Saturday, April 30, 2016

सबैको श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

चट्याङले पाँच घाइते

धनकुटा १९ वैशाख । शनिबार राति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर पाँच जना घाइते भएका छन् ।
चट्याङका कारण करेन्ट चुहिई कुखुरा फर्ममा आगलागी भएको छ भने हुरीले एउटा घरको छानो उडाएको छ ।

हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर डाँडाबजार–७ का मोहन खपाङगी, भरतकुमारी बजगाइँ, शर्मिला लिम्बू, कोपिला विश्वकर्मा र छ वर्षीय असिम विश्वकर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
डाँडाबजार– ७ लुङ्फाजुङका टङ्क मगरको कुखुरा फर्म रहेको दुई तले घरमा आगलागी हुँदा ९०० बोइलर कुखुरासहित अन्य सामग्री जलेर नष्ट हुँदा करिब पाँच लाख बराबरको क्षति भएको प्रहरी प्रवक्ता विमल बस्तेतले जानकारी दिनुभयो ।

यता हावाहुरीले धनकुटा बजारस्थित भीमनारायण चोकका सत्यनारायण श्रेष्ठको घरको जस्ता पाताको छानो उडाएको छ । हुरीले उडाएको घरको छानोले विद्युत्को लाइनमा क्षति पु¥याएपछि यहाँ रातभर विद्युत् अवरुद्ध भएको थियो । रासस

असहाय विद्यार्थीलाई छात्रवृत्ति र पुस्तक

भक्तपुर, १९ वैशाख । परिवारमा बाबु वा आमा गुमाएर असहाय ४४ विद्यार्थीलाई छात्रवृत्ति, पोसाक तथा पुस्तक लगायत सामग्री वितरण गरिएको छ ।
असहाय शिक्षा सेवा केन्द्र भक्तपुरले विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसहित पाठ्यपुस्तक, पाठ्यसामग्री विद्यालय झोला, दुई जोर पोसाक, स्विटर र जुत्ता शनिबार प्रदान गरेको हो ।

सो अवसरमा जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गर्दै संस्थागत विद्यालयले पनि १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, नेपाल कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी, त्रिविविका पूर्व परीक्षा नियन्त्रक दयामान कर्माचार्य, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवाल, श्रीपद्य उमाविका प्राचार्य राम हाडा, वागेश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छा, मेघा माविका प्रिन्सिपल गङ्गाधर हाडा लगायतले गरिब तथा असहाय भएकै कारण कसैले पनि पढाइबाट वञ्चित हुन नहुने बताउनुभयो ।

केन्द्रका संस्थापक अध्यक्ष रामप्रसाद प्रजापतिले आफ्नो निजी र व्यक्तिगत खर्चमा २०६३ सालदेखि हालसम्म रु ६९ लाखको छात्रवृत्ति वितरण गर्नुभएको छ । रासस

रसुवागढी आयोजनाको क्षति मूल्याङ्कन गरिँदै

धुन्चे (रसुवा), १९ वैशाख । रसुवागढी १११ मेगावाट जलविद्युत् आयोजना निर्माणस्थलमा शनिबार भएको आगलागीबाट जलेका आवासको मूल्याङ्कन सुरु भएको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार टिमुरे–६ स्थित सुरुङभित्र काम गर्ने चिनियाँ ठेकेदार सिडब्लुई चाइना वाटर एन्ड इलेट्री कम्पनीले निर्माण गरेको प्रिफ्याब मोडेलको दुई तले एक आवासगृह आगलागी हुँदा रु एक करोड बराबरको क्षति प्रारम्भिक अनुमान गरिए पनि यकिन तथ्याङ्क सङ्कलन गर्न आज प्रहरी परिचालन गरिएको छ ।

सुरुङभित्र काम गर्ने ४८ कामदार बस्ने उक्त आवासमा करेन्ट लागी आगलागी भएको बताउँदै आयोजनाका साइट इन्चार्ज नागेन्द्र ज्ञवालीले आगलागीपछि नेपाली सेना, नेपाल प्रहरी, कम्पनीका कर्मचारी, कामदार सबैको सहयोगमा पानीको फोहोरा दिई त्यस क्षेत्रमा रहेका अन्य आवास सुरक्षित पारिएको जानकारी दिनुभयो । रासस

वाणी पुरस्कार साहित्यकार घिमिरेलाई प्रदान

वार्ता र सहमतिबाट राजनीतिक निकास खोज्न आग्रह

काठमाडौँ, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधन गरेर भए पनि असन्तुष्ट मधेसी समुदाय र अन्य मजदुर किसान वर्गको अधिकार सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।
मई दिवसको अवसरमा सो पार्टीका महासचिव शरणविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा मजदुर किसानको व्यापक हितमा संविधानमा आवश्यक संशोधन गर्नुपर्ने धारणा राखिएको छ । रासस

मुस्लिम धर्मावलम्बीहरुको अन्तर्राष्ट्रिय सम्मेलन

पचासजना विद्युत् चोर पक्राउ

श्रमको सम्मानको माग गर्दै ज्येष्ठ नागरिक एकाबिहानै सडकमा

काठमाडौँ, १९ वैशाख । विश्व मजदुर दिवसको अवसर पारेर आफ्नो श्रमको सम्मान गरियोस् भन्दै ठूलो सङ्ख्यामा रहेका ज्येष्ठ नागरिकले आज एकाबिहानै राजधानीको सडक तताएका छन् ।

मुलुकका ३०औँ लाख बेरोजगार युवा अत्यन्तै न्यून ज्यालामा जोखिमपूर्ण काममा खाडी देशहरुमा चर्काे घाममा सङ्घर्ष गरिरहेका बेला ज्येष्ठ नागरिक पनि आफ्नो श्रमको सम्मान हुन नसकेको भन्दै ¥याली गर्दै सडकमा उत्रेका हुन् ।

मुलुकको समृद्धिमा ज्येष्ठ नागरिकको निकै ठूलो योगदान रहे पनि राज्य र समाजबाट ज्येष्ठ नागरिकको श्रमको लेखाजोखा र मूल्याङ्कन हुन नसकेको उनीहरुको गुनासो छ ।

उहिलेका कुरा खुइलिए भन्ने ढङ्गबाट होइन, ज्येष्ठ नागरिक जिउँदो इतिहास हुन् उनीहरुको संरक्षण र संवद्र्धन हुनुपर्छ भन्ने भावना समाजमा जागृत तुल्याउनुपर्छ भन्ने उनीहरुको जोड थियो ।

उमेर र स्वास्थ्यले साथ दिउन्जेल रोजगारको अवसर प्रदान गर्न तथा श्रमको सम्मान गर्ने व्यवस्था मिलाउन सरकारसँग ज्येष्ठ नागरिकले माग गरेका छन् ।

उमेरले ७५ वसन्त पार गरिसकेकाहरु तानमा कपडा र गुन्द्री बुन्दै गरेका तथा गह्रौँ दाउराका भारी बोकेको तस्बिरसहितको प्लेकार्ड लिएर मर्यादित रुपमा माग पूरा गराउन सडक यात्रा रहेका ज्येष्ठ नागरिकलाई युवायुवतीले साथ दिएका थिए ।

नेपालको कुल जनसङ्ख्याको ८.४१ प्रतिशत ज्येष्ठ नागरिकको जनसङ्ख्या रहेको २०६८ को जनगणनाको तथ्याङ्कले देखाएको छ । गत वर्षको भूकम्पमा परेर ज्यान गुमाउनेको सूचीमा ज्येष्ठ नागरिक २८ प्रतिशत रहेका छन् ।

रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको ज्येष्ठ नागरिकको ¥याली भद्रकालीमा पुगेर आमसभामा परिणत भएको थियो ।

तेह्रथुमकी ९५ वर्षीया गङ्गामाया उपाध्यायलगायतका वृद्धवृद्धासमेत ¥यालीमा सहभागी हुनुहुन्थ्यो ।

¥यालीपछिको सभालाई सम्बोधन गर्दै एजिङ नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले नेपालीको औषत आयु बढेकाले सार्वजनिक सेवामा रहने कर्मचारीको उमेरहदमा पुनर्विचार तथा श्रम बजारमा पनि १५ देखि ५९ उमेर समूह रहने परिभाषालाई खारेज गरी सक्षम र इच्छुक रहेसम्म काम गर्न पाउने प्रावधान हुनुपर्ने बताउनुभयो ।

अहिलेका युवा पुस्ताले गर्न नरुचाउने डोको नाम्लो बुन्ने, नातिनातिनी विद्यालय पु¥याउने, बालबच्चा र घरको हेरचाह गर्ने, तरकारी काट्ने, खाना बनाउनेदेखि करेसाबारी र लुगाधुनेसम्मको जिम्मेवारी बहन गर्नुपर्ने दायित्व ज्येष्ठ नागरिकको काँधमा रहेकाले उनीहरुको श्रमको सम्मान हुनुपर्छ भन्ने विषयमा राज्यले बोल्नैपर्छ भन्ने ज्येष्ठ नागरिकहरुको भनाइ रहेको छ ।

मैले बाबुआमा पालेको छु भन्ने होइन, म मेरा बाबुआमासँग बसेको छु भनेर गौरव गर्ने सन्तति समाजमा आवश्यक रहेको हेल्प एज इन्टरनेसनलका अध्यक्ष खेमराज उपाध्यायले बताउनुभयो ।

रोजगारीका सिलसिलामा युवाहरु खाडी मुलुक पुग्ने र त्यहाँ श्रम शोषण हुने गरेको घटनाले निकै चर्चा पाउने गरेको भए पनि नातिनातिना स्याहार गर्ने नाममा युरोप र अमेरिका पुगेका कैयौँ ज्येष्ठ नागरिकको श्रमको सम्मान हुन नसकेको बरु उल्टै आफ्नै सन्तानबाट अपहेलित र बिचल्लीमा परेका घटना थुप्रै रहेको प्रसङ्ग सभामा उल्लेख गरियो ।

सो अवसरमा ‘चट्याङ मास्टर’ले व्याङ्ग्यात्मक शैलीमा भन्नुभयो – “ड्याडी र ममी अफिसमा काम गर्न जानुहुन्छ, मेरी हजुरआमा ७५ वर्ष पुगिसक्नुभएकाले केही गर्न सक्नुहुन्न, हामीलाई स्कुल पु¥याउने, बिहान बेलुका खाना पकाउने, पानी थाप्ने, खाजा ल्याइदिने, लुगा धोइदिने काममात्र गर्नुहुन्छ भन्ने कुरा बालबालिकाबाट सुनिँदै आएको छ । रासस

नयाँ नीतिबाट कोही पनि आत्तिनु पर्दैन : उद्योगमन्त्री

बन्द पासाङल्हामु मार्ग खुला

धुन्चे (रसुवा), १८ वैशाख । रसुवा जिल्लाको राम्चे गाविस वडा नं १ मूलखर्कमा कन्टेनर ट्रक दुर्घटना हुँदा अवरुद्ध पासाङल्हामु मार्ग आज साँझ ७ बजेदेखि खुला भएको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार काठमाडौँबाट आज बिहान झिकाइएको क्रेनले शुक्रबार राति १० बजे दुर्घटना भएको एक र एक्सल भाँचिएर गुड्न नसकेका र अन्य दुईसमेत तीन कन्टेनरलाई व्यवस्थापन गरी यातायात सञ्चालन गरिएको हो ।

मूलखर्क क्षेत्र कच्ची साँघुरो स्थान भएका कारण केरुङबाट सामान ल्याएका र स्थानीयस्तरमा गुड्ने १५० भन्दा बढी सवारीसाधनलाई पालैपालो गरी गन्तव्यतर्फ पठाउन नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो ।

राम्चे तथा मूलखर्कको पहिरो क्षेत्रमा सडक अत्यन्तै कच्ची र साँघुरो भएको ठाउँमा मर्मत हुन नसकेको र त्यही ठाउँबाट पार गर्दा सवारी साधनमा खराबी आई सडक बन्द हुने र अर्कोतर्फ चालक दलका सदस्यले पहिरोको बीचमा हैरानी पाउने गरेको प्रहरीले बताएको छ । रासस
––––––––

पत्रकार क्षेत्रीका छोराको शिक्षाका लागि काँग्रेस नेता पौडेलको सहयोग

काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाका लागि काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

हालै वैवाहिक बन्धनमा बाँधिएका नेता पौडेल एवम् नेविसङ्घ केन्द्रीय सदस्य एन्जिला न्यौपानेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विवाह खर्चबाट कटाएर क्षेत्रीका छोराको उपचारका लागि कोष निर्माणका लागि रु एक लाख उपलब्ध गराउने जनाउनुभएको हो । वैशाख १५ गते वैवाहिक बन्धनमा बाँधिएका पौडेल–न्यौपाने जोडीले नेपाल प्रेस युनियन काठमाडांँ शाखामार्फत समन्वय गरी कोष निर्माण गर्ने बताउनुभएको हो ।

“परिवारका सदस्यहरूसँग प्रेस युनियन काठमाडौँ शाखामार्फत समन्वय गरी यथाशीघ्र छोराको शिक्षादीक्षाका लागि उपयोगी हुने गरी कोष निर्माण गर्न रु एक लाख उपलब्ध गराउने घोषणा गर्दछौँ” – विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अगुवाइमा सो कोष निर्माणका लागि सहयोगको घोषणा भएको हो । प्रेस युनियन काठमाडौँ शाखाका सदस्यसमेत रहेका केन्द्रीय सचिव क्षेत्रीको वैशाख १६ गते उपचारका क्रममा निधन भएको थियो । रासस

आगलागीमा १० घर, १७ गोठ जलेर नष्ट

वालिङ, १८ वैशाख । स्याङ्जाको पेलाकोट गाविसको वडा नं ७ चोकमा आज दिउँसो आगलागी हुँदा १० घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीमा परी १० घरसँगै १७ गोठमा पूर्ण क्षति पुगेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताउनुभयो । आगलागीबाट दुईवटा भैँसी तथा चारवटा बाख्रा जलेर मरेका छन् ।

अपराह्न करिब १२ बजेतिर खरबारीबाट सुरु भएको आगो चोक, वीरडाँडा, बासकोटका बस्तीमा प्रवेश गरेको थियो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले आगोलाई झन्डै सात घन्टापछि नियन्त्रणमा लिएका हुन् ।

आगलागी भएको स्थानमा पानीको अभाव भएकाले पनि आगो नियन्त्रणमा लिन ढिलाइ भएको र दिउँसो बढी हावाहुरी चलेकाले पनि आगो बस्तीमा पुगेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै उता जगत्रदेवी गाविसको बल्पुकमा पनि अहिले आगलागी भइरहेकाले प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको प्रहरी निरीक्षक बरालले बताउनुभयो । रासस

देश विकासका लागि नयाँ ढङ्गले काम गर्नुपर्छ : नेता खाँड

संरक्षक र मायाङ्का टेनिस च्याम्पियन

लेखक सङ्घको अधिवेशन प्रारम्भ

श्रम आयोग गठन गर्न माग

पहिलो बैठक जेठ २ मा बस्ने

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पहिलो केन्द्रीय समितिको बैठक आगामी जेठ २ देखि ४ गतेसम्म काभ्रेको धुलिखेलमा बस्ने भएको छ ।

सङ्गठनको २२औँ सम्मेलनबाट निर्वाचित वर्तमान कार्यसमितिको बैठकले अब बन्ने पहिलो पूर्ण सङ्गठनको प्रादेशिक संरचनाको टुङ्गो लगाउनेछ ।

त्यसैगरी उक्त बैठकले केन्द्रीय सचिवालय, केन्द्रीय पदाधिकारीलगायतको कार्य तथा जिम्मेवारी तोक्ने सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।

उक्त बैठकले नयाँ नेपाल निर्माणका लागि अबको शैक्षिक मुद्दा के हुने भन्नेबारेमा समेत छलफल गर्ने बताइएको छ ।

यसअघि सो सङ्गठनको केन्द्रीय सचिवालयको एउटा बैठक तथा स्थायी समितिको छ वटा बैठक सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । रासस

‘राज्यले प्रजातान्त्रिक आन्दोलनका योद्धालाई सम्मान गर्नुपर्छ’– दलका नेता

काठमाडौँ, १८ वैशाख । विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीले प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् ।

रामप्रसाद राई फाउन्डेसनले यहाँ आज आयोजना गरेको २०७३ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य गोपाल किरातीले प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पु¥याउने रामप्रसाद राईलगायत अन्य व्यक्तिप्रति राज्यले बेवास्था गरेको भन्दै गुनासो गर्नुभयो ।

‘शोषणविरुद्ध हतियार उठाउने नीति लिने रामप्रसाद राईलगायत अन्य प्रजातान्त्रिक आन्दोलनका योद्धालाई सरकारले सहिद घोषणा गर्नुपर्छ, त्यसका लागि प्रजातन्त्रवादीले नै सशक्त आवाज उठाउनुपर्छ”– उहाँले भन्नुभयो । कवि भुपाल राई, प्रा लक्ष्मी राई र लेखक जय शिवाहाङ राईलेलगायतले रामप्रसाद राईको योगदानको कदर गर्दै सहिद घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेसनकी अध्यक्ष सुस्मा राईले रामप्रसाद राईबारे वास्तविक जानकारी गराउन विश्वविद्यालयका पुस्तकको पाठ्यक्रममा समावेश गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा फाउन्डेसनद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा रगत दान गर्ने करिब ३० जना रक्तदातालाई सम्मान गरिएको थियो । रासस

प्राध्यापक भण्डारीको पुस्तक सार्वजनिक

आगलागीमा एकको मृत्यु, ५० घरगोठ नष्ट

गुल्मी, १८ वैशाख । गुल्मीको बडागाउँ गाविसमा आगलागी हुँदा ५० एकजनाको मृत्यु भएको छ भने घरगोठ जलेर नष्ट भएका छन् ।

आगो निभाउने क्रममा ६६ वर्षीय मेहरसिंह राकसकोटीको मृत्यु भएको छ भने वडा नं २ निवासी केशरबहादुर नेपाली घाइते भएका छन् ।

बडगाउँ गाविस वडा नं १ का ३८ घरधुरी र वडा नं २ मा १२ घरधुरी गरी ५० घर जलेर नष्ट भएका हुन् ।

हावाहुरीका कारण जङ्गलबाट आगो गाउँमा फैलिएको स्थानीयवासीको भनाइ छ ।

पानीको अभावका कारण आगो नियन्त्रणमा लिन नसकिएको र आगोलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिरहेको वामी प्रहरी चौकी, गुल्मीका प्रहरी सहायक निरीक्षण गणेश श्रीषले जानकारी दिनुभयो ।

अहिले आगो लगभग नियन्त्रणमा आइसकेको र जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घले अग्निपीडितलाई त्रिपाल, बाल्टी, खानेपानी, ब्लाङ्केट वितरण गरिरहेको छ । आगलागीको पूर्ण विवरण आउन बाँकी छ । रासस

तत्कालै सरकार परिवर्तन हुँदैन – उपप्रम गच्छदार

उर्लाबारी (मोरङ), १८ वैशाख । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बेलायती संसद्मा कुरो उठ्दैमा सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

मोरङको विराटनगर विमानस्थलमा आज साँझ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सरकारको कार्यसञ्चालन सन्तोषजनक हुन नसके पनि तत्कालै अर्को सरकार बन्ने अवस्था भने नरहेको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनमा अहिले पनि समस्या रहेको र राजनीतिक सङ्क्रमणकाल जारी रहेकाले संविधान कार्यान्वयनका विषयमा अवरोध गर्नु उपयुक्त नहुने धारणा राख्नुभयो । उहाँले संसद् नियमावली, न्यायाधीश र राजदूत नियुक्तिका विषयमा अवरोध पु¥याउँदा यसले दीर्घकालीन असर पुग्ने बताउनुभयो ।

सरकार सञ्चालनमा विमति राख्नु जायज भए पनि राष्ट्रिय मुद्दामा सत्ता पक्ष र विपक्षी दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उहाँको भनाइ थियो । ‘‘संसद् सुरु भएपछि विवादका विषय संसद्बाटै टुङ्गो लाग्नछन्’’ उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो । रासस

एक विघा क्षेत्रफलमा गाजा नष्ट

नवलपरासी, १८ वैशाख । नवलपरासी जिल्लाको सुनवल नगरपालिका–७ ज्यामिरेमा करिब एक विघा क्षेत्रफलमा उम्रिएको गाजा आज नष्ट गरिएको छ ।

सुनवल नगरपालिका–७ ज्यामिरे टोल विकास समितिको आयोजनामा टोल विकास समितिका अध्यक्ष उदय गुरुङको अध्यक्षतामा सरसफाई अभियानअन्तर्गत सो गाजा नष्ट गरिएको हो ।

उक्त सरसफाई अभियानमा इलाका प्रहरी कार्यालय सुनवल, सुनवल नगरपालिका, पत्रकार, आमा समूहलगायत स्थानीयवासीको सहभागिता थियो । रासस

कामु प्रधानसेनापतिद्वारा निरीक्षण सुरु

काठमाडौँ, १८ वैशाख । कामु प्रधानसेनापति वलदेवराज महतले आज पूर्वी पृतना हेडक्वाटरअन्तरर्गत बाहिनी, गण तथा गुल्महरुको निरीक्षण भ्रमण सुरु गर्नुभएको छ ।

भ्रमणका क्रममा उहाँले ताप्लेजुङस्थित श्री नयाँ रणभिम गुल्म, भोजपुरस्थित श्री रणवम गण, झापा जिल्लाको चुलाचुलीस्थित श्री नं।२१ बाहिनी अड्डा, तथा चारआलीस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निरीक्षणका क्रममा उहाँले उक्त बाहिनी अड्डा, गण तथा गुल्मको हालको वस्तुस्थितिलगायत बन्दोबस्ती, तालिम एवम् अन्य विविध पक्षबारे जानकारी लिनुहुनेछ । रासस

रूखले किचेर एकको मृत्यु

डढेलो बस्ती पसेपछि भूकम्पपीडितका टहरा जले

संविधान कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री पाण्डेय

रामपुर (पाल्पा), १८ वैशाख । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संविधानको कार्यान्वयनका लागि पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल पाल्पाको सातौँ जिल्ला अधिवेशनलाई आज पाल्पामा सम्बोधन गर्दै उहाँले संविधान निर्माणमा जसरी सञ्चारमाध्यमको भूमिका रह्यो त्यहीअनुसार संविधान कार्यान्वयनमा पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री पाण्डेयले सञ्चारमाध्यमले नकारात्मकभन्दा सकारात्मक कुराहरुलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेयले सञ्चार क्षेत्र सम्बेदनशील क्षेत्र भएकाले विशेष ख्याल गरेर समाचार सम्पे्रषण गर्नुपर्ने बताउनुभएको छ ।

अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा कलम चलाउने पाँचजना पत्रकारहरुलाई सम्मान गरिएको थियो । रासस

डुबेर एक बालकको मृत्यु

गोरखा, १८ वैशाख । पौडी खेल्ने क्रममा दरौंदी नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पन्द्रुङ गाविस–४ घर भई हाल गोरखा नगरपालिका धारापानीमा बस्दै आएका १४ वर्षीय सुशील बराम छन् ।

साथीसँग पौडी खेल्न दरौंदी नदीको छेपेटार क्षेत्रमा गएका सुशीलको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
––––––

इपिएस कोरियाको कोटा घट्यो, आवेदक बढे

गतबर्षका पीडाबाट शिक्षा लिनुपर्नेः मन्त्री राई

छनोटमा सरस्वती प्रथम

साहित्यकार शर्माको अन्त्येष्टि

काठमाडौँ, १८ वैशाख । दिवङ्गत साहित्यकार रामप्रसाद शर्मा ‘प्रदीप’ को आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

गएराति ६८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएका प्रदीपको नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान पार्थिव शरीर राखिएको जहाँ प्रधानमन्त्री केपी शर्मा आली, नेकपा (एमाले)का विभिन्न नेता तथा साहित्यकारले श्रद्धाञ्जलि दिनुभएको थियो ।

रेलिमाई सांस्कृतिक अभियानका संस्थापक उहाँ एमालेको पूर्व संस्कृति विभाग सदस्यका साथै राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, प्रगतिशील लेखक सङ्घलगायत संस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका पूर्व प्रबन्ध सञ्चालक पनि हुनुहुन्थ्यो ।

विसं २००४ साउन १ मा अर्घाखाँचीको पोखराथोकमा होमनाथ उपाध्याय र हरिकला पौडेलको कोखबाट जन्मनुभएका शर्माका श्रीमती र दुई छोरा छन् । रासस

बाह्य शक्ति केन्द्रको उक्साहटमा आन्दोलन – नेता पन्त

पोखरा, १८ वैशाख । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री रघुजी पन्तले बाह्य शक्ति केन्द्रको उक्साहटमा मधेसी दलले आन्दोलन गरेर फेरि नेपाली जनतालाई दुःख दिन खोजेको बताउनुभएको छ ।

नेकपा (एमाले) पोखरा २४ कृस्तिनाच्ने चौरमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले गलत कुराको पछाडि लागेर राष्ट्र र जनतालाई अप्ठ्यारोमा नपार्न सबैसँग आग्रह गर्नुभयो ।

देशलाई राजनीतिक स्थायित्व दिन र संविधान कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउन नेपाली काँग्रेस पनि अहिलेकै सरकारमा आउनुपर्नेमा जोड दिँदै उहाँले अर्को आमनिर्वाचनपछि बन्ने सरकारमा एमालेले काँग्रेस नेतृत्वको सरकारमा गएर सहयोग गर्नसक्ने धारणा राख्नुभयो ।

दीपकप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो समारोहमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र श्रीनाथ बरालले पनि बोल्नुभएको थियो । रासस

आगलागीबाट चौध घर जले

बागलुङ, १८ वैशाख । जिल्लाको धुल्लुबास्कोट–१ भाङ्खर्कमा आगलागीबाट दर्जन बढी घर जलेर नष्ट भएका छन् ।

शनिबार बिहान १०ः४५ बजेतिर लागेको आगोले झुले बस्तीका १४ घरमा पूर्णरुपमा क्षति पु¥याएको घटनास्थलबाट स्थानीय सन्तोष दगामीले जानकारी दिनुभयो ।

तीव्रगतिको हावाहुरीसँगै तलबाट बस्तीमा छिरेको आगो फैलिएर घरसहित गोठमा समेत क्षति पुगेको छ । आगलागीपछि मानिसहरु घरबाट भागेर ज्यान जोगाउन सफल भएका छन् । दगामीले घर, गोठ जलिरहेको र आगो नियन्त्रण बाहिर रहेको बताउनुभयो । आगो छिमेकी राङ्खानी गाविसको किटेनीतर्फ फैलिँदै गएको उहाँको भनाइ छ ।

किटेनीको बस्ती पनि जोखिममा रहेकाले आवश्यक सजगता अपनाउन गाउँलेलाई आग्रह गरिएको छ । आगलागी भएको क्षेत्रमा इलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी टोली आएको राङ्खानीबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो । प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । ठूलो क्षेत्रमा आगो फैलिएकाले नियन्त्रणमा ल्याउन कठिन भइरहेको जनाइएको छ ।

आगो नियन्त्रणमा खटिन र सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीको विस्तृत विवरण भने आउन बाँकी छ । लामो खडेरीले जिल्लाका विभिन्न भूभागमा आगलागीका घटना भइरहेका छन् । रासस

खप्तरी मगर कोठामै मृत फेला

काठमाडौँ, १८ वैशाख । काठमाडौंको चन्द्रागिरी नगरपालिका–७, थानकोटमा बस्दै आएका सर्लाही जानकीनगर गाविस–२ का पदमबहादुर खप्तरी मगर आफ्नै कोठामा आज मृत फेला परेका छन् ।
उनको मृत्युको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस
––––

काँग्रेस बलियो प्रतिपक्षमा बस्छ : नेता घर्ती

काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले नेपाली काँग्रेस बलियो प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ लमजुङ–त्रिचन्द्र सम्पर्क समितिले आज त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नेता घर्तीले फरक फरक विचार बोकेका राजनीतिक दललाई एकठाउँमा बनाएर संविधान बनेको छ यसलाई अब नेपाली काँग्रेसको पहलमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिका सभापतिसमेत रहनुभएका नेता घर्तीले संविधान कार्यान्वयन गरेर विभिन्न निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापिका–संसद्का सदस्य चन्द्रबहादुर कुँवरले कालोबजारी रोक्न नसक्नु र भूकम्प प्रभावितलाई राहत दिलाउन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो ।

कार्यक्रममा लमजुङका काँग्रेसका नेताहरु तुल्सीनारायण श्रेष्ठ, विष्णुप्रसाद धिताल, रमेश पाण्डे, शैलेन्द्र घिमिरे, लक्ष्मीकान्त पौडेललगायतले लमजुङमा जन्मेर काठमाडौँमा आई सम्पर्क समिति खोलेको भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेविसङ्घ लमजुङ–त्रिचन्द्र सम्पर्क समितिमा सुमन बसौलाको अध्यक्षतामा १६ जनाको नयाँ कार्यसमिति गठन गरिएको छ । रासस

भ्रष्टाचारविरोधी अभियान सुरु

काठमाडौँ, १८ वैशाख । युवाहरुले भ्रष्टाचारविरूद्धको अभियान सुरु गरेका छन् । ‘युवा अघि सरुन्, भ्रष्टाचारी जेल परुन्’ भन्ने मूलनाराका साथ सुरू भएको अभियान मुलुकका ७५ वटै जिल्लामा सञ्चालन गरिनेछ ।

देश विकासका लागि भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र त्यो भ्रष्टाचार अन्त्य गर्न युवा नै सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै देशैभरि भ्रष्टाचारसम्बन्धी विभिन्न कार्यक्रम गरेर जनचेतना फैलाउने अभियानकर्मी जीवन थपलियाले बताउनुभयो ।

लियो क्लब अफ काठमाडौँ, मार्गदर्शनले आयोजना गरेको सो अभियानको आज उद्घाटनपछि पत्रकार रवीन्द्र मिश्र, पूर्वसभासद् शान्ता चौधरी र पूर्व मुख्यसचिव लीलामणि पौडेलले देश नबन्नुको मुख्य कारण भ्रष्टाचार भएको हुँदा सबैभन्दा पहिले भ्रष्टाचारको अन्त्यका लागि पहल गर्न सबैसँग अपिल गर्नुभयो । सो अभियानमा करिब ५० जना युवाको सहभागिता रहेको छ । रासस

परिणाममुखी वार्ता खोजेका छौँ : मधेसकेन्द्रित नेता

काठमाडौँ, १८ वैशाख । विभिन्न मधेसकेन्द्रित दलका नेताहरुले सरकारसँग आफूहरुले परिणाममुखी वार्ता चाहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँग मधेसी मोर्चाले परिणममुखी र उपलब्धिमूलक वार्ता चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले मोर्चालाई वार्तामा बोलाउने तर अल्झाउने काम गरेको छ, हामी निर्णायक वार्ता चाहन्छौँ ।”

नेता कर्णले मोर्चाले यही वैशाख १५ गतेदेखि दोस्रो चरणको आन्दोलन थालेको र सरकारले यसको सुनुवाइ नगरे देशभर आन्दोलनलाई चर्काइने चेतावनी दिनुभयो ।

उहाँले कमल थापाको संयोजकत्वको उच्चस्तरीय राजनीतिक समितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा गए मधेस केन्द्रित दल पनि जाने स्पष्ट पार्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले सरकार भूकम्पको पुनःनिर्माणदेखि सरकार सञ्चालनमा असफल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडित जनताका लागि जुटाइएको पैसा हिनामिना गर्न सर्वदलीय बैठक बोलाएर सरकारले नाटक गरेको छ । रासस

चुहावटबाट मात्रै १८० मेगावाट विद्युत् क्षति, नियन्त्रण अभियान चल्दै

स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राखिनुपर्ने

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सरकारले नीति तथा कार्यक्रम घोषणा गर्दा स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार भूकम्प प्रभावित क्षेत्रमा भूकम्प पुनःनिर्माणमा खटिएका प्रतिनिधिसँग समन्वय गर्न आफ्ना पार्टीका कार्यकर्तालाई सहयोग गर्न पनिआग्रह गरिएको छ । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा बसेको बैठकले राप्रपासँग एकताका लागि अझ सक्रियताका साथ काम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । रासस

पुनःनिर्माणका संरचनाको अवस्था सन्तोषजनक छैन : श्रेष्ठ

गोसाइँकुण्ड गुरुयोजनाको तयारी

धुन्चे (रसुवा), १८ वैशाख । समुद्री सतहदेखि १४ हजार १०० फिको उचाइमा रहेको धार्मिक–पौराणिक क्षेत्र गोसाइँकुण्डको संरक्षण गर्न गृहकार्य सुरु भएको छ ।

बर्सेनि हजारौँ भक्तजन पुग्ने गोसाइँकुण्ड रामसार सूचीमा सूचीकृत भइसकेको छ । यस क्षेत्रको संरक्षण गर्न गुरुयोजना अन्तर्गत पाँचवर्षीय व्यवस्थापन कार्यक्रम योजना तयार भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । दिगो विकास अभियान केन्द्रद्वारा तयार गराइएको पाँचवर्षीय गुरुयोजना अन्तर्गत गोसाइँकुण्ड मेला र त्यहाँ उत्पन्न हुने फोहोर व्यवस्थापन, वैकल्पिक ऊर्जा, भूकम्पपछिको पुनःनिर्माण र जडीबुटी अध्ययन अनुसन्धान जस्ता विविध योजना तर्जुमा गरिएको संरक्षण विशेषज्ञ सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड स्थलगत व्यवस्थापन योजनाले वनस्पति जैविक विविधता संरक्षणमा थप टेवा पुगी धार्मिक एवम् पर्यटकीय क्षेत्रको सुन्दरता बढाउन मद्दत पुग्ने बताउँदै नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले योजना कार्यान्वयन चरणमा सबै क्षेत्रले सहयोग गर्नुपर्नमा जोड दिनुभयो । रासस

भूकम्पसम्बन्धी चित्रकला प्रदर्शनीमा

काठमाडौँ, १८ वैशाख । भूकम्पको बेला घटनास्थलमै गएर चार कलाकारले तयार पारेको चित्रकला समेटेर स्थानीय वसन्तपुर क्षेत्रमा प्रदर्शनी सुरु गरिएको छ ।

ललितकला क्याम्पसको स्नातक तहका चौथो वर्षका विद्यार्थी रहेका उनीहरुले भूकम्पलगत्तै उपत्यकाका विभिन्न स्थान तथा पछि भूकम्पको केन्द्र गोरखाको बारपाक र सिन्धुपाल्चोक पुगेर त्यहाँको प्रत्यक्ष चित्रकला तयार पारेका थिए ।
चित्रकलाको माध्यमबाट समाज परिवर्तन गराँैं भने नारासहित कलाकार पल साउद, बिगुल ढकाल, प्रवीण श्रेष्ठ, आकाश बुढा ऐरले ‘पासापीँ’(साथीहरु) समूह गठन गरेर भूकम्पपछि तीन महिना विभिन्न स्थानमा गएर प्रत्यक्ष चित्रकला तयार पारेका हुन् ।

आजदेखि सुरु भएको चित्रकला तीन दिनसम्म वसन्तपुर क्षेत्रमा प्रदर्शनी गरिने छ । प्रदर्शनीमा दुई सय चित्रकला राखिएका छन् । भूकम्पले पु¥याएको क्षतिलाई चित्रकलाका माध्यमबाट जनतासम्म पु¥याउने र पुनःनिर्माणलाई तीव्रता दिन सरकारलाई दबाब दिने उद्देश्य सहित चित्रकला प्रदर्शनी गरिएको कलाकार साउदको भनाइ छ । रासस

प्रदीपको निधनमा एमालेबाट शोक

राष्ट्रपतिबाट आरोहीहरु सम्मानित

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, समन्वय, भ्रातृत्व र सहिष्णुताको प्रतीक नेपालका हिमशिखर अमूल्य निधि एवम् राष्ट्रिय धरोहर भएको बताउनुभएको छ ।

मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहणको ६० वर्ष पूरा गरेका उपलक्ष्यमा आज यहाँ आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक विशिष्टता र अनुपम पहिचान बोकेको हिमालय पर्वत आफैँमा विश्वको ज्यादै ठूलो महत्वपूर्ण धरोहर भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको भौगोलिक विशिष्टता हिमालय शृङ्खला पर्यावरणका दृष्टिले एकदम संवेदनशील क्षेत्र हो भन्दै हीरक समारोहमा पर्वतीय पर्यटनका चुनौती र अवसरबारे गरिने सम्मेलनले जलवायु परिवर्तनको असर र यसको जोखिम नियन्त्रणका लागि विज्ञबाट आउने सुझाव महत्वपूर्ण हुने बताउनुभयो । “भौगोलिक, सांस्कृतिक, जैविक र जातीय विविधताले भरिपूर्ण राष्ट्रिय एकताको प्रतीक नेपालका लागि हिमशृङ्खला राष्ट्रिय धरोहर हुन् । पर्यटन विकास, सांस्कृतिक अध्ययन र अनुसन्धान, पानीको भरपर्दो स्रोत, जैविक विविधता आदिको समष्टिगत हिसाबले ठूलो आधार हिमाललाई लिइन्छ”–उहाँले भन्नुभयो ।

उहाँले विगतका विभिन्न प्राकृतिक प्रकोपमा पनि पर्वतारोहण गरी अदम्य साहसका प्रतीकका रुपमा आफ्नो बहुमूल्य जीवन उत्सर्ग गर्ने स्वदेशी तथा विदेशी पर्वतारोही, अध्ययनकर्ता र पदप्रदर्शकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभयो । राष्ट्रपति भण्डारीले अदम्य साहस र उत्साहका साथ उच्च शिखर आरोहण गरी नेपाललाई विश्वसामु अझ बढी परिचित गराउने पर्वतारोहीको विशिष्ट योगदानको स्मरणसमेत गर्नुभयो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको हिमाल र पदयात्रा साहसिक पर्यटनका लागि विश्व पर्यटनको आकर्षण रहेको उल्लेख गर्दै अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासका लागि सरकारले विशेष महत्व दिएको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले साहसिक पर्यटनका लागि विश्वकै आकर्षण रहेको नेपालको पर्वतीय पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनबाट हुन सक्ने जोखिम नियन्त्रणका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन र पुनरोत्थान तथा नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन हीरक महोत्सव फलदायी हुने बताउनुभयो । मनास्लुका प्रथम आरोही मिनोरु हिगेटाले ६० वर्षअघि मनमोहक हिमालको सफल आरोहणले नेपालप्रतिको मोहलाई बढाएको बताउनुभयो ।

पर्यटन मन्त्रालय र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा मनास्लु हिमालका प्रथम आरोही हिगेटा, सगरमाथा आरोहण गर्ने प्रथम आरोही जुनको ताबेई लगायत स्वदेशी तथा विदेशी पर्वतारोही तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

सो अवसरमा केटु हिमाल चढ्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा, हिमालयन ट्रस्ट संस्था तथा मनास्लु प्रथम आरोही हिगेटा, जुनको तावेइलगायत विभिन्न आरोहीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । रासस

नयाँ मुलुकमा पुराना मान्छे

गुलरिया(बर्दिया), १८ वैशाख । नयाँ मुलक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८५७ मा भारतमा उठेको सिपाही विद्रोहलाई दबाउन नेपालले सघाएबापत प्राप्त भएको हो ।
सन् १८१४ देखि १६ मा अङ्ग्रेजसँग भएको युद्धमा नेपालले ती लगायत थुप्रै भूभाग गुमाएको थियो । बेलायत र नेपाल सरकारबीच १८६० मा भएको तीनबुँदे सन्धि अन्तर्गत नयाँ मुलुक नेपाल भित्र आउनाका साथै नयाँ सीमाङ्कन भई जङ्गे पिलर राख्ने काम भयो ।

नयाँ मुलक दुई हजार आठ सय ४३ वर्ग माइल क्षेत्रफलमध्ये कृषि भूमि ८० वर्ग माइल हात मात्र रहेको थियो । अरु भूभाग घना जङ्गलले ढाकेको थियो । यो हजारौँ वर्ष अघिदेखिका भूमिपुत्र थारुहरुको भूमि थरुहट थियो ।

थारु नयाँ मुलुक मात्र होइन नेपालको पूर्व झापादेखि पश्चिम कैलाली कञ्चनपुरका तराई भूभाग र दाङजस्तो भित्री मधेसमा पहिलेदेखि नै बसोवास गर्दै आएका आदिवासी हुन् । नेपालको कुल जनसङ्ख्याका आधारमा चौथो स्थान थारुको छ ।

यिनलाई कसैले मङ्गोल, कसैले आर्य राजपूत भनेका छन् । थौर भन्ने ठाउँबाट आएकाले थारु भन्ने गरिएको समेत पुर्खाले बताउँछन् ।
भारतमा मुसलमानको आक्रमण भएपछि सुरक्षाका लागि पहाडतिर लागेका जातिहरु आफूलाई राजपूत वंशसँग जोडने गर्छन् ।

थारु जातिको विषय रहस्मय छ यो रैथाने जातिमा औलो प्रतिरोधक क्षमता छ । थारुमा अल्फा थालोसेमिया भन्ने जिन पाइन्छ, जसले औलो विरुद्ध जेनेटिक प्रतिरोध क्षमता उपलब्ध गराउँछ भन्ने वैज्ञानिकको भनाइ छ । त्यसैले यी आदिवासी रैथाने हुन् भन्ने पुष्टि भएको सुकनी थरुनीको भनाइ छ ।

भूमिलाई खेतीयोग्य बनाउने मेहनती र तराईका किसान थारु दाङको देउखरी छाडेर पश्चिमतिर लागे र बर्दियाको मलिलो प्राकृतिक सिँचाइ सुविधा भएको भौराटप्पु क्षेत्रमा बस्ती बसाए, जहाँ अहिले एक लाख ५० हजार जनता छन् ।

आँलो नियन्त्रण सुरु भएपछि त्यसबाट हुने मृत्युमा हजार गुना कमी आयो । १९६० को मध्यसम्म अत्याधिक घनत्व भएका पहाडी जिल्लाबाट ठूलो सङ्ख्याले तराईको उर्वर मैदानी भागमा बस्ती बसाउन थाले ।

बिर्ताका जमिन विभिन्न तरिकाले खण्डित हुँदै गइरहेको बखत नेपाल सरकारले बाँके र बर्दियामा पहाडबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई चार बिघाका दरले जमिन वितरण गर्नाका साथै घनाजङ्गल भएका जमिन क्षेत्रलाई तिरो माफ दिने सोझा थारुहरुको जग्गा टाठाबाठा गैर थारुहरुले तिरो तिरर आफ्नो नाममा हडपे । बलियाले कमजोरलाई कमैया राख्ने तथा अर्काको जग्गा कम मूल्यमा किन्ने गरे ।

यस क्षेत्रमा गैर थारुको जनसङ्ख्याको चाप बढ्नाले मिश्रित समाज बन्दै गयो । यी परिश्रमी थारु मिलनसार, सोझा र इमानदार छन् । रासस

नियुक्तिमा सरकारले एकलौटी ग-यो : सभापति देउवा

काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाउनुभएको छ ।

तेज–तीर्थ ट्रष्टले आज क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले संविधान कार्यान्वयनमा नेपाली काँग्रेसले सरकारले भन्दा धेरै काम गरेको दाबी गर्नु भयो । सभापति देउवाले संविधान काँग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर काँग्रेसले संविधान संशोधन गर्ने उल्लेख गर्नु भयो ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीति स्थायित्वका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ ।”

नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले हिमाल, पहाड, तराईका जनताका भावनालाई समेटेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

ट्रष्टका अध्यक्ष तीर्थमान डङ्गोल, नेपाली काँग्रेसका नेता लोकेश ढकाल, मानव अधिकारवादी नुतन थपलिया, एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीलगायतले संविधान चाँडो कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

एम्नेष्टी इन्टरनेसनललाई रु एकलाख नगद पुरस्कार

ट्रष्टले स्थापना गरेको एकलाख नगद राशिको पुरस्कार एम्नेष्टी इन्टरनेसनल नेपाल शाखालाई प्रदान गरिएको छ । कार्यक्रममा सभापति देउवाले एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष अधिकारीलाई सो रकम प्रदान गर्नुभयो ।

सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ गतवर्ष स्थापना भएको सो ट्रष्टले शान्ति र लोकतन्त्र, नेपाल भाषा साहित्यको विकास र नेपाली पत्रकारितामा विशेष योगदान पु¥याएको संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ । रासस

विकास खर्चको प्रगति ८० प्रतिशत पु-याउनोस्–प्रधानमन्त्री

दूध बेचेर आकर्षक आम्दानी

वाग्मतीमा आठ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १८ वैशाख । वाग्मती सफाइको एक सय ५५औँ हप्तामा मनोहरा दोभानमा सफाइ गरी आठ मेट्रिक टन फोहर आज व्यवस्थापन गरिएको छ ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका छात्रछात्रा, उप्रेती समाज लगायत स्थानीयवासीको सहभागिता रहेको अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष डा रामप्रसाद उप्रेतीले मनोहरा दोभानमा उप्रेती समाजका तर्फबाट बगैँचा बनाइदिने घोषणा गर्नुभयो । आजको पूर्वमुख्यसचिव लीलामणि पौडेल, वागमती समितिका सञ्चालक सदस्य सुषमा शर्मा, गोकुल थापा, काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटा, अभियानकर्मी डा राजु अधिकारी लगायत ४०० जनाको सहभागिता थियो । अर्को साता १५६ औँ हप्ताको वाग्मती सफाइ पनि मनोहरा दोभानमै गरिने जनाइएको छ । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts