Sunday, January 31, 2016

वनको पूर्वाधार विकास वैज्ञानिक सोचअनुसार गरिने:मन्त्री सापकोटा

हेटौँडा, १७ माघ । वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले वनको पूर्वाधार विकासलाई अब वैज्ञानिक सोच, वस्तुनिष्ठ र दिगो लाभ पुग्ने योजनालाई सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ ।

मन्त्री सापकोटाले मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटौँडाद्वारा आयोजित आव २०७३÷७४ का लागि क्षेत्रीय योजना तर्जुमा गोष्ठीको आज हेटौँडामा उद्घाटन गर्दै बढ्दो वन विनाश नियन्त्रण गर्न र वन क्षेत्रमा कटान भएका जग्गामा वृक्षरोपण गर्ने कार्यमा वन उपभोक्ता समिति र स्थानीय जनतालाई सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले तराईको चुरे क्षेत्रमा बढ्दै गएको वन फँडानी काठ चोरी निकासी र अवैध ढुङ्गा गिट्टी उत्खनन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिएको र ती अपराधी समूहलाई राजनीतिक रुपमा कसैले पनि संरक्षण दिन नहुने बताउनुभयो ।

मन्त्री सापकोटाले भूकम्पपीडित जनतालाई घर निर्माण गर्न आवश्यक काठ उपलब्ध गराउनेतर्फ कानुनी प्रक्रिया सुरु गरिसकेको र छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गरेर जनताको घरदैलोमा काठ पु¥याउन सरकार तत्लीन रहेको बताउनुभयो ।

समारोहमा सांसद राजाराम स्याङ्तानले वनको पूर्वाधार विकासका लागि वन विज्ञले नया“ सोच र चिन्तन गरेर जनतालाई प्रत्यक्ष लाभ पुग्ने र वन जङ्गलको संरक्षणमा दिगो व्यवस्थापन गर्न सकिने योजनालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले गरिबीको रेखामुनि रहेका कृषकलाई आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गराउन जडीबुटी खेतीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा वन तथा भू–संरक्षण मन्त्रालयका वातावरण तथा मूल्याङ्कन महाशाखा प्रमुख विजयराज पौडेल, वनस्पति विभागका महानिर्देक राजदेवप्रसाद यादव र मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक डा अखिलेश्वरप्रसाद कर्णले वनका पूर्वाधार विकासअन्तर्गत वन्यजन्तु आरक्षण, जडीबुटी खेती, भू–संरक्षण र वनजङ्गलको संरक्षणका लागि छुट्टाछुट्टै गुरुयोजना तर्जुमा गर्ने बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो गोष्ठीमा मध्यमाञ्चालका १९ जिल्लाका वन अधिकृत, भू–संरक्षण अधिकृत, वनस्पति अधिकृत र वन्यजन्तु आरक्षणका उच्च अधिकृतसहित २५० जना प्रतिनिधिको सहभागिता रहेको मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटौँडाले जनाएको छ । रासस

युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्छः उपराष्ट्रपति पुन

चौतारा, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदले अनुशासन र आत्मबल बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाललाइ चिनाउने काम गरेकाले युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

विश्व तेक्वान्दो महासङ्घको तत्वाबधानमा नेपाल तेक्वान्दो सङ्घ तथा सिन्धुपाल्चोक तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भूकम्पपीडित तेक्वान्दो खेलाडी बालबालिकालाई सहयोग र विभिन्न प्रशिक्षण तथा तालिमको आज सिन्धुपाल्चोकको खाडीचौरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भारतको नाकाबन्दीले देश आक्रान्त भएको जटिल परिस्थितिमा पनि खेलको आयोजना गरी राम्रो काम गरेको उल्लेख गर्दै विश्व तेक्वान्दो खेल मञ्चमा पदक जित्न सफल हुनेगरी सिन्धुपाल्चोकबाट खेलाडी उत्पादन हुनुपर्ने बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पलगायतका कारणले देश बन्दीगृहका रुपमा रहेको अवस्थामा पनि खेलकुदको आयोजना गरी सिन्धुवासीको चह¥याइरहेको घाउमा मल्हम लगाउने काम भएको बताउनुभयो ।

देशमा ६५ हजार तेक्वान्दो खेलाडी रहेको चर्चा गर्दै मन्त्री मण्डलले राष्ट्रिय एकतामा बल पुग्ने हुँदा तेक्वान्दो खेललाई राष्ट्रिय खेलका रुपमा विकास गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा सांसद मोहनबहादुर बस्नेतले खेलकुदको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।

सो अवसरमा विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष डा चु वाङ चोले रु १० लाखको चेक, रु तीन लाख मूल्य बराबरको ट्र्याकसुट, २३० थान तेक्वान्दो पोसाक र तीन बाकस तेक्वान्दो उपकरण सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष बुद्धराज बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।

सोही समारोहमा विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष डा चु वाङ चो, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र सिन्धुपाल्चोक तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष कृष्ण क्षत्रीलाई उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो । रासस

बङ्गबन्धु विजेता फुटबल टोली सम्मानित

काठमाडौँ, १७ माघ । बङ्गबन्धु गोल्डकप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडी तथा पदाधिकारीलाई ग्लोबल आइएमई बैंक लिमिटेडले नगदसहित सम्मान गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ग्लोबल आइएमई बैंकद्वारा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले २३ खेलाडी तथा चार पदाधिकारीलाई जनही रु २५ हजारको चेक प्रदान गर्नुभयो ।

साथै, कार्यक्रममा टोलीका सबै सदस्यलाई निःशुल्क एटिएम कार्ड, डेबिट कार्ड तथा कस्टमर कार्डको सुविधासमेत दिइने जानकारी दिइयो ।

बैंकका अध्यक्ष ढकालले खेलकुद क्षेत्रलाई उकास्नका लागि कर्पोरेटको तर्फबाट साङ्केतिक सहयोग गरेको बताउँदै यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कावा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली खेलकुदको उत्साह बढाउनका लागि निजी क्षेत्रको सहयोग जरुरी रहेको बताउनुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन तथा कप्तान विराज महर्जनले यस सम्मानले आसन्न दक्षिण एसियाली खेलकुद (साग)मा राम्रो प्रदर्शन गर्न हौस्याएको बताउनुभयो । रासस

‘एनटिभीलाई सार्वजनिक प्रसारण सेवाका रूपमा अगाडि बढाइने’– मन्त्री राई

काठमाडौँ, १७ माघ । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारी स्वामित्वको नेपाल टेलिभिजन (एनटिभी)लाई सार्वजनिक प्रसारण सेवा (पिएसबी) का रूपमा अगाडि बढाउने बताउनुभएको छ ।

एनटिभीको ३१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री राईले आजको प्रतिस्प्रर्धात्मक समयमा नेपाल टेलिभिजनलाई अझ सशक्त र प्रभावकारी बनाउन पिएसबी अवधारणामा जानुपर्नेमा जोड दिनुभयो ।

सञ्चार मन्त्रालयले सरकारी स्वामित्वका विद्युतीय आम सञ्चार एनटिभी र रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवाका रूपमा विकास गर्न विज्ञ समिति गठन गरी कार्य अगाडि बढाइसकेको छ ।

नेपाल पत्रकार महासङ्घ एनटिभी शाखाले प्रकाशन गरेको ‘टेलिभिजन जर्नल अफ नेपाल’ को विमोचन गर्दै नेपाल टेलिभिजनभित्र रहेका आन्तरिक समस्याको पहिचान गरी समाधानसँगै डिजिटल प्रविधिमा लैजानका लागि छलफल प्रारम्भ भएको मन्त्री राईले जानकारी दिनुभयो ।

“एनटिभीलाई सरकार वा एउटा मन्त्रीको मुखपत्रका रूपमा मात्र नभएर डिजिटल प्रविधिसँगै सार्वजनिक प्रसारण सेवाका रूपमा अगाडि बढाउनुपर्छ”– मन्त्री राईले भन्नुभयो ।

नेपाल टेलिभिजन देशकै पहिलो टेलिभिजन प्रसारण संस्थानका रूपमा २०४१ माघ १७ मा स्थापना भएर २०४२ पुस १४ बाट नियमित प्रसारण हुँदै आएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले एनटिभीको व्यापार बढाउने नाममा दर्शक घटाउनु उचित नहुने बताउनुभयो । एनटिभीलाई नयाँनयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउनुपर्ने उहाँको भनाइ छ ।

एनटिभी सञ्चालक समितिका अध्यक्ष महेश दाहालले सन् २०१७ सम्ममा एनटिभीका सबै प्रसारणलाई डिजिटल प्रविधिमा लैजाने उद्देश्य रहेको बताउनुभयो ।

एनटिभीका महाप्रबन्धक लक्ष्मण हुमागार्इंले मुलुकको सङ्घीय संरचनासँगै आगामी दिनमा एनटिभीका कम्तीमा ११ च्यानल सञ्चालनमा आउने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ एनटिभी शाखाका अध्यक्ष शालिकराम सुवेदी र एनटिभी कर्मचारी सङ्गठनका अध्यक्ष गोविन्द धितालले एनटिभीभित्र रहेका विकृति र विसङ्गतिलाई अन्त्य गर्नका लागि मन्त्रालयसँग आग्रह गर्नुभयो ।

एनटिभीले संस्थामा २० वर्ष सेवा अवधि पुगेका छजना स्थानीय समाचारदाता, २० वर्षे दीर्घसेवा पदक पाउने १३ जना र ३० वर्षे दीर्घसेवा पदक पाउने १८ जना कर्मचारीलाई सम्मान गरेको छ । रासस

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ, १७ माघ । तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ ।

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले आगामी फागुन ४ गते (फ्रेबुअरी १६) सम्ममा भारतबाट ८० मेगावाट विद्युत् आयात गर्ने विषयमा सहमति गरेकाले सो समयअगावै काम सम्पन्न गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।

निर्माणस्थलमा युद्धस्तरमा काम जारी रहेको भन्दै आयोजनाले चिसो र तराई मधेसको राजनीतिक समस्याका कारण एकाध दिन तल माथि भएपनि केही दिनभित्रै निर्माण सम्पन्न हुने उल्लेख गरेको छ । पावर ट्रान्समिसन कम्पनीले नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय एवम् राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर युद्धस्तरमा निर्माण जारी रहेको बताएको छ । यसअघि कम्पनीले सो प्रसारण लाइनको काम आज सम्पन्न हुने जनाएको थियो ।

कम्पनीका कम्पनी सचिव जनकप्रसाद दाहालले आगामी फागुन ४ गते अगावै निर्माण सम्पन्न हुने र १३२ केभी क्षमतामा ८० मेगावाट विद्युत् चार्ज गरिने बताउनुभयो । “हामी युद्धस्तरमा काम गरिरहेका छौँ । कुनै असामान्य घटना भएन भने मुलुकभित्र एकाध दिनभित्रै थप विद्युत् आयात हुनेछ” – सचिव दाहालले भन्नुभयो ।

तत्काल सो प्रसारण लाइनबाट ९० मेगावाट विद्युत् आयात गर्ने भनिए पनि ढल्केबरमा सवस्टेसनको क्षमता कम भएका कारण तोकिएको क्षमताअनुसार विद्युत् आयात गर्न नसकिने भएको हो । भारतीय पक्षले तोकिएकै क्षमताअनुसारको विद्युत् उपलब्ध गराउने बताए पनि सवस्टेसनका कारण समस्या भएको सचिव दाहालको भनाइ छ ।

उहाँले केही स्थानमा तार तान्ने काम भएको र सञ्चार उपकरण राख्ने ओपिडिडब्ल्यू तार तान्न बाँकी रहेको राससलाई जानकारी दिनुभयो । विद्युत् आयातका सम्बन्धमा यही माघ २० गते भारतीय पक्षसँग छलफल आयोजना गरिएको उहाँको भनाइ छ ।

प्राधिकरणले विद्युत् आयात गर्ने पूर्व सहमतिअनुसार नै ढल्केबरमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरेको छ । उक्त क्षमताको ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ । भारतीय पक्षले अर्को ट्रान्सफर्मर व्यवस्था गरेर थप ९० मेगावाट विद्युत् उपलब्ध गराउने जानकारी गराएको भए पनि सवस्टेसनको क्षमता कम हुँदा समस्या पर्ने देखिएको छ ।

भारतले नेपाललाई आगामी डेढ वर्षभित्र ३०० मेगावाट विद्युत् उपलब्ध गराउने बचन दिएको छ । तर सवस्टेसनको क्षमता कम हुँदा जटिलता उत्पन्न भएको हो । कुल ४४० केभी क्षमताको प्रसारण लाइन निर्माण भइरहेको भए पनि नेपाल प्रवेश गर्ने मार्ग नै साँघुरो र कम क्षमताको भएका कारण समस्या भएको छ ।

ढल्केबरमा कम्तीमा पनि २२० केभी क्षमताको विद्युत् प्रवाह धान्ने सवस्टेसनको जरुरत पर्दथ्यो । प्राधिकरणले सवस्टेसनको क्षमता वृद्धिको योजना राखे पनि हालसम्म अगाडि बढ्न सकेको छैन । प्रसारण लाइन सम्पन्न भएपछि तत्काल १३२ केभीमा विद्युत् प्रवाह गराएर प्रसारण लाइनको क्षमता परीक्षण गरिनेछ । सो प्रसारण लाइनबाट एक हजार २०० मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ । चार सय केभी क्षमताको सो अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पिटिसिएन)ले गरेको हो ।

कुल १२९ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण करिब १५ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । त्यसमा ३५४ टावर निर्माण भएका छन् । नेपालतर्फ रु एक अर्ब ५० करोड लागतमा ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भए पनि आन्दोलनका कारण केही लागत बढेको बताइएको छ । नेपालतर्फ करिब ११५ टावर निर्माण सम्पन्न भइसकेको छ ।

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा वर्षायाममा ७८५ मेगावाट विद्युत् प्रवाह हुने गरेको भए पनि अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा ३१० मेगावाट मात्रै उपलब्ध हुने गरेको छ । भारतबाट हाल २३५ मेगावाट विद्युत् आयत गरिएको छ । रमेश लम्साल/रासस

सत्र हजार मिटर पक्की पुल मर्मतसम्भार गरिँदै

काठमाडौँ, १७ माघ । सडक विभागले चालु आवमा १७ हजार मिटर पक्की पुल मर्मतसम्भारको काम सुरु गर्ने भएको छ ।

सडक सुरक्षालाई ध्यानमा राखी विभागको नियमित मर्मतसम्भार कार्यक्रम अन्तर्गत पक्की पुलमा मर्मतसम्भार गर्न लागिएको पुल महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो । “यसमध्ये आठ हजार पुल मर्मतका लागि ठेकेदार छनोट गरी दुई महिनाभित्रमा काम सुरु गर्न लागिएको छ, नौ हजार पुल मर्मतको ठेकेदार पनि छिट्टै छनोट गरिनेछ, राजमार्ग र सहायक मार्गमा पर्ने पुल यस पटक मर्मत गर्न लागिएको हो” – उहाँले भन्नुभयो ।

दुई वर्षमा सम्पन्न हुने पुल मर्मतको लागत रु डेढ अर्ब लाग्ने विभागले जनाएको छ । मर्मतका लागि विश्व बैंकले आर्थिक सहयोग गर्नेछ । अन्य पुलमा सामान्य मर्मतको कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । रासस

बहत्तर जिल्लामा काँग्रेसको स्थानीय तहका अधिवेशन सम्पन्न

काठमाडौँ, १७ माघ । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि सुरु भएको निर्वाचन प्रक्रिया ७२ जिल्लाका लगभग सबै गाउँ, नगर वडा र नगर अधिवेशनमा शान्तिपूर्ण र उत्साहका साथ सम्पन्न भएको छ ।

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले मुलुकभर सबै गाविसमा र नगरपालिकाका वडामा यही माघ १५ गतेका लागि प्रारम्भिक तहको निर्वाचन तालिका तय गरेको भए पनि केही स्थानमा भने निर्वाचन हुन बाँकी छ ।

क्रियाशील सदस्यता विवादले ढिलाइ भएका, पूर्वी तराई र हिमाली जिल्लाका केही गाविसमा बाहेक ७२ जिल्लामा शान्तिपूर्ण रुपमा गाउँ, वडा र नगर अधिवेशनमा सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन हुन बाँकी सोलुखुम्बुमा सोमबार तथा बारा र पर्सामा एक÷दुई दिनमा निर्वाचन सम्पन्न हुने समिति सदस्य घिमिरेले बताउनुभयो । त्यस्तै धनुषा, सिरहा तथा छुटेका गाउँ नगरमा भने आज निर्वाचन हँुदैछ ।

समितिले सबै तीन हजार १५७ गाविस र २१७ नगरपालिकामा निर्वाचन सम्पन्न गरी माघ २२ गते हाल कायम २४० निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन तयारी थालेको उहाँले जानकारी दिनुभयो । काँग्रेसमा करिब तीन हजार दुई सय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने बताइएको छ ।

काँग्रेसका विदेशस्थित २५ जनसम्पर्क समितिको निर्वाचन सम्पन्न भइसकेको समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । काँग्रेसका १३ भ्रातृ तथा १७ शुभेच्छुक संस्थाले पनि केन्द्रीय निर्वाचनमा भाग लिन हैसियत अनुसार महाधिवेशन प्रतिनिधिको अधिकार प्राप्त गरेका छन् ।

क्षेत्रीय निर्वाचनपछि माघ २५ गते ७५ जिल्लामा जिल्ला कार्य समितिका लागि निर्वाचन हुँदैछ । सबै निर्वाचनका लागि समितिले सम्बन्धित क्षेत्रमा निर्वाचन सामग्रीका साथै निर्वाचन अधिकृत समेत पठाइसकेको सचिव पराजुलीले बताउनुभयो ।

यो अधिवेशन पार्टीको प्रारम्भिक तहको निर्वाचन भए पनि पार्टीको जिल्ला र केन्द्रको नेतृत्व चयनका लागि आवश्यक पर्ने महाधिवेशन प्रतिनिधि चयनमा महत्वपूर्ण मानिन्छ । त्यसैले यतिखेर काँग्रेसमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पोल्टामा निर्वाचन परिणाम ल्याउन सक्रिय रुपमा लागेका छन् । हाल सम्पन्न निर्वाचनको परिणाम हेर्दा कोइराला र देउवा पक्षको बराबरी मत देखिन्छ ।

हालसम्म सभापति कोइराला, नेता देउवा र उपसभापति रामचन्द्र पौडेल केन्द्रीय सभापतिका लागि दावेदारका रुपमा देखिनुभएको छ भने महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य सुजाता कोइरालालगायतले पनि आफू सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ ।
नगरका वडा र गाउँ अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि सहितले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिको चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था विधानमा छ ।

अधिवेशनमा सबै गाविस र नगर वडाबाट करिब एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी÷सदस्य निर्वाचित हुने काँग्रेस समितिका सचिव पराजुलीले जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । रासस

भारतसँग सत्तरी प्रतिशत व्यापारघाटा : मन्त्री बोहरा

भैरहवा, १७ माघ । श्रम तथा रोजगार र वाणिज्यमन्त्री दीपक बोहराले भारतसँग ६५ देखि ७० प्रतिशतसम्म व्यापार घाटा भएको बताउनुभएको छ ।

लुम्बिनी प्रेस क्लब भैरहवाले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भारतसँग धेरै परनिर्भर भएकै कारण अत्यधिक व्यापार घाटा भएको बताउनुभएको हो । मन्त्री बोहराले हाल भइरहेको व्यापार घाटा न्यूनीकरणका लागि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा छलफल हुने बताउनुभयो । वैकल्पिक बन्दरगाहका रुपमा भारतको विशाखापटनमलाई व्यवस्थित गरिन लागेको समेत उहाँले जानकारी दिनुभयो ।

विभिन्न देशसँग श्रम सम्झौता भएको र पहिलो चरणमा इजरायलसित सम्झौता भएअनुसार ६० जना केयर गिभरका रुपमा त्यहाँ जान थालेको उहाँले बताउनुभयो । मन्त्री बोहराले विभिन्न युरोपेली देश, साउदी अरेबिया, मलेसियासँग रोजगारको सुरक्षित गन्तव्यका रुपमा सरकारले सम्झौता गर्न लागेको बताउनुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत रहनुभएका बोहराले जिल्लाको विकासका लागि निर्माणाधीन भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सम्पन्न गर्ने, भैरहवा बुटवलमा निर्माणाधीन व्यापारिक मार्गको आयोजनालाई तत्काल पूरा गर्ने, भैरहवालाई सुन्दर तथा पर्यटकीय व्यापारिक सहरका रुपमा विकास गर्न भूमिका खेलिरहेको बताउनुभयो । रासस

होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार

झापा, १७ माघ । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् ।

बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार होटलको २०७ नं कोठामा हिजो साँझ ७ बजेतिर सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन् ।

माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई साँझपख मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए ।

कोठाको ओछ्यानमा मृत भेटिएका पाठकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा मृत्युको कारण हत्या हो कि होइन अहिल्यै भन्न नसकिने प्रहरीको भनाइ छ ।

परीक्षण गर्न शवलाई मेची अञ्चल अस्पताल लगिएको छ । पाठकको मृत्युपछि उनीसँगै होटलमा बस्दै आएकी अपरिचित महिला फरार रहेको प्रहरीले जनाएको छ । फरार महिलाको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभएको छ । रासस

तिहारभित्र रानीपोखरीको पुनःनिर्माण भइसक्ने

काठमाडौँ, १७ माघ । रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आउँदो तिहारसम्ममा सम्पन्न गरिने भएको छ । यो मन्दिर भाइटीकाका दिन एकदिन मात्रै सर्वसाधारणका लागि खुला राखिन्छ ।

गत वैशाखमा गएको विकाशकारी भूकम्पबाट बालगोपालेश्वर मन्दिर पूर्ण क्षति भएको थियो । झन्डै ३५० वर्षपछि काठमाडाँै महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीको पुनःनिर्माण गर्न लागेको छ ।

भूकम्पपछिको पुनःनिर्माण महाअभियान सुरु गरिएको ऐतिहासिकस्थल रानीपोखरीमा पुनःनिर्माण कार्य आगामी वैशाखदेखि सुरु गर्न लागिएको छ । निर्माण कार्य सुरु भएको छ महिनामा सम्पूर्ण काम सक्ने महानगरपालिकाको योजना छ ।

पुनःनिर्माणपछि यस मन्दिरको मुहार फेरिने विश्वास महानगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले व्यक्त गर्नुभयो ।

महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि बोलपत्रसमेत आह्वान गरिसकेको छ । पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन गरिएको छ ।

माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गर्नुभएको थियो ।

रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ । पुनःनिर्माणका क्रममा उक्त क्षेत्रमा हरियाली बढाउने र सुन्दरता थप्ने काम हुने महानगरपालिकाले जनाएको छ । साठी रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ ।

पोखरीको हिलो फाल्ने काम ठूलो चुनौतीका रुपमा रहेको महानगरपालिकाले बताएको छ । झन्डै ३५० वर्षपछि पुनःनिर्माण र सौन्दर्यकरण हुन लागेको रानीपोखरीका केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने छ ।

महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङका अनुसार रानीपोखरीले चर्चे जतिका भागको पुनःनिर्माण गरी सुन्दर बनाइने छ ।

पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै सङ्गीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका लागि परिक्रमा पथ पनि बनाउने योजना छ । रासस

साउदीमा तीन सय नेपालीको बिचल्ली

saudi-arebiaसाउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् ।

साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत ती कामदार तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् ।

अधिकांश नेपाली कामदारको आवास अनुमति (अकमा) नवीकरण नगरिएका कारण कार्यालय फर्कन सकेका छैनन् । उनीहरु बीच बाटोमै अलपत्र परेको बताइएको छ । सडक निर्माणका लागि साउदीको विभिन्न स्थानमा कार्यरत कामदारसँग कागजात नभएका कारण समस्या परेको र भोकभोकै बस्नुपर्ने स्थिति आएको सर्लाहीका देव मैनालीले बताउनुभयो ।

“खाने बस्ने कुनै टुङ्गो छैन, खुला आकाशमूनी सुत्न बाध्य छौँ” पीडित मैनालीले सहयोगको याचान गर्नुभयो । आफूहरुको उद्धारका लागि दूतावासका कर्मचारी हरि घिमिरेलाई दुई साता अघि जानकारी गराएको तर पहल हुन नसकेको उहाँले गुनासो गर्नुभयो । अन्य मुलुकका कामदारलाई दूतावासले खाने, बस्ने प्रबन्ध मिलाउने गरेपनि नेपाली दूतावासले भने कुनै चासो नदिएको मैनालीको भनाइ छ ।

तलब पाउने आशमा विभिन्न क्षेत्रमा कार्यरत १०० बढी कामदार कम्पनीको मुख्यकार्यालय दमाम आइपुगेका छन् । उक्त कम्पनीको कार्यक्षेत्र हायल, अलकसीम, जुबेल, खादली, अबुद्रिया, रस्तनुरा, खब्जी, सरार, दमाम लगायतका स्थानमा कार्यरत नेपाली कामदार अलपत्र परेका हुन् । रोजगारदातासँग काम गरेको तलब पटक–पटक माग्दा पनि उपलब्ध नगराएको सिन्धुलीका नानीराम श्रेष्ठले बताउनुभयो ।

“कमाएर घर पठाउने कुरै छाडौँ, छाक टार्न धौ धौ भएको छ । साथीहरुसँग सापटी गरेर बाँचेका छौँ” उहाँले भन्नुभयो । उक्त कम्पनीमा नेपाली कामदारसहित बङ्गलादेशी, भारतीय, श्रीलङ्काली, फिलिपिनी, पाकिस्तानीलगायतका गरी एक हजार ३०० बढी कामदार कार्यरत रहेको बताइएको छ ।

भोकभोकै बस्नु परेपछि तलब पाउने आशामा हायलबाट काम छाडेर दमाम आएको गोर्खाका भक्त गुरुङले बताउनुभयो । “सुत्ने ठाउँ छैन, कोही गाडीमा त कतिपय चिसो भुइँमा सुतेका छन्, एउटै कोठामा १५ जना कोचिएर रात काटेका छौँ” उहाँले भन्नुभयो । भोकै बस्नुपर्ने स्थिति आएपछि काम गर्न छाडेर कम्पनीको मुख्य कार्यालयमा आएको अर्का पीडित अर्घाखाँचीका समुन्द्र रानाको भनाइ छ ।

अधिकांश नेपाली कामदारको लामो समयदेखि अकमा नवीकरणसमेत गरिएको छैन । कम्पनी सञ्चालकले कामदारका समस्याप्रति चासो नदिएको पीडित नेपालीले बताएका छन् । पिउने पानीको समेत राम्रो व्यवस्था नहुँदा केही कामदार बिरामी परेका छन् । पैसाको अभाव र कागजात नभएकाले उपचार गर्नसमेत समस्या भएको छ ।

मुख्यकार्यालमा आएका कामदारलाई कम्पनीले कुनै पनि बेला बल प्रयोग गरेर त्यहाँबाट हटाउने अवस्था छ । कामदारले पारिश्रमिक उपलब्ध गराउन र जतिसक्दो चाँडो नेपाल फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । भरत प्रधान/रासस

कूरीतिजन्य हिंसा न्यूनीकरणका लागि कानुन बलियो हुनुपर्छ– प्रधानमन्त्री ओली

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला सशक्तीकरण बढाउन स्थानीयस्तरमा विद्यमान कूरीति प्रथाविरुद्धका कानुन बलियो हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज आयोगका कामकारबाहीसम्बन्धी बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सामाजिक र आर्थिकस्तरमा महिला सशक्त हुनुपर्नेमा जोड दिँदै महिला सक्षम हुनसके उनीहरुको न्यायमा पहुँच सहज हुने बताउनुभयो ।

महिला भएकै कारण उनीहरुमाथि हुने विभेद, हिंसा, बेचबिखनजस्ता कुराको अन्त्यका लागि महिला स्वयम्को क्षमता र सीप अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयोगका सदस्य उर्मिला विश्वकर्माले आव २०७१÷७२ मा आयोगले गरेका कार्यलाई प्रस्तुत गर्दै आयोगमा आउने हिंसासम्बन्धी निवेदनमा घरेलु हिंसा र महिला हिंसाका निवेदनको सङ्ख्या धेरै रहेको बताउनुभयो ।

आयोगको तथ्याङ्कअनुसार कूल निवेदनमध्ये ७५.६६ प्रतिशत अर्थात् ३१७ वटा निवेदन घरेलु हिंसाका थिए भने २४.३४ प्रतिशत अर्थात् १०२ वटा महिला हिंसाका निवेदन दर्ता भएका थिए ।

यीमध्ये ६५.१६ प्रतिशत(२७३) घरेलु हिंसाका मुद्दा फछ्र्यौट भएका थिए । यसैगरी २२.९ प्रतिशत अर्थात् ९६ वटा महिला हिंसाका मुद्दा फछ्र्यौट भएका थिए ।

आयोगले बुझाएको प्रतिवेदनमा महिला हिंसा वा घरेलु हिंसा गर्नेलाई पार्टीले राजनीतिक दलको नेता वा उम्मेदवार नदिने प्रावधान बनाउनुपर्ने, संवैधानिक ऐन कानुन बनाउँदा बाध्यकारी ऐन, कानुन बनाउनुपर्ने र राज्यबाट पास भएको ३३ प्रतिशत राजनीतिक दल वा सरकारी संयन्त्रमा लागू हुने नीति निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । रासस

‘मनले सोचेको कुरालाई आत्मविश्वासले साकार रुप दिन्छ’

जनकपुरधाम, १७ माघ । मनमा उब्जेको प्रश्नलाई गम्भीरतापूर्वक लियो भने त्यसको समाधान अवश्य निस्किन्छ भन्ने भावनालाई साकार रुप दिएका छन्– एक युवकले ।

बाल्यकालमा ब्याट्री कसरी विद्युत्मय हुन्छ भन्ने जिज्ञासाको खोज गर्दागर्दै विज्ञान प्रविधिमार्फत ८ कक्षामा नै चकित हुने उपकरण सार्वजनिक गरी यन्त्र मानव बनाउनेसम्मको यात्रामा सफलता प्राप्त गर्नेमा युवक कृष्णकुमार मण्डल छन् ।

तालीको आवाजबाट बल्ब बाल्ने र निभाउने, टाढैबाट बल्ब नियन्त्रण गर्न सक्ने, तारमा नछुवाइकन तारमा विद्युत् प्रवाह छ वा छैन पत्ता लगाउने, प्रकाशबाट बल्ब नियन्त्रण गर्न सक्ने, पानी ट्याङ्कीको तह पत्ता लगाउने, चोरीजस्ता अपराध कार्यबाट बचाउने, आवाजबाट ढोका आफैँ खुल्ने र बन्द हुनेजस्ता उपकरण मण्डलले ८ कक्षामा पढ्दै सार्वजनिक गरी अहिले त्यसको कार्यविधिसहितको पुस्तक पनि प्रकाशन गरेका छन् ।

बुबा अरुण धनुषा जिल्लाको यदुकोहामा ब्याट्रीलाई विद्युत्मय बनाउने कार्य गरिरहँदा ब्याट्री किन, कसरी र कुन प्रक्रियाले विद्युत्मय हुन्छ भन्ने प्रश्नले मनलाई अशान्त बनायो, पसलमा बसेर त्यसैका बारेमा घोत्लिइरहेका बेला विद्युत्मय प्रविधि सम्बन्धमा ज्ञान हासिल गरी यन्त्र मानव बनाउनेसम्म भइसकेको छु–कृष्णले भने ।

उनले दुई वर्षअघि बनाएको यन्त्र मानवले शब्द, नाम र विभिन्न प्रश्नको जवाफ तथा पसलबाट सामान ल्याउन सक्छ । सुरुमा निकै समस्या आए पनि पछि एक वर्षको शिशुले गर्न सक्ने कार्य योग्य बनाएको उनी बताउँछन् । शिशुकालमा पढ्नुभन्दा पनि रमाइलोमा विश्वास राख्ने मण्डलमा बुबाको कार्यले नै आविष्कारतर्फ प्रेरित गरेको हो । उनी भन्छन् – “चलचित्रमा प्रयोग गरिएको प्रविधि अन्तर्गत ८ कक्षामा नै आश्चर्य लाग्ने उपकरण सार्वजनिक गर्नमा सफलता प्राप्त गरेँ ।”

उनी एक वर्षको शिशुले गर्न सक्ने कार्यको यन्त्र मानव बनाउने सफलतापछि अब पाँच वर्षको शिशुले गर्ने क्रियाकलापको यन्त्र मानव बनाउनमा लागिपरेका छन् । कृष्णको विश्वास छ– आगामी यन्त्र मानवले घरको अधिकांश कार्य आफँैले गर्नेछ ।

एक वर्षको यन्त्र मानवको संरचना प्लास्टिकको भएकामा पाँच वर्षको यन्त्र मानवको संरचना अल्मुनियमको राख्ने उनको योजना छ । उनको पहिलो यन्त्र बनाउने सपना १० कक्षा उत्तीर्णपछि साकार भयो भने दोस्रो यन्त्र निर्माणको सपना अवश्य पूरा हुने आत्मविश्वास उनीमा छ ।

उनी भन्छन् – “मलाई पुरानो जीवनशैलीको बारेमा सोच्दा डर लाग्छ, रु १० जाने वस्तु लिन सयौँ खर्च गरिरहेका छौँ, त्यसैले अरुमाथि निर्भर छौँ, म देशलाई विज्ञान प्रविधिमा अगाडि भएको हेर्न चाहन्छु ।” हिमांशु चौधरी/रासस

प्रमको भारत भ्रमणबारे छलफल

काठमाडौँ, १७ माघ । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ ।

संयन्त्रको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा प्रारम्भिक छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको संयन्त्रका संयोजक एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिनुभयो ।

नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आजै साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले बैठकमा आफूले सीमाको अवरोध मात्र मधेसको समस्या नभई प्रान्तीय सीमाको विषय पनि जोडिने भएकाले त्यस बारेमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेको जानकारी गराउनुभयो ।

बैठकमा एमालेका नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सत्तागठबन्धन दलका नेता उपस्थित हुनुहुन्थ्यो । रासस

Saturday, January 30, 2016

कृषि र पशुपालनमा लगानी बढाउ : गभर्नर नेपाल

वाणिज्य मन्त्रीको सल्लाहकारमा पाठक

काठमाडौँ, १६ माघ । वाणिज्य मन्त्री दीपक बोहराले आफ्नो सल्लाहकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भरतप्रसाद पाठकलाई नियुक्त गर्नुभएको छ ।

नुवाकोट जिल्ला थानापति–८ मा जन्मनुभएका पाठक तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पनि सल्लाहकार भइसक्नुभएको थियो ।

पाठकलाई यही माघ १५ गतेदेखि लागू हुने नियुक्ति गरिएको हो । पाठक सो पार्टीको संसदीय समितिका सचिव तथा सचिवालय सदस्य पनि हुनुहुन्छ । रासस

प्रेस चौतारीको पुरस्कार चयन समिति गठन

काठमाडौँ, १६ माघ । प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवस (माघ २२) मा प्रदान गर्दै आएका विभिन्न पुरस्कार चयनका लागि समिति गठन गरेको छ ।

चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएअनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजक तीर्थ कोइराला, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजक गोविन्द पोखरेल, वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा लक्ष्मी साह र डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा अक्षरी पोखरेल रहनुभएको छ ।

आगामी चैत ४ र ५ गते आठौँ महाधिवेशनको तयारीमा जुटेको चौतारीले स्थापना दिवसका दिन सबै जिल्लामा रचनात्मक कार्यक्रम आयोजना गरी मनाउन निर्देशनसमेत दिएको छ । रासस

बाइस सात्यिकारले लेखेको गजल सङ्ग्रह विमोचन

युग सुहाउँदो शिक्षाको खाँचो : पूर्वमन्त्री साउद

कञ्चनपुर, १६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नारायणप्रकाश साउदले दोदा नदीका सहायक नदीहरुमा तटबन्ध निर्माणको कार्यलाई निरन्तरता दिनका लागि पहल गर्ने बताउनुभएको छ ।

आज कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गर्नुुहुँदै उहाँले गुरुयोजनाअन्तर्गत दोदा नदीमा अधुरो तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाउनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

सनवोरा, स्याली र चुरेक्षेत्र भएर बग्ने नदीहरुले बर्सेनि वर्षात्का बेला विनाश निम्त्याउँदै आएकाले यसको रोकथामका लागि प्रयास गरिनु आवश्यक भएको उहाँले बताउनुभयो ।

वर्तमान समयमा युगसुहाउँदो गुणस्तरयुक्त शिक्षाको खाँचो रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

शिक्षा गुणस्तरयुक्त नभए दक्ष जनशक्ति उत्पादन नहुने र देश विकासमा बाधा पर्ने भएकाले गुणस्तरीय शिक्षाका लागि वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न आवश्यक भएको उहाँले बताउनुभयो । रासस

सहिदको सपना पूरा गर्न कदम नचालेकोमा गुनासो

संविधान जारीपछि हरेक क्षेत्रमा फड्को मार्ने : मन्त्री सापकोटा

रौतहट, १६ माघ । वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले नयाँ संविधान जारी भएपछि मुलुकले अब हरेक क्षेत्रमा फड्को मार्ने बताउनुभएको छ ।

एनेकपा (माओवादी) चन्द्रपुर नगरकमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलामा उहाँले अब मुलुकमा विकास निर्माणका कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

लगातारको बन्द, हड्तालकाकारण मुलुकमा विकास निर्माणका कार्य प्रभावित भएको बताउँदै उहाँले संविधान संशोधनपछि असन्तुष्ट पक्षको माग सम्बोधन भएको बताउनुभयो ।

उहाँले वनजङ्गल राष्ट्रको सम्पत्ति भएकाले संरक्षण गर्नु सबैको दायित्व भएको पनि बताउनुभयो । उहाँले आजै चन्द्रपुर नगरपालिका–७ स्थित चाँदीनदी आसपासका क्षेत्रमा जिल्ला भू–संरक्षण कार्यालय, रौतहटद्वारा गरिएको तटबन्ध तथा वृक्षारोपणको स्थलगत निरीक्षण गर्नुभयो । रासस

प्रजातन्त्रको सदृढीकरणमा लाग्न आग्रह

हेटौँडा, १६ माघ । उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले राष्ट्रको स्वतन्त्रता र संसदीय प्रजातन्त्रको सदृढीकरणका लागि सबै नेपालीले पहरेदारका रुपमा भूमिका निर्वाह गर्न जरुरी भएको बताउनुभएको छ ।

उहाँले नेकपा (माले) मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केही दलहरुले तराईको माग पूरा गर्ने निहुँमा नाकाबन्दी गरिरहनु नेपाल र नेपालीका लागि हितकर नहुने र राष्ट्रको विखण्डनका लागि आफैँले भूमिका निर्वाह गर्न नहुनेतर्फ दलहरुले सजग हुनुपर्दछ भन्नुभयो ।

उपप्रधानमन्त्री मैनालीले तराईमा आन्दोलनरत दलहरुको मागलाई सरकार र प्रमुख दलहरुले संविधान संशोधन गरी पूरा गरिसकेको उल्लेख गर्दै केही कुरा बाँकी रहे वार्ताको माध्यमबाट पूरा गर्नेतर्फ अग्रसर हुनुपर्दछ र जनतालाई दुःख दिएर राजनीति गर्दा दलको हितमा राजनीति नहुनेतर्फ औँल्याउनुभयो ।

सो अवसरमा नेकपा (माले)का केन्द्रीय सदस्य भीमसेन महत र नेकपा (माले) अञ्चलका सचिव उपेन्द्र अधिकारीले केही दलहरुले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताको हितमा काम गर्नेतिर अग्रसर हुनुपर्दछ र बाह्य शक्तिको चलखेलमा लाग्नुहुँदैन नहुने बताउनुभयो । रासस

पन्ध्र सय बढी विशिष्ट बालीको पकेट क्षेत्र बनाउने सरकारको तयारी

आहा–रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

आगामी फागुन १२ देखि पुनःनिर्माणको काम अघि बढ्ने : प्रधानमन्त्री ओली

बनेपा, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन १२ गतेदेखि पुनःनिर्माणको काम अघि बढ्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१६ मा रहेको धुर्मुस सुन्तली एकीकृत बस्तीको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले भूकम्पबाट क्षतिग्रस्त स्थानलाई प्राथमिकतामा राखेर दुर्गम गाविसबाट चाँडै पुनःनिर्माणको प्रक्रिया सुरु हुन्छ भन्नुभयो ।

पुनःनिर्माणको काम तीन चरणमा गरिने बताउँदै प्र्रधानमन्त्री ओलीले भन्नुभयो ‘‘वर्षायामअघि नै पुनःनिर्माणको काम सुरु हुनेछ । पुनःनिर्माणको काम सबै पूरा नभए पनि प्राथमिकताका आधारमा काम अघि बढाइनेछ ।’’

पुनःनिर्माणको काम गर्न अब कुनै समस्या छैन भन्नुहुँदै उहाँले अहिले कानुन पनि बनिसकेको र पुनःनिर्माण प्राधिकरण पनि गठन भएकाले अब तीब्र गतिमा काम अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्र्रधानमन्त्री ओलीले सीमा नाकामा भएको नाकाबन्दी हट्ने कुरा लगभग अन्तिम बिन्दुमा पुगेको उल्लेख गर्दै नाकाबन्दी पनि हट्ने र आफूले छिटै भारत भ्रमण पनि गर्ने बताउनुभयो ।

सो अवसरमा कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले बस्ती बसाल्नुको उद्देश्यसहित निर्माण प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा बस्ती बसालेको क्षेत्रको जग्गा गुठीको भएकाले पहरी समुदायको नाममा गराउन माग गर्दै प्रधानमन्त्री ओलीलाई स्थानीयवासीले ज्ञापनपत्रसमेत बुझाएका थिए । बस्तीमा विभिन्न सुविधासहितको १८ घर रहेका छन् ।

प्रधानमन्त्री ओली आज नै पाँचखालमा आयोजना भएको नेकपा (एमाले)को चियापान कार्यक्रम र काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनुभएको थियो । रासस

एउटै बाख्राले छवटा पाठापाठी जन्मायो

रत्ननगर (चितवन), १६ माघ । चितवनको भरतपुरमा एउटा बाख्राले स्थानीयलाई आश्चर्यमा पार्दै छवटा पाठापाठी जन्माएको छ । तीनवटासम्म पाठा जन्माएको कहिलेकाहीँ सुनिने भएपनि छवटा जन्माएको भने दुर्लभ मानिन्छ ।

भरतपुरस्थित कृष्णपुरका किसान आनन्द अधिकारीले पालेको बाख्राले छवटा पाठापाठी जन्माएको हो । चारवटा पाठा र दुईवटा पाठी जन्माएको किसान आनन्द अधिकारीले जानकारी दिनुभयो ।

यसअघि पहिलो बेतमा तीनवटा, दोस्रोमा दुईवटा र तेस्रो बेतमा चारवटा पाठापाठी जन्माएको बाख्राले योपटक छवटा जन्माएपछि गाउँमा बाख्रा हेर्नेको भिड लागेको अधिकारीले बताउनुभयो । आज मध्याह्न १२ बजे पाठापाठी जन्माएपछि दिनभर नै हेर्नका लागि स्थानीयको भिड देखिएको थियो ।

चारवटासम्म बाख्राले जन्माउने गरेपनि पाँचवटा भने आश्चर्यमै पर्ने घटना हुने पशु विकास कार्यालयले जनाएको छ । अधिकारीले जन्मिएका पाठापाठी र बाख्रो स्वस्थ रहेको जानकारी दिनुभयो । रासस

सुदूरपश्चिममा पहिलोपटक छोरीले दिए दागबत्ती

डेपुटी गभर्नरमा चारजनाको नाम सिफारिस

काठमाडौँ, १६ माघ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरको रिक्त दुई पदमा चार जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले दुई दिनअघि चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पङ्गेनी र शिवनाथ पाण्डेलाई सिफारिस गर्नुभएको थियो ।

सम्बद्ध स्रोतका अनुसार उहाँहरुमध्ये वरिष्ठमध्येका कार्यकारी निर्देशक पौडेल बैंक सुपरिवेक्षण विभागमा, शिवाकोटी मुद्रा व्यवस्थापन विभागमा, पङ्गेनी गभर्नर कार्यालयमा र पाण्डे बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत हुनुहुन्छ ।

सिफारिस भएका तीनजना स्याङ्जाका हुनुहुन्छ भने शिवाकोटी झापा निवासी हुुनुहुन्छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १६ मा रिक्त दरबन्दीको दोब्बर सङ्ख्यामा गभर्नरले कार्यक्षमता र वरिष्ठताका आधारमा सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ । राष्ट्र बैंकले सम्पादन गर्ने सुपरिवेक्षण र मौद्रिक नीति दुई क्षेत्र हेर्नका लागि दुई डेपुटी गभर्नरको दरबन्दीको व्यवस्था गरिएको छ ।

डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल गत पुस १० गते सकिएको थियो । रासस

‘नेपाली परम्परागत कला–संस्कृतिको संरक्षण हुँनैपर्छ’ – कला विज्ञ

मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्छ – अध्यक्ष ठाकुर

काठमाडौँ, १६ माघ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारत सिमानामा गरिएको अवरोध एवम् आन्दोलनको समीक्षा गरेर नयाँ कार्यक्रम तय हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा गरेको अन्तक्र्रियामा उहाँले संविधान संशोधनबाट तराई मधेसमा जारी जान्दोलनका माग आंशिक सम्बोधन भएको बताउनुभयो ।

आदोलनको स्वरुप परिवर्तन गर्ने बताउँदै अध्यक्ष ठाकुरले भन्नुभयो, “मागअनुसार सम्बोधन भएको छैन, नाकाबन्दीको विषयमा मोर्चाको बैठकले निर्णय गर्छ, आन्दोलनको स्वरुप फेरिनसक्छ ।”

आफूहरुको आन्दोलन कुनै पनि समुदाय वा क्षेत्रका बासिन्दालाई दःुख दिनेभन्दा पनि जनताले नागरिक सरहको अधिकार पाउनका लागि भएको बताउँदै उहाँले आन्दोलन कहिलेसम्म जारी राख्ने भन्ने विषयमा सरकारमा निर्भर रहने बताउनुभयो ।

संविधान संशोधन गरेर आन्दोलनकारीमाथि सरकारले दबाब दिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले आफूहरुमाथि जनताको पनि दबाब रहेकाले आन्दोलन अन्त्य गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

आन्दोलनकारी वार्ताबाट कहिले पनि नहटेको दाबी गर्दै उहाँले भन्नुभयो– “२५÷२६ पटक वार्ता गरिएको छ, परिणाम के आयो ? संशोधन प्रक्रियामा हाम्रो सहभागितासमेत हुन सकेन र सरकार र मुख्य दललाई जे लाग्यो त्यै गर्ने ?” उहाँले स्वायत्तताको माग पुरा नभएकाले आन्दोलन नरोकिने बताउनुभयो । रासस

निजी जमिन उपयोग गरी कृषिमा आत्मनिर्भर बनाइने : मन्त्री गजुरेल

राष्ट्रिय सहिद स्मारक छिट्टै निर्माण गरिने : मन्त्री ढकाल

आर्थिक विकासमा लागेमात्र नयाँ नेपाल : मन्त्री बस्नेत

चौतारा, १६ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधान विश्वमै उत्कृष्ठ रहेको ठोकुवा गर्दै जनताबीचको अन्तरविरोध, विमति र नमिलेका कुरा साझा संयन्त्र बनाई समाधान गर्न सकिने बताउनुभएको छ ।

एकीकृत नेकपा (माओवादी) चौतारा नगर समितिको प्रथम नगरसम्मेलनको आज चौतारामा उद्घाटन गर्दै मन्त्री बस्नेतले केही राजनीतिक पार्टीले समस्याको समाधान नचाहेको भन्दै मधेसवादी दलतर्फ इङ्गित गर्दै समस्याको समाधानभन्दा समस्यालाई टिकाइराख्ने काममा लागेको आरोप लगाउनुभयो ।

मधेसी मोर्चाको नाकाबन्दीले हिमाल र पहाडका जनतालाई मात्र नभई तराईका जनतालाई पनि समस्या पारेकाले कहिलेकहिँ धेरैको भलोको लागि सरकारले अप्रिय कदम चाल्न पनि बाध्य हुने चेतावनी दिनुभयो ।

भूकम्प पीडितका लागि स्थानअनुसारको डिजाइन तयार पारी पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुनेगरी पुनर्निर्माणको अभियान अगाडि बढाउने उहाँले जिकिर गर्नुभयो ।

भूकम्पले दुःख र पीडा दिई ठूलो क्षति पु¥याएपनि दुःखलाई सुखमा परिणत गर्नु आजको आवश्यकता रहेको चर्चा गर्दै मन्त्री बस्नेतले सबै राजनीतिक पार्टीले पारदर्शीताका साथ आर्थिक विकासतर्फ स्वस्थ प्रतिष्पर्धामा उत्रेमा नयाँ नेपाल बन्न सक्ने ठोकुवा गर्नुभयो । रासस

म्याग्दीका राससकर्मी खत्री पुरस्कृत

बाबियाचौर (म्याग्दी), १६ माघ । राष्ट्रिय समाचार समिति (रासस) का म्याग्दी समाचारदाता कमल खत्रीलाई शनिबार कृष्ण सेन (इच्छुक) सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ म्याग्दीले दोस्रो जिल्ला सम्मेलनको अवसरमा पत्रकारिताको माध्यमबाट खत्रीले पु¥याएको योगदानको कदर गर्दै रु पाँच हजार राशिको उक्त पुरस्कार प्रदान गरेको हो । सङ्घका संस्थापक ओम शर्मा, एकीकृत नेकपा (माओवादी), म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमिरे र शाखा अध्यक्ष सन्तोष गौतमले खत्रीलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यसैबीच, सङ्घको दोस्रो सम्मेलनले खत्रीकै अध्यक्षतामा पदम विक उपाध्यक्ष, सन्दिप खत्री सचिव, सुशील थकाली कोषाध्यक्ष र प्रमिला पौडेल सहसचिव रहेको शाखाको नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको सदस्यमा धिरन खत्री, ईश्वर सुवेदी, वुद्धि पुन, सरला परियार र मिलन बसेल रहनुभएको छ । रासस

नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित : नेता पोखरेल

परनिर्भरतालाई कम गर्न कृषि उत्पादन बढाउनुपर्ने : उपप्रधानमन्त्री केसी

असहाय वृद्धवृद्धालाई कपडा तथा खाद्यान्न वितरण

काठमाडौँ, १६ माघ । टोखा नगरपालिका–१३ गोँगबुस्थित हिमालय वृद्धाश्रमका वृद्धवृद्धालाई आज न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ अन्र्तगत काठमाडौँ भ्यालीबेष्ट, कामना र सुकर्मद्वारा संयुक्तरुपमा वृद्धाश्रमका २३ जना वृद्धवृद्धालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको हो । यसअघि पनि क्लबले यस वृद्धाश्रममा विभिन्न सहयोग गर्दै आएको छ ।
सो अवसरमा डिष्ट्रिक क्याबिनेट टे«जरर आर.एस. महतो, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का एम्बेस्डर अफ गर्भनर हरिगोबिन्द महर्जन, लायन्स क्लब अफ कामनाकी सीप विकास प्रमुख संयोजक लक्ष्मी महर्जनलगायतले वृद्धवृद्धालाई आज न्यानो कपडा तथा खाद्यान्न वितरण गर्नुभएको थियो ।
आफ्नो परिवार वा आफन्त नभएका असहाय वृद्धवृद्धाहरुलाई २०६१ सालदेखि यस वृद्धाश्रमले पालननपोषण र आश्रय दिँदै आएको छ । हाल यहाँ चार वृद्ध र १९ वृद्धा रहेका छन् ।
वृद्धाश्रमकी सञ्चालिका सरला पन्थीले दाताहरुको पर्याप्त सहयोग प्राप्त हुन नसक्दा वृद्धाश्रमको भौतिक सुधार तथा वृद्धवृद्धाहरुलाई सुविधा दिन कठिनाइ भएको गुनासो गर्नुभयो । रासस

अमेरिकाले आइएसविरुद्ध लिबियामा पनि कारबाही गर्नसक्ने

वासिङ्टन, १६ माघ । संयुक्त राज्य अमेरिकाले आइएस विरुद्धको कारबाहीलाई लिबियामा पनि सुरु गर्ने सङ्केत गरेको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार राष्ट्रपति ओबामाले आफ्ना सहयोगीहरुलाई लिबियामा पनि आइएस विरुद्धको कारबाही सुरु गर्ने विषयमा आवश्यक सुझाव दिन आह्वान गर्नुभएको छ ।

गएको करिब १८ महिनादेखि अमेरिकाले अरु केही पश्चिमा मुलुकहरुको पनि सहयोगमा इराक र सिरियामा आइएस विरुद्ध हवाई कारबाही गर्दै आएको छ ।

ह्वाइट हाउसमा शुक्रबार राष्ट्रपति ओबामाले पछिल्लो समयमा आइएसका क्रियाकलापहरु लिबियामा बढ्दै गएकोले अमेरिकी नेतृत्वमा त्यहाँ पनि कारबाही सुरु गरिनुपर्ने बताउनुभएको हो ।

लिबियामा अहिले करिब तीन हजार जना आइएस लडाकू रहेको अनुमान गरिएको छ । सोही अनुमानका आधारमा अमेरिकी नेतृत्वमा हालको आइएस विरुद्धको गठबन्धनका देशहरुले आक्रमण गर्ने बारेमा प्रक्रिया सुरु हुने भएको हो ।

अमेरिकी अधिकारीहरुले तर यस विषयमा ठोस प्रस्ताव भने नआएको बताएका छन् । उनीहरुले सो विषयमा सोच्नुपर्ने भन्दै आवश्यक मात्रामा परामर्श राष्ट्रपति ओबामाले गरिरहनुभएको उनीहरुले बताए ।
पछिल्लो समयमा अमेरिकी नेतृत्वमा रहेका केही देशहरुको पनि सम्लग्नतामा सिरिया र इराकमा यस्तो हवाई कारबाही हुने गरेको छ । रासस÷एएफपी

स्वतन्त्रता र समानताले समाजमा शान्ति हुन्छ–चन्द

काठमाडौँ, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुलुकमा स्वतन्त्रता र जनतामा समानता कायम भए मात्र समाजमा दिगो शान्ति स्थापना हुने बताउनुभएको छ ।

मानव सेवा ट्रस्टले महात्मा गान्धीको ६८ औँ सहादत दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान जगत्मा गान्धीको प्रासङ्गिकता’ विषयको गोष्ठीमा उहाँले गान्धी शान्ति तथा अहिंसाका आदर्शपुरुष भएको बताउँदै भ्रातृत्व र प्रेमबाट विश्वशान्ति कायम गर्न उहाँले देखाएको मार्ग अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री चन्दले गान्धीले सधैँ सत्यका लागि आग्रह गर्ने हुँदा अङ्ग्रेजलाई भारतबाट भगाउन सत्याग्रह आन्दोलन गरेको बताउँदै असल नागरिक निर्माण गर्नका लागि साध्य र साधन दुवै असल चाहिनेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले सरल व्यवहारका धनी गान्धीले शान्तिपूर्ण समाज निर्माण तथा मानवकल्याणका लागि देखाएको अहिंसा र मित्रताको आदर्शलाई सबैले अवलम्बन गर्नुपर्ने बताउनुभयो । रासस

‘मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ’

आइतबार हुने राजनीतिक संयन्त्रको बैठक विषयमा छलफल

यु–१९ विश्वकप : नेपालले ग-यो फेरि सानदार प्रदर्शन, लगातार दोस्रो जितसँगै नेपाल क्वाटरफाइनलमा

दलगत स्वार्थ त्यागेर जनताप्रति जिम्मेवार हुन राष्ट्रपतिको आह्वान

राजस्व असुलीमा कमी

भद्रपुर, १६ माघ । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु ६३ करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालयले सो अवधिमा रु ७९ करोड १३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु १५ करोड ४३ लाख ९१ हजार कम राजस्व असुली गरेको हो । सङ्कलित राजस्वमा आम्दानी कर रु २८ करोड ६० लाख ८८ हजार, घरबहाल कर रु दुई करोड ६५ लाख ५३ हजार, ब्याज रु दुई करोड ६३ लाख ९९ हजार, मूल्य अभिवृद्धि कर रु २३ करोड ४० लाख ४९ हजार, अन्तः शुल्क रु चार करोड ११ लाख ४२ हजार, स्वास्थ्य कर रु एक करोड ६८ लाख ४० हजार र शिक्षा कर रु ५८ लाख ९४ हजार छन् ।
आन्तरिक राजस्व कार्यालयले सो अवधिमा लिएको लक्ष्यमा घरबहाल करमा ११६ प्रतिशत र स्वास्थ्य करमा १३७ प्रतिशत प्रगति गरेको देखाएको छ भने अन्यमा लक्ष्य प्राप्त गर्न सकेको छैन । रासस

कागेश्वरी महोत्सव फागुनमा

भूकम्पपीडितलाई टहरा

भक्तपुर, १६ माघ । कमल विनायकस्थित सरस्वती विद्यागृहको चौरमा अस्थायी शिविरमा बस्दै आएका ३० भूकम्पपीडित परिवारलाई कमलविनायक– ४ चोखातेमा टहरा हस्तान्तरण गरिएको छ ।

त्रिपाल जिम्स बुद्धिस्ट सोसाइटी तथा तानिया पेरेरा एवम् परिवारको आर्थिक सहयोगमा श्रीलङ्काली भिक्षु यातिरवाजन विमलाले ३० टहरा निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

सरस्वती विद्यागृहको अस्थायी शिविरमा त्रिपाल र पालमा बस्न कठिन भएपछि त्यहाँ बस्दै आएका ३० घरपरिवारका लागि रु १० लाखको लागतमा टहरा निर्माण गरी स्थानान्तरण गरिएको हो ।

बौद्ध दाताले एक रोपनी सात आना जग्गा आगामी दुई वर्षका लागि रु २५ हजार वार्षिक भाडा तिरिदिएर टहरा बनाइदिएको कमल विनायक शिविर व्यवस्थापन समितिका संयोजक राजु सुवालले जानकारी दिनुभयो ।

दाताले शिविरमा बस्ने ३० जनालाई एक÷एक वटा कम्बल र चामल वितरण गरेका छन् । अतिगरिब पाँच विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको तथा चारवटा सामूहिक चुलो र दुई शौचालय बनाइएको छ । आगामी एक वर्षसम्मका लागि खाद्यान्नको व्यवस्था गरिदिने आश्वासन दिएको सुवालले जानकारी दिनुभयो ।

शिविरमा कमलविनायक, गोल्मढी, इनाचो, महालक्ष्मीस्थान, दत्तात्रयलगायत ठाउँका भूकम्पपीडित बसेको समितिका सहसंयोजक रत्नमान वनमालाले जानकारी दिनुभयो । शिविरमा खानेपानी र बत्तीको अभावले गर्दा समस्या परेको बताउँदै उहाँले खानेपानीका लागि शिविरमा बस्नेसँग महिनावारी पैसा उठाइने गरिएको जानकारी दिनुभयो । बत्ती नहुँदा प्रवेशिका परीक्षा दिने विद्यार्थी मर्कामा परेका छन् ।

शिविरमा सौर्यबत्ती जोडिदिन अरु दाताको खोजी भइरहेको बताउँदै वनमालाले बत्ती नहुँदा भुस्याहा कुकरले दुःख दिने र विद्यार्थीको पढाइ प्रभावित हुने भएकाले त्यसको व्यवस्था गरिदिन नगरपालिका, सरकारी निकाय र दाताहरुलाई अनुरोध गर्नुभयो । रासस

ऊर्जा सङ्कटकाल : जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा

झापा चौतारीमा पौडेल

‘पहाड–तराई मिल्न नदिने षड्यन्त्र’

नेप्से चार अङ्कले घट्यो

राष्ट्रपतिबाट सहिद स्मारकमा श्रद्धाञ्जलि, सहिद स्तम्भको उद्घाटन

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts