिनसक्ने गरी सङ्ग्रहालयमा व्यवस्था गरिएको छ ।

“एउटै छानामुनि विश्वका उच्च हिमाली शृङ्खलाको यस सङ्ग्रहालयमा जानकारी लिन सकिन्छ,” उहाँले भन्नुभयो, “हाल फोटोहरू प्रदर्शन गरिएकामा निकट भविष्यमा नै आठ हजार मिटरभन्दा माथिका सबै हिमशृङ्खलाको आकार आउने गरी नमुना तयार गरिनेछ ।” सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई ४० रुपैयाँ र सर्वसाधारण नेपालीका लागि ८० रुपैयाँको शुल्क लाग्ने व्यवस्था गरिएको छ । सार्कअन्तर्गतका पर्यटकलाई २०० रुपैयाँ र अन्य देशका पर्यटकका लागि ४०० रुपैयाँ अवलोकन शुल्क निर्धारण गरिएको सङ्घका प्रथम उपाध्यक्ष एवम् सङ्ग्रहालयका संयोजक सन्तवीर लामाले बताउनुभयो ।

लामाका अनुसार अहिलेसम्म १२ लाख ३५ हजार ४४० जना सङ्ग्रहालय अवलोकनकर्ताबाट प्रवेश शुल्क स्वरुप १० करोड चार लाख १७ हजार २८ रुपैयाँ आम्दानी भएको छ । विश्वका मान्यता प्राप्त आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिमशिखरमध्ये आठ हजार ८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमा पर्दछन् । नेपालमा पर्ने अन्य हिमालमा आठ हजार ५०६ मिटरको कञ्चनजङ्घा, आठ हजार ५१६ मिटरको लोप्से, आठ हजार ४८५ मिटरको मकालु, आठ हजार २०२ मिटरको चोयु, आठ हजार १६७ मिटरको धौलागिरि, आठ हजार १६३ मिटरको मनास्लु र आरोहणको इतिहासमा अग्रणी आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल रहेका छन् ।

नेपाल सरकारद्वारा गठित पिक प्रोफाइल सब–कमिटीका संयोजकसमेत रहनुभएका आङछिरिङ शेर्पाका अनुसार आठ हजार ५०५ मिटर अग्लो योलुङकाँङ, आठ हजार ४७६ मिटरको कञ्चनजङ्घा साउथ, आठ हजार ४७६ मिटरको कञ्चनजङ्घा सेन्टर, आठ हजार ४१३ मिटरको लोत्से सार र आठ हजारभन्दा माथिको एउटा मात्र ‘भर्जिन’ हिमाल आठ हजार ७७ मिटरको हेलुङखाँङ वयस्टसहित नेपालका थप ६ वटा हिमशृङ्खलाले निकट भविष्यमा मान्यता प्राप्त गर्नेछन् ।

यी हिमालसहित विश्वका हिमालमा आजसम्म भएगरेका गतिविधि, हिमालका काँठामा बसोबास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु, वनस्पति, खनिज पदार्थको एउटै छानामुनि अध्ययन र अवलोकन गरी भरपूर जानकारी लिन सकिने गरी पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय सञ्चालनमा आएको अध्यक्ष शेर्पाको भनाइ छ । सङ्ग्रहालयमा पर्वतारोहण, पदयात्री, स्किइङ, सिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको सङ्घका सल्लाहकार डा गणेश गुरुङ बताउनुहुन्छ ।

सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेथ सीबाट ल्याइएको चट्टानकोसमेत अवलोकन गर्न सकिने व्यवस्थाले आन्तरिक तथा बाह्य पर्यटनमा महत्वपूर्ण सहयोग पुग्ने सल्लाहकार गुरुङको धारणा छ । अपाङ्गमैत्री उक्त सङ्ग्रहालयमा पर्वतीय क्षेत्रका बासिन्दा, पर्वत तथा विविध पर्वतीय क्रियाकलाप तथा सहयोगी र सामाजिक गरी चार कक्षमा १२ उपकक्ष रहेको कार्यालय प्रमुख बलप्रसाद राईले बताउनुभयो ।

एसियाकै नमुनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, दक्षिण कोरिया लगायतका विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्रीहरु प्रदर्शन गरिएका छन् ।

राईका अनुसार विश्वशान्तिको कामनाका साथ विभिन्न मुलुकका ख्यातिप्राप्त हिमाल आरोही, शुभचिन्तक, शुभेच्छुकसहित जापानको हिरोसिमामा सम्पन्न विश्व सम्मेलनमा हिमाल र हिमाली क्षेत्रको सुधारका लागि गरिएको सामूहिक प्रतिबद्धतासहितको हस्ताक्षरसमेत सङ्ग्रहालयमा प्रदर्शन गरिएका छन् । सङ्ग्रहालयको बाहिरी क्षेत्रमा पर्वतीय सङ्ग्रहालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दावानोर्वु शेर्पा, डा हर्क गुरुङ र कुमार खड्गविक्रम शाहको अद्र्धकदको सालिक निर्माण गरिएका छन् भने मनोरम मनास्लु हिमालको नमूना र कृत्रिम क्लाइम्बिङ वालसमेत निर्माण गरिएका छन् ।

सङ्ग्रहालयमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । अहिलेसम्म पाँच लाख ९० हजार ८५२ जना विद्यार्थी, तीन लाख ८१ हजार ९६७ जना सर्वसाधारण नेपाली, सार्क राष्ट्रबाट ९२ हजार ६६९ जना पर्यटक र अन्य बाह्य एक लाख ६० हजार ४२५ जना पर्यटकले अवलोकन गरिसकेको तथ्याङ्क छ । सङ्ग्रहालय परिसरबाहिर मात्र घुम्ने प्रयोजनका लागि १० हजार ६४ जनाले अहिलेसम्म टिकट काटेका छन् भने ६४ हजार ७० जना विशेष अतिथिले सङ्ग्रहालयको अवलोकन गरेको देखिएको छ । पछिल्लो समयमा विभिन्न शैक्षिक संस्थाबाट पर्वतीय पर्यटन अध्ययनका लागि स्वदेशी एवम् विदेशी विद्यार्थी आउने क्रम बढेको सङ्ग्रहालयले जनाएको छ । रासस

आर्थिक समृद्धि र शान्ति कायम गर्न सरकार प्रयासरत छ’

पोखरा, १६ फागुन । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयन नै अहिले सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ, ४ नं प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दैैै उहाँले संविधानको कार्यान्वयन सँगसँगै मुलुकको आर्थिक समृद्धि, सुशासन र शान्ति कायम गर्न सरकार प्रयासरत छ भन्नुभयो । उहाँले पत्रकार जगत्ले पनि पत्रकारिताको माध्यमबाट नेपाली समजलाई सही बाटामा अगाडि बढाउन अहम् भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा–४ नं प्रदेश अन्तर्गतका ११ जिल्लाका सङ्घसँग आबद्ध पत्रकारको सहभागिता छ । रासस

‘फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै’

Saturday, February 27, 2016

मोर्चाको आन्दोलनलाई मधेसकै जनताले साथ दिँदैनन् : उपप्रम रावल

पोखरा, १५ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री र रक्षामन्त्री भीम रावलले मधेसी मोर्चाले गर्ने अबका कुनै पनि नाकाबन्दी र आन्दोलनलाई मधेसकै जनताले साथ नदिने बताउनुभएको छ ।

नेकपा (एमाले) कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नयाँ संविधानले कसैप्रति विभेद नगरेकाले मोर्चाले गर्ने जुनसुकै आन्दोलनको विरोध मधेसी जनताबाटै सुरु हुने दाबी गर्नुभयो ।

अनेकन बखेडा झिकेर आन्दोलनका नाममा नेपाली जनताको जनजीवन अस्तव्यस्त पार्ने र देशमा असहज अवस्था सिर्जना गर्ने जोकोही समूहले गर्ने आन्दोलन र हडताललाई कडाईका साथ कारबाही गरिने जानकारी दिँदै उहाँले सीमा नाकापारीबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुडा गर्नेलाई देशद्रोहीको संज्ञा दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि गर्ने चीन भ्रमणका क्रममा नेपालका उत्तरतिरका सबै नाका खोलिने, एक तिहाई इन्धनको आपूर्ति र पारवहन सुविधाका बारेमा समेत सम्झौता हुने जानकारी गराउँदै उहाँले त्यस भ्रमणमा दुई देशबीचका अन्य आर्थिक एजेण्डामा समझदारी हुने विश्वास व्यक्त गर्नुभयो । रासस

नेपाल प्याराग्लाइडिङ प्रि–वल्र्ड कप तथा खुला प्रतियोगिता सुरु

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts